म सुचनापत्र पढछु – पाष्टर प्रेम श्रेष्ठ

January 9, 2017 | Articles  

प्रत्येक दिन उहाँलाई विश्वास गरेको परमेश्वर चाहनुहुन्छ ।
अर्को दिन, अर्को हप्ता, अर्को महिना, अर्को वर्ष होइन तर प्रत्येक दिन…

कुनै कुरामा चिन्तित नहोओ तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन् … जे कुरा सत्य छ, जे कुरा आदरणीय छ, जे कुरो न्यायसंगत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम योग्य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्ठता, प्रशंसाको योग्य केही छ भने यी नै कुराको विचार गर (फिलिप्पी ४ः६,८) ।

२०१६ साल हाम्रा परमेश्वरले हामीलाई यति धेरै आशिष् दिनु भयो कि हामी गन्न वा भन्न पनि सक्दैनौं । १ कोरिन्थी २ः९ मा लेखिएको छ, “आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका, यी नै कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ ।” यशैया ६४ः४ उहाँको बाटो हेर्नहरूका निम्ति काम गर्नुहुने तपाईं बाहेक अरू कोही परमेश्वर छ भनी कसैले प्राचीन कालदेखि नै कहिल्यै सुनेको छैन, नता कानले सुनेको छ, नता आँखाले देखेको छ । साथै उहाँको प्रतिज्ञा छ “हेर म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु । अघि अघिका कुराहरूको सम्झना हुनेछैन न ता ती मनमा आउने छन् ।”
(यशैया ६५ः१७)

चाँगु निवासी एक जना दिदीलाई धेरै वर्षअघि मैले एउटा प्रश्न सोधेँ । प्रायः जसो म सोध्ने पनि गर्दछु ‘दिदी तपाईं कस्तो हुनुहुन्छ ?’ त्यसपछि उहाँको उत्तरले मेरा जीवनमा ठूलो परिवर्तन ल्यायो । उहाँको उत्तर थियो गुरुवा मैले प्रभुमा विश्वास गरेपछि “गनेर गनि नसक्नु, भनेर भनी नसक्नुको आशिष् पाएको छु ।” मलाई लाग्दथ्यो यो संसारमा परमेश्वरको आशिष् सबैभन्दा बढी मैले पाएको छु तर गाउँका दुरदराजमा आफ्नो गुजारा गरेर बस्ने साधारण व्यक्तिले पनि त्यति धेरै परमेश्वरलाई विश्वास गरी उहाँबाटको आशिष् उपभोग गर्नुभैराखेको रहेछ । म छक्क परे ! २०१६ मा कति यस्ता दिन समय हाम्रा जीवनमा आए जसमा परमप्रभु परमेश्वरले हामीलाई उहाँको प्रतिज्ञाअनुसार व्यवस्था ३१ः६ “बलियो र साहसी होओ । यिनीहरूसित नडराओ र त्रसित नहोओ । किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूसँग जानुहुन्छ। उहाँले तिमीहरूलाई कहिल्यै छोड्नुहुनेछैन न ता त्याग्नुहुनेछ ।” अतः एक जना सानो बालक वा बालिका कुनै ठाउँमा जानुपर्‍यो तर मनमा ठूलो डरले सताइराखेको छ र अचानक एक जना पाको व्यक्ति त्यही बाटोमा जाने भेट्दा त्यो बालक वा बालिकालाईकति ढाडस हुन्छ होला ? कल्पना गरौ न स्वर्ग र पृथ्वीका सृष्टिकर्तासँगै यात्रा गरेर २०१६ साललाई विदा गर्‍यौ र उहाँ भन्नुहुन्छ “म तँ सँगसँगै जानेछु ।” कति ठूलो शौभाग्य । अब २०१७ सालको लागि हामी २०१७ सालकै नयाँ आशिष् र प्रतिज्ञामा जिउनको लागि हामीले विशेष्त ४ वटा काम गर्नु पर्दछ ।

१. कुनै कुरामा चिन्तित नहोऔं ।

“यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ । आजको दुःख आजको निम्ति पर्याप्त छ” (मत्ती ६ः३४) ।

यहाँ येशूले सिकाउनुभएको कुरा भोलिको निम्ति नसोच भन्नु भएको होइन । अब भोलिको दिनमा अनाज भित्र्याउन आज नै छर्नु वा रोप्नुपर्छ । अब हिजोको कुरालाई केही मतलब नै नगर भन्नुभएको होइन हिजोको अनुभवबाट नै त कति हाम्रो लागि शिक्षा मिल्छ जसबाट हामी अघि बढ्दछौं तर कुराचाहिँ फिक्री नगर भन्नुभएको हो । फिक्री, चिन्ता र डर शैतानबाट आउँदछ । हामीलाई चाहिने सबै असल कुरा ख्रीष्टमा हाम्रो लागि राखिएको छ । फिलिप्पी ४ः१९ त्यसकारण No tension ।

२. सबै कुराको निम्ति प्रार्थना गरौं ।

“जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा सितंैमा दिनुहुने छैन र ?” (रोमी ८ः३२) जब हामी परमेश्वरसँग पुकारा गर्छौं, प्रार्थना गर्छौं, उहाँले हामीलाई सबै कुरा अवस्य दिनुहुन्छ । “त्यो दिन तिमीहरूले मलाई केही सोध्ने छैनौ । साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ, उहाँले त्यो तिमीहरूलाई दिनुहुन्छ । अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ । माग, अनि तिमीहरूले पाउनेछौ । यसरी तिमीहरूको आनन्द पूर्ण  होस्” (यूहन्ना १६ः२३–२४)। जसले माग्छ त्यसले पाउँछ । नमाग्नेहरू हेरेको हेरै हुन्छन् ।

३. सबै कुरामा धन्यवादी होऔं ।

“सधैँ सबै कुराका निम्ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्वर पितालाई धन्यवाद चढाओ” (एफिसी ५ः२०) । “सबै परिस्थितिमा धन्यवाद देओ, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरका इच्छा यही हो” (१ थिसलोनिकी ५ः१८) ।

जसले येशूलाई साँचो विश्वास गरेको हुन्छ वा उहाँलाई भेटेको हुन्छ त्यस व्यक्तिले मात्र यो काम गर्न सक्छ र त्यो मात्र परमेश्वरलाई साँचो धन्यवाद हो । त्यसकारण हामी नक्कली
ख्रीष्टियन जीवन नजिऔ (try to be real) । हामीले कुनै दुष्ट कुरा जस्तै, क्यान्सर रोग, एड्स रोग, दुर्घटना, लडार्इं, झगडा अर्थात् खराब कुराको लागि धन्यवाद चढाउने भनेको होइन, किन ? त्यस्ता कुरा परमेश्वरबाट आउँदैन तर परमेश्वरले सधैँ असल कुराहरू मात्र दिनुहुन्छ जसमा कुनै छलछामका छायाँ पनि छैन वा हुँदैन खराबी त यही संसारले दिन्छ, जस्तै धोका, खिसी, हेला, दुश्मनी, आरिस इत्यादि ।

४. सधैँ असल कुरो मात्र विचार गरौं ।

सत्य कुरा, आदरणीय कुरा, न्यायसँगत कुरा, शुद्ध कुरा, प्रेम–योग्य कुरा, कृपामय कुरा, श्रेष्ठ कुरा र प्रशंसाको योग्य कुरामा हामी आफ्नो मन लगाऔं जसबाट असल परिणाम आउँदछ । जसबाट परमेश्वरको महिमा र मण्डली परिवारको भलाइ हुँदछ । त्यसैमा मन लगाऔं । यो २०१७ साल यशैया २६ः३ “जसको मन तपाईंमा अडिएको छ, त्यसलाई तपाईंले पूरा शान्तिमा राख्नुहुन्छ, किनभने त्यसले तपाईंमाथि भरोसा राख्छ ।” परमेश्वरको निम्ति जिउन सकौं र हामी अरूलाई उत्साह दिने व्यक्ति, अरूलाई बलियो बनाउने व्यक्ति साथै अरूलाई सान्त्वना दिने व्यक्ति बन्न सकौं । के तपाईं र मलाई अरू मानिसले भेट गर्दा आशिष् पाउँदछन् वा निराशा पाउँछन् ? प्रभु गरून् हामी यो वर्ष प्रभुमा पूर्ण विश्वास गरेर प्रभुको निम्ति जिउन सकौं ।

नेइमको एक विश्वासी योद्धा, विश्वासी सिपाही भएर जिउने प्रण गरौं । सधैँ हाम्रा अग्रजहरू जसले हामीलाई असल र सही शिक्षामा हुर्काउने काम गर्नुभयो । हामी पनि धेरै नवजवान पुस्तालाई यो आशिष्मा, शिक्षामा हुर्काउन भरमग्दुर प्रयास गरौं साथै नयाँ वर्ष २०१७ को शुभ–कामना र प्रशस्त आशिष् होस् ।