ख्रिष्टमा विश्रामको जिवन
February 27, 2012 | Articles
इस्राएलीहरूले सुनको बाछो बनाएर पुजेको कारण परमप्रभु तिनीहरूसँग साह्रै नै क्रोधित हुनुभयो । उहाँले मोशालाई भन्नुभयो, “…म तिमीहरूका अगिअगि एउटा दूत पठाउनेछु…तिमीहरू हठी मानिस हौ, यसकारण म तिमीहरूका मध्यमा हिँड्ने छैन, नत्र ता बाटैमा म तिमीहरूलाई नाश पारूँला ।”…इस्राएलीहरूलाई भन, तिमीहरू हठी मानिस हौ म एकक्षणको निम्ति पनि तिमीहरूका मध्यमा आएँ भने म तिमीहरूलाई भस्म पार्ने छु (प्रस्थान ३३:२–३, ५) ।
आगो र बादलको खाँमामा भएर तिनीहरूलाई बाटो देखाउनुहुने परमेश्वर नै तिनीहरूसँग नजानुहुने भएकोले मोशाले परमेश्वरलाई भनेथे, “बिन्ती छ, यदि तपाईंको निगाह ममाथि भएको छ भने अब मलाई तपाईंको मार्ग देखाउनुहोस् ।” अनि उहाँले मोशालाई भन्नुभयो, “मेरो उपस्थिति नै तँसँग जानेछ र म तँलाई विश्राम दिनेछु ।” तिनले उहाँलाई भने, यदि तपाईंको उपस्थिति मसँग गएन भने हामीलाई यहाँबाट उता नलानुहोस् (प्रस्थान ३३:१३–१५) ।
ती हठी इस्राएलीहरूका निम्ति परमेश्वरसँग जानुभन्दा स्वर्गदूतसँग जानु नै धेरै सजिलो हुनेथ्यो । तिनीहरूले स्वर्गदूतबाट कति कुरामा छुट पाउन सक्नेथे जो परमेश्वरबाट तिनीहरूलाई कुनै हालतमा पनि मिल्ने थिएन । मोशाले छान्नु परेको थियो–साथमा कसलाई लैजाने ? परमेश्वरलाई कि स्वर्गदूतलाई ?
परमेश्वरसँगको यात्रा अत्यन्तै अनुशासित, व्यवस्थित गाह्रो हुन सक्छ भन्ने कुरा जान्दा जान्दै पनि मोशाले परमेश्वरलाई नै रोजे । तिनले भने, “यदि तपाईंको उपस्थिति मसँग गएन भने हामीलाई यहाँबाट उता नलानुहोस् (प्रस्थान ३३:१५) । परमेश्वरको उपस्थितिबिना दूध र मह बग्ने देशको प्रशस्त उत्तम आशिषभन्दा त बरु परमेश्वरसँगको उजाड–स्थानको सीमित साधारण राहतको राशन नै मोशालाई बेश लाग्ने भएको थियो । परमेश्वरसँगको हाम्रो सबैभन्दा खराब दिन परमेश्वरविनाको हाम्रो सबैभन्दा असल दिनभन्दा पनि असल हुन्छ ।
यसैले दाऊद भन्छन्, “तपाईंको मन्दिरभित्रको एकदिन अरू ठाउँका हजार दिनभन्दा उत्तम हुन्छ । दुष्टका पालमा बस्नभन्दा ता बरु परमेश्वरको भवनको ढोके हुन मलाई मनपर्छ (भजनसंग्रह ८४:१०) ।
२०१२ सालमा तपाईंसँग जानलाई तपाईंले कसलाई छान्नुभएको छ ? स्वर्गदूतलाई कि परमेश्वरलाई ? तपाईंसँग को जानुहुन्छ ? स्वर्गदूत कि परमेश्वर ?
ती अधन्यवादी गन्गनाइरहने असन्तुष्ट मानिसहरूको अनाज्ञाकारिता हठीपना, बागी–आचरणसँग परमेश्वर सन्तुष्ट हुनुहुन्नथ्यो तर पनि
उहाँले तिनीहरूलाई प्यार गर्न छाड्नुभएन, तिनीहरूलाई माया गरिरहनुभयो, तिनीहरूको वास्ता गरिरहनुभयो । फलस्वरूप तिनीहरूलाई कुनै असल कुराको अभाव भएन (व्यवस्था २:७) । यर्दन पारीको दूध र मह बग्ने देश, प्रतिज्ञाका मुलुकका प्रशस्त उत्तम आशिषहरूको सामने उजाड–स्थानका आशिषहरू अति साधारण निम्नस्तरका मात्र थिए । यसर्थ असल–असल आशिषहरूका निम्ति परमेश्वर तिनीहरूलाई यर्दनपारी प्रतिज्ञाको देशमा नै लैजान चाहनुहुन्थ्यो ।
यर्दनवारीकै उजाड–स्थानमा पाइने आशिषसँगै सन्तुष्ट भएका रूवेनी, गादी र मनस्सेका आधा कुलका मानिसहरूले प्रतिज्ञाको मुलुकमा जाने मन गरेनन् । ‘हामीलाई यहीँका आशिष भए पुग्छ; प्रतिज्ञाका मुलुकका आशिषहरू नभए पनि हुन्छ’ भन्ने ती मानिसहरूलाई परमेश्वरले यर्दन पारी जानलाई कर लाउनु भएन । उहाँले मानिसहरूको स्वतन्त्र इच्छाको कदर गर्नुहुन्छ । अहिलेसम्म ख्रीष्टमा उपभोग गरिराख्नुभएको थोरै साधारण आशिषमा नै तपाईं सन्तुष्ट हुनुहुन्छ भने ख्रीष्टमा राखिएका स्वर्गीय स्थानका प्रशस्त बहुमूल्य आशिषहरूका लागि परमेश्वरले तपाईंलाई तपाईंको इच्छाविरुद्ध घिस्याएर यर्दन पारी लैजानु हुन्न । यर्दन वारी बसेर तपाईं पारीका ती उत्तम उत्तम आशिषहरू उपभोग गर्न पाउनुहुन्न । तपाईंलाई पारी जानै पर्छ । यसर्थ स्वर्गीय स्थानका ती असल आशिषहरू प्राप्त गर्नलाई पवित्र आत्माको बप्तिस्मा लिई उजाड–स्थान छोडेर तपाईंलाई स्वर्गीय स्थानमा पुग्न नै पर्छ ।
मिश्रको दासत्वबाट मुक्त गरेर ती इस्राएलीहरूलाई विश्राम दिनलाई फेरि दासत्वको देश मिश्र मै राख्न परमेश्वरलाई उचित लागेन । तिनीहरूलाई यर्दन पारी कनान देशमा लैजाने प्रतिज्ञा उहाँले अब्राहामलाई पहिल्यै दिइसक्नुभएको थियो (उत्पत्ति १५:१३–२१) । यही प्रतिज्ञा उहाँले इसहाक र याकूबलाई पनि दिनुभएको थियो । यसैले त्यो दूध र मह बग्ने आशिषको देश ‘प्रतिज्ञाको मुलुक’ तथा ‘विश्रामको देश’ कहलाइयो । इस्राएलीहरूका निम्ति विश्रामको भौगोलिक देश हामी ख्रीष्टियानहरूका निम्ति विश्रामको आत्मिक जीवन तथा ‘स्वर्गीय स्थान’ बन्न गएको छ । मोशाको नेतृत्वमा लाल–समुद्र पार गरेर मिश्रबाट निस्कि आएका ती तीस लाख इस्राएलीहरूलाई उजाड–स्थानबाट भएर यर्दन नदी तरी प्रतिज्ञाको मुलुकमा पुग्नु पर्नेथ्यो । तिनीहरूको अविश्वास र अनाज्ञाकारिताले गर्दा तिनीहरू त्यहाँ पुग्न सकेनन् । चालीस वर्षसम्म उजाड–स्थान मै अल्मलिएर बसेपछि मोशा पुस्ताका सबै मानिसहरू त्यहीँ नाश भए । मोशा, हारुन, मरियम पनि प्रतिज्ञाको मुलुकमा जान पाएनन् । मोशा पुस्ताका कालेब र यहोशूमात्र उजाड–स्थान मै जन्मेकाहरूसँग प्रतिज्ञाको मुलुकमा पुगे ।
लाल–समुद्र र यर्दन नदीको बीचको भूभाग नै उजाड–स्थान हो । १ कोरिन्थी १० अध्यायअनुसार लाल–समुद्र तर्नु नै मोशाको बप्तिस्मा अर्थात् पानीको बप्तिस्मा लिनु हो । हिब्रू ३ र ४ अध्यायको यर्दन नदी तरेर पारी जानुचाहिँ पवित्र आत्माको बप्तिस्मा लिनु हो । हामीलाई लाल–समुद्र तरेर मात्र पुग्दैन, यर्दन पारी पनि जानु पर्छ कारण प्रतिज्ञाको मुलुकचाहिँ यर्दनको पारीपट्टि छ । मिश्रबाट निस्कि आएकाहरू सबै मुक्ति पाएका, बचाइएका मानिसहरू नै हुन् । ती सबै परमेश्वरका सन्तान हुन्, ती सबै स्वर्ग जान्छन् । तर यर्दनपारी जानेहरू मात्र स्वर्गीय स्थानमा पुग्छन् । स्वर्गीय स्थान स्वर्ग होइन । स्वर्गीय स्थान पवित्र आत्माको भरपूरी भएको त्यो उच्चस्तरको विजयी ख्रीष्टिय जीवन हो जो हामीले यही संसारमा अहिल्यै जिउन सक्छौं ।
हिबू्र ४ मा बताइएको अनुसार के तपाईं परमेश्वरको विश्राममा प्रवेश गर्नुभएको छ ? हिब्रू ४:१ ले भन्दछ, ‘कतिको लागि परमेश्वरको विश्राममा प्रवेश गर्ने प्रतिज्ञा अझै पनि प्रतिज्ञा मात्र रहेको छ, अझसम्म पनि पूरा भएको छैन ।’ हिब्रू ४:६ ले पनि भन्दछ, कुनै कुनैलाई त्यहाँ प्रवेश गर्न बाँकी नै रहेको छ । उजाड–स्थानमै नाश भएका ती इस्राएलीहरू हिब्रू ३:१९ अनुसार, ‘अविश्वासको कारणले’ र हिब्रू ४:६ अनुसार ‘अनाज्ञाकारिताको कारणले’ प्रवेश गर्न नसकेको हामी देख्छौं । हिब्रू ४:९–१० ले भन्दछ, यसकारण परमेश्वरका मानिसहरूका निम्ति विश्राम दिनको आरामी बाँकी नै छ । किनकि उहाँका विश्राममा प्रवेश गर्नेले परमेश्वर आफैले गर्नुभएझै आफ्नो कामबाट त्यसले पनि विश्राम लिएको हुनुपर्छ । यसैले हिब्रू ४:११ मा दिइएको सल्लाहअनुसार हामी त्यस विश्राममा प्रवेश गर्नलाई प्रयत्न गरौं (हतार गरौं) ।
ख्रीष्टिय जीवन परिश्रमको जीवन होइन, विश्रामको जीवन हो, कोशिषको जीवन होइन, विश्वासको जीवन हो । ख्रीष्टले मात्र ख्रीष्टको जीवन जिउन सक्नुहुन्छ, अरूहरूले सो जीवन जिउन सक्तैनन् । ख्रीष्टलाई अनुकरण गरेर जत्तिकै कोशिष गरे तापनि त्यो जीवनचाहिँ नक्कल गरिएको अधुरो नक्कली जीवन मात्र हुन्छ । ख्रीष्टको सक्कली जीवन ख्रीष्टले मात्र जिउन सक्नुहुन्छ । हाम्रो लागि खुशीको खबरचाहिँ त्यो जीवन जिउनलाई ख्रीष्ट स्वयँ हामीमा हुनुहुन्छ । जिउनलाई ख्रीष्ट स्वयँ हामीमा हुनुहुन्छ । हाम्रो सम्मतिविना, अनुमतिविना उहाँले सो गर्नुहुन्न । उहाँ हाम्रो स्वतन्त्र इच्छाको कदर गर्नुहुन्छ । हामीले उहाँलाई जिउन दियौं भने मात्र उहाँले आफ्नो जीवन हामीमा, हामीद्वारा जिउन पाउनुहुनेछ । यसैले पावल गलाती २:२० मा भन्छन्, “म ख्रीष्टसँग क्रुसमा टाँगिएको छु, तैपनि म जिउँछु । त्यसो भए तापनि म ता होइन तर ख्रीष्ट ममा जिउनुहुन्छ र जुन जीवन अहिले म शरीरमा जिउँछु ‘परमेश्वरको पुत्रको विश्वासमा जिउँछु जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई समर्पण
गर्नुभयो ।” अब हिब्रू ४:८–११ पढ्नुहोस् ।
– पास्टर रोबर्ट कार्थक