“साक्षी बनौं, जीवन बाँडौं” – पाष्टर प्रेम श्रेष्ठ
May 8, 2018 | Articles
“अनि येशू बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दै जानुभयो” (लूका २ः५२) ।
कुनै पनि कुरा जन्मेपछि त्यसको वृद्धि अनिवार्य छ जसरी येशूको उदाहरण हामी देख्छौं र उहाँको पनि त्यसैगरी वृद्धि भएको थियो । यूहन्ना १ः१४ “अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा बास गर्नुभयो । हामीले उहाँको महिमा देख्यौं जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो ।”
प्रायः मण्डलीको अगुवाहरू मण्डली वृद्धि भएको देख्न चाहन्छन् र मण्डलीको अगुवाहरूले परमेश्वरलाई भेट गरून् र धेरै भन्दा धेरै व्यक्ति मण्डलीभित्र प्रवेश गरून् भन्ने इच्छा राख्दछन् । अनौठो कुरा त यो छ कि वृद्धि भएका मण्डलीहरूको विरुद्धमा कुनै–कुनै मण्डली अगुवा हुन्छन् र धेरै कुरा काटेर टिका टिप्पणी गर्दै दिन बिताउँदछन् र मण्डलीमा भएको असल परिणामको जस लिन खोज्दछन् । कहिले त आशिष्को कारणले पनि यस्ता घटनाहरू घट्दछन् भन्दा अन्यथा नहोला । हाम्रो समाजमा यस्ता मण्डलीहरू पनि छन्, खाली अरू मण्डलीको मात्र विरोध गरेर बस्दछन्, आफ्नो मण्डलीको लागि केही योजना पनि बनाउँदैन र आफ्नो कमी कमजोरीको वास्तै गर्दैन र वृद्धि त भएका तर अस्वस्थ मण्डलीमा धेरै मन दुखेको अवस्था विद्यमानमा रहेको छ । वर्षमा यति जनाको बप्तिस्मा भयो, यति जनाको समर्पण भयो भन्ने विषयले मात्र मण्डली स्वस्थ मण्डली भन्ने बुझ्नु राम्रो हुँदैन ।
आज येशू प्रभुले एउटा स्वस्थ मण्डली वा एफिसी ५ः२७ अनुसार दाग वा चाउरी नपरेको मण्डली उहाँकहाँ प्रस्तुत गर्नलाई हामी जस्ता अयोग्य, असक्षम, कुनै आशा नभएको व्यक्तिलाई विश्वासयोग्य सम्झेर यस कामको लागि तयार पार्नुभयो र यो महान् कामको जिम्मा लगाउनुभयो ।
म विश्वास गर्दछु, तलका ५ वटा सत्य तीतो यथार्थले यस कुरालाई पुष्टि गर्दछ ।
१. एउटा स्वस्थ मण्डली निरन्तर वृद्धि हुन्छ नकि सबै वृद्धि भएका मण्डली स्वस्थ हुन्छ ।
तपार्इंले सुन्नुभएको होला आधारभूत रुपमा कुनै स्वस्थ चीजको वृद्धि हुन्छ भनेर, त्यो अति नै सत्य हो । तर प्रत्येक स्थानीय अगुवाले आफ्नो मण्डली सफल मण्डली, ठूलो मण्डली भएको देख्ने इच्छा गर्दछ, त्यो राम्रो कुरा नै हो । तर विषय यहाँबाट प्रवेश गर्दछ सबै वृद्धि भएको मण्डली स्वस्थ मण्डली हुँदैन र म यहाँ विषयभन्दा बाहिर प्रवेश नगरौं भन्दा भन्दै पनि एउटा विचार कहिले कहीँ अस्वस्थ कुरा पनि छिटो छिटो वृद्धि हुन्छ जस्तै Cancer, Tumor etc. त्यो वृद्धि त हुन्छ तर त्यसले शरीरलाई फाइदा पुर्याउँदैन । त्यसकारण मण्डली वृद्धि हुनुमात्र स्वस्थ विषय होइन, त्यसभित्र अरू धेरै कुरा जस्तैः विश्वासीहरूको परमेश्वरसँग सम्बन्ध, वचनको गहिराइ, मेलमिलाप, एकअर्कामा सहयोगी भावना, प्रभुको प्रेममा
हुर्कंदै जान आदि इत्यादि । यसको अर्थ सबै वृद्धि भएको मण्डली अस्वस्थ भन्ने बुझ्नु हुँदैन । यो कुनै कुनै अपवादको विषय हो । यहाँ सयौं त्यस्ता मसिना र मझौला स्वस्थ मण्डलीहरू छन् जसका अगुवाहरू मिहनेती, परिश्रमी र टुटेका हृदय भएकाहरूलाई प्रभुमा डोर्याउँदछन् । संसारमा प्रत्येक दिन त्यस्ता व्यक्तिहरूले उत्साहित भएर व्यक्ति माथि व्यक्ति, परिवार माथि परिवार, जीवन माथि जीवन ख्रीष्टको आशामा डोर्याइरहेका छन् । त्यसकारण एउटा स्वस्थ मण्डलीको वृद्धि पक्का छ र कहिले काहीँ मण्डली प्रख्यात हुन्छन् तर प्रायः जसो मण्डलीका अगुवा वा पाष्टरहरूको परिश्रमको कारणले वा विश्वासयोग्यताको कारण प्रभुले मण्डलीमा आशिष् पठाउनुहुन्छ । त्यसकारण सबै वृद्धि भएको मण्डली स्वस्थ नहुन सक्छ तर एउटा स्वस्थ मण्डलीको अवश्य वृद्धि हुन्छ । आज के हाम्रो मण्डली स्वस्थ मण्डली हो ? यदि त्यसो हो भने २०१८ साल हाम्रो लागि मिशन वर्ष हुन सकोस् र हामी धेरै ठाउँमा जान सकौं । आमेन् !
२. एउटा सानो स्वस्थ मण्डली प्रायः जसो सधैँभरि सानो रहँदैन ।
के त्यसो भए एउटा स्वस्थ मण्डली सधैँ सानो भएर बस्नु पर्दछ ? जुन मण्डलीले सु–समाचारको कामलाई प्राथमिकता दिन्छ त्यो मण्डली सानै भएर बस्नै सक्दैन । हुन सक्छ ठाउँ, क्षेत्र तथा स्थानको कारणले साना–साना समूहमा भेटेर संगति गरिन्छ होला तर वास्तविकता चाहिँ मण्डली वृद्धि हुन्छ नै । मानव निर्मित कुनै सामान वा निर्जीव वस्तु मात्र सानो नै भइराख्छ तर मण्डली त चलाएमान हुन्छ । पानीको मुहानमाकुल्ची मिल्ची गरेर पानी धमिलो पारेर धेरैलाई फोहोर पानी खुवाउन सकिन्छ र कहिलेकाहीँ यस्ता व्यक्तिहरू मण्डलीमा भएको कारणले मण्डली वृद्धिको गतिलाई बाधा आउन सक्छ । हाम्रो संरचना तथा आत्मिकी कारणले यस्ता कुराहरू आउँदैन तर दर्शन नभएको व्यक्तिहरूको कारणले मण्डलीमा वृद्धि आउँदैन । त्यस्ता व्यक्तिहरू संसारको ढाँचामा मण्डलीको संरचनालाई विचार गर्छन् तर कुरा त्यसो होइन । त्यसकारण महान् आज्ञा पूरा गर्नु भनेको सुसमाचार प्रचार गर्नु हो र सुसमाचार प्रचार गर्नु भनेको मण्डली वृद्धि हुनु हो ।
३. एउटा फैलिएर बाहिर निस्कने मण्डलीले निश्चय नै स्वस्थ, भित्री बलियो व्यक्तिहरूको विकाश गर्दछ ।
त्यसो भए एउटा स्वस्थ मण्डलीले के निर्माण गर्दछ ? धेरैवटा क्षेत्र होला तर बाहिर फैलिने विषयमा सम्झौता हुँदैन । यो भनाई अलिक विरोधाभाष छ तर बाहिर मिशनको काममा फैलिने मण्डलीले जहिले पनि असल र स्वस्थ भित्री सदस्यहरू निर्माण गर्दछ । किन त्यसो हुन्छ त ? एउटा वंशाणुगत इसाई विश्वास चाहिँ आफु मर्नुपर्छ अर्थात् यसको अर्थ चाहिँ हाम्रो बाहिरी मनुष्यत्व मर्नुपर्छ वा आफुलाई अति नै माया लाग्ने वस्तु त्याग्नु भन्ने पनि बुझिन्छ । अब पर्खाल भित्र मात्र रमाउने, खाने, पिउने, मोज मज्जा गर्ने, जोखिम उठाएर बाहिर निस्कन नचाहने र अरूको निम्ति केही गर्न नचाहने र आफ्नो लागि चाहिँ अरूले सबै खालको बलिदान वा त्याग अपनाओस रखुशी पार्न कोशिश् गरोस् भन्ने व्यक्ति, आफ्नो खुशी वा सन्तुष्टिको मात्र खोजी गर्ने, नामको लागि मात्र काम गर्ने व्यक्तिहरू जो आत्मा केन्द्रित व्यक्तित्वहरू हुन् जसको कारण मण्डलीमा कुनै गति हुँदैन र गति नभएको मण्डलीले प्रगति गर्दैन र प्रगति नगर्ने मण्डली अधोगतितिर जाने कुरा पक्का जस्तै छ । अनि त्यो सत्य र प्रभुको राज्य विस्तारको काम र सत्य भन्दा धेरै टाढा छ । पर्खाल भित्र नै रूमलिने मण्डलीले बाहिरी केन्द्रित मण्डलीले पाउने आनन्द प्राप्त गर्न सक्दैन । प्रियहरू त्यसो गर्नाले तपाईंको मृत्युले पनि काम रोकिँदैन तर तपाईंभन्दा महान् उदाउन सक्छ ।
४. एउटा स्वस्थ मण्डलीमा पनि गिरावट आउन सक्छ ।
एउटा स्वस्थ मण्डलीमा सधैँभरि सबै कुरा ठीक हुन्छ भन्ने जरुरी छैन त्यहाँ पनि मान्छेको समूह छ र गलत कामहरू हुन सक्दछन् त्यहाँ वाद–प्रतिवाद छलफल हुन्छ, त्यहाँ कहिले काहीँ मतभिन्नता हुन्छन् तर उनीहरूको भरोसा परमेश्वर भएको कारणले ती सबै मतभिन्नताहरूलाई चिरेर अघि बढ्न सक्छन् र सबै समस्याहरूभन्दा माथि परमेश्वर राज्य गर्नुहुने भएकोले केही डराउनु पर्दैन । त्यस्ता मण्डलीहरू सबै प्रकारका स्थिरता र अझ अधो गतितिरबाट अघि बढ्दै मिशनको काममा लागि पर्दछन् । सायद कुनै समयमा मण्डली वृद्धिमा कमजोरी हुन्छ होला तर त्यसै समयबाट फेरि असल सुरुवात पनि परमेश्वरले नै गर्नुहुन्छ । मण्डलीभित्र यदि त्यस्ता गिरावट वा गिराउने काम हुन्छ भने त्यस्ता कुराहरूलाई छलफल गरेर टुङ्ग्याउनुपर्छ । त्यस्तो अवस्थामा वा विशेष् परिस्थितिमा मण्डली नेतृत्वले त्यस्ता विषयलाई सम्बोधन गर्नुपर्छ र गरिन्छ पनि । आजको आवश्यकता भनेको समूहमा बसेर काम गर्नु नै हो र एक्ला एक्लै निर्णय गर्ने, एक्लै हिँड्ने काम अब बन्द गर्नुपर्छ । त्यसकारण हामीले भन्यौं “धेरै मण्डली, धेरै अगुवाहरू र धेरै सेवकाइहरू” यदि यो विचारलाई बुझ्न सकेर प्रभुमा प्रार्थना गर्न थाल्यौं भने मण्डली निश्चय नै वृद्धि हुँदै अघि बढ्छ र हाम्रो मण्डली अधोगतितिर होइन तर प्रगतितिर लम्कन्छ ।
५. स्वस्थ अगुवाहरूले स्वस्थ मण्डली निर्माण गर्दछ ।
अब यहाँ हेरौं । एक जना पाष्टरको स्वास्थ्यले मण्डलीको स्वास्थ्यलाई असर पार्दछ । एउटा स्वस्थ मण्डलीले समाजलाई स्वस्थ गराउँदछ, त्यसै गरी एउटा समाज जसको स्वास्थ्य ठीक छैन, त्यसले मण्डलीको स्वास्थ्यलाई प्रभाव पार्दछ र मण्डलीको स्वास्थ्यले पाष्टरको स्वास्थ्यमा प्रभाव पुर्याउँदछ । त्यसकारण आज हामी एउटा स्वस्थ समाजको परिकल्पना गर्दछौं । देशमा संवृद्घि खोज्दैछौं तर मण्डलीको स्वास्थ्यको बारेमा चिन्ता छैन भने त्यो कसरी मेल खाला त ? म त भन्छु आज हामी सबै अगुवाहरूले प्रभुको अघि आएर आ–आफ्ना भुलहरू, कमी–कमजोरीहरू र पापको लागि प्रभुकहाँ फर्केर पश्चत्ताप गर्नुको विकल्प छैन । १ यूहन्ना १ः७–१० मा यसो लेखिएको छ, “तर उहाँ ज्योतिमा हुनु भएझैं यदि हामी पनि ज्योतिमा हिँड्छौं भने, एउटा अर्कासित हाम्रो संगति हुन्छ, र उहाँका पुत्र येशूको रगतले हामीलाईसबै पापबाट शुद्ध पार्छ । यदि हामीमा पाप छैन भनी हामी भन्छौं भनेता हामीले आफैलाई धोखा दिन्छौं, र हामीमा सत्य हुँदैन । यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ । यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्छौं भने हामी उहाँलाई झुटा तुल्याउँछौं, र उहाँको वचन हामीमा हुँदैन ।” उपदेशक ७ः२० “संसारमा यस्तो कुनै धर्मी मानिस छैन, जसले सबै काम ठीक गर्छ र कहिल्यै पाप गर्दैन ।” आज पनि येशू पर्खिरहनुभएको छ । यदि हामीले आफुलाई सच्याउने संकल्प गर्यौं भने प्रभुले निश्चय नै आशिष् दिनुहुनेछ र हामीले स्वस्थ मण्डली निर्माण गर्न सक्छौं र प्रभुलाई महिमा दिन्छौं । यसैले हामीले नै सबै काम ठीक गर्न सकेका छौं भने त हामीलाई येशूको दरकार पर्ने थिएन होला । त्यसैकारण २ हजार वर्ष पहिले आउनुभएको येशूलाई आफ्ना सबै कुरा सुम्पौं र एउटा स्वस्थ मण्डली निर्माणमा हात बटाऔं । “तर तिनीहरू, जो ख्रीष्ट येशूका हुन्, तिनीहरूले पाप स्वभावलाई त्यसको वासना र लालसा सहित क्रूसमा टाँगिदिएका छन्” (गलाती ५ः२४) । के हाम्रा हातहरू, हाम्रा विचारहरू स्वस्थ मण्डली निर्माण गर्न उत्सुक छ ? कि हामी तमासे भएर हेरिराख्छौं ? दाऊद परमेश्वरको सन्दुक लिएर आउँदा दाऊद नाच्दै गाउँदै यरुशलेम प्रवेश गरे । उनको श्रीमती मीकलचाहिँ झ्यालबाट हेर्दै दाऊदप्रति घृणा गरिन् जो परमेश्वरले थाहा पाउनुभयो कसैले भन्नु परेन । उहाँले पनि हाम्रो हृदयको कुरा जान्नुहु्न्छ । परमेश्वरले मीकलको कोख बन्द गरिदिनुभयो । धेरै लामो समयसम्म मीकल बाँझी भई र पीडामा जीवन बिताउनु पर्यो तर दाऊद त परमेश्वरको हृदयले खाएको मानिस थियो । आज हामी पनि परमेश्वरको मनले खाएको स्वस्थ अगुवा बन्दै हरेक तह, तप्का र जिम्मेवारीलाई खुशी र सौभाग्य सम्झी काम गरौं र एउटा स्वस्थ मण्डली, सुन्दर मण्डली, प्रभुलाई प्रेम गर्ने मण्डली, प्रभुको आवाज सुन्ने मण्डली, मिशनको काममा लागिपर्ने मण्डली बनेर प्रभुलाई महिमा दिऔं ।
अन्तमा २०७५ सालमा प्रभुले दिनुभएको प्रतिज्ञाः “म, परमप्रभुले तिमीलाई मेरो धार्मिकताअनुसार बोलाएको छु । म तिम्रो हात समात्नेछु, र तिम्रो रक्षा गर्नेछु । तिमीलाई नै म जाति जातिहरूका निम्ति करार र अन्यजातिहरूका निम्ति ज्योति बनाउनेछु, अन्धाहरूको आँखा खोल्नलाई, कैदीहरूलाई कारागारबाट र अन्धकारमा बस्नेहरूलाई कैदी राख्ने तहखानाबाट निकाल्नलाई” यशैया (४२ः६–७) ।
बदलिँदो परिस्थितिमा सुसमाचार प्रचार – लेखनाथ पौडेल
April 18, 2018 | Articles
“किनकि यदि मैले … सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्कार छ” (१ कोरिन्थी ९ः१६) ।
सुसमाचार के हो ? समस्त मानव जातिको उद्धारको निम्ति उद्धारकर्ता बनेर येशू ख्रीष्ट यस संसारमा आउनुभयो । समस्त मानव जातिको निम्ति आफ्नो प्राण दिनुभयो र जतिले उहाँलाई तथा उहाँको बलिदानी कार्यलाई विश्वास गर्छन् अनि उहाँलाई प्रभु भनेर स्वीकार गर्छन् तिनीहरूले उद्धार पाउँछन् (यूहन्ना ३ः१६), येशूलाई ग्रहण गर्नेहरूलाई परमेश्वरले आफ्नो सन्तान बनाउनुहुन्छ (यूहन्ना १ः१२) र तिनीहरू अनन्तको लागि उहाँको राज्यमा प्रवेश गर्छन् (फिलिप्पी ३ः२०), जुन राज्यलाई परमेश्वरको राज्य तथा स्वर्गको राज्य भनिन्छ । यो राज्य कुनै भौतिक राज्य नभएर एउटा अलौकिक (ईश्वरीय) राज्य हो । सुसमाचार भनेकै येशूको बारेमा दिइने असल समाचार हो (प्रेरित १७ः३; रोमी १ः३)
सुसमाचार किन सुनाउने ? प्रभु स्वयंले आफ्ना चेलाहरूलाई परमेश्वरको राज्यको यो सुमाचार सबैलाई प्रचार गर्ने अभिभारा सुम्पनुभयो (मत्ती २८ः१८–२०) । किनकि सबै मानिसले उद्धार पाऊन्, कोही पनि नाश नहोऊन् भन्ने परमेश्वर चाहनुहुन्छ । मानिसलाई परमेश्वरले असल सृजनुभयो तर पापको कारण दुःखद स्थिति आयो । जताततै खराबी मात्रै आयो, मृत्यु आयो (रोमी ५ः१२) । यही खराबी, मृत्यु तथा अन्धकारको स्थितिमा आशास्वरूप प्रभु येशू मानव बनेर हाम्रो उद्धारको लागि आउनुभयो र आफ्नो बलिदानद्वारा पाप क्षमा गर्नुभयो तथा परमेश्वरसँग मिलाप गराउनुभयो अनि पुनरुत्थान हुनुभएर हाम्रो लागि नयाँ जीवन तथा आशा प्रदान गर्नुभयो (कलस्सी १ः१३–२०), सुसमाचार नसुनिकन कसैले पनि विश्वास गर्न सक्दैन (रोमी १०ः१४,१५) । यो समस्त मानव जातिको लागि भएकोले यो खबर सबैले पाउनुपर्छ (१ तिमोथी २ः४) ।
सुसमाचार कसले सुनाउने ? प्रभु येशू ख्रीष्टलाई आफ्नो प्रभु तथा मुक्तिदाता भनी ग्रहण गरेका उहाँका सबै चेलाहरू तथा सन्तहरूले सुसमाचार सुनाउनुपर्छ (१ कोरिन्थी ९ः१६; मत्ती २८ः१९–२०) । सुसमाचार सुनाउने अधिकार तथा जिम्मेवारी प्रभु येशू ख्रीष्टलाई चिनेका सबै विश्वासीहरूसँग हुन्छ (१ थेसलोनिकी २ः४) ।
कसलाई सुनाउने ? उहाँ समस्त मानव जातिको उद्धारको निम्ति मर्नुभयो तसर्थ सुसमाचार सबै मानिसहरूको निम्ति हो । सबैले सुसमाचार ग्रहण गर्न सक्छन् भन्ने हुँदैन न ता हामीले कसैलाई सुसमाचार ग्रहण गर्नैपर्छ भन्न मिल्छ किनकि सुसमाचार प्रचार गर्ने अभिभारा हाम्रो भएता पनि कुनै व्यक्तिको हृदय तथा मानसिकता परिवर्तन गराउने हाम्रो काम होइन । परमेश्वर आफैले नै कतिपय मानिसहरूको हृदय तयार गरिसक्नुभएको हुन्छ र कतिको हृदय तयार गर्नुहुन्छ, अनि कतिपय आफ्नो हृदयको यथास्थितिमा (मलाई आवश्यक छैन) भन्ने अवस्थामा नै रहेको समेत हुन सक्छ (२ कोरिन्थी ४ः३–४) । बाइबलमा हेर्यौं भने अनुग्रहद्वारा चुनिएकाहरूले (एफिसी १ः४–९; १ थेसलोनिकी ५ः९), प्रतिज्ञाबाट अनुग्रह पाएकाहरूले (कसैले विश्वास गर्यो भने उसको घराना पनि बाँच्न सक्छ भन्ने प्रतिज्ञा छ) (प्रेरित १६ः३१)र सन्तहरूले गरेको प्रार्थनाको कारण प्रार्थना गरिएका व्यक्तिहरूले सुसमाचार ग्रहण गर्न सक्छन् (तीतस २ः११) । यस्ता व्यक्तिहरूले उहाँको आवाज सुन्छन् र उहाँलाई ग्रहण गर्छन् (यूहन्ना १०ः२७) । असल कुरा त के छ भने, परमेश्वरले हरेक जाति, कुल, भाषा, समुदाय, भूगोल, लिङ्ग, वर्ग र उमेरका मानिसहरूलाई चुन्नुभएको छ र तिनीहरूले सुसमाचार पर्खिरहेका छन् (प्रकाश ७ः९; २ तिमोथी २ः१९; मलाकी १ः११) जब उनीहरूले परमेश्वरको आवाज (सुसमाचार) सुन्छन् तब उहाँलाई ग्रहण गर्छन् यसैले कसैलाई पनि जबरजस्ती ग्रहण गर्नु, बाध्य पारिनु आवश्यक छैन र बाध्य पारिनु पनि हुँदैन ।
सुसमाचार कसरी सुनाउने ? सुसमाचार प्रचार गर्ने विभिन्न माध्यमहरू प्रयोग हुने गर्छन् । बाइबल, सुसमाचारीय पर्चा तथा अन्य सामाग्रीद्वारा, मौखिकरूपमा, रेडियो, टेलिभिजन, समाचारपत्र आदि संचारका विभिन्न माध्यमद्वारा सुसमाचार प्रचार गरिएको हामीले पाउँछौं । तथापि बदलिँदो परिस्थिति र सन्दर्भमा सबैभन्दा राम्रो सुसमाचारको माध्यम हाम्रो जीवन नै हो (२ कोरिन्थी ३ः३) । जब हाम्रो जीवनमा प्रभुका गुणहरू (पवित्र आत्माका फल) मानिसहरूले देख्छन्, स्वभाविक रूपमा तिनीहरू ती गुणहरूप्रति आकर्षित हुन्छन् (गलाती ५ः२२–२३) । हामीमा चम्कने ज्योति र नूनिलोपनतिर आकर्षित हुन्छन् (मत्ती ५ः१४–१६) । त्यो बेलामा हामीसँग भएको असल खबर (सुसमाचार प्रस्तुत गर्ने) नैतिक अधिकार हामीसँग हुन्छ (१ पत्रुस २ः१२) । प्रभु आफैले पनि सुकर्महरूद्वारा सुसमाचार सुनाउनुभयो (प्रेरित १०ः३८) । चेलाहरूको सुसमाचार पनि विभिन्न सुकर्महरूद्वारा सुदृढ भयो (प्रेरित २ः४२–४७; रोमी १५ः१९) । यसकारण सुसमाचारको योग्य जीवन यापन गर्दै प्रेममा हामीले अरूलाई सत्यको सुसमाचार प्रचार गर्न सक्छौं ।
सुसमाचार कहाँ सुनाउने ? सबै देशमा सबै जातिहरूलाई सुसमाचार सुनाउनलाई प्रभुले आज्ञा गर्नुभएको हो (२८ः१९–२०) तर जथाभावी अव्यवस्थित प्रकारले सुनाउने होइन । पवित्र आत्माले देखाउनुभएको व्यक्तिलाई र उहाँले देखाउनुभएको स्थानमा सुसमाचार सुनाउनुपर्छ । परमेश्वर गोलमालका परमेश्वर हुनुहुन्न । एकपटक चेलाहरूलाई प्रभुले एशियामा जान मनाही गर्नुभयो (प्रेरित १६ः६,७) । के एशियाका मानिस बाँच्नु आवश्यक थिएन ? थियो । तर सुसमाचार हाम्रो इच्छामा होइन परमेश्वरको इच्छामा परमेश्वरले देखाउनुभएको ठाउँमा प्रचार गरिनुपर्छ (प्रेरित १६ः८,९) । सबैभन्दा राम्रो सुसमाचारको ठाउँ हाम्रो परिवार, आफन्त, साथीभाइ हो । जथाभावी, गोलमाल प्रकारले सुसमाचार सुनाउनु बाइबल सम्मत होइन । सबैलाई बाँच्नु आवश्यक छ तर पवित्र आत्माले नै हामीलाई सुसमाचार प्रचारको निम्ति अगुवाइ गरेको हुनुपर्छ (प्रेरित १ः८) ।
सुसमाचार कहिले सुनाउने ? हामी समय बेसमयमा प्रचार गर्न तयार हुनुपर्छ (२ तिमोथी ४ः२) अनि आत्माले देखाए अनुरूप पहिला हामीले सुसमाचार प्रचार गर्नुपर्छ । परमेश्वरले नै उपयुक्त समय र अवसर मिलाउनुहुन्छ, यसर्थ पवित्र आत्मामा त्यो समय र अवसरको खोजीमा हामी संवेदनशील हुनुपर्छ (प्रेरित ८ः२६–४०; प्रेरित २ः१४; फिलिप्पी १ः१२,१३) । र अन्तमा, सुसमाचार प्रचार हाम्रो स्वार्थको विषय होइन र हुनु पनि हुँदैन । यो प्रभुको हृदयको कुरा हो । कतिपय बेलामा हामीले कतिलाई सुसमाचार सुनायौं भन्ने कुरा हाम्रो घमण्डको विषय बन्छ । कतिपय बेलामा अनावश्यक रूपमा बाटोमा पर्चाहरू फालेर, अनिच्छुक मानिसहरूलाई पर्चाहरू दिएर, अनावश्यक वादविवाद गर्दै हामीले सुनाएको र बताएको कुरालाई पुष्टि गर्न चाहेर, अनावश्यक समयमा अनावश्यक प्रकारले मानिसहरूलाई चिढाउने काम गरेर हामीले सुसमाचार तथा त्यसको मर्मलाई विकृत पार्ने कार्य गर्नुहुँदैन । उहाँले आफ्ना समस्त सृष्टिलाई प्रेम गर्नुहुन्छ र त्यो प्रेमको सन्देश प्रभुको हृदयको भावनाअनुरूप ठीक प्रकारले प्रयोग गरिनुपर्छ । मानिसले उद्धार पाउनको लागि सुसमाचार सुन्नैपर्छ । विश्वास सुनाइद्वारा आउँछ । अनुग्रहद्वारा विश्वासबाट मात्र मानिसले उद्धार पाउन सक्छ । सुसमाचार प्रभुका जनहरूसँग रहेको हुन्छ । यसको सही प्रयोग सही किसिमले हुनुपर्छ । सुसमाचार यस्तो कुरा हो जसले मानिसहरूको आँखा (चेतना) खोल्न सक्छ र मानिस आफ्नो दुरावस्था (पापको कारण), आशाहीनता (मृत्युको डर), सहायताविहीन अवस्था (सृष्टिकर्ता परमेश्वर बिनाको एक्लो अवस्था) बाट नयाँ आशा (नयाँ जीवनको), नयाँ उमङ्ग (नयाँ जन्मको), नयाँ आशा (सृष्टिकर्ता परमेश्वरसँगको सम्बन्ध), नयाँ भविष्य (अनन्त जीवन) मा प्रवेश गर्न सक्छ । महान प्रचारक पावल भन्छन्, “किनकि यदि मैले सुसमाचार प्रचार गरें भने त्यसमा मैले घमण्ड गर्ने केही कारण छैन । प्रचार गर्न म बाध्य छु । सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्कार छ” (१ कोरिन्थी ९ः१६) । यसकारण प्रभावकारीरूपमा उचित ढङ्गले पवित्र आत्माको अगुवाइमा सुसमाचार प्रचार गरौं र सबै कुराबाट परमेश्वरलाई नै महिमा भएको होस् ।
परमेश्वरले हाम्रो जीवन परिवर्तन गर्न सक्नुहुन्छ – पाष्टर प्रेम श्रेष्ठ
March 7, 2018 | Articles
के प्रभुलाई पाएपछि हाम्रो जीवनमा परिवर्तन आएको छ ?
येशू प्रभुको पुनरुत्थानपछि चेलाहरूको जीवनमा धेरै ठूलो परिवर्तन आयो । जब उनीहरू १० दिनसम्म एकै ठाउँमा भेला भएर प्रार्थना गर्दै गरेको अवस्थामा अचानक स्वर्गबाट आगोका जिब्राहरू जस्ता तिनीहरूकहाँ देखा परे र भाग भाग भएर तिनीहरू १२० जनामाथि बसे र उनीहरूको जीवनशैली परिवर्तन र मण्डली स्थापना भयो । एक जना डरपोख व्यक्तिले हजारौंको माझमा साहससँग पहिलो शक्तिशाली प्रवचन दिए र जसको कारण ३ हजार मानिसहरू अर्थात् यहूदीहरूले येशूलाई विश्वास गरे । मण्डलीको जन्म मात्र नभएर मण्डली वृद्धि हुँदै गयो र हजारौं हजार मानिसको जीवनशैली बदलियो । प्रेरित ३ः१–११ मा एकजना व्यक्ति जसलाई पनि येशूको खाँचो परेको थियो जसको उमेर ४० वर्षको थियो, ऊ कसको छोरा वा कुन कुलको थियो ? बाइबल मौन छ तर त्यस्तो एक जना व्यक्ति जसलाई ४० वर्षको उमेर भए पनि अरूलाई बोक्न गोहार मागेर मन्दिरको ढोकामा दैनिक आउनु पर्दथ्यो । अरूको साहारा बिना ऊ बाँच्न सक्दैनथ्यो । त्यो व्यक्ति जस्तै आज हामी पनि कति जना परमेश्वरको भवनसम्म वा ढोकासम्म आउँदछौं तर ढोकाभित्र नपसी बाहिरबाटै फर्केर दयनिय जीवन यापन गरिराखेका छौं । परमेश्वरको आशिष् पाउनलाई मन्दिरभित्र पस्नु जरुरी छ । त्यही पत्रुस जसलाई एकजना सानो केटी देखेर पनि डर लाग्थ्यो, एक दिन ३ बजेतिर मन्दिरमा आराधना गर्न यूहन्नासँग जाँदै थिए । यहूदीहरू भजनसंग्रह ५५ः१७ अनुसार दिनमा ३ पटक बिहान ९ः०० बजे दिउँसो १२ः०० बजे र बेलुकी ३ः०० बजे मन्दिरमा प्रार्थना गर्न जाने गर्दथे कारण यहूदी विश्वास ३ वटा आधारमा अडेको थियो । पहिलो आराधना, दोस्रो दया देखाउनु र तेस्रो परोपकार गर्ने वा समग्रमा भन्ने हो धर्म कर्म गर्ने काम । त्यो व्यक्ति जसको एउटा खुट्टा नचल्ने अवस्था थियो र दिउँसो ३ः०० बजेचाहिँ विशेष् बलिदान चढाउने कारणले मानिसहरू विशेष् धेरै पैसा पाउने आशामा त्यहाँ वा सुन्दर ढोकाको अगाडि राखिन्थ्यो । त्यो मन्दिर जसको ९ वटा ढोकाहरू थिए, त्यस मध्ये एउटा ढोका सुन्दर ढोका जसको उचाई ७५ फिट, ६० फिट चौडाई थियो र एउटा ढोका खोल्न लगाउन २० जना मानिस खाँचो पर्दथ्यो जुन ढोका देखेर येशूका चेलाहरू पनि आश्चार्य चकित भएका थिए र प्रभुलाई देखाएका थिए (लूका २१ः५, मत्ती २४ः१–२) ।
अब विशेषत भिखारीहरूका ३ वटा भिख माग्ने ठाउँ हुन्छन् । पहिलो धनी मानिसको घर, दोस्रो सडकको छेउ र तेस्रो मन्दिरको ढोका । त्यो व्यक्तिको लागि त्यो भिख माग्ने आखिरी दिन थियो र त्यसपछि त्यसले कहिले भिख मागेर खानु परेन र ऊ परमेश्वरको पछि लाग्यो जब यूहन्नाको साथमा भएका पत्रुसले त्यस व्यक्तिलाई भने, “हामीतिर हेर” केही पाउने वा पैसा पाउने आशाले त्यस व्यक्तिले प्रभुका चेलाहरूतिर हेरे । आज धेरै मानिसले हामी प्रभुका चेलाचेलीतिर हेरिरहेका छन् । पत्रुसले भने “सुन मसँग छैन, चाँदी मसँग छैन ।” होस् पनि कसरी सायद उनले लगाएको लुगामा खल्ती नै थिएन होला ! तर उनले भने, “जे मसँग छ, त्यो येशूको नाउँ अर्थात् येशूको शक्ति त्यो तँलाई दिन्छु ।” आज हामीले हाम्रो आफन्तलाई पनि यो कुरा भन्नुपर्दछ, सुनचाँदी मसँग छैन तर मसँग येशूको शक्ति छ, मसँग येशूको प्रेम छ, मसँग येशूको वृmपा छ, येशूको चंगाई छ र येशूको जीवन र साक्षी छ । जब पत्रुसले त्यसको दायाँ हात समातेर “नासरतको येशूको नाउँमा हिँड्डुल गर्” भनी उठाए र तुरुन्त त्यो उठ्यो र हिँड्न थाल्यो । उसले कहिल्यै नगरेको अनुभव गर्यो कारण ऊ जीवनमा कहिल्यै हिँडेको थिएन । आज धेरै मानिसहरू हाम्रा दाहिने हातको संगतिको हात, जो शक्तिको हात, जो चंगाईको हात पर्खिरहेका छन् । हाम्रा हातहरू कस्ता कामको लागि प्रयोग गर्दैछौं ? त्यो व्यक्तिका खुट्टा र गोलीगाँठामा शक्ति पाएर उठ्यो मात्र होइन तर हिँड्न थाल्यो, उफ्रन थाल्यो, कुद्न थाल्यो मात्र होइन परमधन्यका परमेश्वरको आराधना प्रशंसा गर्न थाल्यो । त्यो व्यक्तिलाई येशूले भेट गर्नुभएपछि ठीक ४० वर्ष उमेरमा अरू जस्तै मन्दिरभित्र प्रवेश ग¥यो कसैले त्यसलाई रोक्न सकेन, पत्रुस र यूहन्नासँगै त्यो व्यक्ति मन्दिरभित्र प्रवेश ग¥यो । त्यो भन्दा अघि ढोकासम्म ल्याइन्थ्यो तर बाहिरबाटै फर्काइन्थ्यो कारण लेवी २१ः१६–२३ अनुसार त्यस्ता लङ्गड़ो व्यक्ति मन्दिरभित्र प्रवेश गर्न शक्त मनाही थियो । त्यो मन्दिर जसमा येशूले भन्नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ ।’ तर तिमीहरूले यसलाई डाँकूहरूको अड्डा बनाएका छौ” (मत्ती २१ः१३) । मलाई लाग्छ त्यो मन्दिरमा पहिलो पटक परमेश्वरको साँचो आराधना भयो होला ! त्यो लंगडोले उफ्री–उफ्री परमेश्वरको प्रशंसा गर्यो होला र येशूले सामरी स्त्रीलाई भन्नुभएको जस्तै “तर बेला आइरहेछ, र त्यो बेला अहिल्यै हो, जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्, किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ” (यूहन्ना ४ः२३) । त्यसकारण सबैको जीवनमा परिवर्तनको दिन आउँदछ । “उहाँले हरेक कुरालाई आफ्नो समयमा सुन्दर बनाउनुभएको छ । उहाँले मानिसका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ । तापनि तिनीहरूले परमेश्वरले आदिदेखि अन्त्यसम्म के गर्नुभएको छ त्यसको गहिराइलाई बुझ्न सक्दैनन्” (उपदेशक ३ः११) ।
अब यहाँ विचार गर्नुपर्ने कुरा के छ भने जब त्यो व्यक्तिले चंगाई पायो मानिसहरू अचम्मित भए । ती मानिसहरू जो वर्षौदेखि मन्दिरमा आउँदथे र धर्म कर्म गरेर फर्किन्थे जब त्यो व्यक्तिलाई देखे र दगुरेर त्यो व्यक्ति भएको तिर आए । मानिसहरूले २ वटा विशेष् कुरा त्यस व्यक्तिमा देखे पहिलो त्यो हिँड्न, उफ्रन लाग्यो एक हप्तापछि, एक महिनापछि वा एक वर्षपछि होइन तुरुन्त अनि दोस्रो त्यस व्यक्तिले परमेश्वरको प्रशंसा गर्न थाल्यो । आज तपाईं र मेरो जीवनमा के–के परिवर्तन भयो त ? परिवर्तनको नारा लगाएर वा वचन सुनेर मात्र हुँदैन । हाम्रो अवस्थामा परिवर्तन आउनु जरुरी छ । त्यो व्यक्तिको आफ्नो हात येशूलाई नदिएको भए त्यो व्यक्तिको बारेमा बाइबलमा लेखिँदैन थियो होला, त्यसै गरी हाम्रो हात येशूलाई दियौं भने उहाँले हाम्रा कमजोर खुट्टा, कमजोर हात, कमजोर परिस्थितिलाई बदल्न सक्नुहुन्छ ।
अन्त्यमा, त्यस व्यक्तिको परिवर्तनपछि पत्रुसले मन्दिरभित्र धर्म कर्म वा बलिदान चढाउन जानेहरूको बीचमा दोस्रो शक्तिशाली प्रवचन दिए र त्यसको कारण अरू २ हजार मानिसहरू विश्वासमा थपिए प्रेरित ४ः४, आज मण्डलीमा तपाईं र मेरो साक्षीद्वारा सयौं, हजारौं, लाखौं मानिसहरू मण्डलीमा थपिन सक्छन् के हामी विश्वास गर्छौ?
प्रभुको वचन क्रियाशील छ । “तब अन्धाहरूका आँखा खोलिनेछन्, र बहिराहरूका कान उघारिनेछन् । तब लङ्गड़ाहरू मृगझै उफ्रनेछन्, र गूँगाहरूको जिब्रोले स्तुति गर्नेछ । उजाड़–स्थानमा पानी फुटेर निस्कनेछ र मरुभूमिमा खोलाहरू बग्नेछन्” (यशैया ३५ः५–६) । यसैकारण अबको थोरै दिनमा हामी प्रभुको मृत्यु, दफन र पुनरुत्थानको सम्झनामा सेवाहरू गर्छौं, याद गरौं । धेरै लङ्गड़ो, अन्धो, बैरो, गूँगोहरू हामीतिर आँखा लगाइरहेका छन् र नियालिरहेका छन् । के हामी परमेश्वरको शक्तिमाथि विश्वास गर्छौं ? प्रभुले हामीलाई धेरै व्यक्तिहरूलाई मण्डलीमा ल्याउने अनुग्रह देऊन्, आमेन् ।
हाम्रा बालबालिकाहरूको वरिपरि – श्री भुवन देवकोटा
February 19, 2018 | Articles
वर्तमान समय विज्ञान र प्रविधिको प्रशस्तै विकास भएको र सञ्चारले सारा विश्वलाई नै साँघुरो बनाइदिएको कारण भौतिक रूपमा उन्नतिशिल समय हो । हाम्रा बालबालिकाहरू हाम्रा हातमा गिलो माटोजस्तै हुन् । उनीहरूलाई हामीले सानैमा चाहेको आकार दिन सक्छौं । अभिभावकहरूले सानै उमेरदेखि नै परमेश्वरको वचन खान र त्यसलाई पालन गर्न सिकाए भने बालमस्तिष्कमा सत्यताले डेरा जमाउँछ र हाम्रा बालबालिकाहरू मण्डलीको असल भविष्य मात्रै होइन, देशको असल नागरिक बनेर नून र ज्योतिको रूपमा यस देशलाई सेवा दिनेछन् ।
हाम्रा छोराछोरीहरूलाई उनीहरूको सन्दर्भलाई बुझेर हामीले त्यसअनुसार प्रार्थना र वचनमा अगुवाइ गर्न सक्यौं भने येशूको स्वरूप उनीहरूमा बन्न अझ सजिलो हुनेछ । यो लेखमा हामी हाम्रा बालबालिकाहरूको अगाडि संसार, शरीर र शैतानले कसरी उसको सल्लाह (भजनसंग्रह १ः१) ल्याएको छ भनेर चर्चा गर्र्नेछौं । तलका विषयहरूमा सकेसम्म ठीक जानकारी पाएर मण्डली र अभिभावकहरूले सिकाउन सक्यौं भने हाम्रो मण्डली संख्या र आत्मिक गुणस्तर दुवैमा बढ्दै जानेछ ।
मण्डली र समाजमा रहेका हाम्रा बालबालिकाहरूको वरिपरि यस्ता अनि अन्य धेरै समस्या र चुनौतीहरू छन्ः
* उत्तरआधुनिकवादः वर्तमान युगलाई धेरै मानिसहरूले उत्तरआधुनिक युगको समय भन्दछन् । यसअनुसार कुनै एउटै कुरा मात्रै शास्वत सत्य हुन सक्दैन । त्यसैगरी मानिसले कुनै पनि कुरालाई ईश्वर मान्न सक्छ, प्रत्येक व्यक्ति आफ्नो चाहनाअनुसार जिउन स्वतन्त्र छ । संसारमा व्याप्त यही कुराहरूकै आधारमा अहिलेका विभिन्न सञ्चार माध्यममा आउने मनोरञ्जन उद्योगले हाम्रा बालबालिकाहरूलाई उनीहरूको खराब कुरा प्रस्तुत गरिरहेका हुन्छन् । समलिंगी सम्बन्ध व्यक्तिको अधिकारको कुरा हो भनेर परमेश्वको वचनको गिल्ला गरिरहेका छन् । बालबालिकाहरू स्वतन्त्र छन् र अभिभावकहरूले अनुशासन गर्नु पनि बालअधिकार हनन् हो भन्ने कुरा बढिरहेको छ । बालबालिकाहरू वा किशोरीहरूको प्रतिभाको विकासको नाममा उनीहरू यौनिक प्राणी मात्रै हुन् भन्ने गलत धारणा बालबालिकाहरूलाई दिइँदै छ । यस्ता कुराबाट जोगाउने काम वचनको अध्ययन र पवित्र आत्माको शक्तिले मात्रै सम्भव छ । बाइबलले बुवाहरूलाई छोराछोरीलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काउने जिम्मेवारी दिएको छ ।
* उपभोक्तावादः आफ्नो फाइदाको लागि मात्रै विचार गर्ने र त्यसैअनुसार काम गर्ने कुरा अहिले व्याप्त छ । टि.भी. वा पत्रिकामा दिइने विज्ञापनमा झुक्याएर बालमनोविज्ञानमा गलत कुरा हालिदिनु यसको एउटा विशेषता हो । येशूले अन्त्यको दिनको बारेमा सिकाउँदा धेरैको प्रेम सेलाएर जानेछ भन्नुभयो (मत्ती २४ः१२) । बालबालिकाहरू वा किशोरकिशोरीहरूको लागि बनाइने टेलिभिजन कार्यक्रम वा अन्य श्रव्यदृष्य सामग्रीहरू उनीहरूको नैतिक वा मानसिक विकासभन्दा पनि उत्पादकको फाइदाको लागि बनाइन्छ । धेरै पटक परमेश्वरको स्वरूपमा बनिएको मानिसलाई उपभोग्य वस्तुको रूपमा प्रस्तुत र प्रयोग गरिन्छ । मोडलिङ पेशामा हुने काम यही नै हो । परमेश्वरको प्रतिरूपमा बनिएका सुन्दर नारीहरूलाई मदिराको विज्ञापनमा उपभोग गरिने वस्तुसरह देखाउनु यसको एउटा उदाहरण हो । संसारका सबै मानिस जुनसुकै पृष्ठभूमिको भए पनि परमेश्वरको स्वरूपमा बनिएको कारण हामीले त्यही आदरमा प्रेम र सम्मान गर्नुपर्छ भनेर हाम्रो मण्डली र परिवारमा सिकाउनुपर्छ । ख्रीष्टको प्रेम पवित्र आत्माले हामीमा भर्नुहुन्छ र त्यसलाई कसरी जीवनमा प्रयोग गर्ने भनेर मण्डली र अभिभावकहरूले सिकाउनुपर्छ ।
* भड्किलो संगीत तथा भिडियोः आफूले जे ठीक ठान्यो, त्यही नै सत्य हो भन्ने उत्तरआधुनिक धारणा व्याप्त रहेको कारण मानिसहरूले आफ्नै मोजमज्जाको लागि र परमेश्वरलाई मान्यता नदिएको कारण छाडा कुराहरू संगीत र म्युजिक भिडियोको माध्यमबाट साना बालबालिकाहरूलाई पनि दिइरहेका छन् । साना बाल बालिकाहरूको कमलो मनमा ती खराब कुराले बास गरेमा उनीहरूले परमेश्वरको वचनभन्दा अर्कै रमाइलोलाई प्राथमिकता दिनेछन् । पापसित खेल्नेलाई पापले दास बनाउँछ किनकि पाप त ढोकैमा ढुकिबस्छ । त्यसलाई हामीले आत्माको शक्तिमा अधीन गर्नैपर्छ (उत्पत्ति ४ः७) । हाम्रा छोराछोरीहरूको विचारमा दुई आँखा र दुई कानबाट के कुरा पस्न दिनु असल हो भनेर परमेश्वरको सत्यता अनुसार सिकाउनुपर्छ ।
* सामाजिक सञ्जाल, इन्टरनेटः विज्ञानको वरदान इन्टरनेटबाट हाम्रा बालबालिकाहरूले असल कुरा मात्रै लिइरहेका छैनन् । हामी अभिभावक चौबीसै घण्टा उनीहरूको पछिपछि लाग्न पनि सक्दैनौं तर हामीले उनीहरूलाई परमेश्वरलाई मन पर्ने कुरा के हो भनेर सिकाउन सक्यौं भने उनीहरूलाई पवित्र आत्माले चाहिएको बेला येशूको वचन याद गराउनुहुनेछ (यूहन्ना १४ः२६) र उनीहरूले आफ्नो आँखा र कानबाट परमेश्वरलाई मन नपर्ने कुरा हृदयभित्र पठाउने छैनन् ।
* भिडियो गेमः हाम्रा साना नानीहरूले खेल्ने भिडियो गेमहरू सबै गलत छैनन् । धेरै भिडियो गेमहरूले मानसिक र शैक्षिक विकास गर्दछन् । तर केही गलत गेमहरू पनि आएका छन् । आत्महत्या गर्न उक्साउने वा व्यभिचारजन्य क्रियाकलाप भिडियो गेममै गर्न मिल्ने भिडियो गेमहरू पनि फोन वा ट्याब्लेटमा हाल्न मिल्छ । हाम्रा छोराछोरीहरूले के कुरा गर्दैछन् भनेर हामी होसियार हुनुपर्छ । हामी अभिभावकले नै हाम्रा बालबालिकाहरूलाई प्रार्थना र वचनद्वारा जोगाउन सक्छौं । बुवाआमाले फोन वा ट्याब्लेट बच्चालाई चलाउन दिँदा के कुरा हेर्ने भनेर सिकाउनुपर्छ । कति पटक त मण्डली सेवामै पनि बालबालिकाहरूले आमा बुवाको स्मार्ट फोन वा ट्याब्लेट चलाइरहेका हुन्छन्, त्यो गलत हो । परमेश्वरलाई दिनुपर्ने समय परमेश्वरको हो ।
* शैक्षिक प्रणालीः अहिलेको शैक्षिक प्रणालीका कतिपय कुरा परमेश्वरको वचनसँग नमिल्ने खालका छन् । नेपालको शैक्षिक प्रणालीमा मूर्तिपूजा गर्न लगाउने कुरादेखि समलिंगी सम्बन्ध ठीकै हो भन्ने कुरा पनि आएको छ । त्यसैगरी आमाले चाहेमा गर्भपतन गर्नु पनि कानुनसंगत हो भनेर सिकाउन थालिएको छ । यस्ता पापबाट जोगाउने परमेश्वरको वचन हृदयमा राख्न सिकाउने काम मण्डली र अभिभावक दुवैको हो (भजनसंग्रह ११९ः११) ।
* लिभिड्ड टुगेदरः अन्त्यको समयमा मानिसहरू आफैंलाई मात्रै प्रेम गर्ने र छाडा हुनेछन् भनेर बाइबलले चेतावनी दिएको छ । अहिले केटा र केटी निश्चित समयसम्म सँगै बस्ने र पछि मन परे बिहे गर्ने, नपरे अलग हुने प्रचलन सामान्य जस्तै भइसक्यो । यो परमेश्वरलाई मन नपर्ने अर्को ठूलो अपराध हो । बाइबलले विवाहलाई ठूलो सम्मान दिएको छ । एउटा पुरुषको लागि जीवनभरि एउटै पत्नी हुनुपर्छ र स्त्रीको पनि त्यही नै हो भन्ने बाइबलको मूल शिक्षा हो । यो कुरा बुवाआमाको जीवनबाट बालबालिकाहरूले सिक्नुपर्छ ।
* सम्बन्धविच्छेद भएका परिवार, एक्ला अभिभावकः हाम्रो मण्डलीमा सम्बन्धविच्छेद भएका परिवार र एक्ला अभिभावकहरूले पनि बालबालिकाहरूलाई हुर्काइरहेका छन् । परमेश्वरको योजना आमा र बुवा दुवैले नै बाल बालिकाहरूलाई हुर्काउने हो तर शैतानले परमेश्वरको क्रमलाई बिगार्छ । मण्डलीले यो परिवेशलाई पनि बुझेर बालबालिकाहरूलाई सेवकाइ गर्नुपर्छ ।
यी सबै परिस्थितिहरूमा मण्डली तथा अभिभावकहरूले बालबालिकाहरूको पृष्ठभूमि वा सन्दर्भ पहिचान गर्ने, त्यस्तो परिस्थितिमा सेवा गर्न तयारी हुने काम गर्नुपर्दछ । येशूले निकोदेमसलाई यूहन्ना ३ अध्यायमा सिकाउनुभएको नयाँजन्मको बारेमा ठीक शिक्षा दिने काम अब गर्नुपर्छ र येशूको पछि लाग्न क्रूस बोक्नुपर्छ भनेर पनि सिकाउनुपर्छ । शैतानले प्राणभित्र रहेका भावना र विचारमा आक्रमण गर्ने भएको कारण हामीले त्यसैअनुसार परमेश्वरको वचनबाट शिक्षा दिनुपर्छ । हाम्रा बालबालिका र किशोरकिशोरीहरूले सबै कुरालाई किन भनेर प्रश्न गर्ने भएको कारण किन येशू, किन बाइबल, किन चर्च भनेर बुझाउने काम गर्नुपर्छ । हाम्रा छोराछोरीहरूलाई सानैदेखि व्यक्तिगत रूपमा हरेक दिन बाइबल पढ्न र प्रार्थनामा समय बिताउन सिकाउनुपर्छ ।
हितोपदेश २२ः६, “बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालिम देऊ र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन ।”
पुस्तादेखि पुस्तासम्म रहने कृपा – एल्डर सिमोन पाठक
January 18, 2018 | Articles
परमेश्वरका विशिष्ट गुणहरूमध्ये कृपा पनि एउटा गुण हो । परमेश्वरले आफ्नो कृपा उहाँको आदर गर्नेहरूमाथि एउटा पुस्तादेखि अर्को पुस्ता गर्दै पुस्तौसम्म राख्नुहुन्छ । धर्मशास्त्रमा कृपालाई बुझाउनको निम्ति प्रयोग गरिएका अन्य शब्दहरूमा दया, माया, करूणा आदि हुन् ।
वृहत्त शब्दकोषमा कृपा भनेकोः करूणापूर्वक कसैमाथि गरिने दया माया, अनुग्रह, निगाहलाई कृपा भनिन्छ । दुःखी, असहाय, सहारा विहिनहरूमाथि परमेश्वरले गर्नुहुने भलोपनलाई परमेश्वरको कृपा भनिन्छ । कृपा एउटा गुण हो । यो गुण दया र सहनशीलताद्वारा प्रष्टसँग झल्किँदछ ।
परमेश्वरले आफ्नो कृपा मानिसलाई दया देखाएर झल्काउनुभएको छ । पापीप्रति सहनशील हुनुभएर उहाँले कृपा झल्काउनुभएको छ । यदि उहाँ पापीप्रति कृपालु नहुनुभएको भए पापी मानिस संसारमा बाँच्न सक्ने थिएन । मानिस पापको सागरमा डुबेको छ । ऊ त्यहाँबाट आफै निस्कन सक्दैन । समुद्रमा डुबेको मानिस आफै निस्कन सक्दैन । उसले जति नै चिच्याए पनि, कराए पनि, समुद्रको छालले उसलाई झन्–झन् गहिराइमा पुर्याइदिन्छ । ऊ सहारा विहिन हुन पुग्छ । उसलाई समुद्रबाट बचाउनको निम्ति कसैको मदत चाहिन्छ । संसारमा भएका मानिसहरू पापको समुद्रमा डुबेका छन् । उनीहरू त्यहाँबाट आफ्नै प्रयासले बाहिर निस्कन सक्दैनन् ।
परमेश्वरको कृपाले मात्र पापको समुद्रमा डुबेका मानिसहरू बाहिर निस्कन सक्छन् । धर्मशास्त्र बाइबलले बताउँदछ, हामीहरूले गरेका धर्म, कर्म, दान, दक्षिणा, तीर्थव्रत, असल कामहरूले पापको समुद्रबाट निकाल्न सक्दैन । त्यसकारण पापबाट बचाइनको निम्ति परमेश्वरको कृपा पाउनु अति आवश्यक छ ।
मानिस पापको कारण अनन्त दण्ड भोग्ने योग्यको छ । तर परमेश्वरले मानिसमाथि सित्तैमा कृपा देखाउनुभयो । कृपा भनेको नै सित्तैमा पाउने कुरा हो । यसको निम्ति हामीले परिश्रम गर्नु पर्दैन । परमेश्वरको सित्तैको कृपाको कारणले गर्दा नै हामी पापबाट बचाइन सकेका हौं ।
“तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान् प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो” (एफिसी २ः४) ।
“हेर, धैर्य धारण गर्नेहरूलाई हामी धन्यका भन्छौं । तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ, र प्रभुको अभिप्राय देखेका छौ, कि प्रभु कस्तो करूणामय र कृपालु हुनुहुन्छ”
(याकूब ५ः११) । हामीले नयाँ जीवन पाउनु परमेश्वरको कृपाले गर्दा सम्भव भएको हो ।
“परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पिता धन्यका हुनुहुन्छ । उहाँको महान कृपाले मृतकबाट येशू ख्रीष्टको पुनरूत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मेका छौं” (१ पत्रुस १ः३) ।
धर्मशास्त्रमा परमेश्वर कोहरूप्रति कृपालु हुनुभएको छ ?
इस्राएलीहरूप्रतिः परमेश्वर कृपालु हुनुभएको छः
“परमप्रभु टिठालु र अनुग्रही, क्रोध गर्नमा ढिला, र अति करूणामय हुनुहुन्छ ” (भजनसंग्रह १०३ः८) । “परमप्रभुले हाम्रा निम्ति गर्नुभएका सबै कार्यहरूअनुसार, जसको निम्ति उहाँलाई प्रशंसा दिनुपर्दछ, उहाँले गर्नुभएको दयाको विषयमा म बताउनेछु– उहाँको करूणा र धेरै दयाअनुसार, उहाँले इस्राएलको घरानाको निम्ति धेरै असल कार्य गर्नुभयो” (यशैया ६३ः७) ।
इस्राएलीहरू मिश्रको दासत्वमा रहेको समयमा कृपा देखाउनुभयो र दासत्वबाट छुट्कारा दिनुभयो । उजाडस्थानको यात्रामा उनीहरू घरि–घरि परमेश्वरप्रति बागी भए तर पनि उहाँले आफ्नो कृपा उनीहरूप्रति देखाइरहनुभयो । प्रतिज्ञाको मुलुकमा पुर्याउनुभयो । इस्राएलीहरूप्रति परमेश्वरले गर्नुभएको कृपाको वर्णन गर्ने हो भने धेरै नै छन् ।
अन्य जातिहरूप्रति परमेश्वर कृपालु हुनुभएको छः
“किनकि जसरी तिमीहरू पनि एक पल्ट परमेश्वरको आज्ञापालन नगर्नेहरू थियौ, तर अब तिनीहरूको अनाज्ञाकारिताले गर्दा तिमीहरूले कृपा पाएका छौ । तिमीहरूलाई कृपा देखाइएकोले गर्दा तिनीहरूले पनि कृपा प्राप्त गरून् भनी तिनीहरू अहिले अनाज्ञाकारी भएका छन् । किनभने परमेश्वरको कृपा सबै मानिसहरूमाथि होस् भनेर उहाँले सबैलाई अनाज्ञाकारितामा नै सुम्पनुभएको छ”(रोमी ११ः३०–३२ ) ।
जो मानिसहरू अहिले परमेश्वरलाई नचिनेर उहाँको विरूद्धमा छन् तिनीहरूले पनि परमेश्वरको कृपाको कारण एकदिन उहाँलाई चिन्नेछन् । परमेश्वरको कृपालाई अनुभव गर्नेछन् । हामी पनि एक समय उहाँलाई चिन्दैनथियौं । उहाँलाई पुज्नुको सट्टा उहाँले सृष्टि गर्नुभएका थोकहरूलाई पूजा आराधना गर्ने गर्दथ्यौं । तर परमेश्वरको कृपाको कारण ठीक समयमा उहाँलाई चिन्न सक्यौं । नेपालमा धेरै मानिसहरू छन् जसले जीवित परमेश्वरलाई चिनेका छैनन् तर परमेश्वर तिनीहरूप्रति पनि कृपालु हुनुहुन्छ । परमेश्वरको कृपाको कारण नेपालका धेरै मानिसहरूले उद्धार पाइराखेका छन् ।
परमेश्वरको आदर गर्नेहरूप्रति उहाँ कृपालु हुनुभएको छः
“तर परमप्रभुको करूणा आफ्ना भक्तहरूमाथि र उहाँको धार्मिकता तिनीहरूका छोरा–नातिमाथि अनन्तदेखि अनन्तसम्म रहन्छ” (भजनसंग्रह १०३ः१७ ) ।
परमेश्वर उहाँको आदर गर्नेहरूप्रति कृपालु हुनुभयो । उहाँको आदर गर्ने, भक्ति गर्नेहरू, आज्ञापालन गर्नेहरू, करारलाई पक्रिराख्ने सन्तानप्रति पनि परमेश्वर कृपालु हुनुहुनेछ । परमेश्वरको कृपा एउटा पुस्तादेखि अर्को पुस्तामा बग्दै जानेछ । उहाँको कृपाको अन्त्य छैन । परमेश्वरले हामीमाथि गर्नुभएको कृपा हाम्रा सन्तानप्रति पनि बगाउनुहुनेछ ।
“उहाँको भय मान्नेहरूमाथि उहाँको कृपा पुस्तादेखि पुस्तासम्म रहनेछ” (लूका १ः५०) । हामीले परमेश्वरको भय मान्यौ, उहाँको आदर गर्यौं भने परमेश्वरको प्रतिज्ञा छ पुस्तादेखि पुस्तासम्म परमेश्वरको कृपा रहिरहनेछ । हाम्रा सन्ततीमा परमेश्वरको कृपाको अन्त हुने छैन ।
मुक्तिको खोजी गर्नेहरूप्रति परमेश्वर कृपालु हुनुभएको छः
“दुष्टले आफ्नो बाटो र अधर्मीले आफ्नो विचार त्यागोस्, र परमप्रभुतिर फर्कोस्, र उहाँले त्यसमाथि कृपा गर्नुहुनेछ । हाम्रा परमेश्वरतर्फ त्यो फर्कोस्, र उहाँले त्यसलाई सित्तैमा क्षमा गर्नुहुनेछ” (यशैया ५५ः७) ।
मुक्तिको खोजी गर्नेहरू परमेश्वरतिर फर्कन्छन् भने उनीहरूले उहाँलाई नचिन्दा गरेका सबै पाप, अधर्महरू परमेश्वरले क्षमा गरिदिनुहुन्छ । बिना शर्त क्षमा छ ।
परमेश्वरको कृपा येशू ख्रीष्टले क्रूसमा गर्नुभएको बलिदानमा देख्न सक्छौं । क्रूसको चित्र कृपापूर्ण कार्य हो । क्रूसमा दया छ, माफी छ, क्षमा छ, पापको दण्ड सजायको मिनाहा छ । परमेश्वर इस्राएलीहरूप्रति, अन्यजातिहरूप्रति, उहाँको आदर गर्नेहरूप्रति र मुक्तिको खोजी गर्नेहरूप्रति कृपालु हुनुभएको कुरा थाहा पाउँदा तपाईंलाई कस्तो लाग्यो ? परमेश्वरको कृपालाई हाम्रो दैनिक जीवनमा झल्काएर परमेश्वरको कृपालाई पुस्तादेखि पुस्तासम्म बग्न दिऔं र उहाँको महिमा गरौं ।
ख्रीष्टमको केन्द्र येशू ख्रीष्ट हुनुहुन्छ – एल्डर सिमोन पाठक
December 1, 2017 | Articles
सबैभन्दा पहिला ख्रीष्टमस कसले मनाएका थिए र कसरी मनाए ? सबैभन्दा पहिला स्वर्गदूतहरूले नै ख्रीष्टमस मनाएका थिए । उनीहरूले परमेश्वरको स्तुति गर्दै ख्रीष्टमस मनाएका थिए । येशू बेथलेहेममा जन्मनुभयो । उहाँको जन्म भएको दिनमा एक्कासी स्वर्गदूतसँग स्वर्गीय सेनाको दल इस्राएलको बेथलेहममा देखा पर्यो र परमेश्वरको स्तुति गर्दै ख्रीष्टमस मनाए । स्वर्गदूतहरूले येशूको जन्म भएको दिनमा घोषणा गर्दै उच्चारण गरेका शब्दहरू यसप्रकार छन् ः
“सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति” (लूका २ः१४)
स्वर्गदूतहरूले ख्रीष्टमसको उत्सव मनाइसकेपछि पृथ्वीमा भएका मानव प्राणीहरूमा ख्रीष्टमस मनाउने पहिलो व्यक्तिहरू भेडा गोठालाहरू थिए ।
“जब स्वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्वर्गमा गए, तब गोठालाहरूले आपसमा भने, आऔं, हामी बेथलेहेमसम्म जाऔं, र त्यहाँ घटेको यो घटना र परमप्रभुले हामीलाई बताउनुभएको कुरा गएर हेरौं” (लूका २ः१५–२०) ।
डिसेम्बर २५ तारिखका दिन ख्रीष्टमस भनेर ख्रीष्ट जन्मोत्सव मनाउने परम्परा इ.सं. ३३६ तिर भएको भए तापनि बाइबलमा ख्रीष्ट जन्मोत्सव उहाँ जन्मनुभएकै दिनदेखि सुरू भएको पाउँछौं । कतिले डिसेम्बर २५ को दिन ख्रीष्टमस मनाउने सम्बन्धमा तार्किक विचार राखेर टिप्पणी गर्ने गर्छन् । तर यथार्थता के हो भने येशू ख्रीष्ट २१ औं शताब्दी अघि पृथ्वीमा जन्मनुभयो । करिब तीस वर्षको उमेरमा परमेश्वर पिताको मिशन सार्वजनिक रूपमा शुरू गर्नुभयो र करिब तेत्तिस वर्षको उमेरमा क्रूसमा टाँगिनुभयो, मारिनुभयो र तेस्रो दिनमा मृत्युबाट जीवित हुनुभयो र चालीस दिनपछि स्वर्गमा चढिजानुभयो ।
मानव जातिलाई यो सन्देश छर्दै ख्रीष्टमस मनाउनु नै साँचो ख्रीष्टमस हो । ख्रीष्टमसको केन्द्र येशू नै हुनुहुन्छ । रमाइलो गर्नु, क्यारोल खेल्नु, भोज खानु, उपहार आदानप्रदान गर्नु, आफूसँग भएका सम्पत्तिहरूद्वारा अरूहरूलाई आशिष् पुर्याउनु, आदि कुराहरू गर्नु मात्र ख्रीष्टमस होइन । हामी यी कुराहरू गर्दछौं किनकि मानिस सामाजिक प्राणी हो । यस्ता कुराहरूले हाम्रो प्राणलाई उत्साहित पार्ने, आनन्द महसुस गराउने गर्छ । परमेश्वर पिताले आफ्नो पुत्र मानव जातिलाई दिनुभएको कारण नै मानव जातिको निम्ति पाप क्षमा सम्भव भयो र परमेश्वर पितासँग येशू ख्रीष्टद्वारा मिलाप भएको कारण मानव सन्तान परमेश्वरको सन्तान हुन सम्भव भयो । यो खुशीमा हामी रमाइलो गर्ने गर्छाै । तर यी सबै कुराहरू गर्दै गर्दा ख्रीष्टचाहिँ हाम्रो हृदयको केन्द्रमा प्रभु भएर राज्य गर्न दिनु जरूरी छ । उहाँलाई हृदयदेखिको स्तुति गर्नु, दण्डवत गर्नु, र भक्ति चढाउनु नै साँचो ख्रीष्टमस हो । ज्ञानी मानिसहरूले आनन्दित हुँदै येशूलाई सुन, सुगन्धित धूप र मूर्रका भेटी चढाएर ख्रीष्टमस मनाए । स्वर्गदूतहरू र भेडा गोठालाहरूले ख्रीष्टमस मनाएको समय र ज्ञानी मानिसहरूले ख्रीष्टमस मनाएको समय अवधि फरक छ । यसबाट हामी एउटा पाठ सिक्न सक्छौं कि ख्रीष्टमस कसले र कहिले मनाएभन्दा पनि कसरी मनाए भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ ।
यरूशलेममा शिमियोन नाउँ भएका एकजना धर्मी र भक्त मानिस थिए । उनले ख्रीष्टलाई नदेखेसम्म तिमी मर्ने छैनौ भन्ने प्रकाश पवित्र आत्माबाट पाएका थिए (लूका २ः२६) । येशूको जन्म भएपछि योसेफ र मरियम बालक येशूलाई व्यवस्थाअनुसारको विधि गर्न यरूशलेमको मन्दिरमा गए । मोशाको व्यवस्थाअनुसार छोरा जन्मेको आठौं दिनमा खतना गर्नुपथ्र्यो र ३३ दिनमा आमाको शुद्धिकरणको निम्ति होमबलीको निम्ति एउटा एक वर्षे थुमा र पापबलिको निम्ति परेवाको एउटा बचेरा वा एउटा ढुकुर पूजाहारीकहाँ ल्याउनुपथ्र्यो (लेवी १२ः१–८) ।
योसेफ र मरियम मोशाको व्यवस्थाअनुसारको विधि पूरा गर्न यरूशलेमको मन्दिरमा गएको समयमा शिमियोन पवित्र आत्माले निर्देशन गरेअनुसार मन्दिरमा पुगे र तेत्तिस दिनको बालक येशूलाई काखमा लिएर परमेश्वरलाई धन्यवाद दिएर ख्रीष्टमस मनाए । हन्ना नाउँकी एकल वृद्ध अगमवादिनी जो चौरासी वर्ष पूगेकी थिइन्, उनले परमेश्वरलाई येशूको जन्म पृथ्वीमा भएकोमा धन्यवाद दिँदै ख्रीष्टको जन्म कहिले हुने हो भनी प्रतिक्षा गरिरहेका सबै मानिसहरूलाई शुभ खबर सुनाएर ख्रीष्टमस मनाइन् ।
ख्रीष्टमस कसरी मनाउनुपर्छ भन्ने कुराको असल नमूना बाइबलमा नै पाउँछौ । स्वर्गदूतहरूले परमेश्वरलाई महिमा र पृथ्वीमा उहाँ प्रसन्न हुनुभएका मानिसहरूलाई शान्तिको सन्देश छर्दै ख्रीष्टमस मनाए भने गोठालाहरूले देखेको र फरक स्थान र समयमा फरक तरिकाले मनाएका थिए । परमेश्वर पिताले पूत्रलाई संसारमा नपठाउनुभएको भए यो दिन इतिहासमा हुने थिएन । पिताले आफ्नो एकमात्र पूत्रलाई मानव जातिको उद्धारको निम्ति दिनुभएर ख्रीष्टमसको प्रारम्भ गर्नुभयो । यो वर्षको ख्रीष्टमसमा हामी के गरेर ख्रीष्टमसको शुभारम्भ गर्न चाहन्छौं ? के हामीले ख्रीष्टमस मनाउने विषयमा गरेका योजनाहरू र सोचहरूले केवल उहाँको मात्र स्तुति, आदर, भक्ति र महिमा हुन्छ ?
६० औं वर्ष पुग्यौं, एबेनेजरको ढुङ्गा गाडौं र अघि बढौं – पाष्टर राजेन्द्र रोंगोंग
November 15, 2017 | Articles
६० वर्ष अघि डिल्ली बजार स्थित डेरामा डिल्ली बजार मण्डली, पछि ज्ञानेश्वर र हाल नेपाली इसाई मण्डली स्थापना भयो । आदरणीय पाष्टर रोबर्ट गुरुबाको अगुवाइमा १५-१६ जना विश्वासीहरूसहित पहिलो सेवा शुरू भयो । त्यसपछि प्रायः सात विभिन्न ठाउँमा डेरा सर्नुपर्ने भएअनुसार मण्डली पनि सँग सँगै सर्दै गयो । अन्त्यमा ज्ञानेश्वरमा आफ्नै भवन बनेपछि एउटै स्थानमा स्थायी रूपमा आराधना सेवा गर्दै आएका छौं ।
वि.सं. २०१७ पुष १ देखि देशमा पञ्चायत शासन शुरू भयो । यो शासन निकै कष्टकर थियो तर त्यसै बेलादेखि मण्डली वृद्धि हुन थाल्यो । परमप्रभु परमेश्वरको अनुग्रह र अगुवाइमा नेइमको स्थिति यस प्रकारका छन्: हाल नेइमका २५ जिल्लामा १२७ वटा शाखा आबद्ध मण्डलीहरू रहेका छन् । त्यसैगरी स्थानीय मण्डलीका आउटरीच संगतिहरू २० वटा रहेका छन् । हाल उपत्यका र आसपासमा गरी १६ वटा मण्डलीहरू रहेका छन् । यसरी नेपालभरि जम्मा नेइमका मण्डलीहरूको संख्या १६३ रहेको छ । त्यसैगरी नेइमका मिशनेरीहरूले नेपालभन्दा बाहिर शुरू गरेका मण्डली तथा संगतिहरू भारतको पूर्वोत्तरमा ६, गढवालमा २, मुम्बईमा १, पूनेमा ३, बैंगलोरमा ४ गरी जम्मा १६ वटा रहेका छन् । हाल भारतमा ५ परिवार मिशनेरीको रूपमा हुनुहुन्छ भने यूरोपमा १ परिवार मिशनेरी कार्यरत हुनुहुन्छ । नेइमका मिशनेरीहरूको जम्मा संख्या ६ परिवार रहेको छ । यसरी हेर्दा नेइम नेपालभरि ३३ वटा जिल्लामा पुगेको छ र हाल रहेको ७ वटै प्रदेशमा नेइम पुगेको छ । उपत्यका भित्र र बाहिर गरी नेइमका जम्मा विश्वासीहरूको संख्या नेपालमा करिब २० हजार जति रहेको अनुमान छ ।
मिशनको क्षेत्रमा हाल नेइमले मण्डली स्थापना गर्ने, अगुवाहरू तयार गर्ने, अगुवाहरूलाई तयार गर्ने, अगुवाहरूलाई सबल बनाउने, आवश्यक शिक्षा तथा तालिम उपलब्ध गराउने, स्थापना भएका मण्डलीहरूलाई विविध प्रकारले सहयोग गर्ने, मिशनेरीहरू पठाउने, विभिन्न मण्डलीहरूसँग मिशन सम्बन्धी काममा सहकार्य गर्ने स्थानीय मण्डलीका वरपरको समुदायलाई हित हुने सामाजिक कार्यमा सहयोग पु¥याउने आदि कार्यहरू गरिरहेको छ ।
अब के गर्ने ?
सबैभन्दा पहिले त गत समयहरूमा परमप्रभु परमेश्वरले हामीलाई अगुवाइ, सुरक्षा र सहायता गर्नुभएकोमा एबेनेजेरको ढुङ्गारूपी स्मारक खडा गर्ने (१ शमूएल ७ः१२) अनि लक्ष्यतिर अघि बढ्नेः “मैले यी सबै अघिबाटै प्राप्त गरिसकेको छु, अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, तर ती कुराहरूलाई पक्रनको लागि म अघि बढिरहेको छु जुन कुराको निम्ति ख्रीष्टले मलाई पक्रनुभयो । भाइ हो, मैले यी सबै पक्रिसकेको छु भनी म ठान्दिनँ, तर एउटा काम म गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर अगाडितिर जोडसँग लम्कँदै ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाउने पुरस्कारको निम्ति निशानातिर म जोडसँग अघि बढ्दछु (फिलिप्पी ३ः१२–१४) ।
नेइमलाई अब अझ अघि बढ्नुपर्नेछ । धर्मशास्त्रअनुसार हामी प्रत्येक विश्वासीलाई व्यक्तिगत रूपमा र विश्वासीको समूहलाई ख्रीष्टले पक्रनुभएको छ । अर्को सरल भाषामा भन्ने हो भने उहाँले हामीलाई दिनुभएको काम हामीले उहाँले इच्छा गर्नुभएजस्तै गर्दै जानुपर्नेछ ।
हामीलाई परमेश्वरले नयाँ कुराहरू देखाउनुभएको छ । अघि मण्डलीले वचनको सुसमाचारमा मात्र प्रायः केन्द्रित थियौं भने अहिले पूर्ण सुसमाचार वा पूर्ण जीवन सुसमाचार (Whole – Life Gospel) बारे बताउँदै आएका छौं । १ थेसलोनिकी ५ः२३ मा लेखिएअनुसार, “शान्तिका परमेश्वर आफैले सम्पूर्ण रूपले तिमीहरूलाई चोखा बनाऊन्, र तिमीहरूका समस्त आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा निष्कलङ्क रहून् ।” यसअनुसार मानिस शरीर मात्र नभई आत्मा, प्राण (मन अथवा विचार, इच्छा र संवेदन) पनि हो । कसैले भनेका छन्–‘म आत्मा हुँ, मेरो प्राण छ र म शरीरमा बस्दछु ।’
यसैकारण हामीलाई दिनुभएको सुसमाचार आत्माको लागि मात्र नभएर सम्पूर्ण व्यक्तिको लागि हो भनी बुझाउनलाई पूर्ण जीवन सुसमाचार भनिएको हो । यस कुरालाई ध्यानमा राखी अब नेइम अघि बढ्नुपर्नेछ । पूर्ण–जीवन सुसमाचारले परमेश्वरको कामको अर्थलाई फराकिलो पार्छ । यो अर्थअनुसार मण्डली (चर्च) को काम जस्तै पाष्टर, प्रचारक, पूर्णकालिन सेवा तथा मण्डलीसित सम्बन्धित काम मात्र परमेश्वरको काम हो र अन्य विभिन्न कार्यालयका कामहरू, शिक्षा, कृषि, व्यापार, स्वास्थ्य, सरकारी कार्यालयहरू तथा अरूहरूकहाँ गर्ने नोकरी, सफाइ गर्ने आदि सबै काम पनि परमेश्वरले दिनुभएका कामहरू हुन् । यी विभिन्न काम गर्ने परमेश्वरका छोरा/छोरीहरूले उहाँलाई खुशी पार्ने इच्छाले काम गर्नुपर्दछ । जहाँ परमेश्वरका छोरा/छोरी छन् त्यहीँ नै परमेश्वरको उपस्थिति पनि हुन्छ अनि उहाँका प्रत्येक छोरा/छोरीसित परमेश्वरको आत्मा हुनुहुन्छ । उहाँले उनीहरूका काममा अगुवाइ गर्नुहुन्छ । यो प्रभुको काम हो सांसारिकको अर्थ छैन । जुन काम उहाँले हामीलाई दिनुभएको छ सो स्थानमा रहेर उहाँलाई खुशी पार्ने हिसाबले काम गर्दै गयौं भने आफ्ना मण्डली र समाजलाई पनि सेवा पुर्याउन सक्छौं ।
प्रभु येशूले सिकाउनुभएको प्रार्थना “… तपाईंको राज्य आओस्” यही आज्ञा पालन अर्थात् उहाँले सिकाउनु र चाहनुभए अनुसार काम गरेर पूरा हुनेछ ।
मण्डली ठूलो हुँदै गयो । सबै काम सँगै एकै ठाउँमा गर्नुपर्छ भन्ने कुरा सम्भव छैन । यसकारण नेइमको आधारभूत विश्वासमा एकत्व हुनुपर्छ । मिशन, धापासी, मिडिया, मेरी गुरुआमा प्रतिष्ठान, कानून सम्बन्धी कुराहरूमा सबैको पूर्ण सहभागिता आवश्यक छ भने अर्कातिर परिस्थिति अनुसार स्थानीय मण्डलीहरूले नै काम गर्नुपर्नेछ । मण्डलीको निमित्त अर्को तड्कारो आवश्यक्ता अनुसार ईश्वर विज्ञान अध्ययन गरेका यस सम्बन्धी तालिम पाएका परमेश्वरको बोलावट पाएका र विभिन्न ठाउँहरूमा सेवकाइ पुर्याउन सक्ने सेवकहरूको आवश्यक्ता छ । आवश्यक्ता यतिमा मात्र सीमित छैनन् ।
यसर्थ परमेश्वरसित प्रार्थना गरौं, अगुवाइ मागौं, सुनौंं र त्यसअनुसार काम गर्दै अघि बढौं ।
परमेश्वरमा विश्राम – पाष्टर राजेन्द्र रोंगोंग
October 9, 2017 | Articles
आदम पछिका मानिसहरूले पनि दुष्टता त्यागेनन् । “पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूका विचारको जुनसुकै पनि भावना खराबै मात्र भएको परमेश्वरले देख्नुभयो …”
मानिसलाई बनाउनु भएकोमा परमप्रभुले अफसोस गर्नुभयो र उहाँ साह्रै दुखित हुनुभयो । त्यसकारण परमप्रभुले भन्नुभयो, “मैले सृष्टि गरेको मानिसलाई पृथ्वीबाट म मेटिदिन्छु … तर नोआमाथि चाहिँ परमप्रभुको अनुग्रह भयो (उत्पत्ति ६ः५–८) ।” नोआ “आफ्नो पुस्तामा धार्मिक मानिस थिए । तिनी परमेश्वरको साथै हिँड्ने गर्थे (उत्पत्ति ६ः९) ।” नोआकै कारण परमेश्वरले सबै मानिसलाई नाश गर्न चाहनुभएन । नोआका परिवार साथै सबै जीवित प्राणीमध्ये हरेक जातका पशुपंक्षी र जमीनमा घस्रने सबै थरीका दुई–दुईवटा (भाले र पोथी) “अटाउने जहाज बनाउन परमेश्वरले नोआलाई अह्राउनुभयो । परमेश्वरले जहाजको नक्शा पनि दिनुभयो ।” नोआले साना तिना काठका कामहरू गरे होलान् तर यस्तो विशाल निर्माण कार्य उनको निमित्त कठिन मात्र होइन असम्भव नै थियो । सायद उनले सो कुरा आफ्नो परिवारमा बताए । शुरूमा उनीहरूले विश्वासै गर्न सकेनन् तर आफ्ना श्रीमान्, बुवा तथा ससुराको विश्वास देखे । सुखा मरुभूमिमा जहाज बनाउन अति नै अनौठो कुरा थियो तर परिवार सबै काममा लागे । टाढा नजीकका छिमेकहरू आएर प्रश्न गरे होलान् र ठट्टामा उडाए होलान् तर उनीहरूले आफ्ना श्रीमान्, बुवालाई सघाइरहे । उत्पत्ति ६ः२२ अनुसार “परमेश्वरले नोआलाई आज्ञा गर्नुभए बमोजिम तिनले सबै गरे ।” उत्पत्ति ७ः५ मा यो कुरा दोहोरिएको छ, “तब परमप्रभुले तिनलाई हुकुम गर्नुभएबमोजिम नोआले सबै गरे ।” एउटै कुरा दोहोर्याउनुको अर्थ परमेश्वरले आज्ञा गर्नुभएको काम पूरा भयो ।
यसै सन्दर्भमा गएको वर्षतिर नोआको जहाजको भग्नावशेष यूरोपीय राष्ट्र टर्कीमा फेला परेको समाचार प्रकाशन भएको थियो ।
नोआ आफूले यो काम गर्न सकेका होइनन्, उनी आफ्ना पुस्तामा “धर्मी र निर्दोष मानिस थिए र परमेश्वरमाथि भरोसा गर्थे” अर्थात् उनी ठूला काम देखेर आत्तिएनन् तर उनले परमेश्वरमा विश्राम गरे । उनले परमेश्वरमाथि विश्राम गरे अनि परमेश्वरले उनलाई काम गर्ने ज्ञान र शक्ति दिनुभयो ।
परमेश्वरमाथि विश्राम गर्ने अरू केहीमध्ये योसेफ याकूबका एघारौं छोरो थिए । बुढेसकालको छोरो भएकोले याकूब उनलाई अरू छोराहरूभन्दा बढी प्रेम गर्थे । त्यसैले उनका दाजुहरूले उनलाई मन पराउँदैनन् थिए । उनले दुईवटा सपना देखे (हेर्नुहोस् उत्पत्ति ३७ अध्याय) जसका कारण उनका दाजुहरू असाध्यै चिढिए । तिनको दोश्रो सपनामा बाबुआमासमेतले उनलाई ढोगेका कुरा थियो । यसका कारण उनका दाजुहरू अति नै रिसाए तर उनका बाबु याकूबले “… यी कुरा मनैमा राखे (उत्पत्ति ३७ः११) ।”
एक पल्ट योसेफका दाजुहरू बगालचराउन शकेममा गएका थिए । याकूबले योसेफलाई दाजुहरूकहाँ पठाए । उनका दाजुहरूले उनलाई मन पराउँदैनन् भन्ने थाहा थियो । तर पनि उनका बाबुले तिनलाई बोलाउनु भई आफ्नो दाजुहरूकहाँ पठाउँदा नाइनास्ति गरेनन् । तर उनले भने “म तयार छु” र “उनी गए” । जब दाजुहरूले उनलाई देखे तिनीहरूले उनलाई पहिले मार्ने विचार गरे तर जेठो दाजु रूबेनको कारण त्यसो गरेनन् र खाडलमा हाले । उनीहरूले खाजा खाइरहेको बेलामा त्यही बाटो भएर मिद्यानी व्यापारीहरू जाँदै गरेका देखेर भाइ योसेफको विनय क्रन्दनको वास्तै नगरी बीस सिक्कामा तिनलाई कमारोको रूपमा बेचिदिए । मिद्यानीहरूले उनलाई मिश्री राजाका अंगरक्षक पोतिफर कहाँ बेचे ।
उत्पत्ति ३९ः२ मा लेखिए अनुसार “परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो … ।” अर्थात् उनले परमेश्वरमाथि विश्वास गर्थे र उहाँमाथि पूर्ण विश्राम गर्थे । यही विश्रामको कारण परमेश्वरले उनको हरेक काममा आशिष् दिनुभयो । उनका मालिकले योसेफलाई आफ्नो घरको मुख्य कारिन्दा बनाए । उनी सुन्दर थिए । उनकी मालिकनीको कुदृष्टि उनीमाथि थियो । उनलाई परीक्षा गर्दा उनको उत्तर यो थियो, “… कसरी यस्तो घोर दुष्ट काम गरेर मैले परमेश्वरको विरुद्धमा पाप गर्नु ? (उत्पत्ति ३९ः९)” एक दिन मालिकनीले मौका छोपी, उनलाई परीक्षा गर्न खोजिन् । उनी आफ्नो खाष्टो मालिकनीले समातेर राखेको अवस्थामा त्यतिकै छोडेर भागे । उनले आफ्नो पतिलाई योसेफको विरुद्ध उजुर गरिन् । पोतिफोरले कारणै नबुझी योसेफलाई झ्यालखानामा हालिदिए । योसेफलाई झ्यालखानामा राखियो । उनले बिना प्रतिवाद झ्यालखानाको सजाय भोग्न तयार भए । तर त्यहाँ पनि परमेश्वरको निगाह उनीमाथि थियो । “तर परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो, उहाँले उनीमाथि टिठाउनुभयो अनि झ्यालखानाका हाकिमको निगाह पात्र बनाउनुभयो (उत्पत्ति ३९ः२१) ।” यसको रहस्य थियो योसेफले परमेश्वरमाथि विश्राम लिन जानेका थिए र निरन्तर विश्राम लिन्थे ।
झ्यालखानामा पनि बिना गनगन सबैको सेवा गर्थे यहाँसम्म कि झ्यालखानाका हाकिमले सबै बन्दीहरूलाई उनको जिम्मामा दिए । यही क्रममा एकपल्ट राजाका मुख्य पियाउने र मुख्य पकाउने पनि झ्यालखानामा बन्दीको रूपमा आए । उनीहरूले विभिन्न अर्थ भएको सपना देखे । योसेफले सो सपनाको अर्थ बताइदिए । त्यसपछिको घटनाक्रम त्यसै अनुसार भयो । मुख्य पियाउनेले आफ्नो जागिर पुनः पाए, र पकाउने नोकरलाई झुण्ड्याइयो । दुई वर्षपछि मिश्रका राजा फारोले पनि सपना देखे । सपनाको अर्थ भेटिएन तर मुख्य पियाउनेले योसेफलाई सम्झे र फारोलाई उनको सिफारिस गरे । योसेफ फारोको अघि पुगे र जब फारोले “सपनाको अर्थ तैंले खोल्न सक्छस् रे” भनेकोमा योसेफले भने, “यस्तो ज्ञान त ममा छैन तर परमेश्वरले फारोलाई यथार्थ उत्तर दिनुहुन्छ (उत्पत्ति ४१ः१६) ।” योसेफ परमेश्वरमाथि पूर्ण रूपले विश्वास गर्थे अर्थात पूर्ण रूपमा उनी परमेश्वरमा विश्राम गर्थे । यसैको आधारमा नै योसेफले फारोको सपनाको अर्थ खोले । योसेफको जीवनमा ठूलो परिवर्तन आयो । योसेफको विषयमा फारोको यस्तो साक्षी थियो, “परमेश्वरले तिमीलाई सबै कुरा देखाइदिनु भएको छ र तिमी जस्तो चतुर र बुद्धिमान मानिस अरू छैन । यसकारण मेरो महलको अख्तियार चलाउने तिमी नै भयौ र तिम्रै आज्ञाअनुसार मेरो समस्त प्रजा चल्ने छ, केवल सिंहासनको सम्बन्धमा मात्र म तिमी भन्दा माथि हुनेछु(उत्पति ४१ः३९–४०) ।”
नोआ तथा योसेफ आफूमा साधारण मानिस थिए तर उनीहरू परमेश्वरमा विश्वास गर्थे र उहाँमा विश्राम गर्थे । यसैकारण ती दुवै साधारण मानिसबाट असाधारण काम भयो ।
बाइबलका ठूला अगमवक्ता यशैया पनि यस तथ्यलाई जोड दिन्छन्, “परमप्रभु परमेश्वर इस्राएलका परमेश्वर चाहनुहुन्छ, पश्चात्ताप र विश्राममा तिमीहरूको उद्धार छ । मौन धारण र भरोसामा तिमीहरूलाई शक्ति मिल्दछ (यशैया ३०ः१५) ।” यशैयाले पनि राष्ट्रलाई धक्का पर्ने किसिमका विशाल आश्चर्य काम गरेका थिए किनकि उनी परमेश्वरमाथि विश्वास गर्थे ।
हामी प्रभु येशूको रगतले किनिएका प्रत्येकको निमित्त प्रतिज्ञा र शक्ति प्राप्त भएको छ । शैतान, जो यस संसारका देव हो, त्यसले हाम्रो विचार, इच्छा, अनुभव अथवा हाम्रा मनमा निरन्तर आक्रमण गरिरहन्छ । अनेकौं चिन्ता, फिक्री, अविश्वास, शङ्का, डर, किसिम किसिमका तर्क वितर्कहरू हाम्रो मनमा हालिदिन्छ र परमेश्वरमाथि विश्वास गर्नमा बाधा पुर्याउँछ । धेरै अवस्थामा हामीले परमेश्वरमा विश्राम नलिएको कारण जीवनमा खलबल र गोलमाल पुर्याइरहेका हुन्छौं । हामीहरू आफ्नै कुरामा यति व्यस्त छौं कि हामीलाई प्रभु के भन्दै हुनुहुन्छ सो सुन्ने फुर्सद पनि हामीसँग हुँदैन ।
अहिले, यसै समय यो लेख, पढ्दै गर्दा पनि प्रभु येशू भन्नुहुन्छ, “हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिन्छु । मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि आफ्ना आत्मामा तिमीहरूले विश्राम पाउनेछौं । किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ (मत्ती ११ः२८) ।”
परमेश्वरमा राखिएको भरोसाले दोब्बर आशिष्मा डोर्याउँछ – एल्डर गोपी राई
September 13, 2017 | Articles
अय्युब १, २ र ४२ अध्यायः ऊज देशमा अय्युब नाउँ भएका एक जना मानिस बस्दथे । तिनी निर्दोष र सोझो जीवन बिताउँथे । तिनी परमेश्वरसग डराउँथे र दुष्टताबाट अलग बस्थे । तिनका सात छोरा र तीन छोरी थिए । तिनका सात हजार भेडा, तीन हजार ऊँट, पाँच सय हलगोरु र पाँच सय गधाहरू बाहेक धेरै कमारा कमारीहरू पनि थिए। पूर्वका सबै मानिसहरूमध्ये अय्युब सबै भन्दा महान थिए ।
तिनका छोराहरूले पालैसित आफ्नो घरमा भोज लाउँथे र आफ्ना तीन बहिनीहरूलाई खानपिनका लागि निम्त्याउँथे । भोज दिने काम सिद्धिएपछि अय्युबले आफ्ना छोराछोरीहरूलाई बोलाएर शुद्ध बनाउने गर्थे । तिनी बिहान सबेरै उठी तिनीहरू प्रत्येकको निम्ति यो विचारले एउटा एउटा होम बलि चढाउँथे, “सायद मेरा छोराछोरीले पाप गरे होलान् र परमेश्वरलाई सरापे होलान् ।” अय्युबले सधैं यसै गर्थे (अय्युब १ः१–५) ।
अय्युब त्यस जमानाका धनाढ्य व्यक्ति थिए साथै उनी परमेश्वरको डर मान्ने व्यक्ति थिए । निर्दोष र सोझो जीवन बिताउँथे । केही अभाव थिएन । त्यति हुँदहुँदै पनि अय्युबको कमजोरी पनि थियो । उनको कमजोरी चाहिँ छोराछोरीहरूलाई परमेश्वरको डरमा हुर्कन सिकाएनन् । उनले छोराछोरीलाई परमेश्वरको डरमा हुर्कन सिकाएको भए उनीहरूले बुझ्ने थिए, परमेश्वरलाई सराप्नुहुँदैन । उनीहरूमा परमेश्वरको डर नभएको हामी थाहा पाउँछौं । त्यसैले उनीआफै भएपनि छोराछोरीहरूको लागि होम बलि चढाउँथे । छोराछोरीहरू चाहिँ सांसारिक थिए । आफ्ना बाबुमा जस्तो परमेश्वरप्रतिको भक्ति उनीहरूमा थिएन । उनीहरू भोज खाएर मोज मस्तीमा समय बिताउँथे । उनका छोराहरूले आफ्ना दिदी बहिनीहरूका लागि पालै पालो भोज लगाउँथे । जब सातै भाइको पालो सकिन्छ, तब बाबु स्वयम्ले उनीहरूको लागि होम बलि चढाइदिनु पर्थ्यो । आ–आफ्नै घरमा भोज भनेपछि सबै उमेर पुगेका थिए । बाइबलमा लेखिएको छैन कि ती छोराछोरीहरूले बलिदान चढाउँथे । यसको अर्थ आफ्नो छोराछोरीमा परमेश्वरको भक्ति छैन भन्ने अय्युबलाई थाहा थियो । त्यसैले आफैले उनीहरूको लागि होम बलि चढाउँथे किनकि बाबु आमाले आफ्नो सन्तानको भलाई नै चाहन्छन् । यसको कारण अय्युबले आफ्ना छोराछोरीलाई परमेश्वरको भक्तिमा हुर्काउन नसक्नु थियो । शैतान सधैं नै पृथ्वीमा घुमफिर गरिरहन्छ । अनि मानिसको उन्नति देखेर जल्छ । परमेश्वरका दूतको साथमा पनि हिंड्छ । परमेश्वरकै काम गर्दा पनि बडो होसियारसँग गर्नुपर्छ ।
यी सबै भइरहेको समयमा स्वर्गदूतको साथमा शैतान पनि देखापर्यो।जब परमेश्वरले शैतानलाई तँ कहाँबाट आइस भनी सोध्नुभयो । शैतानले पृथ्वीमा घुमफिर गर्दै आएको बताउँछ । परमेश्वरले अय्युबको प्रशंसा गर्दै के तैंले मेरा दास अय्युबलाई याद गरिस् । परमेश्वरको डर राख्ने र दुष्ट कामबाट अलग रहने त्यो जस्तो निर्दोष र सोझो मानिस पृथ्वीमा अरू कोही छैन (अय्युब १ः८) । परमेश्वरको प्रशंसा सुनेर शैतानले एकै सासमा उत्तर दिन्छ, त्यसै अय्युबले परमेश्वरको डर मानेका हुन् र ? तपाईंले अय्युबलाई, तिनका सबै काम तपाईंले चारैतिरबाट बार हालेर रक्षा गर्नु भएको छैन ? तपाईंले तिनका सबै काममा आशिष् दिनुभएको छ, त्यसैले तिनको गाई वस्तु देशभरि अनगन्ती बढेका छन् । तपाईंले आफ्नो हात पसारेर तिनको सबै चीजमाथि प्रहार गर्नुहोस्, तिनले तपाईंका मुखकै सामुु तपाईंलाई सराप्नेछन् । तब परमेश्वरले अय्युबको ज्यानबाहेक सबै कुरा शैतानको अधिकारमादिनुभयो (अय्युब १ः६(१२) ।
शैतानले अय्युबको प्रशंसा परमेश्वरबाट सुनेर उसलाई डाह भयो र परमेश्वरलाई विरुद्धमा उक्सायो । अधिकार पाए पछि उसले सबै क्षेत्रमा प्रहार गर्यो । एक दिन अय्युबका जेठा छोराको घरमा भोज भइरहेको थियो । सबै जना भोजको मोज मस्ती गरिरहेका थिए । एक जना समाचार बाहक आएर भन्छ, गोरुहरू जोतिरहेको र गधाहरू तिनीहरूका नजीकै चरिरहेका बेलाशब्बीहरू आएर गोठालाहरूलाई आक्रमण गरी मारे र सबै लगे । समाचार दिन म मात्रउम्कें । त्यो बोल्दाबोल्दै अर्को एकजनाआएर परमेश्वरको अग्नि स्वर्गबाट झरेर भेडाहरू र गोठालाहरू भष्म पार्यो र समाचार दिन म मात्र उम्कें । ऊ बोल्दाबोल्दै तेस्रो आएर भन्छ, “कल्दीहरूले छापा मार्ने तीन दल बनाएर तपाईंका ऊँटहरू आक्रमण गरेर लगे । तिनीहरूले नोकरहरूलाई मारे र समाचार दिन म मात्र उम्कें ।” ऊ बोल्दाबोल्दै चौथो आएर भन्छ, “तपाईंका छोराछोरीहरू आफ्ना जेठा दाईको घरमा खानपान गर्दैथिए । त्यसै बेला मरुभूमिबाट अचानक आँधीबेरी आएर घरको चारै कुनामा हान्यो र ती जवान मानिसहरूमाथि ढलेर तिनीहरूसबैलाई थिचेर मार्यो । समाचारदिन म मात्र उम्कें ।” यो सुनेर अय्युब उठेर आफ्नो लुगाच्याते । आफ्नो कपाल खौरे र घोप्टो परी दण्डवत गरेर भने, “म आफ्नी आमाको गर्भबाट नांगै आएँ, अनि नांगै फर्केर जानेछु । परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो ।उहाँको नाउँ धन्यको होस् ।” अय्युबले परमेश्वरलाई दोष् लगाएर पाप गरेनन् ।
त्यसपछि अर्को दिन स्वर्गदूतहरू परमप्रभुको सामू उपस्थितहुँदा फेरि शैतान पनि उपस्थित हुन्छ । परमेश्वरले तँ कहाँबाट आइस् भनेर सोध्नुहुँदा शैतानले भन्छ, “पृथ्वीको चारैतिर घुमफिर गर्दै आएको हुँ । फेरि पनि परमेश्वरले अय्युबको प्रशंसा गर्नुहुन्छ र भन्नुहुन्छ, विनाकारण त्यसलाई नास गर्नलाई तैंले मलाई उस्काइस् । तर त्यसको निष्ठा अझसम्म ढलपल भएको छैन (अय्युब२ः१(३) । शैतानले उत्तर दिन्छ, चामको साटो चाम । आफ्नो ज्यान बचाउन मानिसले सबै कुरा दिंँदैन र ? आफ्नो हात पसारेर त्यसको शरीरमाचोट पुर्याउनुहोस् अनितिनले तपाईंकै मुखेन्जी सराप्नेछन् । परमप्रभुले भन्नुभयो, “त्यसो भए त्यो तेरो हातमा छ तर त्यसको ज्यान चाहिँ छोडिदे ।” शैतान त्यहाँबाट निस्केर गयो र अय्युबको शरीरमा पैतालादेखि शिरसम्म कष्टप्रद खटिरा उब्जाइदियो । खरानीमा बसेर शरीर कन्याउनलाई माटोको भाँडोको टुक्रा लिए । तिनकी पत्नीले भनिन्, “यति भैसक्दा पनि के को परमेश्वरको निष्ठामा अडि नै रहनुहुन्छ ? परमेश्वरलाई सरापेर मर्नुहोस् ।” अय्युब भन्छन्, “तिमीमूर्ख आइमाई जस्तै कुरा गछ्र्यौ । परमेश्वरबाट सुखचाहिँ ग्रहण गर्ने तर दुःखचाहिँ ग्रहण नगर्ने?” अय्युबले बोलेर फेरि पनि पाप गरेनन् ।
अय्युबको जीवनमा ठूलो विपत्ति आएको बेला उनकी पत्नीले समेत साथ नदिएको देख्न सक्छौं । पाप गर्नको लागि नजीककै मानिसले उक्साउँछ । अय्युब माथि आएको विपत्ति सुनेर उनका मित्रहरू एलिपज तेमानी, विल्ददशुही र सोपर नमाती भेट गर्नलाई आए । तिनीहरूले टाढैबाट अय्युबलाई देख्छन् तर चिन्दैनन् । उनीहरू आफ्ना लुगा च्यातेर रून्छन् र सात दिन सम्म उनीहरूको मुखबाट एक शब्द पनि निस्कँदैन । तर त्यसपछि सान्त्वना दिनको सट्टामा उनीहरूले अय्युबलाई विभिन्न दोषहरू लगाउँछन् । अय्युब सफाई दिन्छन् । म निर्दोष छु भनेर प्रमाणित गर्न खोज्छन् ।
तर अय्युब ४२ अध्यायमा अय्युबसँग परमेश्वर बोल्नुहुन्छ । परमेश्वरको अघि अय्युब पश्चात्ताप गर्छन् र भन्छन्, “तपाईंले भन्नुभयो, “अबध्यानसित सुन् र म तँसँग बोल्नेछु, म तँलाई प्रश्न गर्छु र तैंले मलाई उत्तर दिनेछस् । मेरा कानहरूले तपाईंका बारेमा सुनेको मात्रथिएँ, तर अब ता म तपाईंलाई आफ्नै आँखाले देख्दछु । यसैकारण म आफूलाई तुच्छ ठान्छु, अनि धुलो र खरानीमा बसेर म पश्चात्ताप गर्दछु ।’ त्यसपछि परमेश्वरले एलिपज तेमानीलाई भन्नुभयो, “तँ र तेरा दुई मित्रहरूसँग म क्रोधित भएको छु किनभने मेरा दास अय्युबले मेरो विषयमा भनेझैँ तिमीहरूले भन्नुपर्ने ठीक कुरा भनेनौ । यसैले सात वटा साँढे र सातवटा भेडा लिएर मेरो दास अय्युब कहाँ जाऊ, र तिमीहरू आफ्ना निम्ति होम बलि चढाऊ र त्यसले तिमीहरूका निम्ति अन्तर्बिन्ती चढाउनेछ । म त्यसको प्रार्थना सुन्नेछु अनि तिमीहरूको मूर्खता अनुसार तिमीहरू सित व्यवहार गर्नेछैन, किनभने अय्युबले झैं मेरो विषयमा भन्नुपर्ने कुरा तिमीहरूले बोलेनौ ।” तब एलिपज तेमानी, विल्ददशुही र सोपर नमातीले परमप्रभुको आज्ञा अनुसार गरे र आफ्ना मित्रहरूका निम्ति अय्युबले अन्तरर्बिन्ती गरिदिँदा परमप्रभुले अय्युबको प्रार्थना ग्रहण गर्नुभयो । यसरी अय्युबले आफ्ना मित्रहरूका निम्ति प्रार्थना गरेपछि परमप्रभुले अय्युबको सुदिन फर्काइ दिनुभयो । र तिनका सबै धन सम्पत्ति पहिलेको भन्दादुई गुणा बढाइ दिनुभयो । त्यसपछि अय्युबका दाजुभाइ, दिदीबहिनीहरू र तिनका अघिका परिचित मानिसहरू आएर तिनीसित तिनका घरमा भोज गरे, र तिनी माथि ल्याउनुभएका दुर्दशाहरूका निम्ति तिनीहरूले तिनलाई सान्त्वना प्रकट गरे । अनि हरेकले तिनलाई एकएक टुक्राचाँदी र एउटा एउटा सुनका औंठी दिए । त्यसबाहेक परमप्रभुले अय्युबको जीवनको पछिल्लो समयलाई अघिल्लो समयभन्दा बढी आशिष् दिनुभयो । तिनका चौधहजार भेडाबाख्रा, छ हजार ऊँट, हजार हलगोरु र एक हजार गधाथिए । तिनका सात छोरा र तीन छोरी भए (अय्युब ४२ः४,१३) । अय्युबले पाप गरेको कारणले उसले दण्ड पाएको होइन । मानिसहरूको दृष्टिमा पापको कारण गरीबी, पापको कारणले बिरामी हुन्छ भन्ने गलत विचार छ । तर अय्युब त्यो कारणले बिरामी परेका होइनन् । तर जब परमेश्वर अय्युबसँग बोल्नुभयो । अय्युब परमेश्वरको अघि पश्चात्ताप गर्छन् । उनी भन्छन्, “मैले सुनेको मात्रथिएँ । अब मैले परमेश्वरलाई आफ्नै आँखाले देखेको छु ।” जब सान्त्वना चाहिएको थियो, त्यसबेला उनले साथीहरूबाट साथ पाएनन् । आफन्तबाट साथ पाएनन् । त्यसैले एउटा नेपाली उखान नै चलेको छ, ‘सम्पत्तिमा सबैको हाई हाई, विपत्तिमा कोही छैन दाजुभाइ ।’ हामीहरू पनि सान्त्वना र ढाडस चाहिएका बेलामा सल्लाहको नाममा, परामर्शको नाममा घनले ठोक्ने काम गर्छाैं । जब अय्युबका तीनजना साथीहरूले परमेश्वरले आज्ञा गर्नुभए बमोजिम गरेपछि अय्युबले उनीहरूको लागि प्रार्थना गरिदिए । उनीहरूको गल्तीको लागि क्षमा मागिदिए । परमेश्वरले ती सबैलाई आशिष् दिनुभयो । परमेश्वरले तीतीन साथीहरूले गरेको मूर्खता बमोजिम व्यवहार गर्नुभएन । अय्युबले दोब्बर आशिष् पाए । परमेश्वरले उनको धन सम्पत्ति दोब्बर बढाइदिनुभयो ।
परमेश्वरको उद्देश्य दण्ड दिनुहोइन, तर दुःखमा पनि साथ दिनु हो । तर मानिसको कामचाहिँ परमेश्वरलाई दोष् नदिनु र स्थिर रहनु हो ।
हामीले परमेश्वरको सामर्थ र भलाइमा भरोसा राख्यौं भने विजय त्यसैमा छ । अय्युबले राखेको भरोसाले नै उसलाई दोब्बर आशिष्को हकदार बनायो ।
आफ्ना तोडाहरूलाई नगाड् तर चलाऊ– पाष्टर रोबर्ट कार्थक
August 31, 2017 | Articles
नेइमको सबै भन्दा बहुुमूल्य ठाउँ धापासीहो कारण हामीले धेरै प्रभुका दास–दासीहरूलाई त्यहाँ गाडेका छौं । हामीले उहाँहरूलाई मात्र होइन तर उहाँहरूले नचलाएका तोडाहरू, उहाँहरूका सिप र अनुभवहरूलाई पनि त्यहाँगाडिदिएका छौं । यदि ती तोडाहरू चलाइएको भए नेपालमा ठूलो जागृति आउन सक्ने थियो । एक दिन समय आउँछ हामी र हामीसँग भएका नचलाइएका तोडाहरू पनि त्यहाँ गाडिनेछन् ।
हाम्रा तोडाहरू चलाएर परमेश्वरको काम दिन छँदै गर्नुपर्छ यसको लागि हामीले आफैलाई जिउँदो बलिदानको रूपमा अर्पण गर्नुपर्छ । “मलाई पठाउनुहुनेको कामहरू हामीले दिन छँदै गर्नुपर्छ । रात आउँछ, जब कसैले काम गर्न सक्दैन” यूहन्ना ९ः४ । “बलिदानको पशुलाई वेदीको सीङमा डोरीले तन्काएर बाँध” भजनसंग्रह ११८ः२७ “ख” पुरानो संस्करणबाट । बलिको पशुलाई किन बाध्नुपर्छ ? रोमी १२ः१ मा लेखिएको छ “…कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ–आफ्नो शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण योग्यहुने जिउँदो बलिको रूपमा अर्पण गर।” जिउँदो पशुलाई बलिवेदीमा राख्दा बाँध्नु पर्छ । प्रस्थान २२ः९ “परमेश्वरले तिनलाई भन्नुभएको ठाउँमा पुगेपछि अब्राहामले त्यहाँ एउटा वेदी बनाएर दाउरा तहलगाएर राखे । त्यसपछि तिनले आफ्नो छोरा इसहाकलाई बाँधेर वेदीमा दाउरा माथि राखे ।” १० पदमा …तब अब्राहामले आफ्नो छोरालाई बलिगर्न छुरी उठाए । पद १२ मा …उनले भने “तेरो हात त्यस केटामाथि नउठा”, र “त्यसलाई केही
नगर् । अब मैले थाहा पाएँ तैंले परमेश्वरको भय मान्दो रहेछस्, किनकि तेरो छोरो,तेरो एक मात्र छोरालाई पनि म बाट तैंले रोकेर राखिनस् । जब अब्राहामले आफ्नो छोरो इसहाकलाई बाँध्न लागेको थियो, त्यस बेला इसहाकले आफ्नो बुढो बाबुलाई धकेलेर भाग्न सक्थ्यो । तर ऊ भागेन, उसलाई कुन कुराले बाँधेर राखेको थियो होला । डोरीले ? होइन, उसको बुवाप्रतिको समर्पणताले हो । उसको बुवाले परमेश्वरप्रति गरेको समर्पण पूरा गर्ने कुराले उसलाई बाँधेको थियो ।
मण्डलीमा हामी अरूको समर्पणताको आशा गर्छौं तर हामी आफैमा त्यो पूर्ण समर्पणता छैन । हाम्रो समर्पणता देखावटी भएको छ । हामीले परमेश्वरमा गरेको समर्पणतालाई पूरा गरेका छैनौं । हामीले गरेको समर्पणताको डोरीले हामी बाँधिएको हुनुपर्ने तर हामी बाँधिएका छैनौं । हामी मानिस मात्र हौं भनी बहाना गर्छौं तर २ कोरिन्थी ५ः१७ अनुसार हामी ख्रीष्टमा नयाँ सृष्टि हौं । जब परमेश्वरले हामीलाई हेर्नुहुन्छ तब उहाँले हामीलाई नयाँ मानिस देख्नुहुन्छ । हामी नयाँ मानिस भएर जिउनुपर्छ, हामीमा भएको पुरानो कुराहरू कठोरता, ईष्र्या रिसलाई बाध्न सक्नुपर्छ र नयाँ मानिस भएर जिउने प्रतिबद्धता लिनुपर्छ । हाम्रो समर्पणतामा हल्कापन आएको छ । हामी कसरी सजिलैसँग, कामनै नगरी पैसा कमाउन सकिन्छ भनी बाटो खोजिरहेका छौं । कतिले चिट्ठा हालिराखेका छन् कतिले भ्रष्टचार गरिराखेका छन् । “बेईमानीसँग कमाइएको धन घट्दै जान्छ, तर अलि–अलि गर्दै जम्मा गरेको धन बढ्दै जान्छ” हितोपदेश १३ः११ । हामी होशियार हुनुपर्छ । धन कमाउनुपर्छ तर बेईमानसँग कमाउनु हुँदैन । हामीले कमाएकोबाट दिनसिक्नुपर्छ । आज कतिले यस्तो विचारगर्छन मण्डलीले हामीलाई के दिएको छ ? तर हाम्रो समर्पणताले हामीलाई यस्तो विचार गर्न तुल्याउँछ कि हामीले मण्डलीको लागि के दिएका छौं ।
अभावमा जिउनेहरूले अरूलाई सहायतागर्न सक्दैनन् । आफूलाई पुग्दो हुनेहरूले पनि अरूलाई दिन सक्तैनन् । तर प्रशस्त हुनेहरूले मात्र अरूलाई दिन सक्छन् । के हामीले पाएको प्रशस्त आशिष्बाट अरूलाई दिने काम गरिराखेका छौं ?आशिष्चाहिँ अरूसँग बाँड्नको लागि हो । जब हामी आशिष् थुपारेर राख्छौं त्यो बासी हुन्छ, त्यसमा किरा पर्छ । हामी गरीबीमा जिएको परमेश्वर चाहनुहुन्न, उहाँले हामीलाई यथेष्टमात्र होइन तर प्रशस्तदिन चाहनुहुन्छ, ताकि हामीले अरूहरूसँग ती आशिष् बाँड्न सकौं ।
यदि हामी समर्पित भएर परमेश्वरले दिनुभएका तोडाहरू चलाउनु हो भने येशूलाई प्रभुको स्थानमा राख्न सिक्नुपर्छ । आज मण्डलीले पूरा सुसामाचार सुनाएका छैन खाली आधा सुसामाचार मात्र सुनाएको छ । आज हामीले येशूलाई मुक्तिदाता भनेर चिनायौं तर उहाँलाई प्रभु भनेर चिनाएनौं । बाइबलमा येशूलाई मुक्तिदाता भनेर ग्रहण गर्नुपर्छ भनी बताएको छैन । “किनकियदितिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनीआफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ । किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ, अनिउसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ” रोमी १०ः९–१० । “त्यसैकारण इस्राएलको सारा परिवारले यो पक्का गरी जानोस्, कि येशू, जसलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो, परमेश्वरले उहाँलाई प्रभु र ख्रीष्ट बनाउनुभयो” प्रेरित २ः३६ । “चाहे हामी बाँचौं, चाहे मरौं, हामी प्रभुकै हौं । यसैको निम्ति ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो, कि उहाँ मरेकाहरू र जीवितहरू दुवैका प्रभु होऊन्” रोमी १४ः९ । आज हामीले येशूलाई मुक्तिदाता मात्र होइन तर प्रभु भनेर
स्वीकार गर्नुप र्छ । उहाँ हामीमा प्रभु भएर जिउन चाहनुहुन्छ। हामी ख्रीष्ट जस्तै बन्नु हो भने ख्रीष्टलाई हामीमा जिउन दिनुपर्छ । “म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ । जुन जीवन शरीरमा म अहिले जिउँछ, त्यो परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रे मगर्नुभयो, र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो ।” गलाती २ः२० । हामीले आफैलाई डोरीले बाँध्ने होइन तर उहाँलाई हामीमा जिउन दिनुपर्छ । यसको लागि समर्पणता चाहिन्छ ।
यदि हामीले परमेश्वरले दिनुभएको तोडा चलाएर परमेश्वरको सेवा गर्नु हो भने हामी परमेश्वरले दिनुहुने आशिष्मा जिउन सिक्नुपर्छ । “आफ्नो महिमा र श्रेष्ठताद्वारा बोलाउनु हुनेलाई हामीले चिनेको हुनाले परमेश्वरको दिव्यशक्तिद्वारा जीवन र भक्तिको निम्ति चाहिने प्रत्येक थोक उहाँले दिनुभएको छ” २ पत्रुस १ः३ । “हाम्राप्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हमीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिष्ले ख्रीष्टमा आशीर्वाद दिनुभएको छ” एफिसी १ः३ । परमेश्वर पिताले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिष्ले ख्रीष्टमा आशीर्वाद दिनुभएको छ । पुरानो अंग्रेजी बाइबलमा स्वर्गीय स्थानहरू भनिएको छैन । त्यहाँ स्वार्गीय ९ज्भ्ब्ख्भ्ल्ीक्ष्भ्क्०भनिएको छ । यसलाई हामी स्वर्गीय वातावरण
भनी बुझ्दछौं । परमेश्वरले दिनुभएका आशिष्हरू उपभोग गर्नु हो भने हामी स्वर्गीय वातावरणमा बस्न सिक्नुपर्छ । परमेश्वरले आशिष् दिनुभएको छ तर हामीले त्यो अनुभवगर्न सकिराखेका छैनौं, कारण हामी बुवाको घरमा होइन तर सुँगुरको खोरमा नै छौं । हामी सेवा संगतिको समयमा संसारकै साथीहरूसँग बस्न रूचाउँछौं, साथीहरूसँग घुम्न जान्छौं, पिकनिक जान्छौं । संसारसँग एउटै चालमा चलिराखेका छौं, अनि मेरो पिताको घरमा यस्ता आशिष्हरू छन भनेर भनिराखेका छौं । हामीसँग बाइबल पढने, प्रार्थना गर्ने, संगतिमा जाने समय छैन । हामी स्वर्गीय स्थानमा बसेका छैनौं, सुँगुरको खोरमा नै बसिराखेका छौं । अब हामी उठेर बुवाको घरमा आउनुपर्छ । कुनै पनि छोरा बाबुको कमारा बन्न सक्दैन। एक चोटि छोरा भए जन्मिएपछि जीवन भरीनै छोरा हुन्छ । आफू सँगभएको पैसा तास जुवा खेलेर वा वेश्याहरूसँग उडाएता पनि, सुँगुरको चारोले पेट भर्न चाहे तापनि त्यो बुवाको छोरा नै हुन्छ । छोरा घर फर्केर आउँदा बुवाले त्यसलाई कमारा बनाउन सक्तैन । तर छोरा भएर बुवाको घरमा बस्न सक्छ तर यसको लागि समर्पणता चाहिन्छ । आज परमेश्वर हामीबाट त्यो समर्पणता खोज्दै हुनुहुन्छ । अब हामी बाबुको घरमा बसेर जिम्मेवारी उठाउनेहरू बन्न परेको छ । यसैकारण हामी स्वर्गीय वातावरणमा बस्ने, येशु प्रभुलाई प्रभु मान्ने र पिताको इच्छा पूरा गर्न हाम्रा तोडाहरू यो जीवन छँदै प्रयोग गर्नेहरू हुन सकौं ।