नेइम थियोलोजिकल स्टडी सेन्टर (नेइम टिएससी)

June 6, 2019 | Articles  

–एल्डर सिमोन पाठक

नेइमका मण्डलीहरूमा अनौपचारिक रूपमा ईश्वरशास्त्रीय ज्ञान हासिल गर्ने तालिम आ–आफ्नै मण्डलीहरूमा फरक–फरक ढंगमा हुँदै आएको भए तापनि औपचारिक रूपमा आधिकारिक प्रमाण पत्र हासिल गर्ने उद्देश्यले कुनै तालिमहरू संचालन भएको थिएन । नेइमका अगुवाहरूलाई परमेश्वरको वचनमा परिपक्व बनाउँदै लान आफ्नै ईश्वरशास्त्रीय स्कूल हुनुपर्छ भन्ने उद्देश्यले लामो समयदेखि प्रार्थना र पहल हुँदै आएको थियो । ईश्वरशास्त्रीय स्कूलको अवधारणालाई अगाडि बढाउनलाई एउटा समिति पनि गठन गरिएको थियो । उक्त समितिले सन् २०१२ देखि यता ईश्वरशास्त्रीय स्कूल सुरु गर्नका लागि धेरै वटा बैठकहरू बस्यो, धेरै छलफल गरियो, उपत्यकामा संचालित ईश्वरशास्त्रीय स्कूल तथा तालिमहरू के कसरी संचालित भइराखेका छन्, सो विषयमा बुझ्ने काम पनि भयो । विभिन्न ईश्वरशास्त्रीय स्कूलका पाठ्यक्रमहरू जम्मा गर्ने कामहरू पनि भयो र सन् २०१६ को अक्टोबर महिनामा बसेको बैठकले सन् २०१७ बाट ईश्वरशास्त्रीय स्कूल सुरु गर्नको लागि नेइमको कार्यकारिणीमा अनुमोदन गराएर स्कूल सुरु गर्ने निर्णय गर्‍यो । तर विविध कुराहरूले तोकिएको मितिमा ईश्वरशास्त्रीय स्कूल सुरु हुन सकेन । त्यसपछि करीब एक वर्ष जति ईश्वरशास्त्रीय स्कूलको विषयमा कुनै पहल भएन ।

नेइम टिएससीको आवश्यकता महसुस गरी समिति गठन गरियोः
मिति २०७५ कार्तिक १७ गते तदानुसार नोभेम्बर ४, २०१८ आइतबारका दिन नेइम कार्यकारिणीको २९ औं बैठक नेइम ललितपुर चर्चमा बसेको थियो । सो बैठकमा नेइमलाई कसरी बलियो बनाउँदै लाने भन्ने विषयमा छलफल हुँदै गर्दा डीकन लाक्पा लामाले नेइम यति ठूलो भएर गइसक्यो तर हाम्रो आफ्नो ईश्वरशास्त्र सम्बन्धी अध्ययन गर्ने स्कूल छैन भन्ने विषयमा सबैको ध्यान केन्द्रित गराउनुभयो । नेइमको आफ्नै ईश्वरशास्त्रीय स्कूल हुनुपर्छ भन्ने विषयमा कसैको पनि दुईमत थिएन । विगतमा पनि नेइमको आफ्नै ईश्वरशास्त्रीय स्कूल हुनुपर्छ भन्ने सम्बन्धमा कुरा उठिराखेको थियो । तर यसपटककोे बैठकमा नेइमको ईश्वरशास्त्रीय स्कूल सुरु गरिहाल्नुपर्छ भन्ने विषयमा नेइम कार्यकारिणीमा हुनुभएकाहरू सबैजना एकै मनको भएर निर्णय गर्न पुग्यौं । सोही दिन नेइमको ईश्वरशास्त्रीय स्कूल सुरु गरिहाल्नका लागि एउटा कार्य समिति गठन गरियो । उक्त कार्य समितिमा नेइम ज्ञानेश्वरबाट पा. सामुएल कार्थक, ए. शुुइङ्ग कार्थक, ए. सिमोन पाठक र श्री. लेखनाथ पौडेल, नेइम ललिपुरबाट ए. सीता गुरूङ्ग, ए. घनश्याम दाहाल, नेइम जोरपाटीबाट पा. प्रेम श्रेष्ठ, डीकन लाक्पा लामा, नेइम गोंगबूँबाट पा. बर्णबास श्रेष्ठ, ए. पिटर लिम्बू सहितको कार्य समिति गठन गरियो । यो कार्य समितिको संयोजकको जिम्मा डी. लाक्पा लामालाई दिइयो । दश जनाको कार्य समितिका सदस्यहरूबाट पाठ्यक्रम तय गर्नको लागि चार जनाको उप–समिति पनि गठन गरिएको थियो जसमा डी. लाक्पा लामा, श्री लेखनाथ पौडेल, ए. शुइङ्ग कार्थक र ए. सिमोन पाठक हुनुहुन्थ्यो । यो समितिले नेइम टिएससीमा पढाइने विषयहरूको तय गरेको थियो ।

नेइम टिएससीले आफ्नो धार पक्रियोः
नेइम टिएससी कार्य समितिको पहिलो बैठकले नेइममा सुरु हुने ईश्वरशास्त्रीय स्कूलको नाम के राख्ने, तालिमको अवधि, लक्षित समूह, कहाँ गर्ने, लाग्ने खर्च कसरी जुटाउने आदि इत्यादि विषयमा बृहत छलफल गरियो । सोही दिनको बैठकमा नेइममा सुरु हुने ईश्वरशास्त्रीय स्कूलको नाम नेइम थियोलोजिकल स्टडी सेन्टर (नेइम ईश्वरशास्त्रीय अध्ययन केन्द्र) राख्ने निर्णय गरियो । उक्त बैठकपछि धेरैवटा बैठकहरू बस्यो, जसबाट नेइम थियोलोजिकल सेन्टरमा पढाइने विषयहरू एकेडेमिक डिन पढाउने शिक्षकहरू नेइम टिएससी सुरु गर्ने स्थान, लाग्ने खर्च आदिको तय गरिएको थियो । दशजनाको कार्य समितिबाट नेइम टिएससीलाई नेतृत्व दिनको लागि एकेडेमिक डिन नियुक्त गर्ने निर्णय गरियो र यसको कार्यभार ए. पिटर लिम्बूलाई दिइएको छ । नेइम टिएससीमा पढाउने धेरै जसो शिक्षकहरूमा ईश्वरशास्त्रको अध्ययन गरेका नेइमबाट नै हुनेछन् भने केही विषयहरू पढाउनको लागि उपत्यकाका मण्डलीहरूबाट पनि शिक्षकहरूलाई बोलाइनेछ ।

नेइम टिएससीको उद्घाटनः
नेइम टिएससीको उद्घाटन यही मिति २०७६ साल जेठ ३ गते तदानुसार मे १७, २०१९ का दिन नेइम ज्ञानेश्वरमा गरिएको थियो । उद्घाटन कार्यक्रममा नेइमका चारैवटा मण्डलीका पास्टरहरू, एल्डरहरू, प्रशिक्षकहरू र नेइम टिएससीमा अध्ययन गर्न गइराखेका विद्यार्थीहरूको उपस्थिति थियो । उद्घाटन समारोहमा आदरणीय पास्टर रोबर्ट कार्थक गुरूबाले नेइम टिएससीलाई अगाडि बढाएर लानको लागि धर्मशास्त्रका निम्न खण्डहरूबाट चेला बनाउने सम्बन्धमा यसरी मार्गनिर्देशन दिनुभएको थियो (मत्ती २८ः१८–२०, लूका १४ः२६–३३, यूहन्ना ८ः३१–३८)ः चेलाहरूले चेला नै बनाउँछन्, अचेलाहरूले कचेला मात्र बनाउँछन्, आजका मण्डलीहरू महान आज्ञा पूरा गर्ने कुरामा चुकिराखेका छन्, जसको कारण मण्डलीहरू कमजोर भएर गइराखेका छन्, मण्डलीले चेला बनाउन सकेन भने कचेलाहरू मात्र बनाउँछन्, प्रभुले लूका १४ः२६–३३ मा तीन पटकसम्म “त्यो मेरो चेला हुन सक्दैन” भन्नुभयो चेला हुनु भनेको ख्रीष्टलाई पछयाउनु हो । मण्डलीहरू किन चेला बनाउने कुरामा चुकिराखेको छन् ? किनकि चेला बनाउने कुरालाई मण्डलीहरूले एकदमै हल्कारूपमा लियौं । हाम्रो मुख्य काम चेला बनाउनु हो, कचेला बनाउनु होइन भन्ने कुरामा गुरूबाले जोड दिनुभएको थियो । हामीहरूले थाहा नपाएका, नजानेका धेरै कुराहरू छन् भन्ने कुरालाई पनि उहाँले वचनबाट प्रकाश पार्नुभएको थियो (१ कोरिन्थी ५ः६, ६ः९, १५, १९, ९ः१३, २४) । आफूले थाहा नपाएका कुराहरू अरूहरूलाई कसरी सिकाउने भन्ने कुरालाई जोड दिँदै धर्मशास्त्रको ज्ञान हासिल गर्ने स्कूलको खाँचोलाई पनि गुरूबाले प्रकाश पार्नुभएको थियो । गुरूबाकै प्रार्थनाद्वारा नेइम टिएससीलाई प्रभुको हातमा समर्पण गरिएको थियो । परमेश्वरले ठहराउनुभएको समयमा नेइमको नेइम थियोलोजिकल स्टडी सेन्टर (नेइम टिएससी) नेइम ज्ञानेश्वर चर्च भवनको माथिल्लो तल्लामा मिति २०७६ साल जेठ ५ गते तदानुसार मे १९, २०१९ बाट अध्यापन सुरु गरिएको छ । जसमा तीसजना विद्यार्थीहरू अध्ययनरत हुनुहुन्छ ।

नेइम टिएससीमा मोड््युलको आधारमा पढाइ हुनेछः
उपत्यकामा भएका नेइमका चारैवटा मण्डलीहरूबाट कोटा प्रणालीको आधारमा विद्यार्थीहरूको छनोट गरिएको छ । नेइम टिएससीमा मोड्युलरको आधारमा पढाइ हुनेछ । एउटा मोड्युल दुई क्रेडिटको हुनेछ । एक मोड्युलको पढाइ अवधि दुई हप्तासम्म हुनेछ । कक्षा हरेक दिन आइतबारदेखि शुक्रबारसम्म बिहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म हुनेछ । कक्षापछि आ–आफ्नो काममा जान सजिलो होस् भन्ने उद्देश्यले खानाको पनि व्यवस्था गरिएको छ । पढाइ सकेपछि एक हप्ता विश्राम हुनेछ र त्यसपछि अर्काे मोड्युल सुरु हुनेछ । एक वर्षमा फिल्ड मिनिस्ट्री सहित जम्मा १८ मोड्युल अर्थात् १८ वटा विषयहरूमा पढाइ हुनेछ । स्कूलले तोकेको मापदण्ड पूरा गर्ने विद्यार्थीहरूले एक वर्षको अध्यापनपछि सिटिएच तहको प्रमाण पत्र प्राप्त गर्नुहुनेछ ।

नेइम टिएससीको लक्ष्य तथा उद्देश्यः
यो अध्ययन केन्द्रको मुख्य उद्देश्य – एफिसी ४ः१२ – “ख्रीष्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित होउन् ।” मण्डलीमा सही र ठीक किसिमको नेतृत्व दिन सक्ने दक्ष तथा सक्षम, समर्पित अगुवाहरू उत्पादन गर्नु, सेवकको हृदय भएका अगुवाहरू तयार गर्नु, परमेश्वरबाट प्राप्त सेवकाई अथवा जिम्मेवारीलाई सफल र प्रभावकारी ढंगले पूरा गर्न सक्ने दक्ष सुयोग्य जनशक्ति तयार पार्नु, आत्माको शक्तिमा सुुसमाचार प्रचार गर्ने साथै अधिकारसाथ परमेश्वरको वचन सिकाउन सक्ने दक्ष जनशक्ति तयार पार्नु, विद्यार्थीलाई शैद्धान्तिक साथै प्रयोगात्मक दुवै किसिमको विशेष तालिम दिई मण्डली स्थापनाका साथै बृद्धिका काममा उत्साह दिनु । हरेकलाई परमेश्वरले दिनुभएको दान वरदानलाई पहिचान गर्न लगाई तिनीहरूलाई परमेश्वरको महिमाको लागि चलाउन उत्साह प्रदान गर्नु, हरेकलाई आत्मिक साथै बौद्धिक दुवै क्षेत्रमा सन्तुलित शिक्षा प्रदान गरी समानुपातिक उन्नतीतर्फ डोर्‍याउनु, नेइम टिएससीको लक्ष्य र उद्देश्य उपत्यकामा भएका नेइमका मण्डलीहरू, उपत्यका बाहिर रहने नेइमका शाखा आवद्ध मण्डलीहरू र नेइम भन्दा बाहिरका मण्डलीहरूका अगुवाहरूलाई पनि वचनको ज्ञानमा सक्षम बनाएर ख्रीष्टको मण्डली बलियो बनाउनु भएता पनि यो वर्ष उपत्यकामा भएका नेइमका मण्डलीहरूमा नै केन्द्रित हुनेछ र भविष्यमा अरू मण्डलीहरूको लागि पनि खुल्ला गरिने छ ।

नेइम टिएससीको संचालनः
नेइम टिएससीको कार्य समितिको अन्तिम बैठक मिति २०७६ साल बैशाख २५ गते तदानुसार मे ८, २०१९ मा बस्यो र उक्त बैठकले नेइम टिएससीको संचालन गर्ने जिम्मा एकेडेमिक डिन ए. पिटर लिम्बूलाई दिइयो । नेइम टिएससी संचालन गर्नको लागि उपत्यकामा भएका चार मण्डलीहरूबाट पूर्व कार्य समितिमा रहेका सदस्यहरू नै संचालन समितिमा रहनेछन् र यसको संरक्षक उपत्यकामा भएका चार मण्डलीका पास्टरहरूको पास्टरल झुण्ड रहनेछ । नेइम टिएससीमा पढ्नको लागि आवेदन दिने विद्यार्थीहरू आफू जाने मण्डलीको सक्रिय सदस्य भइ मण्डलीमा भएका विभिन्न सेवाकाईमा सहायता पुर्‍याइराखेकाहरू हुनु पर्नेछ ।

नेइम टिएससीलाई निरन्तरता दिन सबैको सहभागिता चाहिन्छः
नेइम टिएससीबाट अगाडि बडाएर लान प्रार्थनाका साथै सहयोगी हातहरू पनि चाहिन्छ । नेइम टिएससीलाई सक्षम र सबल हुँदै निरन्तरता दिनको लागि आर्थिक कुराले पनि महत्वपूर्ण भूमिका खेल्दछ । विद्यार्थीहरूबाट उठाएको फीसले नेइम टिएससी संचालन हुन सक्दैन । कति विद्यार्थीहरूको लागि तोकिएको फीस तिर्न गाह्रो हुन्छ । उहाँहरूको लागि छात्रवृत्तिको आवश्यकता पर्दछ । नेइम टिएससी कुनै व्यक्ति विशेष नभएर हाम्रो हो भन्ने भावना नेइमका सदस्यहरूमा हुनु जरूरी छ । मैले पढ्न नपाए तापनि म कुनै व्यक्तिको लागि पढ्नलाई सहयोग गर्छु भन्ने मन नेइमका सदस्यहरूमा भयो भने मात्र नेइम टिएससीले राखेका लक्ष्य पूरा हुन सक्नेछ । अहिले सी.टी.एच. तहको पढाइ भए तापनि निकट भविष्यमा डिप्लोमा तहको पढाइ सुरु गर्ने योजना छ । यो वर्ष मैले पढ्ने अवसर पाइनँ भनेर कसैले सानो मन गर्नु पर्दैन । आउँदो वर्षहरूमा पढ्न इच्छुक सबै अगुवाहरूको निम्ति नेइम टिएससीको ढोका खुल्ला छ र नेइमका मण्डलीहरूमा विभिन्न क्षेत्रहरूमा रहेर मण्डलीलाई परिपक्व बनाउने काममा लागि पर्नुभएका एल्डर, डीकन, डीकनेस्, घरेलु संगतिका अगुवा, सहायक अगुवा, पुरूष, महिला, युवा, बाल संगतिमा सहायता पुर्‍याइराख्नुभएकाहरू, आराधनामा अगुवाइ गर्नेहरू, क्वायर झुण्डमा संगीतका विभिन्न क्षेत्रमा सहायता पुर्‍याइराख्नुभएका, आउटरीच संगतिमा सहायता पुर्‍याइराख्नुभएकाहरू आदि सबै व्यक्तिहरूले नेइम टिएससीको तालिम लिएर आफ्नो मण्डलीलाई बलियो र परिपक्व बनाउने काममा लाग्न सकून् भन्ने नै हो । नेइम टिएससी मण्डलीलाई परिपक्व गराउने काममा निरन्तर अघि बढ्दै जान सकोस् भनी प्रार्थना गरौं, साथै पढ्ने विद्यार्थीहरूलाई पढाएका कुराहरू बुझ्न र पढाउने शिक्षकहरूलाई विद्यार्थीहरूले बुझ्ने तरिकाले पढाउनका लागि प्रभुसँग ज्ञान बुद्धिको लागि निरन्तर प्रार्थना गरौं । नेइम टिएससीद्वारा नेइमको प्रभुलाई नै सधैँ महिमा भएको होस् !

आमेन् ।