धापासी कबरस्थान – पाष्टर बिर बहादुर खवास
July 10, 2014 | Articles
धापासी कबरस्थान
सूचना–पत्र २००३ मेरो पहिलो लेख “धापासी किन प्रिय” का केही सारांसः–
हुनलाई जुन ठाउँलाई हामी धापासी भनिरहेछौं, त्यो ठाउँ वास्तवमा खड्गा भद्रकाली गाउँ विकास हो । धापासी निवासी श्री नर बहादुर दाई जो प्रभुमा सुतिसक्नुभो–उहाँकै प्रयास र पहलमा प्रभुले यो स्थान नेपाली इसाई मण्डलीलाई २०३२ वैशाखमा सिमेट्रीको लागि उपलब्ध गराइदिनुभएको हो । यसरी दाईको गा.वि.स. धापासी भएकोले हामीले सिमेट्रीलाई पनि धापासी भनिरहेछौं । उसो त मालीगाउँ गा.वि.स.मा भएको मण्डली घर जग्गालाई पनि यस्तै इतिहासको कारणले हामी ‘ज्ञानेश्वर’ मण्डली भन्दै आयौं जसरी बाल संगतिलाई ‘सण्डे स्कुल’ भन्दै आएका छौं । यी नाउँहरू यसरी प्रियहरू भएका छन् ।
ठाउँ जस्तै होस् प्रियहरू बसेकोले त्यो प्यारो नै हुन्छ । यसैले होला मन परेको मानिसको सँगै जग्गा किनेर घर बनाउने चलन आएको । धापासी हाम्रो लागि अघिभन्दा झन् प्रिय बन्दै गइरहेछ । हाम्रा गुरुआमा श्रीमती मेरी कार्थकको पार्थिव शरीर त्यहाँ राखिएको समयपछि त हामी धेरैको लागि त्यो ठाउँ मूल्य मात्र नभएर, बहुमूल्य र प्रिय हुन गयो । माया गरेको व्यक्तिलाई मृत्युपछि कति माया गर्ने ? कति सम्झना गर्ने ? सिमा तोक्न र अड्कल काट्न सकिन्न । बादशाह शाहजहाँले भारतको आग्रामा ममताजको स्मरणमा ताजमहल बनाएछन् ।
पहिलो इतिहास १७:१ मा दाऊद राजाले नातान भविष्यवक्तालाई भने “म ता यहाँ देवदारूको घरमा बस्दैछु, तर परमप्रभुका करारको सन्दूकचाहिँ … ।” हामी, डेरा कि साधारण वा राम्रो घर, कि महलमा बस्छौं होला, तर प्रभुमा सुतिगएका प्रियहरूको शवहरू कहाँ र कस्तो ठाउँमा छ त ? के सम्पूर्ण धापासी मनलाई खिच्ने भएको छैन र ? अब सम्पूर्ण धापासीको लागि लागिपर्ने समय र मौका आएको छ ।
उत्पत्ति २३:११ जब सारा मरी, अब्राहामले मक्पेलाको ओढार आफ्नी पत्नीको शव राख्नलाई सित्तैमा पाएका थिए तर अब्राहामले यो बिना मोल लिन चाहेनन् र चार सय शेकेल (करीब रू. ८००÷–) मा किने । घर हुनु नहुनु, रूपैयाँ–पैसा हुनु नहुनु बेग्लै कुरा हुन सक्छ तर त्यस स्थानको निम्ति मेरो ‘मन हुनु’ मुख्य कुरा हो । त्यहाँ जाने बाटो, बनाइएको सेवा–घरको रहल काम पूरा गर्ने, साँध–सिमानामा पर्खाल, पालेघर आदिको निम्ति ठोस रकमको आवश्यकता छ । रूपैयाँ–पैसा नभए समय दिएर सकेको काम गर्न सकिन्छ । आज प्रार्थना मात्र गरेर छोडिन्छ भने परेको दिनमा पनि के प्रार्थना मात्र गरेर छोडिदिन सकिन्छ त ? हक हित जति हुन्छ जिम्मा पनि त्यतिनै हुन्छ ।
मरियमले झैँ बहुमूल्य अत्तर ठीक समयमा ठीक ठाउँमा खन्याउन सकिन्छ । नत्र ढिला भए चिहानमा पुर्याइएको तर प्रयोगको आवश्यता नै नभएको अत्तर र मसला हुनेछ । त्यहाँ पुगेका प्रियहरू फर्कि आउन सत्तैनन् तर मलाई एकदिन त्यहाँ पुर्याइन्छ नै । के हामी सबै पुर्याइने ठाउँको संभार नगरौं ? डेरा, घर, महलबाट लगेर मलाई राख्न अघि त्यो ठाउँलाई अझ स्वच्छ र सुन्दर बनाउन सकौं । कता–कता मेरो धापासी र म धापासीको भन्न अत्युक्ति नहोला झैँ लाग्छ मलाई । २४–८–१९९८ को पुरुष रीट्रिटमा पाष्टर गुरुबाको वचनः “पुरुष र अगुवाहरू होशियार, चेतमा, होशमा आउनुहोस् नमूना बिनाको शिक्षा मण्डलीलाई चाहिँदैन । शिक्षा र उपदेशमा जिउने बेला आएको छ ।”
सूचना–पत्र २०१२ मेरो दोस्रो लेख “धापासी विश्रामस्थल पर्खाल र एबेनएजरको चौतारो”
धापासी समिति र निर्माण विभागको पहिलो संयुक्त बैठक २०६९–१–३ (१५ अप्रिल) ज्ञानेश्वरमा, दोस्रो बैठक २०६९–१–६ (१८ अप्रिल) धापासीमा बस्यो । २०६९–१–१३ (२५ अप्रिल) बाट पर्खालको काम शुरू गरी सूचना–पत्रमा व्यक्त गरिएझैँ १२ जुनमा मण्डलीको पाष्टर रोबर्ट कार्थक गुरुबाले सबै कुराको निम्ति महान् परमेश्वरको महिमा गर्नु हुँदै सबै स्वयं सेवक-सेविकाहरूलाई धन्यवाद दिनुभयो । यो ईश्वरको दानस्वरूप नेइमलाई जुटाइदिनुभएको ठूलो सम्पत्ति हो, यो साझा सम्पत्तिको मर्मत, संभार निरन्तर रूपमा गरिनुपर्छ । यसको निम्ति सम्पूर्ण नेइम मण्डली परिवारले आफ्नो–आफ्नो जिम्मा पूरा गर्नुपर्छ भनी पाष्टर गुरुबाले आह्वान गर्नुहुँदै, प्रशस्त हौसला थपिदिनुभयो । पाष्टर गुरुबा, राजेन्द्र रोंगोंग गुरुबा र पी.बी.राई दाज्यू तीनै जना ८० वर्ष नाघेकाहरूले जोशसँग ६०० फिट लामो अप्ठ्यारो बाटो हिँडी ६० फिट ठाडो भर्याङ्ग
(याकुबको सिँडी) उक्लन सफल हुनुभयो । स्वयं सेवक भई सघाउने १०० जनाले उहाँहरूलाई पछ्याए । नेइमका निम्न मण्डलीका स्वयं सेवक–सेविकाहरूलाई गुरुबाले हृदयबाट धन्यवाद दिनुभयो । आफ्ना–आफ्ना स्वयं सेवक–सेविकालाई आफैहरूले खाजा चिया खुवाउनुभयो । स्वयं सेवक–सेविकाबाट बल, जोश, रहर, सीप सबै पायौं । अति रमाइलोका साथ सँगै काम गरियो । परिचय बटुल्ने काम बिर्सन सकिँदैन नै । गुरुबा अतिरिक्त सम्पूर्ण सहयोग जुटाइदिनुहुनेहरूलाई संयोजकको तर्फबाट पनि हामी कृतज्ञताकासाथ धन्यवाद चढाउँदछौं ।
स्वयं सेवकहरूको जन बल यस प्रकार छ :—
८ मे २६ वैशाख जोरपाटी मण्डलीबाट ९+४ जम्मा १३ जना
१४ मे १ जेठ ज्ञानेश्वर मण्डली पूर्वी क्षेत्रबाट १५+२ जम्मा १७ जना
१५ मे २ जेठ ज्ञानेश्वर मण्डली मध्य क्षेत्रबाट १८ जम्मा १८ जना
१६ मे ३ जेठ ज्ञानेश्वर मण्डली पश्चिम क्षेत्रबाट १६+३ जम्मा १९ जना
४ जुन २२ जेठ गोंगबूँ मण्डलीबाट १३+३ जम्मा १६ जना
२५ अप्रिलदेखि ११ जुन, वैशाखदेखि २८ जेठ ललितपुर मण्डलीबाट जम्मा ६ पटक ६२+१२ जम्मा ७४ जना
जम्मा स्वयं सेवक–सेविका १५७ जना
यस बाहेक धेरै–धेरै काम जति हेर्यो त्यतिनै देखिन्छ । सल्लाहहरू पनि प्रशस्तै आउँदैछ । यो गर, त्यो गर होइन म, हामी गर्छौं भनौं, अघि सरौं । कामै नगरी हुँदैन भन्ने बानी छोडौं । काम गरौं बरू भएन भने भएन भन्न सिकौं । सबै सल्लाह, दान, पाष्टर एल.पी. न्यौपाने (धापासी समिति उपाध्यक्ष) लाई दिनुहुन अनुरोध गर्दछौं ।
— नयाँ र पुरानो पर्खाल सिध्याइएको ४०१ फिट
— पुरानो पर्खाल गेटदेखि खोल्चाको मुखसम्म २१० फिट
— तारको र हाल बनाइएको बाँसको बार २५६ फिट
— खोल्चा, कुलो, गोरेटो सबै खुल्ला सिमाना ५५८ फिट
— विश्रामस्थलको मोटामोटी परिधीको नाप १४२५ फिट
सूचनापत्र जुलाई ५ तेस्रो “धापासी कबरस्थान”
स्वर्गबास, प्रभुको घर, परलोक नरम शब्द हामीले प्रयोग गरेता पनि आखिरमा यो ‘मृत्यु’ नै हो जो कटु; र कठोर हुन्छ । परमेश्वरले सास फुकिदिनुहुँदा जिउँदो (उत्पत्ति २:७) र फिर्ता लिनुहुँदा मृत्यु (भजनसंग्रह १०४:२९) हामी इसाईहरूले माटा–माटोलाई दिने शिक्षा पाएका छौं । धापासी ‘स्थल–चिहान’ कडा भो नरम नाउँ ‘विश्रामस्थल’ भयो । तर त्यहाँ कसले विश्राम लिन्छ ? मरेको मान्छे न थाक्छ न विश्राम लिन्छ । प्रभुमा विश्वास गरेवैm दिन हामीले विश्राम पाइसक्यौं (मत्ती ११:२८) ।
२०३१ चैत्र २ गते गाउँको तीन भाइ जमीन धनीहरूले ख्रीष्टियान कबरस्थानका लागि नेइमका तीनजना वीर बहादुर खवास, पूर्वमान राई र जनकलाल श्रेष्ठको नाउँमा जमीन बिक्री गरी नाउँसारी गरिदियो । हाम्रो नाउँमा दर्ता भएको जमीन हाम्रो नभई नेइमको हो र कसैले हकदावी गर्ने छैन भनी एक लेखौट मण्डलीमा मजबूत छ । समझदारीमा जस्तो भएता पनि कानूनले लालपूर्जा बाहकलाई नै समात्छ । २०४४ साल असोजमा जमीनबारे हामी विरूद्ध खड्का भद्रकाली गाउँ पञ्चायतमा मुद्दा पर्यो । २०४४ मंसिरमा नर बहादुर दाईको मृत्यु भयो ।
त्यसपश्चात् बोलिदिने मानिस नभएर समस्या अझ जटिल भयो । अड्डा, पञ्चायत कार्यालय धेरै पटक धाउनु पर्यो । भजनसंग्रह १२७:१ परमप्रभुले रक्षा गरिदिनुभयो । खोस्न पाएन । हालसम्म यसरी सुविधासँग जमीन चलाउन प्रभुले दिनुभइरहेछ । यो देख्दा हामीले जे दुःख, धम्की, आरोप सह्यौं, भोग्यौं ती व्यर्थ भएन । तीन जनाको संयुक्त नाउँको ५ कित्ता जमीन १५–४–३–० हो । १ कोरिन्थी ३:६ पावल रोप्छ, अप्पोलस पानी हाल्छ तर परमेश्वरले चाहिँ बनाउनुहुन्छ । हालसम्म पनि सिमाना विवाद, लाश गाडेको विरोधमा कुरा उठिरहेको छ । अब सुविधा भोग गर्नलाई जिम्मा लिनै पर्छ । तीन पूर्जाधनीको उमेर, पौरख सिधियो । नेइमका पाँच मण्डली–ज्ञानेश्वर, जोरपाटी, गोंगबूँ, ललितपुर, धापासीले जिम्मा लिनु परेको छ । धापासी समिति पाष्टर एल.पी. न्यौपानेको अध्यक्षतामा छ । मण्डलीबाट खटाइएको प्रतिनिधि सक्रिय हुनु परेको छ । धेरै बलजफ्ती र मनपरी भएकोले सबैको चनाखोपनको आवश्यकता छ । धापासी कबरस्थानमा लाश राख्न नेइमका प्रत्येक सदस्यले पाउँछ । त्यसपश्चात् मनपरी गरी संरचना बनाउने छुट कसैलाई दिन मिल्दैन । भोलि ठाउँ अभाव–रीसाइकल गरिन्छ । सबै प्लेक बटुलेर कुनै भित्तामा सजाइन्छ । आफ्ना प्रियको चिहान मात्र प्रिय नभएर सम्पूर्ण धापासी हाम्रो लागि प्रिय हुनै पर्छ । के हाम्रो आशा यही संसारमा मात्र छ ?
१ कोरिन्थी १५:१९ । सबैलाई लाश गाड्न दिइन्छ–ठाउँ ओग्ट्न होइन । सबै मिलेर सम्पूर्ण कबरस्थानको संभार र मर्मत गर्ने चेत लिनु परेको छ ।
माटोले सबैलाई बराबर पार्छ – यसले छुट्टयाउँदै । मण्डलीहरूले गाडेको लाश निकाल्न परेर कष्ट भोग्दैछ, समाजले विरोध गर्न छोडेको छैन । यो सम्झेर बुझेर हामीले पाएको सुविधाको दुरूपयोग नगरौं । सम्मानसाथ लाश गाड्न पाएर सबैले विश्राम पाओस् । सबै लागौं, सबैलाई सुझोस्, सबैलाई पुगोस् । नहेम्याह १:४ हामी पनि रोऔं, सुरिऔं, अघि बढौं । यसैले अरूले अनियमित संरचना भत्काउन, व्यवस्थित गर्न अघि आफ्नाहरूले नै कदम चालोस्, आपैm मिलाउने काम गरोस्, सबैको भलाई होस्, सबैलाई शान्ति होस् । नयाँ पुस्ताका जवानहरू टेक्नुहोस् । धापासी कबरस्थानको प्रिय र बहुमूल्य जमीन ! आशिष्लाई आशिष्मा कायम राखौं । सबैलाई प्रभुको अनुग्रह, प्रेम र शान्ति रहोस् !!