६० औं वर्ष पुग्यौं, एबेनेजरको ढुङ्गा गाडौं र अघि बढौं – पाष्टर राजेन्द्र रोंगोंग

November 15, 2017 | Articles  

६० वर्ष अघि डिल्ली बजार स्थित डेरामा डिल्ली बजार मण्डली, पछि ज्ञानेश्वर र हाल नेपाली इसाई मण्डली स्थापना भयो । आदरणीय पाष्टर रोबर्ट गुरुबाको अगुवाइमा १५-१६ जना विश्वासीहरूसहित पहिलो सेवा शुरू भयो । त्यसपछि प्रायः सात विभिन्न ठाउँमा डेरा सर्नुपर्ने भएअनुसार मण्डली पनि सँग सँगै सर्दै गयो । अन्त्यमा ज्ञानेश्वरमा आफ्नै भवन बनेपछि एउटै स्थानमा स्थायी रूपमा आराधना सेवा गर्दै आएका छौं ।
वि.सं. २०१७ पुष १ देखि देशमा पञ्चायत शासन शुरू भयो । यो शासन निकै कष्टकर थियो तर त्यसै बेलादेखि मण्डली वृद्धि हुन थाल्यो । परमप्रभु परमेश्वरको अनुग्रह र अगुवाइमा नेइमको स्थिति यस प्रकारका छन्: हाल नेइमका २५ जिल्लामा १२७ वटा शाखा आबद्ध मण्डलीहरू रहेका छन् । त्यसैगरी स्थानीय मण्डलीका आउटरीच संगतिहरू २० वटा रहेका छन् । हाल उपत्यका र आसपासमा गरी १६ वटा मण्डलीहरू रहेका छन् । यसरी नेपालभरि जम्मा नेइमका मण्डलीहरूको संख्या १६३ रहेको छ । त्यसैगरी नेइमका मिशनेरीहरूले नेपालभन्दा बाहिर शुरू गरेका मण्डली तथा संगतिहरू भारतको पूर्वोत्तरमा ६, गढवालमा २, मुम्बईमा १, पूनेमा ३, बैंगलोरमा ४ गरी जम्मा १६ वटा रहेका छन् । हाल भारतमा ५ परिवार मिशनेरीको रूपमा हुनुहुन्छ भने यूरोपमा १ परिवार मिशनेरी कार्यरत हुनुहुन्छ । नेइमका मिशनेरीहरूको जम्मा संख्या ६ परिवार रहेको छ । यसरी हेर्दा नेइम नेपालभरि ३३ वटा जिल्लामा पुगेको छ र हाल रहेको ७ वटै प्रदेशमा नेइम पुगेको छ । उपत्यका भित्र र बाहिर गरी नेइमका जम्मा विश्वासीहरूको संख्या नेपालमा करिब २० हजार जति रहेको अनुमान छ ।
मिशनको क्षेत्रमा हाल नेइमले मण्डली स्थापना गर्ने, अगुवाहरू तयार गर्ने, अगुवाहरूलाई तयार गर्ने, अगुवाहरूलाई सबल बनाउने, आवश्यक शिक्षा तथा तालिम उपलब्ध गराउने, स्थापना भएका मण्डलीहरूलाई विविध प्रकारले सहयोग गर्ने, मिशनेरीहरू पठाउने, विभिन्न मण्डलीहरूसँग मिशन सम्बन्धी काममा सहकार्य गर्ने स्थानीय मण्डलीका वरपरको समुदायलाई हित हुने सामाजिक कार्यमा सहयोग पु¥याउने आदि कार्यहरू गरिरहेको छ ।
अब के गर्ने ?
सबैभन्दा पहिले त गत समयहरूमा परमप्रभु परमेश्वरले हामीलाई अगुवाइ, सुरक्षा र सहायता गर्नुभएकोमा एबेनेजेरको ढुङ्गारूपी स्मारक खडा गर्ने (१ शमूएल ७ः१२) अनि लक्ष्यतिर अघि बढ्नेः “मैले यी सबै अघिबाटै प्राप्त गरिसकेको छु, अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, तर ती कुराहरूलाई पक्रनको लागि म अघि बढिरहेको छु जुन कुराको निम्ति ख्रीष्टले मलाई पक्रनुभयो । भाइ हो, मैले यी सबै पक्रिसकेको छु भनी म ठान्दिनँ, तर एउटा काम म गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर अगाडितिर जोडसँग लम्कँदै ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाउने पुरस्कारको निम्ति निशानातिर म जोडसँग अघि बढ्दछु (फिलिप्पी ३ः१२–१४) ।
नेइमलाई अब अझ अघि बढ्नुपर्नेछ । धर्मशास्त्रअनुसार हामी प्रत्येक विश्वासीलाई व्यक्तिगत रूपमा र विश्वासीको समूहलाई ख्रीष्टले पक्रनुभएको छ । अर्को सरल भाषामा भन्ने हो भने उहाँले हामीलाई दिनुभएको काम हामीले उहाँले इच्छा गर्नुभएजस्तै गर्दै जानुपर्नेछ ।
हामीलाई परमेश्वरले नयाँ कुराहरू देखाउनुभएको छ । अघि मण्डलीले वचनको सुसमाचारमा मात्र प्रायः केन्द्रित थियौं भने अहिले पूर्ण सुसमाचार वा पूर्ण जीवन सुसमाचार (Whole – Life Gospel) बारे बताउँदै आएका छौं । १ थेसलोनिकी ५ः२३ मा लेखिएअनुसार, “शान्तिका परमेश्वर आफैले सम्पूर्ण रूपले तिमीहरूलाई चोखा बनाऊन्, र तिमीहरूका समस्त आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा निष्कलङ्क रहून् ।” यसअनुसार मानिस शरीर मात्र नभई आत्मा, प्राण (मन अथवा विचार, इच्छा र संवेदन) पनि हो । कसैले भनेका छन्–‘म आत्मा हुँ, मेरो प्राण छ र म शरीरमा बस्दछु ।’
यसैकारण हामीलाई दिनुभएको सुसमाचार आत्माको लागि मात्र नभएर सम्पूर्ण व्यक्तिको लागि हो भनी बुझाउनलाई पूर्ण जीवन सुसमाचार भनिएको हो । यस कुरालाई ध्यानमा राखी अब नेइम अघि बढ्नुपर्नेछ । पूर्ण–जीवन सुसमाचारले परमेश्वरको कामको अर्थलाई फराकिलो पार्छ । यो अर्थअनुसार मण्डली (चर्च) को काम जस्तै पाष्टर, प्रचारक, पूर्णकालिन सेवा तथा मण्डलीसित सम्बन्धित काम मात्र परमेश्वरको काम हो र अन्य विभिन्न कार्यालयका कामहरू, शिक्षा, कृषि, व्यापार, स्वास्थ्य, सरकारी कार्यालयहरू तथा अरूहरूकहाँ गर्ने नोकरी, सफाइ गर्ने आदि सबै काम पनि परमेश्वरले दिनुभएका कामहरू हुन् । यी विभिन्न काम गर्ने परमेश्वरका छोरा/छोरीहरूले उहाँलाई खुशी पार्ने इच्छाले काम गर्नुपर्दछ । जहाँ परमेश्वरका छोरा/छोरी छन् त्यहीँ नै परमेश्वरको उपस्थिति पनि हुन्छ अनि उहाँका प्रत्येक छोरा/छोरीसित परमेश्वरको आत्मा हुनुहुन्छ । उहाँले उनीहरूका काममा अगुवाइ गर्नुहुन्छ । यो प्रभुको काम हो सांसारिकको अर्थ छैन । जुन काम उहाँले हामीलाई दिनुभएको छ सो स्थानमा रहेर उहाँलाई खुशी पार्ने हिसाबले काम गर्दै गयौं भने आफ्ना मण्डली र समाजलाई पनि सेवा पुर्‍याउन सक्छौं ।
प्रभु येशूले सिकाउनुभएको प्रार्थना “… तपाईंको राज्य आओस्” यही आज्ञा पालन अर्थात् उहाँले सिकाउनु र चाहनुभए अनुसार काम गरेर पूरा हुनेछ ।
मण्डली ठूलो हुँदै गयो । सबै काम सँगै एकै ठाउँमा गर्नुपर्छ भन्ने कुरा सम्भव छैन । यसकारण नेइमको आधारभूत विश्वासमा एकत्व हुनुपर्छ । मिशन, धापासी, मिडिया, मेरी गुरुआमा प्रतिष्ठान, कानून सम्बन्धी कुराहरूमा सबैको पूर्ण सहभागिता आवश्यक छ भने अर्कातिर परिस्थिति अनुसार स्थानीय मण्डलीहरूले नै काम गर्नुपर्नेछ । मण्डलीको निमित्त अर्को तड्कारो आवश्यक्ता अनुसार ईश्वर विज्ञान अध्ययन गरेका यस सम्बन्धी तालिम पाएका परमेश्वरको बोलावट पाएका र विभिन्न ठाउँहरूमा सेवकाइ पुर्‍याउन सक्ने सेवकहरूको आवश्यक्ता छ । आवश्यक्ता यतिमा मात्र सीमित छैनन् ।
यसर्थ परमेश्वरसित प्रार्थना गरौं, अगुवाइ मागौं, सुनौंं र त्यसअनुसार काम गर्दै अघि बढौं ।