हार्दिक श्रद्धाञ्जली श्रद्धेय पास्टर सामुएल डन कार्थक

May 25, 2021 | News and Events  

नेपाली इसाई मण्डली ज्ञानेश्वर चर्चका आदरणीय पास्टर सामुएल डन कार्थकज्यू २०७८ जेठ ७ गते (मे २१, २०२१) प्रभुमा विश्राम लिनुभयो । सन् १९६३ फेब्रुअरी १३ मा आमा स्व. मेरी कार्थक र बुबा स्व. रोबर्ट कार्थकको जेठो सन्तानको रुपमा जन्मनुभएका स्व. सामुएल डन कार्थक नेपाली इसाई मण्डली ज्ञानेश्वर चर्चका पास्टर, नेइम थियोलोजिकल स्टडी सेन्टरका अध्यक्ष, एनसीएस नेपालका सह–अध्यक्ष, जीएलएस नेपालका राष्ट्रिय संयोजक, अगापे ख्रीष्टियन संगति नेपालका अध्यक्ष, नेइम स्तुतिप्रशंसा विभागका प्रमुख, मेरी गुरुआमा प्रतिष्ठानका संस्थापक सदस्य लगायत नेपाली इसाई जगतका थुप्रै सेवकाइहरुमा सक्रिय सेवारत हुनुहुन्थ्यो । उहाँले नेपाली इसाई जगतमा आराधनाको क्षेत्रमा नयाँ जागृति ल्याउनुभई उल्लेखनीय योगदान दिनुभएको थियो ।
सरल र मृदुभाषी स्व. कार्थक सबै कुरा ठीक प्रकारले गरिनुपर्छ भनी निष्ठाको सेवामा विश्वास गर्नुहुन्थ्यो । उहाँ निकै लामो समयसम्म नेइमको युवा संगतिको अगुवाको रुपमा सेवा गर्नुहुँदा थुप्रै जवानहरुको जीवनमा सकारात्मक छाप र प्रभाव पार्नुभएको थियो र उहाँलाई प्रेम र आदरस्वरुप ‘सामु दादा’ भनी सम्बोधन गरिन्थ्यो । उहाँकी धर्मपत्नी श्रीमती सुइङ्ग कार्थक र छोरी आशा कार्थक हुनुहुन्छ । उहाँको स्वर्गारोहणद्वारा नेपाली इसाई मण्डली परिवार शोकित र स्तब्ध बनेका छौं । नेपाली इसाई जगत तथा नेपाली इसाई मण्डली (नेइम) मा उहाँले पुर्याउनुभएको योगदान अतुलनीय, अमूल्य र अविश्मरणीय रहिरनेछ । यस घडीमा शोकित परिवार, मण्डली परिवार र इसाई जगतलाई परमेश्वरले शान्ति र सान्तवना देऊन भनी प्रार्थना चढाउँदै उहाँप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

नेपाली इसाई मण्डली परिवार

हार्दिक श्रद्धाञ्जली श्रद्धेय पास्टर रोबर्ट कार्थक गुरुबा

May 20, 2021 | News and Events  

विश्वभरका नेपालीभाषी इसाईहरूको एक अभिभावकका रूपमा रहनुभएका नेपाली इसाई जगतका अग्रणी तथा नेइम ज्ञानेश्वर चर्चका स्थापक श्रद्धेय पास्टर रोबर्ट कार्थक गुरुबा २०७८ जेठ ४ गते तदानुसार मे १८, २०२१ का दिन प्रभुमा विश्राम लिनुभयो ।

आफ्नो इसाई जीवन तथा सेवकाइमा उत्तम लडन्त लड्दै एउटा उदाहरणीय जीवन जिएर दौड सिद्धयाउनुभएका स्वर्गीय पास्टर कार्थकको जन्म सन् १९२६ जनवरी १० तारिखका दिन आमा स्व. प्रेमकित लेप्चा र बुबा स्व. रिबु कार्थकको दस सन्तानमध्येका एक सन्तानको रूपमा भारतको कालिम्पोङमा भएको थियो । ख्रीष्टियान परिवारमा जन्म भएता पनि पास्टर कार्थकले २१ वर्षको युवा अवस्थामा येशूलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्नु भएको थियो । इसाई जीवनको सुरुवाती जीवनमा उहाँले कालिम्पोङमा प्रेसविटेरियन चर्चमा सेवा गर्नुहुन्थ्यो । यूहन्ना १०ः१६ मा लेखिएको “मेरा अरू भेडा छन्, जो यस गोठका होइनन् । तिनीहरूलाई पनि मैले ल्याउनुपरेको छ…” वचनको खण्डद्वारा प्रभु उहाँको हृदयमा बोल्नुभएपछि सन् १९५६ मा अरू १० जना रहेको टोलीको साथमा उहाँ नेपालमा आउनुभयो र त्यसको एक वर्षपछि सन् १९५७ मा नेइम ज्ञानेश्वर मण्डलीको सुरुवात काठमाडौंको डिल्लीबजारबाट भयो र त्यसको स्थापनादेखि हालसम्म पास्टरको रूपमा उदाहरणीय तथा आशिषित सेवकाइ गर्नुभयो ।

उहाँले पुर्याउनुभएको सेवा र अमूल्य योगदान नेपाली इसाई जगतको निम्ति सदैव स्मरणिय रहिरहनेछ । उहाँका दुइ छोराहरू, बुहारीहरू तथा तीन जना नातिनीहरू हुनुहुन्छ ।

सम्पूर्ण मण्डली परिवारको तर्फबाट उहाँप्रति हामी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्छौं ।

नेइम परिवार

मिसन फेस्ट २०१९ सम्पन्न

September 17, 2019 | News and Events  

“मिसन फेस्ट २०१९” यही भदौ २८ तदानुसार सेप्टेम्बर १४ तारिखको दिन भव्य रूपमा सम्पन्‍न भयो । ने.ई.म. ज्ञानेश्‍वर चर्चका जवानहरूको सक्रियतामा आयोजित यस कार्यक्रम अपरान्हको तीन बजे ज्ञानेश्‍वर मण्डलीको प्राङ्गणमा सुरू भयो । समय पूर्व नै खानाका स्टलहरू, खेलका स्टलहरू, फोटो बुथ, ओपन माइक तयारी अवस्थामा रहेको कारण उपस्थित सहभागीहरू विभिन्‍न परिकारहरूको स्वाद लिंदै, रमाइलो खेलहरू खेल्दै, सेल्फि र फोटो खिच्दै अनि ओपन माइकमा आफ्ना प्रतिभाहरू देखाउँदै कार्यक्रममा रमाइरहे । लगभग ८००-१००० जना मानिसहरूको सहभागी रहेको यस कार्यक्रममा साना बालबालिका, जवानदेखि पाका उमेरका मानिसहरूको पनि उपस्थिति थियो ।

लगभग चार बजेतिर कन्सर्टको निम्ति मण्डली भवनको ढोका खोलियो । कन्सर्टको शुरूवातमा श्री प्रशान्त सिंहज्यूले सुरूको प्रार्थना गर्नुभयो । त्यसपछि श्री दर्शन तामाङ्‌ज्यूले एक पछि अर्को जवानहरूको प्रस्‍तुतिको उद्‍घोषण गर्नुभयो । कन्सर्टमा ने.ई.म. ज्ञानेश्‍वरका जवानहरूले गीत-संगीत, नृत्य देखाउनुका साथसाथै ने.ई.म ललितपुर मण्डली तथा जोविएल आराधना समुहको प्रस्‍तुति पनि समावेश गरिएको थियो । विभिन्‍न नेपाली, हिन्दी, अंग्रेजी भाषाका गीतहरू, लोक भाकाका गीत, सारङ्गीको धुन, रोबोटिक डान्स, टेम्बोरिन डान्सहरू यस कन्सर्टका आकर्षणहरू थिए । बिच-बिचमा उद्‍घोषकको ठट्टामा दर्शकहरू हाँसे । सबैले मनोरञ्जनको साथसाथै परमेश्‍वरको उपस्थिति र छुवाइको अनुभव पनि गरिरहेका थिए । अन्‍तमा चिठ्ठाको विजयीहरूको घोषणा लगत्तै साँझको ६:४५ बजे तिर पाष्‍टर सामुएल कार्थकज्यूले अन्तिम प्रार्थना गर्नुभएपछि कार्यक्रम समापन भयो ।










हार्दिक शुभकामना

December 5, 2018 | News and Events  

प्रभु येशू ख्रीष्टको जन्मोत्सव (ख्रीष्टमस) तथा नव वर्ष सन् २०१९ को सुखद् अवसरमा नेइम अन्तर्गतका सम्पूर्ण मण्डली परिवारहरू, शाखा तथा आवद्ध मण्डलीहरू, देश विदेशमा हुनुभएका सम्पूर्ण मण्डली परिवारहरू साथै सम्पूर्ण देशवासीहरूमा प्रेम, मेलमिलाप,  एकता र शान्तिको लागि प्रार्थना तथा शुभकामना व्यक्त गर्दछौं ।

संगति भवन अर्पण:

July 12, 2018 | News and Events  

पाष्टर वीर बहादुर खवास, पाष्टर रोल्याण्ड रोंगोंग र अन्य अगुवाहरू साथै स्थानीय गोदावरी संगतिका सदस्यहरूको संयुक्त
उपस्थितिमा जेष्ठ १२ गते/मे २६ तारिख शनिबारका दिन नेइम गोदावरी संगतिको भवन अर्पण गरियो ।

जुन महिनाको कार्यक्रम

June 4, 2018 | News and Events, Upcoming Events  

आषाढ १ गते/जुन १५ तारिख शुक्रबार महिला उपवास प्रार्थना आ–आफ्नै मण्डलीमा ।

श्रद्धान्जली सभा

May 17, 2018 | News and Events  

मिति २०७५ जेष्ठ २ गते बुधवार बिहान ५ः३० बजे नेपाली इसाई मण्डलीका आदरणीय पाष्टर डाक्टर राजेन्द्र कुमार रोंगोंग प्रभुमा सुत्नुभयो । उहाँको श्रद्धान्जली सभा (Funeral Service) २०७५ जेष्ठ ४ गते शुक्रबारको दिन नेपाली इसाई मण्डली (ज्ञानेश्वर चर्च), कालोपुलमा दिउसो १ बजे हुने जानकारी गराउदछौं ।

मे महिनाको कार्यक्रम

May 8, 2018 | News and Events  

जेष्ठ १ गते मे १५ तारिख मगंलबार बिहान १०ः०० बजे महिला उपवास
प्रार्थना आ–आफ्नै चर्चमा ।
जेष्ठ १३ गते मे २७ तारिख आइतबार बिहान १०ः०० बजे नेइम कार्यकारिणिको
बठैक गोंगबु चर्चमा ।

नेइम युवा सम्मेलनको सूचनाः

April 18, 2018 | News and Events  

वैशाख १६–१८ गते/अप्रिल २९ तारिखदेखि मे १ तारिखसम्म आइतबार–मंगलबार, नेइम ज्ञानेश्वर चर्चमा नेइम काठमाडौं उपत्यका र नेपालीभरि रहेका शाखा–आवद्ध चर्चका १६–३० वर्षसम्मका जवानहरूको संयुक्त युवा सम्मेलन हुन गइरहेको जानकारी गराइन्छ ।

मार्च महिनाको कार्यक्रम

March 7, 2018 | News and Events  

चैत्र १६ गते/मार्च ३० तारिख शुक्रबार बेलुकी ५ः३० बजे गूड फ्राइडे सेवा आ–आफ्नो चर्चमा ।

चैत्र १८ गते/अप्रिल १ तारिख आइतबार बिहान ६ः०० बजे (Easter) सूर्योदय सेवा आ–आफ्नो चर्चमा ।

चैत्र २०–२२ गते/अप्रिल ३–५ तारिख मंगलबारदेखि बिहीबारसम्म बिहान ९ः००–५ः०० बजेसम्म मिशन सम्मेलन नेइम ज्ञानेश्वर चर्चमा ।

Next Page »