बाइबल के, कसरी र किन?

February 27, 2012 | Blogs  

सरल भाषामा भन्नु पर्दा बाइबल इसाईहरूको धर्मशास्त्र हो । यो विभिन्न लेखकहरूद्वारा लेखिएका हजार पेजभन्दा धेरै भएको पुस्तक हो । सम्पूर्ण बाइबल लेख्न १५०० देखि २००० वर्ष लागेको थियो । यसका मुख्य दुई खण्ड छन् — पुरानो करार र नयाँ करार ।
पुरानो करारमा जम्मा ३९ वटा पुस्तकहरू छन् । यो यहूदी जाति अर्थात् इस्राएली राष्ट्रको इतिहास हो । यसमा पारिवारिक कथाहरू, जन्म, विवाह, मृत्यु, इतिहास, लडाईं, असल र खराब राजाहरूका कथा छन् । यसमा कविता, नियम, उद्देश्य, अगमवक्ताहरू, अगमवाणीहरू, इस्राएली धर्मका विधिहरू र विशेष त परमेश्वरको बारे शिक्षा, परमेश्वर र मानिसको सम्बन्ध परमेश्वरलाई किन र कसरी पुज्ने आदि कुराहरू समावेश छन् ।
पुरानो करार अन्तर्गत ३९ वटा पुस्तकमध्ये ५ वटा इस्राएलीहरूको सुरूको इतिहास र व्यवस्था, १२ वटा इतिहास, ५ वटा कविता र ज्ञान तथा ५ ठूला अगमवक्ता र १२ साना अगमवक्ताको पुस्तकहरू छन् ।
मूलतः पुरानो करारमा इस्राएलीप्रति परमेश्वरको प्रेम र इस्राएलीहरूको पटक–पटक आज्ञा उलङ्घनबारे चर्चा गरिएको छ । परमेश्वरले स्वयं र आफ्ना मानिसद्वारा आफ्नो विषयमा प्रकाश पार्नुभएको छ ।
नयाँ करार नासरतका येशूको कारणबाट हुन आएको छ । यसको ४७% खण्ड येशूसित प्रत्यक्ष सम्बन्धित छ भने बाँकी खण्ड उहाँको मृत्युपछि मानिसहरूमा परेको असरबारे लेखिएको छ । नयाँ करारमा पहिलो चार पुस्तक येशूको जीवनीबारे, एउटा पुस्तकले ख्रीष्टको मृत्युपछिका घटनाहरूबारे लेखिएको छ । २१ वटा विभिन्न चेलाहरूले येशूसम्बन्धी लेखेका चिठ्ठीहरू छन् र एउटा पुस्तकमा येशूको चेलाले पाएका दर्शन प्रकाश गरिएको छ ।
साधारणतया पुरानो करार येशू संसारमा आउनुभन्दा अघि लेखिएको र नयाँ करार येशू संसारमा आइसक्नुभएपछि लेखिएका हुन् । यी दुई खण्ड अलग–अलग भए तापनि यी अभिन्न परिपुरक हुन् । यी दुवै मिलेर बाइबल निर्माण भएको छ । पुरानो करारले मसीह आउनुहुन्छ भनी बताएको छ भने नयाँ करारले उहाँ आइसक्नुभएको सत्यता प्रकाश पार्दछ ।
यो दर्शन सम्बन्धी बाइबलमा यसरी लेखिएको छ, “सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ” (२ तिमोथी ३:१६) ।
यहाँ यो तथ्यलाई प्रष्ट्याइएको छ “सम्पूर्ण पवित्रशास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो” । प्रेरणाको मौलिक शब्दले “परमेश्वरद्वारा सास फुकिएको” भन्ने अर्थ बुझाउँछ । प्रेरणाले यस अर्थमा “धर्मशास्त्र परमेश्वरको आत्म–प्रकाश वा आत्म–कथा बुझाउँदछ । यसैले बाइबल विभिन्न ईश्वर भक्त मानिसहरूले प्रेरणा पाएर आफ्नै मनोज्ञानबाट लेखेका होइनन् । गलाती ३:८ मा यसरी लेखिएको छ : “परमेश्वरले अन्यजातिहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ भन्ने धर्मशास्त्रले पहिलेदेखि नै देखेर अब्राहामलाई ‘तँमा सबै जातिले आशिष पाउनेछन् भन्ने सुसमाचार अघिबाटै सुनायो ।”
यहाँ परमेश्वर र धर्मशास्त्रलाई एउटै अर्थ लाउने रूपमा प्रयोग गरिएको छ । धर्मशास्त्र वा परमेश्वरको वचनलाई मेरो जीवनमा काम गर्न निम्न कामहरू मैले गर्नुपर्छ :
१. धर्मशास्त्र मैले निरन्तर पढ्नुपर्छ । धर्मशास्त्रको अधिकारलाई
मैले स्वीकार गर्नुपर्छ । संस्कार, परम्परा, तर्क, मेरो संवेगको मलाई परमेश्वरको वचन ग्रहण गर्न बाधा पु¥याउँदछ ।
२. धर्मशास्त्रले देखाएका सत्यलाई मैले ग्रहण गर्नुपर्छ । बन्द
मन, खल्बलिएको मन, गहिराइरहित मन आदि काँडाका झ्याङ्ग हुन् जसले परमेश्वरको वचनलाई ग्रहण गर्न आत्मसात गर्न दिँदैनन् । मैले बाइबल निरन्तर पढ्नुपर्छ, समय दिएर अध्ययन गर्नुपर्छ, सम्झनुपर्छ, चिन्तन गर्नुपर्छ । परमेश्वरको वचनले मलाई के भन्दैछ स्पष्ट बुझ्नुपर्दछ ।
३. परमेश्वरको वचन पढेर बुझे पनि मैले मेरो जीवनमा
प्रयोग गर्नुपर्छ (याकूब १:२२) ।
हामीले माथिका कुराहरू गर्न चाह्यौं र परमेश्वरसँग प्रार्थनाद्वारा सहायता माग्यौं भने पवित्र आत्मा जो हामीभित्र बस्नुहुन्छ अथवा बस्न चाहनुहुन्छ, उहाँले हामीलाई सहायता गर्नु हुने नै छ ।
– पाष्टर राजेन्द्र कुमार रोङ्गोङ