ख्रीष्टियन जीवनको आत्मिक एकता नै आत्मिक बल हो – डिकन घनश्याम दाहाल

March 10, 2014 | Articles  

फिलिप्पीहरूलाई पावलको पत्रः
किताबको परिचयः फिलिप्पीचाहिँ माकेडोनिया (दक्षिण युरोपको ग्रीस भन्ने देशको उत्तर भाग) को एउटा मुख्य सहर थियो । यहाँ धेरै रोमी सिपाहीहरूको बसोबास भएकाले उक्त सहरलाई रोमीहरूको उपनिवेश बनाइएको थियो । फिलिप्पी सहर सुनको सिक्काको निम्ति प्रसिद्ध थियो । यो मण्डलीको स्थापना पावलको सुसमाचारको दोस्रो मिसनरी यात्राको समयमा भएको थियो (प्रेरित १६:१२) । यो पत्र पहिलो शताब्दीको करीब ईस्वी सम्बत ६०–६२ मा जेलभित्रबाट लेखिएको थियो । यो एकदमै व्यक्तिगत पत्र थियो ।
पत्र लेख्नुको उद्देश्यः
पावलले जेलभित्रबाट उहाँका सहकर्मी (इपाफ्रोडिटस) लाई साहस र उत्साह दिन, इसाई एकतामा रहनको लागि लेखेका थिए । यो पत्रले ख्रीष्टको प्रेम–पत्रको विषयमा ख्रीष्ट केन्द्रित विशेष उत्साह, सान्त्वना र ढाडस दिँदछ (फिलिप्पी ३:१) । यो पत्रले दुःख र कष्टको समयमा पनि खुशी र आनन्द रहनको लागि विशेष जोड दिँदछ (फिलिप्पी ४:४) । “आनन्द” भन्ने शब्द यस पत्रमा १६ पटक प्रयोग भएको पाइन्छ । यी बाहेक अन्य कुराहरू उत्साह, अर्ती, आज्ञा, उदाहरण, सान्त्वना, ढाडस आदि पाइन्छ साथै पावललाई फिलिप्पी मण्डलीले पावलको सेवकाइमा पुर्‍याएको सहायताको लागि समेत धन्यवाद दिनका निम्ति पत्र लेखेका थिए । यस पत्रको मुख्य उद्देश्य ख्रीष्टियन जीवनको आत्मिक एकता कायम राख्न र मेल मिलाप सृजना गर्नु हुन आउँछ र ख्रीष्टियान जीवन केवल ख्रीष्टमा मात्र सुरक्षित र आनन्दित हुन्छ भन्ने कुरा यस पत्रमा पाइन्छ ।
१) पहिलो अध्यायमा इसाई जीवन जिउनुमा आनन्दित (Joy in Living)
फिलिप्पी १:३, ५ धन्यवादीे जीवन ।
२) दोस्रो अध्यायमा ख्रीष्टको सेवामा आनन्दित (Joy in Service)
एउटै मन (हृदय) का भएर ख्रीष्टको सेवा गर (फिलिप्पी २:२) ।
३) तेस्रो अध्यायमा संगतिमा आनन्दित (Joy in Fellowship)
ख्रीष्टमा निरन्तर अघि बढ्नु (फिलिप्पी ३:१२–१४)
४) चौथो अध्यायमा परमेश्वरबाट पाउने इनाममा आनन्दित (Joy in Reward)
(फिलिप्पी ४:४–५; हितोपदेश २३:७)
२:१–१८ मा इसाई आत्मिक एकताको बारेमा सिक्न पाइन्छ । विशेष गरी आजको पाठ फिलिप्पी २:१–४ ख्रीष्टियान जीवन चरित्रका आत्मिक लक्षणहरूः
फिलिप्पी २:१–४ यो खण्ड फिलिप्पी १:२७–३० सँग आधारित छ । यस खण्डबाट हामीले ख्रीष्टियन जीवन चरित्रका आत्मिक लक्षणहरूको विषयमा वा येशू ख्रीष्टका चरित्र (स्वभाव) को विषयमा येशू ख्रीष्टको प्रेम हाम्रो जीवनमा कसरी प्रकट (घोषणा) गर्न सकिन्छ भन्ने सम्बन्धमा सिक्न सकिन्छ ।
१) प्रोत्साहनको लक्षण (सहानुभूतिको चिन्ह) फिलिप्पी २:१) ।
२) प्रेमको लक्षण (प्रेमको चिन्ह) (फिलिप्पी २:१) । ३) पवित्र आत्माको संगतिको लक्षण (फिलिप्पी २:१) ।
४) एकअर्काको, आनन्दको फिक्रीको लक्षण (अर्काको आनन्दको लागि
वास्ताको स्वभाव) (फिलिप्पी २:२) ।
५) नम्रता वा दिनताको लक्षण (मन वा हृदयको विनयको स्वभाव)
फिलिप्पी २:३) । स्वार्थलाई नियन्त्रण गर्नु वा आफैमाथि ध्यान नदिनुको लक्षण (आफ्नै मात्र हित, स्वार्थ नखोज्ने स्वाभाव) (फिलिप्पी २:४)
यहाँ ख्रीष्टियन आत्मिक एकता कायम राख्नका निम्ति ख्रीष्टिय जीवनका आत्मिक लक्षण (चिन्हहरू) निम्नअनुसार छन्ः
१) प्रोत्साहनः ग्रीक शब्द “पाराक्लेसिस” को अर्थ धेरै छन् तर यहाँको सन्दर्भमा यसको अर्थ (फिलिप्पी २:१) ः प्रोत्साहन दिनु, ढाडस दिनु, अर्ती दिनु र सशक्तिकरण गर्नु, उसलाई आड भरोसा दिनु, सान्त्वना दिनु, बल दिनु आदि । येशूले तिनीहरूलाई ढाडस दिएर भन्नुभयो, “म तिमीहरूलाई टुहुरा छोड्ने छैन । म तिमीहरूकहाँ आउनेछु” (यूहन्ना १४:१८) । “यसकारण एउटाले अर्कालाई प्रोत्साहन देओ, र एउटाले अर्कालाई दरिलो पार्ने काम गर, जस्तो तिमीहरू गर्दै पनि आएका छौ (१ थेसलोनिकी ५:११) । यस खण्डमा पावलले एकअर्कालाई उत्साह दिन र सान्त्वना दिन पछि नहट भन्ने संदेश दिएका छन् । उदाहरणको लागि ३ वटा लठ्ठी एउटै मुठा बनाएर डोरीले बाँधेको खण्डमा त्यसलाई सजिलै भाँच्न सकिन्न तर एक–एक वटा गरी हातमा दिएको खण्डमा सजिलै भाँच्न सकिन्छ, यस कुरालाई हामीले अभ्यास गरी हेर्न सक्छौं । यसकारण हामी विश्वासीहरू एक भएको खण्डमा, हामीहरूले आत्मिकी बल प्राप्त गर्न सक्छौं र शैतानले हामीलाई लडाउन सक्तैन । यसैले हामी अनुभव गर्न सक्छौं, हाम्रो आत्मिक एकता नै आत्मिक बल हो ।
२) प्रेमः प्रेमको लक्षण (फिलिप्पी २:१) ख्रीष्टमा भएको प्रेमको प्रेरणा “पारामुथोन्” मूल शब्दको अर्थ एकतामा बाँध्नु भन्ने बुझिन्छ । अगापे निःस्वार्थ प्रेमको बलिदान हो । “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्” (यूहन्ना ३:१६) । “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछुः तिमीहरू एकअर्कालाई प्रेम गर । तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि त्यस्तै प्रेम गर” (यूहन्ना १३:३४) । पावलले रोमीको पुस्तक १२:९ मा भनेका छन्ः “प्रेम निस्कपट होस् । जुन कुरा खराब छ, त्यसलाई घृणा गर । जुन कुरा असल छ, त्यसमा लागिरहो” । १ पत्रुस १:२२ अनुसार पनि, “आफ्ना दाजु–भाइलाई निस्कपट प्रेम गर र हृदयबाट नै एउटाले अर्कालाई गहिरो प्रेम गर” । यहाँ गहिरो र हृदयको प्रेम भन्नाले बाहिरी कुरा नभएर भित्रका (अन्तर–आत्माका कुराहरू भन्ने बुझिन्छ) । १ शमुएल १६:७ अनुसार मानिसहरूले बाहिरको रूप हेरी विचार गर्दछन् भने परमेश्वरले चाहिँ हृदय हेर्नुहुन्छ । यसबाट स्पष्ट हुन्छ कि हृदयको प्रेमचाहिँ बोलीमा मात्र सीमित नभएर काममा प्रकट हुन्छ । ३) पवित्र आत्माको संगतिः पवित्र आत्माको संगतिको चारित्रिक विशेषता हो । हामीलाई पवित्र जीवन जिउन आँटिलो र साहसी जीवन जिउनका लागि पवित्र आत्माको आवश्यकता पर्दछ । पवित्र आत्माले विश्वासीलाई सान्त्वना दिन, ख्रीष्टको साक्षी बन्न, गवाही बन्न, सिकाउन, डोर्‍याउन, सच्याउन, सुसज्जित पार्न र आत्मिक एकतामा बाँध्न पवित्र आत्मा विश्वासीको हृदयमा प्रवेश गर्नुहुन्छ । उहाँले हामीहरूलाई एकसाथ जोड्नुहुन्छ । त्यसैले यहाँ विश्वासीहरूलाई एक–आपसमा पवित्र आत्माको संगतिमा रहनको लागि विशेष जोड दिएको छ (फिलिप्पी २:१) ।
४) दयाः दयाको लक्षणः नेपाली वृहत शब्दकोषअनुसार “दया” को परिभाषा यस प्रकार छ, “अर्कामा आइपरेका दुःख, पीडा आदिलाई अनुभव गरेर सम्बेदनशील हुने तथा उसप्रति उद्धार र सहयोग गर्ने मनोभाव वा वृत्ति” । परमेश्वरको वचन (New Revised Standard Version-NRSV) अनुसार दया भन्नाले “हाम्रा निम्ति आफुलाई अर्पण गर्न ख्रीष्टलाई प्रेरित गर्ने चारित्रिक लक्षण दया हो” । यदि हामीले आफुभित्र र आफुद्वारा ख्रीष्टको दयालाई प्रभावित हुन दियौं भने मण्डलीमा कस्तो परिवर्तन आउला ? के हामी कल्पना गर्न सक्छौं ? जो हानी नोक्सानीमा परेका छन्, जो भिन्न मत राख्तछन्, जो पछि हटेका छन्, जो बिथोलिएका छन् ? हामीले दयाको लक्षण देखाएको भए मण्डलीको संगतिमा फर्केर आइसकेका हुन्थे । यसकारण हामीले आफुभित्र र आफुद्वारा ख्रीष्टको सहानुभूतिलाई तत्प्रभावित हुन दिनु पर्दछ । हामी अनुभव गर्छौं कि हामीमा मतभेद हुँदा र बेचैनी भएको समयमा ख्रीष्टको स्नेहले हामीलाई सान्त्वना दिँदछ । अरूहरूमा मत भिन्न हुँदा र अशान्त भएको समयमा यसले हामीलाई ख्रीष्टको दया र स्नेह प्रकट गर्नको लागि प्रेरित गर्दछ । हामीभित्र र हामीद्वारा प्रभावित भैरहेको येशू ख्रीष्टको सहानुभूतिले मण्डलीको एकता कायम राखिरहन्छ । यसले हाम्रो समझलाई एकसूत्रमा बाँधेर राख्दछ । यसले गर्दा हामीहरू हाम्रा दाजुभाइहरू र दिदीबहिनीहरू प्रति उनीहरूको खाँचो र दुःखमा सहभागी हुँदछौं । पावलको भनाईअनुसार “विश्वासमा दरिला हुने हामीले आफैलाई मात्र खुशी पार्ने इच्छा नराखेर दुर्बल मानिसहरूका कमजोरीलाई सहनु पर्दछ” (रोमी १५:१) । “एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर” (गलाती ६:१) । “अन्त्यमा तिमीहरू सबैमा आत्माको एकता राख, एउटाले अर्कोलाई सहानुभूति देखाओ, भातृ प्रेम गर, कोमल हृदयका होओ, र नम्र मनका होओ” (१ पत्रुस ३:८) ।
५) आनन्दः नेपाली वृहत शब्दकोषअनुसार “आनन्द” भन्ने शब्दको परिभाषा यस प्रकार छ, “कुनै अभिष्ट वस्तुको प्राप्ति तथा सुखद स्थितिमा वा कुनै मंगल कार्य सम्पन्न हुँदा मनमा हुने प्रिय सहानुभूति, हर्ष, प्रसन्नता, खुशी आदि । परमेश्वरको वचन (NRSV) अनुसार मण्डलीका विश्वासीहरूले एकअर्काको आनन्दको निम्ति फिक्री गर्नु पर्दछ । ख्रीष्टिय मण्डलीमा आनन्द ल्याउने कुरा एकता हो । एकै मनका हुनु, एउटै प्रेम राख्नु, पूर्ण सम्मति हुनु, एउटै चित्तका हुनु आदि । यहाँ पनि हामी लट्ठीको नमूना लिन सक्छौं, जसरी तीन वा तीनभन्दा बढी लट्ठीहरूलाई डोरीले बाँधेर एकबिटो बनाएको खण्डमा त्यो सजिलै भाँचिदैन, एउटा–एउटा गरी छुट्ट्यायो भने सजिलै भाँच्न सकिन्छ । यसबाट हामी विश्वासी दाजुभाइहरू र दिदीबहिनीहरू मण्डलीमा एउटै मनका भएर ख्रीष्टको आनन्द पूरा गर्नु पर्दछ त्यो नै मण्डलीको लागि बल हुन्छ । “तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर पूर्ण सम्मतिसाथ एउटै चित्तका भएर मेरो आनन्द पूरा गर” (फिलिप्पी २:२) । “मेरो आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द भरिपूर्ण होस्” (यूहन्ना १५:११) । पावलको भनाइअनुसार “शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर” (एफिसी ४:३) ।
६) नम्रताः मनको दिनताः नेपाली वृहत शब्दकोशअनुसार “नम्रता भन्ने शब्दको परिभाषा यस प्रकार छ, निहुरेको, नुहेको, बिनित, नरम स्वभावको, आफ्नो बल, बुद्धि र सम्पत्तिमा घमण्ड नगर्ने । परमेश्वरको वचन (NRSV) अनुसार केही मानिसहरू अरू मानिसहरूसँग झगडा मात्र गरिरहन्छन् । तिनीहरू शरीरमा पाको भएर पनि आत्मामा अपरिपक्व नै हुन्छन् । तिनीहरू निम्न कुराहरू गर्न आत्म–समर्पण गर्दछन् । जस्तै इष्र्या, डाहा, पदको लालसा, प्रतिष्ठाको अभिलाषा, प्रतिरोध, चिप्लो घस्नु, झैँ झगडा र वाद विवाद सृजना गर्नु आदि । यसकारण तिनीहरू आफ्नै इच्छाअनुसार डर लाग्दो अपराध गर्न जान्छन् । यसबाट सुरक्षित रहनको लागि, ख्रीष्टको नम्रता धारण गर्नु, अहंकारलाई त्याग्नु र दिलो ज्यानले अरूको सेवा गर्नु आदि । “स्वार्थ वा अहंकारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफुभन्दा श्रेष्ठ ठान” (फिलिप्पी २:३) । आज मण्डलीमा हामीहरूले स्वार्थलाई नियन्त्रणमा राख्नु पर्दछ र आफ्नै भलाइ नखोजी अरूहरूको हितलाई ध्यान दिनु अति आवश्यक हुन्छ । यसकारण हामी सबैजना ख्रीष्टको स्वभावले अभिप्रेरित भइरहनु नम्रताको लक्षण हो ।
निष्कर्षः
ख्रीष्टियान आत्मिक एकता राख्नका लागि हामीमा एक दोस्रालाई उत्साहित पार्नका लागि, उचित सल्लाह र सुझाव दिनका लागि पवित्र आत्माको अति आवश्यकता छ । आत्मिक एकता कायम राख्नका लागि ख्रीष्टिय प्रेमले प्रेरित हुनुपर्दछ । मण्डलीमा एउटै मन र एउटै चित्त हुनु अति आवश्यक छ । अहंकार र घमण्डमा केही नगरी त्यसको सट्टा ख्रीष्टको प्रेमलाई धारण गरेर एउटाले अर्कालाई प्रोत्साहन, उत्साह दिँदै एकताको सुत्रमा बाँध्नको लागि निस्वार्थ सेवा गर्नु जरूरी देखिन्छ । यसो गर्नाले हामीले आत्मिकी बल पाउँछौं । जुनचाहिँ आत्मिकताबाट मिल्दछ । यसले हाम्रो मण्डलीको सम्पूर्ण क्षेत्रमा परिवर्तन ल्याउँछ ।
के आज हामी आफ्नै मात्र भलाइ नखोजी अरूहरूको भलाइ र उन्नतिप्रति वास्ता गर्न तयार छौं ? यदि तयार छौं भने अठोट र निर्णय गरौं । परमेश्वरले हामी सबैलाई अनुग्रह गरून् !