“विस्वासका आँखा” – पाष्टर रोबर्ट कार्थक
July 15, 2013 | Articles
विश्वासका योद्धा मोशाको बारेमा हिबू्र ११:१७ मा लेखिएको छ, ‘…अदृश्य हुनुहुनेलाई देखेझैँ गरी तिनी स्थिर रहे ।’ अदृश्य हुनुहुनेचाहिँ परमप्रभु परमेश्वर नै हुनुहुन्छ । मोशाले अदृश्य परमेश्वरलाई कसरी हेरे होलान् ? (२ कोरिन्थी ४:१८ मा पावल लेख्तछन् – ‘हामी दृश्य कुरालाई होइन तर अदृश्य कुरालाई हेर्छौं किनभने दृश्य कुरा क्षणिक हुन्छन् तर अदृश्य कुराचाहिँ अनन्तसम्म रहन्छन् ।’ यहाँ पनि प्रश्न उठ्न सक्छ, नदेखिने कुरालाई कसरी हेर्ने ? २ कोरिन्थी ५:७ ले हामीलाई यो कुरो बुझ्न अलि सजिलो बनाइदिन्छ । त्यहाँ लेखिएको छ, “हामी विश्वासद्वारा हिँड्छौं, देखिने कुराको आधारमा होइन ।” हिब्रू ११:१ ले भन्दछ, ‘अब विश्वासचाहिँ आशा राखेका कुराको निश्चयता र नेदेखेका कुराको प्रमाण हो ।’ पद ६ मा लेखिएको छ, ‘विना विश्वास उहाँलाई रिझाउन असम्भव छ । किनभने जो परमेश्वरकहाँ आउँछ त्यसले उहाँको अस्तित्व छ र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ ।’ परमेश्वरको वचनले यो पनि भन्दछ, ‘धर्मात्माचाहिँ विश्वासबाटै जिउनेछ ।’ यो कुरो हाम्रो धर्मशास्त्रमा चार ठाउँमा लेखिएको छ । हबकुक २:४, रोमी १:१७, गलाती ३:११ र हिबू्र १०:३८ मा हामी यो पढ्न पाउँछौं । शरीरका आँखाले हामी बाहिरका भौतिक कुराहरू मात्र देख्न सक्छौं । मनका आँखाले हामी आफ्ना र अरूहरूका आनन्द, रमाहट, दुःख–पीडा, लाज, डर, चिन्ता–फिक्री जस्ता कुराहरू थाहा गर्न सक्छौं । तर हाम्रा आत्माका आँखाले मात्र हामी अदृश्य परमेश्वर, अदृश्य येशू प्रभु, अदृश्य पवित्र आत्मा, नयाँ जन्म, स्वर्ग, आत्मिक आशिष्हरू, आत्माका फल, आत्माका वरदानहरू, अरू नदेखिने आत्मिक कुराहरू आत्मामा देख्न सक्छौं ।
येशू प्रभुले निकोदेमसलाई भन्नुभयो, ‘… कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन ।’ शरीर र मनका आँखाले परमेश्वरको अदृश्य राज्य देख्न सक्दैन । आत्माका आँखाले मात्र त्यो देख्न सक्ने हुनाले हामीलाई शरीरमा जन्मेर मात्र पुग्दैन, हामी आत्मामा पनि फेरि नयाँ गरी जन्मनुपर्छ । शरीरबाट जन्मेको शरीर हो, आत्माबाट जन्मेको आत्मा हो । “जो मानिस आत्मिक छैन त्यसले परमेश्वरका आत्माका कुराहरू ग्रहण गर्दैन । किनकि ती कुराहरू त्यसका निम्ति मूर्खता हो । त्यसले ती बुझ्न सक्तैन किनकि ती कुराहरू आत्मिक रीतिले मात्र चिन्न सकिन्छन्” (१ कोरिन्थी २:१४) । यसैकारण संसारका बडेबडे विद्वानहरूले पनि ख्रीष्टमा पाप–क्षमा, मुक्ति, नयाँ जन्म, स्वर्ग जाने निश्चयता, परमेश्वरको राज्य, ख्रीष्टमा हाम्रो निम्ति पुत्रत्वको अधिकार जस्ता कुराहरू बुझ्न सक्तैनन् । “आँखाले नदेखेका र कानले नसुनेका र मानिसले नसोचेका यी कुरा… परमेश्वरले हाम्रा निम्ति पवित्र आत्माद्वारा प्रकट गर्नुभएको छ” (१ कोरिन्थी २:९–१०) । “अब हामीले संसारको आत्मा पाएका छैनौं तर परमेश्वरले हामीलाई दिनुभएका वरदानहरू बुझ्न सकौं भनेर उहाँबाट पवित्र आत्मा पाएका छौं” (१ कोरिन्थी २:१२) ।
आँखा भएका मानिसहरूले देख्न नसकेका कुरा एकजना अन्धोले देखेको वर्णन हामी मर्कुस १०:४६–५२ मा पढ्न पाउँछौं । येशू प्रभु पछिल्लो पल्ट यरीहो शहरबाट भएर यरुशलेम जाँदै हुनुहुन्थ्यो । बाटोको छेउमा भीख माग्न बसेको अन्धा बर्तिमैले नासरतको येशू जाँदै हुनुहुन्छ भनेको सुन्नासाथ ऊ चिच्याउन लाग्यो, ‘हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।” धेरैले हप्काएर उसलाई चूप लगाउन खोजे तर ऊ झन् चर्को सोरले चिच्याएर कराउन लाग्यो । येशूले अन्धाको आँखा खोलिदिन सक्नुहुन्छ भन्ने कुरा सुनेको हुनाले उसको हृदयमा विश्वास जागेको थियो । मैले पनि येशूलाई भेट्न पाएँ भने उहाँले मेरो आँखा पनि खोलिदिनुहुन्छ भन्ने उसको विश्वास थियो । यदि त्यो मौका गुमेको भएदेखि सायद उसले फेरि अर्को मौका पाउने थिएन कारण त्यसपछि येशू फेरि यरीहोबाट भएर कहिल्यै जानुभएन । यो उसको लागि आखिरी मौका थियो । अरूले जत्तिकै रोक्ने कोशिस गर्दा पनि ऊ रोकिएन, बरू अझ चर्को सोरले करायो, कराइरह्यो । यशैया ५५:६ मा लेखिएको छ, “जबसम्म परमप्रभुलाई पाउन सकिन्छ उहाँलाई खोज, उहाँ नजीक हुनुहुँदा नै उहाँलाई पुकार ।” पुकार्ने काम तपाईंको हो तर तपाईं पुकार्नु नै हुन्न भने छेवैबाट जान लाग्नुभएको येशू प्रभुबाट तपाईंले केही मद्दत पाउन सक्नुहुन्न । त्यति धेरै मानिसहरूका हल्लाहरूको माझमा पनि प्रभुले त्यो अन्धा भिखारी कराएको सुन्नुभयो र उहाँ टक्क अडिनुभयो । उहाँले एक पाइलो पनि अघि सार्न सक्नुभएन । त्यो दुःखमा परेको अन्धो भिखारीको पुकार सुनेर पनि नसुनेजस्तो गर्न सक्नुभएन । तपाईं जो सुकै हुनु भएता पनि प्रभु तपाईंको पुकार सुनेर अडिनुहुन्छ । अझ तपाईं उहाँमा विश्वास गर्ने परमेश्वरको छोरो वा छोरी हुनुहुन्छ भने त झन् कति बढ्ता गरी तपाईंको लागि उहाँ पर्खनुहुन्छ ।
‘येशू प्रभुले भन्नुभयो, “त्यसलाई बोलाओ” अनि तिनीहरूले त्यस अन्धालाई यसो भनेर बोलाए, “ढाडस गर्, उठ्, उहाँले तँलाईं बोलाउँदै हुनुहुन्छ । अनि आफ्नो खास्टो फालेर त्यो जुरूक्कै उठ्यो र येशूकहाँ आयो ! (मर्कुस १०:४९–५०)
त्यस जमानामा त्यहाँ धेरै ठग्ने मानिसहरू थिए । प्राय यहुदीहरूचाहिँ कञ्जुस र ठगाहाहरू हुन्छन् भन्ने धेरैको धारणा छ । कति आँखा देख्ने मानिसहरू पनि अन्धा जस्तै भएर बाटोको छेउमा भीख मागेर बस्थे । यो कुरो रोक्नलाई भिखारीहरूलाई चाहिँ एउटा विशेष किसिमको खास्टो दिइन्थ्यो । साँचैका अन्धा हुन् वा होइनन् सो त्यही खास्टोले छुट्ट्याउन सकिन्थ्यो । त्यो खास्टो त्यस अन्धाको परिचय–पत्र जस्तै थियो । त्यो अन्धा वर्तिमै येशूकहाँ आएपछि उहाँले त्यसलाई, “म तिमीलाई के दिऊँ ?” भनी सोध्नको सट्टामा “म तिम्रो लागि के गरिदिऊँ ?” भनी सोध्नुभयो । किन ? के प्रभुले त्यसलाई एउटा भिखारी भनी चिन्नुभएन र ? भिखारीको खास्टो ओढेर गएको भए ऊ अन्धो भिखारी रहेछ भन्ने देखेर प्रभुले, “म तिमीलाई के दिऊँ, कति दिऊँ ?” भनेर सोध्नु हुन्थ्यो होला । “उठ्, उहाँले तँलाई बोलाउँदै हुनुहुन्छ” भनेको सुन्नासाथ उसले विचार गर्यो, ‘अब मलाई यो खास्टो चाहिँदैन किनकि अब उसो भिखारी रहेर मैले भीख माग्नु पर्दैन । यसैले उसले त्यो खास्टो फालिदियो र जुरूक्क उठेर येशूकहाँ आयो । यस्तो विश्वास आज तपाईं र ममा हुनुपर्ने हो । हामी धेरै चोटि गाउने गर्छौं, ‘कस्तो बदलाव ममा जब येशूकहाँ गएँ, —सधैँ खाने थोक खान छोडेँ, सधैँ पिउने थोक पिउन छोडेँ, सधैँ गर्ने काम गर्न छोडैँ, कस्तो बदलाव ममा जब येशूकहाँ गएँ ।’
येशुले मलाई बोलाउँदै हुनुहुन्छ । यदि म उहाँकहाँ गएँ भने मेरो जीवनमा परिवर्तन आउँछ, मलाई दृष्टि मिल्छ अनि मैले अन्धो रहेर भीख माग्न पर्दैन, मेरो जीवन सुध्रिन्छ र म बदलन्छु भन्ने पक्का विश्वास हामीमा हुनुपर्छ । येशू प्रभुकहाँ आएपछि हामी अन्धा भिखारी भएर बस्तैनौं । हामीपरमेश्वरका छोरा–छोरीहरू बन्नेछौं अनि परमेश्वरका छोरा–छोरीहरूले भीख माग्न पर्दैन । भजनसंग्रह ३७:२५ मा दाऊद भन्छन्, ‘… धर्मी जनहरू त्यागिएका वा तिनका सन्तानले मागेर खानुपरेको मैले कहिल्यै देखेको छैन मर्कुस १०:५२ मा लेखिएको छ, ‘अनि येशूले त्यसलाई भन्नुभयो, “तिम्रो बाटो लाग । तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।” तब तुरुन्तै त्यसले दृष्टि पायो र बाटोमा येशूको पछिपछि लाग्यो ।’ जबसम्म त्यो अन्धा थियो त्यसको आफ्नो बाटो थिएन कारण अन्धाको
आफ्नो बाटो हुँदैन । अरूहरूले डोर्याएको अरूहरूको बाटो नै त्यसको बाटो हुन्छ । प्रभुले आँखा खोलिदिनुभएपछि भन्नुभयो, “तिम्रो बाटो लाग” । त्यसदिन त्यसले आफ्नो बाटो देख्यो । अब उसो अरूहरूको बाटो त्यसले हिँड्नु पर्दैन । त्यस दिनदेखि येशूको बाटो नै उसको बाटो भयो कारण ऊ येशूको पछि पछि लाग्यो ।
वर्तिमै अन्धोलाई दृष्टि दिने येशू प्रभु आज छेवैबाट भएर जाँदै हुनुहुन्छ । अब तपाईंको कराउने समय हो यो । रोग–बिमार, चिन्ता–फिक्री, घटी अभाव, गरिबीपना, अरू सबै समस्याहरूबाट उहाँले तपाईंलाई झट्टै छुट्कारा दिन सक्नुहुन्छ । ढाडस् गर्नुहोस्, उहाँले तपाईंलाई बोलाउँदै हुनुहुन्छ । उठ्नुहोस्, उहाँकहाँ जानुहोस् । उहाँ पर्खिराख्नुभएको छ ।’