परमेश्वरमा विश्राम – पाष्टर राजेन्द्र रोंगोंग

October 9, 2017 | Articles  

आदम पछिका मानिसहरूले पनि दुष्टता त्यागेनन् । “पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूका विचारको जुनसुकै पनि भावना खराबै मात्र भएको परमेश्वरले देख्नुभयो …”

मानिसलाई बनाउनु भएकोमा परमप्रभुले अफसोस गर्नुभयो र उहाँ साह्रै दुखित हुनुभयो । त्यसकारण परमप्रभुले भन्नुभयो, “मैले सृष्टि गरेको मानिसलाई पृथ्वीबाट म मेटिदिन्छु … तर नोआमाथि चाहिँ परमप्रभुको अनुग्रह भयो (उत्पत्ति ६ः५–८) ।” नोआ “आफ्नो पुस्तामा धार्मिक मानिस थिए । तिनी परमेश्वरको साथै हिँड्ने गर्थे (उत्पत्ति ६ः९) ।” नोआकै कारण परमेश्वरले सबै मानिसलाई नाश गर्न चाहनुभएन । नोआका परिवार साथै सबै जीवित प्राणीमध्ये हरेक जातका पशुपंक्षी र जमीनमा घस्रने सबै थरीका दुई–दुईवटा (भाले र पोथी) “अटाउने जहाज बनाउन परमेश्वरले नोआलाई अह्राउनुभयो । परमेश्वरले जहाजको नक्शा पनि दिनुभयो ।” नोआले साना तिना काठका कामहरू गरे होलान् तर यस्तो विशाल निर्माण कार्य उनको निमित्त कठिन मात्र होइन असम्भव नै थियो । सायद उनले सो कुरा आफ्नो परिवारमा बताए । शुरूमा उनीहरूले विश्वासै गर्न सकेनन् तर आफ्ना श्रीमान्, बुवा तथा ससुराको विश्वास देखे । सुखा मरुभूमिमा जहाज बनाउन अति नै अनौठो कुरा थियो तर परिवार सबै काममा लागे । टाढा नजीकका छिमेकहरू आएर प्रश्न गरे होलान् र ठट्टामा उडाए होलान् तर उनीहरूले आफ्ना श्रीमान्, बुवालाई सघाइरहे । उत्पत्ति ६ः२२ अनुसार “परमेश्वरले नोआलाई आज्ञा गर्नुभए बमोजिम तिनले सबै गरे ।” उत्पत्ति ७ः५ मा यो कुरा दोहोरिएको छ, “तब परमप्रभुले तिनलाई हुकुम गर्नुभएबमोजिम नोआले सबै गरे ।” एउटै कुरा दोहोर्‍याउनुको अर्थ परमेश्वरले आज्ञा गर्नुभएको काम पूरा भयो ।

यसै सन्दर्भमा गएको वर्षतिर नोआको जहाजको भग्नावशेष यूरोपीय राष्ट्र टर्कीमा फेला परेको समाचार प्रकाशन भएको थियो ।

नोआ आफूले यो काम गर्न सकेका होइनन्, उनी आफ्ना पुस्तामा “धर्मी र निर्दोष मानिस थिए र परमेश्वरमाथि भरोसा गर्थे” अर्थात् उनी ठूला काम देखेर आत्तिएनन् तर उनले परमेश्वरमा विश्राम गरे । उनले परमेश्वरमाथि विश्राम गरे अनि परमेश्वरले उनलाई काम गर्ने ज्ञान र शक्ति दिनुभयो ।

परमेश्वरमाथि विश्राम गर्ने अरू केहीमध्ये योसेफ याकूबका एघारौं छोरो थिए । बुढेसकालको छोरो भएकोले याकूब उनलाई अरू छोराहरूभन्दा बढी प्रेम गर्थे । त्यसैले उनका दाजुहरूले उनलाई मन पराउँदैनन् थिए । उनले दुईवटा सपना देखे (हेर्नुहोस् उत्पत्ति ३७ अध्याय) जसका कारण उनका दाजुहरू असाध्यै चिढिए । तिनको दोश्रो सपनामा बाबुआमासमेतले उनलाई ढोगेका कुरा थियो । यसका कारण उनका दाजुहरू अति नै रिसाए तर उनका बाबु याकूबले “… यी कुरा मनैमा राखे (उत्पत्ति ३७ः११) ।”

एक पल्ट योसेफका दाजुहरू बगालचराउन शकेममा गएका थिए । याकूबले योसेफलाई दाजुहरूकहाँ पठाए । उनका दाजुहरूले उनलाई मन पराउँदैनन् भन्ने थाहा थियो । तर पनि उनका बाबुले तिनलाई बोलाउनु भई आफ्नो दाजुहरूकहाँ पठाउँदा नाइनास्ति गरेनन् । तर उनले भने “म तयार छु” र “उनी गए” । जब दाजुहरूले उनलाई देखे तिनीहरूले उनलाई पहिले मार्ने विचार गरे तर जेठो दाजु रूबेनको कारण त्यसो गरेनन् र खाडलमा हाले । उनीहरूले खाजा खाइरहेको बेलामा त्यही बाटो भएर मिद्यानी व्यापारीहरू जाँदै गरेका देखेर भाइ योसेफको विनय क्रन्दनको वास्तै नगरी बीस सिक्कामा तिनलाई कमारोको रूपमा बेचिदिए । मिद्यानीहरूले उनलाई मिश्री राजाका अंगरक्षक पोतिफर कहाँ बेचे ।

उत्पत्ति ३९ः२ मा लेखिए अनुसार “परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो … ।” अर्थात् उनले परमेश्वरमाथि विश्वास गर्थे र उहाँमाथि पूर्ण विश्राम गर्थे । यही विश्रामको कारण परमेश्वरले उनको हरेक काममा आशिष् दिनुभयो । उनका मालिकले योसेफलाई आफ्नो घरको मुख्य कारिन्दा बनाए । उनी सुन्दर थिए । उनकी मालिकनीको कुदृष्टि उनीमाथि थियो । उनलाई परीक्षा गर्दा उनको उत्तर यो थियो, “… कसरी यस्तो घोर दुष्ट काम गरेर मैले परमेश्वरको विरुद्धमा पाप गर्नु ? (उत्पत्ति ३९ः९)” एक दिन मालिकनीले मौका छोपी, उनलाई परीक्षा गर्न खोजिन् । उनी आफ्नो खाष्टो मालिकनीले समातेर राखेको अवस्थामा त्यतिकै छोडेर भागे । उनले आफ्नो पतिलाई योसेफको विरुद्ध उजुर गरिन् । पोतिफोरले कारणै नबुझी योसेफलाई झ्यालखानामा हालिदिए । योसेफलाई झ्यालखानामा राखियो । उनले बिना प्रतिवाद झ्यालखानाको सजाय भोग्न तयार भए । तर त्यहाँ पनि परमेश्वरको निगाह उनीमाथि थियो । “तर परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो, उहाँले उनीमाथि टिठाउनुभयो अनि झ्यालखानाका हाकिमको निगाह पात्र बनाउनुभयो (उत्पत्ति ३९ः२१) ।” यसको रहस्य थियो योसेफले परमेश्वरमाथि विश्राम लिन जानेका थिए र निरन्तर विश्राम लिन्थे ।
झ्यालखानामा पनि बिना गनगन सबैको सेवा गर्थे यहाँसम्म कि झ्यालखानाका हाकिमले सबै बन्दीहरूलाई उनको जिम्मामा दिए । यही क्रममा एकपल्ट राजाका मुख्य पियाउने र मुख्य पकाउने पनि झ्यालखानामा बन्दीको रूपमा आए । उनीहरूले विभिन्न अर्थ भएको सपना देखे । योसेफले सो सपनाको अर्थ बताइदिए । त्यसपछिको घटनाक्रम त्यसै अनुसार भयो । मुख्य पियाउनेले आफ्नो जागिर पुनः पाए, र पकाउने नोकरलाई झुण्ड्याइयो । दुई वर्षपछि मिश्रका राजा फारोले पनि सपना देखे । सपनाको अर्थ भेटिएन तर मुख्य पियाउनेले योसेफलाई सम्झे र फारोलाई उनको सिफारिस गरे । योसेफ फारोको अघि पुगे र जब फारोले “सपनाको अर्थ तैंले खोल्न सक्छस् रे” भनेकोमा योसेफले भने, “यस्तो ज्ञान त ममा छैन तर परमेश्वरले फारोलाई यथार्थ उत्तर दिनुहुन्छ (उत्पत्ति ४१ः१६) ।” योसेफ परमेश्वरमाथि पूर्ण रूपले विश्वास गर्थे अर्थात पूर्ण रूपमा उनी परमेश्वरमा विश्राम गर्थे । यसैको आधारमा नै योसेफले फारोको सपनाको अर्थ खोले । योसेफको जीवनमा ठूलो परिवर्तन आयो । योसेफको विषयमा फारोको यस्तो साक्षी थियो, “परमेश्वरले तिमीलाई सबै कुरा देखाइदिनु भएको छ र तिमी जस्तो चतुर र बुद्धिमान मानिस अरू छैन । यसकारण मेरो महलको अख्तियार चलाउने तिमी नै भयौ र तिम्रै आज्ञाअनुसार मेरो समस्त प्रजा चल्ने छ, केवल सिंहासनको सम्बन्धमा मात्र म तिमी भन्दा माथि हुनेछु(उत्पति ४१ः३९–४०) ।”

नोआ तथा योसेफ आफूमा साधारण मानिस थिए तर उनीहरू परमेश्वरमा विश्वास गर्थे र उहाँमा विश्राम गर्थे । यसैकारण ती दुवै साधारण मानिसबाट असाधारण काम भयो ।

बाइबलका ठूला अगमवक्ता यशैया पनि यस तथ्यलाई जोड दिन्छन्, “परमप्रभु परमेश्वर इस्राएलका परमेश्वर चाहनुहुन्छ, पश्चात्ताप र विश्राममा तिमीहरूको उद्धार छ । मौन धारण र भरोसामा तिमीहरूलाई शक्ति मिल्दछ (यशैया ३०ः१५) ।” यशैयाले पनि राष्ट्रलाई धक्का पर्ने किसिमका विशाल आश्चर्य काम गरेका थिए किनकि उनी परमेश्वरमाथि विश्वास गर्थे ।

हामी प्रभु येशूको रगतले किनिएका प्रत्येकको निमित्त प्रतिज्ञा र शक्ति प्राप्त भएको छ । शैतान, जो यस संसारका देव हो, त्यसले हाम्रो विचार, इच्छा, अनुभव अथवा हाम्रा मनमा निरन्तर आक्रमण गरिरहन्छ । अनेकौं चिन्ता, फिक्री, अविश्वास, शङ्का, डर, किसिम किसिमका तर्क वितर्कहरू हाम्रो मनमा हालिदिन्छ र परमेश्वरमाथि विश्वास गर्नमा बाधा पुर्‍याउँछ । धेरै अवस्थामा हामीले परमेश्वरमा विश्राम नलिएको कारण जीवनमा खलबल र गोलमाल पुर्‍याइरहेका हुन्छौं । हामीहरू आफ्नै कुरामा यति व्यस्त छौं कि हामीलाई प्रभु के भन्दै हुनुहुन्छ सो सुन्ने फुर्सद पनि हामीसँग हुँदैन ।

अहिले, यसै समय यो लेख, पढ्दै गर्दा पनि प्रभु येशू भन्नुहुन्छ, “हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिन्छु । मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि आफ्ना आत्मामा तिमीहरूले विश्राम पाउनेछौं । किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ (मत्ती ११ः२८) ।”