“पेन्तिकोस दिवस” – श्री स्टिफन राई

July 1, 2016 | Articles  

पेन्तिकोसको पृष्ठभूमि पुरानो करारमा पाइन्छ

“विश्राम दिनको भोलिपल्टदेखि अर्थात् तिमीहरूले डोलाउने बलिको बिटा ल्याएको दिनदेखि सात विश्राम दिन तिमीहरूले गन्नू अर्थात् सातौं विश्राम दिनको भोलिपल्टसम्म पचास दिन गन्नू । त्यही दिन तिमीहरूले परमप्रभुका निम्ति नयाँ अन्न बलि चढाउनू
(लेवी २३ः१५–१६) ।

मोशाको व्यवस्थाअनुसार इस्राएलीहरूले विभिन्न किसिमका चाडहरू मनाउनु पर्दथ्यो जस्तै निस्तार चाड, झुप्रोबासको चाड, अखमिरी रोटीको चाड इत्यादि । ती चाडहरूमध्ये एउटा चाडचाहिँ हप्ताहरूको चाड अर्थात् पेन्तिकोसको चाड थियो जसमा दिन र हप्ताहरू गन्नु पर्दथ्यो । सात हप्ताहरू गनिसकेर त्यसको भोलिपल्ट पचासदिन पुग्दा उनीहरूले परमप्रभुको निम्ति नयाँ अन्न बलि चढाउनु पर्दथ्यो (लेवी २३ः१६) ।

नयाँ करारमा आएपछि चाहिँ त्यस दिनलाई येशू ख्रीष्ट बौरी उठ्नुभएको दिनदेखि सात विश्राम दिनहरू गनेर त्यसको भोलिपल्ट आइतबारलाई मान्नु पर्दथ्यो (पेन्तिकोस पचास दिन) । २०१६ को पेन्तिकोस दिवस मे महिनाको १५ तारिख थियो ।

१. पेन्तिकोसको दिन पवित्र आत्मा ओर्लनुभएको दिन हो ।

जब पेन्तिकोसको दिन आइपुगेको थियो, पुनरूत्थानको ठीक पचासौं दिन आइपुगेको थियो । अचानक स्वर्गबाट ठूलो बतास बहेको जस्तो हुरूरूरू शब्द आयो ।

किनभने यूहन्ना ३ः८ मा लेखिएको छ, “बतास जता इच्छा गर्दछ त्यता बहन्छ” हुरूरूरू शब्द आयो र त्यसले उनीहरू बसेको जम्मै घर भरिदियो । यहाँ “हुरूरूरू” शब्दले पवित्र आत्माको उपस्थितिलाई जनाउँछ ।

चिरा चिरा परेका जिब्राहरूले पवित्र आत्माको आगोको बप्तिस्माको प्रतिनिधित्व गर्दछ । बप्तिस्मा दिने यूहन्नाले भनेका थिए, “म ता साँच्चै तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु तर एकजना मभन्दा शक्तिशाली आउँदै हुनुहुन्छ जसको जुत्ताको फिता खोल्ने लायकको म छैन । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ । आगो पवित्र आत्माको चिन्ह हो, बतास, ढुकुर, तेल पनि पवित्र आत्माको चिन्ह हो । पवित्र आत्मालाई आउनका लागि बाध्य गराउन सक्दैन । पवित्र आत्मा बतास होइन, बताससँग तुलना मात्र गरिएको हो ।

२. पेन्तिकोसको दिन पवित्र आत्माको राज्यभिषेकको दिन हो ।

पुरानो करारको समयमा पनि पवित्र आत्मा आउने जाने गर्नुहुन्थ्यो तर सधैँका लागि रहिरहने गरी पेन्तिकोसमा पवित्र आत्मा ओर्लनुभयो । गिदोन र शिमशोनमाथि पवित्र आत्मा आउनुहुँदा पनि ठूलो आश्चर्य कर्म भएको थियो । पुरानो करारको समयमा पवित्र आत्मा आउनुहुन्थ्यो र आफ्नो काम सकेर जानुहुन्थ्यो, तर पेन्तिकोसमा उहाँ सधैँभरि विश्वासीसित रहिरहनका लागि आउनुपर्ने थियो । येशूले भन्नुभयो, “म पितासँग बिन्ती गर्नेछु र उहाँले तिमीहरूलाई अर्को शान्तिदाता दिनुहुनेछ र उहाँ तिमीहरूसँग सधैँभरि रहनुहुनेछ” (यूहन्ना १४ः१६) ।

पवित्र आत्मा ख्रीष्टको मण्डली स्थापना गर्न आउनुभएको दिन भएकाले सम्पूर्ण मण्डलीको कार्यभार सम्हाल्नुभएकाले पेन्तिकोसको दिनलाई पवित्र आत्माको राज्यभिषेक दिन भन्नु अत्यूक्ति नहोला ।

पेन्तिकोसको शक्तिलाई ग्रीक (मूल) भाषामा “डुनामिस” भनेर भनिन्छ अनि डुनामिस शब्दबाट अंग्रेजी भाषाको डायनामा र डायनामाइट भन्ने शब्दहरू बनिएका हुन् । डायनामा भनेको बिजुली उत्पादन गर्ने यन्त्र हो अनि डायनामाइट भनेको विष्फोटक हो । जसरी डायनामाले ठूला ठूला शक्तिको काम गर्दछ भने डायनामाइटले चट्टानहरू फोर्ने काम गर्दछ भने, त्यसै गरी पवित्र आत्माको काम पनि त्यस्तौ हो । नेइम ज्ञानेश्वर मण्डलीमा पनि १९७० दशकदेखि पवित्र आत्माको भरपूरीले नेइममा आत्मिक जागृतिको कारणले मण्डली वृद्धि भएर गएको हो (प्रेरित १ः८) ।

वर्तमान समयमा पनि पवित्र आत्माको शक्तिको प्रदर्शन हुनु आवश्यक देखिन्छ ।

क. पहिलो कारणः मण्डली स्थापना गर्नुः पहिलो शताब्दिका मण्डलीहरूमा पवित्र आत्माको आगमनभन्दा अगाडि येशूका चेलाहरू पनि डरपोक थिए भन्ने कुरा हामीले धेरै उदाहरण पाउँछौं । पेन्तिकोसको दिनपछि कसरी साहसी भएर साक्षी र गवाही बनी मण्डली वृद्धि गर्ने काममा लागिरहे भन्ने प्रेरितको पुस्तकमा पाइन्छ (प्रेरित ६ः१, ७, ४ः३१–३२) ।

ख. दोस्रो कारणः चिन्ह र चमत्कारको निम्ति (सामाजिक सेवकाइ) मर्कूस १६ः१७ महान् आज्ञा मात्र नभएर रोगीहरू निको पार्ने, भूतहरू धपाउने जस्ता सामाजिक सेवकाइ समेत चेलाहरूले गरेका थिए ।

३. पेन्तिकोसको दिन प्रेरितहरूले दोब्बर पवित्र आत्माको शक्ति पाएर दोब्बर पवित्र आत्माको काम गरे ।

उदाहरणको लागि कुनै पनि गाडी १० लिटर पेट्रोल राख्दा जति टाढा जान सक्दछ, २० लिटर राखेको खण्डमा दोब्बर जान सक्दछ । एलिया र एलिसाको पनि उदाहरण हामीले हेर्न सक्दछौं । पेन्तिकोसको दिनपछि ठीक त्यस्तै काम पहिलो शताब्दिका मण्डलीहरूमा भएको पाइन्छ । प्रभुले भन्नुभएको महान् आज्ञा पूरा गर्नलाई आज मण्डलीको भक्ति र पवित्र आत्माको शक्तिमा मात्र महान् आज्ञा पूरा गर्न सक्दछौं । आमेन् !