अगाडि राखिएको निशानामा पुग्न अतीतलाई नहेरौं – पाष्टर रोबर्ट कार्थक
January 1, 2016 | Articles
‘परमप्रभुले हामीलाई यहाँसम्म सहायतागर्नुभएको हो’ भनी एबेनएजेरको स्मारकको कोशे ढुङ्गो यहाँ गाडौं । हामीले अब सन् २०१६ सालको नौलो क्षेत्रमापाइलो टेकेका छौं ।
हामीलाई यहाँसम्म डोर्याउनुहुने परमेश्वरले भविष्यका दिनहरूमा पनि त्यसरी नै डोर्याउनु हुनेछ भन्ने हामीलाई पूरा विश्वास छ । इस्राएलीहरूको निम्ति डेरा हाल्ने ठाउँ खोज्न र तिनीहरू जानुपर्ने बाटो देखाउन रातीआगो र दिउँसो बादलमा यात्राभरि अगि अगि जानुहुने परमेश्वर आज पनि आफ्नो पवित्र आत्माद्वारा हामीलाई डोर्याउँदै हुनुहुन्छ ।
हाम्रा अतीतका सबै नमीठा, तीता कुराहरू बिर्से तापनि हामीले परमप्रभुका सबै उपकारहरू बिर्सनुहुन्न, हामी स्वभावैले भुल्ने प्राणीहरू हौं । उत्तम दानहरू पाए पछि दिने दातालाई चाहिँ सजिलै बिर्सने हाम्रो स्वभाव छ । पाएका असल कुरामा नै ध्यान मग्न भएर ती कुराहरू दिनुहुने परमेश्वर पितालाई हामी ‘धन्यवाद’भन्नपनि बिर्सन्छौं । यो पनि राम्रो कुरो होइन । दाऊद आफ्नो मनलाई भन्दछन्, ‘हे मेरो मन, परमप्रभुलाई धन्यभन्, उहाँका सबै उपकारहरूलाई नबिर्सी’ (भजनसंग्रह १०३ः२) ।
“लूतकी स्वास्नीलाई सम्झ” (लूका १७ः३२) । सदोमबाट भागेर जाँदा स्वर्गदूतले नहेर्नू भनेर दिएको आज्ञा नमानेर पछि छोडिराखेका धन सम्पत्तिको लोभले गर्दा उसले पछिल्तिर फर्केर हेरी र ऊ नूनको खाँबो भई (उत्पत्ति १९ः२६) । प्रभु भन्नुहुन्छ, “आफ्नो हात हलोमा लगाएर पछिल्तिर हेर्ने कोही पनि परमेश्वरको राज्यको योग्य हुँदैन” (लूका ९ः६२) । हामी पुग्नुपर्ने ठाउँ अघिल्तिर भएको हुनाले चाँडै नै पुग्नलाई पछि फर्केर हेरिरहन केही आवश्यकता छैन ।
यदि अब्राहाम र साराले पछिल्तिर हेरेका भए तिनीहरूले अघि राखिएका उत्तम आशिष्हरू सबै गुमाउने थिए । हिब्रू ११ः१५–१६ मा लेखिएको छ, “जुन देशबाट तिनहरू निस्केर गएकाथिए, यदि तिनीहरूले त्यही देशका विषयमा सोचेका भए तिनीहरूलाई फर्की जाने मौकामिल्ने थियो तर तिनीहरू अझ उत्तम देश, अर्थात् एक स्वर्गीय देशको इच्छा गर्छन् । यसैकारण परमेश्वर तिनीहरूका परमेश्वर भनी पुकारिनु, शर्माउनु हुन्न, किनभने उहाँले तिनीहरूका निम्ति एउट सहर तयार पारिदिनुभएको छ ।” अब्राहाम र तिनका साथमा भएकाहरूले तिनीहरूले पछि छाडिराखेका देशका विषयमा सोचेनन्, तिनीहरूले बिर्सिदिए र तिनीहरू अझउत्तम देशमापुग्न सके ।
अतीतका कुराहरूले नै हामीलाई अघि बढ्ने क्रममा धेरै बाधा दिन्छन् । बितेका कुराहरूको सम्झनाले कि त हामीलाई अभिमानी बढाउँछ वा त हतोत्सह गराउँछ । हामीले पाएको सफलतामा हामी आफै घमण्ड गर्न लाग्छौं । अनि परमेश्वरकै सेवामा यो कामगरिसिध्यायौं भनेर कतिचोटि हामीले केही गरेर देखायौं भन्ने लाग्छौं भने हामी सबै श्रेय आफै लिन्छौं अनि परमेश्वरलाई दिनुपर्ने पूरा महिमा उहाँलाई दिँदैनौं साथै हामी आफैलाई सफल ठान्न लाग्छौं र अरूलाई चाहिँ हेलाको दृष्टिले हेर्न लाग्छौं । हाम्रो उपलब्धीकम रह्यो भने हामी आफैलाई असफल सम्झन लाग्छौं अनि आत्माग्लानीले हामीलाई पिरोल्न थाल्छ । हामी आफैलाई दोष दिन लाग्छौं । अयोग्य, बेकामे ठान्न थाल्छौं । हामीमा हीनताबोध बढेर आउँछ र हामीमा भएको जोश, उत्साह सेलाएर जान्छ । यसैले होला यशैया ४३ः१८–१९ मा परमेश्वर भन्नुहुन्छ, “बितेका कुराहरूलाई नसम्झ, उहिलेका कुराहरूलाई विचार नगर । हेर, म एउटा नयाँ कुरा गर्नेछु ।
२ पत्रुस १ः३ ले भन्दछ, “…परमेश्वरको ईश्वरीय शक्तिद्वारा जीवन र भक्तिको निम्ति हामीलाई चाहिने प्रत्येक थोक उहाँले हामीलाई दिनुभएको छ ।” तर १ कोरिन्थी ३ः२१–२३ अनुसार हामीलाई दिइएको सबै थोक हाम्रो वत्र्तमान र हाम्रो भविष्यमा पनि भेटाउनेछौं तर हाम्रो भुल वा अतीत भेटाउँदैनौं । किन होला? हुन सक्छ, परमेश्वर पिताले हाम्रो आउँदो जीवनको सफलताको निम्तिबितेको जीवनको विशेष् आवश्यकता पर्दैन भनेर नै हामीलाई नदिनुभएको होला!
रोमी ८ः३८–३९ मापावल भन्दछन्, “म यो पक्का गरी जान्दछु, कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले वा प्रधानताहरूले, वत्र्तमानका कुराहरूले वा पछि हुने कुराहरूले, वाशक्तिहरूले, उचाइले वागहिराइले, वा सारा सृष्टिमा भएका कुनै पनि कुराले ख्रीष्ट येशू हाम्रा प्रभुमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलगगर्न सक्ने छैन ।” यहाँ पावल बताउन चाहन्छन् कि परमेश्वरको अटल प्रेम कहिल्यै पनि टल्दैन । उहाँले हामीलाई अनन्तको, बिनाशर्तको, पवित्र, चोखो, प्रेमले प्रेम गर्नुभएको छ । हामी प्रेम गरिने योग्यको भएर होइन तर उहाँ स्वयं प्रेम हुनुभएकोले हामी अयोग्यहरूलाई पनि उहाँले ख्रीष्टमा प्रेम गर्नुहुन्छ । तर माथि दिइएको रोमी ८ः३८–३९ को सूचीमा पनि वर्तमानका कुराहरू वा पछि हुने कुराहरू मात्र भेटाउँछौं तर अतीतका कुराहरू त्यहाँ भेटाउँदैनौं, किनहोला?
दौडको बारेमा फिलिप्पी ३ः१२–१४ पदहरूमा पावल बताउँछन्, “… म एउटा काम गर्दछु कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोडसँग लम्कदै ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर जोडसँग अगि बढ्दछु ।” यहाँ पछाडिका कुराहरू भनेको चाहिँ बितेको जीवन, अथवा अतीतका कुराहरू हुन् । पछाडिका कुराहरू किन बिर्सने ? कारण २ कोरिन्थी ५ः१७मा पावल बताउँछन्, “यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो । पुरानो बितिगएको छ, हेर, नयाँआएको छ ।”
भर्खरै जन्मेको बालकको अतीत नभएको जस्तै ख्रीष्टमा विश्वास गर्ने व्यक्तिको पुरानो जीवन पनि सिद्धिसक्यो । पुरानो कुराहरू बितिसके, अब सबै कुरा नयाँभएका छन् । यसैले हामीले बितेका जीवनको कुरातिर हेरि बस्नु आवश्यकता छैन । निशाना अगाडि छ, पछाडि होइन, यसकारण अगाडि बढ्दै जाऔं, अतीतलाई नहेरौं ।