२०१४ अशिषको वर्ष – प्रस्तुती: डा राजेन्द्र कुमार रोंगोंग

April 4, 2014 | Articles  

आदरणीय पाष्टर रोबर्ट कार्थक गुरुबाले फागुन ६ गते÷फरवरी १८ ता. मंगलबारको दिन नेइम पूर्णकालिन सेवक सेविकाहरूको प्रार्थना सभामा बाँड्नुभएको वचनको सारसंक्षेपः
हामीले २०१४ अर्थात् नयाँ वर्षमा प्रवेश गरिसकेका छौं । आज हामी अघिल्तिर जानुपर्छ । बितेका दिन सम्झेर त्यसमा बस्नु हुँदैन । यदि हामी नयाँ कुराहरू चाहन्छौं भने हामीलाई नयाँ आशिष्हरूको आवश्यकता पर्छ । हामीले गरिराखेको उही पुरानो तरिकाले हामी नयाँ कुराहरू प्राप्त गर्न सक्तैनौं । हामीले नयाँ कदम चाल्नुपर्नेछ । हामीलाई पवित्र आत्माद्वारा येशूले जीवन दिनुभएको छ । हामी जीवित छौं (रोमी ८:११) । हामीले आशिष् पाइरहेका छौं र यिनै पाइरहेको आशिष्मा मात्र सन्तुष्ट बस्नु हुँदैन । हामी अघि बढ्नुपर्छ ।
यहोशू ५:१०–१२ अनुसार इस्राएलीहरूले यर्दन नदीको पारीपट्टि अर्थात् प्रतिज्ञाको देशमा यरीहोको मैदानमा निस्तार–चाड मनाए र “त्यसको भोलिपल्ट, त्यही दिन तिनीहरूले त्यस देशको उब्जनीबाट अखमिरी रोटी र भुटेको अन्न खाए । तिनीहरूले त्यस देशको उब्जनीको अन्न खाएको भोलिपल्टदेखि नै मन्न थामियो, र त्यसपछि इस्राएलीहरूलाई मन्न कहिल्यै पनि मिलेन । तर त्यस साल तिनीहरूले कनान देशको अन्न खाए ।” मन्नको लागि इस्राएलीहरूले काम गर्नु पर्दैन थियो । यो परमेश्वरले इस्राएलीहरूलाई उजाड–स्थानमा दिनुभएको आशिष थियो तर अन्न प्रतिज्ञाको देशको भोजन थियो र यसको निम्ति इस्राएलीहरूले परिश्रम गर्नु अनिवार्य थियो । मन्नको लागि परमेश्वरलाई “भन्न” पथ्र्यो तर अन्नको लागि जमीन खन्नुपर्ने भयो । हाम्रो अघि यही प्रश्न छ — अन्न कि मन्न ? मन्न उजाड–स्थान वा मरूभूमिको लागि मात्र हो भने अन्न प्रतिज्ञाको देशको लागि हो । हामीले मन्न कि अन्न छान्नुपर्छ । निर्णय हाम्रो हो । उजाड–स्थान अनिश्चित कालको अपरिपक्वताको चित्र हो । यो स्थान वा स्थिति सधैँ माग्ने केटाकेटीहरूको लागि हो । इस्राएलीहरू अपरिपक्व भएसम्म परमेश्वरले उनीहरूलाई मन्न दिनुभयो । परमप्रभुको इच्छा थियो इस्राएलीहरूलाई प्रतिज्ञाको देश दिने । परमेश्वरले यहोशूलाई प्रतिज्ञा गर्नुभएको थियो, “… तेरा पैतालाले कुल्चिने सबै जग्गा तलाई दिनेछु (यहोशू १:३) ।”
प्रतिज्ञाको देश प्रवेश गरेपछि हामीले कोदालो लिई जमीन खन्नुपर्छ र मात्र अन्न पाइन्छ । बाइबल जमीन जसतो हो, हामीले खन्नुपर्छ अर्थात् अध्ययन गर्नुपर्छ । हामीमध्ये कतिलाई बाइबल पढ्न मन पर्दैन हामीसित तिर्खा छैन । हामीलाई त लाल समुद्रको उजाड–स्थानतिरै जान मनपर्छ । हामीहरूका बितेका समयका कुराहरूले हामीलाई अघि बढ्न दिँदैन । शैतानले हाम्रो भूतकालका अनुभव वा घटनाहरूका दोष देखाई हामीलाई निरूत्साहित गर्न खोज्छ । त्यो यस काममा निरन्तर लागेको हुन्छ । अहिले हामी नयाँ करारको समयमा छौं । पुरानो करारमा उल्लेख भएका प्रतिज्ञा अहिले पूरा भएको छ :
“परमप्रभु भन्नुहुन्छ, ती दिन आउनेछन्,
जब इस्राएलको घरानासग
र यहूदाको घरानासग म एउटा नया
करार स्थापना गर्नेछु । …
“… किनकि सानादेखि लिएर ठूलासम्म
तिनीहरू सबैले मलाई चिन्नेछन्,
परमप्रभु भन्नुहुन्छ । किनकि
तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु,
र म तिनीहरूका पाप फेरि कहिल्यै
सम्झने छैन ।” (यर्मिया ३१:३१–३४)
पुरानो करारमा पाप क्षमाको निमित्त पशुबलि पटक पटक चढाइरहनुपथ्र्यो
तर नयाँ करारमा “ख्रीष्टले त पापहरूका निम्ति सदाको लागि एउटै
बलिदान चढाउनुभयो, अनि उहा परमेश्वरको दाहिने बाहुलीतर्फ
विराजमान हुनुभयो” (हिब्रू १०:१२) । अनि प्रभुले यो पनि भन्नुभयो,
“… तिनीहरूका पाप र तिनीहरूका दुष्कर्महरू म फेरि सम्झनेछैन”
(हिब्रू १०:१७) ।
वmे तपाईं आफ्ना पुराना पापहरू सम्झँदै हुनुहुन्छ ? याद गर्नुहोस्
यो शैतानको काम र यसले हाम्रो प्रगतिलाई रोक्दछ । हामीले प्रभु
येशूमा विजय प्राप्त गरेका छौं र हामीले निरूत्साह होइन येशूको
विजयद्वारा आनन्द र उत्साह पाएका छौं ।
पावल लेख्दछः
“मैले यी सबै अघिबाट प्राप्त गरिसकेको छु, अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, तर यी कुराहरूलाई पक्रनको निमित्त म अघि बढिरहेको छु जुन कुराको निम्ति ख्रीष्टले मलाई पक्रनुभयो । भाइ हो, मैले यी सबै पक्रिसकेको छु भनी म ठान्दिन“, तर म एउटा कुरा गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर अगाडिका कुराहरूतिर जोडसग लम्कदै ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोडस“ग अघि बढ्दछु” (फिलिप्पी ३:१२–१४) ।
फेरि पावल यो पनि लेख्दछन् :
“किनकि म पक्का गरी यो जान्दछु कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले
वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले, वा
शक्तिहरूले, उचाइले वा गहिराइले, वा सारा सृष्टिमा भएका कुनै
पनि कुराले, ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्ने छैन (रोमी ८:३८–३९) ।
पावलले आफ्ना यी भनाइहरूमा भूतकाल (वा बितेका समयको कुरा) उल्लेख गर्दैनन् । यति मात्र लेख्छन् ‘वर्तमानका कुराहरूले
वा पछि हुने कुराहरूले परमेश्वरको प्रेमदेखि मलाई अलग गर्न सक्दैन १ कोरिन्थी ३:२२ मा “चाहे पावल, अपोल्लस, केफास, संसार, जीवन, मृत्यु, वर्तमान कि भविष्य सबै तिमीहरू हुन्” भनी लेखेका छन् । भूतकालको त्यहाँ उल्लेख छैन । भूतकाल हाम्रो निम्ति होइन ।

यसर्थ यो नयाँ बर्षको निमित्त हामीलाई परमेश्वोरको वचन यो छ: “बितेका कुराहरुलाई नसम्झ, उहिलेका कुराहरुलाई विचार नगर” (यशैया ४३:१८)। परमेश्वोरले ठुलो नयाँ काम गर्न लाग्नुभएको छ । यसको लागि परमेश्वोरले हामीलाई ख्रीष्टको अभिषेक दिनुभएको छ । पुरानो करारअनुसार ‘असल गरे असल, खराब गरे श्राप’ थियो भने नयाँ करारमा ‘तिमीहरु गर कि नगर, म गरिदिन्छु ।’ हाम्रो काम केवल परमेश्वोरले पठाउनुभएको येशू ख्रीष्टमाथि विस्वास गर्नु हो । (हेर्नुहोस् युहन्ना ६:२८-२९) । परमेश्वोरले हामीद्वारा नयाँ काम गर्न लाग्नुभएको छ र हामीलाई ख्रीष्टले अभिषेक समेत दिनुभएको छ ।