बदलिँदो परिस्थितिमा सुसमाचार प्रचार – लेखनाथ पौडेल
April 18, 2018 | Articles
“किनकि यदि मैले … सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्कार छ” (१ कोरिन्थी ९ः१६) ।
सुसमाचार के हो ? समस्त मानव जातिको उद्धारको निम्ति उद्धारकर्ता बनेर येशू ख्रीष्ट यस संसारमा आउनुभयो । समस्त मानव जातिको निम्ति आफ्नो प्राण दिनुभयो र जतिले उहाँलाई तथा उहाँको बलिदानी कार्यलाई विश्वास गर्छन् अनि उहाँलाई प्रभु भनेर स्वीकार गर्छन् तिनीहरूले उद्धार पाउँछन् (यूहन्ना ३ः१६), येशूलाई ग्रहण गर्नेहरूलाई परमेश्वरले आफ्नो सन्तान बनाउनुहुन्छ (यूहन्ना १ः१२) र तिनीहरू अनन्तको लागि उहाँको राज्यमा प्रवेश गर्छन् (फिलिप्पी ३ः२०), जुन राज्यलाई परमेश्वरको राज्य तथा स्वर्गको राज्य भनिन्छ । यो राज्य कुनै भौतिक राज्य नभएर एउटा अलौकिक (ईश्वरीय) राज्य हो । सुसमाचार भनेकै येशूको बारेमा दिइने असल समाचार हो (प्रेरित १७ः३; रोमी १ः३)
सुसमाचार किन सुनाउने ? प्रभु स्वयंले आफ्ना चेलाहरूलाई परमेश्वरको राज्यको यो सुमाचार सबैलाई प्रचार गर्ने अभिभारा सुम्पनुभयो (मत्ती २८ः१८–२०) । किनकि सबै मानिसले उद्धार पाऊन्, कोही पनि नाश नहोऊन् भन्ने परमेश्वर चाहनुहुन्छ । मानिसलाई परमेश्वरले असल सृजनुभयो तर पापको कारण दुःखद स्थिति आयो । जताततै खराबी मात्रै आयो, मृत्यु आयो (रोमी ५ः१२) । यही खराबी, मृत्यु तथा अन्धकारको स्थितिमा आशास्वरूप प्रभु येशू मानव बनेर हाम्रो उद्धारको लागि आउनुभयो र आफ्नो बलिदानद्वारा पाप क्षमा गर्नुभयो तथा परमेश्वरसँग मिलाप गराउनुभयो अनि पुनरुत्थान हुनुभएर हाम्रो लागि नयाँ जीवन तथा आशा प्रदान गर्नुभयो (कलस्सी १ः१३–२०), सुसमाचार नसुनिकन कसैले पनि विश्वास गर्न सक्दैन (रोमी १०ः१४,१५) । यो समस्त मानव जातिको लागि भएकोले यो खबर सबैले पाउनुपर्छ (१ तिमोथी २ः४) ।
सुसमाचार कसले सुनाउने ? प्रभु येशू ख्रीष्टलाई आफ्नो प्रभु तथा मुक्तिदाता भनी ग्रहण गरेका उहाँका सबै चेलाहरू तथा सन्तहरूले सुसमाचार सुनाउनुपर्छ (१ कोरिन्थी ९ः१६; मत्ती २८ः१९–२०) । सुसमाचार सुनाउने अधिकार तथा जिम्मेवारी प्रभु येशू ख्रीष्टलाई चिनेका सबै विश्वासीहरूसँग हुन्छ (१ थेसलोनिकी २ः४) ।
कसलाई सुनाउने ? उहाँ समस्त मानव जातिको उद्धारको निम्ति मर्नुभयो तसर्थ सुसमाचार सबै मानिसहरूको निम्ति हो । सबैले सुसमाचार ग्रहण गर्न सक्छन् भन्ने हुँदैन न ता हामीले कसैलाई सुसमाचार ग्रहण गर्नैपर्छ भन्न मिल्छ किनकि सुसमाचार प्रचार गर्ने अभिभारा हाम्रो भएता पनि कुनै व्यक्तिको हृदय तथा मानसिकता परिवर्तन गराउने हाम्रो काम होइन । परमेश्वर आफैले नै कतिपय मानिसहरूको हृदय तयार गरिसक्नुभएको हुन्छ र कतिको हृदय तयार गर्नुहुन्छ, अनि कतिपय आफ्नो हृदयको यथास्थितिमा (मलाई आवश्यक छैन) भन्ने अवस्थामा नै रहेको समेत हुन सक्छ (२ कोरिन्थी ४ः३–४) । बाइबलमा हेर्यौं भने अनुग्रहद्वारा चुनिएकाहरूले (एफिसी १ः४–९; १ थेसलोनिकी ५ः९), प्रतिज्ञाबाट अनुग्रह पाएकाहरूले (कसैले विश्वास गर्यो भने उसको घराना पनि बाँच्न सक्छ भन्ने प्रतिज्ञा छ) (प्रेरित १६ः३१)र सन्तहरूले गरेको प्रार्थनाको कारण प्रार्थना गरिएका व्यक्तिहरूले सुसमाचार ग्रहण गर्न सक्छन् (तीतस २ः११) । यस्ता व्यक्तिहरूले उहाँको आवाज सुन्छन् र उहाँलाई ग्रहण गर्छन् (यूहन्ना १०ः२७) । असल कुरा त के छ भने, परमेश्वरले हरेक जाति, कुल, भाषा, समुदाय, भूगोल, लिङ्ग, वर्ग र उमेरका मानिसहरूलाई चुन्नुभएको छ र तिनीहरूले सुसमाचार पर्खिरहेका छन् (प्रकाश ७ः९; २ तिमोथी २ः१९; मलाकी १ः११) जब उनीहरूले परमेश्वरको आवाज (सुसमाचार) सुन्छन् तब उहाँलाई ग्रहण गर्छन् यसैले कसैलाई पनि जबरजस्ती ग्रहण गर्नु, बाध्य पारिनु आवश्यक छैन र बाध्य पारिनु पनि हुँदैन ।
सुसमाचार कसरी सुनाउने ? सुसमाचार प्रचार गर्ने विभिन्न माध्यमहरू प्रयोग हुने गर्छन् । बाइबल, सुसमाचारीय पर्चा तथा अन्य सामाग्रीद्वारा, मौखिकरूपमा, रेडियो, टेलिभिजन, समाचारपत्र आदि संचारका विभिन्न माध्यमद्वारा सुसमाचार प्रचार गरिएको हामीले पाउँछौं । तथापि बदलिँदो परिस्थिति र सन्दर्भमा सबैभन्दा राम्रो सुसमाचारको माध्यम हाम्रो जीवन नै हो (२ कोरिन्थी ३ः३) । जब हाम्रो जीवनमा प्रभुका गुणहरू (पवित्र आत्माका फल) मानिसहरूले देख्छन्, स्वभाविक रूपमा तिनीहरू ती गुणहरूप्रति आकर्षित हुन्छन् (गलाती ५ः२२–२३) । हामीमा चम्कने ज्योति र नूनिलोपनतिर आकर्षित हुन्छन् (मत्ती ५ः१४–१६) । त्यो बेलामा हामीसँग भएको असल खबर (सुसमाचार प्रस्तुत गर्ने) नैतिक अधिकार हामीसँग हुन्छ (१ पत्रुस २ः१२) । प्रभु आफैले पनि सुकर्महरूद्वारा सुसमाचार सुनाउनुभयो (प्रेरित १०ः३८) । चेलाहरूको सुसमाचार पनि विभिन्न सुकर्महरूद्वारा सुदृढ भयो (प्रेरित २ः४२–४७; रोमी १५ः१९) । यसकारण सुसमाचारको योग्य जीवन यापन गर्दै प्रेममा हामीले अरूलाई सत्यको सुसमाचार प्रचार गर्न सक्छौं ।
सुसमाचार कहाँ सुनाउने ? सबै देशमा सबै जातिहरूलाई सुसमाचार सुनाउनलाई प्रभुले आज्ञा गर्नुभएको हो (२८ः१९–२०) तर जथाभावी अव्यवस्थित प्रकारले सुनाउने होइन । पवित्र आत्माले देखाउनुभएको व्यक्तिलाई र उहाँले देखाउनुभएको स्थानमा सुसमाचार सुनाउनुपर्छ । परमेश्वर गोलमालका परमेश्वर हुनुहुन्न । एकपटक चेलाहरूलाई प्रभुले एशियामा जान मनाही गर्नुभयो (प्रेरित १६ः६,७) । के एशियाका मानिस बाँच्नु आवश्यक थिएन ? थियो । तर सुसमाचार हाम्रो इच्छामा होइन परमेश्वरको इच्छामा परमेश्वरले देखाउनुभएको ठाउँमा प्रचार गरिनुपर्छ (प्रेरित १६ः८,९) । सबैभन्दा राम्रो सुसमाचारको ठाउँ हाम्रो परिवार, आफन्त, साथीभाइ हो । जथाभावी, गोलमाल प्रकारले सुसमाचार सुनाउनु बाइबल सम्मत होइन । सबैलाई बाँच्नु आवश्यक छ तर पवित्र आत्माले नै हामीलाई सुसमाचार प्रचारको निम्ति अगुवाइ गरेको हुनुपर्छ (प्रेरित १ः८) ।
सुसमाचार कहिले सुनाउने ? हामी समय बेसमयमा प्रचार गर्न तयार हुनुपर्छ (२ तिमोथी ४ः२) अनि आत्माले देखाए अनुरूप पहिला हामीले सुसमाचार प्रचार गर्नुपर्छ । परमेश्वरले नै उपयुक्त समय र अवसर मिलाउनुहुन्छ, यसर्थ पवित्र आत्मामा त्यो समय र अवसरको खोजीमा हामी संवेदनशील हुनुपर्छ (प्रेरित ८ः२६–४०; प्रेरित २ः१४; फिलिप्पी १ः१२,१३) । र अन्तमा, सुसमाचार प्रचार हाम्रो स्वार्थको विषय होइन र हुनु पनि हुँदैन । यो प्रभुको हृदयको कुरा हो । कतिपय बेलामा हामीले कतिलाई सुसमाचार सुनायौं भन्ने कुरा हाम्रो घमण्डको विषय बन्छ । कतिपय बेलामा अनावश्यक रूपमा बाटोमा पर्चाहरू फालेर, अनिच्छुक मानिसहरूलाई पर्चाहरू दिएर, अनावश्यक वादविवाद गर्दै हामीले सुनाएको र बताएको कुरालाई पुष्टि गर्न चाहेर, अनावश्यक समयमा अनावश्यक प्रकारले मानिसहरूलाई चिढाउने काम गरेर हामीले सुसमाचार तथा त्यसको मर्मलाई विकृत पार्ने कार्य गर्नुहुँदैन । उहाँले आफ्ना समस्त सृष्टिलाई प्रेम गर्नुहुन्छ र त्यो प्रेमको सन्देश प्रभुको हृदयको भावनाअनुरूप ठीक प्रकारले प्रयोग गरिनुपर्छ । मानिसले उद्धार पाउनको लागि सुसमाचार सुन्नैपर्छ । विश्वास सुनाइद्वारा आउँछ । अनुग्रहद्वारा विश्वासबाट मात्र मानिसले उद्धार पाउन सक्छ । सुसमाचार प्रभुका जनहरूसँग रहेको हुन्छ । यसको सही प्रयोग सही किसिमले हुनुपर्छ । सुसमाचार यस्तो कुरा हो जसले मानिसहरूको आँखा (चेतना) खोल्न सक्छ र मानिस आफ्नो दुरावस्था (पापको कारण), आशाहीनता (मृत्युको डर), सहायताविहीन अवस्था (सृष्टिकर्ता परमेश्वर बिनाको एक्लो अवस्था) बाट नयाँ आशा (नयाँ जीवनको), नयाँ उमङ्ग (नयाँ जन्मको), नयाँ आशा (सृष्टिकर्ता परमेश्वरसँगको सम्बन्ध), नयाँ भविष्य (अनन्त जीवन) मा प्रवेश गर्न सक्छ । महान प्रचारक पावल भन्छन्, “किनकि यदि मैले सुसमाचार प्रचार गरें भने त्यसमा मैले घमण्ड गर्ने केही कारण छैन । प्रचार गर्न म बाध्य छु । सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्कार छ” (१ कोरिन्थी ९ः१६) । यसकारण प्रभावकारीरूपमा उचित ढङ्गले पवित्र आत्माको अगुवाइमा सुसमाचार प्रचार गरौं र सबै कुराबाट परमेश्वरलाई नै महिमा भएको होस् ।