हार्दिक श्रद्धाञ्जली श्रद्धेय पास्टर सामुएल डन कार्थक

May 25, 2021 | News and Events  

नेपाली इसाई मण्डली ज्ञानेश्वर चर्चका आदरणीय पास्टर सामुएल डन कार्थकज्यू २०७८ जेठ ७ गते (मे २१, २०२१) प्रभुमा विश्राम लिनुभयो । सन् १९६३ फेब्रुअरी १३ मा आमा स्व. मेरी कार्थक र बुबा स्व. रोबर्ट कार्थकको जेठो सन्तानको रुपमा जन्मनुभएका स्व. सामुएल डन कार्थक नेपाली इसाई मण्डली ज्ञानेश्वर चर्चका पास्टर, नेइम थियोलोजिकल स्टडी सेन्टरका अध्यक्ष, एनसीएस नेपालका सह–अध्यक्ष, जीएलएस नेपालका राष्ट्रिय संयोजक, अगापे ख्रीष्टियन संगति नेपालका अध्यक्ष, नेइम स्तुतिप्रशंसा विभागका प्रमुख, मेरी गुरुआमा प्रतिष्ठानका संस्थापक सदस्य लगायत नेपाली इसाई जगतका थुप्रै सेवकाइहरुमा सक्रिय सेवारत हुनुहुन्थ्यो । उहाँले नेपाली इसाई जगतमा आराधनाको क्षेत्रमा नयाँ जागृति ल्याउनुभई उल्लेखनीय योगदान दिनुभएको थियो ।
सरल र मृदुभाषी स्व. कार्थक सबै कुरा ठीक प्रकारले गरिनुपर्छ भनी निष्ठाको सेवामा विश्वास गर्नुहुन्थ्यो । उहाँ निकै लामो समयसम्म नेइमको युवा संगतिको अगुवाको रुपमा सेवा गर्नुहुँदा थुप्रै जवानहरुको जीवनमा सकारात्मक छाप र प्रभाव पार्नुभएको थियो र उहाँलाई प्रेम र आदरस्वरुप ‘सामु दादा’ भनी सम्बोधन गरिन्थ्यो । उहाँकी धर्मपत्नी श्रीमती सुइङ्ग कार्थक र छोरी आशा कार्थक हुनुहुन्छ । उहाँको स्वर्गारोहणद्वारा नेपाली इसाई मण्डली परिवार शोकित र स्तब्ध बनेका छौं । नेपाली इसाई जगत तथा नेपाली इसाई मण्डली (नेइम) मा उहाँले पुर्याउनुभएको योगदान अतुलनीय, अमूल्य र अविश्मरणीय रहिरनेछ । यस घडीमा शोकित परिवार, मण्डली परिवार र इसाई जगतलाई परमेश्वरले शान्ति र सान्तवना देऊन भनी प्रार्थना चढाउँदै उहाँप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

नेपाली इसाई मण्डली परिवार