ख्रीष्टमा पूर्ण जीवन – एल्डर सिमोन पाठक
August 5, 2016 | Articles
कति मानिसहरू मेरो जीवन अधूरो छ, अपूरो छ, अर्थहिन छ भन्ने विचार गर्छन् । यो सोचले गर्दा कतिको जीवन, निराश, हतास, आशाविहीन हुन पुगेको छ तर परमेश्वरको वचनले बताउँदछ, ख्रीष्टमा हामीले पूर्ण जीवन पाएका छौं । कसरी हामीले ख्रीष्टमा पूर्ण जीवन पाएका छौं ? कलस्सी २ः९–१५ पदअनुसार ख्रीष्टमा हामी पूर्ण भएका छौं भन्ने कुराको तीनवटा आधारहरू पाउन सक्छौं ।
पहिलो आधार होः आत्मिकी खतनाद्वारा हामीले ख्रीष्टमा पूर्ण जीवन पाएका छौं (११ पद)
खतना भनेको शरीरको कुनै अंगलाई काटेर फाल्ने काम हो । खतनाको नियम व्यवस्था आउनुभन्दा धेरै समय अघि नै परमेश्वरले अब्राहामलाई ९९ वर्षको उमेर हुँदा खतनाको करार दिनुभएको थियो (उत्पत्ति १७ः९–१४) । अनि यहूदीहरूले यो परम्परालाई निरन्तरता दिँदै आएका थिए । यो एउटा विश्वासमा गरिँदै आएको धार्मिक विधि थियो । यो धार्मिक विधिले सांकेतिक रूपमा दुईवटा कुराहरूलाई दर्शाउँथ्यो । पहिलोचाहिँ हो खतना गर्ने मानिस र उसको परिवारले परमेश्वरमा विश्वास गरिसकेको कुरालाई बुझाउँथ्यो । जब मानिसले परमेश्वरमा भरोसा गर्दछ, तब उसले परमेश्वरमा विश्वास गरेको छु भनी साक्षीको रूपमा देखाउने चिन्ह थियो । खतनाद्वारा यो कुरालाई घोषणा गरिराखेको हुन्थ्यो कि म र मेरो परिवारले परमेश्वरलाई पछ्याएका छौं । हामी उहाँलाई पछ्याइरहने छौं । दोस्रोचाहिँ होः खतनाले शरीरमा भएको पाप स्वभावलाई काटेर फालिदिएको कुरालाई पनि संकेत गर्दथ्यो ।
शरीरको अंगलाई काटेर फाल्ने कुराले सम्पूर्ण पाप स्वभाव वा पापको थैलीलाई काटेर फालिएको छ भन्ने कुरालाई चित्रण गथ्र्यो ।
येशू ख्रीष्टले मानव जातिको पापको निम्ति क्रूसमा प्रायश्चित गर्नु अघिसम्म मानिसले परमेश्वरलाई पछ्याउन यो विधि पालना गर्नुपथ्र्यो तर ख्रीष्टको क्रूसको बलिदान र पुनरूत्थानपछि यो विधिको आवश्यकता छैन ।
येशूलाई ग्रहण गरेको दिन हामीहरू आत्मिक तवरले खतना भयौं । परमेश्वरले अब्राहामलाई दिनुभएको खतनाको कार्य गर्न हातको प्रयोग गर्नुपथ्र्यो, हतियार चलाउनुपथ्र्यो तर आज हामी हातहतियार नचलाइकन खतना भएका छौं । ख्रीष्टलाई ग्रहण गरेको दिन हामीमा भएको पापको थैली काटेर फालिदियौं । ख्रीष्टमा हामी धर्मी ठहरिएका छौं । हामी आत्मिक तवरले खतना गरिएका मानिसहरू हौं । आत्मिक खतनाद्वारा ख्रीष्टमा हामी पूर्ण भएका छौं । दोस्रो आधार होः पुनरूत्थानको जीवनद्वारा हामीले ख्रीष्टमा पूर्ण जीवन पाएका छौं (कलस्सी २ः१२–१३)
कलस्सी २ः१२ पदमा उल्लेख गरिएको बप्तिस्माको विषयमा ईश्वरशास्त्रीहरूको मतभेद छ । जुनसुकै बप्तिस्मा भएतापनि बप्तिस्माको अर्थचाहिँ एउटै नै हो । जब कुनै व्यक्तिले ख्रीष्टलाई ग्रहण गर्दछ त्यही दिन ऊ ख्रीष्टसँगै क्रूसमा टाँगिन्छ । ख्रीष्टको मृत्युमा ऊ सहभागी भएको हुन्छ । पुरानो स्वभावको निम्ति ऊ मारिन्छ अनि गाडिन्छ । ख्रीष्ट मारिनुभयो, गाडिनुभयो । उहाँलाई ग्रहण गरेका दिन हामी पनि उहाँसँग मारियौं अनि चिहानमा गाडियौं । ख्रीष्टसँग मारिनु, गाडिनु र पुनरूत्थानको जीवन पाउनुको पूर्ण चित्र पानीको बप्तिस्मामा देख्न सक्छौं । जब कुनै व्यक्तिले ख्रीष्टलाई ग्रहण गर्दछ त्यही दिन उसले पुनरूत्थानको जीवन पनि प्राप्त गर्दछ । ख्रीष्ट मृत्युबाट जीवित हुनुभयो अनि उहाँलाई ग्रहण गर्नेहरू सबैले उहाँसँग पुनरूत्थानको जीवन प्राप्त गर्दछन् । त्यसकारण पानीको बप्तिस्मा नलिनु भएकाहरूलाई मैले त पानीको बप्तिस्मा लिएको छैन जे गरेपनि हुन्छ भन्ने छुट छैन किनकि ख्रीष्टमा तपाईंहरूले पुनरूत्थानको जीवन पाइसक्नुभएको छ । ख्रीष्टमा विश्वास गर्ने मानिसले आफ्नो हृदयभित्र भएको विश्वासलाई बाहिर प्रकटीकरण गर्ने माध्यम पानीको बप्तिस्मा हो ।
ख्रीष्टमा विश्वास गर्ने व्यक्तिलाई जब पिता, पुत्र र पवित्र आत्माको नाउँमा पानीको बप्तिस्मा दिइन्छ, यसको अर्थचाहिँ हो ऊ ख्रीष्टसँगै पुरानो जीवनको निम्ति मारियो, ख्रीष्टसँगै गाडियो । ख्रीष्टको मृत्युमा ऊ सहभागी भयो । बप्तिस्मा लिनु ख्रीष्टसँग एक हुनु हो । जब पानीबाट बाहिर निस्कन्छ, यसको अर्थ हो ऊ ख्रीष्टको पुनरूत्थानमा सहभागी भयो । ख्रीष्ट जसरी मृत्युपछि जीवित हुनुभयो, त्यसरी नै ऊ पनि ख्रीष्टसँग नयाँ जीवनमा सहभागी भयो । अब उसले जिउने जीवनचाहिँ पुनरूत्थानको जीवन हो । नयाँ जीवन हो । ख्रीष्टमा हुनेहरूले पुरानो जीवन अब जिउँदैनन् । उनीहरूको आनी, बानी, बोलीचाली, चालचलन, व्यवहार, चरित्र सबैमा परिवर्तन हुन्छ । एकैचोटि सिद्धता नदेखिएला तर दिनदिन नयाँ जीवनको ढाँचामा बनिँदै जान्छन् ।
हामी जति जनाले पानीको बप्तिस्मा लिइसकेका छौं के हामी ख्रीष्टमा पुनरूत्थानको जीवन जिउँदैछौं ? पानीको बप्तिस्मा हृदयभित्र भएको परिवर्तनको बाहिरी प्रकटीकरण हो । पानीको बप्तिस्मा लिएको दिन जुन अठोट गरेर बप्तिस्मा लिएका थियौं, त्यहीअनुसार जीवन जिउँदै छौं के ? कति मानिसहरू पानीको बप्तिस्मा लिनुभन्दा अघि नियमित मण्डलीमा आउने, संगतिहरूमा जाने गर्दछन् । अनि बप्तिस्मा र समर्पणपछि बिस्तारै सेलाउँदै जान्छन् । कता–कता मानिसहरूले बप्तिस्माको अर्थ नबुझेर आफ्नो स्वार्थको लागि बप्तिस्मा लिएको जस्तो देखिन्छ । त्यस्ता मानिसहरूले आफैले आफैलाई ठगिराखेका हुन्छन् । पुनरूत्थानमा पाइने आत्मिक आशिष्हरूबाट आफैले आफैलाई बञ्चित गराइराखेका हुन्छन् ।
तेस्रो आधार होः स्वतन्त्रताद्वारा हामीले ख्रीष्टमा पूर्ण जीवन पाएका छांै (कलस्सी २ः१४–१५) ।
ख्रीष्टमा हामीले पाएको स्वतन्त्रतालाई बुझाउनको निम्ति तमसुकको उदाहरण दिइएको छ । तमसुक भनेको ऋण लिएको हुँ भनेर लिखित रूपमा सही छाप गरेर लेखिएको कागज हो । ऋण लिने मानिसले सबै ऋण नतिरेसम्म यो कागज च्यातिँदैन । ऊ ऋणको बन्धनमा बाँधिएको हुन्छ । उसले भनेको समयमा तिर्न सकेन भने उसको घरमा भएको सम्पत्ति पनि जफत हुन सक्छ । त्यो जमानामा लिएको ऋण तिर्न सकेन भने साहुको कमारो बन्नुपथ्र्यो । नेपालमा कमैया प्रथा अन्त्य भएको १६ वर्ष हुँदैछ । यो प्रथाको शुरूवातलाई हेर्ने हो भने मानिसले साहुबाट ऋण लियो, तिर्न सकेन अनि अन्त्यमा साहु महाजनको कमारा बन्नपुगेको पाइन्छ । ऋण लिन जान्ने तर तिर्न नजान्ने मानिस कमारो बन्न पुग्छ ।
परमेश्वरको कानूनमा पाप गर्ने मानिस पापको कमारो हुन्छ । पापको दण्ड मृत्यु हो । हामीले जन्मेदेखि गर्दै आएका पापको हिसाब राख्दै आएको भए अहिले सम्ममा त्यो किताब कत्रो हुन्थ्यो होला । किताबको बाहिरी भागमा पाप गर्ने व्यक्तिको नाउँ छ, अनि त्यो किताबको शीर्षक छ, पापको किताब । अब त्यो पाप मेटाउनलाई कति धर्मकर्म गर्ने, कति दान गर्ने, कति दिन व्रत बस्ने, कति असल कामहरू गर्ने ? मानिसले जति नै धर्मकर्म गरे पनि, जति नै असल कामहरू गरे पनि पापको ऋण तिर्न सक्दैन । पापको तमसुक कहिल्यै पनि च्यातिँदैन किनकि मानिसले पापको ऋण तिर्न नै सक्दैन । त्यही कारण ख्रीष्ट त्रूmसमा बलि हुनुभयो । पाप र शैतानको शक्तिमाथि विजयी हुनुभयो । जुन दिन मानिसले पापको स्वीकार गरेर, ख्रीष्ट क्रूसमा मारिनुभयो, गाडिनुभयो र तेस्रो दिनमा पुनरूत्थान हुनुभयो भनी मुखले स्वीकार गर्छ अनि हृदयले विश्वास गर्छ त्यही दिन नै उसको पापको तमसुक च्यातियो । रद्द गरियो । ऊ पाप र अन्धकारको शक्तिबाट स्वतन्त्र भयो ।
पावल लेख्छन्, “ए मृत्यु तेरो खील कहाँ ?” अब मृत्युको खील छैन । पापको दण्ड भोग्न मानिस नरकमा जानु पर्दैन । ख्रीष्टमा भएकाहरूलाई दण्डको आज्ञा छैन । जुन मौरीले मानिसलाई टोकिसकेको हुन्छ त्यसले तुरून्तै फेरि अर्कोलाई टोक्न खोज्दा उसको खील हुँदैन किनकि उसको खील पहिलो मानिसमै गाडिसकेको छ । प्रभु येशू ख्रीष्टले पापको खील, मृत्युको खील लिइसक्नुभएको छ । हामी पाप र मृत्युबाट स्वतन्त्र भइसकेका छौं ।
कति मानिसहरूले आफैलाई मेरो जीवन अधूरो छ, अपूरो छ, आशाविहीन छ भन्ने विचार गर्छन् । तर ख्रीष्टमा विश्वास गर्नेहरू उहाँमा पूर्ण भएका छन् । ख्रीष्टमा पुनरूत्थान र स्वतन्त्रताको जीवन छ । अब हामी कसमा जीवन बिताउने ? ख्रीष्टमा कि संसारमा देखिने थोकहरूमा ?