परमेश्वर प्रेम हुनुहुन्छ — पाष्टर अशोक मुखिया

April 8, 2015 | Blogs  

परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो । आफ्नो एक मात्र पुत्रलाई पनि बाँकी नराखी हाम्रो लागि दिइहाल्नुभयो (यूहन्ना ३ः१६) । यही प्रेममा येशू ख्रीष्ट हामी पापी छँदै हाम्रा सबै अधर्म बोकेर क्रूसमा मर्नुभयो (रोमी ५ः८), क्रूसको आखिरी घडीसम्म पनि प्रेम गरिरहनुभयो (लूका २३ः३४) । यो प्रेम अनन्तसम्मको लागि हो (यशैया ४९ः१५–१६) । येशू प्रभु स्वर्गमा जानुअघि चेलाहरूलाई व्यावूmल र विचलित नहुनलाई भन्नुभयो (यूहन्ना १४ः१) । “म तिमीहरूलाई टुहुरा छोड्ने छैन तर पितासँग बिन्ती गर्नेछु र उहाँले अर्को सल्लाहकार, शान्तिदाता अर्थात् पवित्र आत्मा पठाइदिनुहुनेछ जो सधैँभरि तिमीहरूसँग रहनुहुनेछ”
(यूहन्ना १४ः१६–१८) । परमेश्वरको प्रेमको बयान नै गन सकिन्न । …. तेरो निम्ति मेरो अटल प्रेम हटाइनेछैन (यशैया ५४ः१०) । उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ । किनकि उहाँ कहिल्यै परिवर्तन हुनुहुन्न ।
ख्रीष्ट येशू प्रभुलाई हामी जति जनाले मुक्तिदाता अनि प्रभु भनी विश्वास गरेका छौं, ख्रीष्टद्वारा परमेश्वरसँग मिलाप पाएका भई परमेश्वरका छोराछोरी, सन्तान कहलिएका छौं (यूहन्ना १ः१२, गलाती ४ः६–७, रोमी ५ः१, ११) । हामी प्रेम पाउने योग्यका होइनौं तर उहाँले हामीहरूलाई प्रेम गर्ने इच्छा गर्नुभएको कारणले गर्दा प्रेम गर्नुभएको हो (एफिसी २ः४) ।
यसैले यो प्रेमबाट हामीलाई कसैले पनि अलग गर्न सक्दैन
(रोमी ८ः३९) । जहाँ हाम्रो पापको लेखा छैन (रोमी ४ः७–८), पापको सम्झना छैन (हिब्रू ८ः१३, १०ः१७, यर्मिया ३१ः३४) पापअनुसारको व्यवहार छैन (भजनसंग्रह १०३ः१०, मीका ७ः१८–१९)। जुन प्रेमभित्र धीरज, दया छ; जहाँ डाह, शेखी, हठी, ढीट, जिद्दी, झर्को, खराब, असत्य छैन साथै प्रेमको अन्त्य पनि छैन
(१ कोरिन्थी १३ः४–८) । जसरी उडाउ पुत्रले बुवाको प्यार, प्रेम, माया सबै लत्याएर टाढा गएता पनि छोराप्रतिको बुवा (पिता) को प्रेम कहिले पनि टाढा भएन जसको कारण छोरा जब फर्कि आयो उही प्यार, प्रेम, माया छोराले पायो (लूका १५ः१८–२४) । भजन २६ः३ मा भजन गाउने मानिस दाऊदले भनेझैं, “किनकि तपाईंको प्रेम जहिले पनि मेरो सामु छ ।”
प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौं तर उहाँले हामीलाई प्रेम गर्नुभयो … (१ यूहन्ना ४ः१०) । परमेश्वरबाटको प्रेम हामीले कमाएका होइनौं तर सित्तैंमा अनुग्रहद्वारा पाएका हौं । यसैले यही प्रेमलाई मगजले मात्र होइन तर हृदयले आत्मासात गरी हामी परमेश्वरको प्रेममा जिएको परमेश्वर चाहनुहुन्छ । … ख्रीष्टको प्रेमलाई थाहा पाउन सक (एफिसी ३ः१९) । यसैले प्रभु भन्नुहुन्छ, “तिमीहरू मेरो प्रेममा रहो (यूहन्ना १५ः९), जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ र परमेश्वर त्यसमा रहनुहुन्छ (१ यूहन्ना ४ः१६); किनकि परमेश्वरको हामीप्रतिको प्रेम सिद्ध छ । सिद्ध प्रेममा पाप, मृत्यु, नरककुण्डको श्राप दण्ड कुनै पनि कुराको डर छैन । अब हामी यी कुराहरूबाट डराउनु पर्दैन (रोमी ८ः१५) । सिद्ध प्रेमले डरलाई हटाउँछ । जो डराउँछ, प्रेममा त्यो सिद्ध भएको हुँदैन किनकि डरको सम्बन्ध त दण्डसँग हुन्छ (१ यूहन्ना ४ः१८) । ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन (रोमी ८ः१) । परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति, प्रेम र आत्मासंयमको आत्मा दिनुभएको छ (२ तिमोथी १ः७) ।
ख्रीष्टमा हामी नयाँ सृष्टि भएका छौं (२ कोरिन्थी ५ः१७) । जसरी परमेश्वरले हामीलाई ख्रीष्टमा त्यही प्रेमले हेर्नुहुन्छ जहाँ हामीलाई धर्मी, पवित्र, प्रिय, आशिषित् छोराछोरीको रूपमा देख्नुहुन्छ र त्यसअनुसार नै व्यवहार पनि गर्नुहुन्छ । त्यसरी नै हामीहरूले पनि आफैलाई आफ्नै हेराई र सोचाइले होइन तर परमेश्वरबाटको हेराईले हेर्न सकौं (१ यूहन्ना ३ः१) र प्रेमिलो परमेश्वर पितालाई प्रेम गर्दै प्रेममा बढेको, जिएको, रमाएको, आनन्दित छोराछोरीहरू भएर जिउन सकौं (१ यूहन्ना ४ः१९) ।
परमेश्वरले हामीलाई प्रेम गर्नुभएको मात्र होइन तर उहाँको प्रेम हाम्रो हृदयमा खन्याइदिनुभएको छ (रोमी ५ः५) । हाम्रो इसाई जीवन क्षमा दिने–लिने, नम्रता, एकता, प्रेम, अरूलाइ आफूभन्दा श्रेष्ठ ठान्ने, प्रेममा आधारित जीवन होस् (कलस्सी ३ः१२–१४) । हामी जे गर्छौं ती सबै प्रेममा गरिएका होऊन् (१कोरिन्थी १६ः१४)। परमेश्वरको इच्छा पनि यही छ । यसैले यो प्रेम एकआपसमा र अरूहरूसँग बाँडेर परमेश्वर पितालाई महिमा दिन र धेरैको लागि आशिष् बन्न सकौं (यूहन्ना १३ः३४–३५) ।