परमेश्वर प्रेम हुनुहुन्छ — पाष्टर अशोक मुखिया

April 8, 2015 | Blogs  

परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो । आफ्नो एक मात्र पुत्रलाई पनि बाँकी नराखी हाम्रो लागि दिइहाल्नुभयो (यूहन्ना ३ः१६) । यही प्रेममा येशू ख्रीष्ट हामी पापी छँदै हाम्रा सबै अधर्म बोकेर क्रूसमा मर्नुभयो (रोमी ५ः८), क्रूसको आखिरी घडीसम्म पनि प्रेम गरिरहनुभयो (लूका २३ः३४) । यो प्रेम अनन्तसम्मको लागि हो (यशैया ४९ः१५–१६) । येशू प्रभु स्वर्गमा जानुअघि चेलाहरूलाई व्यावूmल र विचलित नहुनलाई भन्नुभयो (यूहन्ना १४ः१) । “म तिमीहरूलाई टुहुरा छोड्ने छैन तर पितासँग बिन्ती गर्नेछु र उहाँले अर्को सल्लाहकार, शान्तिदाता अर्थात् पवित्र आत्मा पठाइदिनुहुनेछ जो सधैँभरि तिमीहरूसँग रहनुहुनेछ”
(यूहन्ना १४ः१६–१८) । परमेश्वरको प्रेमको बयान नै गन सकिन्न । …. तेरो निम्ति मेरो अटल प्रेम हटाइनेछैन (यशैया ५४ः१०) । उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ । किनकि उहाँ कहिल्यै परिवर्तन हुनुहुन्न ।
ख्रीष्ट येशू प्रभुलाई हामी जति जनाले मुक्तिदाता अनि प्रभु भनी विश्वास गरेका छौं, ख्रीष्टद्वारा परमेश्वरसँग मिलाप पाएका भई परमेश्वरका छोराछोरी, सन्तान कहलिएका छौं (यूहन्ना १ः१२, गलाती ४ः६–७, रोमी ५ः१, ११) । हामी प्रेम पाउने योग्यका होइनौं तर उहाँले हामीहरूलाई प्रेम गर्ने इच्छा गर्नुभएको कारणले गर्दा प्रेम गर्नुभएको हो (एफिसी २ः४) ।
यसैले यो प्रेमबाट हामीलाई कसैले पनि अलग गर्न सक्दैन
(रोमी ८ः३९) । जहाँ हाम्रो पापको लेखा छैन (रोमी ४ः७–८), पापको सम्झना छैन (हिब्रू ८ः१३, १०ः१७, यर्मिया ३१ः३४) पापअनुसारको व्यवहार छैन (भजनसंग्रह १०३ः१०, मीका ७ः१८–१९)। जुन प्रेमभित्र धीरज, दया छ; जहाँ डाह, शेखी, हठी, ढीट, जिद्दी, झर्को, खराब, असत्य छैन साथै प्रेमको अन्त्य पनि छैन
(१ कोरिन्थी १३ः४–८) । जसरी उडाउ पुत्रले बुवाको प्यार, प्रेम, माया सबै लत्याएर टाढा गएता पनि छोराप्रतिको बुवा (पिता) को प्रेम कहिले पनि टाढा भएन जसको कारण छोरा जब फर्कि आयो उही प्यार, प्रेम, माया छोराले पायो (लूका १५ः१८–२४) । भजन २६ः३ मा भजन गाउने मानिस दाऊदले भनेझैं, “किनकि तपाईंको प्रेम जहिले पनि मेरो सामु छ ।”
प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौं तर उहाँले हामीलाई प्रेम गर्नुभयो … (१ यूहन्ना ४ः१०) । परमेश्वरबाटको प्रेम हामीले कमाएका होइनौं तर सित्तैंमा अनुग्रहद्वारा पाएका हौं । यसैले यही प्रेमलाई मगजले मात्र होइन तर हृदयले आत्मासात गरी हामी परमेश्वरको प्रेममा जिएको परमेश्वर चाहनुहुन्छ । … ख्रीष्टको प्रेमलाई थाहा पाउन सक (एफिसी ३ः१९) । यसैले प्रभु भन्नुहुन्छ, “तिमीहरू मेरो प्रेममा रहो (यूहन्ना १५ः९), जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ र परमेश्वर त्यसमा रहनुहुन्छ (१ यूहन्ना ४ः१६); किनकि परमेश्वरको हामीप्रतिको प्रेम सिद्ध छ । सिद्ध प्रेममा पाप, मृत्यु, नरककुण्डको श्राप दण्ड कुनै पनि कुराको डर छैन । अब हामी यी कुराहरूबाट डराउनु पर्दैन (रोमी ८ः१५) । सिद्ध प्रेमले डरलाई हटाउँछ । जो डराउँछ, प्रेममा त्यो सिद्ध भएको हुँदैन किनकि डरको सम्बन्ध त दण्डसँग हुन्छ (१ यूहन्ना ४ः१८) । ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन (रोमी ८ः१) । परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति, प्रेम र आत्मासंयमको आत्मा दिनुभएको छ (२ तिमोथी १ः७) ।
ख्रीष्टमा हामी नयाँ सृष्टि भएका छौं (२ कोरिन्थी ५ः१७) । जसरी परमेश्वरले हामीलाई ख्रीष्टमा त्यही प्रेमले हेर्नुहुन्छ जहाँ हामीलाई धर्मी, पवित्र, प्रिय, आशिषित् छोराछोरीको रूपमा देख्नुहुन्छ र त्यसअनुसार नै व्यवहार पनि गर्नुहुन्छ । त्यसरी नै हामीहरूले पनि आफैलाई आफ्नै हेराई र सोचाइले होइन तर परमेश्वरबाटको हेराईले हेर्न सकौं (१ यूहन्ना ३ः१) र प्रेमिलो परमेश्वर पितालाई प्रेम गर्दै प्रेममा बढेको, जिएको, रमाएको, आनन्दित छोराछोरीहरू भएर जिउन सकौं (१ यूहन्ना ४ः१९) ।
परमेश्वरले हामीलाई प्रेम गर्नुभएको मात्र होइन तर उहाँको प्रेम हाम्रो हृदयमा खन्याइदिनुभएको छ (रोमी ५ः५) । हाम्रो इसाई जीवन क्षमा दिने–लिने, नम्रता, एकता, प्रेम, अरूलाइ आफूभन्दा श्रेष्ठ ठान्ने, प्रेममा आधारित जीवन होस् (कलस्सी ३ः१२–१४) । हामी जे गर्छौं ती सबै प्रेममा गरिएका होऊन् (१कोरिन्थी १६ः१४)। परमेश्वरको इच्छा पनि यही छ । यसैले यो प्रेम एकआपसमा र अरूहरूसँग बाँडेर परमेश्वर पितालाई महिमा दिन र धेरैको लागि आशिष् बन्न सकौं (यूहन्ना १३ः३४–३५) ।

शुभ कामना

April 3, 2015 | Blogs  

सारा संसारका मानव जातिको उद्धारको निम्ति ख्रीष्ट प्रभु क्रुसमा बलि हुनुभई तेस्रो दिनमा पुनरुत्थान हुनुभएको (Easter) को सुखद् अवसरमा देशभित्र र देशबाहिर हुनुभएका सम्पूर्ण मण्डली परिवारमा हार्दिक शुभ–कामना व्यक्त गर्दछौं ।

हार्दिक बधाई

January 2, 2015 | Blogs  

आदरणीय पाष्टर गुरुबा रोबर्ट कार्थक यही पौष २६ गते/जनवरी १० तारिख शनिबार ८९ वर्ष पूरा गरी ९० औं वर्षमा प्रवेश गर्नुभएकोमा नेइम परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं साथै उहाँको जीवनको आशिषमय सेवकाइको निम्ति परमेश्वर पितालाई धन्यवाद चढाउँछौं । आगामी र वर्षहरूमा पनि उहाँको सेवकाइ र जीवनको सबै यात्राहरूमा पवित्र आत्माको भरपूरी र परमेश्वरबाटको अझ प्रशस्त आशिष्को निम्ति प्रार्थना गर्दछौं ।

हार्दिक शुभकामना

December 8, 2014 | Blogs  

प्रभु येशू ख्रीष्टको जन्मोत्सव (ख्रीष्टमस) तथा नव वर्ष २०१५ को सुखद् अवसरमा नेपाली इसाइ मण्डली अन्तर्गतका सम्पूर्ण मण्डली परिवारहरु, शाखा तथा आवद्ध मण्डलीहरु, देश विदेशमा हुनुभएका सम्पूर्ण मण्डली परिवारहरु साथै सम्पूर्ण देशवासीहरुमा प्रेम, मेलमिलाप, एकता र शान्तिको लागि प्रार्थना तथा शुभकामना व्यक्त गर्दछौं ।

धन्यवाद

June 15, 2014 | Blogs  

परमेश्वोरलाई धन्यवाद होस् । नेपाली इसाइ मण्डली, जोरपाटी चर्चका पाष्टर महेश थान्जुसहित ५ जना एल्डर र २ जना डिकन गरी सबै जनालाई आज माहानगरीय प्रहरी वृत बौध्दबाट रिहा गरिएको जानकारी गराउदछौं साथै समपूर्ण देश विदेशमा हुनुभएका विस्वासी परिवारलाई प्रार्थनाको लागि धन्यवाद दिदछौं ।

बिषेश प्रार्थनाको अनुरोध

June 14, 2014 | Blogs  

नेपाली इसाइ मण्डली, जोरपाटी चर्चका पाष्टर महेश थान्जुसहित ५ जना एल्डर र २ जना डिकन गरी ८ जनालाई हिजो धर्म परिवर्तन गराएको आरोपमा माहानगरीय प्रहरी वृत बौध्दमा राखिएको छ । हालसम्म पनि अनुसन्धान प्रकृया जारी रहेको हुनाले परमेश्वोरका सबै जनहरुलाई प्रार्थना गरिदिनुहुन अनुरोध गर्दछौं ।

बिषेश प्रार्थनाको अनुरोध

June 13, 2014 | Blogs  

आज दिउँसो सुन्दरिजलमा भएको बप्तिसमा कार्यक्रम पछि उक्त स्थानमा एक समुहद्वारा विरोद जनाइ खैलाबैला मच्याउँदा हुलदङगा हुने समभावना भएकोले नेपाल प्रहरी, बौध्द चौकीले नेपाली इसाइ मण्डली, जोरपाटीका पाष्टर साथै एल्डर, डिकनहरुलाई सुरक्षाको लागि बौध्द चौकीमा राखेको जानकारी गराउँदछौ ।

बाइबल के, कसरी र किन?

February 27, 2012 | Blogs  

सरल भाषामा भन्नु पर्दा बाइबल इसाईहरूको धर्मशास्त्र हो । यो विभिन्न लेखकहरूद्वारा लेखिएका हजार पेजभन्दा धेरै भएको पुस्तक हो । सम्पूर्ण बाइबल लेख्न १५०० देखि २००० वर्ष लागेको थियो । यसका मुख्य दुई खण्ड छन् — पुरानो करार र नयाँ करार ।
पुरानो करारमा जम्मा ३९ वटा पुस्तकहरू छन् । यो यहूदी जाति अर्थात् इस्राएली राष्ट्रको इतिहास हो । यसमा पारिवारिक कथाहरू, जन्म, विवाह, मृत्यु, इतिहास, लडाईं, असल र खराब राजाहरूका कथा छन् । यसमा कविता, नियम, उद्देश्य, अगमवक्ताहरू, अगमवाणीहरू, इस्राएली धर्मका विधिहरू र विशेष त परमेश्वरको बारे शिक्षा, परमेश्वर र मानिसको सम्बन्ध परमेश्वरलाई किन र कसरी पुज्ने आदि कुराहरू समावेश छन् ।
पुरानो करार अन्तर्गत ३९ वटा पुस्तकमध्ये ५ वटा इस्राएलीहरूको सुरूको इतिहास र व्यवस्था, १२ वटा इतिहास, ५ वटा कविता र ज्ञान तथा ५ ठूला अगमवक्ता र १२ साना अगमवक्ताको पुस्तकहरू छन् ।
मूलतः पुरानो करारमा इस्राएलीप्रति परमेश्वरको प्रेम र इस्राएलीहरूको पटक–पटक आज्ञा उलङ्घनबारे चर्चा गरिएको छ । परमेश्वरले स्वयं र आफ्ना मानिसद्वारा आफ्नो विषयमा प्रकाश पार्नुभएको छ ।
नयाँ करार नासरतका येशूको कारणबाट हुन आएको छ । यसको ४७% खण्ड येशूसित प्रत्यक्ष सम्बन्धित छ भने बाँकी खण्ड उहाँको मृत्युपछि मानिसहरूमा परेको असरबारे लेखिएको छ । नयाँ करारमा पहिलो चार पुस्तक येशूको जीवनीबारे, एउटा पुस्तकले ख्रीष्टको मृत्युपछिका घटनाहरूबारे लेखिएको छ । २१ वटा विभिन्न चेलाहरूले येशूसम्बन्धी लेखेका चिठ्ठीहरू छन् र एउटा पुस्तकमा येशूको चेलाले पाएका दर्शन प्रकाश गरिएको छ ।
साधारणतया पुरानो करार येशू संसारमा आउनुभन्दा अघि लेखिएको र नयाँ करार येशू संसारमा आइसक्नुभएपछि लेखिएका हुन् । यी दुई खण्ड अलग–अलग भए तापनि यी अभिन्न परिपुरक हुन् । यी दुवै मिलेर बाइबल निर्माण भएको छ । पुरानो करारले मसीह आउनुहुन्छ भनी बताएको छ भने नयाँ करारले उहाँ आइसक्नुभएको सत्यता प्रकाश पार्दछ ।
यो दर्शन सम्बन्धी बाइबलमा यसरी लेखिएको छ, “सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ” (२ तिमोथी ३:१६) ।
यहाँ यो तथ्यलाई प्रष्ट्याइएको छ “सम्पूर्ण पवित्रशास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो” । प्रेरणाको मौलिक शब्दले “परमेश्वरद्वारा सास फुकिएको” भन्ने अर्थ बुझाउँछ । प्रेरणाले यस अर्थमा “धर्मशास्त्र परमेश्वरको आत्म–प्रकाश वा आत्म–कथा बुझाउँदछ । यसैले बाइबल विभिन्न ईश्वर भक्त मानिसहरूले प्रेरणा पाएर आफ्नै मनोज्ञानबाट लेखेका होइनन् । गलाती ३:८ मा यसरी लेखिएको छ : “परमेश्वरले अन्यजातिहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ भन्ने धर्मशास्त्रले पहिलेदेखि नै देखेर अब्राहामलाई ‘तँमा सबै जातिले आशिष पाउनेछन् भन्ने सुसमाचार अघिबाटै सुनायो ।”
यहाँ परमेश्वर र धर्मशास्त्रलाई एउटै अर्थ लाउने रूपमा प्रयोग गरिएको छ । धर्मशास्त्र वा परमेश्वरको वचनलाई मेरो जीवनमा काम गर्न निम्न कामहरू मैले गर्नुपर्छ :
१. धर्मशास्त्र मैले निरन्तर पढ्नुपर्छ । धर्मशास्त्रको अधिकारलाई
मैले स्वीकार गर्नुपर्छ । संस्कार, परम्परा, तर्क, मेरो संवेगको मलाई परमेश्वरको वचन ग्रहण गर्न बाधा पु¥याउँदछ ।
२. धर्मशास्त्रले देखाएका सत्यलाई मैले ग्रहण गर्नुपर्छ । बन्द
मन, खल्बलिएको मन, गहिराइरहित मन आदि काँडाका झ्याङ्ग हुन् जसले परमेश्वरको वचनलाई ग्रहण गर्न आत्मसात गर्न दिँदैनन् । मैले बाइबल निरन्तर पढ्नुपर्छ, समय दिएर अध्ययन गर्नुपर्छ, सम्झनुपर्छ, चिन्तन गर्नुपर्छ । परमेश्वरको वचनले मलाई के भन्दैछ स्पष्ट बुझ्नुपर्दछ ।
३. परमेश्वरको वचन पढेर बुझे पनि मैले मेरो जीवनमा
प्रयोग गर्नुपर्छ (याकूब १:२२) ।
हामीले माथिका कुराहरू गर्न चाह्यौं र परमेश्वरसँग प्रार्थनाद्वारा सहायता माग्यौं भने पवित्र आत्मा जो हामीभित्र बस्नुहुन्छ अथवा बस्न चाहनुहुन्छ, उहाँले हामीलाई सहायता गर्नु हुने नै छ ।
– पाष्टर राजेन्द्र कुमार रोङ्गोङ

“स्वास्थ शिविर”

December 12, 2011 | Blogs  

मकवानपुर जिल्लामा अवस्थित नामटार गा.वि.स वडा नं.९ मा असोज ३०–कार्तिक १ गतेसम्म तदनुसार अक्टोबर १७ – १८ तारिकसम्म आयोजित “स्वास्थ शिविर” ले त्यस समुदायमा रहेका बासिन्दाहरुलाई आशिष पुर्‍याएको थियो ।
उक्त कार्यक्रमा मानिसहरुको संख्या ५०० भन्दा पनि बढी रहेको थियो । समयको अभावले गर्दा ५०० जना मानिसहरु मध्ये ४१५ जनाले मात्रै जाच गर्ने मौका प्राप्त गरे । ४१५ जना बाट पनि १५१ जना प्रभु येशूको बारेमा सुन्न तयार भएका थिए भने ३२ जनाले येशू प्रभुलाई आफ्नो प्रभु अनि मुक्तिदाता भनि ग्रहण पनि गरेका थिए । यसरी यस “स्वास्थ शिविर” द्धारा प्रभुलाई महिमा दिने कार्य सम्पन्न भयो ।
उक्त शिविरमा गएको १ वर्षदेखि फिमर बोनको समस्याले फ्याक्चर भएका र पिडौलाबाट हड्डी निस्किएको १३ वर्षिय ठिटोको नजिकैको “आनन्दवन अस्पताल” मा सफल शल्यक्रीया गरिएको थियो । त्यसै गरी उक्त शिविरमा कानको दुखाईबाट पिडित, अर्को १२ वर्षीय बालिकाको कान भित्र वैदेशिक यन्त्र ४ महिनादेखि रहेको र त्यसलाई निकाल्न यस शिविरले चितवनमा अवस्थित भरतपुर अस्पतालमा लगेका थिए ।
यसरी त्यहाका समुदाय लगायत त्यहाका मानिसहरुलाई परमेश्वरको आशिष र सहायता पुर्‍याउन यस शिविरले सक्दो मद्दत गरेको थियो । यस कामको लागि सहायताको हात बढाई मद्दत गर्नुहुने शान्ति नेपाललाई, पा.बर्णबास श्रेष्ठ र उहाका झुण्ड जसले यस शिविरमा कडा परिश्रम गर्नुभयो लगायत नेइम ज्ञानेश्वर मण्डलीको नेइम मिशन विभाग जसले प्रार्थना र सहयोगद्धारा भालटारको नेइम मण्डलीमा आयोजित यस शिविरलाई सफल रुपमा संचालन गर्न सहायता गर्नुभएकोमा ह्दय देखि धन्यवाद ज्ञापन गर्दछौ ।

हेटौडा ख्रीष्टिय मण्डलीमा शरद सम्मेलन…

October 20, 2011 | Blogs  

२०० कि.मी. टाढा रहेको यस हेटौंडा ख्रीष्टिय मण्डलीमा १७ गते असोज (मंगलबार) का दिन शरद सम्मेलन राखिएको थियो । यस सम्मेलनमा वचनको सेवकाइ श्री घनराज धिमिरेले गर्नुभयो । प्रचारिएको वचनद्वारा मण्डलीले आशिष पाएका थिए ।
दोस्रो दिन उक्त मण्डलीमा नानीहरु माझ बालसंगतिका प्याकेज चलाई कथा सुनाइयो । नयाँ एक्सन गीतहरु, चित्र र कला जस्ता क्रीयाकलापहरु गरिएका थिए । यस्तो कार्य
क्रमले नानीहरुलाई धेरै उत्सहित पारेका थिए । त्यसैगरि नानीहरुको माझमा पपेट बाट कथा र दृश्य सामाग्रीको प्रयोग गरि पद कण्ठ गराइयो । श्री धनराज धिमीरेको वचन पश्चात् लगतै परमेश्वरलाई धन्यवाद दिदैं सबैजना मिलेर प्रशंसा गरेका थिए । सोही समयमा परमेश्वरको आत्मा आगोको झिल्काको रुपमा मण्डलीमा झरिरहेको महसुस गरेका थियौं र प्राय मानिसहरुमा पवित्र आत्माको काम शक्तिशाली रुपमा भएका कुरा त्यहा जानुभएको टोलीले बताएका थिए ।
यहाँ भएको कामलाई देखेर यस मण्डलीका गुरुजनहरु धेरै उत्साहित भएका थिए । उहाँहरुले जवानहरुलाई मिशनमा जाने कामको लागि पनि चुनौति दिनुभयो । यसरी परमेश्वरले हेटौंडाको मण्डलीमा पवित्र आत्माको काम सुरु गर्नुभयो । विश्वास र हाम्रो प्रार्थना छ कि परमेश्वरले यस कार्यलाई सधैं भरीलाई निरन्तरता दिनुभइको होस् । परमेश्वरलाई धन्यवाद होस्, उहाले मण्डली मण्डलीमा ल्याउनु भएको जाग्रितीको लागि ।

« Previous PageNext Page »