ख्रीष्टमको केन्द्र येशू ख्रीष्ट हुनुहुन्छ – एल्डर सिमोन पाठक

December 1, 2017 | Articles  

सबैभन्दा पहिला ख्रीष्टमस कसले मनाएका थिए र कसरी मनाए ? सबैभन्दा पहिला स्वर्गदूतहरूले नै ख्रीष्टमस मनाएका थिए । उनीहरूले परमेश्वरको स्तुति गर्दै ख्रीष्टमस मनाएका थिए । येशू बेथलेहेममा जन्मनुभयो । उहाँको जन्म भएको दिनमा एक्कासी स्वर्गदूतसँग स्वर्गीय सेनाको दल इस्राएलको बेथलेहममा देखा पर्‍यो र परमेश्वरको स्तुति गर्दै ख्रीष्टमस मनाए । स्वर्गदूतहरूले येशूको जन्म भएको दिनमा घोषणा गर्दै उच्चारण गरेका शब्दहरू यसप्रकार छन् ः
“सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति” (लूका २ः१४)
स्वर्गदूतहरूले ख्रीष्टमसको उत्सव मनाइसकेपछि पृथ्वीमा भएका मानव प्राणीहरूमा ख्रीष्टमस मनाउने पहिलो व्यक्तिहरू भेडा गोठालाहरू थिए ।
“जब स्वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्वर्गमा गए, तब गोठालाहरूले आपसमा भने, आऔं, हामी बेथलेहेमसम्म जाऔं, र त्यहाँ घटेको यो घटना र परमप्रभुले हामीलाई बताउनुभएको कुरा गएर हेरौं” (लूका २ः१५–२०) ।

डिसेम्बर २५ तारिखका दिन ख्रीष्टमस भनेर ख्रीष्ट जन्मोत्सव मनाउने परम्परा इ.सं. ३३६ तिर भएको भए तापनि बाइबलमा ख्रीष्ट जन्मोत्सव उहाँ जन्मनुभएकै दिनदेखि सुरू भएको पाउँछौं । कतिले डिसेम्बर २५ को दिन ख्रीष्टमस मनाउने सम्बन्धमा तार्किक विचार राखेर टिप्पणी गर्ने गर्छन् । तर यथार्थता के हो भने येशू ख्रीष्ट २१ औं शताब्दी अघि पृथ्वीमा जन्मनुभयो । करिब तीस वर्षको उमेरमा परमेश्वर पिताको मिशन सार्वजनिक रूपमा शुरू गर्नुभयो र करिब तेत्तिस वर्षको उमेरमा क्रूसमा टाँगिनुभयो, मारिनुभयो र तेस्रो दिनमा मृत्युबाट जीवित हुनुभयो र चालीस दिनपछि स्वर्गमा चढिजानुभयो ।
मानव जातिलाई यो सन्देश छर्दै ख्रीष्टमस मनाउनु नै साँचो ख्रीष्टमस हो । ख्रीष्टमसको केन्द्र येशू नै हुनुहुन्छ । रमाइलो गर्नु, क्यारोल खेल्नु, भोज खानु, उपहार आदानप्रदान गर्नु, आफूसँग भएका सम्पत्तिहरूद्वारा अरूहरूलाई आशिष् पुर्‍याउनु, आदि कुराहरू गर्नु मात्र ख्रीष्टमस होइन । हामी यी कुराहरू गर्दछौं किनकि मानिस सामाजिक प्राणी हो । यस्ता कुराहरूले हाम्रो प्राणलाई उत्साहित पार्ने, आनन्द महसुस गराउने गर्छ । परमेश्वर पिताले आफ्नो पुत्र मानव जातिलाई दिनुभएको कारण नै मानव जातिको निम्ति पाप क्षमा सम्भव भयो र परमेश्वर पितासँग येशू ख्रीष्टद्वारा मिलाप भएको कारण मानव सन्तान परमेश्वरको सन्तान हुन सम्भव भयो । यो खुशीमा हामी रमाइलो गर्ने गर्छाै । तर यी सबै कुराहरू गर्दै गर्दा ख्रीष्टचाहिँ हाम्रो हृदयको केन्द्रमा प्रभु भएर राज्य गर्न दिनु जरूरी छ । उहाँलाई हृदयदेखिको स्तुति गर्नु, दण्डवत गर्नु, र भक्ति चढाउनु नै साँचो ख्रीष्टमस हो । ज्ञानी मानिसहरूले आनन्दित हुँदै येशूलाई सुन, सुगन्धित धूप र मूर्रका भेटी चढाएर ख्रीष्टमस मनाए । स्वर्गदूतहरू र भेडा गोठालाहरूले ख्रीष्टमस मनाएको समय र ज्ञानी मानिसहरूले ख्रीष्टमस मनाएको समय अवधि फरक छ । यसबाट हामी एउटा पाठ सिक्न सक्छौं कि ख्रीष्टमस कसले र कहिले मनाएभन्दा पनि कसरी मनाए भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ ।
यरूशलेममा शिमियोन नाउँ भएका एकजना धर्मी र भक्त मानिस थिए । उनले ख्रीष्टलाई नदेखेसम्म तिमी मर्ने छैनौ भन्ने प्रकाश पवित्र आत्माबाट पाएका थिए (लूका २ः२६) । येशूको जन्म भएपछि योसेफ र मरियम बालक येशूलाई व्यवस्थाअनुसारको विधि गर्न यरूशलेमको मन्दिरमा गए । मोशाको व्यवस्थाअनुसार छोरा जन्मेको आठौं दिनमा खतना गर्नुपथ्र्यो र ३३ दिनमा आमाको शुद्धिकरणको निम्ति होमबलीको निम्ति एउटा एक वर्षे थुमा र पापबलिको निम्ति परेवाको एउटा बचेरा वा एउटा ढुकुर पूजाहारीकहाँ ल्याउनुपथ्र्यो (लेवी १२ः१–८) ।

योसेफ र मरियम मोशाको व्यवस्थाअनुसारको विधि पूरा गर्न यरूशलेमको मन्दिरमा गएको समयमा शिमियोन पवित्र आत्माले निर्देशन गरेअनुसार मन्दिरमा पुगे र तेत्तिस दिनको बालक येशूलाई काखमा लिएर परमेश्वरलाई धन्यवाद दिएर ख्रीष्टमस मनाए । हन्ना नाउँकी एकल वृद्ध अगमवादिनी जो चौरासी वर्ष पूगेकी थिइन्, उनले परमेश्वरलाई येशूको जन्म पृथ्वीमा भएकोमा धन्यवाद दिँदै ख्रीष्टको जन्म कहिले हुने हो भनी प्रतिक्षा गरिरहेका सबै मानिसहरूलाई शुभ खबर सुनाएर ख्रीष्टमस मनाइन् ।
ख्रीष्टमस कसरी मनाउनुपर्छ भन्ने कुराको असल नमूना बाइबलमा नै पाउँछौ । स्वर्गदूतहरूले परमेश्वरलाई महिमा र पृथ्वीमा उहाँ प्रसन्न हुनुभएका मानिसहरूलाई शान्तिको सन्देश छर्दै ख्रीष्टमस मनाए भने गोठालाहरूले देखेको र फरक स्थान र समयमा फरक तरिकाले मनाएका थिए । परमेश्वर पिताले पूत्रलाई संसारमा नपठाउनुभएको भए यो दिन इतिहासमा हुने थिएन । पिताले आफ्नो एकमात्र पूत्रलाई मानव जातिको उद्धारको निम्ति दिनुभएर ख्रीष्टमसको प्रारम्भ गर्नुभयो । यो वर्षको ख्रीष्टमसमा हामी के गरेर ख्रीष्टमसको शुभारम्भ गर्न चाहन्छौं ? के हामीले ख्रीष्टमस मनाउने विषयमा गरेका योजनाहरू र सोचहरूले केवल उहाँको मात्र स्तुति, आदर, भक्ति र महिमा हुन्छ ?