“साक्षी बनौं, जीवन बाँडौं” – पाष्टर प्रेम श्रेष्ठ

May 8, 2018 | Articles  

“अनि येशू बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दै जानुभयो” (लूका २ः५२) ।

कुनै पनि कुरा जन्मेपछि त्यसको वृद्धि अनिवार्य छ जसरी येशूको उदाहरण हामी देख्छौं र उहाँको पनि त्यसैगरी वृद्धि भएको थियो । यूहन्ना १ः१४ “अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा बास गर्नुभयो । हामीले उहाँको महिमा देख्यौं जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो ।”

प्रायः मण्डलीको अगुवाहरू मण्डली वृद्धि भएको देख्न चाहन्छन् र मण्डलीको अगुवाहरूले परमेश्वरलाई भेट गरून् र धेरै भन्दा धेरै व्यक्ति मण्डलीभित्र प्रवेश गरून् भन्ने इच्छा राख्दछन् । अनौठो कुरा त यो छ कि वृद्धि भएका मण्डलीहरूको विरुद्धमा कुनै–कुनै मण्डली अगुवा हुन्छन् र धेरै कुरा काटेर टिका टिप्पणी गर्दै दिन बिताउँदछन् र मण्डलीमा भएको असल परिणामको जस लिन खोज्दछन् । कहिले त आशिष्को कारणले पनि यस्ता घटनाहरू घट्दछन् भन्दा अन्यथा नहोला । हाम्रो समाजमा यस्ता मण्डलीहरू पनि छन्, खाली अरू मण्डलीको मात्र विरोध गरेर बस्दछन्, आफ्नो मण्डलीको लागि केही योजना पनि बनाउँदैन र आफ्नो कमी कमजोरीको वास्तै गर्दैन र वृद्धि त भएका तर अस्वस्थ मण्डलीमा धेरै मन दुखेको अवस्था विद्यमानमा रहेको छ । वर्षमा यति जनाको बप्तिस्मा भयो, यति जनाको समर्पण भयो भन्ने विषयले मात्र मण्डली स्वस्थ मण्डली भन्ने बुझ्नु राम्रो हुँदैन ।

आज येशू प्रभुले एउटा स्वस्थ मण्डली वा एफिसी ५ः२७ अनुसार दाग वा चाउरी नपरेको मण्डली उहाँकहाँ प्रस्तुत गर्नलाई हामी जस्ता अयोग्य, असक्षम, कुनै आशा नभएको व्यक्तिलाई विश्वासयोग्य सम्झेर यस कामको लागि तयार पार्नुभयो र यो महान् कामको जिम्मा लगाउनुभयो ।

म विश्वास गर्दछु, तलका ५ वटा सत्य तीतो यथार्थले यस कुरालाई पुष्टि गर्दछ ।

१. एउटा स्वस्थ मण्डली निरन्तर वृद्धि हुन्छ नकि सबै वृद्धि भएका मण्डली स्वस्थ हुन्छ ।

तपार्इंले सुन्नुभएको होला आधारभूत रुपमा कुनै स्वस्थ चीजको वृद्धि हुन्छ भनेर, त्यो अति नै सत्य हो । तर प्रत्येक स्थानीय अगुवाले आफ्नो मण्डली सफल मण्डली, ठूलो मण्डली भएको देख्ने इच्छा गर्दछ, त्यो राम्रो कुरा नै हो । तर विषय यहाँबाट प्रवेश गर्दछ सबै वृद्धि भएको मण्डली स्वस्थ मण्डली हुँदैन र म यहाँ विषयभन्दा बाहिर प्रवेश नगरौं भन्दा भन्दै पनि एउटा विचार कहिले कहीँ अस्वस्थ कुरा पनि छिटो छिटो वृद्धि हुन्छ जस्तै Cancer, Tumor etc. त्यो वृद्धि त हुन्छ तर त्यसले शरीरलाई फाइदा पुर्‍याउँदैन । त्यसकारण मण्डली वृद्धि हुनुमात्र स्वस्थ विषय होइन, त्यसभित्र अरू धेरै कुरा जस्तैः विश्वासीहरूको परमेश्वरसँग सम्बन्ध, वचनको गहिराइ, मेलमिलाप, एकअर्कामा सहयोगी भावना, प्रभुको प्रेममा
हुर्कंदै जान आदि इत्यादि । यसको अर्थ सबै वृद्धि भएको मण्डली अस्वस्थ भन्ने बुझ्नु हुँदैन । यो कुनै कुनै अपवादको विषय हो । यहाँ सयौं त्यस्ता मसिना र मझौला स्वस्थ मण्डलीहरू छन् जसका अगुवाहरू मिहनेती, परिश्रमी र टुटेका हृदय भएकाहरूलाई प्रभुमा डोर्‍याउँदछन् । संसारमा प्रत्येक दिन त्यस्ता व्यक्तिहरूले उत्साहित भएर व्यक्ति माथि व्यक्ति, परिवार माथि परिवार, जीवन माथि जीवन ख्रीष्टको आशामा डोर्‍याइरहेका छन् । त्यसकारण एउटा स्वस्थ मण्डलीको वृद्धि पक्का छ र कहिले काहीँ मण्डली प्रख्यात हुन्छन् तर प्रायः जसो मण्डलीका अगुवा वा पाष्टरहरूको परिश्रमको कारणले वा विश्वासयोग्यताको कारण प्रभुले मण्डलीमा आशिष् पठाउनुहुन्छ । त्यसकारण सबै वृद्धि भएको मण्डली स्वस्थ नहुन सक्छ तर एउटा स्वस्थ मण्डलीको अवश्य वृद्धि हुन्छ । आज के हाम्रो मण्डली स्वस्थ मण्डली हो ? यदि त्यसो हो भने २०१८ साल हाम्रो लागि मिशन वर्ष हुन सकोस् र हामी धेरै ठाउँमा जान सकौं । आमेन् !

२. एउटा सानो स्वस्थ मण्डली प्रायः जसो सधैँभरि सानो रहँदैन ।

के त्यसो भए एउटा स्वस्थ मण्डली सधैँ सानो भएर बस्नु पर्दछ ? जुन मण्डलीले सु–समाचारको कामलाई प्राथमिकता दिन्छ त्यो मण्डली सानै भएर बस्नै सक्दैन । हुन सक्छ ठाउँ, क्षेत्र तथा स्थानको कारणले साना–साना समूहमा भेटेर संगति गरिन्छ होला तर वास्तविकता चाहिँ मण्डली वृद्धि हुन्छ नै । मानव निर्मित कुनै सामान वा निर्जीव वस्तु मात्र सानो नै भइराख्छ तर मण्डली त चलाएमान हुन्छ । पानीको मुहानमाकुल्ची मिल्ची गरेर पानी धमिलो पारेर धेरैलाई फोहोर पानी खुवाउन सकिन्छ र कहिलेकाहीँ यस्ता व्यक्तिहरू मण्डलीमा भएको कारणले मण्डली वृद्धिको गतिलाई बाधा आउन सक्छ । हाम्रो संरचना तथा आत्मिकी कारणले यस्ता कुराहरू आउँदैन तर दर्शन नभएको व्यक्तिहरूको कारणले मण्डलीमा वृद्धि आउँदैन । त्यस्ता व्यक्तिहरू संसारको ढाँचामा मण्डलीको संरचनालाई विचार गर्छन् तर कुरा त्यसो होइन । त्यसकारण महान् आज्ञा पूरा गर्नु भनेको सुसमाचार प्रचार गर्नु हो र सुसमाचार प्रचार गर्नु भनेको मण्डली वृद्धि हुनु हो ।

३. एउटा फैलिएर बाहिर निस्कने मण्डलीले निश्चय नै स्वस्थ, भित्री बलियो व्यक्तिहरूको विकाश गर्दछ ।

त्यसो भए एउटा स्वस्थ मण्डलीले के निर्माण गर्दछ ? धेरैवटा क्षेत्र होला तर बाहिर फैलिने विषयमा सम्झौता हुँदैन । यो भनाई अलिक विरोधाभाष छ तर बाहिर मिशनको काममा फैलिने मण्डलीले जहिले पनि असल र स्वस्थ भित्री सदस्यहरू निर्माण गर्दछ । किन त्यसो हुन्छ त ? एउटा वंशाणुगत इसाई विश्वास चाहिँ आफु मर्नुपर्छ अर्थात् यसको अर्थ चाहिँ हाम्रो बाहिरी मनुष्यत्व मर्नुपर्छ वा आफुलाई अति नै माया लाग्ने वस्तु त्याग्नु भन्ने पनि बुझिन्छ । अब पर्खाल भित्र मात्र रमाउने, खाने, पिउने, मोज मज्जा गर्ने, जोखिम उठाएर बाहिर निस्कन नचाहने र अरूको निम्ति केही गर्न नचाहने र आफ्नो लागि चाहिँ अरूले सबै खालको बलिदान वा त्याग अपनाओस रखुशी पार्न कोशिश् गरोस् भन्ने व्यक्ति, आफ्नो खुशी वा सन्तुष्टिको मात्र खोजी गर्ने, नामको लागि मात्र काम गर्ने व्यक्तिहरू जो आत्मा केन्द्रित व्यक्तित्वहरू हुन् जसको कारण मण्डलीमा कुनै गति हुँदैन र गति नभएको मण्डलीले प्रगति गर्दैन र प्रगति नगर्ने मण्डली अधोगतितिर जाने कुरा पक्का जस्तै छ । अनि त्यो सत्य र प्रभुको राज्य विस्तारको काम र सत्य भन्दा धेरै टाढा छ । पर्खाल भित्र नै रूमलिने मण्डलीले बाहिरी केन्द्रित मण्डलीले पाउने आनन्द प्राप्त गर्न सक्दैन । प्रियहरू त्यसो गर्नाले तपाईंको मृत्युले पनि काम रोकिँदैन तर तपाईंभन्दा महान् उदाउन सक्छ ।

४. एउटा स्वस्थ मण्डलीमा पनि गिरावट आउन सक्छ ।

एउटा स्वस्थ मण्डलीमा सधैँभरि सबै कुरा ठीक हुन्छ भन्ने जरुरी छैन त्यहाँ पनि मान्छेको समूह छ र गलत कामहरू हुन सक्दछन् त्यहाँ वाद–प्रतिवाद छलफल हुन्छ, त्यहाँ कहिले काहीँ मतभिन्नता हुन्छन् तर उनीहरूको भरोसा परमेश्वर भएको कारणले ती सबै मतभिन्नताहरूलाई चिरेर अघि बढ्न सक्छन् र सबै समस्याहरूभन्दा माथि परमेश्वर राज्य गर्नुहुने भएकोले केही डराउनु पर्दैन । त्यस्ता मण्डलीहरू सबै प्रकारका स्थिरता र अझ अधो गतितिरबाट अघि बढ्दै मिशनको काममा लागि पर्दछन् । सायद कुनै समयमा मण्डली वृद्धिमा कमजोरी हुन्छ होला तर त्यसै समयबाट फेरि असल सुरुवात पनि परमेश्वरले नै गर्नुहुन्छ । मण्डलीभित्र यदि त्यस्ता गिरावट वा गिराउने काम हुन्छ भने त्यस्ता कुराहरूलाई छलफल गरेर टुङ्ग्याउनुपर्छ । त्यस्तो अवस्थामा वा विशेष् परिस्थितिमा मण्डली नेतृत्वले त्यस्ता विषयलाई सम्बोधन गर्नुपर्छ र गरिन्छ पनि । आजको आवश्यकता भनेको समूहमा बसेर काम गर्नु नै हो र एक्ला एक्लै निर्णय गर्ने, एक्लै हिँड्ने काम अब बन्द गर्नुपर्छ । त्यसकारण हामीले भन्यौं “धेरै मण्डली, धेरै अगुवाहरू र धेरै सेवकाइहरू” यदि यो विचारलाई बुझ्न सकेर प्रभुमा प्रार्थना गर्न थाल्यौं भने मण्डली निश्चय नै वृद्धि हुँदै अघि बढ्छ र हाम्रो मण्डली अधोगतितिर होइन तर प्रगतितिर लम्कन्छ ।

५. स्वस्थ अगुवाहरूले स्वस्थ मण्डली निर्माण गर्दछ ।

अब यहाँ हेरौं । एक जना पाष्टरको स्वास्थ्यले मण्डलीको स्वास्थ्यलाई असर पार्दछ । एउटा स्वस्थ मण्डलीले समाजलाई स्वस्थ गराउँदछ, त्यसै गरी एउटा समाज जसको स्वास्थ्य ठीक छैन, त्यसले मण्डलीको स्वास्थ्यलाई प्रभाव पार्दछ र मण्डलीको स्वास्थ्यले पाष्टरको स्वास्थ्यमा प्रभाव पुर्‍याउँदछ । त्यसकारण आज हामी एउटा स्वस्थ समाजको परिकल्पना गर्दछौं । देशमा संवृद्घि खोज्दैछौं तर मण्डलीको स्वास्थ्यको बारेमा चिन्ता छैन भने त्यो कसरी मेल खाला त ? म त भन्छु आज हामी सबै अगुवाहरूले प्रभुको अघि आएर आ–आफ्ना भुलहरू, कमी–कमजोरीहरू र पापको लागि प्रभुकहाँ फर्केर पश्चत्ताप गर्नुको विकल्प छैन । १ यूहन्ना १ः७–१० मा यसो लेखिएको छ, “तर उहाँ ज्योतिमा हुनु भएझैं यदि हामी पनि ज्योतिमा हिँड्छौं भने, एउटा अर्कासित हाम्रो संगति हुन्छ, र उहाँका पुत्र येशूको रगतले हामीलाईसबै पापबाट शुद्ध पार्छ । यदि हामीमा पाप छैन भनी हामी भन्छौं भनेता हामीले आफैलाई धोखा दिन्छौं, र हामीमा सत्य हुँदैन । यदि हामीले आफ्ना पापहरू स्वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ । यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्छौं भने हामी उहाँलाई झुटा तुल्याउँछौं, र उहाँको वचन हामीमा हुँदैन ।” उपदेशक ७ः२० “संसारमा यस्तो कुनै धर्मी मानिस छैन, जसले सबै काम ठीक गर्छ र कहिल्यै पाप गर्दैन ।” आज पनि येशू पर्खिरहनुभएको छ । यदि हामीले आफुलाई सच्याउने संकल्प गर्‍यौं भने प्रभुले निश्चय नै आशिष् दिनुहुनेछ र हामीले स्वस्थ मण्डली निर्माण गर्न सक्छौं र प्रभुलाई महिमा दिन्छौं । यसैले हामीले नै सबै काम ठीक गर्न सकेका छौं भने त हामीलाई येशूको दरकार पर्ने थिएन होला । त्यसैकारण २ हजार वर्ष पहिले आउनुभएको येशूलाई आफ्ना सबै कुरा सुम्पौं र एउटा स्वस्थ मण्डली निर्माणमा हात बटाऔं । “तर तिनीहरू, जो ख्रीष्ट येशूका हुन्, तिनीहरूले पाप स्वभावलाई त्यसको वासना र लालसा सहित क्रूसमा टाँगिदिएका छन्” (गलाती ५ः२४) । के हाम्रा हातहरू, हाम्रा विचारहरू स्वस्थ मण्डली निर्माण गर्न उत्सुक छ ? कि हामी तमासे भएर हेरिराख्छौं ? दाऊद परमेश्वरको सन्दुक लिएर आउँदा दाऊद नाच्दै गाउँदै यरुशलेम प्रवेश गरे । उनको श्रीमती मीकलचाहिँ झ्यालबाट हेर्दै दाऊदप्रति घृणा गरिन् जो परमेश्वरले थाहा पाउनुभयो कसैले भन्नु परेन । उहाँले पनि हाम्रो हृदयको कुरा जान्नुहु्न्छ । परमेश्वरले मीकलको कोख बन्द गरिदिनुभयो । धेरै लामो समयसम्म मीकल बाँझी भई र पीडामा जीवन बिताउनु पर्‍यो तर दाऊद त परमेश्वरको हृदयले खाएको मानिस थियो । आज हामी पनि परमेश्वरको मनले खाएको स्वस्थ अगुवा बन्दै हरेक तह, तप्का र जिम्मेवारीलाई खुशी र सौभाग्य सम्झी काम गरौं र एउटा स्वस्थ मण्डली, सुन्दर मण्डली, प्रभुलाई प्रेम गर्ने मण्डली, प्रभुको आवाज सुन्ने मण्डली, मिशनको काममा लागिपर्ने मण्डली बनेर प्रभुलाई महिमा दिऔं ।

अन्तमा २०७५ सालमा प्रभुले दिनुभएको प्रतिज्ञाः “म, परमप्रभुले तिमीलाई मेरो धार्मिकताअनुसार बोलाएको छु । म तिम्रो हात समात्नेछु, र तिम्रो रक्षा गर्नेछु । तिमीलाई नै म जाति जातिहरूका निम्ति करार र अन्यजातिहरूका निम्ति ज्योति बनाउनेछु, अन्धाहरूको आँखा खोल्नलाई, कैदीहरूलाई कारागारबाट र अन्धकारमा बस्नेहरूलाई कैदी राख्ने तहखानाबाट निकाल्नलाई” यशैया (४२ः६–७) ।