हार्दिक श्रद्धाञ्जली श्रद्धेय पास्टर रोबर्ट कार्थक गुरुबा

May 20, 2021 | News and Events  

विश्वभरका नेपालीभाषी इसाईहरूको एक अभिभावकका रूपमा रहनुभएका नेपाली इसाई जगतका अग्रणी तथा नेइम ज्ञानेश्वर चर्चका स्थापक श्रद्धेय पास्टर रोबर्ट कार्थक गुरुबा २०७८ जेठ ४ गते तदानुसार मे १८, २०२१ का दिन प्रभुमा विश्राम लिनुभयो ।

आफ्नो इसाई जीवन तथा सेवकाइमा उत्तम लडन्त लड्दै एउटा उदाहरणीय जीवन जिएर दौड सिद्धयाउनुभएका स्वर्गीय पास्टर कार्थकको जन्म सन् १९२६ जनवरी १० तारिखका दिन आमा स्व. प्रेमकित लेप्चा र बुबा स्व. रिबु कार्थकको दस सन्तानमध्येका एक सन्तानको रूपमा भारतको कालिम्पोङमा भएको थियो । ख्रीष्टियान परिवारमा जन्म भएता पनि पास्टर कार्थकले २१ वर्षको युवा अवस्थामा येशूलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्नु भएको थियो । इसाई जीवनको सुरुवाती जीवनमा उहाँले कालिम्पोङमा प्रेसविटेरियन चर्चमा सेवा गर्नुहुन्थ्यो । यूहन्ना १०ः१६ मा लेखिएको “मेरा अरू भेडा छन्, जो यस गोठका होइनन् । तिनीहरूलाई पनि मैले ल्याउनुपरेको छ…” वचनको खण्डद्वारा प्रभु उहाँको हृदयमा बोल्नुभएपछि सन् १९५६ मा अरू १० जना रहेको टोलीको साथमा उहाँ नेपालमा आउनुभयो र त्यसको एक वर्षपछि सन् १९५७ मा नेइम ज्ञानेश्वर मण्डलीको सुरुवात काठमाडौंको डिल्लीबजारबाट भयो र त्यसको स्थापनादेखि हालसम्म पास्टरको रूपमा उदाहरणीय तथा आशिषित सेवकाइ गर्नुभयो ।

उहाँले पुर्याउनुभएको सेवा र अमूल्य योगदान नेपाली इसाई जगतको निम्ति सदैव स्मरणिय रहिरहनेछ । उहाँका दुइ छोराहरू, बुहारीहरू तथा तीन जना नातिनीहरू हुनुहुन्छ ।

सम्पूर्ण मण्डली परिवारको तर्फबाट उहाँप्रति हामी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्छौं ।

नेइम परिवार