जन्म दिनको शुभकामना – प्रेरित २:१-४ (भाग २)
September 15, 2011 | Articles
तेस्रो कुरा, पवित्र आत्मा पत्रुसमाथि आउनुभयो र उनको ढुंगाको हृदयलाई ख्रीष्टको हृदयजस्तै बनाइदिनुभयो । पत्रुस र अरू चेलाहरू जहिले पनि येशूको दाहिने र देब्रेतिर को बस्नेछ भन्ने विषयमा झगडा गरिरहन्थे (मर्कुस १०:४१) । सहायताको लागि येशूकहाँ आएका मानिसहरूलाई चेलाहरूले त्यसै फर्काइदिन्थे (मर्कुस ६:३०) । आशिषका लागि येशूकहाँ आउनबाट केटाकेटीलाई रोक्थे (मर्कुस १०:१३) । वास्तवमा उनीहरू त केवल आफ्नै उद्धारको बारेमा मात्र चासो राख्थे । मर्कुस १०:२८ मा भनेझै पत्रुस आफ्नै बारेमा यति चासो राख्थे कि शायद उनी स्वर्गको राज्यमा पस्न पनि नालायक छन् । उनले येशूलाई भने “हेर्नुहोस् हामीले सबै छोड्यौं, र तपार्इंको पछि लागेका छौं ।”
तर जब पेन्तिकोसको दिनमा पवित्र आत्मा पत्रुसमाथि ओर्लनुभयो, उनको हृदय येशूको हृदयमा परिवर्तन भयो, एउटा हृदय जुन दया र अनुग्रहले भरिपूर्ण छ । प्रेरित ३:१ मा भनिएको छ कि जब पत्रुस र यूहन्ना मन्दिरको सुन्दर भन्ने ढोकामा लङ्गडो मानिसको नजिकैबाट जाँदैथिए, त्यसलाई देखेर पत्रुसको हृदय दयाले भरियो । म निश्चयका साथ भन्न सक्छु कि पेन्तिकोसको दिनभन्दा पहिले पनि उनी यस बाटो भएर धेरैपटक हिँडेका थिए तर उनले यो मानिसलाई कहिल्यै देखेका थिएनन् । तर अहिले पत्रुस पनि यो दावी गर्छन् कि त्यस मानिसलाई दिनलाई उनीसँग सुन र चाँदी त छैन तर उनले त्यस लङ्गडो मानिसलाई बल पैदा गरिदिन्छन् र उसलाई हिँड्न सक्ने बनाउँछन्, दयाले भरिएर, येशूले झै ! प्रेरित ५:१५ ले भन्छ कि मानिसहरूमाथि पत्रुसको छायाँमात्रै भएपनि परोस् र उनीहरू निको होऊन् भन्ने हेतुले मानिहरूले आफ्ना बिरामीहरूलाई यरूशलेमका सडकहरूमा ल्याउँथे । पवित्र आत्माले नै पत्रुसलाई परमेश्वरको चंगाईको शक्तिले शक्ति प्रदान गर्नुभएको थियो र पत्रुस येशूले जस्तै दयाले भरिएर आफुकहाँ ल्याएका बिरामीहरूलाई निको पार्न सक्थे ।
येशूले नासरतमा पृथ्वीमा उहाँको मिशनबारे घोषणा गर्नुभयो (लूका ४:१६–१९) जसै उहाँले यशैयाबाट पढ्नुभयो, “परमप्रभुको आत्मा ममाथि छ,” किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ । कैदीहरूलाई छुट्काराको घोषणा गर्न र अन्धाहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति र परमप्रभुको प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनुभएको हो ।”
जब पवित्र आत्मा पत्रुसमाथि आउनुभयो, यो कुरा पत्रुसको पनि मिशन बन्यो र पछि गएर यही कुरा मण्डलीको पनि मिशन बन्न पुग्यो । मण्डलीको २००० वर्षको इतिहासमा मण्डलीले धेरै गलत काम पनि गरेको छ जो हामी सबैलाई थाहा छ तर अर्कातिर मण्डलीले नै आजको विश्वको रूपमा विकसित गराउन विभिन्न प्रकारले योगदान पनि पुर्याएको छ । यी योगदानहरूबिना आजको हाम्रो विश्व फरक विश्व हुने थियो । अर्विन स्मिथले ४०० पृष्ठले भरिएको ‘हाउ क्रीष्टियानिटी चेन्ज्ड् द वल्र्ड’ (जोन्डर्भान २००४) नामक पुस्तक लेखेका छन् र उनले मण्डलीले विश्वमा पुर्याएको सेवकाईको परिणामस्वरूप देखिएका धेरै परिवर्तनहरूको सूची तयार गरेका छन् । तीमध्ये दुईवटा परिवर्तनहरू शिक्षा र स्वास्थ्य उपचार हुन् । पहिलो शताब्दीदेखि नै शिक्षा मण्डलीको जिम्मेवारीको एक भाग बन्दै आएको छ । तर समय बित्दै जाँदा यसमा ह्रास आयो र अक्रियाशील बन्न पुग्यो । १८ औं शताब्दीमा स्कटल्याण्डमा रोबर्ट राइक्स् भन्ने ख्रीष्टियानले शिक्षा हासिल गर्न असक्षम केटाकेटीहरूलाई शिक्षा प्रदान गर्नु आवश्यक छ भन्ने बुझेर उनीहरूलाई सण्डे स्कुलमा सिकाउने कार्यको थालनी गरे जसमध्ये कोही बालश्रममा पनि संलग्न थिए । जब यो सण्डे स्कुल स्कटल्याण्डबाट युरोपतिर फैलिँदै गयो र पछि अमेरिकासम्म नै पुग्यो तब यो आधुनिक शिक्षाको जग बन्यो ।
निश्चय नै, मण्डली १२ औं शताब्दीपछि उच्च शिक्षाको पहलकर्ता बनेको र अमेरिका र युरोपका प्रख्यात विश्वविद्यालयहरू ख्रीष्टियान कलेजहरू नै हुन्, एशियामा मिशनेरीहरू आएर स्कुल र विश्वविद्यालयहरू खोले । यी विश्वविद्यालयहरूले नयाँ पिंढीका विद्यार्थीहरूलाई शिक्षा दिने काम गरे जोहरू परिवर्तन र विकासका कारकहरू बनेका छन् । ३६० इ. सम्बतमा मण्डलीले पहिलो अस्पताल स्थापना गर्यो; ४०० वर्षपछि मात्रै अरबी देशहरूले अस्पतालहरू बनाउन थाले । एशियामा मिशनेरीहरूले उन्नाइसौं शताब्दीमा मात्र अस्पतालहरूको थालनी गरे । म यस्ता धेरै उदाहरणहरू दिन सक्छु । तर मैले तपाईंहरूसँग बाँड्न चाहेको विषय चाहिँ मण्डली हो, पत्रुसको दिनदेखि नै मण्डली ख्रीष्टको हृदयअनुसारको, दयाको हृदय जो चाहिँ पेन्तिकोसको दिनमा पवित्र आत्मा आउनुभएको परिणामस्वरूप स्थापना भएको थियो । संसारका मानिसहरूले ख्रीष्टको सुसमाचारको अनुभव पहिले मण्डलीले प्रदान गरेको सेवकाईद्वारा प्राप्त गरे र पछिमात्र येशू प्रभुलाई चिने ।
अस्सीका सन्तफ्रान्सिसले भनेका छन् “सुसमाचार सधैँ प्रचार गर आवश्यक परेमा मात्र शब्दको प्रयोग गर ।”
दुःख मान्दै र अभाग्यवश, पश्चिमी मुलुकमा भएको राजनैतिक कारणहरूले विगत ३ शताब्दीसम्म मण्डली बिस्तारै राज्यबाट अलग हुन पुगेको छ, छेउतिर पन्छाइएको छ र मण्डली एउटा मनोरञ्जनको केन्द्र बन्न पुगेको छ । ख्रीष्टियान हुनु व्यक्तिगत कुरा हो, यसको चर्चा कार्यक्षेत्रहरूमा, स्कुलहरूमा अब गरिनु हुँदैन भन्ने सोच पश्चिमेली मुलुकहरूमा राखिन्छ । कारणवश, हामी ख्रीष्टियानहरूले पनि यो विश्वास गर्न थालेका छौं कि मण्डलीका कुरा त मण्डलीका पर्खालभित्रमात्र सीमित राखिनुपर्छ र मण्डलीभित्रका कामहरूमात्र पवित्र छन् मण्डलीमा काम गर्ने व्यक्तिमात्रै सन्तहरू हुन् र मण्डलीबाहिरको जगत फरक विश्व हो ।
म तपाईंहरूलाई यो भन्न चाहन्छु कि यो सेक्युलर भन्ने शब्द पहिले रोमन क्याथोलिक मण्डलीहरूमा मात्र चलाइन्थ्यो पूजाहारीको अर्थ दिन जसमा पाष्टर र डीकनहरू पनि पर्थे जो गुम्बाहरूमा बस्दैनथे तर समाज सेवामा तल्लिन रहन्थे । तर पनि तिनीहरू मण्डलीको सेवकाईको एक भाग नै थिए । निश्चय नै, आज सेक्युलर भन्ने शब्दले मण्डलीको विपरीत शब्द जनाउँछ र हाम्रो विश्वाससँग यसले कुनै सरोकार राख्दैन ।
जोन वेस्ली १८ औं शताब्दीका मेथोडिष्ट चर्चका प्रचारक र संस्थापक हुन्, उनलाई सम्वाददाताले एकपटक उनको मण्डली कहाँ छ ? भनेर सोधेका थिए किनकि अरू मानिसहरूले झै मण्डलीभित्र प्रचार गर्नुको सट्टा वेस्लीले खुल्ला ठाउँहरू र सडकका कुनाहरूमा प्रचार गर्दथे । उनले संसारलाई एउटा प्रख्यात उत्तर दिए जुन आजसम्मका बाइबल कलेजका सबै विद्यार्थीहरूलाई थाहा छ । उनले भनेका थिए, संसार नै मेरो मण्डली हो ।
जब–जब म यसबारे विचार गर्छु मलाई प्राथमिक पाठशालामा हुँदा मैले गाउने गरेको गीतको सम्झना आउँछ, “यो मेरो बुवाको संसार हो (माल्ब्राई डि. ब्याबकक, १९०१) ।
यो मेरो बुवाको संसार हो । मैले यसलाई कहिल्यै नबिर्सूं गलत कुरा यति मजबुत देखिए पनि अझै पनि परमेश्वर यसको शासक हुन् । यो मेरो बुवाको संसार होः मेरो हृदय किन अफशोस होस् ? प्रभु नै राजा हुनुहुन्छ, स्वर्गले स्वर निकालोस् ! परमेश्वर शासन गर्नुहुन्छ, पृथ्वी आनन्दित होस् ।
मेरो प्यारा दाजुभाइ, दिदीबहिनीहरू पिताको संसार कहाँ छ भनेर थाहा पाउन हामीले परमेश्वर पिता सबै थोकका सृष्टिकर्ता हुनुहुन्छ र उहाँले सारा विश्वमाथि शासन गर्नुहुन्छ भनी विश्वास गर्छौं भने यो संसार पिताको संसार हुनेछ र सबैथोक, सबै कामहरू र हाम्रा कार्यक्रमहरूका सबै पक्षहरू परमेश्वरका लागि सेवाहरू गनिनेछन् । तर मण्डली र बाह्य जगत (सेक्युलर) भन्ने कुनै कुरा नै रहँदैन । यो खालि ती मानिसहरूको विचार हो जसले मण्डलीलाई बाहिरी जगतभन्दा अलग्गै राख्न चाहन्छन् र हामीलाई महसुस गराउन कोशिश गर्छन् कि आफुलाई मण्डलीका चार पर्खालभित्र सीमित राख्नेहरू मात्र सन्त र पवित्र मानिसहरू हुन् । दोस्रो विश्व युद्धपछि बेलायतका धेरै मण्डली भवनहरू विनाश गरिए र मण्डलीले धेरै भवनहरू जीर्णोद्धार गर्ने प्रयत्न गर्यो । एक दिन कान्टबेरीका आर्क विशपले लण्डनमा अवस्थित सन्त पावल क्याथेड्रलको मर्मत कार्य हेर्दै थिए । उनले मण्डली भवनको माथितिर दुई जना ज्यामीले गाडामा मालसामान ओसार्दै गरेका देखे । उनी त्यतैतिर गएर एकजनालाई सोधे, ‘तपाईं के गर्दै हुनुहुन्छ ?’ त्यस मानिसले जवाफ दियो, “मैले यो गाडा धकेल्दैछु ।” त्यसपछि उनी अर्को मानिसतिर बढेर गए र त्यही प्रश्न उसलाई सोधे । त्यो मानिस रोकियो र भन्यो, “मैले परमेश्वरको भवन निर्माण गर्दैछु ताकि निर्माण कार्य सिद्धिएपछि परमेश्वरका जन यहाँ आएर उनको आराधना गर्न सकुन्, म यसका लागि अति उत्सुक छु ।”
मेरा प्यारा दाज्युभाइ दिदीबहिनीहरू हामी के गर्छौं त्यो महत्वपूर्ण छैन तर कसरी र किन गर्छौं त्यसले नै हाम्रो कामलाई पवित्र पार्छ । मण्डलीले इतिहासभरि नै सेवा गर्दै आएको छ र स्वास्थ्य उपचार, शिक्षा आदि कुराद्वारा संसारमा विकास कार्यमा योगदान पुर्याउँदै आएको छ । कसैले यो काम पवित्र छैन र यो जिम्मेवारी मण्डलीको होइन भन्यो भन्दैमा यसो गर्नबाट पछि हट्न हामीलाई कुनै कारण नै छैन । हाम्रो देश र समाजलाई परिवर्तन र रूपान्तरण चाहिएको छ र हामी सबैजना यस परिवर्तनको भाग हुनुपर्छ र समाजको अंगका रूपमा परमेश्वरले दिनुभएको जिम्माको काम पूरा गर्नुपर्छ । परिवर्तन होस् भनेर प्रार्थना गर्न पनि जरूरी छ तर त्यो भन्दा पनि महत्वपूर्ण कुरा प्रार्थना गरिसकेपछि हामीले आफुलाई समाजमा परिवर्तन ल्याउने मानिसका रूपमा आफैलाई परमेश्वरमा सुम्पनु पर्छ ।