परमेश्वरले हाम्रो जीवन परिवर्तन गर्न सक्नुहुन्छ – पाष्टर प्रेम श्रेष्ठ

March 7, 2018 | Articles  

के प्रभुलाई पाएपछि हाम्रो जीवनमा परिवर्तन आएको छ ?

येशू प्रभुको पुनरुत्थानपछि चेलाहरूको जीवनमा धेरै ठूलो परिवर्तन आयो । जब उनीहरू १० दिनसम्म एकै ठाउँमा भेला भएर प्रार्थना गर्दै गरेको अवस्थामा अचानक स्वर्गबाट आगोका जिब्राहरू जस्ता तिनीहरूकहाँ देखा परे र भाग भाग भएर तिनीहरू १२० जनामाथि बसे र उनीहरूको जीवनशैली परिवर्तन र मण्डली स्थापना भयो । एक जना डरपोख व्यक्तिले हजारौंको माझमा साहससँग पहिलो शक्तिशाली प्रवचन दिए र जसको कारण ३ हजार मानिसहरू अर्थात् यहूदीहरूले येशूलाई विश्वास गरे । मण्डलीको जन्म मात्र नभएर मण्डली वृद्धि हुँदै गयो र हजारौं हजार मानिसको जीवनशैली बदलियो । प्रेरित ३ः१–११ मा एकजना व्यक्ति जसलाई पनि येशूको खाँचो परेको थियो जसको उमेर ४० वर्षको थियो, ऊ कसको छोरा वा कुन कुलको थियो ? बाइबल मौन छ तर त्यस्तो एक जना व्यक्ति जसलाई ४० वर्षको उमेर भए पनि अरूलाई बोक्न गोहार मागेर मन्दिरको ढोकामा दैनिक आउनु पर्दथ्यो । अरूको साहारा बिना ऊ बाँच्न सक्दैनथ्यो । त्यो व्यक्ति जस्तै आज हामी पनि कति जना परमेश्वरको भवनसम्म वा ढोकासम्म आउँदछौं तर ढोकाभित्र नपसी बाहिरबाटै फर्केर दयनिय जीवन यापन गरिराखेका छौं । परमेश्वरको आशिष् पाउनलाई मन्दिरभित्र पस्नु जरुरी छ । त्यही पत्रुस जसलाई एकजना सानो केटी देखेर पनि डर लाग्थ्यो, एक दिन ३ बजेतिर मन्दिरमा आराधना गर्न यूहन्नासँग जाँदै थिए । यहूदीहरू भजनसंग्रह ५५ः१७ अनुसार दिनमा ३ पटक बिहान ९ः०० बजे दिउँसो १२ः०० बजे र बेलुकी ३ः०० बजे मन्दिरमा प्रार्थना गर्न जाने गर्दथे कारण यहूदी विश्वास ३ वटा आधारमा अडेको थियो । पहिलो आराधना, दोस्रो दया देखाउनु र तेस्रो परोपकार गर्ने वा समग्रमा भन्ने हो धर्म कर्म गर्ने काम । त्यो व्यक्ति जसको एउटा खुट्टा नचल्ने अवस्था थियो र दिउँसो ३ः०० बजेचाहिँ विशेष् बलिदान चढाउने कारणले मानिसहरू विशेष् धेरै पैसा पाउने आशामा त्यहाँ वा सुन्दर ढोकाको अगाडि राखिन्थ्यो । त्यो मन्दिर जसको ९ वटा ढोकाहरू थिए, त्यस मध्ये एउटा ढोका सुन्दर ढोका जसको उचाई ७५ फिट, ६० फिट चौडाई थियो र एउटा ढोका खोल्न लगाउन २० जना मानिस खाँचो पर्दथ्यो जुन ढोका देखेर येशूका चेलाहरू पनि आश्चार्य चकित भएका थिए र प्रभुलाई देखाएका थिए (लूका २१ः५, मत्ती २४ः१–२) ।
अब विशेषत भिखारीहरूका ३ वटा भिख माग्ने ठाउँ हुन्छन् । पहिलो धनी मानिसको घर, दोस्रो सडकको छेउ र तेस्रो मन्दिरको ढोका । त्यो व्यक्तिको लागि त्यो भिख माग्ने आखिरी दिन थियो र त्यसपछि त्यसले कहिले भिख मागेर खानु परेन र ऊ परमेश्वरको पछि लाग्यो जब यूहन्नाको साथमा भएका पत्रुसले त्यस व्यक्तिलाई भने, “हामीतिर हेर” केही पाउने वा पैसा पाउने आशाले त्यस व्यक्तिले प्रभुका चेलाहरूतिर हेरे । आज धेरै मानिसले हामी प्रभुका चेलाचेलीतिर हेरिरहेका छन् । पत्रुसले भने “सुन मसँग छैन, चाँदी मसँग छैन ।” होस् पनि कसरी सायद उनले लगाएको लुगामा खल्ती नै थिएन होला ! तर उनले भने, “जे मसँग छ, त्यो येशूको नाउँ अर्थात् येशूको शक्ति त्यो तँलाई दिन्छु ।” आज हामीले हाम्रो आफन्तलाई पनि यो कुरा भन्नुपर्दछ, सुनचाँदी मसँग छैन तर मसँग येशूको शक्ति छ, मसँग येशूको प्रेम छ, मसँग येशूको वृmपा छ, येशूको चंगाई छ र येशूको जीवन र साक्षी छ । जब पत्रुसले त्यसको दायाँ हात समातेर “नासरतको येशूको नाउँमा हिँड्डुल गर्” भनी उठाए र तुरुन्त त्यो उठ्यो र हिँड्न थाल्यो । उसले कहिल्यै नगरेको अनुभव गर्‍यो कारण ऊ जीवनमा कहिल्यै हिँडेको थिएन । आज धेरै मानिसहरू हाम्रा दाहिने हातको संगतिको हात, जो शक्तिको हात, जो चंगाईको हात पर्खिरहेका छन् । हाम्रा हातहरू कस्ता कामको लागि प्रयोग गर्दैछौं ? त्यो व्यक्तिका खुट्टा र गोलीगाँठामा शक्ति पाएर उठ्यो मात्र होइन तर हिँड्न थाल्यो, उफ्रन थाल्यो, कुद्न थाल्यो मात्र होइन परमधन्यका परमेश्वरको आराधना प्रशंसा गर्न थाल्यो । त्यो व्यक्तिलाई येशूले भेट गर्नुभएपछि ठीक ४० वर्ष उमेरमा अरू जस्तै मन्दिरभित्र प्रवेश ग¥यो कसैले त्यसलाई रोक्न सकेन, पत्रुस र यूहन्नासँगै त्यो व्यक्ति मन्दिरभित्र प्रवेश ग¥यो । त्यो भन्दा अघि ढोकासम्म ल्याइन्थ्यो तर बाहिरबाटै फर्काइन्थ्यो कारण लेवी २१ः१६–२३ अनुसार त्यस्ता लङ्गड़ो व्यक्ति मन्दिरभित्र प्रवेश गर्न शक्त मनाही थियो । त्यो मन्दिर जसमा येशूले भन्नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ ।’ तर तिमीहरूले यसलाई डाँकूहरूको अड्डा बनाएका छौ” (मत्ती २१ः१३) । मलाई लाग्छ त्यो मन्दिरमा पहिलो पटक परमेश्वरको साँचो आराधना भयो होला ! त्यो लंगडोले उफ्री–उफ्री परमेश्वरको प्रशंसा गर्‍यो होला र येशूले सामरी स्त्रीलाई भन्नुभएको जस्तै “तर बेला आइरहेछ, र त्यो बेला अहिल्यै हो, जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्, किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ” (यूहन्ना ४ः२३) । त्यसकारण सबैको जीवनमा परिवर्तनको दिन आउँदछ । “उहाँले हरेक कुरालाई आफ्नो समयमा सुन्दर बनाउनुभएको छ । उहाँले मानिसका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ । तापनि तिनीहरूले परमेश्वरले आदिदेखि अन्त्यसम्म के गर्नुभएको छ त्यसको गहिराइलाई बुझ्न सक्दैनन्” (उपदेशक ३ः११) ।

अब यहाँ विचार गर्नुपर्ने कुरा के छ भने जब त्यो व्यक्तिले चंगाई पायो मानिसहरू अचम्मित भए । ती मानिसहरू जो वर्षौदेखि मन्दिरमा आउँदथे र धर्म कर्म गरेर फर्किन्थे जब त्यो व्यक्तिलाई देखे र दगुरेर त्यो व्यक्ति भएको तिर आए । मानिसहरूले २ वटा विशेष् कुरा त्यस व्यक्तिमा देखे पहिलो त्यो हिँड्न, उफ्रन लाग्यो एक हप्तापछि, एक महिनापछि वा एक वर्षपछि होइन तुरुन्त अनि दोस्रो त्यस व्यक्तिले परमेश्वरको प्रशंसा गर्न थाल्यो । आज तपाईं र मेरो जीवनमा के–के परिवर्तन भयो त ? परिवर्तनको नारा लगाएर वा वचन सुनेर मात्र हुँदैन । हाम्रो अवस्थामा परिवर्तन आउनु जरुरी छ । त्यो व्यक्तिको आफ्नो हात येशूलाई नदिएको भए त्यो व्यक्तिको बारेमा बाइबलमा लेखिँदैन थियो होला, त्यसै गरी हाम्रो हात येशूलाई दियौं भने उहाँले हाम्रा कमजोर खुट्टा, कमजोर हात, कमजोर परिस्थितिलाई बदल्न सक्नुहुन्छ ।
अन्त्यमा, त्यस व्यक्तिको परिवर्तनपछि पत्रुसले मन्दिरभित्र धर्म कर्म वा बलिदान चढाउन जानेहरूको बीचमा दोस्रो शक्तिशाली प्रवचन दिए र त्यसको कारण अरू २ हजार मानिसहरू विश्वासमा थपिए प्रेरित ४ः४, आज मण्डलीमा तपाईं र मेरो साक्षीद्वारा सयौं, हजारौं, लाखौं मानिसहरू मण्डलीमा थपिन सक्छन् के हामी विश्वास गर्छौ?
प्रभुको वचन क्रियाशील छ । “तब अन्धाहरूका आँखा खोलिनेछन्, र बहिराहरूका कान उघारिनेछन् । तब लङ्गड़ाहरू मृगझै उफ्रनेछन्, र गूँगाहरूको जिब्रोले स्तुति गर्नेछ । उजाड़–स्थानमा पानी फुटेर निस्कनेछ र मरुभूमिमा खोलाहरू बग्नेछन्” (यशैया ३५ः५–६) । यसैकारण अबको थोरै दिनमा हामी प्रभुको मृत्यु, दफन र पुनरुत्थानको सम्झनामा सेवाहरू गर्छौं, याद गरौं । धेरै लङ्गड़ो, अन्धो, बैरो, गूँगोहरू हामीतिर आँखा लगाइरहेका छन् र नियालिरहेका छन् । के हामी परमेश्वरको शक्तिमाथि विश्वास गर्छौं ? प्रभुले हामीलाई धेरै व्यक्तिहरूलाई मण्डलीमा ल्याउने अनुग्रह देऊन्, आमेन् ।