उपवासको बारेमा बाइबलले के भन्छ? – पाष्टर महेश प्रसाद थान्जु
April 15, 2013 | Articles
मैले इसाई उपवासको सम्बन्धमा कतिपय घतलाग्दा कुराहरू यहाँ साथै उपत्यका बाहिरका कतिपय मण्डलीहरूलाई बेला–बखतमा सिकाएको छु । अन्य पुस्तक–पत्रपत्रिका कम तर धर्मशास्त्रलाई नै आधार बनाएर यो लेख तयार गर्ने काम भएको छ । मेरो व्यक्तिगत धारणामा, वर्तमानको भौतिकवादले अत्यन्तै ग्रस्त पारेको हाम्रो जीवनशैली तथा उत्तरआधुनिक दर्शनद्वारा प्रभावित सोचाइ भएका हामी इसाईहरू अब विगतमा भन्दा पनि बढी समय उपवाससहितको प्रार्थनामा बिताउने बेला आइसक्यो । यो लेखले इसाई उपवासप्रतिको हाम्रो परम्परागत धारणालाई अलिकता खल्बल्याउन सक्ने सम्भावना रहेतापनि त्यसमा सकारात्मक सुधार ल्याउने अपेक्षा मैले राखेको छु ।
मण्डलीमा उपवाससहितको प्रार्थना राख्नु हाम्रो नियमित परम्परा हो । स्वेच्छाले बेला–बखतमा आफ्नो निजी उपवास राख्नु पनि हाम्रो इसाई परम्परा हो । यदाकदा इसाई समुदायबाट मण्डलीको विशेष खाँचोलाई ध्यानमा राखी वृहत सामुहिक उपवासको आह्वान पनि हुने गरेको छ । हालसालै एक मण्डली–सन्दर्भित संस्थाले चालीस दिने उपवाससहितको प्रार्थनाको निम्ति आह्वान गरेको छ । वास्तवमा इसाई उपवास के हो, कस्तो हो, र यसले हाम्रो निजी आध्यात्मिक क्रियाकलापमा कस्तो भूमिका खेलेको हुनुपर्दछ भन्ने यस लेखको आशय हो । धर्मशास्त्र अनि विभिन्न श्रोत सामग्रीको सहयोग लिएर तयार पारिएको यस लेखबाट हाम्रा दिनहुँको आध्यात्मिक अभ्यासमा हामी सबैलाई भविष्यमा अझ धेरै उत्साह र प्रेरणा मिल्न सकोस् । प्रार्थनासहित पढ्दै जाऔं ।
धर्मशास्त्रले कतै पनि हामी इसाईहरूलाई “उपवास बस” भनीकन प्रत्यक्ष रूपमा आज्ञा गरेको छैन । परमेश्वरले हाम्रो निम्ति उपवासलाई अपरिहार्य बनाउनुभएको छैन । तर हाम्रा निम्ति उपवासचाहिँ लाभदायक, हितकारी र असल छ भनी बाइबल धर्मशास्त्रले बताउँछ । प्रेरितको पुस्तकमा, कतिपय अवसरहरूमा विश्वासीहरूले उपवास गरेको उदाहरण पाइन्छ (१३:४; १४:२३) । प्रार्थना र उपवास प्रायः साथसाथै जाने कुराहरू हुन् जस्तो हामीलाई लाग्दछ (लूका २:३७; ५:३३) । उपवास भनेकै निराहार बस्नु हो भन्ने कुरामा हामी जोड दिने गर्दछौं । तर वास्तवमा यस संसारका कुराहरूबाट निवृत्त भएर आफ्नो मन र चित्त परमेश्वरमा पूर्ण रूपमा लगाउनु उपवासको अभिप्राय हो । उपवासको समय परमेश्वरसितको हाम्रो सम्बन्धमा गहिरिएर जाने समय हो । हरेक उपवासको समयमा परमेश्वरसितको हाम्रो सम्बन्धले प्राथमिकता पाउनु पर्दछ । नियमित गरिने उपवासले परमेश्वरप्रतिको हाम्रो आस्था र भरोसा अनि दृष्टिकोणमा वृद्धि ल्याउन मदत गर्दछ ।
अस्थायी रूपमा भोजन त्याग्नु उपवास हो भनीकन हामी बुझ्दछौं, तथापी उपवासको अर्थ अस्थायी परहेज पनि हुन सक्तछ । प्रार्थनाद्वारा दत्तचित्त भएर परमेश्वरमा लागिरहनका निम्ति गरिएको कुनै पनि प्रकृतिको परहेज उपवास हुन सक्तछ । हाम्रो दैनिक क्रियाकलापभित्र पर्ने कतिपय गतिविधिबाट हामी परहेज गर्न सक्तछौं । जस्तै – मोबाइल-टेलिफोनको परहेज, पत्र–पत्रिकाको परहेज, निद्राको परहेज, मनोरञ्नका साधनहरूको परहेज आदि इत्यादि (लेवी १६:२९ र ३१; २३:२७, २९, ३२) । पति–पत्नीले गर्नुपर्ने परहेजका सम्बन्धमा पनि १ कोरिन्थी ७:१–५ ले बताएको छ । उपवासको समय स्वयंलाई इन्कार गर्ने समय हो । लेवी २३ अध्यायको पदहरू २७, २९ र ३२ मा प्रयोग भएको हिब्रू शब्द “अःनाः” को अर्थ “स्वयंलाई कष्ट दिनु, होच्याउनु वा निर्बल बनाउनु” भन्ने हुन्छ । यसो हेर्दाखेरि यसबाट क्रूसको चित्र हाम्रो सामुन्ने आउँछ । त्यसो भए के हामीले उपवास र क्रूसलाई अलग्ग गर्न सकौंला त ? यसैकारण धर्मशास्त्रले यसलाई “आफैलाई इन्कार गर्ने” समय भनेर संकेत गरेको छ ।
इसाई उपवासको अभिप्राय नियमित गतिविधि र क्रियाकलापबाट परहेज गरेर एउटा निश्चित समय वा अवधिभित्र हाम्रो चित्त र मनलाई परमेश्वरमा केन्द्रित गर्नु हो । उपवासको उद्देश्य शरीरको वजन घटाउनका लागि होइन । यो पनि विचार गरौं । उपवासको समय परमेश्वरसित घनिष्ठ हुने र उहाँको अझैँ नजीक जाने समय हो । परमेश्वरसितको सधैँको नियमित र सामान्य संगतिभन्दा अझैँ गहिरो र अर्थपूर्ण संगतिको समयभित्र उहाँमा प्रवेश गर्ने समय हो । उपवासको समय छाक छोड्ने होइन । पाप छोड्ने समय हो । उपवास भनेर छाक त छोड्छौं तर पाप छोड्दैनौं कि कसो ? नयाँ करार बाइबलमा येशू प्रभुले भन्नुभएको “उपवास” शब्दको अर्थ मूलभाषामा “धार्मिक वा आध्यात्मिक अभिप्रायले भोजन त्याग्नु” भन्ने हुन्छ । कसैले भनेका छन् कि उपवासको घडीचाहिं संसारका थोकहरूबाट हाम्रो ध्यान र नजर फिराएर ख्रीष्टमा हाम्रो ध्यान र नजर केन्द्रित गर्नु हो । कतिपयले ठाने झैँ यो समय परमेश्वरलाई हाम्रो मनोकाँक्षा पूरा गरिदिन दवाब दिने अवसर होइन । उपवासको कारण हामी बद्लिन्छौं, परमेश्वर होइन । उपवासको समय मण्डलीका अन्य दाजुभाइ, दिदीबहिनीहरू भन्दा बढी आत्मिकी देखापर्ने समय पनि होइन । यो कुरा मत्ती ६:१६–१८ मा येशू प्रभुले जोड दिएर भन्नुभएको छ । आगामी दिनहरूमा, हाम्रा उपवासका समयहरू अब झनै आशिषित र अर्थपूर्ण बन्ला कि ?
यहाँ साथै विदेशमा बजारका रेष्टुरेण्टहरूमा भोजनको आनन्द लिने जीवनशैली प्रायः प्रायः अँगालेका हामी कतिपयहरूका लागि यो समयमा उपवासको चर्चा गर्नु कतिको प्रासँगीक होला ? मण्डलीका सम्पूर्ण विश्वासीहरूलाई मेरो यही आग्रह छ कि यो महिनाभरी नै हामी हाम्रा परिवारसँग मीठा–मीठा भोजन र परिकारहरूको आनन्द लिइरहेको बखत पनि परमप्रभु परमेश्वरसितको हाम्रो घनिष्ठतामा कुनै आँच नआएको होस् ।