परमेश्वरको आवाज सुन्नु – एल्डर गोपी राई
April 4, 2016 | Articles
परमप्रभुले अब्रामलाई भन्नुभयो, तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा । म तँबाट ठूलो जाति खडा गर्नेछु र तँलाई आशिष् दिनेछु । म तेरो नाउँ प्रसिद्ध गराउनेछु र तँ आशिष्को मूल हुनेछस् । तँलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु र तँलाई सराप दिनेहरूलाई सराप दिनेछु। तँद्वारा नै पृथ्वीका सबै कूलले आशिष् पाउनेछन् । यसैकारण परमप्रभुले भन्नुभएबमोजिम अब्राम गइहाले र लोत पनि तिनीसँग गए । हारानबाट निस्केर जाँदा अब्राम पचहत्तर वर्षका थिए । अब्राम, तिनका पत्नी साराई र तिनका भतिजा लोत र तिनीहरूले जम्मा गरेका सबै धनसम्पत्ति र हारानमा प्राप्त गरेका मानिसहरूलाई लिएर कनान देशमा जानलाई निस्के र त्यहाँ पुगे । (उत्पत्ति १२ः१–५)
अब्रामसँग परमेश्वरले ३ वटा कुरा छोड्न भन्नुभयो ।
(१) तेरो देश छोड् । अब्राम बस्ने देश कल्दीहरूको देश ऊर थियो । त्यहाँ बस्ने जाति पनि मूर्तिपूजक थियो । परमेश्वर मूर्तिपूजालाई घृणा गर्नुहुन्छ । परमेश्वर अब्रामलाई मूर्तिपूजकहरूबाट अलग बनाउन चाहनुहुन्थ्यो । मूर्तिपूजाबाट अलग हुनको लागि त्यो ठाउँ छोड्नु पथ्र्यो । त्यो ठाउँ नछोडेसम्म अब्रामले परमेश्वरले उनलाई र उनको सन्तानलाई दिन लाग्नुभएको आशिष् उपभोग गर्न पाउने थिएन किनकि त्यहाँ मूर्तिपूजाको बन्धन थियो, जहाँबाट उनी तनिस्कनुपथ्र्यो ।
(२) दोस्रो कुरा अब्रामलाई परमेश्वरले कुटुम्ब, नातेदार छोड् भन्नुभयो । किनकि उनका नातेदार, आफन्त र कुटुम्बहरू पनि स्वाभाविक रूपमा मूर्तिपूजकहरू थिए । आफन्त र नातेदारहरूको कारणले पनि अब्राहाम मूर्तिपूजाबाट अछुतो रहन गाह्रो थियो । त्यसैले परमेश्वरले अब्रामलाई आफन्त, नातेदार र कुटुम्बहरूको प्रभावबाट छुटाउन चाहनुहुन्थ्यो । आफन्त र कुटुम्बहरूको प्रभाव बाहिर अब्रामको लागि परमेश्वरले ठूलो आशिष् राखिदिनुभएको थियो ।
(३) तेस्रो कुरा तेरो घर छोड् भन्नुभयो । घर छोड्न धेरै गाह्रो कुरा हो । किनकि घरमा धेरै सुविधा हुन्छन् । केही साह्रो–गाह्रो पर्यो कि घरकाहरूले सहायता गर्छन् । दाजुभाइ, दिदीबहिनी, काकाकाकी, भतिजा, भतिजीहरूले सहयोग गर्छन् । हेरचाह गर्छन् । ठीक–ठीक समयमा खाना पाइन्छ । घरबाहिर ती सबै कुरा सम्भव हुँदैन । थकाई लाग्छ । भोक लाग्छ । आमा बाबुको माया त्याग्नुपर्छ । सुख सुविधा त्याग्नुपर्छ ।
घरमा भएसम्म त्यहाँ गरिने रीतिविधि, परम्परा, चलन र संस्कार अनुसार नै गर्नुपर्छ । घर छोड्यो भने आफन्त स्वतः छोडिन्छ । परमेश्वरले अब्रामलाई ऊ बसेको ठाउँबाट टाढा जानको लागि भन्नुभयो । अब्राम आज्ञाकारी भएर त्यहाँबाट गइहाले । उनले म कोसँग जाने ? कसरी जाने ? के के बोक्ने ? भनेर सोधेनन् । जब उनले परमेश्वर बोलेको सुने, उनले परमेश्वर नै बोल्नुभएको हो भनेर भरोसा गरे । भरोसा मात्र गरेनन्, उनले विश्वासमा कदम पनि चाले ।
हामी कति जनालाई परमेश्वर बोल्नुहुन्छ भन्ने थाहा पनि हुँदैन । त्यो हदसम्मको भक्तिमा उनीहरू पुगेका हुँदैनन् । कति जनाचाहिँ परमेश्वर बोल्नुभयो भने के भनेर बोल्ने हो बरू नबोलेकै राम्रो भनेर परमेश्वरलाई बोल्नबाट रोक्छन् । परमेश्वरसँग घनिष्ठतामा पुग्न चाहँदैनन् । अर्को वर्गका मानिसहरूचाहिँ आफूलाई मनपर्ने कुरा हो भने स्वीकार्ने र आफूलाई आर्थिक, भौतिक फाइदा नहुने कुरालाई बेवास्ता गर्छन् र भन्छन् यस्तो पनि हुन्छ र ? यसले त मलाई घाटा लाग्छ, नोक्सानी पुर्याउँछ । त्यसैले यो परमेश्वर बोलेको होइन भनेर हल्का रूपमा लिन्छन् । उनीहरूको जीवनमा आज्ञापालन हुँदैन । अनि उनीहरू परमेश्वरलाई एउटा नोकर जस्तो गरी काम अह्राउँछन् र भन्छन् यस्तो गर्नुहोस् उस्तो गर्नुहोस्। आशिष् दिनुहोस् । आशिष् त आज्ञापालनमा छ । अब्राहाम गइहाले। आफ्नी श्रीमती साराई, भतिजा लोत र आफूले प्राप्त गरेका नोकरहरू लिएर निस्के । त्यहाँ पुगेपछि परमेश्वरले भन्नुभयो, म यो देश तेरो सन्तानलाई दिनेछु । परमेश्वरले अब्राहामलाई त्यस ठाउँमा पुगेपछि निश्चयता दिनुभयो । तब उनले परमप्रभुको लागि वेदी बनाए । परमेश्वरलाई आदर गरे ।
अब्राम निस्कने बेलामा ७५ वर्षका थिए । एउटा सन्तान पनि थिएन । त्यसपछि त्यो ठाउँमा पुगेर पनि अब्रामले २५ वर्ष पर्र्खनुपर्यो । त्यहाँ पनि उनले धेरै उतार चढाव सामना गरे । अनिकालमा पर्यो र मिश्रतिर जानुपर्यो । तर मिश्रतिर जाँदा श्रीमतीबाट अलगिनु पर्यो । डरमा जिउनुपर्यो । तर परमेश्वरको योजना अर्कै थियो । उहाँले उत्पत्ति १२ः३ मा प्रतिज्ञा गर्नुभएको “तँलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु र तँलाई सराप दिनेलाई सराप दिनेछु ।” यसको अर्थ सुरक्षा हो । यहाँ परमेश्वरले सुरक्षाको प्रत्याभूति (ग्यारेन्टी) दिनुभएको हो । फारोले साराईलाई लग्यो । तर परमेश्वरले त्यसको कारणले फारोको घरानामा विपत्ति ल्याउनुभयो । जसको कारणले फारोले साराईलाई कुनै हानी गर्न पाएन । परमेश्वरले आफ्नो भय फारोकहाँ पुर्याउन चाहनुहुन्थ्यो । फारोले साराईको खातिर नोकर चाकर, गाईवस्तु, भेडा, गधा र ऊँटहरू दिए । पछिबाट साराई पनि फिर्ता गरिदिए । परमेश्वरलाई प्रेम गर्ने र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति परमेश्वरले सबै कुरा मिलाएर भलाई नै उत्पन्न गर्नुहुन्छ (रोमी ८ः२८) ।
अब्रामको साथ लागेर लोतले पनि प्रशस्त आशिष् पाए । उत्पत्ति १३ः५–१८ सम्म हेर्यौं भने अब्राम मात्र धनाढ्य भएको होइन । तर लोतले पनि प्रशस्त आशिष् पाएको देख्छौं । अब्रामले आफ्ना भतिजा लोतलाई दुवैका भेडा बाख्रा र गाईवस्तुको सम्पत्ति प्रशस्त भएकोले छुट्टिने सल्लाह दिन्छन् । किनकि काका भतिजाका गोठालाहरूका बीचमा झगडा भैसकेको थियो (७ पद) । अब्रामलाई गोठालाहरूका कारणले काका भतिजाको बीचमा नै झगडा होला कि भन्ने डर थियो । अब्रामले आफ्नो लोतलाई भन्छन्, “सारा देश तिम्रो अगि छ । तिमी मबाट अलग होऊ । तिमीलाई जता मन लाग्छ, छानेर लेऊ । तिमी देब्रे गए म दाहिने लागुँला, तिमी दाहिने लागे म देब्रे लागुँला ।”
लोतले आफ्ना आँखा उठाएर हेर्दा यर्दनको बेँसीचाहिँ परमप्रभुको बगैंचाजस्तै चारैतिर पानीले भिजेको थियो । लोतले यर्दनको जम्मै बेँसी रोजेर पूर्वतिर लागे । त्यसपछि परमेश्वरले अब्रामलाई भन्नुभयो, अब तेरा आँखा उठाएर तँ भएको ठाउँबाट पूर्व, पश्चिम, उत्तर, दक्षिणतिर हेर् । तैंले देखेका सबै ठाउँ म तँलाई र तेरा सन्तानलाई सधैँका लागि दिनेछु । तेरा सन्तानलाई पृथ्वीको धुलोसरह बढाउनेछु। उठ्, देशको चारैतिर जा । अब्रामले परमेश्वरको आदरस्वरूप वेदी बनाएको हामी देख्छौं । परमेश्वरले अब्रामलाई भन्नुभयो, चारैतिर आँखा उठाएर हेर् । तर पूर्वतिरका ठाउँ लोतले छानेर लगिसकेको थियो । बूढेसकालसम्म एउटा सन्तान पनि थिएन । तर तेरो सन्तान धुलो सरह बढाउनेछु । अब्रामको लागि उत्तर, दक्षिण र पश्चिम नै प्रशस्त थियो । फेरि परमेश्वरले कुन सन्तानको कुरा गर्नुभएको होला ? इसहाकको जन्म भैसकेको थिएन । झण्डै २५ वर्षको प्रतिक्षापछि मात्र इसहाक जन्मेका हुन् । परमेश्वरले अब्रामलाई प्रतिज्ञा गरेर दिन्छु भन्नुभएको देश कनान हो । जहाँ दूध र मह बग्ने उल्लेख छ । जुन देश अब्रामका नाति याकूब अर्थात इस्राएलका छोराहरू १२ कूललाई मिश्र अर्थात् दासत्वको मुलुकबाट निकालेर ल्याउनुभयो । मोशाको नेतृत्वमा मिश्रबाट निकालेर ल्याउनुभयो र यहोशूको नेतृत्वमा त्यहाँ पुर्याउनुभयो ।
धेरै मिशनरीहरूले घर छोडेका छन् । धेरै टाढा जानु पर्दैन । हाम्रै पाष्टर गुरुबा रोबर्ट कार्थकले परमेश्वरको आवाज सुन्नुभयो र देश छोड्नुभयो । नातेदार, कुटुम्ब र आफन्त छोड्नुभयो । घर छोड्नुभयो। अरूलाई आफ्नो बनाउनुभयो । तर उहाँका आफन्तहरू जत्तिकै माया गर्नेहरू मण्डलीमा धेरै जना छन् । कति जनाले अझ बढी माया गर्दा हुन् । जसले गर्दा हामीहरूले परमेश्वरलाई चिन्न पायौं ।
हाम्रो लागि पनि परमेश्वरले आशिष् राखिदिनुभएको छ । तर के हामीले परमेश्वरको आवाज सुनेका छौं ? परमेश्वरको भरोसा गरेका छौं ? परमेश्वरको भरोसामा कदम चालेका छौं ?
परमेश्वरले छोड् भन्नुभएको पुरानो जीवन छोडेका छौं ? पुरानो बानी, व्यहोरा, जीवनशैली, घमण्ड, इष्र्या, पाप गर्न छोडेका छौं ? परमेश्वर भन्नुहुन्छ, “रोग, बिमारी, पाप, अधर्म छोडेर आइज ।” के हामी तयार छौं त ?