‘ख्रीष्टमा – सबै थोक तिमीहरुकै हुन’- पाष्टर रोबर्ट कार्थक
May 31, 2013 | Articles
अय्यूब ८:७ मा विल्दद शुहीले अय्यूबको निम्ति यसरी भविष्यवाणी गरेका थिए, “तपाईंको पहिलेको अवस्था क्षुद्र देखिएता पनि तपाईंको अन्त अति महान हुनेछ ।” यो अगमवाणी पूरा भएको कुरा अय्यूब ४२:१२ मा यसरी लेखिएको छ, ‘परमप्रभुले अय्यूबको जीवनको आखिरी समयमा शुरूको समयमा भन्दा बढी आशिष् दिनुभयो । तिनका चौध–हजार भेंडा–बाख्रा, छ हजार ऊँट, हजार हल गोरू र एक हजार गधा भए ।’ अय्यूब १:३ मा बताइएका अय्यूबसँग अघि भएका गाई–वस्तु, भेंडा–बाख्राहरूको संख्याभन्दा यो दोब्बर थियो । हामी युगका अन्तिम समयमा बस्ने प्रभुका जनहरू अघि अघिका मानिसहरूभन्दा अत्यन्तै भाग्यशाली छौं कारण प्रभुले हाम्रो समय अघि अघिको समयभन्दा अझ बढी आशिषमयी बनाइदिनुभएको छ । हाग्गै २:९ मा लेखिएको छ, ‘यस भवनको पछिको महिमा अघिको भन्दा अझ बढ्ता हुनेछ भनी सेनाहरूका परमप्रभु भन्नुहुन्छ । यस ठाउँमा म शान्ति ल्याउनेछु ।’ हिब्रू ११ अध्यायमा विश्वासका वीर योद्धाहरूबारे हामी पढ्न पाउँछौं । ३९–४० मा लेखिएको छ, ‘तिनीहरू सबैले आफ्ना विश्वासको निम्ति ठूलो प्रशंसा पाए तर प्रतिज्ञा गरिएका कुराचाहिँ पाएनन् । परमेश्वरले हाम्रा लागि अझ असल योजना राख्नुभएको थियो ताकि हामीसँग मात्रै तिनीहरू सिद्ध तुल्याइऊन् ।’ १३ पदले पनि भन्दछ, ‘प्रतिज्ञा गरिएको कुरा प्राप्त नगरी यिनीहरू सबै विश्वासैमा मरे ।’ ती विश्वासका योद्धाहरूले कोशिषद्वारा पाउन नसकेका आशिष्हरू आज हामीले विश्वासद्वारा ख्रीष्टमा पाएका छौं । तिनीहरूले प्रतिज्ञा मात्र पाए, हामीलाई प्रतिज्ञाको प्रतिफल नै मिलेको छ । प्रतिज्ञाको प्रतिफलको प्रतिक्षामा तिनीहरूले आफ्ना सारा जीवन नै बिताए, हामीले ख्रीष्ट येशूलाई प्राप्त गरेर उहाँमा सबै कुरा अहिले नै पाइसकेका छौं । कानाको विवाह भोजका मुखियाले दुल्हालाई भनेझैँ प्रभुले असल दाखमद्य हामी आखिरी पुस्ताकाहरूको निम्ति अहिलेसम्म साँचिराखिदिनुभएको छ ।
यी आशिष्हरू पछि पाउनेछौं भनेर अब हामीले आशा गर्न पर्दैन, अहिले नै पाइसकेका छौं भनेर विश्वास गर्न सक्छौं । हाम्रा निम्ति भविष्यका कुराहरू परमप्रभुको निम्ति भइसकेका कुराहरू हुन् । परमेश्वर पिताले यी आशिष्हरू हामीलाई ख्रीष्टमा दिइसक्नुभएको छ । एफिसी १:३ ले भन्दछ, ‘हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पितालाई धन्यवाद होस् जसले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिष्ले ख्रीष्टमा आशीर्वाद दिनुभएको छ ।’ ‘दिनु हुनेछ’ भन्ने प्रतिज्ञा होइन यो, ‘दिनुभएको छ’ भन्ने तथ्य हो । यो तथ्यमा विश्वास गरेर मात्र हामी हाम्रो व्यक्तिगत अनुभवमा यसलाई सत्यको रूपमा भेटाउन सक्छौं ।
हाम्रो विश्वासले नै तथ्यलाई सत्यमा बदलन्छ, र सत्यले हामीलाई स्वतन्त्र गराउँछ । गलाती ३:९ ले पनि भन्दछ, ‘यसकारण विश्वास गर्ने, मानिसहरूले विश्वासी अब्राहामसँगै आशिष् पाएका छन् । यहाँ पनि ‘आशिष् पाउनेछन्’ भन्ने प्रतिज्ञा होइन यो ‘आशिष् पाएका छन्’ भन्ने तथ्य हो ।
परमेश्वर पिताले आशिष् दिन सक्नुहुन्छ अथवा दिनुहुन्छ भनी विश्वास गर्नु एउटा कुरो हो, परमेश्वर पिताले आशिष् दिनुभएको छ भनी विश्वास गर्नु अर्कै कुरा हो । ‘दिनु हुनेछ’ भनेर विश्वास गर्नेहरू आशिष् कहिले पाइने हो भनेर पर्खिरहन्छन्, ‘दिनुभएको छ’ भनी विश्वास गर्नेहरू हामीले पाएका छौं भन्ने जानेर धन्यवाद, प्रशंसा चढाइरहेका हुन्छन् । तपाईंचाहिँ कुन थरी ? ‘पाउनेछौं’ भनेर पर्खिरहने कि ‘पाएका छौं’ भनेर धन्यवाद चढाउने ?
प्रार्थनाको सम्बन्धमा पनि प्रभु भन्नुहुन्छ, — ‘यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जे सुकै माग्छौ सो पाएका छौ भन्ने विश्वास राख र त्यो तिमीहरूको हुनेछ
(मर्कुस ११:२४) । पाउने छौं भन्ने आशाले जहिले पनि प्रार्थनाको उत्तरलाई हामीबाट टाडो भविष्यमा नै राख्तछ । पाएका छौं भन्ने विश्वासले प्रार्थनाको उत्तर हाम्रो नजीकै वर्तमानमा हाम्रो हातमै राखिदिएको हुन्छ । १ यूहन्ना ५:१५ ले पनि भन्दछ, ‘हामीले प्रार्थनामा जेसुकै मागेता पनि परमेश्वरले सुन्नुहुन्छ भनी हामी जान्दछौं भने, यो पनि जान्दछौं कि उहाँलाई हामीले जे मागेका छौं त्यो हामीलाई प्राप्त भएको छ ।’ १४ पदमा हामी पढ्छौं, ‘…उहाँको इच्छाबमोजिम जे मागेतापनि उहाँले हाम्रो सुन्नुहुन्छ ।’ प्रार्थना सुनेर प्रार्थनाको उत्तर दिनुहुने परमेश्वर पिताबाट हाम्रो प्रार्थनाको सुनुवाई भइसकेको छ भन्ने थाहा पाएपछि प्रार्थनाको उत्तर उहाँबाट आउने कुरामा हामी पूरा निश्चित बन्न सक्छौं ।
लाजरसको चिहानबाहिर राखिएको ठूलो ढुङ्गो हटाउने आदेश प्रभुबाट पाएपछि मार्थाले भनिन्, “हे प्रभु, यस बेलासम्म त त्यो गन्हाउन लागिसक्यो होला किनकि त्यो मरेको चार दिन भइसक्यो ।” येशूले तिनलाई भन्नुभयो, “के मैले तिमीलाई भनेको होइन, तिमीले विश्वास गर्यौ भने परमेश्वरको महिमा देख्नेछौ ? (यूहन्ना ११:३९–४०) । आफ्नै आँखाले देखेपछि मात्र विश्वास गर्छौं भन्ने थोमाहरूलाई प्रभु भन्नुहुन्छ, आँखाले देखेपछि विश्वास गर्ने कुरै उठ्दैन । आँखाले देखेपछि मलाई प्राप्त भइसकेछ भन्ने कुरा थाहा पाइहालिन्छ फेरि किन विश्वास चाहियो ? परमेश्वरको महिमा देख्नु हो भने हामीले उहाँमा र उहाँको सामर्थमा विश्वास गर्नुपर्छ । हामी विश्वासीहरू दृष्टिले होइन तर विश्वासले हिँड्ने प्राणीहरू हौं (२ कोरिन्थी ५:७) ।
परमेश्वर पिताले हामीलाई ख्रीष्टमा सबै आशिष्हरू दिइसक्नुभएको छ । हाम्रो आत्मा, प्राण, शरीरका लागि चाहिने सबै आशिष्हरू हामीलाई ख्रीष्टमा प्राप्त भइसकेको छ । ख्रीष्ट येशूमा हामीलाई दिइएको मुक्ति भित्रनै आत्माको लागि मुक्ति, पाप–क्षमा, स्वर्ग जाने निश्चयता, पुत्रत्वको अधिकार र अरू सबै आत्मिक आशिष्हरू राखिएका छन् । प्राणको लागि शान्ति, आनन्द, छुट्कारा, स्वतन्त्रता, शुद्धता, पवित्रता, साहस, धीरज, ज्ञान, बुद्धि र अरू मानसिक आशिष्हरू साथै शरीरको लागि भोजन–वस्त्र, धन–सम्पत्ति, स्वास्थ्य, चंगाई–आरोग्यता, बल, शक्ति, सामर्थ, उन्नति इत्यादि सबै भौतिक आशिष्हरू यही मुक्तिभित्र नै छन् । यी सबै कुराहरू हामीलाई ख्रीष्टमा प्राप्त भइसकेको छ । अब फेरि उहाँले दिइसक्नुभएका कुराहरू नै ‘दिनुहोस्’ भनेर माग्नुको सट्टामा ‘यी आशिष्हरू दिनुभएको लागि धन्यवाद पिता ! भन्दै विश्वासको हात बढाएर यी आशिष्हरू लिई उपभोग गर्दै जानु नै सफल ख्रीष्टिय जीवनको विशेषता हो ।
‘जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नुभएन तर हामी सबैका निम्ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुने छैन र ?’ (रोमी ८:३२) ।
परमप्रभु परमेश्वर भन्नुहुन्छ, “सबै थोक तिमीहरूकै हुन् ।”
के तपाईं विश्वास गर्नुहुन्छ ?