मिसन फेस्ट २०१९ सम्पन्न

September 17, 2019 | News and Events  

“मिसन फेस्ट २०१९” यही भदौ २८ तदानुसार सेप्टेम्बर १४ तारिखको दिन भव्य रूपमा सम्पन्‍न भयो । ने.ई.म. ज्ञानेश्‍वर चर्चका जवानहरूको सक्रियतामा आयोजित यस कार्यक्रम अपरान्हको तीन बजे ज्ञानेश्‍वर मण्डलीको प्राङ्गणमा सुरू भयो । समय पूर्व नै खानाका स्टलहरू, खेलका स्टलहरू, फोटो बुथ, ओपन माइक तयारी अवस्थामा रहेको कारण उपस्थित सहभागीहरू विभिन्‍न परिकारहरूको स्वाद लिंदै, रमाइलो खेलहरू खेल्दै, सेल्फि र फोटो खिच्दै अनि ओपन माइकमा आफ्ना प्रतिभाहरू देखाउँदै कार्यक्रममा रमाइरहे । लगभग ८००-१००० जना मानिसहरूको सहभागी रहेको यस कार्यक्रममा साना बालबालिका, जवानदेखि पाका उमेरका मानिसहरूको पनि उपस्थिति थियो ।

लगभग चार बजेतिर कन्सर्टको निम्ति मण्डली भवनको ढोका खोलियो । कन्सर्टको शुरूवातमा श्री प्रशान्त सिंहज्यूले सुरूको प्रार्थना गर्नुभयो । त्यसपछि श्री दर्शन तामाङ्‌ज्यूले एक पछि अर्को जवानहरूको प्रस्‍तुतिको उद्‍घोषण गर्नुभयो । कन्सर्टमा ने.ई.म. ज्ञानेश्‍वरका जवानहरूले गीत-संगीत, नृत्य देखाउनुका साथसाथै ने.ई.म ललितपुर मण्डली तथा जोविएल आराधना समुहको प्रस्‍तुति पनि समावेश गरिएको थियो । विभिन्‍न नेपाली, हिन्दी, अंग्रेजी भाषाका गीतहरू, लोक भाकाका गीत, सारङ्गीको धुन, रोबोटिक डान्स, टेम्बोरिन डान्सहरू यस कन्सर्टका आकर्षणहरू थिए । बिच-बिचमा उद्‍घोषकको ठट्टामा दर्शकहरू हाँसे । सबैले मनोरञ्जनको साथसाथै परमेश्‍वरको उपस्थिति र छुवाइको अनुभव पनि गरिरहेका थिए । अन्‍तमा चिठ्ठाको विजयीहरूको घोषणा लगत्तै साँझको ६:४५ बजे तिर पाष्‍टर सामुएल कार्थकज्यूले अन्तिम प्रार्थना गर्नुभएपछि कार्यक्रम समापन भयो ।