स्व. पाष्टर डा. राजेन्द्र कुमार रोंगोंगको संक्षिप्त परिचय – भुवन देवकोटा

June 4, 2018 | Articles  

नेपाली मण्डलीका धरोहर तथा नेपाली शैक्षिक जगतका तारा नेपाली इसाई मण्डलीका पाष्टर डा. राजेन्द्र कुमार रोंगोंग गत मे १८ तारिख प्रभुको घरमा जानुभयो । नेपाली इसाई जगतमा मात्रै होइन, नेपालको सामाजिक र शैक्षिक क्षेत्रमा पनि गुरुबाको योगदान अतुलनीय छ । परमेश्वरले दिनुभएको जिम्मेवारी पूरा गरेर उहाँ जानुभएको छ र बहुमुखी प्रतिभाका धनी, दर्शन देख्ने, कुशलतापूर्वक अगुवाइ गर्ने, सबैलाई वास्ता र प्रेम गर्ने, अरूको कमजोरीभन्दा सबल पक्षलाई बढावा दिएर सामूहिक हित र मण्डलीको भलाईको निम्ति काम गर्ने एउटा कुशल अभिभावकको भूमिका निर्वाह गर्नुभएका उहाँले हामीलाई असल उदाहरण छाडेर जानुभएको छ । उहाँको नेतृत्वमुनि रहने हरेकले असल अभिभावक, प्रशिक्षक, कुशल नेतृत्व र सहयोगी उत्प्रेरकको रूपमा उहाँलाई पाउँथ्यो । उहाँलाई धेरै युवाहरूले बाजे भनेर पुकार्थे तर उहाँसँग अत्यन्तै घुलमिल गर्थे, उहाँ एकदमै मिलनसार, भलाद्मी र सोझो मनको, प्रभु येशूलाई असाध्यै प्रेम गर्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँसँग कुराकानी गर्न, आफ्ना कुरा राख्न सबैले सहज महसुस गर्थे । गुरुबाको जीवनीलाई संक्षेपमा तल प्रस्तुत गरिएको छ ।

जन्म तथा येशूको साथ हिंड्ने तयारी (१ देखि २० वर्षको उमेरसम्म)

  • जन्मः २४ अप्रिल १९३०, आमा सूर्यमती रोंगाेंग र बुवा आथिङ जोसेफ रोंगोंगबाट दोस्रो सन्तानको रूपमा
  • सानै हुँदा आमा सूर्यमतीले पाष्टर राजेन्द्र रोंगोंगलाई नेपालको लागि अर्पण गर्नुभयो । सानै हुँदा आमाले घरमा संचालन गर्ने बाइबल अध्ययनमा उहाँ सहभागी हुनुभयो । सानैदेखि नेपाल आउने रहर उहाँमा थियो ।
  • पाष्टर राजेन्द्र रोंगोंग ९ वर्षको हुँदा दोस्रो विश्वयुद्ध सुरु भयो । बुवाको जागिरको कारणले पाष्टर राजेन्द्र रोंगोंग ७ कक्षासम्म पुग्दा १० वटा जति स्कूल  फेर्नुभयो । १९४५ अगस्त ९ मा अमेरिकाले हिरोसिमा र नागासाकीमा बम खसाल्ने समयमा दार्जिलिङबाट कालिङपोङमा उहाँ आफ्नो परिवारसँग हिंडेरै जानुभयो ।
  • दार्जिलिङको सरकारी हाइ स्कूलबाट कक्षा ७–१० र म्याट्रिक उत्तीर्ण गर्नुभयो । उहाँ कक्षा ७ मा हुँदा सन् १९४२ मा स्काउट सुरु गर्नुभएको, सानैदेखि मण्डली गइरहने बानी उहाँको थियो
  • १९४७ मा राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर जबराले दार्जिलिङमा रू. १००/– बक्सिस दिएका । उहाँले १९४७ मा म्याट्रिक पूरा गर्नुभएको, उहाँको व्याच अंग्रेज शासनको अन्तिम व्याच हो ।
  • जोर्डन चन्दन् खाँले नयाँ जीवनका बारेमा बताउनुभएपछि १९४७ नोभेम्बर २५ मा प्रभु येशूलाई ग्रहण गर्नुभयो । सो दिन पाष्टर राजेन्द्रको घरमा पाष्टर रोबर्ट कार्थक, पाष्टर दफ्तन सादा, प्रकाश राई, जरमित कार्थक मिलेर संगति राख्नुभएको थियो ।
  • १९४७ मा मिस फ्र्यान्कलिन बिहारबाट मिशनेरीको रूपमा कालिङपोङ आउनुभएको । मिस फ्र्यान्कलिनले कालिङपोङको कन्या मा.वि.मा काम गर्दा पाष्टर राजेन्द्रकी आमासँग नेपाली भाषा सिक्न थाल्नुभयो । मिस फ्र्यान्कलिनले पाष्टर राजेन्द्र, पाष्टर रोबर्ट कार्थक, पा. दफ्तन सादा, प्रकाश राई, जरमित कार्थकको लागि बाइबल अध्ययन सुरु गर्नुभयो । मिस फ्र्यान्कलिनले उहाँहरूलाई सुसमाचार प्रचारको लागि विभिन्न गाउँमा लानुहुन्थ्यो ।
  • पाष्टर राजेन्द्र रोंगोंगले १९४९ मा आई.ए. को परीक्षा दिएर द्वितीय श्रेणीमा उत्तीर्ण हुनुभयो ।

सेवकाइको तयारी र प्रभुको सेवामा (२१ देखि ४० वर्षको उमेरसम्म)

  • १९५० मा पाष्टर राजेन्द्र रोंगोंग र पा. रोबर्ट कार्थक मिलेर कालिङपोङमा सुसमाचारीय सम्मेलन आयोजना गर्नुभयो । १९५२ मा पा. रोबर्ट कार्थक र पा. राजेन्द्र रोंगोंग रक्सौल हुँदै अमलेखगन्जसम्म आउनुभयो ।
  • उहाँको १९५२ सेप्टेम्बर २९ मा जरमित कार्थकसँग पवित्र विवाह भयो ।
  • पा. राजेन्द्र रोंगोंगले आई.ए. सकेपछि घरको अघि खरको छाप्रो बनाएर पा. रोबर्ट कार्थक र अरू साथीहरूसँग मिलेर राती प्रार्थनामा समय बिताउनुहुन्थ्यो ।
  • उहाँले १९४९–१९५५ सम्म SUMI मा शिक्षकको रूपमा सेवा गर्नुभयो । १९५४ मा USAID (US/OM) बाट त्रैलोक्यनाथ उप्रेति र ह्युबी उड दार्जिलिङ गएर पा. राजेन्द्रलाई नेपाल आउने प्रेरणा दिएका ।
  • पा. राजेन्द्र रोंगोंग १९५६ फेब्रुअरी २९ मा हिमालयन प्रेस्बेटेरियन मण्डलीबाट ११ जनाको टोलीमा कालिङपोङबाट नेपाल आउन प्रस्थान गर्नुभयो । सिमराबाट हनुमान भन्ने हवाइजहाजमा रू. १७ भाडा तिरेर ३५ मिनेटको यात्रा गरी १९५६ को मार्च ३ तारिख ११ जनाको टोलीमा नेपाल आइपुग्नुभयो ।
  • सोही दिन भक्तपुरको न्यातपोल नजिकै घरमा आएर बास बस्नुभएको । त्यो बेला श्री ५ महेन्द्रको राज्यभिषेक भएको कारण पाष्टर राजेन्द्र रोंगोंग र उहाँको समूहले भक्तपुरमा सिन्दुरे जात्रा देख्ने मौका पाउनुभयो ।
  • म इसाई हुँ भन्ने परिचय दिएको कारण पा. राजेन्द्र रोंगोंगलाई काम पाउन गाह्रो भएको ।
  • उहाँहरू जुद्ध सडकको संगतिमा १९५६ तिर कहिलेकाहीँ जानुहुन्थ्यो । उहाँहरूले भक्तपुरमा घरको तल्लो तलामा गुन्द्री ओछ्याएर संगति गर्नुहुन्थ्यो । उहाँले सन् १९५६ मा पा. रोबर्ट कार्थक र दानिएल सित्लिङसँग दाप्चामा सुसमाचारीय यात्रा गर्नुभएको । उहाँ १९५६ को डिसेम्बरमा भक्तपुरबाट डिल्लीबजारमा सपरिवार डेरा सर्नुभएको ।
  • १९५७ अगस्तको पहिलो आइतबार पाष्टर रोबर्ट कार्थक र पा. राजेन्द्र रोंगोंगको पहलमा हालको नेपाली इसाई मण्डली (ज्ञानेश्वर चर्च) को स्थापना भएको हो ।
  • हाल र्‍याडिसन होटल भएको चेत भवनमा कलेज अफ एजुकेसनको पहिलो व्याचमा १६ जना भर्ना भए पनि उहाँले मात्र १९५८ अप्रिल १४ मा बी.एड. उत्तीर्ण गर्नुभयो, उहाँको ट्रान्स्कृप्टको ट्रान्स्कृप्ट नं. १, सिरियल नं. १, नेपालको पहिलो बी.एड. उहाँ हुनुहुन्छ । उहाँ विद्यार्थी हुँदा पाएको मासिक भत्ता रू. ८० नेपालमा गर्नुभएको पहिलो कमाइ थियो ।
  • काम नपाएको कारण नेपालबाट फर्किने विचार गरिरहँदा पा. राजेन्द्रकी छेमा डा. फुलमणि प्रधानले चिठीमा ‘हलोमा हात राखेर पछाडि हेर्ने मान्छे परमेश्वरको कामको लागि योग्य हुँदैन’ भनेर लेखेको पढेपछि नफर्किने निर्णय गर्नुभयो ।
  • उहाँलाई वि.सं. २०१६ मा तत्कालीन श्री ५ को सरकारले राजपत्रांकित तृतीय श्रेणीको अधिकृत बनायो ।
  • पा. राजेन्द्र रोंगोंग वि.सं. २०१६ भदौ २९ गते महाकवि लक्ष्मीप्रसाद देवकोटालाई तत्कालीन शिक्षामन्त्री परशुनारायण चौधरीसँग एउटै छाता ओढेर आर्यघाटमा भेट्न जानुभएको । वि.सं. २०१७ मा पञ्चायत सुरु हुनुभन्दा एक हप्ता पहिले प्रेम प्रधानको रिहाइको लागि गृहमन्त्रालयमा मण्डलीका अगुवाहरूको टोलीलाई उहाँले लिएर जानुभएको ।
  • १९५८ मा नेपाल स्काउटको राष्ट्रिय सहसचिव नियुक्त हुनुभयो । १९५८ सेप्टेम्बरमा श्री ५ को सरकारले उहाँलाई पढ्नका लागि दिल्ली पठाएको । १९५९ मा रजगड विश्वविद्यालय दिल्लीबाट एम.एड. सक्नुभएको र श्री ५ को सरकारले उहाँलाई कलेज अफ एजुकेशनको लेक्चरर बनाएको ।
  • उहाँले १९५९ सिद्धार्थ बनस्थलीमा ७ महिना शिक्षकको रूपमा सेवा गर्नुभएको । सन् १९५९ मा ल्याबोरेटरी स्कूलको शिक्षक हुनुभएको । वि.सं. २०२५ देखि ३ वर्ष ल्याबरोटरी स्कूलमा प्रधानाध्यापकको रूपमा सेवा गर्नुभएको ।
  • १९५९ मा पाष्टर रोबर्ट कार्थक बाइबल अध्ययनको लागि बेलायत हुनुहुँदा पा. राजेन्द्र रोंगोंगले १ वर्ष मण्डलीको पाष्टरको रूपमा सेवा गर्नुभएको । १९५९ मा शिव कुमार थापाको बप्तिस्मा, जुन नेपाली इसाई मण्डलीमा भएको पहिलो बप्तिस्मा हो, सो बप्तिस्मा पा. राजेन्द्र रोंगोंगले दिनुभएको ।

नेपाल र नेपाली मण्डलीलाई आशिष् पुर्‍याउने काममा (४१ देखि ६० वर्षको उमेरसम्म)

  • उहाँले १९७४ जुन ११ मा अमेरिकाको साउदर्न इलिनोइ युनिभर्सिटीबाट विद्यावारिधि गर्नुभएको हो ।
  • उहाँ १९७४ जुन ११ मा त्रिभुवन विश्वविद्यालयको राष्ट्रिय विकास सेवाको पहिलो निर्देशक हुनुभएको । उहाँ १९७६ मा त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रको दोस्रो निर्देशक नियुक्त हुनुभयो ।
  • उहाँ वि.सं. २०२८ मा श्री ५ महेन्द्रबाट प्रबल गोरखा दक्षिणबाहुले सम्मानित हुनुभएको । उहाँले श्री ५ वीरेन्द्रबाट वि.सं. २०३१ मा शुभराज्याभिषेक पदक पाउनुभयो ।
  • उहाँ १९८० मा त्रिभुवन विश्वविद्यालयको प्राध्यापकमा नियुक्त हुनुभएको । १९८२ मा नेइम ज्ञानेश्वर चर्चको एल्डरको रूपमा नियुक्त हुनुभएको । उहाँले वि.सं. २०४५ मा श्री ५ वीरेन्द्र दैवी प्रकोप पीडितोद्धार पदक प्राप्त गर्नुभयो ।

प्रभुको सेवा र अनन्त घर जाने तयारी (६१ देखि ८८ वर्षको उमेरसम्म)

  • उहाँले १९९३ मा त्रिभुवन विश्वविद्यालयबाट उमेर हदका कारण अवकाश पाउनुभयो । उहाँले श्री ५ वीरेन्द्रबाट गद्दी आरोहण रजत महोत्सव पदक–२०५३ प्राप्त गर्नुभयो ।
  • सन् १९९७ मार्च २५ मा पाष्टर रोबर्ट कार्थकसँग म्यानमार गएर त्यहाँका नेपाली मण्डलीहरूको भ्रमण गर्नुभयो ।
  • सन् २००२ अप्रिलमा वीरेन्द्र–ऐश्वर्य सेवा पदकबाट विभूषित हुनुभयो ।
  • २००२ मा नेपाली इसाई मण्डली (ज्ञानेश्वर चर्च) को मिशन विभाग स्थापना भएदेखि उहाँले विभागको अध्यक्षको रूपमा मण्डलीमा सेवा गर्नुभएको थियो । सोही सालदेखि नै उहाँले मण्डलीमा पूरा समय काम गर्ने सेवकहरूलाई नियमित कक्षा सञ्चालन गर्नुभएको थियो । २००२ देखि नै उहाँ मेरी गुरुआमा स्मृति प्रतिष्ठानको अध्यक्षको रूपमा सेवारत हुनुहुन्थ्यो ।
  • सन् २००५ अक्टोबर २१ मा उहाँकी धर्मपत्नी जरमित रोंगोंगको स्वर्गारोहण हुनुभयो ।
  • वि.सं. २०४८–२०६४ सम्म काठमाडौं शिक्षा क्याम्पसको सञ्चालक समितिको अध्यक्ष भएर सेवा गर्नुभएको र वि.सं. २०५८–२०६१ सम्म काठमाडौं शिक्षा क्याम्पसको प्रमुख भएर सेवा गर्नुभएको ।
  • उहाँ ११ अप्रिल २००९ मा नेइम (ललितपुर चर्च) को पाष्टरमा अभिषेक हुनुभएको हो ।
  • वि.सं. २०६४ साउन २८ गते प्रहरी प्रधान कार्यालयबाट दीपेन्द्र प्रहरी उ.मा.वि. साँगाको वरिष्ठ सल्लाहकारमा नियुक्त हुनुभयो ।
  • उहाँलाई २०७१ पुस २९ गते नेपाल शिक्षाशास्त्री समाजले गुरुहरूका गुरुको रूपमा सम्मान गरेको । वि.सं. २०७३ वैशाख २९ गते सगरमाथा प्रतिष्ठानले ‘नेपाल सम्मान २०७२’ प्रदान गरेको । उहाँले नेपाल स्काउटबाट स्वर्णसेवा सम्मान वि.सं. २०७३ आषाढ ३ गते पाउनुभएको ।
  • उहाँको स्वर्गारोहण २०७५ जेष्ठ २ गते/२०१८ मे १६ तारिख बुधबार  भयो ।