हाम्रा बालबालिकाहरूको वरिपरि – श्री भुवन देवकोटा

February 19, 2018 | Articles  

वर्तमान समय विज्ञान र प्रविधिको प्रशस्तै विकास भएको र सञ्चारले सारा विश्वलाई नै साँघुरो बनाइदिएको कारण भौतिक रूपमा उन्नतिशिल समय हो । हाम्रा बालबालिकाहरू हाम्रा हातमा गिलो माटोजस्तै हुन् । उनीहरूलाई हामीले सानैमा चाहेको आकार दिन सक्छौं । अभिभावकहरूले सानै उमेरदेखि नै परमेश्वरको वचन खान र त्यसलाई पालन गर्न सिकाए भने बालमस्तिष्कमा सत्यताले डेरा जमाउँछ र हाम्रा बालबालिकाहरू मण्डलीको असल भविष्य मात्रै होइन, देशको असल नागरिक बनेर नून र ज्योतिको रूपमा यस देशलाई सेवा दिनेछन् ।
हाम्रा छोराछोरीहरूलाई उनीहरूको सन्दर्भलाई बुझेर हामीले त्यसअनुसार प्रार्थना र वचनमा अगुवाइ गर्न सक्यौं भने येशूको स्वरूप उनीहरूमा बन्न अझ सजिलो हुनेछ । यो लेखमा हामी हाम्रा बालबालिकाहरूको अगाडि संसार, शरीर र शैतानले कसरी उसको सल्लाह (भजनसंग्रह १ः१) ल्याएको छ भनेर चर्चा गर्र्नेछौं । तलका विषयहरूमा सकेसम्म ठीक जानकारी पाएर मण्डली र अभिभावकहरूले सिकाउन सक्यौं भने हाम्रो मण्डली संख्या र आत्मिक गुणस्तर दुवैमा बढ्दै जानेछ ।
मण्डली र समाजमा रहेका हाम्रा बालबालिकाहरूको वरिपरि यस्ता अनि अन्य धेरै समस्या र चुनौतीहरू छन्ः
* उत्तरआधुनिकवादः वर्तमान युगलाई धेरै मानिसहरूले उत्तरआधुनिक युगको समय भन्दछन् । यसअनुसार कुनै एउटै कुरा मात्रै शास्वत सत्य हुन सक्दैन । त्यसैगरी मानिसले कुनै पनि कुरालाई ईश्वर मान्न सक्छ, प्रत्येक व्यक्ति आफ्नो चाहनाअनुसार जिउन स्वतन्त्र छ । संसारमा व्याप्त यही कुराहरूकै आधारमा अहिलेका विभिन्न सञ्चार माध्यममा आउने मनोरञ्जन उद्योगले हाम्रा बालबालिकाहरूलाई उनीहरूको खराब कुरा प्रस्तुत गरिरहेका हुन्छन् । समलिंगी सम्बन्ध व्यक्तिको अधिकारको कुरा हो भनेर परमेश्वको वचनको गिल्ला गरिरहेका छन् । बालबालिकाहरू स्वतन्त्र छन् र अभिभावकहरूले अनुशासन गर्नु पनि बालअधिकार हनन् हो भन्ने कुरा बढिरहेको छ । बालबालिकाहरू वा किशोरीहरूको प्रतिभाको विकासको नाममा उनीहरू यौनिक प्राणी मात्रै हुन् भन्ने गलत धारणा बालबालिकाहरूलाई दिइँदै छ । यस्ता कुराबाट जोगाउने काम वचनको अध्ययन र पवित्र आत्माको शक्तिले मात्रै सम्भव छ । बाइबलले बुवाहरूलाई छोराछोरीलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काउने जिम्मेवारी दिएको छ ।
* उपभोक्तावादः आफ्नो फाइदाको लागि मात्रै विचार गर्ने र त्यसैअनुसार काम गर्ने कुरा अहिले व्याप्त छ । टि.भी. वा पत्रिकामा दिइने विज्ञापनमा झुक्याएर बालमनोविज्ञानमा गलत कुरा हालिदिनु यसको एउटा विशेषता हो । येशूले अन्त्यको दिनको बारेमा सिकाउँदा धेरैको प्रेम सेलाएर जानेछ भन्नुभयो (मत्ती २४ः१२) । बालबालिकाहरू वा किशोरकिशोरीहरूको लागि बनाइने टेलिभिजन कार्यक्रम वा अन्य श्रव्यदृष्य सामग्रीहरू उनीहरूको नैतिक वा मानसिक विकासभन्दा पनि उत्पादकको फाइदाको लागि बनाइन्छ । धेरै पटक परमेश्वरको स्वरूपमा बनिएको मानिसलाई उपभोग्य वस्तुको रूपमा प्रस्तुत र प्रयोग गरिन्छ । मोडलिङ पेशामा हुने काम यही नै हो । परमेश्वरको प्रतिरूपमा बनिएका सुन्दर नारीहरूलाई मदिराको विज्ञापनमा उपभोग गरिने वस्तुसरह देखाउनु यसको एउटा उदाहरण हो । संसारका सबै मानिस जुनसुकै पृष्ठभूमिको भए पनि परमेश्वरको स्वरूपमा बनिएको कारण हामीले त्यही आदरमा प्रेम र सम्मान गर्नुपर्छ भनेर हाम्रो मण्डली र परिवारमा सिकाउनुपर्छ । ख्रीष्टको प्रेम पवित्र आत्माले हामीमा भर्नुहुन्छ र त्यसलाई कसरी जीवनमा प्रयोग गर्ने भनेर मण्डली र अभिभावकहरूले सिकाउनुपर्छ ।
* भड्किलो संगीत तथा भिडियोः आफूले जे ठीक ठान्यो, त्यही नै सत्य हो भन्ने उत्तरआधुनिक धारणा व्याप्त रहेको कारण मानिसहरूले आफ्नै मोजमज्जाको लागि र परमेश्वरलाई मान्यता नदिएको कारण छाडा कुराहरू संगीत र म्युजिक भिडियोको माध्यमबाट साना बालबालिकाहरूलाई पनि दिइरहेका छन् । साना बाल बालिकाहरूको कमलो मनमा ती खराब कुराले बास गरेमा उनीहरूले परमेश्वरको वचनभन्दा अर्कै रमाइलोलाई प्राथमिकता दिनेछन् । पापसित खेल्नेलाई पापले दास बनाउँछ किनकि पाप त ढोकैमा ढुकिबस्छ । त्यसलाई हामीले आत्माको शक्तिमा अधीन गर्नैपर्छ (उत्पत्ति ४ः७) । हाम्रा छोराछोरीहरूको विचारमा दुई आँखा र दुई कानबाट के कुरा पस्न दिनु असल हो भनेर परमेश्वरको सत्यता अनुसार सिकाउनुपर्छ ।
* सामाजिक सञ्जाल, इन्टरनेटः विज्ञानको वरदान इन्टरनेटबाट हाम्रा बालबालिकाहरूले असल कुरा मात्रै लिइरहेका छैनन् । हामी अभिभावक चौबीसै घण्टा उनीहरूको पछिपछि लाग्न पनि सक्दैनौं तर हामीले उनीहरूलाई परमेश्वरलाई मन पर्ने कुरा के हो भनेर सिकाउन सक्यौं भने उनीहरूलाई पवित्र आत्माले चाहिएको बेला येशूको वचन याद गराउनुहुनेछ (यूहन्ना १४ः२६) र उनीहरूले आफ्नो आँखा र कानबाट परमेश्वरलाई मन नपर्ने कुरा हृदयभित्र पठाउने छैनन् ।
* भिडियो गेमः हाम्रा साना नानीहरूले खेल्ने भिडियो गेमहरू सबै गलत छैनन् । धेरै भिडियो गेमहरूले मानसिक र शैक्षिक विकास गर्दछन् । तर केही गलत गेमहरू पनि आएका छन् । आत्महत्या गर्न उक्साउने वा व्यभिचारजन्य क्रियाकलाप भिडियो गेममै गर्न मिल्ने भिडियो गेमहरू पनि फोन वा ट्याब्लेटमा हाल्न मिल्छ । हाम्रा छोराछोरीहरूले के कुरा गर्दैछन् भनेर हामी होसियार हुनुपर्छ । हामी अभिभावकले नै हाम्रा बालबालिकाहरूलाई प्रार्थना र वचनद्वारा जोगाउन सक्छौं । बुवाआमाले फोन वा ट्याब्लेट बच्चालाई चलाउन दिँदा के कुरा हेर्ने भनेर सिकाउनुपर्छ । कति पटक त मण्डली सेवामै पनि बालबालिकाहरूले आमा बुवाको स्मार्ट फोन वा ट्याब्लेट चलाइरहेका हुन्छन्, त्यो गलत हो । परमेश्वरलाई दिनुपर्ने समय परमेश्वरको हो ।
* शैक्षिक प्रणालीः अहिलेको शैक्षिक प्रणालीका कतिपय कुरा परमेश्वरको वचनसँग नमिल्ने खालका छन् । नेपालको शैक्षिक प्रणालीमा मूर्तिपूजा गर्न लगाउने कुरादेखि समलिंगी सम्बन्ध ठीकै हो भन्ने कुरा पनि आएको छ । त्यसैगरी आमाले चाहेमा गर्भपतन गर्नु पनि कानुनसंगत हो भनेर सिकाउन थालिएको छ । यस्ता पापबाट जोगाउने परमेश्वरको वचन हृदयमा राख्न सिकाउने काम मण्डली र अभिभावक दुवैको हो (भजनसंग्रह ११९ः११) ।
* लिभिड्ड टुगेदरः अन्त्यको समयमा मानिसहरू आफैंलाई मात्रै प्रेम गर्ने र छाडा हुनेछन् भनेर बाइबलले चेतावनी दिएको छ । अहिले केटा र केटी निश्चित समयसम्म सँगै बस्ने र पछि मन परे बिहे गर्ने, नपरे अलग हुने प्रचलन सामान्य जस्तै भइसक्यो । यो परमेश्वरलाई मन नपर्ने अर्को ठूलो अपराध हो । बाइबलले विवाहलाई ठूलो सम्मान दिएको छ । एउटा पुरुषको लागि जीवनभरि एउटै पत्नी हुनुपर्छ र स्त्रीको पनि त्यही नै हो भन्ने बाइबलको मूल शिक्षा हो । यो कुरा बुवाआमाको जीवनबाट बालबालिकाहरूले सिक्नुपर्छ ।
* सम्बन्धविच्छेद भएका परिवार, एक्ला अभिभावकः हाम्रो मण्डलीमा सम्बन्धविच्छेद भएका परिवार र एक्ला अभिभावकहरूले पनि बालबालिकाहरूलाई हुर्काइरहेका छन् । परमेश्वरको योजना आमा र बुवा दुवैले नै बाल बालिकाहरूलाई हुर्काउने हो तर शैतानले परमेश्वरको क्रमलाई बिगार्छ । मण्डलीले यो परिवेशलाई पनि बुझेर बालबालिकाहरूलाई सेवकाइ गर्नुपर्छ ।
यी सबै परिस्थितिहरूमा मण्डली तथा अभिभावकहरूले बालबालिकाहरूको पृष्ठभूमि वा सन्दर्भ पहिचान गर्ने, त्यस्तो परिस्थितिमा सेवा गर्न तयारी हुने काम गर्नुपर्दछ । येशूले निकोदेमसलाई यूहन्ना ३ अध्यायमा सिकाउनुभएको नयाँजन्मको बारेमा ठीक शिक्षा दिने काम अब गर्नुपर्छ र येशूको पछि लाग्न क्रूस बोक्नुपर्छ भनेर पनि सिकाउनुपर्छ । शैतानले प्राणभित्र रहेका भावना र विचारमा आक्रमण गर्ने भएको कारण हामीले त्यसैअनुसार परमेश्वरको वचनबाट शिक्षा दिनुपर्छ । हाम्रा बालबालिका र किशोरकिशोरीहरूले सबै कुरालाई किन भनेर प्रश्न गर्ने भएको कारण किन येशू, किन बाइबल, किन चर्च भनेर बुझाउने काम गर्नुपर्छ । हाम्रा छोराछोरीहरूलाई सानैदेखि व्यक्तिगत रूपमा हरेक दिन बाइबल पढ्न र प्रार्थनामा समय बिताउन सिकाउनुपर्छ ।
हितोपदेश २२ः६, “बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालिम देऊ र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन ।”