गडवाल, कोटद्वार मण्डली भ्रमण विवरण

August 8, 2018 | Articles  

– पाष्टर वीर बहादुर खवास

भजनसंग्रह ३७:४ “तँ आफै परमप्रभुमा मग्न हो; र उहाँले तेरो मनोरथ पूर्ण गर्नुहुनेछ ।”

गडवालमा भएको मिशनेरी भाइ पाष्टर नरेन्द्र, शान्ता बहिनी र सरोवरको लागि शुरूबाट केही वर्षसम्म निरन्तर प्रार्थना गरिरहन्थें । पाष्टर भाइ प्रेम श्रेष्ठले निकै पल्ट दाज्यू हामी गडवाल जाऊँ, म तपाईंलाई लैजान्छु भन्दा–भन्दै झण्डै दश वर्ष बितेछ । वर्षहरू हारे पनि मन हारेको थिएन । ३१ गते जेठ (१४ जुन) मा प्रेम भाइले फेरि भन्नुभो, अर्को हप्ता जाऊँ, म मिलाउँछु । प्रभुकै समय होला, उहाँले आँट दिनुभो, उठेपछि दिनुहुन्छ भनेर ‘हुन्छ’ भनेँ । ७ देखि १३ असार (२१ देखि २७ जुन) यात्रा तय भयो । मेरो, नेपालको बाटो भएर महाकाली नदी पार गरी जाने इच्छा पूरा हुन गाह्रो भो । गरम, लामो बस यात्रा, राती बास बस्ने, फेरि अरू गाडीहरू चढ्न झनै महँगो पर्ने हुनाले प्लेनमा दिल्ली र त्यहाँबाट ट्याक्सीमा जाने योजना मिलाउनु भएछ । राम्रो भो । दिल्लीसम्म प्लेनमा १ घन्टा २० मिनट, त्यहाँबाट ट्याक्सीमा ६ घन्टामा गडवाल पुगियो । पाष्टर नरेन्द्र भाइ दिल्लीमा लिन आउनुभएथ्यो ।

भारतको उत्तराखण्ड, गडवालको, कोटद्वारको रोबर्ट कोलोनीभित्र एक सानो दुई तले घर रहेछ भाइहरूको । भुईं तलामा सेवा घर, किचन, टोइलेट, माथिल्लो तलामा दुई कोठा र एक बाथरूम रहेछ । चुरे भाभरको काखको मैदान, रुखो गरीब बस्ती, सानो गडवाली–बजार, मुसलमान, पश्चिम नेपालबाट ज्यामी काम गर्न गएका नेपालीहरू छासमिस भएर बसेका रहेछन् । पाष्टर नरेन्द्र सिंहलाई सिप्पोरा अधिकारी भान्जीले प्रभुमा ल्याएको रहेछ । हामी कोटद्वार पुगेकै दिन भाइ–बहिनीहरूसँग संगति गर्न प्रायः ६ कि.मी. गिवाइसुद भन्ने गाउँमा पुग्यौं । घर नभनेर कटेरोसम्म भन्न मिल्ने स–साना तर आफ्नै ठाउँमा बासस्थान बनाएर, ज्याला, बुनी, रिक्सा चलाएर बसेका रहेछन् । चार घरमा संगति गर्न पुग्यौं । भित्र ठाउँ नपुग्ने र बाहिरै बस्यौं । बाहिरबाट गरिब देखिए पनि आत्मामा धनी, खुशी र संगतिमा रमाइरहेका, सन्तोकी साक्षीहरूले हाम्रो मन छोयो । साह्रै गरम भएकोले भाइ नरेन्द्रले ६५ कि.मी. टाडाको एउटा ल्यान्सडन डाँडामा शितल ताप्न लानुभयो । त्यहाँबाट शहर, गाउँ, तल–तल देखिन्छ । मलाई कालिम्पोंगको होम्सको डेलो झैँ लाग्यो । रमाइलो बज्रआँठ रुखको जंगलहरू । ठाउँ–ठाउँमा एकदुई रिसोर्ट र अरू धेरै बन्दै रहेछ । दिल्लीबाट कोटद्वार २५० कि.मी. र त्यहाँबाट ६५ कि.मी. यात्रा गरी दिल्लीबाट गाडीका गाडी मानिसहरू सितल खान र रमाइलो गर्न यहाँ आउँदा रहेछन् । गडवाल आर्मी रेजिमेन्ट यहीँ रहेछ । अर्को दिन १७ कि.मी. टाढामा भएका विश्वासीहरूलाई भेट्न दोगड्डा (दोभान) भन्ने ठाउँमा पुग्यौं । अरूको जग्गा कमाउन दिएकोमा ससाना नाली बाली लगाएर ५ फीट जति अल्गो र झिक्राको बार, तिर्पालको छाना गरमले भित्र बस्नै नसकिने, बाहिरै संगति गर्‍यौं ।

चार झोपडीका विश्वासीहरू सुर्खेत, सल्यानतिरबाट आन्दोलनको समयमा भागेर आएका रहेछन् ।

पाष्टर रोबर्ट गुरूबा र पाष्टर अशोक मुखिया भाइ पनि सायद चार वर्ष अघि त्यहाँ पुग्नुभएको रहेछ । कुन सिजनमा होला ? हामी त भुंग्रोमा पस्ने सिजनमा पुगेछौं । पौडीमा जाने भनी त्यहीँ १७ कि.मी. दोगौंडा पुग्यौं । दुवाली फर्काउने पर्खालले ३० इन्ची जति गहिरो पानी जमाएछ । गाडीबाट निस्कने बित्तिकै प्रेम भाइ, ठूलो ज्यानको बलियो मान्छे, मोटो र बेसरी तातिएको झ्वाम ३० इन्ची दहमा हाम फाल्नुभो । तातो फलाम पानीमा झ्वाइँ गरे झैँ भयो । मलाई पनि पस्नु पस्नु भन्दा रहर लागेर पसें । उतानो पर्दा पानीले ढाक्यो, तर कति गर्दा पनि सुतानो पर्न मुस्किल भो । किचन सिंकमा उतानो परेको साङलो सुतानो हुन नसकी त्यहीँ मर्छ । मेरो साथमा सहयोगी थियो । केही बेर जीउ सेलाएर दोगौंडा संगति घर पुगी केही भाइ, बहिनीहरूलाई भेट्यौं । साह्रै रमाइलो भयो । दोगौंडाको झुपडीमा बस्नुहुने भाइ नर बहादुर र बबित बहिनीले गाई पाल्नुभा रछ । मिठो दुध खुवाउनुभयो । उहाँकै जेठा छोराले गोल्भेंडा खेती गर्नुभा रछ । सबैको भन्दा सप्रेको र टेनीस बल जत्रै ठूलो फलाएछ । हिब्रू ६:६ परमेश्वरले वर्षा, मानिसले खनजोत, परमेश्वरको आशिष् त्यसमा आउँछ । प्रभुमा आनन्दित, हौसला बोकेका, परिश्रमी, आत्मामा धनी बनाइएका भाइ, बहिनीहरूलाई सम्झँदै फर्क्यौ । कोटद्वार विभिन्न स्कूल क्लासमा पढ्ने ४० जना विद्यार्थीहरूको निम्ति मण्डलीले एउटा ट्यूसन सेन्टर चलाएको रहेछ । शिक्षा, पढाइको साथै प्रभुमा नानीहरूलाई हुर्काउने काम भइरहेछ । त्यहाँ नै प्रभुलाई चिनेकी एक जना नानी सायद ११ वर्ष जति होला स्तुति–प्रशंसामा कङ्गो बजाएर पूरा जोश दिँदो रहेछ । त्यसरी नै भाइ बिकीको ढोलकको मधुर घनकाइ, नरेन्द्र भाइको किबोर्डको अगुवाइले ४० मिनेट जतिको स्तुति–प्रशंसा, बिमला बहिनीको विशेष् र निरन्तरको ताली बजाइ पूरै मण्डली भवन गुन्जयमान, प्रभुको स्तुति होस् । भजनसंग्रह १५० को अनुसार खैजडी पनि बज्यो । अझ सितार, वीणा, तार बाजा, बाँसुरी पनि आउने दिनमा थपिऊन् । ठूलाहरू ६० र सानाहरू ४० जति सेवामा उपस्थित थिए । टाढाबाट आउने भएकाले सेवापछि पानी, समोसाहरू खान दिँदो रहेछ । यशैया ३५:७ खरीएको जमिन दह हुन्छ । शान्ता बहिनी बिहानै पिछे ३० वटा रोटी पाहुना, परिवार र दुई प्यारा कुकुर डाइमण्ड क्युट, सरोवरको साथी, क्यासपर पुतली कान भएको (प्रेम भाइलाई होमसिक बनाउने) ब्रेकफास्ट–नित्यकर्म । यो घरानामा परामर्श र अन्य सहयोग लिन भाइ, बहिनीहरू आइरहनेरहेछ । धेरैलाई विभिन्न सेवकाइ गरेकोले नै मण्डलीको बड्ती, रक्षा भइरहेको थाहा पायौं । साग–सब्जी उस्तो नपाइदो रहेछ । शान्ता बहिनीले बारीको लट्टेको साग भने खुवायो । आलो आँपको मिठो अचार आहा !

रिङ्गकू घर संगति पछि म्याकारोनी र भाइको चिकन चिल्ली आमासंग भेट । त्यहाँ आँपको सिजन, दसरी आँपको चाङ बाटाको छेउमा दिल्ली सम्मै देख्यौं । मिठो र सस्तो पनि रहेछ । बलबीर भाइले एक बाकस दिनुभयो । त्यहाँको सेवकाइमा अझ सहयोगीहरूको आवश्यक्ता छ । आफ्ना–आफ्ना जीवन निर्वाहका काम कमाइ गर्दै सेवामा रत्छन् विश्वासीहरू । हामीहरू पनि आर्थिक सहयोग नेइम मिशन विभागद्वारा पठाएर त्यहाँको सेवकाइमा सहभागी बन्न सक्नेछौं । प्रार्थना त सबैले गरिरहनुभएको छ, थाहा छ । मिशन इन्चार्ज भाइ लेखनाथले पनि मलाई कोटद्वार भ्रमणमा पठाउने प्रबल इच्छा गर्नु भाथ्यो । पूरा भयो, धन्यवाद । प्रेम भाइले पूरा यात्रामा मलाई बोकेर हिंडे झैँ लाग्यो । भारी बोक्ने, खुवाउने–शिरदेखि पाउँसम्मै (१ जोड जुत्ता किनेर पनि) सेवा गर्नुभयो–क्वीन्टल–क्वीन्टल धन्यवाद ! प्रेम भाइ उहाँ ५० वर्ष, म ८१ वर्ष –३१ वर्षको फरक तर प्रभुमा जेनेरेशन ग्याप नहुँदो रहेछ ।

प्रार्थना गरिदिनुहुने हरेक प्रियहरूलाई धन्यवाद ।
शालोम
बि. बि. खवास