सबै अवस्थामा हाम्रो साथमा रहनुहुने परमेश्वर— डीकन सिमोन पाठक
April 8, 2015 | Articles
हामी कतिपटक आफैलाई एक्लो भेट्टाउँछौं । मेरो साथमा त कोही पनि छैन भन्दै भावनात्मक रूपमा भित्रभित्रै पिरोलीराखेका हुन्छौं । यद्यपि हामी परिवारमा बस्छौं । बाबु, आमा, छोराछोरी अभिभावकहरू एउटै छानामुनि बस्छौं तर आफैलाई एक्लो भेट्टाउँछौं । हामीहरूका साथीभाइ, इष्टमित्र, आफन्तहरू छन् तर पनि कतिपटक एक्लो भएको महसुस गर्छाैं । श्रीमान–श्रीमतीहरू सँगै छन् तर कतिपटक आफैलाई एक्लो पाइराखेका हुन्छौं । मण्डलीमा आयो सयौंको संख्यामा विश्वासीहरूसँग एउटै छानामुनि बसेर आराधना गर्छाैं । तर पनि अप्ठ्यारो परेको समयमा आफैलाई एक्लो भेट्टाउँछौं । हामी कतिपटक यस्तो महसुस गर्न पुग्छौं कि परमेश्वर पनि मसँग हुनुहुन्न । यदि परमेश्वर मसँग हुनुभएको भए यी सबै कुराहरू किन मेरो जीवनमा घटिराखेको छ त ?
परमेश्वर मसँग हुनुभएको भए मेरो परिस्थिति यस्तो नहुनुपर्ने हो भनेर मानवीय सोचले हामी विचार गर्छाैं र आफैलाई एक्लो भेट्टाउँछौं । हाम्रो जीवनमा हामीले सोचेको अनुसार होस् या नहोस् तर परमेश्वरचाहिँ हाम्रो साथमा हुनुहुन्छ । उहाँले हामीलाई कहिल्यै पनि छोड्नुहुन्न अनि त्याग्नु पनि हुन्न । उहाँ सबै अवस्थामा हाम्रो साथमा रहनुहुने परमेश्वर हुनुहुन्छ । हामी सफलताको चुचुरोमा पुगेको समयमा पनि र असफलताको मैदानमा रहेर छट्पटाइरहेको समयमा पनि परमप्रभु हाम्रो साथमा हुनुहुन्छ । परमेश्वरले गिदोनलाई भन्नुभयो, “तँ वीर मानिस होस्, र परमप्रभु तँसँग हुनुहुन्छ” (न्यायकर्ता ६ः१२) । तर गिदोनले वर्तमान परिस्थितिको कारणले गर्दा त्यो कुरा विश्वास गर्न सकिराखेको थिएन । हामी पनि कतिपटक वर्तमान परिस्थितिलाई हेरेर गिदोनले जस्तै परमेश्वर साथमा हुनुभएको सत्यतालाई स्वीकार्न सक्दैनौं ।
इस्राएलीहरूले पटक–पटक परमेश्वर उनीहरूको साथमा नहुनुभएको महसुस गरेको कुरा न्यायकर्ताको पुस्तकमा पढ्दा थाहा गर्न सक्छौं । गिदोनले यसरी प्रश्न गरेका थिए– “हजूर, सुन्नुहोस्, परमप्रभु साँच्ची नै हामीसँग हुनुहुन्छ भनेता यी सबै किन हामीलाई भएको ? उहाँका ती सबै आश्चर्य कामहरू के भए, जो हामीले आफ्ना पिता पुर्खाहरूबाट सुनेका छौं, जसले भन्थे, ‘के परमप्रभुले हामीलाई मिश्रदेशबाट निकालेर ल्याउनुभएको होइन ?’ तर अब त परमप्रभुले हामीलाई त्याग्नुभएको छ, र हामीलाई मिद्यानीहरूका हातमा सुम्पिदिनुभएको छ ।”
गिदोनले जस्तै हामीले पनि कति पटक यो प्रश्न गर्यौं होला र कतिले अहिले पनि गरिराख्नुभएको होला । परमेश्वर मेरो साथमा हुनुभएको भए यी सबै कुरा किन मलाई भएको हो ? किन मेरो परिवारमा भएको हो ? किन हाम्रो मण्डलीमा भएको हो ? हामीमध्ये कतिको जीवनमा किन, किन, किन भन्ने थुप्रै प्रश्नहरू होलान् । हामीमध्ये कतिले विगतमा आफ्ना प्रियजनहरू गुमाएको कारण परमेश्वरप्रति हाम्रो तीतो प्रश्न पनि होला । हाम्रो ह्दयमा भएका कति प्रश्नहरूको उत्तर यस संसारमा भएको समयमा पाउन सक्छौं तर कति प्रश्नको जवाफ हाम्रो निम्ति रहस्य र अनुत्तरित नै हुन्छन् । हाम्रो जीवनमा जे जस्तो घटना घटे तापनि प्रभुचाहिँ हाम्रो साथमा नै हुनुहुन्छ । स्वर्ग उचालिनु अघि येशूले चेलाहरूलाई भन्नुभयो, “हेर म युगको अन्तसम्म सधैँ तिमीहरूको साथमा छु” (मत्ती २८ः२०) । गिदोनको लागि परमेश्वरले गर्नुभएका सबै कामहरू एउटा इतिहास भएको छ । उसले वर्तमान परिस्थितिलाई हेरेर निकालेको निचोडचाहिँ हो– परमेश्वरले त्याग्नुभएको छ, छोड्नुभएको छ । हामी पनि कतिपटक हाम्रो वर्तमान परिस्थितिलाई हेरेर गिदोनले जस्तै परमेश्वरले मलाई त्याग्नुभएको छ, छोड्नभएको छ, उहाँ मेरो साथमा हुनुहुन्न, मेरो परिवारमा हुनुहुन्न, मेरो व्यवसायमा हुनुहुन्न, मेरो काममा हुनुहुन्न, मेरो पढाईमा हुनुहुन्न, मेरो भविष्य अन्धकारमय छ, मेरो जीवनको कुनै आशा छैन भन्ने निचोड निकाल्छौं । तर परमेश्वर भन्नुहुन्छ, “म तँसँग छु ।”
हामी सुखको समयमा होस् वा दुःखको समयमा, भोजको समयमा होस् वा शोकको समयमा, सफलताको समयमा होस् वा असफलताको समयमा, आरोग्यताको समयमा होस् वा रोगी भएको समयमा, पैसा प्रशस्त भएको समयमा होस् वा ऋणमा डुबेको समयमा, मानिसहरूले प्रशंसा गरेको समयमा होस् वा मानिसहरूले तिरस्कार गरेको समयमा होस् वा एक्लो भएको समयमा, विवाह बन्धनमा जोडिएको समयमा होस् वा मृत्युले अलग गरेको समयमा, जीवनका सबै अवस्थाहरूमा परमेश्वर हाम्रो साथमा हुनुहुन्छ । हाम्रो जीवनमा विगतमा के कस्ता घटनाहरू घटे र भविष्यमा कस्ता घटनाहरूको हामीले सामना गर्नुपर्नेछ ती सबै दिनहरूमा परमेश्वर हाम्रो साथमा हुनुहुन्छ । उहाँले हामीलाई जीवनका सबै अवस्थामा जिउनलाई अनुग्रह दिनुहुन्छ । पावललाई प्रभुले भन्नुभयो “मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ” (२ कोरिन्थी १२ः९) । इस्राएलीहरूले परमेश्वरबाट त्यागिएको महसुस गरेका थिए तर वास्तवमा परमेश्वरले इस्राएलीहरूलाई त्याग्नुभएको थिएन । उनीहरूले परमेश्वरलाई त्यागेका थिए (न्यायकर्ता २ः११–१३, ३ः७, १२, ४ः१, ६ः१, १०ः६, १३ः१) । उहा“ले तिनीहरूलाई त्याग्नुभएको भए तिनीहरूले पुकारा गर्दा उहाँले तिनीहरूको पुकारा सुन्नुहुने थिएन (न्यायकर्ता १०ः१०–१२) । तिनीहरूलाई अनुशासन गर्नको निम्ति मात्र उहाँले तिनीहरूलाई तिनीहरूको शत्रुको हातमा सुम्पिदिनुभएको थियो ताकि तिनीहरूले आफ्नो पाप थाहा गरेर परमेश्वरतर्फ फर्कून् । उहाँले तिनीहरूलाई प्रेम गर्नुहुन्थ्यो । त्यसकारण उहाँले तिनीहरूको पुकारा सुन्नुभयो । यदि उहाँले तिनीहरूलाई प्रेम नगर्नुभएको भए उनीहरूले पुकारा गर्दा उहाँले सुन्नुहुने थिएन र उहाँले तिनीहरूलाई उद्धार गर्नुहुने थिएन । उहाँको ह्दयमा तिनीहरूको निम्ति सधैँ प्रेम थियो ।
उडन्ता पुत्रले बाबुलाई त्यागेर गयो । तर बाबुको ह्दयमा ऊप्रति सधैँ प्रेम थियो । उसको निम्ति बाबुको अँगालो सधैँ खुल्ला थियो । हामी कतिपटक परमेश्वरबाट टाढा हुन्छौं । कतिले त विश्वास नै त्याग गर्छन् । इस्राएलीहरूले परमेश्वरलाई विश्वास त्याग गरेर पूरै इन्कार गरेर संसारमा फर्केका थिए । तर परमेश्वरले तिनीहरूलाई विभिन्न परिस्थितिहरू चलाएर फेरि पनि फर्कने मौका दिनुभयो । परमेश्वर धीरजी हुनुहुन्छ । उहाँले सधैँ मानिसहरूलाई फर्केर आउने मौका दिन चाहनुहुन्छ । हामीले परमेश्वरलाई छोडेता पनि उहाँले हामीलाई छोड्नुहुन्न, त्याग्नुहुन्न । उहाँले हामीलाई आफ्नो हत्केलामा खोपेर राख्नुभएको छ (यशैया ४९ः१६) ।
परमेश्वर हाम्रो जीवनको सबै परिस्थितिमा हाम्रो नजीक हुनुहुन्छ । दुःख, कष्ट, संकष्ट, परीक्षा र परिस्थितिहरू खराब भएर गएको समयमा उहाँ झनै नजीक हुनुहुन्छ । किसानले रूखको हाँगाहरूलाई छिँवल्दा दुख्छ तर त्यो बेला किसान बोटको सबैभन्दा नजीक भएको हुन्छ । किसानले किन छिँवल्छ ? त्यस रूखमा झन् बढी फल फलोस् भनेर छिँवल्छ । योसेफ मिश्रको प्रधानमन्त्री हुनुअघि उनले धेरै वटा जाँचहरू पास गर्नुपर्यो। १७ वर्षको उमेरमा आÏनै दाजुभाइहरूले मिद्यानीहरूको हातमा बेचिदिए । मिद्यानीहरूले पोतीफरको हातमा बेचिदिए । पोतीफरको श्रीमतीले नराम्रो आरोप लगाएको कारण पोतीफरले उनलाई झ्यालखानमा हालिदिए । योसेफले १३ वर्षसम्म कष्टका धेरैवटा जाँचहरू सामना गर्नुप¥यो । उनी ३० वर्षको उमेरमा मिश्रको प्रधानमन्त्री बन्न पुगे (उत्पत्ति ४१ः४६) । योसेफले १३ वर्षसम्म भोगेको दुःख कष्टलाई सम्झियौं भने कहालीलाग्दो छ । तर उनले परमेश्वरलाई कहिले पनि छोडेनन् । उनी परमेश्वर सँगसँगै हिँडिरहे । योसेफको सफलताको रहस्य के थियो ? उनको सफलताको रहस्य नै परमप्रभु उनको साथमा हुनुहुन्थ्यो (उत्पत्ति ४९ः२१,२३)। परमेश्वर साथमा हुनुभएकाहरूको जीवनमा दुःख, कष्ट, समस्या, संकष्ट, शोक आउँदैन भनेर परमेश्वरको वचनमा लेखिएको छैन । हामी संसारमा छौं । संसारमा छउञ्जेल यस्ता कुराहरूको सामना हामीले घरिघरि गरि नै राख्नुपर्छ । हामीमध्ये कसैको जीवनमा धेरै होला कसैको जीवनमा थोरै होला तर सबैले जीवनको कुनै न कुनै क्षेत्रमा चुनौती र संघर्षको सामना गरिराखेका हुन्छौं । संसारको कुनैपनि कुनामा गए तापनि चुनौती र संघर्षले हामीलाई छोड्दैन । हामी अमेरिका, बेलायत, जापान, कोरिया, अष्ट्रेलिया, मलेशिया, अरब मुलुकहरू वा संसारको कुनैपनि मुलुकमा हुनेहरूलाई एक किसिमको चुनौती र संघर्षहरू छन् भने नेपालमा हुनेहरूलाई अर्को किसिमको चुनौती र संघर्षहरू छन् । तर जतिले प्रभु येशू ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर ग्रहण गरेका छन् उनीहरूको साथमा येशू ख्रीष्ट हुनुहुन्छ । उहा“ले हामीलाई कहिले पनि नछोड्ने प्रतिज्ञा गर्नुभएको छ (हिब्रू १३ः५) ।
दाऊद इस्राएलको राजा हुनुअघि उनले पनि दुःख, कष्टका धेरैवटा जाँचहरू पास गर्नुपर्यो । उनी दाजुभाइहरूमध्ये सबैभन्दा कान्छो र हेला गरिएको व्यक्ति थियो । उनी परिवारबाट खसालिएको, नगनिएको, एक्लो भएर जिउनुपरेको थियो । उनी सानो छँदा एक्लै भेडाहरू चराउने गर्थे । उनले आफ्नो जीवन बचाउनको निम्ति शाऊल राजाबाट सधैँ भाग्नुपर्यो । पलिश्तीहरूको देश सिक्लगमा १६ महिना शरणार्थी भएर बस्नुपर्यो
(१ शमूएल २७ः६–७) । यद्यपि शमूएल अगमवक्ताले दाऊदलाई राजा हुनको निम्ति उनी १५ वर्ष हुँदा राजा अभिषेक गरेका थिए । तर बाँकी १५ वर्षसम्म उनले धेरै कुराहरूको सामना गर्नुपर्यो । उनी राजा हुनको निम्ति अभिषेक गरिसकेपछि पनि बाँकी १५ वर्षसम्म विभिन्न कुराहरूको सामना गर्दै जिउनुपर्यो । त्यसपछि मात्र उनी यहूदा र इस्राएलको राजा भए (१ शमूएल १६ः१३, २ शमूएल ५ः३–४) । दाऊदले इस्राएलको राजा हुनुअघि १५ वर्षसम्म दुःख, कष्टका विभिन्न जा“चहरू पास गर्नुपर्यो ।
दाऊदको सफलताको रहस्य के थियो ? उनको सफलताको रहस्य “सर्वशक्तिमान परमप्रभु तिनीसँग हुनुहुन्थ्यो” (२ शमूएल ५ः१०) । शमूएल अगमवक्ताले अभिषेक गरेको दिनदेखि नै परमप्रभुको आत्मा दाऊदस“ग रहनुभएको थियो (१ शमूएल १६ः१३) । उनले जीवनमा धेरै चुनौती, परीक्षा र संघर्षहरूको सामना गर्नुपर्यो । तर परमप्रभु दाऊदको साथमा हुनुभएको कारण उनले जीवनका सबै अवस्थाहरूलाई कुल्चँदै अघि बढ्न सके र परमेश्वरले उनलाई जुन उद्देश्यको लागि अभिषेक गर्नुभएको थियो त्यो उनको जीवनमा पूरा भयो । दानिएल सिंहको खोरमा हुँदा पनि परमेश्वर साथमा रहनुभयो । शद्रक, मेशक, अबेद्नगो आगोको भट्टीमा फालिएको समयमा पनि परमप्रभु साथमा रहनुभयो । “तँ पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु । तँ नदीहरूबाट भएर जाँदा तिनले तँलाई डुबाउनेछैनन् । तँ आगोबाट हिँडेर जाँदा डढ्नेछैनस् । त्यसको ज्वालाले तँलाई भस्म पार्नेछैन” (यशैया ४३ः२) । हामी जुनसुकै परिस्थिति भएर जाँदा पनि परमप्रभु हामीसँग हुनुहुन्छ भन्ने सत्यता धर्मशास्त्रमा थाहा गर्नसक्छौं । परमेश्वरले डराइरहेका इस्राएलीहरूलाई भन्नुभयो “नडरा, किनकि म तँसित छु । निरूत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ । म तँलाई बलियो पार्नेछु । म तँलाई सहायता गर्नेछु । मेरो धार्मिकताको दाहिने हातले म त“लाई समाल्नेछु” यशैया ४१ः१० । परमेश्वर सबै परिस्थितिहरूमा हामीसँग हुनुहुन्छ । तर प्रश्नचाहिँ यो छ कि, के हामीचाहिँ सबै परिस्थितिहरूमा उहाँसँगै हिँड्दैछौ ? कि त किन, किन, किन प्रश्न सोधेर उहाँसँग मन दुखाएर टाढा टाढा टाढा हुँदैछौं । जीवनको खराब परिस्थितिमा यूसुफ, दाऊद, दानिएल, शद्रक, मेशक, अबेद्नगो परमेश्वरबाट टाढा भएनन् । उनीहरू सबै परिस्थितिमा परमेश्वरमा नै भर पर्दै उहाँको साथमा उहाँ सँगसँगै हिँडेको कारण उनीहरूको जीवनमा परमेश्वरको योजना प्रबल भयो ।
एक हातले ताली बज्दैन । परमेश्वर मात्र हामीसँग हिँड्न चाहेर हुँदैन । हामी पनि उहा“स“ग दिनदिनै हिँड्नुपर्दछ । हामीलाई परमेश्वरसँग हिँड्न नदिने धेरै कुराहरू हुन सक्छन् । परमेश्वरसँग हिँड्नलाई बाधा दिने एउटा मुख्य कुराचाहिँ अविश्वास हो । गिदोनलाई स्वर्गदूतले परमप्रभु तँसँग हुनुहुन्छ भन्ने समाचार दिँदा उनले अविश्वासको प्रश्न गरेका थिए (न्यायकर्ता ६ः१३) । उनको अविश्वासले गर्दा उनले परमेश्वरसँग तीनवटा चिन्हहरू मागेका थिए (न्यायकर्ता ६ः१७,१८,३६–३८, ३९–४०) ।
गिदोनले शुरूमा परमेश्वरमा अविश्वास गरे तापनि परमेश्वर उनीप्रति विश्वासयोग्य हुनुभयो । हामी पनि कतिपटक हाम्रो अविश्वासको कारणले गर्दा घरि घरि परमेश्वरलाई जाँच गर्छाैं । तर आफ्नो प्रतिज्ञाअनुसार परमेश्वर सधैँ हाम्रो साथमा नै हुनुहुन्छ ।
हामीमध्ये कतिले यो कथा सुनेका होऔंला– एकदिन एउटा मान्छेले सपना देखेछ । त्यो सपनामा ऊ परमेश्वरस“ग समुद्रको किनारमा एक्लै हिँडिराखेको थियो । हिँडिराखेको एउटा पाइला उसको थियो भने अर्को पाइला परमेश्वरको थियो । तर उसको जीवनमा आएका समस्या, दुःख, कष्ट, पिडाको समयमा चाहिँ उसले एउटा मात्रै पाइला देखेछ । यसले उसलाई धेरै चिन्तित बनायो अनि उसले परमेश्वरलाई सोधेछ । प्रभु तपाईंले भन्नुभयो जब म तपाईंलाई पछ्याउन निर्णय गरेर हिँडछु तपाईं सबै अवस्थामा म सँगै हिँड्नुहुनेछ । तर प्रभु मेरो जीवनको एकदमै दुःखको समयमा, संघर्षको समयमा मैले एउटै मात्र पाइला देखें । किन प्रभु तपाईंले यस्तो समयमाचाहिँ मलाई एक्लै छोडिदिनुभयो ? तर प्रभुले भन्नुभएछ, मेरो प्यारो छोरा, म तिमीलाई प्रेम गर्छु । तिम्रो जीवनको सबै दुःख, कष्ट र जाँचहरूमा म तिमीलाई कहिल्यै पनि छोडनेछैन, कहिल्यै पनि त्याग्नेछैन । जब तिमीले एउटै मात्र पाइला देख्यौ त्यो पाइलाचाहिँ मेरो थियो । किनकि तिमी त्यो समयमा हिँड्न नसक्ने भएका थियौ र त्यो समयमा मैले तिमीलाई आफ्नो काँधमा बोकेर हिँडेको थिएँ । हाम्रो परमेश्वर हामी हिँड्न नसक्दा बोक्ने परमेश्वर हुनुहुुन्छ । हामीलाई बोकेर हिँड्नुहुने परमेश्वरलाई आफूले भनेको जस्तो नहुँदा गनगन गर्ने, अविश्वास गर्ने र उहाँलाई छोडेर अर्कै बाटो हिँड्ने नबनौं । हामी जुन बोलावटमा छौं, त्यो बोलावटमा रहिरहौं र आफ्नो दौडा पूरा गरेर परमेश्वरलाई महिमा दिनेहरू बनौं । हामी सफलताको चुचुरोमा पुगेको समयमा पनि र असफलताको मैदानमा रहेर छट्पटाइरहेको समयमा पनि, सबै अवस्थामा हाम्रो साथमा रहनुहुने परमेश्वर हुनुहुन्छ । यस्तो परमेश्वरलाई छोडेर हामी कहाँ जान सक्छौं ?