गूड फ्राइडे र ईस्टरको वास्तविकता– एल्डर सिमोन पाठक

April 3, 2017 | Articles  

एकाइसौं शताब्दी अघि इस्राएलको बेथलेहेममा एकजना यस्तो व्यक्तिको जन्म भएको थियो, जो आज पनि जीवित हुनुहुन्छ–प्रभु येशू ख्रीष्ट । विश्वका इसाईहरूले येशू जन्मनु भएको दिनलाई ख्रीष्टमस, मृत्युको दिनलाई गूड फ्राइडे र मृत्युबाट जीवितभई उठनुभएको दिनलाई ईस्टरको रूपमा उत्सव मनाउँछन् । कुनै पनि व्यक्तिको जन्मेको दिनलाई खुशीयालीको रूपमा मनाउनु त स्वाभाविकै हो, तर मृत्युको दिन कहिल्यै पनि खुशीको दिन हुन सक्दैन । येशू ख्रीष्टको मृत्युको दिनभने सारा मानवको लागि असल शुक्रबार अर्थात् गूड फ्राइडे बन्न पुगेको छ ।

असल शुक्रबार अर्थात् गूड फ्राइडे

येशू ख्रीष्टको मृत्युको दिनलाई गूड फ्राइडेको रूपमा मनाइन्छ किनकि उहाँ क्रूसमा टाँगिनुभएर आफ्नो शरीरबाट जुन रगत बगाउनुभयो, त्योचाहिँ संसारका सबै मानिसको पाप धुनको निम्ति पूर्ण बलिदान थियो । मानिसहरूको अन्तर चेतनामा पाप मोचनको लागि रगतको आवश्यकता पर्छ भन्ने कुराको गहिरो छाप लागेको छ । तर रगत बगाउने त्यो थुमा खोई त ? मानिसको पाप धुनलाई रगत बगाइनुपर्छ भन्ने कुरालाई बाइबल धर्मशास्त्रमा स्पष्टसँग बताइएको छ–“रगत नबगाइकन पाप मोचन हुँदैन”(हिबू्र९ः२२)।“तर साँढेहरू र बोकाहरूको रगतले पाप हरण गर्न असम्भव छ” (हिबू्र १०ः४) ।

रगत नबगाइकन पाप मोचन हुन नसक्ने हुनाले रगतको आवश्यकता पर्‍यो । तर पशुपंक्षीको रगत पनि होइन, त्यसो भए कसको रगत बगाउने ? मानिस सबै पापी छन् । एउटा पापी मानिसले अर्को पापी मानिसको सट्टामा रगत बगाएर बचाउन सक्दैन । संसारका मानिसको पाप धुनलाई निष्कलंक पवित्र थुमाको आवश्यकता थियो। तर त्यो थुमा यस संसारमा नभएको कारणले एक्काइसौं शताब्दी अघि परमेश्वर पिताले पुत्र येशू ख्रीष्टलाई यस संसारमा पठाइदिने प्रतिज्ञा हजारौं वर्ष अघिदेखि अगमवक्ताहरूद्वारा गर्नुभयो र समयको पूर्णतामा एक्काइसौं शताब्दी अघि येशू यस संसारमा कन्ये मरियमको कोखमा पवित्र आत्माद्वारा गर्भधारण हुनुभयो र बालकको रूपमा यस संसारमा जन्मनुभयो ।

येशूको जन्म जसरी र जहाँ हुन्छ भनिएको थियो त्यसरीनै र त्यही ठाउँमा भएको थियो । उहाँ साधारण मानिस जस्तै नै हुर्कनुभयो र तीस वर्षको उमेर पुगेपछि उहाँ जुन उद्देश्यको लागि पृथ्वीमा मानिस बनेर आउनुभएको थियो, त्यही अनुसारनै उहाँले परमेश्वरको राज्यको प्रचार गर्न शुरू गर्नुभयो । दृष्टिविहीनहरूलाई देख्न सक्ने, हिँड्न नसक्नेहरूलाई हिँड्न सक्ने, बहिराहरूलाई सुन्न सक्ने, भूतलागेकाहरूलाई छुट्कारा, रोगले थलिएकाहरूलाई चंगाई र मरेकाहरूलाई जीवितपार्ने कामगर्नुका साथै परमेश्वरको राज्यको विषयमा मानिसहरूलाई शिक्षा, उपदेश दिने काम गर्नुभयो ।

उहाँको उपदेश र उहाँले गर्नुभएका आश्चर्यकर्मका कामहरू देखेर हजारौं मानिसहरू उहाँको पछि लागेका देख्दा त्यस देशका यहूदीधर्मगुरुहरू भयभीत हुनपुगे र उहाँलाई मार्नलाई रणनीतिहरू रच्नथाले । उहाँलाई राजद्रोहको आरोप लगाएर अदालतमा सुम्पियो । तर अदालतका बडा हाकिम पिलातसले उहाँमा कुनै पनि दोष भेट्टाउन सकेनन् (यूहन्ना १८ः३८,१९ः६) । तर मानिसहरूको डरको कारण पिलातसले येशूलाई भीडको हातमा नै सुम्पिदिए (यूहन्ना १९ः१६) । उहाँलाई मानिसहरूले अनेक किसिमको यातना दिँदै अन्तमा काठको क्रूसमा हात र खुट्टाहरूमा काँटी ठोकेर झुण्ड्याए । उहाँको शरीरबाट रगतका धाराहरू बग्यो जुन चाहिँ बाइबल धर्मशास्त्रमा गरिएको भविष्यवाणी अनुरूप हुनुनै पर्ने थियो । मानवको पाप धुनलाई रगतको आवश्यकता थियो, त्यो रगत येशू ख्रीष्टले कलवरी डाँडाको क्रूसमा बगाइदिनुभयो । हामीले पाउनुपर्ने दण्ड उहाँले भोगिदिनुभएको कारणले गर्दा नै येशूको मृत्युको दिन चाहिँ सारा मानव जातिको लागि असलशुक्रबार अर्थात् गूड फ्राइडे बन्नपुगेको हो ।

येशू मर्नुभएको तेस्रो दिनमा जीवित भई उठ्नुभयोः

येशू क्रूसमा मर्नु अगाडि धर्मगुरुहरूलाई जवाफ दिने क्रममा भन्नुभएको थियो, “यस मन्दिरलाई भत्काइदेओ, र म तीन दिनमा यसलाई खडा गर्नेछु” (यूहन्ना २ः१९) । येशूले आफ्नै शरीरको विषयमा कुरा गरिराख्नुभएको थियो । उहाँलाई मानिसहरूले मार्नेछन् तर तेस्रो दिनमा फेरि बौरी उठ्नुहुनेछ भन्ने कुरा येशूलाई पहिला नै थाहा थियो । बाइबल धर्मशास्त्रको पुरानो करार र नयाँ करार दुवै खण्डमा येशू मर्नुहुनेछ र फेरि जीवित हुनुहुनेछ भन्ने कुरा उल्लेख गरिएको पाउँदछौं । उहाँले भन्नुभएझैं तेस्रो दिनको बिहानै उहाँ जीवित भई उठ्नुभयो । येशू, मरियम मग्दलिनी, सिमोन पत्रुस र बाह्रै चेलाहरू कहाँ पटक पटक गरेर देखा पर्नुभयो (यूहन्ना २०ः१–२९, मत्ती २८ः९–१०, मर्कुस १६ः९–१८, लूका २४ः३६–४९) । मृत्युबाट जीवितभई उठ्नुभएको चालीस दिनसम्म चेलाहरूको बीचमा साथै मानिसहरूको बीचमा उहाँ देखा पर्नुभयो र स्वर्ग राज्यको शिक्षा मानिसहरूलाई दिनुभयो र चालीसौं दिनमा यरूशलेमको नजीकैको जैतूनभन्ने डाँडामा मानिसहरूको भीडलाई उपदेश दिँदादिँदै येशू स्वर्गमा उचालिनुभयो । येशू स्वर्गतर्फ जानुभएको दृष्यलाई ट्वाल्ल परेर हेरिरहने गालीलका मानिसहरू कहाँ दुई स्वर्गदूतहरू देखा परेर भन्नलागे, “गालीलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ ? यही येशू, जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ ।” उहाँमा विश्वास गर्नेहरूलाई लिन आउनुहुने दिन संसारको अन्त्य हुनेछ । बाइबलमा गरिएको यो भविष्यवाणी एकदिन पूरा हुनेनै छ तर त्यो दिन आउनु अघि संसारका सबै मानिसले येशू ख्रीष्टले मानव जातिको लागि गर्नुभएको महान बलिदानको शुभखबर सबै मानिसहरूले सुनेको हुनुपर्दछ । त्यही कारणनै संसार भरिका ख्रीष्टियानहरूले येशूको जन्म, मृत्यु र उहाँ जीवित हुनुभएको सन्देश “सित्तैंमा पायौ र सित्तैंमा देऊ”भन्ने येशूको आज्ञा अनुसार गरिराखेका छन् । यो धर्म प्रचार नभएर जीवन प्रचार हो ।

येशू ख्रीष्टको पुनरुत्थानको विषयलाई लिएर कतिमानिसहरू तर्क वितर्क गर्र्ने गर्दछन् । तर बाइबलमा येशूको मृत्यु र जीवितभई उठ्नभएको सम्बन्धमा प्रशस्त प्रमाणहरू छन्– सिपाहीहरूले येशूको कोखामा भालाले घोचे र तुरून्तै रगत र पानी निस्क्यो र उनीहरूले उहाँको मृत्यु अघिनै भइसकेकोे प्रमाणित गरे(यूहन्नो १९ः३३–३७) । चेलाहरूले येशूको चिहानमा सूती कपडाहरू पडिरहेको भेट्टाए (यूहन्ना २०ः५–७) । येशू जीवितभई उठ्नुभएपछि चेलाहरूले आफ्नो हातले नै उहाँको शरीरलाई छोएका थिए (यूहन्ना २०ः२०,लूका २४ः२९) । येशू जीवितभई उठ्नुभएको आफ्नै आँखाले देखेको कारणनै चेलाहरू साहसका साथ येशूको नाउँ प्रचार गर्न निस्केका थिए (प्रेरित ४ः१०) । विशेष् गरी तीनवटा कुराहरूले येशूको जीवितभई उठ्नुभएको कुरालाई प्रमाणित गर्दछ ः
क. आँखाको साक्षीः मर्कुस १६ः९, १२–१३, यूहन्ना २०ः११–१८, लूका २४ः३०–३५)
ख. रित्तो चिहानः मर्कुस १५ः४०–१६, १८, लूका २४ अध्याय र यूहन्ना १९, २१ अध्यायहरू
ग. मण्डलीको जन्मः प्रेरित २ः३७–४७, १७ः६ ।

सबै कुराहरूको निचोड चाहिँ यही नै हो, येशूले मृत्यु माथि विजय प्राप्त गर्नुभएको छ । येशू क्रूसमा मारिनुभएको तेस्रो दिन मरेको बाट फेरि जीवित हुनुभएको स्मरण गर्दै विश्वभरिका ख्रीष्टियानहरूले मनाउने महान् पर्व नै ईस्टर हो । ईस्टरले मानव जातिलाई दिने संदेश पनि मृत्यु माथि विजय प्राप्त गरेर प्रत्येक मानिसले येशू ख्रीष्टमा अनन्त जीवन प्राप्त गर्न सक्छन् भन्ने नै हो । येशूले भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ । मलाई विश्वास गर्ने मर्‍यो भने पनि जीवित हुनेछ” (यूहन्ना ११ः२५) । येशूको जन्म, मृत्यु र बौरी उठाइको सम्बन्धमा हजारौं वर्ष अघि देखि गरिएको भविष्यवाणी आज भन्दा दुई हजार वर्ष अगाडि एउटा पनि बिन्दु तल माथि नभई सबै कुरा येशूमा पूरा भए जस्तै येशू फेरि एक दिन उहाँमा विश्वास गर्नेहरूलाई बादलको सवारीमा लिन आउनुहुनेछ भन्ने भविष्यवाणी पनि सत् प्रतिशत पूरा हुनेछ । येशूको दोस्रो आगमन र संसारको अन्त्य हुनेछ भन्ने बाइबलको भविष्यवाणीलाई प्रश्न गर्ने कुनै ठाउँ नै छैन तर आज प्रश्न चाहिँ यो छ, के हामी मृत्युबाट जीवित भई उठ्नुभएको प्रभु येशूसँगै मृत्युपछि स्वर्ग जानलाई तयार छौं ? गूड फ्राइडे र ईस्टरले ल्याएको रमाहटमा हामी रमाउन सकेका छौं ? उहाँ आउनुहुँदा हाम्रा आँखाबाट उहाँलाई स्वागतगर्दै हर्षका आँसु बग्नेछन् या त विछोडमा परेर बिलौनाका आँसु खस्नेछन् ? सोच्ने र निर्णय गर्ने समय अहिले नै हो । भोलि ढिलो हुन सक्छ !