ख्रीष्टमसलाई सार्थक र उल्लासपूर्ण बनाऔं
December 5, 2018 | Articles
– श्री लेखनाथ पौडेल
ख्रीष्टमस (क्रिसमस) प्रभु येशू ख्रीष्ट यस संसारमा मानिसको उद्धार गर्नको लागि मानिस भएर जन्मनुभएको दिनको सम्झनामा मनाइने उत्सव हो । यो हरेक इसाई विश्वासीहरूको निम्ति एउटा महत्वपूर्ण समय हो । ख्रीष्टमसलाई हामी बडादिन पनि भन्छौं । हरेक वर्ष डिसेम्बर २५ (पौष १०) का हामी नेपालमा ख्रीष्टमसलाई एउटा उत्सव (चाड) को रूपमा मनाउँछौं । अन्य कतिपय मुलुकहरूमा नोभेम्बर महिनादेखि नै यो उत्सव मनाउने गरेको पनि पाइन्छ र कतिपय देश तथा केही सम्प्रदायहरूले जनवरीको पहिलो हप्तामा पनि ख्रीष्टमस मनाउने गर्छन् । नेपालमा भने डिसेम्बर महिना लागेपछि नै ख्रीष्टमसका गीतहरू गाउने, शुभकामना आदानप्रदान गर्ने, ख्रीष्ट जन्मसम्बन्धी सुसन्देश सुनाउने काम गरिन्छ र यो कार्य डिसेम्बरको अन्तिम हप्तासम्मै जारी रहन्छ । वास्तवमा हामी नयाँ जन्म पाएका इसाईहरूको निम्ति मनाउनको लागि भनेर दिइएको कुनै चाड हामी बाइबलमा पाउँदैनौं तथापि ख्रीष्ट येशू प्रभु हाम्रो उद्धार गर्न मानिसको रूपमा जन्मनुभएको दिनको सम्झनास्वरूप डिसेम्बर महिनाभरि र विशेष् रूपमा डिसेम्बर २५ र आसपासका दिनहरूमा हामी ख्रीष्ट जन्मोत्सव अर्थात् ख्रीष्टमस हर्षोल्लासका साथ मनाउँछौं । ख्रीष्टमस मनाउने प्रचलन चौथौं शताब्दिदेखि सुरु भएको मान्यता रहेको छ ।
प्रभु येशू ख्रीष्टको जन्म हुँदा सबभन्दा पहिले स्वर्गदूतहरूले बेथलेहेममा रहेका गोठालाहरूलाई असल खबर दिँदै स्तुति गान गाएका थिए । गोठालाहरूले यो सन्देश पाउने बित्तिकै झट्टै प्रभुलाई हेर्न गएका थिए र उहाँलाई देखी रमाउँदै फर्केका थिए (लूका २ः८–१८) । उहाँको जन्मको उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका पूर्वका ज्ञानी ज्योतिषीहरू समेत उहाँको जन्मका चिन्हहरू पछ्याउँदै उहाँलाई हेर्न बेथलेहेमसम्म आइपुगे र उहाँलाई भेटीहरू चढाए ।
(मत्ती २ः१–११) । उहाँको जन्मको प्रतीक्षा गर्दै मन्दिरमा बसिरहेका शिमियोन र हन्नाले उहाँलाई देख्ने बित्तिकै आफैलाई धन्य सम्झेर उहाँको स्तुतिगान गाए (लूका २ः२५–३८) । वास्तवमा प्रभु येशूको जन्मको बारेमा उहाँ जन्मनुभन्दा सैयौं वर्षअघिदेखि नै अगमवक्ताहरूले भविष्यवाणी गरेका थिए (यशैया ७ः१४; मीका ५ः२) । र स्वयं उहाँकी आमा मरियम र तिनका पति योसेफलाई समेत परमेश्वरद्वारा जानकारी गराइएको थियो (लूका १ः२९–३३, ३५; मत्ती १ः२०–२१) । ख्रीष्ट येशू प्रभु यस संसारमा हामी मानिसलाई परमेश्वरसँग मिलाप गराउने इम्मानुयल भएर जन्मनुभयो (मत्ती १ः२३) । हामीलाई उद्धार गर्न मानिसको रूपमा जन्मनुभयो र हाम्रो उद्धार गर्न बलिदानस्वरूप क्रूसमा मर्नुभयो र मरेको तेस्रो दिनमा जीवित भई उठ्नुभयो र हामीलाई अनन्त जीवन दिनुभयो (रोमी ४ः२५; १ पत्रुस ३ः१८) । जीवित भई उठ्नुभएपछि केही दिन चेलाहरूलाई शिक्षा दिँदै तिनीहरूसँग रहनुभयो र धेरै मानिसहरूले देख्नेगरी उहाँ स्वर्गमा उचालिनुभयो (लूका २४ः१–५१; प्रेरित १ः९) । उहाँ स्वर्गमा उचालिँदै गर्नुहुँदा उहाँ हामीलाई फेरि लिन आउनुहुने घोषणा गरियो (प्रेरित १ः१०–११) । हामी प्रभुमा विश्वास गर्नेहरू उहाँको पुनर्आगमनको प्रतीक्षा गर्दै उहाँ जन्मनुभएको सम्झनामा उत्सव मनाउँछौं । उहाँ मानिस भएर जन्मनुभएको कारण हामी हाम्रा सृष्टिकर्तासँग मिलापमा रहन पाएका छौं । तसर्थ उहाँको जन्म सारा मानव जातिको लागि अत्यन्तै महत्वपूर्ण छ ।
ख्रीष्टमसका बारेमा हाम्रो धारणाः
हामी दिनलाई होइन तर प्रभुको जन्मलाई महत्व दिन्छौं । कतिपयले भन्ने गर्छन्, “२५ डिसेम्बरको दिन ख्रीष्ट जन्मनुभएको होइन, हामीलाई यो मनाउन भनेर बाइबलमा कहीँ लेखिएको छैन, यो बाइबल सम्मत होइन ।” तर हामीहरू दिन होइन तर ख्रीष्टको जन्मलाई मान्यता दिन्छौं । ख्रीष्ट येशूको जन्म भएको दिन कुन हो भनेर हामीलाई ठ्याक्कै थाहा छैन र बाइबलमा पनि उल्लेख गरिएको छैन तर बाइबलीय तथा अन्य ऐतिहासिक तथ्यहरू हेर्दा जाडोको मौसमतिर भएको पाउँछौं । यसर्थ हामी जाडो लागेदेखि नै ख्रीष्ट जन्मसम्बन्धी भजन गाउँछौं अनि विश्वभरमा र नेपालमा पनि हामी २५ डिसेम्बरका दिन प्रभु जन्मको उत्सव मनाउँछौं । प्रभु जन्मको उत्सव हामी हरेक दिन अर्थात् ३६५ दिन नै मनाउन सक्छौं तसर्थ हामी २५ डिसेम्बरमा अझ विशेष् प्रकारले मनाउँछौं । यसैले यो दिनमा ख्रीष्टमस मनाउनु बाइबलसम्मत नै छ । हामी मिथ्या पात्र तथा वस्तुहरू होइन तर प्रभु येशूलाई महत्व दिन्छौं । कतिपयले ख्रीष्टमस आउने बित्तिकै रातो कपडा लगाउने सान्ता क्लाउज (मिथक पात्र) लाई सम्झने गर्छन् र राती आएर उपहार दिने भनी सम्झन्छन् । अनि कतिपयले क्रिसमस ट्रि (सायद सल्लाको एक प्रजातिको रुख) लाई घरमा ल्याएर सजाउने र त्यसको वरपर उपहारहरू राख्ने गर्छन् । हामी नयाँ जन्म पाएका, सुसमाचारमा विश्वास गर्ने (इभान्जेलिकल) इसाईहरूले त्यस्ता काल्पनिक पात्रहरू तथा वस्तुहरूलाई मान्यता दिँदैनौं र त्यसलाई मान्दैनौं । हामी प्रभु येशू ख्रीष्टमा नै हाम्रो सारा विश्वास र भरोसा राख्छौं र सबै कुराको निम्ति उहाँसँग नै प्रार्थना गर्छौं । हामी प्रभु येशू ख्रीष्टको नै आराधना र जयजयकार गर्छौं ।
हामी रमझम र तडकभडक होइन तर भित्री आनन्द तथा उत्सवलाई महत्व दिन्छौं । कतिपय मानिसहरू ख्रीष्टमसलाई पार्टी जाने, पेय पदार्थहरू सेवन गर्ने तथा रमझम गर्ने उत्सवको रूपमा लिने गर्छन् तर हामी इसाई विश्वासीहरू यसलाई प्रभु येशूसँग समय बिताउने, उहाँको आराधना र प्रशंसा गर्ने अनि विश्वासीहरूसँग खुशी साटासाट गर्ने उत्सवको रूपमा लिन्छौं ।यसलाई अझ सार्थक र उल्लासपूर्ण बनाउने केही सुझावहरूः
ख्रीष्टमसलाई अझ सार्थक र उल्लासपूर्ण बनाउने जिम्मेवारी प्रभुलाई पछ्याउने हरेक विश्वासीहरू (मण्डली) को काँधमा हुन्छ । यसलाई एक्लै वा एकल परिवारभित्र रहेर मात्रै पनि मनाउन सकिन्छ साथै यसलाई बृहत परिवार (मण्डली) र समुदाय (छरछिमेकी) लाई पनि समावेश गरेर मनाउन सकिन्छ । हामी एक्लै वा एकल परिवार समूहभित्र मनाएमा यो उत्सव त्यही मात्र सीमित रहन्छ र यसले भर्खर प्रभुलाई चिनेका पहिलो पुस्ता विश्वासीहरू र येशू प्रभुलाई अझसम्म नपछ्याएका छरछिमेकीहरूलाई खासै उल्लासमय बनाउँदैन । यसलाई उल्लासमय मनाउन बृहत परिवार (मण्डली) र समुदाय (छरछिमेकी) लाई पनि यसमा समावेश गर्नुपर्छ । यसका लागि हामीले ख्रीष्टमसको समयमा वा ख्रीष्टमस मनाइने दिनमा चिनेका र नचिनेका गरी कम्तीमा पनि ३ देखि ५ जनासम्मलाई केही उपहार दिन सक्छौं । उपहार ठूलो हुनुपर्दैन तर उपहारले प्रेम गरिएको कुरालाई व्यवहारमा देखाउँछ (याकूब २ः१४–२२) । आफ्नो घरमा छिमेकी, नातेदार वा आफन्तलाई भोजमा निम्ता दिएर उनीहरूलाई पनि आफ्नो खुशीमा समावेश गर्न सक्छौं र केही मात्रामा भए पनि प्रभुको प्रेम बाँड्न सक्छौं । हाम्रा समाजमा वा समुदायमा रहेका अत्यन्तै खाँचोमा परेकाहरूलाई उनीहरूको खाँचोको केही हिस्सा पूरा गरेर पनि हामी उत्सव मनाउन सक्छौं । जस्तै अत्यन्तै खाँचोमा जाडोको लागि न्यानो कपडा बाँडेर, खाद्यान्न वा अन्य खाँचोका कुराहरू किनिदिएर हामी ख्रीष्टमसलाई सार्थक बनाउन सक्छौं । यसो गर्दा अरू मानिसहरूले पनि प्रभुको प्रेमलाई हामीद्वारा महसुस गर्न सक्छन् । हामीले यदि खाँचोमा परेकाहरूलाई दियौं भने वास्तवमा त्यो प्रभुलाई नै दिएको जस्तै हो (हितोपदेश १९ः१७) । किनकि यस्तै प्रेम प्रभुले हामीमा देख्न चाहनुहुन्छ । यो उत्सवलाई सार्थक गर्न कतिपयसँग बिग्रेको सम्बन्ध समेत हामी सुधार गर्ने अवसरको रूपमा यो समयलाई लिन सक्छौं । परमेश्वरसँग बिग्रेको सम्बन्ध सुधार गर्नलाई प्रभु येशू मानिस बनेर यस पृथ्वीमा जन्मनुभयो र एउटा ठूलो उदाहरण प्रस्तुत गर्नुभयो (रोमी ५ः१०–११; २ कोरिन्थी ५ः१९) । हामी प्रभुका चेलाहरूले पनि यो उदाहरणलाई पछ्याएर यो उत्सवलाई अझ सार्थक बनाउन सक्छौं । ख्रीष्टमस हाम्रो लागि एउटा सामान्य उत्सव मात्रै होइन यो हाम्रो लागि बृहत संगतिको एउटा अनुपम समय पनि हो । यसको आत्मिकी, सामाजिक तथा पारिवारिक महत्व छ । यसपालिको ख्रीष्टमस एक्लै वा एकल परिवार समूहमा मात्रै होइन तर बृहत परिवार (मण्डली परिवार र विशेष गरी भर्खर प्रभुलाई चिनेका विश्वासीहरू) र समुदाय (छरछिमेकी, नातागोता, आफन्त, साथीभाइ) समेतलाई समावेश गरी यसलाई सार्थक बनाउन सक्छौं । यो उत्सवलाई सबैलाई समेट्ने महोत्सव बन्न सकोस् । यो वर्षको ख्रीष्टमस सबैलाई प्रेम बाँड्ने, आत्मियता बाँड्ने, वास्ता गर्ने, एकाअर्कासँग सम्बन्ध सुमधुर गर्ने र परमेश्वरको घनिष्टतामा अझैँ एक कदम अगाडि बढ्ने समय हुन सकोस् । सबैलाई ख्रीष्टमस २०१८ तथा प्रभुको वर्ष (नयाँ वर्ष) २०१९ को हार्दिक शुभकामना !