आजको आवश्यकता–परमेश्वरलाई चिन्ने पुस्ताको निश्चयता – डिकन अर्जुन ढकाल

March 3, 2016 | Articles  

मानिसहरूले आफ्ना बाल–बालिकाहरूलाई येशूले छोइदिऊन् भन्ने उद्देश्यले उहाँकहाँ ल्याए, वास्तवमा यो निकै नै असल कुरो हो । तर दुःखको कुराचाहिँ के भने चेलाहरूले तिनीहरूलाई हकारे अथवा बाल–बालिकाहरूलाई येशूकहाँ आउनबाट रोक्न खोजे । यो व्यवहार प्रभु येशूलाई मन परेन र उहाँले भन्नुभयो, “साना बाल– बालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक ।” उहाँले बाल–बालिकाहरूलाई छुनु मात्र भएन तर काखमा लिनुभयो, आफ्ना हात राख्नुभयो र आशीर्वाद दिनुभयो । यो कुराबाट हामी स्पष्ट हुन सक्छौं कि बाल–बालिकाहरूप्रति येशूको प्रेम निकै ठूलो थियो । मानिसहरूले बाल–बालिकाहरूलाई झन्झटिला सोचे तापनि येशूले उनीहरूलाई प्रेम दर्शाउनुभयो (मर्कूस १०ः१३–१६) । उहाँले भन्नुभयो, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक । किनभने परमेश्वरको राज्य यस्तैहरूको हो । साँच्चै म तिमीहरूलाई भन्दछु, जसले एउटा बालकले जस्तै परमेश्वरको राज्यलाई ग्रहण गर्दैन, त्यो कुनै रीतिले त्यसभित्र प्रवेश गर्नेछैन ।”

केही समय अगाडि इराक देशमा घटेको एउटा घटना स्मरणयोग्य छ । जब विद्रोहीहरूले आफ्ना कब्जामा रहेका ख्रीष्टियान बाल–बालिकाहरूलाई तिमीहरू येशूलाई इन्कार गर, हामी केही गर्दैनौं भने, मृत्यु निश्चित भइसकेको अवस्थामा पनि निकै साहसका साथ उनीहरूले आफूहरू येशूलाई प्रेम गर्ने भएकाले उहाँलाई त्याग्न नसक्ने बताए । आज ती बाल–बालिकाहरूको त्यो साहस सारा संसारभरका इसाईहरूका निम्ति उत्साह र चुनौति बनेको छ । आत्मिकी कुराहरूभन्दा सांसारिक कुराहरूको व्यापकता भएको यस संसारमा हाम्रा बाल–बालिकाहरूलाई येशूकहाँ ल्याउनु, उहाँबाटको मार्ग निर्देशन खोज्ने बनाउनु अपरिहार्य छ । “बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन” हितोपदेश २२ः६ । हामी बाबुआमा तथा अभिभावकहरूले हाम्रो घर वा मण्डलीका बाल–बालिकाहरूलाई प्रभुको वचनअनुरुप हिँड्न सिकाउनु परेको छ । व्यवस्था ६ः७ मा उल्लेख गरेझैँ “ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ । घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर ।” यदि हाम्रो घर ख्रीष्ट–केन्द्रित घर हुने हो भने हाम्रो घरमा ख्रीष्टको चर्चा हुनु जरुरी छ । आज हाम्रो घरमा चर्चाको विषय के बनेको छ ?

बाबुआमा/अभिभावक आफै उदाहरण बनेर प्रभुलाई प्रेम गर्न र उहाँका आज्ञापालन गर्न बाल–बालिकाहरूलाई सिकाउनुपर्छ । हामीले बाल–बालिकाहरूका आत्मिक जीवनका बारेमा पनि ख्याल गर्नु अपरिहार्य छ । मण्डलीमा बालसंगति भइरहेको छ अनि कतिपटक हाम्रा बाल–बालिकाहरू बालसंगतिमा हुनुपर्ने हो तर बाहिर नै हुन्छन्, यस विषयमा पनि हामीले चासो राख्नु जरुरी छ । खाना खाऊ, पढ, लेख, सुत, उठ, विद्यालय जाऊ भन्ने मात्रै नभएर अभिभावकहरूले उनीहरूलाई बाइबल पढ्ने, प्रार्थना गर्ने, बालसंगतिमा पठाउने, भजन गाउने अनि सबै कुराहरूमा परमेश्वरलाई धन्यवाद दिनेजस्ता आत्मिकी कुराहरू पनि सम्झाउनु/सिकाउनु आवश्यक छ । उनीहरूलाई हामीले यो पनि भन्न सक्नुपर्छ, “मेरो अनुकरण गर्ने होओ, जसरी म ख्रीष्टको अनुकरण गर्दछु” १ कोरिन्थी ११ः१ ।

अभिभावकहरूको अर्को जिम्मेवारी बाल–बालिकाहरूलाई नचिढ्याउनु अर्थात् रीस नउठाउनु तर उनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काउनु हो (एफिसी ६ः४) । बाबुआमाले निरन्तर प्रार्थनाको साथमा बाइबलीय शिक्षा र सिद्धान्तमा आधारित व्यवहार दर्शाउने हो भने बाल–बालिकाहरूलाई ख्रीष्ट–केन्द्रित बन्न सहायता पुग्छ । उनीहरूलाई हाम्रो आकांक्षामा नभएर आत्माको अगुवाइमा चल्न र प्रभुको भरोसामा हिंड्न सिकाउनुपर्छ । थुप्रै त्यस्ता बाबुआमाहरूका उदाहरण हामी देख्न सक्छौं जसले बाल–बालिकाहरूलाई आफ्नो इच्छामा हिंड्न कर लगाएर प्रभुको अभिप्रायलाई गुमाएका छन् । हन्नाले झैं हामीलेत हाम्रा बालबालिकाहरूलाई परमप्रभुमा अर्पण गर्नुपर्दछ
(१ शमूएल १ः२२,२८) । बालबालिकाहरूले पनि सदैव आफ्ना बाबुआमाको आज्ञापालन गर्नुपर्छ । प्रभुको वचनले भन्दछ, “छोराछोरी हो, प्रत्येक कुरामा आफ्ना आमा–बाबुको आज्ञापालन गर । किनकि यस कुराले प्रभुलाई प्रसन्न तुल्याउँछ” कलस्सी ३ः२० ।

आफ्ना परिवार एक असल परिवार होस् भन्ने चाहना कसको हुँदैन र ? यदि त्यसो हो भने, सर्वप्रथम हामीले आफ्नो हृदय परमेश्वरतर्फ फर्किएको छ कि छैन सो जाँच्नुपर्छ । कसैले भनेका छन् कि ख्रीष्ट–केन्द्रित परिवार स्वर्गको एक आभाष् पनि हो । हामीहरूको एकआपसको सम्बन्धले परमेश्वरसँगको हाम्रो सम्बन्धलाई प्रतिबिम्बित गर्छ । जहाँ ख्रीष्ट–केन्द्रित श्रीमान् प्रभुको अधीनतामा, ख्रीष्ट–केन्द्रित श्रीमती श्रीमानको अधीनतामा, ख्रीष्ट–केन्द्रित बाल–बालिका आमाबाबु/अभिभावकको आज्ञाकारीतामा रहन्छन् – जुन एक असल ख्रीष्टिय परिवारको चित्रण हो । यसरी एकअर्काको अधीनतामा रहेको परिवार असल परिवार हुन्छ । यहोशूले भने, “…म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं” यहोशू २४ः१५ । के आज हामीले यो संकल्प गरेका छौं ? कतिपटक यो अवस्था सार्थक नबन्नुको कारण बाबुआमा वा अभिभावकले आफ्नो घरमा ख्रीष्ट–केन्द्रित वातावरण सृजना गर्न नसक्नु हो ।

पुस्ता–अन्तर (Generation Gap) हाम्रो लागि नयाँ विषय होइन, हामीले धेरै पटक सुनेको विषय हो । के हामी परमेश्वरलाई प्रेम गर्ने पुस्ता देख्न चाहदैनौं र ? हो, हामी सबैजनाको उत्कट इच्छा छ कि सबै व्यक्ति तथा पुस्ताले परमेश्वरलाई प्रेम गरोस् ! व्यक्ति वा पुस्ता निर्माण प्रक्रियामा प्रत्येक परिवारको उल्लेख्य भूमिका रहेको हुन्छ । परिवार निर्माण भन्ने वित्तिकै तपाईंको विचारमा कस्तो प्रकारको चित्र आउँछ ? सायद हामी सबैलाई परिवारका हरेक सदस्य एकसाथ् अघि बढेको मन पर्छ, होइन त ? परिवारका सबै सदस्यहरू मिलिजुली काम गर्नु निकै असल कुरा हो । अझैँ एउटा ख्रीष्टियान परिवारका ड्डनिम्ति त यो झनै अपरिहार्य कुरा नै हो !

विविध कारणले बाल–बालिकालाई सांसारिक कुराहरूले बढी प्रभाव पारेको हुन्छ, यदि यही कुराको विकास हुँदै गयो भने हामीले परमेश्वरलाई प्रेम गर्ने पुस्ता गुमाउँछौं । “पछि एउटा अर्को पुस्ता आयो जसले परमप्रभुलाई चिन्दैनथ्यो नता उहाँले इस्राएलको निम्ति गर्नुभएको कामलाई पनि जान्दथ्यो” न्यायकर्ता २ः१० । यहोशूको मृत्युपछि एउटा यस्तो पुस्ता आयो जसले परमप्रभुको दृष्टिमा जे खराब थियो त्यही गर्न लाग्यो । “एउटा पुस्ताले रूख रोप्छ र अर्को पुस्ताले त्यसको छायाँ पाउँछ” यो चीन देशको प्राचीन भनाई हो । “हामीले आज कस्तो रूख रोप्दैछौं ?” ज्वलन्त प्रश्न हाम्रो अघि छ । आज यदि हामीले पनि आफूले घरका, मण्डली तथा समाजका बाल–बालिकाहरूको निम्ति निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गरेनौं भने आउँदो पुस्ता कस्तो होला ! “धोकामा नपर, परमेश्वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ” गलाती ६ः७ ।

यस्तो विषम परिस्थितिमा हाम्रा छोराछोरी, मण्डलीका बाल–बालिका तथा सम्पूर्ण बाल–बालिकाहरूको निम्ति हाम्रो प्राथमिकता के छ ? के हामी प्रभुलाई प्रेम गर्ने पुस्ता तयारीमा अग्रसर हुँदैछौं ? आज हामीले प्रभुलाई प्रेम गर्ने पुस्ता तयार गर्न आ–आफ्नो क्षेत्रबाट उल्लेख्य भूमिका निर्वाह गर्नुपरेको छ । हाम्रा बालबालिकाहरू सर्वाङ्गिण (मानसिक, शारीरिक, आत्मिकी र सामाजिक) रुपमा अघि बढेको दृष्य–अवलोकन हामीले गर्न सक्नुपर्छ जसरी “येशू बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दै जानुभयो” लूका २ः५२ । प्रार्थनासहित् हामी यो चुनौति लिएर भन्न सकौं, “म मेरो घरको छोराछोरी, मण्डलीका बाल–बालिका तथा मेरो वरपर रहेका बाल–बालिकाहरूलाई प्रभुलाई प्रेम गर्ने पुस्ता हुन भरमग्दुर सहायता गर्नेछु ।” प्रभुले हाम्रो यो समर्पणतामा सहायता गरून् !