अन्धकारलाई प्रतिस्थापन गर्दै ख्रीष्टमस मनाऔं । – एल्डर सिमोन पाठक
December 6, 2016 | Articles
धेरै मानिसहरूलाई एकदमै ठूलो र गहिरो खोलाको पारीपट्टि जानुनै परेको छ तर पारी जानको निम्ति पुल छैन, पानीमा चल्ने कुनै साधन पनि छैन, र उनीहरूलाई पौडन पनि आउँदैन । अब उनीहरू कसरी बिना जोखिम पारीपट्टि जान सक्छन् ? मानिसहरूको आत्मा स्वर्ग जानको निम्ति यस्तै अप्ठ्यारो अवस्थामा परेको समयमा परमेश्वरले स्वर्ग जानको निम्ति पुलको निर्माण गरिदिनुभयो, त्यो पुल प्रभु येशू ख्रीष्ट हुनुहुन्छ । उहाँ पृथ्वीमा मानव भई जन्मनुभएको दिनलाई ख्रीष्टमस भनी सारा विश्वमा मनाइन्छ ।
प्रभु येशू ख्रीष्टको जन्म, मृत्यु र पुनरूत्थानको कारण मानिस जातिलाई स्वर्ग प्रवेश गर्न सम्भव भएको छ । इतिहासमा कुनैपनि मानिस स्वर्गबाट पृथ्वीमा आएर फेरि स्वर्गमा नै चढिगएको छैन, यदि कोही छ भने त्यो व्यक्ति प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ । जतिले उहाँलाई आफ्नो हृदयमा प्रभु र मुक्तिदाता भनी ग्रहण गर्छन् र उहाँको शिक्षाअनुसार जीवन जिउँछन् । तिनीहरूको निम्ति मानव चोलापछिको घर स्वर्ग हुन्छ । येशू ख्रीष्टद्वारा मानिसको स्वर्गको परमेश्वरसँग मिलाप हुन्छ । उहाँले पृथ्वीमा भएको मानिसलाई स्वर्गमा जानको निम्ति पुलको जस्तै काम गरिसक्नुभएको छ । उहाँमाथि विश्वास गर्नेहरू कोही पनि नष्ट हुनेछैन । परमेश्वरको प्रेम मानव जातिप्रति कति धेरै छ सो कुरा बाइबलमा यसरी व्यक्त गरिएको छ, “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस् ।”
डिसेम्बर २५ तारिखमा ख्रीष्टमस मनाउनुको कारण छः
प्राचीन संस्कृतिमा मौसम परिवर्तनको उत्सव धुमधामसँग मनाउने गरिन्थ्यो । रोममा हिउँदको समयमा सूर्य दक्षिणतर्फ हुने र डिसेम्बर २५ बाट जाडो कम हुँदै जाने र दिन लामो हुँदै जाने हुनाले डिसेम्बर महिनामा मानिसहरू खुशी मनाउने, उपहार आदानप्रदान गर्दै उत्सव मनाउने गर्दथे । विशेष गरी यो पर्व डिसेम्बर १७ बाट शुरू हुन्थ्यो र डिसेम्बर २५ मा समाप्त हुने गर्दथ्यो ।
प्राचीन समयका मानिसहरूले देवी देवताहरूको जन्मदिन मनाउने गर्दथे । उनीहरूले विशेष गरी सूर्य देवता फ्रिगियाको जन्म दिन धुमधामसँग मनाउने गर्दथे साथै रोमी सम्राटको जन्मदिन पनि रोमी साम्राज्यभरिनै मुक्तिदाता र प्रभु भनी मनाउने चलन थियो तर चौथो शताब्दीमा आइपुग्दा सुसमाचारको कारण धेरै मानिसहरूले येशू नै प्रभु र मुक्तिदाता भनी आराधना गर्ने क्रम बढ्दै गएको थियो । अब उनीहरूले देवी देवताको जन्मदिन होइन संसारको मुक्तिदातो येशूको जन्मदिन धुमधामसँग मनाउन थाले । उनीहरूलाईे सूर्ये देवता फ्रिगियाको जन्मदिनको कुनै अर्थ रहेन । कारण येशू धार्मिकताको सूर्य हुनुहुन्छ (मलाकी ४ः२) ।
यसरी रोमी ख्रीष्टियानहरूले विभिन्न चाड पर्वहरूलाई प्रतिस्थापन गर्दै डिसेम्बर २५ मा ख्रीष्टमस मनाउन शुरू गरेको इतिहास पाइन्छ । डिसेम्बर २५ मा ख्रीष्टमस मनाउन शुरू गरेको कुरा ई.सं. ३५४ मा तयार गरिएको रोमन विशपहरूको पुरानो संग्रहको सूचीमा ई.सं. ३३६ को डिसेम्बर २५ मा ख्रीष्टमस मनाएको कुरा उल्लेख गरिएको छ । धार्मिकताको सूर्य येशूलाई चिनिसकेपछि मानिसहरूले उहाँको जन्मदिन डिसेम्बर २५ मा मनाउन थाल्नुचाहिँ उज्यालोले अँध्यारोलाई प्रतिस्थापन गर्नुजस्तै नै थियो । नेपालका मण्डलीहरूको निम्ति यो एउटा चुनौति र आशाको सन्देश पनि हो । नेपालका मानिसहरूले पनि संसारको ज्योति येशूलाई चिन्न सके भने यस देशमा रहेको आध्यात्मिक अँध्यारो हटेर जानेछ र ख्रीष्टमसको यथार्थता बढ्दै जानेछ ।
कति मानिसहरूले डिसेम्बर २५ मा ख्रीष्टमस मनाएको कुरालाई लिएर टिप्पणी गर्ने गर्छन् तर हामीले जान्नुपर्ने मुख्य कुराचाहिँ येशू ख्रीष्टको जन्मको समयअवधिभन्दा पनि येशू किन मानव बनेर जन्मनुभयो सो बुझ्नु र ख्रीष्टमसको वास्तविकता बुझेर ख्रीष्टमस मनाउनुचाहिँ महत्वपूर्ण हो । रोमी ख्रीष्टियानहरूले अन्य चाडपर्वहरूलाई ख्रीष्टमसमा प्रतिस्थापन गर्न सफल भएको जस्तै हामीले पनि हरेक वर्षको ख्रीष्टमसको उत्सवसँगै अन्धकारमा भएका मानिसहरूलाई ख्रीष्टको ज्योतिमा प्रतिस्थापन गर्न सफल हुनु जरूरी छ । यो उद्देश्यका साथ ख्रीष्टमस मनाउनुचाहिँ ख्रीष्टमसको यथार्थलाई झल्काउनु हो ।
बाइबलमा मनाइएको ख्रीष्टमस
स्वर्गदूतहरूको ख्रीष्टमसः पृथ्वीमा सबैभन्दा पहिले क्यारोल गाउँदै ख्रीष्टमस मनाउने स्वर्गदूतहरू नै थिए । येशू जन्मनुभएको दिनमा स्वर्गदूतको एउटा ठूलो दलले यसरी ख्रीष्टमसको उत्सव मनाएका थिए “तब एक्कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो । परमेश्वरको स्तुति गर्दै, तिनीहरूले भने, सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति !” (लूका २ः१३–१४) । स्वर्गदूतहरूले परमेश्वरको महिमा र मानिसहरूलाई शान्तिको सन्देश छर्दै ख्रीष्टमस मनाएका थिए ।
भेडा गोठालाहरूको ख्रीष्टमसः स्वर्गदूतहरूले ख्रीष्टमसको उत्सव मनाइसकेपछि भेडा गोठालाहरूले पनि ख्रीष्टमस मनाएका थिए । “जस्तो तिनीहरूलाई भनिएको थियो त्यस्तै सबै कुरा सुनेका र देखेका हुनाले, परमेश्वरको महिमा र स्तुति गर्दै गोठालाहरू फर्के” (लूका २ः२०) । भेडा गोठालाहरूले आनन्दका साथ परमेश्वरको महिमा र स्तुति गर्दै ख्रीष्टमस मनाएका थिए ।
ज्ञानी मानिसहरूको ख्रीष्टमसः पूर्वका ज्ञानी मानिसहरूले ख्रीष्टमस यसरी मनाएका थिए, “हेरोद राजाको समयमा यहूदियाको बेथलेहममा जब येशूको जन्म भयो, पूर्वका ज्योतिषीहरू यरूशलेममा आइपुगे र तिनीहरूले भने, यहूदीहरूका राजा भइ जन्मने कहाँ
हुनुहुन्छ ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्यौं र उहाँलाई दण्डवत् गर्न आएका छौं । …तब राजाको कुरा सुनेर तिनीहरू आफ्ना बाटो लागे । जुन तारा तिनीहरूले पूर्वमा देखेथे, त्यो तारा तिनीहरूका अगिअगि गयो, र बालक भएको ठाउँमा पुगेपछि त्यो तारा त्यहीँ अड़ियो । जब तिनीहरूले त्यो तारा देखे, तब तिनीहरू अति आनन्दित भएर रमाए । अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, र घोप्टो परेर उहाँलाई दण्डवत् गरे । तब आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका भेटी चढ़ाए” (मत्ती २ः१–२, ९–११) । ज्ञानी मानिसहरूले बहुमूल्य थोकहरू प्रभुको चरणमा अर्पण गर्दै ख्रीष्टमस मनाएका थिए ।
हामी कसरी ख्रीष्टमस मनाउँदैछौ ? खानु, लाउनु, रमाइलो गर्नु सामाजिक परम्परा मात्र हो । मानिस सामाजिक प्राणी भएको कारण यो गर्नु कुनै गलत होइन । तर मिठो खानु, राम्रो लगाउनु र रमाइलो गर्नु मात्र ख्रीष्टमस हो भनी विचार गर्नुचाहिँ ख्रीष्टमसको वास्तविकतालाई भुल्नु हो । स्वर्गदूतहरूले, गोठालाहरूले, ज्ञानी मानिसहरूले र शुरूका मण्डलीका ख्रीष्टियानहरूले मनाएको ख्रीष्टमसको यथार्थलाई बुझेर ख्रीष्टमस मनाउने कि सामाजिक परम्पराको ख्रीष्टमसमै सीमित हुने ?