मृत्यु संस्कार, दाह संस्कार वा समाधि (दफन): जलाउने कि गाड्ने ? – पाष्टर बर्णबास श्रेष्ठ
June 30, 2017 | Articles
सबै मानिसको जीवनको गर्नैपर्ने संस्कारमा मृत्यु संस्कार पनि एक हो । यो अत्यन्तै संवेदनशील विषय भएकोले सबैले यस विषयको सम्बन्धमा राम्रोसँग जान्न र समयमै विचार गर्नु आवश्यक छ । समयमै यस सम्बन्धमा जानकारी नभएको खण्डमा मृत्यु हुँदाको समयमा धेरै असमझदारीको संभावना हुन सक्ने कुरालाई ध्यानमा राखी यो छलफलको विषयलाई अगाडि बढाएका छौं ।
१. मृत्यु निश्चित छः भजनसंग्रह ४८ः९, भजनसंग्रह ८९ः४९, भजनसंग्रह १०९ः२९
क. मृत्यु संस्कारको सम्बन्धमा बाइबलले के भन्दछ ?
बाइबलमा हामीले मृत्यु संस्कार यसरी नै गर्नुपर्छ भनेर आज्ञा वा नियमको रूपमा स्पष्टसँग बताएको वा लेखिएको पाउँदैनौं । त्यस समयमा यहूदी परम्पराअनुसार मृत शरीरलाई गाड्ने चलन थियो ।
पुरानो नियममा शुरूदेखि हेर्ने हो भने उत्पति २३ः२९, १ इतिहास १६ः२४ मा बताएअनुसार जमीनमाथि खोपेर बनाएको चिहानमा (ओडारमा) मृत्यु भएकै दिन दफन गर्ने चलन थियो । सुगन्धित मसलाहरू लगाएर शवलाई ओडारमा राख्ने चलन पनि थियो । नसक्नेहरूले जमीनमुनि गाडेको (दफन गरीएको) उदाहरणहरू धेरै पढ्न पाउँछौं, पछि नयाँ नियममा येशू ख्रीष्टको शरीरलाई पनि पहरामा खोपेर बनाएको चिहानमा राखिएको पढ्न पाउँछौं (मत्ती २७ः६०–६६) ।
पुरानो नियममा जलाएको उदाहरण पनि छ । शाउल र उसको छोराहरू जोहरूलाई पलिस्तीहरूले मारेर छाडेका वीर योध्दाहरूले भेट्टाए, उनीहरूले ती लासहरूलाई जलाए (१ शमूएल ३१ः१२) ।
पुरानो नियममा लासहरू जलाएको चाहिँ या त यातना दिइएको वा मारिएको व्यक्तिको सम्वन्धमा छ अर्थात् जलाउने कुरा नकारात्मक अर्थमा लिइएको छ । तर नयाँ नियममा भने पावलले कोरिन्थीमा भएको मण्डलीलाई लेख्दा उनी भन्दछन्, “मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन” (१ कोरिन्थी १३ः३), यहाँ शरीर जलाउन दिने कुरालाई सकारात्मक रूपमा प्रस्तुत गरेका छन् ।
हामीले मृत्युपछिको जीवनको सम्बन्धमा राम्रोसँग बुझ्न सक्यौं भने जलाउने वा दफन गर्ने भन्ने कुरा त्यति ठूलो विषय बन्दैन ।
ख. मृत्युपछिको जीवनको सम्बन्धमा बाइबलले के भन्दछ त ?
परमेश्वरले मानिसलाई श्राप दिनुहुँदा भन्नुभयो, “माटोमा नफर्कुञ्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैंले खानेछस् । किनकि माटैबाट तँ निकालिएको थिइस् । तँ माटै होस् र माटैमा फर्किजानेछस्” उत्पति ३ः१९, धुलोबाट आएको धुलोमा नै फर्कि जानुपर्छ (उपदेशक ३ः२०, १२ः७, भजनसँग्रह १०४ः२९) ।
पावलले कोरिन्थीमा भएका मण्डलीलाई लेख्दा पनि जोड दिएर स्पष्टसँग लेखेका छन् कि माटोको विनाशी शरीर छ भने आत्मिक अविनाशी शरीर पनि छ ।
जे रोप्दछौं, त्योचाहिँ पछि हुने शरीर होइन (१ कोरिन्थी १५ः३७) अनि शरीर पनि स्वर्गीय र पार्थिव हुन्छन् (१ कोरिन्थी १५ः४०) प्राकृतिक शरीर छ भने आत्मिक शरीर पनि अवश्य हुन्छ (१ कोरिन्थी १५ः४४) ।
त्यसरी नै स्वर्गका मानिसको रूप धारण गर्नेछौं (१ कोरिन्थी १५ः४९) पावल यो पनि भन्दछन् कि मासु र रगत स्वर्गका राज्यको हकदार हुन सक्दैन (१ कोरिन्थी १५ः५०), पुनरुत्थान हुँदाको शरीर बेग्लै हुन्छ । हाम्रो अहिले भएको शरीर त केवल पाल जस्तै अर्थात् अस्थायी हो (२ कोरिन्थी ५ः१) । अंग्रेजी सबै अनुवादमा पार्थिव शरीरलाई Tent वा Tabernacle भनिएको छ र जसको अर्थ पाल नै हो । पाल भन्नु नै अस्थायी हो ।
हाम्रो शरीर पुनरुत्थान हुँदा हामीले आत्मिक, अविनाशी, स्वर्गीय, महिमित शरीर (फिलिप्पी ३ः२१) प्राप्त गर्छौैं र जुन शरीरमा कष्ट, रोग, अभाव, दुर्बलता, सीमितपना, असक्षमता भन्ने हुँदैन । चाहे त्यो गाडेपछि कुहिएर माटो भएको होस् वा जलाएपछि खरानी भएर पछि माटो बनेको होस् वा समुद्रमा डुबेर माटो भएको होस् वा आगलागीमा परेर खरानी भई माटोमा मिलेको होस् सबैलाई एकैक्षणमा परमेश्वरले बिउताउँनुहुन्छ र सबैलाई एक एक नयाँ आत्मिक शरीर अर्थात् अविनाशी शरीर दिनुहुन्छ
(१ कोरिन्थी १५ः५२–५३) ।
हामीले ख्याल राख्नुपर्ने कुरा के हो भने, मृत्यु पछि हाम्रो शरीरको त्यति ठूलो स्थान नभए तापनि मृत शरीरलाई ससम्मान अन्त्येष्टि गरिनु आवश्यक छ कारण जीवित हुँदा यो पवित्रआत्माको मन्दिरको एउटा भाग हो (१ कोरिन्थी ३ः१६) ।
मृत शरीर भन्दा पनि उनका नजीककाहरूको भावना र अवस्थालाई सबैले बुझिदिनु र सम्मान गर्नु अति जरुरी छ साथै मर्ने व्यक्तिले मर्नु अगावै (जीवित छँदा नै) आफ्नो लासको मृत्यु संस्कारलाई यसरी गरिदिनु भनेर इच्छा व्यक्त गर्नुभएको छ भने र व्यक्त गरिएको इच्छा सम्भव र सान्दर्भिक छ भने सोहीअनुसार गरिदिनु असल हुन्छ । कतिपय अवस्थामा विभिन्न कारणले गर्दा हामीले चाहेजस्तो प्रकारले मृत्यु संस्कार गर्न सम्भव नहुन सक्छ । त्यस्तो अवस्थामा परिवारका सदस्यहरूले अवस्था बुझी परिस्थितिअनुसार मृत शरीरलाई सदगत गर्न तयार रहन पर्छ र असहजतालाई न्यूनिकरण गर्न सहयोग पुर्याउनुपर्छ।
मृत्यु सबैको लागि निश्चित भएको हुँदा सबैले यस विषयलाई समयमै सोचेर ठीक निर्णय लिएमा पछिबाट अनावश्यक वादविवाद र समस्यालाई धेरै कम गर्न मद्दत पुग्छ ।
मृत्यु संस्कार गर्दा ध्यान पुर्याउनुपर्ने कुराहरूः
बाइबलमा हामीलाई यसरी नै मृत्यु संस्कार गर्नुपर्छ भनेर आज्ञाको रूपमा वा विधिको रूपमा नलेखिदिएको अवस्थामा मृतकको परिवारको भावनालाई सम्मान गर्नुपर्छ । दफननै गर्नुपर्छ वा जलाउनैपर्छ भनेर दबाब दिन ठीक हुँदैन ।
देश वा सामाजिक अवस्थालाई विचार गर्नुपर्ने हुन्छ । जहाँ जलाउन सम्भव नै हुँदैन त्यहाँ जलाउनु नै पर्छ वा त जहाँ दफन गर्ने जमीन नै छैन वा अन्य विभिन्न कारणले दफन गर्न सम्भव छैन भने, त्यहाँ दफन नै गर्नुपर्छ भनेर हठी गर्दा नसोचेको परिणाम भोग्न पर्ने अवस्था आउनसक्छ ।
आफ्नो वा आफ्नो परिवारको विचारलाई मात्र सोच्नु भन्दा व्यावहारिकतालाई पनि सोच्न सक्नु परिपक्वता हुन्छ । बदलिँदो परिस्थितिका साथै तीब्र शहरीकरणले गर्दा दफन गर्ने ठाउँको अभाव बढ्दै गएको कारण अब मृत शरीरलाई जलाउने तर्फ विचार गर्न बुध्दिमानी हुन्छ । आर्थिक भारलाई विचार गरेर ठीक निर्णय लिन पनि जरुरी छ । यदि हामीले समय छँदै जोहो गरेका वा रकम छुट्याएर राख्न सक्यौं भने आफ्ना परिवार वा आफन्तलाई कठिन समयमा आर्थिक भारको पीरलाई धेरै कम गर्न मद्दत पुग्छ ।
मृत्यु पछि के गर्ने गाड्ने वा जलाउने भन्ने कुरा महत्वपूर्ण कुरा होइन सबैभन्दा महत्वपूर्ण कुरा भनेको हामी जीवित छँदै उहाँको लागि जिउन, खोजी गर्न र उहाँको सेवा गर्ने कुरा महत्वपूर्ण हो ।
परमेश्वोर विस्वासयोग्य हुनुहुन्छ – नेइम जोरपाटी चर्च
June 5, 2017 | Articles
“आँखाले नदेखेका र कानले नसुनेका र मानिसको मनमा नसोचेका यी नै कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ” (१ कोरिन्थी २ः९) ।
विश्वासको आँखा उठाएर हेर्नु हामीहरूको निम्ति अति उच्च आवश्यक आधार स्थल हो । हरेक काम सम्पन्न गर्न वा निरन्तर लागिपर्न जगको खाँचो पर्दछ । हाम्रो विश्वासको जग कस्तो जगमा बसाएका छौं ? हाम्रो विश्वास बालुवामाथि घर बनाएजस्तो छ कि चट्टानमाथि बनाएको घरजस्तो छ ? प्रभु येशू आफैले भन्नुभयो, उहाँको वचन सुनेर पालन गर्ने व्यक्ति बुद्धिमान मानिस हो (मत्ती ७ः२४) ।
जब येशू संसारमा आउनुभो सारा संसारको प्रभु भई जन्मनुभयो । असल खबरको जन्म भयो र हरेक आँखा, कान र हात असल कुराले भरियो । सुन्नेहरूको ह्दय कोमल भए, देख्नेहरू आश्चर्य चकित भए र छुनेहरूले उद्धार पाए । जे सुनिएको छ, त्यसैबाट विश्वास आउँछ र जो सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ (रोमी १०ः१७) । विश्वास एउटा तुँवालो भित्रको सुन्दर बस्तीको चित्र हो अर्थात् तुँवालो लाग्दैमा त्यहाँ शुन्यता छ भन्ने हुँदैन किनकि तुँवालो पछाडि पनि परमेश्वरको सृष्टि छ भनी विश्वास गर्नु हो ।
विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ किनकि जो परमेश्वरको नजीक आउँछ, त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ (हिब्रू ११ः६) । विश्वासचाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको दृढ भरोसा हो (हिब्रू ११ः१) । विश्वास कुनै व्यक्ति वा वस्तुमा निर्भर र भरोसा गर्नु हो । सायद हामीले त्यो विश्वासको कुना देखेका छैनौं र अड्कल गर्न सकेका छैनौं । हामीमा भएको त्यो विश्वासको अमूर्त कुनालाई परिचालन गर्नु आवश्यक छ ।
नेइम जोरपाटी मण्डली परमेश्वरको आराधनामा मग्न भएको मण्डली हो । आराधना भन्नाले आफ्नो शक्ति भन्दा बाहिर वा बहुशक्ति भएको व्यक्तिको गुणगान गाउनु, नारा लगाउनु, कृतज्ञता व्यक्त गर्नु साथै उहाँमा एकाग्रह भई धन्यवादी हुनु हो । हृदयद्वारा आउने आदर हो । को धन्यवादी हुनसक्छ ? जसको इच्छाहरू पूरा भएका छन् र जो रमाउन सकेका छन् (भजनसंग्रह ३७ः४) । परमप्रभुमा आनन्दित होऊ, र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ । परमेश्वर मानिसप्रति ऋणी हुनुहुन्न । उहाँले हामीलाई आवश्यक सबै भौतिक र आत्मिक आशिष् दिइसक्नुभएको छ ।
जोरपाटी मण्डलीको लागि विक्रम संवत २०६०–२०७२ सम्म Transit Period परिवर्तनको छलाङ्ग लिने अवधि भयो । यस समयमा मण्डलीमा धेरै प्रकारको उतावचढाव भयो । मण्डलीका गोठालाहरू बीच मनमुटाव भयो, अनुशासनमा रहनुपर्यो । मण्डली माउविनाको चल्ला भए । मण्डली ऋणमा रहनुपर्यो । चौतर्फी मण्डलीबाट चिन्ताको विषय भए, कतै पूर्वमा रहेको मण्डली मरेर जान्छ भन्ने अड्कल आलोचकज्यूले बजारमा मूल्याङ्कन नगरेता पनि मनमा पक्वै प्रार्थनाको विषय बनाउनुभयो भन्ने मेरो व्यक्तिगत अनुमान छ । मण्डलीमा नयाँ पाहुनाका हातहरू देखिन छाडेका थिए । यति मात्र कहाँ हुनु मण्डलीबाट केही गुरुजन तथा विश्वासीहरू जोरपाटी मण्डलीदेखि पर सर्नुभयो । स्वचालित मण्डली भएकै कारण जोरपाटी मण्डलीमा आर्थिक चुनौतिका रेखाहरू कोरिए साथै धर्म परिवर्तन गर्ने स्थान भनी झूटा आरोपमा मण्डलीका पाष्टर, एल्डर र डीकनहरूलाई चौकीमा सफाइ दिन लगियो । सोझासिधा जनतालाई छक्याई, फकाई फुस्ल्याई धर्म परिवर्तन गराए, अन्य धर्म विरुद्ध दखल पुर्याउने कार्य गर्यो, नाबालकलाई भ्रममा राखेर पानीमा चोपे भन्ने मिथ्या आरोप जोरपाटी मण्डलीको इतिहासमा भए । यी सबै मिथ्या आरोप हुन् भनी महानगरीय वृत्त बौद्धबाट बाइज्जत मण्डलीका गुरुजनलाई रिहा गरिदिए ।
मण्डलीको घटनालाई अध्ययन गर्दा अयूबको जीवनसँग तुलना गर्न मलाई सार्थक लाग्यो । वmे अøयूब साँच्चिवैm अधर्मी थिए ? जसको कारण ती सबै दुःख र विपत्तिहरू उनको जीवनमा भएका थिए ? कि हामीले आराधना गरेको परमेश्वर सर्वज्ञानी, सर्वव्यापी र सर्वशक्तिमान हुनुहुन्थ्यो ? कि अøयूबको भविष्यको जीवन थाहा पाउनु भएन ? एकछिन विचार गरौं । अøयूबको जीवनमा जस्तोसुवैm उतावचढाव आएता पनि अøयूबको पक्षमा परमेश्वर आपैm साक्षी दिनुहुन्छ । “परमेश्वरको डर राख्ने, र दुष्ट कामबाट अलग रहने त्यो जस्तो निर्दोष र सोझो मानिस पृथ्वीमा अरू कोही छैन”
(अय्युब १ः८) । परमेश्वरमा निरन्तर भरोसाको कारण परमेश्वरले अय्युबको सुदिन फर्काइ दिनुभयो, र तिनका सबै धन सम्पत्ति पहिलेको भन्दा दुई गुणा बढाइदिनुभयो (अय्युब ४२ः१०) ।
मण्डली विश्वासमा निरन्तर स्थिर रहेको कारण जोरपाटी मण्डलीको सुदिन फर्काइदिनुभयो । जमीन खरिद गर्दा ऋण पर्यो, आराधनाको निम्ति भवन निर्माण गर्न लाग्दा छिमेकबाट विरोध आयो । नेइम पाष्टर झुण्डको प्रार्थना र परामर्श पश्चात् मण्डलीको निम्ति परमेश्वरद्वारा त्यस जमीनको क्षेत्रफल थोरै लाग्यो र उहाँको अनुग्रहमा त्यहाँबाट फैलिने दर्शन सहित १ रोपनी जमीन बिक्रीमा राखियो । केही समय पश्चात् जोरपाटीदेखि मात्र ५ किलोमिटरको दूरी डाँछीमा ३ रोपनी जमीनको प्रस्ताव आयो । हामीसँग भएको पुँजीको अलावा ३० देखि ३५ लाख रकमको चुनौति भयो । परमेश्वर यस विषमा जोरपाटी मण्डलीप्रति विश्वासयोग्य हुनुभयो साथै आर्थिक रकम जुटाइदिनुभयो । “मसँग माग, र म जातिहरूलाई तिम्रो उत्तराधिकार तुल्याउनेछु र समस्त पृथ्वी तिम्रो निजी सम्पत्ति तुल्याउनेछु” (भजनसंग्रह २ः८) । हाम्रो प्रार्थनामा परमेश्वरद्वारा सहमति भई २०७३/७४ सालमा जोरपाटी मण्डलीले ३ रोपनी जमीन किन्न सक्यो । विधवाको पोल्टो कहिल्यै नरित्याउनुभएझैँ हरेक विश्वासीको ढुकुटी रित्तिन दिनुभएन । मण्डली परिवारले जमीन खरिदमा ह्दय खोलेर धन सम्पत्ति दिनुभयो । धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन् । धन्य धार्मिकताको निम्ति भोकाउने र निर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन् (मत्ती ५ः६–७) ।
मण्डलीको सुदिन फर्काइदिनुभयो पहिले भन्दा दुई गुणा धन सम्पत्ति बढाइदिनुभयो । मण्डली विश्वासमा जिउन सक्यो । पुनःस्थापनाको वर्ष जोरपाटीको निम्ति सावित भयो । सबै सलहले खाएको दिनहरू फकाइदिनुभयो । जोरपाटीको मण्डली भवनको लागि जमीन १ बाट बढेर ३ रोपनी भयो । जहरसिंहपौवा भवन पुनः निर्माण जस्ता पाताबाट पक्की दुई तल्ले भवनमा स्थानतरण भयो । गाम्छा मण्डलीको निम्ति स्थानीय विश्वासीद्वारा जमीन उपलब्ध भयो र उपत्यकाको नेइम मण्डली, व्यक्तिहरू र संस्थाबाट आर्थिक सहयोगमा दुई तल्ले आराधना भवन निर्माण सम्पन भयो । सुन्दरीजलमा भौतिक संरचनाको साथै सुन्दरीजल माथिका गाउँहरू मुलखर्क, चिलाउने, ओख्रेनी, गागलफेदी, नुवाकोटसम्म आउटरीच कार्यक्रम बढाइदिनुभयो । २०७४ वैशाख १ गते मण्डली परिवार पुरुष झुण्डको संयोजकत्वमा उपरोक्त गाउँहरूमा प्रार्थना पदयात्रा र सुसमाचार प्रचार कार्यक्रम सम्पन्न भयो । साँखुमा मण्डली भवन निर्माण कार्य सम्पन्न भयो । १० वर्षको लागि स्थानीय विश्वासीको जमीन उपलब्ध भयो । उक्त भवन निर्माणमापरिवार लगायत विभिन्न संस्था र व्यक्तिबाट आर्थिक सहयोग प्राप्त भयो । आराधना सेवामा जोरपाटी, जहरसिंहपौवा, गाम्छा, सुन्दरीजल र साँखुमा गरेर हरेक शनिबार न्यूनतम कुल सहभागी संख्या ७०० देखि ८०० विश्वासीसँग भइरहेको छ भने गत वर्ष बडादिन अर्थात् ख्रीष्ट जत्मोत्सव प्रेम भोज कार्यक्रममा १३०० देखि १५०० जनालाई सहभागी गराउन मण्डली सफल भयो ।
नेइम जोरपाटी मण्डलीको पालको डोरी फैलिँदै गएको छ । सुरक्षित क्षेत्रको रेखा तोडिँदै मण्डलीदेखि बाहिर गएर काम गर्ने मौका प्रभुले हामीलाई दिनुभएको छ । मण्डली घर हो । घरमा सबै सदस्यहरू सुरक्षित महसुस गर्दछन् । एवम् रीतमा मण्डली सुरक्षित घर भएको छ । मण्डली प्रभुमा उद्धार पाएकाहरूको निम्ति ख्रीष्टमा गर्व गर्ने घर भएको छ । अगुवाले विश्वासीको वास्ता पुर्याएको छ र विश्वासीहरू आदर र भयमा रहनुभएको छ । करले होइन तर स्वेच्छाले, धनको लोभले होइन तर उत्साहसाथ, तिमीहरूको जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन तर बगालको निम्ति उदाहरण भएर अगि बढ्दै बाइबलीय नमूना मण्डली आजको दिनसम्म आइपुग्न उहाँको अनुग्रह मिलिरहेको छ (१ पत्रुस ५ः२–४) ।
अन्त्यमा, जोरपाटी मण्डलीलाई दोष मुक्त, ऋण मुक्त र लाज मुक्त भई जिउन सर्वशक्तिमान परमेश्वरको अनुग्रह मिलेको छ । परमेश्वरका सन्तगणप्रति भौतिक, आर्थिक र आत्मिक तवरमा सहायता पुर्याउनुभएका व्यक्ति, संस्था, शुभचिन्तक, प्रार्थनाका योद्धा, साथै गुरुजन र परमेश्वरमा सधैँसधैँ धन्यवादी भएका छौं अनि भइरहनेछौं । साक्षी बनौं जीवन बाँडौं । परमेश्वरले हामी सबैलाई यस्तो कार्यमा अनुग्रह गरून् । धन्यवाद ।
मण्डलीमा मिलापको भूमिका – पाष्टर राजेन्द्र रोंगोंग
May 9, 2017 | Articles
इसाई मण्डली मानिसहरूले आपसी सरसल्लाहद्वारा स्थापना गरेका होइनन् । प्रभु येशू ख्रीष्टको मृत्यु, पुनरुत्थान र पेन्तिकोसको दिन उहाँले प्रतिज्ञा गर्नुभएको पवित्र आत्माका साक्षातरुपमा उहाँका चेलाहरूमाथि आउनुभएपछि इसाई मण्डलीको स्थापना भयो । येशूले आफ्नो परिचयसम्बन्धी अन्य मानिसहरू र चेलाहरूलाई सोध्नुभएको उत्तरमा पत्रुसले यसरी जवाफ दिएका थिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरका पुत्र ।”
त्यसबेला येशूले पत्रुसलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, तिमी पत्रुस हौ । म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु र नरकका ढोकाहरू त्यसमाथि विजयी हुने छैनन् (मत्ती १६ः१५–१८) ।” येशूको भनाइमा पत्रुसको अर्थ चट्टान भएकोले त्यसैमाथि म मेरो मण्डली स्थापना गर्छु भन्ने बुझिन्छ । वास्तवमा येशूले यस चट्टानमाथि भन्नुहुँदा ठूलो चट्टानको जग (मत्ती ७ः२४–२५) लाई संकेत गर्नुभएको थियो जब कि “पत्रुस वा पेत्रा” को अर्थ सानो ढुङ्गा मात्र हो । पत्रुस स्वयंले पनि आफ्नो पत्रमा येशूलाई “कुने ढुङ्गो “Foundation Stone” भनेका छन् । तर यो सही हो कि मण्डलीको स्थापनामा पत्रुसले दह्रो भूमिका खेलेका छन् (एफिसी २ः२०) ।
पत्रुसले परमेश्वरको घर वा मण्डलीको सम्बन्धमा यसरी भन्छन्, “तिमीहरू पनि येशू ख्रीष्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढाउने पवित्र पूजाहारीगिरीको निम्ति जीवित पत्थरहरूझैँ आत्मिक घर बन्दै जाओ (१ पत्रुस २ः५) ।” परमेश्वरले आफ्ना एक मात्र प्रिय पुत्रलाई क्रूसमा बलिदान चढाउनुभयो यसको एउटै कारण थियो मानिसहरू परिवर्तन होऊन् र परिवर्तन भएपछि आफ्नै लागि होइन तर परमेश्वरको निम्ति जिऊन् ।
“उहाँ सबैका निम्ति (ख्रीष्ट) मर्नुभयो ताकि बाँच्नेहरू आफ्नै निम्ति होइन तर उहाँको निम्ति बाँचून् जो तिनीहरूका खातिर मर्नुभयो र फेरि जीवित पारी उठाइनुभयो (२ कोरन्थी ५ः१५) ।” परमेश्वरको घर वा इसाई मण्डली येशू ख्रीष्टद्वारा परिवर्तन गरिएका मानिसहरूको समूह हो । मण्डली अन्य सामाजिक समूह जस्ता मात्र नभई बाइबलमा व्याख्या गरिएझैँ यो एउटा शरीर हो जसको शिर ख्रीष्ट येशू हुनुहुन्छ ।
परमेश्वर पवित्र हुनुहुन्छ र उहाँको घर पनि पवित्र नै हुनुपर्छ, यसैले उहाँले यो कामको निम्ति आफ्ना पुत्र येशू ख्रीष्टलाई बलिदान चढाउनुभयो । यो बलीद्वारा पापी मानिसलाई पवित्र बनाउनुभयो र आफूसंग मिलाउनुभयो अथवा मिलाप गराउनुभयो । यस्तो काम मानिसलाई परमेश्वरसंग मिलाउने काम खालि परमेश्वरले मात्र गर्नसक्नुहुन्छ र उहाँले यो गर्नु पनि भयो । वास्तवमा परमेश्वर संसारलाई (सम्पूर्ण मानिसलाई) नै मिलाप गराउन चाहनुहुन्छ ।
हामी ख्रीष्ट येशूमा विश्वास गर्नेहरू नयाँ सृष्टिहरू हौं र परमेश्वरसंग हाम्रो मिलाप भएको छ । परमेश्वरले हामीलाई आफूसित मिलाप गराउनुको साथै यो मिलापको सेवकाइ हामीलाई सुम्पिनुभएको छ । “यो सब परमेश्वरबाट भएको हो जसले हामीलाई ख्रीष्ट येशूद्वारा आफूसंग मिलापमा ल्याउनुभयो र हामीलाई मिलापको सेवा दिनुभयो (२ कोरन्थी ५ः१८) ।”
अब परमेश्वरले हामीलाई मिलापको सेवकाइ दिनुभएको छ अर्थात् यो मिलापको सुसमाचार अरूहरूलाई सुनाउनुपर्छ । यो मिलापको सुसमाचारको महत्व बाहिर संसारको लागि जति महत्वपूर्ण छ उतिकै घरभित्र अर्थात् मण्डलीभित्र पनि छ । मण्डलीमा नै मिलाप छैन भने हामीले बाहिर मिलापको सुसमाचार सत्यतापूर्वक दिन सत्तैनौं । प्रभु येशू ख्रीष्ट संसारमा हुनुहुँदा चेलाहरूलाई आपसी प्रेमबारे धेरै कुरा सिकाउनुभयो । प्रेम नै मिलापको आधार हो । प्रभु येशू ख्रीष्टले आखिरी हप्ता आफ्ना चेलाहरूसंग बिताउनुभयो र प्रेममा रहने कुरामा विशेष् जोड दिनुभयो । उहाँले नयाँ आज्ञाको रूपमा “एक अर्कालाई” प्रेम गर्न आह्वान गर्नुभयो ।
हिजो आज हामी मण्डलीसम्बन्धी धेरै कुरा सुन्छौं तर अफसोस मण्डलीको चर्चामा त्यहाँ रहेको झगडा, गुटबन्दी, बाझाबाझ वा झेलले प्रमुख स्थान लिएको छ । मण्डली प्रभुको सुन्दरता तथा उहाँको प्रेमको साक्षी बन्नुपर्ने तर उल्टो काम पो भइरहेछ । लडाई, झगडाले कसैलाई ठीक र बेठीक देखाउँदैन । मण्डलीमा रहेका यस्ता कुराले संसारलाई मिलाउन चाहनुहुने परमेश्वरको महिमा हुँदैन । हामीले गरेको “मिलापको सुसमाचार” पनि अरूहरूले राम्ररी सुन्न सत्तैनन् । लडाई, झगडाको गोलमालले मिलापको सुसमाचारलाई पछिल्तिर ढकेलिदिन्छ । तर यी सबै भएता पनि हामीलाई सधैं प्रेम गर्नुहुने परमेश्वरका सन्तान भएका हुनाले हाम्रो आशा जीवितै छ । सबै नराम्रा कुरालाई छोडी हामीले गर्नुपर्ने काम अथवा हामीलाई सुम्पिएको मिलापको सेवकाइ गर्न सक्छौं ।
“यसकारण साहससंग अनुग्रहको सिंहासन नजीक जाऔं र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौं (हिबू्र ४ः१६) ।”
गूड फ्राइडे र ईस्टरको वास्तविकता– एल्डर सिमोन पाठक
April 3, 2017 | Articles
एकाइसौं शताब्दी अघि इस्राएलको बेथलेहेममा एकजना यस्तो व्यक्तिको जन्म भएको थियो, जो आज पनि जीवित हुनुहुन्छ–प्रभु येशू ख्रीष्ट । विश्वका इसाईहरूले येशू जन्मनु भएको दिनलाई ख्रीष्टमस, मृत्युको दिनलाई गूड फ्राइडे र मृत्युबाट जीवितभई उठनुभएको दिनलाई ईस्टरको रूपमा उत्सव मनाउँछन् । कुनै पनि व्यक्तिको जन्मेको दिनलाई खुशीयालीको रूपमा मनाउनु त स्वाभाविकै हो, तर मृत्युको दिन कहिल्यै पनि खुशीको दिन हुन सक्दैन । येशू ख्रीष्टको मृत्युको दिनभने सारा मानवको लागि असल शुक्रबार अर्थात् गूड फ्राइडे बन्न पुगेको छ ।
असल शुक्रबार अर्थात् गूड फ्राइडे
येशू ख्रीष्टको मृत्युको दिनलाई गूड फ्राइडेको रूपमा मनाइन्छ किनकि उहाँ क्रूसमा टाँगिनुभएर आफ्नो शरीरबाट जुन रगत बगाउनुभयो, त्योचाहिँ संसारका सबै मानिसको पाप धुनको निम्ति पूर्ण बलिदान थियो । मानिसहरूको अन्तर चेतनामा पाप मोचनको लागि रगतको आवश्यकता पर्छ भन्ने कुराको गहिरो छाप लागेको छ । तर रगत बगाउने त्यो थुमा खोई त ? मानिसको पाप धुनलाई रगत बगाइनुपर्छ भन्ने कुरालाई बाइबल धर्मशास्त्रमा स्पष्टसँग बताइएको छ–“रगत नबगाइकन पाप मोचन हुँदैन”(हिबू्र९ः२२)।“तर साँढेहरू र बोकाहरूको रगतले पाप हरण गर्न असम्भव छ” (हिबू्र १०ः४) ।
रगत नबगाइकन पाप मोचन हुन नसक्ने हुनाले रगतको आवश्यकता पर्यो । तर पशुपंक्षीको रगत पनि होइन, त्यसो भए कसको रगत बगाउने ? मानिस सबै पापी छन् । एउटा पापी मानिसले अर्को पापी मानिसको सट्टामा रगत बगाएर बचाउन सक्दैन । संसारका मानिसको पाप धुनलाई निष्कलंक पवित्र थुमाको आवश्यकता थियो। तर त्यो थुमा यस संसारमा नभएको कारणले एक्काइसौं शताब्दी अघि परमेश्वर पिताले पुत्र येशू ख्रीष्टलाई यस संसारमा पठाइदिने प्रतिज्ञा हजारौं वर्ष अघिदेखि अगमवक्ताहरूद्वारा गर्नुभयो र समयको पूर्णतामा एक्काइसौं शताब्दी अघि येशू यस संसारमा कन्ये मरियमको कोखमा पवित्र आत्माद्वारा गर्भधारण हुनुभयो र बालकको रूपमा यस संसारमा जन्मनुभयो ।
येशूको जन्म जसरी र जहाँ हुन्छ भनिएको थियो त्यसरीनै र त्यही ठाउँमा भएको थियो । उहाँ साधारण मानिस जस्तै नै हुर्कनुभयो र तीस वर्षको उमेर पुगेपछि उहाँ जुन उद्देश्यको लागि पृथ्वीमा मानिस बनेर आउनुभएको थियो, त्यही अनुसारनै उहाँले परमेश्वरको राज्यको प्रचार गर्न शुरू गर्नुभयो । दृष्टिविहीनहरूलाई देख्न सक्ने, हिँड्न नसक्नेहरूलाई हिँड्न सक्ने, बहिराहरूलाई सुन्न सक्ने, भूतलागेकाहरूलाई छुट्कारा, रोगले थलिएकाहरूलाई चंगाई र मरेकाहरूलाई जीवितपार्ने कामगर्नुका साथै परमेश्वरको राज्यको विषयमा मानिसहरूलाई शिक्षा, उपदेश दिने काम गर्नुभयो ।
उहाँको उपदेश र उहाँले गर्नुभएका आश्चर्यकर्मका कामहरू देखेर हजारौं मानिसहरू उहाँको पछि लागेका देख्दा त्यस देशका यहूदीधर्मगुरुहरू भयभीत हुनपुगे र उहाँलाई मार्नलाई रणनीतिहरू रच्नथाले । उहाँलाई राजद्रोहको आरोप लगाएर अदालतमा सुम्पियो । तर अदालतका बडा हाकिम पिलातसले उहाँमा कुनै पनि दोष भेट्टाउन सकेनन् (यूहन्ना १८ः३८,१९ः६) । तर मानिसहरूको डरको कारण पिलातसले येशूलाई भीडको हातमा नै सुम्पिदिए (यूहन्ना १९ः१६) । उहाँलाई मानिसहरूले अनेक किसिमको यातना दिँदै अन्तमा काठको क्रूसमा हात र खुट्टाहरूमा काँटी ठोकेर झुण्ड्याए । उहाँको शरीरबाट रगतका धाराहरू बग्यो जुन चाहिँ बाइबल धर्मशास्त्रमा गरिएको भविष्यवाणी अनुरूप हुनुनै पर्ने थियो । मानवको पाप धुनलाई रगतको आवश्यकता थियो, त्यो रगत येशू ख्रीष्टले कलवरी डाँडाको क्रूसमा बगाइदिनुभयो । हामीले पाउनुपर्ने दण्ड उहाँले भोगिदिनुभएको कारणले गर्दा नै येशूको मृत्युको दिन चाहिँ सारा मानव जातिको लागि असलशुक्रबार अर्थात् गूड फ्राइडे बन्नपुगेको हो ।
येशू मर्नुभएको तेस्रो दिनमा जीवित भई उठ्नुभयोः
येशू क्रूसमा मर्नु अगाडि धर्मगुरुहरूलाई जवाफ दिने क्रममा भन्नुभएको थियो, “यस मन्दिरलाई भत्काइदेओ, र म तीन दिनमा यसलाई खडा गर्नेछु” (यूहन्ना २ः१९) । येशूले आफ्नै शरीरको विषयमा कुरा गरिराख्नुभएको थियो । उहाँलाई मानिसहरूले मार्नेछन् तर तेस्रो दिनमा फेरि बौरी उठ्नुहुनेछ भन्ने कुरा येशूलाई पहिला नै थाहा थियो । बाइबल धर्मशास्त्रको पुरानो करार र नयाँ करार दुवै खण्डमा येशू मर्नुहुनेछ र फेरि जीवित हुनुहुनेछ भन्ने कुरा उल्लेख गरिएको पाउँदछौं । उहाँले भन्नुभएझैं तेस्रो दिनको बिहानै उहाँ जीवित भई उठ्नुभयो । येशू, मरियम मग्दलिनी, सिमोन पत्रुस र बाह्रै चेलाहरू कहाँ पटक पटक गरेर देखा पर्नुभयो (यूहन्ना २०ः१–२९, मत्ती २८ः९–१०, मर्कुस १६ः९–१८, लूका २४ः३६–४९) । मृत्युबाट जीवितभई उठ्नुभएको चालीस दिनसम्म चेलाहरूको बीचमा साथै मानिसहरूको बीचमा उहाँ देखा पर्नुभयो र स्वर्ग राज्यको शिक्षा मानिसहरूलाई दिनुभयो र चालीसौं दिनमा यरूशलेमको नजीकैको जैतूनभन्ने डाँडामा मानिसहरूको भीडलाई उपदेश दिँदादिँदै येशू स्वर्गमा उचालिनुभयो । येशू स्वर्गतर्फ जानुभएको दृष्यलाई ट्वाल्ल परेर हेरिरहने गालीलका मानिसहरू कहाँ दुई स्वर्गदूतहरू देखा परेर भन्नलागे, “गालीलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ ? यही येशू, जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ ।” उहाँमा विश्वास गर्नेहरूलाई लिन आउनुहुने दिन संसारको अन्त्य हुनेछ । बाइबलमा गरिएको यो भविष्यवाणी एकदिन पूरा हुनेनै छ तर त्यो दिन आउनु अघि संसारका सबै मानिसले येशू ख्रीष्टले मानव जातिको लागि गर्नुभएको महान बलिदानको शुभखबर सबै मानिसहरूले सुनेको हुनुपर्दछ । त्यही कारणनै संसार भरिका ख्रीष्टियानहरूले येशूको जन्म, मृत्यु र उहाँ जीवित हुनुभएको सन्देश “सित्तैंमा पायौ र सित्तैंमा देऊ”भन्ने येशूको आज्ञा अनुसार गरिराखेका छन् । यो धर्म प्रचार नभएर जीवन प्रचार हो ।
येशू ख्रीष्टको पुनरुत्थानको विषयलाई लिएर कतिमानिसहरू तर्क वितर्क गर्र्ने गर्दछन् । तर बाइबलमा येशूको मृत्यु र जीवितभई उठ्नभएको सम्बन्धमा प्रशस्त प्रमाणहरू छन्– सिपाहीहरूले येशूको कोखामा भालाले घोचे र तुरून्तै रगत र पानी निस्क्यो र उनीहरूले उहाँको मृत्यु अघिनै भइसकेकोे प्रमाणित गरे(यूहन्नो १९ः३३–३७) । चेलाहरूले येशूको चिहानमा सूती कपडाहरू पडिरहेको भेट्टाए (यूहन्ना २०ः५–७) । येशू जीवितभई उठ्नुभएपछि चेलाहरूले आफ्नो हातले नै उहाँको शरीरलाई छोएका थिए (यूहन्ना २०ः२०,लूका २४ः२९) । येशू जीवितभई उठ्नुभएको आफ्नै आँखाले देखेको कारणनै चेलाहरू साहसका साथ येशूको नाउँ प्रचार गर्न निस्केका थिए (प्रेरित ४ः१०) । विशेष् गरी तीनवटा कुराहरूले येशूको जीवितभई उठ्नुभएको कुरालाई प्रमाणित गर्दछ ः
क. आँखाको साक्षीः मर्कुस १६ः९, १२–१३, यूहन्ना २०ः११–१८, लूका २४ः३०–३५)
ख. रित्तो चिहानः मर्कुस १५ः४०–१६, १८, लूका २४ अध्याय र यूहन्ना १९, २१ अध्यायहरू
ग. मण्डलीको जन्मः प्रेरित २ः३७–४७, १७ः६ ।
सबै कुराहरूको निचोड चाहिँ यही नै हो, येशूले मृत्यु माथि विजय प्राप्त गर्नुभएको छ । येशू क्रूसमा मारिनुभएको तेस्रो दिन मरेको बाट फेरि जीवित हुनुभएको स्मरण गर्दै विश्वभरिका ख्रीष्टियानहरूले मनाउने महान् पर्व नै ईस्टर हो । ईस्टरले मानव जातिलाई दिने संदेश पनि मृत्यु माथि विजय प्राप्त गरेर प्रत्येक मानिसले येशू ख्रीष्टमा अनन्त जीवन प्राप्त गर्न सक्छन् भन्ने नै हो । येशूले भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ । मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ” (यूहन्ना ११ः२५) । येशूको जन्म, मृत्यु र बौरी उठाइको सम्बन्धमा हजारौं वर्ष अघि देखि गरिएको भविष्यवाणी आज भन्दा दुई हजार वर्ष अगाडि एउटा पनि बिन्दु तल माथि नभई सबै कुरा येशूमा पूरा भए जस्तै येशू फेरि एक दिन उहाँमा विश्वास गर्नेहरूलाई बादलको सवारीमा लिन आउनुहुनेछ भन्ने भविष्यवाणी पनि सत् प्रतिशत पूरा हुनेछ । येशूको दोस्रो आगमन र संसारको अन्त्य हुनेछ भन्ने बाइबलको भविष्यवाणीलाई प्रश्न गर्ने कुनै ठाउँ नै छैन तर आज प्रश्न चाहिँ यो छ, के हामी मृत्युबाट जीवित भई उठ्नुभएको प्रभु येशूसँगै मृत्युपछि स्वर्ग जानलाई तयार छौं ? गूड फ्राइडे र ईस्टरले ल्याएको रमाहटमा हामी रमाउन सकेका छौं ? उहाँ आउनुहुँदा हाम्रा आँखाबाट उहाँलाई स्वागतगर्दै हर्षका आँसु बग्नेछन् या त विछोडमा परेर बिलौनाका आँसु खस्नेछन् ? सोच्ने र निर्णय गर्ने समय अहिले नै हो । भोलि ढिलो हुन सक्छ !
मिशनका क्षेत्रमा बढ्दै नेइम – लेखनाथ पौडेल
March 9, 2017 | Articles
स्थापना कालदेखिनै प्रभु येशूले दिनुभएको महान् जिम्मेवारीपूर्ण अभिभारा “सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर” (मर्कूस १६ः१५) नेइमले गम्भीर रूपमा लिएर कार्य गर्दै आइरहेको छ । सुरुका वर्षहरूमा नेपालमा प्रचार गर्ने र मानिसहरूलाई येशू चिनाउने कार्य त्यति सहज थिएन तर पाष्टर गुरुबा तथा उहाँका सहकर्मीहरूले चुनौतिहरूको सामना गर्दै यो महान् अभिभारा बहन गर्दै जानुभयो । फलस्वरूप काठमाडौं लगायत नेपालभरि थुप्रै मण्डलीहरू स्थापना भए अनि हजारौंले सुसमाचार सुने । सुसमाचार प्रचारका लागि नेपालका विभिन्न विकट स्थानहरूमा समेत उहाँहरूले यात्रा गर्नुभयो । त्यसको परिणाम नै हो आज देशका विभिन्न सुगम र विकट ठाउँमा मण्डलीहरू स्थापना भएका छन् र मानिसहरूले ख्रीष्ट येशूमा उद्धार पाइरहेका छन् । सुरुका तीन दशकसम्म सुसमाचार प्रचार तथा मण्डली स्थापनाको काममा विभिन्न चुनौतिहरूको सामना गर्नुपरेको थियो तापनि नेपाली इसाई मण्डलीले आफ्नो जिम्मेवारी पूरा गरिनै रह्यो । ९० को दशकमा नेपालमा राजनीतिक व्यवस्था परिवर्तन भएपछि देशमा मिशनको काम गर्न केही सहजता आयो । सो अवसरलाई सदुपयोग गर्दै नेइमका विश्वासीहरू पूर्वदेखि पश्चिमसम्म फैलिएर गए र ठाउँ ठाउँमा सुसमाचार प्रचार तथा मण्डली स्थापनाको काम भयो । सन् २००० को पहिलो दशकमा गुरुबाले ‘मण्डली अब कुवा होइन कुलो बन्नुपर्छ, पालको डोरी तन्काउनुपर्छ’ भन्नुभएको कुरालाई यथार्थमा परिणत गर्दै भारत लगायत अन्य देशहरूमा पनि मिशनेरीहरू पठाउने कार्य भयो । सन् २०१० मा एकदशकपछि फेरि मिशन वर्षको घोषणा भयो र सुसमाचार प्रचारको काम अझ तीब्र भएर गयो । त्यसपछिका वर्षहरूमा स्थानीय शाखा–आबद्ध मण्डलीलाई परिचालन गरी विभिन्न ठाउँमा मण्डली स्थापना गर्ने, मिशनेरी पठाउने कार्य भइरह्यो । त्यतिमात्रै नभइकन नेइमका काठमाडौंमा रहेका मूल मण्डलीहरूबाट समेत उपत्यकाबाहिर मण्डली स्थापनाको कार्य जारी भइरहेको छ । फलस्वरूप नेइमका नेपालभरिका ७ प्रदेशका ३२ वटा जिल्लाहरूमा १४० वटा भन्दा बढी शाखा–आबद्ध मण्डली तथा संगतिहरू हाल संचालनमा छन् अनि ती मण्डलीहरूले पनि अरू मण्डलीहरू स्थापना गर्ने अभियानमा लागेका छन् । नेइमको मिशन सम्बन्धी कार्यभार हेर्ने नेइम मिशन विभाग, हाल रहेका शाखा–आबद्ध मण्डलीहरूलाई बलियो बनाउँदै तिनीहरूलाई आधार इलाका बनाएर सुसमाचार प्रचार तथा मण्डली स्थापनाको काम गर्ने कार्यनीति लिएको छ । जसअनुरूप गहन तालिम कार्यक्रमहरू केन्द्रिय स्तर, क्षेत्रीय स्तर तथा स्थानीय स्तरमा गरिरहेको छ । यस्ता तालिम कार्यक्रमहरूले मण्डलीहरूमा रहेको अगुवापनको अभावलाई पूर्ति गर्ने, नयाँ मण्डलीहरू स्थापना गर्न अगुवाहरू तयार गर्ने र स्वस्थ मण्डली बनाउने गर्छ । धेरैले भन्ने गरेझैँ ‘नेइमको (ज्ञानेश्वरको) शिक्षा राम्रो छ’, नेइमको मूल जग नै यसको बाइबल आधारित शिक्षा हो र त्यो सबै ठाउँमा पुर्याउनु नै मिशनको लक्ष्य हो । जहाँ शिक्षा बलियो हुन्छ, त्यहाँ भाँडभैलो तथा शिथिलता भन्ने हुँदैन । मण्डली बलियो हुनको लागि शिक्षा (बाइलमा आधारित शिक्षा) अत्यन्तै आवश्यक कुरा हो । शिक्षाको अलावा नियमित संगति, सम्मेलन, भैपरि आउँदा गरिने सहायता, र कतिपय अगुवाहरूलाई गरिने सहायताले समेत शाखा–आबद्ध मण्डलीहरूलाई प्रोत्साहित गरिरहेको छ । गत वर्ष गएको विनाशकारी भूकम्पले १५ वटा जिल्लामा रहेका करीब ५० वटा मण्डलीहरू तथा त्यहाँका विश्वासीहरूलाई गम्भीर असर पा¥यो उक्त समयमा पनि नेइमले भातृप्रेम प्रदर्शन गर्दै त्यहाँका विश्वासीहरू मात्रै होइन छरछिमेकसमेतमा सहायता पुर्यायो । छिटपुट बाहेक नेइमका सबै भूकम्पपीडित विश्वासीले केही न केही राहत पाए । भूकम्मले गम्भीर रूपमा क्षति पुर्याएका मण्डली भवनहरूको पुनर्निर्माणको काम समेत लगभग समापन भइसकेको छ । मण्डली भवन पुनर्निर्माणको क्षेत्रमा सबैभन्दा तीब्ररूपमा काम सम्पन्न भएको छ । भत्केको भवनमा संगति गर्ने अवस्थाबाट शाखा–आबद्ध मण्डलीहरूलाई उन्मुक्ति मिलेको छ । यसको लागि विभिन्न मण्डलीहरू तथा विश्वाससँग मेलखाने संघसंस्था र मित्रहरूको योगदान अभूतपूर्व रहेको छ । बेलाबेलामा शाखा–आबद्ध मण्डलीहरूमा आइपर्ने समस्याहरूलाई पनि यथासक्य समाधान गर्ने प्रयास भइरहेको छ । नेइमका देशभित्र र बाहिर रहेका मिशनेरीहरूलाई समय–समय उहाँहरूकै कार्यस्थलमा गई हौसला तथा संगति दिने कार्य भइरहेको छ । हाल उत्तर तर्फ तिब्बतमा रहेकाहरूलाई सुसमाचार प्रचार गर्ने र त्यहाँ मण्डली स्थापना गर्ने लक्ष्यका साथ डोल्पाको स्थानीय मण्डलीको सहकार्यमा उपल्लो डोल्पामा विगत तीन वर्षदेखि श्री नरसिंह थापा मिशनेरीको रूपमा कार्यरत हुनुहुन्छ । यूरोपमा छरिएर रहेका स–साना नेपालीभाषी संगति तथा मण्डलीहरूलाई सहायता पुर्याउनको लागि तालिम तथा प्रोत्साहन र संगति दिन विगत १० वर्षभन्दा बढी समयदेखि पाष्टर अब्राहाम श्रेष्ठ परिवार मिशनरीको रूपमा आयरल्याण्डमा हुनुहुन्छ । बेचिएका नेपाली चेलीहरू तथा तिनीहरूकालाई यौन व्यवसायको भयानक दलदलदेखि उद्धार गर्ने हेतुले सुसमाचार प्रचार, उद्धार तथा पुनस्र्थापना गराउने कार्यमा विगत १७ वर्षदेखि श्री जेम्स नेपाली परिवार मुम्बइमा मिशनरीको रूपमा कार्यरतहुनुहुन्छ । उहाँहरूको सेवकाइमार्फत् मुम्बइका देह व्यापार–गृहका हजारौं चेलीहरू तथा मानिसहरूले प्रभु येशूको बारेमा सुन्न पाए भने कैयौ प्रभुमा आए र सयौं भन्दा बढी चेलीबेटी तथा बाल बालिकाहरूको उद्धार भइ पुनस्र्थापना भएको छ । तीमध्ये धेरैजना अहिले विभिन्न देशमा सेवकाइमा सक्रिय छन् । त्यस्तै सेवकाइमा सहायता पुर्याउन र थुप्रै नेपालीहरू होटेल तथा रेस्टुरेन्ट मजदुरको रूपमा काम गरिरहेकाहरूको माझमा सुसमाचार प्रचार तथा मण्डली स्थापना गर्न विगत एक दशक देखि पाष्टर प्रदीप बज्राचार्य परिवार भारतको पुनेमा कार्यरत हुनुहुन्छ । उहाँहरूले हाल रेडलाइट एरियाको भित्र त्यहाँका बालबालिकाहरूको निम्ति डे केयर सेन्टर संचालन गरिरहनुभएको छ । उहाँहरूले हेरिरहनुभएको पुनाको नेपाली संगतिबाट सयौंले पानीको बप्तिस्मा लिइसक्नुभएको छ भने कतिजना विभिन्न स्थानमा सेवकाइमा सक्रिय हुनुहुन्छ । हाल त्यहाँ ३०० भन्दा बढी सदस्यहरू संगति गरिरहनुभएको छ । भारतको धर्मको गढ मानिने गढवालको कोटद्वारमा विगत डेढ दशकदेखि पास्टर नरेन्द्र सिंह परिवार कार्यरत हुनुहन्छ । त्यहाँ मण्डली स्थापना भएको छ र त्यहाँबाट फैलिएर अर्को पहाडी भेगमा समेत नयाँ मण्डली स्थापना भएको छ । पूर्वोत्तर भारतका विभिन्न प्रान्तहरू, विहार तथा विशेष् गरी नेपालीभाषीहरू रहेका आसामका मानिसहरूलाई सुसमाचार प्रचार तथा मण्डली स्थापनाको काममा पाष्टर लोक गुरूङ्ग परिवार मिशनेरीको रूपमा त्यहाँ कार्यरत हुनुहुन्छ । यस वर्षको सुरुमा ती क्षेत्रका मण्डलीहरूका अगुवाहरूको निम्ति १ महिने विशेष् तालिम पनि सम्पन्न भयो । पूर्वोत्तर भारत, भूटान तथा नेपालबाट अध्ययन र रोजगारीको सिलसिलामा गएका नेपालीहरूको बीचमा सुसमाचार प्रचार, तालिम र संगति दिने कार्य जारी राख्दै पाष्टर तिमोथी थापा परिवार हाल बैंगलोरमा कार्यरत हुनुहुन्छ । केही समय अघिसम्म मलेशियामा समेत मिशनेरीको रूपमा कतिजना अगुवाहरू कार्यरत हुनुहुन्थ्यो । आधिकारिक रूपमा मिशनेरी बनी सेवकाइ गरिरहनुभएका बाहेक हाल विदेशमा अध्ययन तथा रोजगारीका लागि जानुभएकाहरू पनि मिशनको काममा सक्रिय हुनुहुन्छ र यसको मूल कारण नेइम मिशनेरी मण्डली भएकै कारणले हो । नेपालभित्र रहेका शाखा–आबद्ध मण्डलीहरूलाई अझ बलियो आधार इलाका बनाउन स्थानीय स्तरमा क्षेत्रीय सुपरभाइजरको रूपमा विभिन्न पाष्टर तथा अगुवाहरू कार्यरत हुनुहुन्छ अनि क्षेत्रीयस्तरमा मण्डलीहरूको नियमित भेटघाट, सरसल्लाह तथा सामूहिक प्रचार र मण्डली स्थापनाका कामहरू भइरहेका छन् । उत्तरमा डोल्पा, जुम्ला, सोलूखुम्बु, धादिङ्गदेखि दक्षिणमा सर्लाही, रौतहट, महोत्तरीसम्म, त्यसैगरी पूर्वमा झापादेखि पश्चिममा कन्चनपुरसम्म नेइमका शाखा–आबद्ध मण्डलीहरू जीवित र क्रियाशील रूपमा फैलँदैछन् । ‘स्थानीय मण्डली रहेको क्षेत्रमा स्थानीय मानिसहरूको जीवनस्तर पनि सुध्रिनुपर्छ’ भन्ने मान्यताअनुरूप मिसन विभागले नेइमको सामाजिक क्षेत्र हेर्ने निकाय मेरी गुरुआमा प्रतिष्ठान तथा अन्य संघसंस्थासँग मिलेर विभिन्न आयआर्जनका तालिमहरू समेत विभिन्न क्षेत्रमा उपलब्ध गराउँदै आएको छ । प्रशस्त मात्रामा गाँजाखेती हुने मकवानपुरको नामटार गा.वि.सं.मा गरिएको कृषि तालिमद्वारा हाल त्यहाँ गाँजाखेती बन्द हुनपुगेको छ साथै त्यहाँका स्थानीयहरूले अहिले कृषिबाट राम्रो आमदानी गर्न थालेका छन् । त्यस्तै काम अन्य जिल्लाहरूमा पनि भइरहेका छन् । हाल मिशनको क्षेत्रमा सुसमाचार प्रचारको काम स्वस्फूर्त रूपमा भइरहेको छ । मुख्य चुनौतिचाहिँ तालिम प्राप्त अगुवापन निर्माण हो । जति धेरै तालिम प्राप्त सुसज्जित अगुवाहरू निर्माण गर्न सकियो त्यतिनै मण्डली स्थापना र निर्माणको काम सबल हुँदै जान्छ । अझ पनि नेपालका कतिपय जिल्लाहरूमा मण्डलीको संख्या न्यून छ । कतिपय जाति समूहमा सुसमाचार प्रचार र मण्डली स्थापनाको काम खड्केको छ । विशेष गरी पूर्व र पश्चिमका उत्तरी हिमाली भेगका जिल्लाहरू र दक्षिणमा मध्य तराई चुनौतिपूर्ण क्षेत्रको रूपमा रहेका छन् । मध्य तराईका जिल्लाहरूमा परमेश्वरको राज्य विस्तार हुन सकेमा त्यहाँबाट भारतको विहार, उत्तर प्रदेश, उत्तराखण्ड, झारखण्ड, छत्तीसगढसम्म सुसमाचार पुर्याउन सकिने सम्भावना प्रचुर मात्रामा छ । धेरै जनसंख्या रहेको यी क्षेत्रमा पुग्ने सबभन्दा सजिलो ढोका नेपालको मध्य तराई नै हो । उत्तरतर्फ नेपालमात्र एउटा त्यस्तो देश हो जहाँका नागरिकलाई तिब्बतमा जानको लागि भिषा चाहिँदैन (तिब्बतसँग सिमाना जोडिएका नागरिकहरूको हकमा मात्र) । तिब्बत अझै पनि बन्द गरिएको ढोकाजस्तै छ । तर नेपालका उत्तरी हिमाली जिल्लाहरूमा मण्डलीको बलियो उपस्थिति भएमा सुसमाचार प्रचारको निम्ति तिब्बतको लागि यो नै सबैभन्दा सहज मार्ग हुनेछ । तर ती क्षेत्रमा मण्डलीको उपस्थिति कसरी पुर्याउने भन्ने चुनौति छँदैछ । यसका विकल्पहरूमा पहिलो हिमाली भेगमा तथा मध्य तराई भेगमा रहेका स्थानीय मण्डलीलाई आधार इलाका बनाएर त्यहीका विश्वासीहरूलाई तयार गरी मिशनरीको रूपमा परिचालन गर्ने, दोस्रोमा, नेइम मण्डलीहरू (शाखा–आबद्धसमेत) बाट मिशनेरीहरू तयार गरी पठाउने, तेस्रोमा काम तथा व्यवसाय गर्ने हेतुले ती ठाउँहरूमा विश्वासीहरू जाने र मिशनेरीको रूपमा काम गर्ने हुनसक्छ । तर यी विकल्पहरूमा पहिलो विकल्प अझ बढी सहज देखिन्छ । दोस्रो विकल्पको लागत अलि बढी देखिन्छ तर पहिलो विकल्पले काम नगरेमा यो अपनाउनु नै पर्ने हुन्छ । प्रभुले भन्नुभयो ‘फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्’ (मत्ती ९ः३७) । अब यो बढ्दो कामको लागि खेतालाहरू (मिशनेरीहरू) को खाँचो छ । मिशन येशू ख्रीष्ट प्रभुको हो । नेइमको मिशन पनि येशू ख्रीष्टको नै हो । यो काममा हामी उहाँका सहकर्मीहरूमात्र हौं, कारिन्दाहरू मात्र हौं । प्रभुको मिशन अघि बढ्दैछ । परमेश्वरको राज्य फैलँदैछ । यसमा अझ धेरै हातहरूको खाँचो छ । अझ धेरै बुद्धि र विवेकको खाँचो छ । अझ धेरै प्रार्थनाको खाँचो छ । प्रश्नचाहिँ परमेश्वरले गरिरहनुभएको यो महान काममा हामी कसरी सहभागी हुनसक्छौं ? हो हामी विभिन्न तरिकाले सहभागी हुनसक्छौं । प्रार्थना गरौं प्रभुले देखाउनुभएबमोजिम हामी सरिक हौं ।
भावी पुस्तालाई तयार पार्नु – भुवन देवकोटा
February 2, 2017 | Articles
हाम्रो परमेश्वरले सबै जातिका मानिसलाई आफ्नो स्वरूपमा बनाउनुभयो भनेर उत्पत्ति १ः२७ अनुसार हामीले पढ्न पाउँछौं । परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । “मैले तँलाई गर्भमा रच्नुअघि नै तँलाई चिनिसकेका थिएँ…” (यर्मिया १ः५)। परमेश्वरले यसरी मानव जीवनलाई सुरु गर्नुहुन्छ । मानव जीवनलाई नाश गर्ने कामचाहिँ शैतानले गर्छ । यूहन्ना १०ः१० मा येशूले भन्नुभयो, “चोर त चोर्न, मार्न र नाश पार्न आउँछ ।” अनि परमेश्वरको स्वरूपमा सृष्टि गरिएको सुन्दर र सर्वाेत्तम सृष्टिलाई नाश पार्ने कामचाहिँ शैतानको हो ।
“तर मचाहिँ तिमीहरूले जीवन पाओ, प्रशस्त जीवन पाओ भन्ने हेतुले आएँ” भनेर प्रभु येशूले भन्नुभयो । गर्भपतनबाट मात्रै संसारभरि वार्षिक चार करोड बीस लाख भू्रण हत्या गरिन्छ । पोलपोट वा हिटलरले गरेको नरसंहार अथवा नेपालमा १८ हजारभन्दा बढी मानिस मर्ने गरी भएको जनयुद्धभन्दा पनि यो सङ्ख्या धेरै हो । लागु औषधि, गरीबी, युद्धमा, बाल विवाहद्वारा धेरै बालबालिकाको जीवन नाश पारिएको छ । यी सबै समस्याको जड मानिसको हृदयमा भएको पाप हो । त्यो पापको समाधानचाहिँ येशू ख्रीष्टको क्रूस मात्रै हो ।
नेपालको मण्डलीको इतिहास झण्डै ६० वर्षको छ । सतावटमा खारिएर आएको गौरवशाली इतिहास मण्डलीको छ । तर अहिले मण्डलीमा ख्रीष्टियान धर्म मान्ने मानिसहरूको सङ्ख्या बढ्दै छ । येशूसँग जम्काभेट भएर परमेश्वरसँग हिँड्ने मानिसहरूको सङ्ख्या चाहिँ घट्दैछ ।
उत्पत्ति ४ः९ मा परमेश्वरले कयिनलाई एउटा प्रश्न सोध्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ ?” तिनले भने, “मलाई थाहा छैन । के म मेरो भाइको गोठाला हुँ र ?” यही प्रश्न परमेश्वरले आज मण्डलीलाई सोध्दै हुनुहुन्छ, मण्डलीका छोराछोरीहरू कहाँ छन् ? उनीहरू भवनभित्र त छन् होला, तर के उनीहरू जीवित परमेश्वरको शरीर, जीवित मण्डलीभित्र छन् ? मण्डलीको भविष्य कता के गर्दै छ ?
मण्डलीका कति सदस्यहरूले आफ्नो बच्चाको स्कूलको मासिक शुल्क एक लाखभन्दा बढी तिर्नुहुन्छ । त्यो गलत होइन । तर तपाईंका छोराछोरीलाई परमेश्वरको बारेमा सिकाउनको लागि के लगानी गर्दै हुनुहुन्छ त ?
बालबालिकाहरू बिहान उठ्ने बित्तिक्कै के गर्छन् ? फटाफट गृहकार्य सिध्याउने अथवा स्कूलको अभ्यास गर्ने । स्कूल जाने, फर्केर आउने एक छिन ब्रेक टाइम, त्यसपछि फेरि गृहकार्य सुरु गर्ने अनि सुत्ने, सिध्दियो । हो, उनीहरू आफ्नो पढाइको कारण संसारका उत्कृष्ट मानिसहरू बन्लान्, ठूला मानिस होलान्, पैसा कमाउलान् तर उनीहरूको जीवनमा परमेश्वरको वचनचाहिँ कहाँ छ ? परमेश्वरले आज तपाईंलाई सोध्दै हुनुहुन्छ, तपाईंका छोराछोरी आत्मिक रूपमा कहाँ छन् ?
हरेक हप्ता बालसंगतिका शिक्षकले पढाउनुहुन्छ अनि बाल बालिकाहरूलाई गृहकार्य दिनुहुन्छ । पद कण्ठ गर्ने काम पनि दिनुहुन्छ । अनि धेरै पल्ट बच्चाहरूले शनिबारको दिन बाटोमा आउँदा त्यो पद पढ्दै आउँछन् । उनीहरूले शिक्षकको अगाडि त्यो पद एक पल्ट भन्नको निम्ति कण्ठ गर्छन् । शनिबारको बालसंगति सिध्दिएपछि त्यो पद पनि सिध्दिन्छ अर्थात् बिर्सन्छन् । के तपाईंले कहिल्यै तपाईंका छोराछोरी बाल संगतिबाट घरमा फर्केर गएपछि आज मण्डलीमा के सिक्यौ ? आज मण्डलीमा तिम्रो बाल संगतिको शिक्षकले के सिकाउनुभयो ? कुनै पद कण्ठ गर्नुपर्ने छ कि ? भनेर सोध्नुहुन्छ त ?
तपाईंले कण्ठ गर्नुपर्ने पदलाई कागजमा लेखेर उनीहरू पढ्ने टेबुलमाथि राखिदिनुभयो भने दिनमा दुई पल्ट, तीन पल्ट हप्तैभरि उनीहरूले अभ्यास गरे भने त्यो एकछिन बाल संगतिको निम्ति मात्रै होइन, उनीहरूको हृदयभित्र बस्छ ।
बाइबलमा लेखिएको छ, बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालिम देऊ र जीवनकालभरि उसले त्यो कुरा बिर्सिंदैन । तपाईंले आफ्नो बालबालिकाको शैक्षिक भविष्यका लागि समय, पैसा लगानी गर्नुभएको छ तर परमेश्वरको वचनमा उनीहरूलाई हुर्काउनलाई अनि सानै उमेरदेखि नै उनीहरूको हृदयभित्र उनीहरूको हृदयमा परमेश्वरको वचन राख्न के गर्नुभएको छ ? यदि त्यसो गर्नुभएन भने संसार र शैतान उनीहरूलाई आफ्नो चेला बनाउन एकदमै तम्तयार भएर बसेको छ ।
इस्राएलको सुनौलो र गौरवशाली इतिहास छ । परमप्रभु परमेश्वर आफैले इस्राएलीहरूलाई अगुवाइ गर्नुभयो । संसारको अरू कुनै जातिलाई परमप्रभुले राति आगोको खाँबो र दिउँसो बादलको खाँबो भएर अगुवाइ गर्नुभएन । व्यवस्था ३४ अध्यायमा लेखिएको छ, मोशाजस्तो अगुवा संसारमा अहिले कोही पनि छैन, जोसँग परमेश्वर आमनेसामने भएर कुरा गर्नुभयो, त्यस्तो व्यक्तिले अगुवाइ गरेर ल्याएको जाति । त्यति मात्रै होइन, परमेश्वरका ठूला–ठूला आश्चर्यकर्महरू उनीहरूले मिश्र छोड्नुभन्दा अगाडि नै देखेका थिए । त्यस्तो जातिमा के भयो ?
जब यहोशूले बाह्र कुललाई जितेको भूभाग भागबण्डा गरे, प्रतिज्ञाको मुलुकमा बसाए, त्यसपछि यहोशू बिते । यहोशू बितेपछि के भयो भनेर न्यायकर्ता २ः८–१० मा हामीले हेर्न सक्छौं । “नूनका छोरा यहोशू, परमप्रभुका दास, एक सय दश वर्षको उमेरमा मरे … त्यस जम्मै पुस्ताका सबै जना आफ्ना पितापुर्खाहरूसँग मिले ।
पछि एउटा अर्काे पुस्ता आयो, जसले परमप्रभुलाई चिन्दैनथ्यो न त उहाँले इस्राएलको निम्ति गर्नुभएको कामलाई पनि जान्दथ्यो ।” यहोशू यस संसारबाट बिदा भएपछि इस्राएलमा एउटा नयाँ पुस्ता आयो । गौरवशाली इतिहास भएको जाति, परमेश्वरले छान्नुभएको जाति, तर जब यहोशू यस संसारबाट बिदा भए, त्यसपछि के आयो ? एउटा पुस्ता इस्राएलमा खडा भयो, जसले परमप्रभुलाई चिन्दैनथ्यो र उहाँले इस्राएलको निम्ति गर्नुभएको कामलाई पनि जान्दैनथ्यो । इस्राएली त हो, यहूदी नै हो, परमेश्वरले चुन्नुभएको जातिभित्रकै मानिस हो तर परमप्रभुलाई पनि चिनेको थिएन, उहाँले के गर्नुहुन्छ भनेर थाहा पनि थिएन ।
नेपालको मण्डलीको गौरवशाली इतिहास छ । सतावट, दुःख अनि त्यो आगोबाट खारिएर आएको मण्डली हो, नेपालको मण्डली । तर अब यसपछि के ? अबको दश वर्षपछि के ? अबको बीस वर्षपछि के ? हाम्रा छोराछोरीहरू, बालसंगतिका भाइबहिनीहरू अब बिस्तारै युवा हुन्छन् । उनीहरूले परिवार सुरु गर्छन् । नयाँ परिवार सुरु हुन्छ, नयाँ शाखा मण्डलीहरू बढ्छन् । अब यसपछि के ? उनीहरूलाई ख्रीष्टियान धर्म मान्ने व्यक्ति कि साँच्चै परमेश्वरसँग हिँड्ने व्यक्तिहरूको रूपमा मण्डलीले र परिवारले तयार पार्दैछौं ? हामीले जसरी प्रभुलाई विश्वास गर्यौं, के हामीले आफ्नो गवाही आफ्ना छोराछोरीलाई दिएका छौं ?
हामी त परमेश्वरसँग हिँड्ने जातिहरू हौं । हामीले परमेश्वरलाई व्यक्तिगत रूपमा मेरो मुक्तिदाता भनेर चिनेका छौं । उहाँलाई मैले चिनेको छु, उहाँको अनुग्रह मलाई थाहा छ । उहाँले पाप क्षमा दिने कुरा मलाई थाहा छ । उहाँको प्रेम मैले अनुभव गरेको छु । के हामीले आफ्ना छोराछोरीहरूलाई त्यही कुरा सिकाइरहेका छौं ?
हामीले विचार गर्छौं, हाम्रा छोराछोरीहरूलाई मैले बालसंगति पठाइदिएको छु, बालसंगतिका शिक्षकहरूले पढाउँछन्, भइ त गो नि, पुगी गो नि । अहिलेको युगमा त्यो लगानीले पुग्दैन किनभने हाम्रा छोराछोरीहरू लडाइँमा छन् । हाम्रा छोराछोरीको चारैतिर संसारले, शैतानले, दुष्टले मोर्चाबन्दी गरेको छ । हाम्रा छोराछोरीलाई कसरी नाश पारौं भनेर शैतानले विभिन्न योजना, युग सुहाउँदो रणनीतिहरू ल्याएको छ ।
तपाईंका बालबालिकालाई परमेश्वरबिना अरू शिक्षाले मात्रै पेल्नुभयो भने उनीहरू बाठा होलान्, धेरै कमाउलान्, प्रसिद्ध होलान्, ठूलो मानिस बन्लान्, सबैको जयजयकार पाउलान् । तर जब तपाईं एक दिन येशूको अघि खडा हुनुहुनेछ, त्यो बेलामा येशूले तपार्इंलाई सोध्नुहुन्छ, तेरा छोराछोरी कहाँ छन् ? तैंले के गरिस् ? तैंले आफ्नो छोराछोरीलाई परमेश्वरको वचन सिकाइस् कि सिकाइनस् ? मकहाँ ल्याइस् कि ल्याइनस् ? उनीहरूले मलाई चिने कि चिनेनन् ? अहिले परमेश्वरले धाँदोमा उभिने व्यक्ति खोज्दै हुनुहुन्छ । मण्डलीमा हाम्रा बालबालिकाहरूको पक्षमा परमेश्वरसँग अन्तरबिन्ती गर्ने र हाम्रा बालबालिकाहरूलाई परमेश्वरको वचन सिकाउने, उहाँकहाँ ल्याउने व्यक्ति परमेश्वरले खोज्दै हुनुहुन्छ ।
गलातीको मण्डलीको निम्ति पावलको के चाहना रहेछ भनेर यसरी लेखिएको छ, “मेरा साना बालक हो, ख्रीष्ट तिमीहरूमा नबनिनुभएसम्म म फेरि प्रसवपीडामा छु” (गलाती ४ः१९) । प्रसवपीडा भनेको बच्चा जन्माउँदा एउटी आमालाई हुने असह्य पीडा हो । तिमीहरूको जीवनमा ख्रीष्टको पूर्णता, ख्रीष्टको महिमा पूरा नभएसम्म अझ भनौं तिमीहरू ख्रीष्टको ज्ञानमा पूर्ण नभएसम्म, तिमीहरूले ख्रीष्टलाई पक्का गरी नचिनुञ्जेल मलाई त्यस्तै पीडा भएको छ, म कसरी तिमीहरूलाई ख्रीष्टको नजीकै लैजान सकुँ भनेर पावलले भन्दैछन् । आज मण्डलीले, हामी बुबाआमाले आफ्ना छोराछोरीको निम्ति यही प्रार्थना गर्नुपर्ने हो । कसरी हुन सक्छ, मेरो छोराछोरीमा ख्रीष्टको स्वरूप आओस्, कसरी हुन्छ, मेरो छोराछोरी परमेश्वरलाई चिन्ने र उहाँको वचनमा जिउने छोराछोरी बन्न सकून् । “मेरा छोराछोरीहरू सत्यको अनुसरण गर्छन् भन्ने कुरा सुन्न पाउनुभन्दा अरू बढी आनन्दको कुरा मेरो लागि के हुन सक्छ ?” (३ यूहन्ना ४) । सायद हामीलाई योभन्दा ठूलो कुरा सुन्ने रहर लाग्दैन होला । येशू बाटो, सत्य र जीवन हुनुहुन्छ । मेरा छोराछोरीले उहाँको अनुसरण गर्छन् भनेर अरू मानिसबाट सुन्न पाउनुभन्दा ठूलो आनन्द हाम्रो लागि के हुन सक्छ र ?
पैसा लगानी गरेर, मेहेनेत गरेर, प्रार्थना गरेर, सिकाएर, कसरी हुन्छ, मण्डलीमा ख्रीष्ट बनिनुभएको होस् भनेर पावलले प्रयास गरेका थिए । हाम्रो मण्डली, समाज, समुदायको भविष्य हाम्रा बालबालिकाहरू हुन् । तिनीहरूमा ख्रीष्टको जीवन पूर्णरूपले बनिनको लागि प्रार्थना गर्ने, उनीहरूलाई सिकाउने, उनीहरूलाई बाटो देखाउने कामचाहिँ सम्पूर्ण मण्डलीको हो । हामीले परमेश्वरको बारेमा अनुभव गरेका, सिकेका ती विरासत आगामी पुस्तालाई हस्तान्तरण नगर्ने हो भने हामीले हाम्रा पुस्तालाई परमेश्वरको ज्ञानबाट बञ्चित गरिरहेका हुनेछौं ।
म सुचनापत्र पढछु – पाष्टर प्रेम श्रेष्ठ
January 9, 2017 | Articles
प्रत्येक दिन उहाँलाई विश्वास गरेको परमेश्वर चाहनुहुन्छ ।
अर्को दिन, अर्को हप्ता, अर्को महिना, अर्को वर्ष होइन तर प्रत्येक दिन…
कुनै कुरामा चिन्तित नहोओ तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन् … जे कुरा सत्य छ, जे कुरा आदरणीय छ, जे कुरो न्यायसंगत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम योग्य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्ठता, प्रशंसाको योग्य केही छ भने यी नै कुराको विचार गर (फिलिप्पी ४ः६,८) ।
२०१६ साल हाम्रा परमेश्वरले हामीलाई यति धेरै आशिष् दिनु भयो कि हामी गन्न वा भन्न पनि सक्दैनौं । १ कोरिन्थी २ः९ मा लेखिएको छ, “आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका, यी नै कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ ।” यशैया ६४ः४ उहाँको बाटो हेर्नहरूका निम्ति काम गर्नुहुने तपाईं बाहेक अरू कोही परमेश्वर छ भनी कसैले प्राचीन कालदेखि नै कहिल्यै सुनेको छैन, नता कानले सुनेको छ, नता आँखाले देखेको छ । साथै उहाँको प्रतिज्ञा छ “हेर म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु । अघि अघिका कुराहरूको सम्झना हुनेछैन न ता ती मनमा आउने छन् ।”
(यशैया ६५ः१७)
चाँगु निवासी एक जना दिदीलाई धेरै वर्षअघि मैले एउटा प्रश्न सोधेँ । प्रायः जसो म सोध्ने पनि गर्दछु ‘दिदी तपाईं कस्तो हुनुहुन्छ ?’ त्यसपछि उहाँको उत्तरले मेरा जीवनमा ठूलो परिवर्तन ल्यायो । उहाँको उत्तर थियो गुरुवा मैले प्रभुमा विश्वास गरेपछि “गनेर गनि नसक्नु, भनेर भनी नसक्नुको आशिष् पाएको छु ।” मलाई लाग्दथ्यो यो संसारमा परमेश्वरको आशिष् सबैभन्दा बढी मैले पाएको छु तर गाउँका दुरदराजमा आफ्नो गुजारा गरेर बस्ने साधारण व्यक्तिले पनि त्यति धेरै परमेश्वरलाई विश्वास गरी उहाँबाटको आशिष् उपभोग गर्नुभैराखेको रहेछ । म छक्क परे ! २०१६ मा कति यस्ता दिन समय हाम्रा जीवनमा आए जसमा परमप्रभु परमेश्वरले हामीलाई उहाँको प्रतिज्ञाअनुसार व्यवस्था ३१ः६ “बलियो र साहसी होओ । यिनीहरूसित नडराओ र त्रसित नहोओ । किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूसँग जानुहुन्छ। उहाँले तिमीहरूलाई कहिल्यै छोड्नुहुनेछैन न ता त्याग्नुहुनेछ ।” अतः एक जना सानो बालक वा बालिका कुनै ठाउँमा जानुपर्यो तर मनमा ठूलो डरले सताइराखेको छ र अचानक एक जना पाको व्यक्ति त्यही बाटोमा जाने भेट्दा त्यो बालक वा बालिकालाईकति ढाडस हुन्छ होला ? कल्पना गरौ न स्वर्ग र पृथ्वीका सृष्टिकर्तासँगै यात्रा गरेर २०१६ साललाई विदा गर्यौ र उहाँ भन्नुहुन्छ “म तँ सँगसँगै जानेछु ।” कति ठूलो शौभाग्य । अब २०१७ सालको लागि हामी २०१७ सालकै नयाँ आशिष् र प्रतिज्ञामा जिउनको लागि हामीले विशेष्त ४ वटा काम गर्नु पर्दछ ।
१. कुनै कुरामा चिन्तित नहोऔं ।
“यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ । आजको दुःख आजको निम्ति पर्याप्त छ” (मत्ती ६ः३४) ।
यहाँ येशूले सिकाउनुभएको कुरा भोलिको निम्ति नसोच भन्नु भएको होइन । अब भोलिको दिनमा अनाज भित्र्याउन आज नै छर्नु वा रोप्नुपर्छ । अब हिजोको कुरालाई केही मतलब नै नगर भन्नुभएको होइन हिजोको अनुभवबाट नै त कति हाम्रो लागि शिक्षा मिल्छ जसबाट हामी अघि बढ्दछौं तर कुराचाहिँ फिक्री नगर भन्नुभएको हो । फिक्री, चिन्ता र डर शैतानबाट आउँदछ । हामीलाई चाहिने सबै असल कुरा ख्रीष्टमा हाम्रो लागि राखिएको छ । फिलिप्पी ४ः१९ त्यसकारण No tension ।
२. सबै कुराको निम्ति प्रार्थना गरौं ।
“जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा सितंैमा दिनुहुने छैन र ?” (रोमी ८ः३२) जब हामी परमेश्वरसँग पुकारा गर्छौं, प्रार्थना गर्छौं, उहाँले हामीलाई सबै कुरा अवस्य दिनुहुन्छ । “त्यो दिन तिमीहरूले मलाई केही सोध्ने छैनौ । साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ, उहाँले त्यो तिमीहरूलाई दिनुहुन्छ । अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ । माग, अनि तिमीहरूले पाउनेछौ । यसरी तिमीहरूको आनन्द पूर्ण होस्” (यूहन्ना १६ः२३–२४)। जसले माग्छ त्यसले पाउँछ । नमाग्नेहरू हेरेको हेरै हुन्छन् ।
३. सबै कुरामा धन्यवादी होऔं ।
“सधैँ सबै कुराका निम्ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्वर पितालाई धन्यवाद चढाओ” (एफिसी ५ः२०) । “सबै परिस्थितिमा धन्यवाद देओ, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरका इच्छा यही हो” (१ थिसलोनिकी ५ः१८) ।
जसले येशूलाई साँचो विश्वास गरेको हुन्छ वा उहाँलाई भेटेको हुन्छ त्यस व्यक्तिले मात्र यो काम गर्न सक्छ र त्यो मात्र परमेश्वरलाई साँचो धन्यवाद हो । त्यसकारण हामी नक्कली
ख्रीष्टियन जीवन नजिऔ (try to be real) । हामीले कुनै दुष्ट कुरा जस्तै, क्यान्सर रोग, एड्स रोग, दुर्घटना, लडार्इं, झगडा अर्थात् खराब कुराको लागि धन्यवाद चढाउने भनेको होइन, किन ? त्यस्ता कुरा परमेश्वरबाट आउँदैन तर परमेश्वरले सधैँ असल कुराहरू मात्र दिनुहुन्छ जसमा कुनै छलछामका छायाँ पनि छैन वा हुँदैन खराबी त यही संसारले दिन्छ, जस्तै धोका, खिसी, हेला, दुश्मनी, आरिस इत्यादि ।
४. सधैँ असल कुरो मात्र विचार गरौं ।
सत्य कुरा, आदरणीय कुरा, न्यायसँगत कुरा, शुद्ध कुरा, प्रेम–योग्य कुरा, कृपामय कुरा, श्रेष्ठ कुरा र प्रशंसाको योग्य कुरामा हामी आफ्नो मन लगाऔं जसबाट असल परिणाम आउँदछ । जसबाट परमेश्वरको महिमा र मण्डली परिवारको भलाइ हुँदछ । त्यसैमा मन लगाऔं । यो २०१७ साल यशैया २६ः३ “जसको मन तपाईंमा अडिएको छ, त्यसलाई तपाईंले पूरा शान्तिमा राख्नुहुन्छ, किनभने त्यसले तपाईंमाथि भरोसा राख्छ ।” परमेश्वरको निम्ति जिउन सकौं र हामी अरूलाई उत्साह दिने व्यक्ति, अरूलाई बलियो बनाउने व्यक्ति साथै अरूलाई सान्त्वना दिने व्यक्ति बन्न सकौं । के तपाईं र मलाई अरू मानिसले भेट गर्दा आशिष् पाउँदछन् वा निराशा पाउँछन् ? प्रभु गरून् हामी यो वर्ष प्रभुमा पूर्ण विश्वास गरेर प्रभुको निम्ति जिउन सकौं ।
नेइमको एक विश्वासी योद्धा, विश्वासी सिपाही भएर जिउने प्रण गरौं । सधैँ हाम्रा अग्रजहरू जसले हामीलाई असल र सही शिक्षामा हुर्काउने काम गर्नुभयो । हामी पनि धेरै नवजवान पुस्तालाई यो आशिष्मा, शिक्षामा हुर्काउन भरमग्दुर प्रयास गरौं साथै नयाँ वर्ष २०१७ को शुभ–कामना र प्रशस्त आशिष् होस् ।
अन्धकारलाई प्रतिस्थापन गर्दै ख्रीष्टमस मनाऔं । – एल्डर सिमोन पाठक
December 6, 2016 | Articles
धेरै मानिसहरूलाई एकदमै ठूलो र गहिरो खोलाको पारीपट्टि जानुनै परेको छ तर पारी जानको निम्ति पुल छैन, पानीमा चल्ने कुनै साधन पनि छैन, र उनीहरूलाई पौडन पनि आउँदैन । अब उनीहरू कसरी बिना जोखिम पारीपट्टि जान सक्छन् ? मानिसहरूको आत्मा स्वर्ग जानको निम्ति यस्तै अप्ठ्यारो अवस्थामा परेको समयमा परमेश्वरले स्वर्ग जानको निम्ति पुलको निर्माण गरिदिनुभयो, त्यो पुल प्रभु येशू ख्रीष्ट हुनुहुन्छ । उहाँ पृथ्वीमा मानव भई जन्मनुभएको दिनलाई ख्रीष्टमस भनी सारा विश्वमा मनाइन्छ ।
प्रभु येशू ख्रीष्टको जन्म, मृत्यु र पुनरूत्थानको कारण मानिस जातिलाई स्वर्ग प्रवेश गर्न सम्भव भएको छ । इतिहासमा कुनैपनि मानिस स्वर्गबाट पृथ्वीमा आएर फेरि स्वर्गमा नै चढिगएको छैन, यदि कोही छ भने त्यो व्यक्ति प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ । जतिले उहाँलाई आफ्नो हृदयमा प्रभु र मुक्तिदाता भनी ग्रहण गर्छन् र उहाँको शिक्षाअनुसार जीवन जिउँछन् । तिनीहरूको निम्ति मानव चोलापछिको घर स्वर्ग हुन्छ । येशू ख्रीष्टद्वारा मानिसको स्वर्गको परमेश्वरसँग मिलाप हुन्छ । उहाँले पृथ्वीमा भएको मानिसलाई स्वर्गमा जानको निम्ति पुलको जस्तै काम गरिसक्नुभएको छ । उहाँमाथि विश्वास गर्नेहरू कोही पनि नष्ट हुनेछैन । परमेश्वरको प्रेम मानव जातिप्रति कति धेरै छ सो कुरा बाइबलमा यसरी व्यक्त गरिएको छ, “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस् ।”
डिसेम्बर २५ तारिखमा ख्रीष्टमस मनाउनुको कारण छः
प्राचीन संस्कृतिमा मौसम परिवर्तनको उत्सव धुमधामसँग मनाउने गरिन्थ्यो । रोममा हिउँदको समयमा सूर्य दक्षिणतर्फ हुने र डिसेम्बर २५ बाट जाडो कम हुँदै जाने र दिन लामो हुँदै जाने हुनाले डिसेम्बर महिनामा मानिसहरू खुशी मनाउने, उपहार आदानप्रदान गर्दै उत्सव मनाउने गर्दथे । विशेष गरी यो पर्व डिसेम्बर १७ बाट शुरू हुन्थ्यो र डिसेम्बर २५ मा समाप्त हुने गर्दथ्यो ।
प्राचीन समयका मानिसहरूले देवी देवताहरूको जन्मदिन मनाउने गर्दथे । उनीहरूले विशेष गरी सूर्य देवता फ्रिगियाको जन्म दिन धुमधामसँग मनाउने गर्दथे साथै रोमी सम्राटको जन्मदिन पनि रोमी साम्राज्यभरिनै मुक्तिदाता र प्रभु भनी मनाउने चलन थियो तर चौथो शताब्दीमा आइपुग्दा सुसमाचारको कारण धेरै मानिसहरूले येशू नै प्रभु र मुक्तिदाता भनी आराधना गर्ने क्रम बढ्दै गएको थियो । अब उनीहरूले देवी देवताको जन्मदिन होइन संसारको मुक्तिदातो येशूको जन्मदिन धुमधामसँग मनाउन थाले । उनीहरूलाईे सूर्ये देवता फ्रिगियाको जन्मदिनको कुनै अर्थ रहेन । कारण येशू धार्मिकताको सूर्य हुनुहुन्छ (मलाकी ४ः२) ।
यसरी रोमी ख्रीष्टियानहरूले विभिन्न चाड पर्वहरूलाई प्रतिस्थापन गर्दै डिसेम्बर २५ मा ख्रीष्टमस मनाउन शुरू गरेको इतिहास पाइन्छ । डिसेम्बर २५ मा ख्रीष्टमस मनाउन शुरू गरेको कुरा ई.सं. ३५४ मा तयार गरिएको रोमन विशपहरूको पुरानो संग्रहको सूचीमा ई.सं. ३३६ को डिसेम्बर २५ मा ख्रीष्टमस मनाएको कुरा उल्लेख गरिएको छ । धार्मिकताको सूर्य येशूलाई चिनिसकेपछि मानिसहरूले उहाँको जन्मदिन डिसेम्बर २५ मा मनाउन थाल्नुचाहिँ उज्यालोले अँध्यारोलाई प्रतिस्थापन गर्नुजस्तै नै थियो । नेपालका मण्डलीहरूको निम्ति यो एउटा चुनौति र आशाको सन्देश पनि हो । नेपालका मानिसहरूले पनि संसारको ज्योति येशूलाई चिन्न सके भने यस देशमा रहेको आध्यात्मिक अँध्यारो हटेर जानेछ र ख्रीष्टमसको यथार्थता बढ्दै जानेछ ।
कति मानिसहरूले डिसेम्बर २५ मा ख्रीष्टमस मनाएको कुरालाई लिएर टिप्पणी गर्ने गर्छन् तर हामीले जान्नुपर्ने मुख्य कुराचाहिँ येशू ख्रीष्टको जन्मको समयअवधिभन्दा पनि येशू किन मानव बनेर जन्मनुभयो सो बुझ्नु र ख्रीष्टमसको वास्तविकता बुझेर ख्रीष्टमस मनाउनुचाहिँ महत्वपूर्ण हो । रोमी ख्रीष्टियानहरूले अन्य चाडपर्वहरूलाई ख्रीष्टमसमा प्रतिस्थापन गर्न सफल भएको जस्तै हामीले पनि हरेक वर्षको ख्रीष्टमसको उत्सवसँगै अन्धकारमा भएका मानिसहरूलाई ख्रीष्टको ज्योतिमा प्रतिस्थापन गर्न सफल हुनु जरूरी छ । यो उद्देश्यका साथ ख्रीष्टमस मनाउनुचाहिँ ख्रीष्टमसको यथार्थलाई झल्काउनु हो ।
बाइबलमा मनाइएको ख्रीष्टमस
स्वर्गदूतहरूको ख्रीष्टमसः पृथ्वीमा सबैभन्दा पहिले क्यारोल गाउँदै ख्रीष्टमस मनाउने स्वर्गदूतहरू नै थिए । येशू जन्मनुभएको दिनमा स्वर्गदूतको एउटा ठूलो दलले यसरी ख्रीष्टमसको उत्सव मनाएका थिए “तब एक्कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो । परमेश्वरको स्तुति गर्दै, तिनीहरूले भने, सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति !” (लूका २ः१३–१४) । स्वर्गदूतहरूले परमेश्वरको महिमा र मानिसहरूलाई शान्तिको सन्देश छर्दै ख्रीष्टमस मनाएका थिए ।
भेडा गोठालाहरूको ख्रीष्टमसः स्वर्गदूतहरूले ख्रीष्टमसको उत्सव मनाइसकेपछि भेडा गोठालाहरूले पनि ख्रीष्टमस मनाएका थिए । “जस्तो तिनीहरूलाई भनिएको थियो त्यस्तै सबै कुरा सुनेका र देखेका हुनाले, परमेश्वरको महिमा र स्तुति गर्दै गोठालाहरू फर्के” (लूका २ः२०) । भेडा गोठालाहरूले आनन्दका साथ परमेश्वरको महिमा र स्तुति गर्दै ख्रीष्टमस मनाएका थिए ।
ज्ञानी मानिसहरूको ख्रीष्टमसः पूर्वका ज्ञानी मानिसहरूले ख्रीष्टमस यसरी मनाएका थिए, “हेरोद राजाको समयमा यहूदियाको बेथलेहममा जब येशूको जन्म भयो, पूर्वका ज्योतिषीहरू यरूशलेममा आइपुगे र तिनीहरूले भने, यहूदीहरूका राजा भइ जन्मने कहाँ
हुनुहुन्छ ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्यौं र उहाँलाई दण्डवत् गर्न आएका छौं । …तब राजाको कुरा सुनेर तिनीहरू आफ्ना बाटो लागे । जुन तारा तिनीहरूले पूर्वमा देखेथे, त्यो तारा तिनीहरूका अगिअगि गयो, र बालक भएको ठाउँमा पुगेपछि त्यो तारा त्यहीँ अड़ियो । जब तिनीहरूले त्यो तारा देखे, तब तिनीहरू अति आनन्दित भएर रमाए । अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, र घोप्टो परेर उहाँलाई दण्डवत् गरे । तब आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका भेटी चढ़ाए” (मत्ती २ः१–२, ९–११) । ज्ञानी मानिसहरूले बहुमूल्य थोकहरू प्रभुको चरणमा अर्पण गर्दै ख्रीष्टमस मनाएका थिए ।
हामी कसरी ख्रीष्टमस मनाउँदैछौ ? खानु, लाउनु, रमाइलो गर्नु सामाजिक परम्परा मात्र हो । मानिस सामाजिक प्राणी भएको कारण यो गर्नु कुनै गलत होइन । तर मिठो खानु, राम्रो लगाउनु र रमाइलो गर्नु मात्र ख्रीष्टमस हो भनी विचार गर्नुचाहिँ ख्रीष्टमसको वास्तविकतालाई भुल्नु हो । स्वर्गदूतहरूले, गोठालाहरूले, ज्ञानी मानिसहरूले र शुरूका मण्डलीका ख्रीष्टियानहरूले मनाएको ख्रीष्टमसको यथार्थलाई बुझेर ख्रीष्टमस मनाउने कि सामाजिक परम्पराको ख्रीष्टमसमै सीमित हुने ?
इसाइ मण्डली किन ? – पाष्टर राजेन्द्र रोंगोंग
November 9, 2016 | Articles
नेपाली इसाई मण्डली स्थापना भएको ६ दशक पूरा हुन लाग्यो । यसको स्थापना, यसो हेर्दा मानिसहरूबाट भएको देखिन्छ, तर मण्डलीको वास्तविक स्थापक प्रभु येशू हुनुहुन्छ ।
एकपल्ट येशूले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले मानिसको पुत्रलाई को हो भनी भन्छन् ?” चेलाहरूले विभिन्न प्रकारका उत्तर दिए र त्यसपछि उहाँले चेलाहरूलाई सोध्नुभयो, “तिमीहरू के भन्छौं, म को हुँ ? पत्रुसले उत्तर दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरका पुत्र ।” येशूले स्याबासी दिनुभयो र भन्नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्य हौ । किनभने मानिसहरूबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो ।” परमप्रभु परमेश्वरले येशूको परिचय दिनुभएको थियो । त्यसपछि येशूले अर्को अति महŒवपूर्ण कुरा भन्नुभयो, “म तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ । म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि बिजयी हुनेछैनन् ।” (मत्ती १६ः१३–१८) ।
झट्टै हेर्दा येशूले मण्डली “यस चट्टान” माथि बनाउँछु भन्नुभएको छ र त्यो चट्टान पत्रुस हो किनकि पत्रुसको अर्थ चट्टान हो । तर येशूले संसारमा मानिसहरूको लागि नयाँ करार ल्याउनुभयो । आफूलाई परमप्रभु परमेश्वरको इच्छाअनुसार मानिसहरूको पाप क्षमाको निमित्त बली चढाउनुभयो । उहाँले आफ्नो रगतद्वारा त्यो करारलाई पक्का गर्नुभयो ।
नयाँ करार पछि येशूले पहिले आफ्ना चेला र उहाँमाथि विश्वास गर्नेहरूको लागि दिनुभएका शिक्षा (वचन) को अर्थ पवित्र आत्माले प्रकाश गर्दै लैजानुभयो । यो क्रम अहिलेसम्म चलिरहेको छ अर्थात् उहाँले पहिल छोडिजानुभएका वचनको नयाँ प्रकाश आइरहेको छ । यसै क्रममा मण्डलीसम्बन्धी पावल उहाँका चेलाले यसरी व्याख्या गरेका छन् । “किनकि जुन जग बसालिएको छ, जो येशू ख्रीष्ट हुनुहुन्छ, त्यस बाहेक कुनै मानिसले अर्को जग बसाल्न सक्दैन” (१ कोरन्थी ३ः११) ।
जब पत्रुसले “तपाईंले … जीवित परमेश्वरका पुत्र” भन्ने स्वीकार गरे त्यही स्वीकारलाई चट्टान भनी स्वीकार गर्दै येशूले यस चट्टानमाथि मण्डली स्थापना गर्छु भन्नुभयो । यसैले मण्डलीको जग येशू हुनुहुन्छ र जब पछि मण्डली स्थापना भयो त्यसको शिर पनि उहाँ नै हुनुभयो ।
सबैभन्दा पहिलो मण्डली यरूशलेममा स्थापना भयो । मण्डलीको स्थापनाभन्दा पहिले चेलाहरूमाथि पवित्र आत्मा आउनुभयो । अझ यसलाई क्रमिक रूपमा हेर्ने हो भने प्रभु येशूले आफ्नो करीब साढे तीन वर्षको सेवकाइ समाप्त गर्नुभयो, उहाँलाई क्रूसमा चढाइयो तर तेश्रो दिनमा उहाँ शैतानलाई सदाको निमित्त हराउँदै पुनरुत्थानहुनुभयो र स्वर्गारोहण हुनुभयो । पुनरुत्थानको ठीक पचास दिनपछि पवित्र आत्मा चेलाहरूमा (१२० जना) आउनु भयो । यसरी पहिलो मण्डली शुरू भयो । मण्डली प्रभु येशूमाथि विश्वास गर्ने मानिसहरूको जमात थियो । पहिलो इसाई मण्डलीसम्बन्धी हेर्नुहोस् (प्रेरित २ः४२–४७) ।
मण्डली प्रभु येशूले पवित्र आत्माद्वारा स्थापना गर्नुभयो । मण्डली किन स्थापना गरियो अथवा मण्डली केका लागि स्थापना गर्नुभयो भन्ने तथ्य बुझ्नलाई प्रभु येशू किन संसारमा मानिसको रूपमा आउनुभयो भनी बुझ्नु आवश्यक छ । मत्ती प्रभुका चेलाले बप्तिस्मा दिने यूहन्नालाई उद्धृत गरेका छन्, “पश्चात्ताप गर किनभने स्वर्गको राज्य नजीक आएको छ ।” प्रभु येशूले आफ्नो सेवकाइ शुरू गर्नुभयो । एकदिन चेलाहरूले हामीलाई प्रार्थना गर्न सिकाउनुहोस् भनी बिन्ती गरे । उत्तरमा उहाँले यसरी प्रार्थना (Lords Prayer) सिकाउनुभयो । उक्त प्रार्थनाका दुईवटा पदहरू यस प्रकारका छन् ः
“हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ
तपाईंको नाउँ पवित्र होस् ।
तपाईंको राज्य आओस् ।
तपाईंको इच्छा स्वर्गमा जस्तो छ
त्यस्तै यस पृथ्वीमा होस् . . .”
माथि उल्लेखित बाइबलका दुई खण्डले येशू ख्रीष्ट संसारमा आउनुभएको प्रमुख उद्देश्य परमेश्वरको राज्य यस पृथ्वीमा ल्याउनु हो ।
परमेश्वरको राज्य हाल मानिसको हृदयभित्र छ (लूका १७ः२१) । जतिले प्रभु येशूलाई मुक्तिदाता र प्रभु भनी विश्वास गर्छन् उनीहरू परमेश्वरका हुन्छन् र उनीहरूभित्र पवित्र आत्मा बास गर्नुहुन्छ । तर एकदिन, अर्थात् संसारका अन्त्यका दिन भौतिकरूपमा नै परमेश्वरको राज्य स्थापित हुनेछ (प्रकाश २०ः४–६) ।
परमेश्वरको राज्यमा परमप्रभु परमेश्वर स्वयं उपस्थित हुनुहुन्छ । त्यहाँ संसारमा जस्तो मृत्यु, शोक र अन्य सांसारिक कुरा हुँदैनन् परमेश्वरले सबै मानिसलाई त्यस स्थानमा लैजान चाहनुहुन्छ । मानिसहरूको पापको कारण यो सम्भव थिएन तर प्रभु येशूको बलिदान, पुनरुत्थानद्वारा यो सम्भव भएको छ । यो काम गर्न उहाँ परमेश्वर हुनुभएर पनि मानिसको रूप धारण गरी आउनुभयो । उहाँ एक्लै आउनुभयो । आफ्नो साढे तीन वर्षको सेवकाइ अवधिमा चेलाहरू छान्नुभयो र आफूसित सँग सँगै राखी परमेश्वरको राज्यबारे प्रवचन, व्यावहारिक शिक्षा, आश्चर्य काम र सबैभन्दा ठूलो आफ्नो जीवनको नमूनाबाट सिकाउनुभयो । प्रेम, क्षमा, शान्ति, भलाइ, नम्रता, सत्यता अर्थात परमेश्वरको राज्यमा हुनुपर्ने कुराहरूबारे सिकाउनुभयो ।
आफ्नो सेवकाइको अन्त्यतिर व्रmुसमा चढाइनुभयो तर यो परमप्रभु परमेश्वरको योजना अनुरूप नै थियो । मृत्युको तेश्रो दिनमा उहाँ विजयीको रूपमा पुनरुत्थान हुनुभयो । त्यसपछि उहाँ स्वर्गारोहणहुनुभयो तर माथि जानुअघि चेलाहरूलाई “तिमीहरू यरूशलेमबाट कतै नजाओ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर . . .” भन्नुभयो (प्रेरित १ः४) । पेन्तिकोसको दिन चेलाहरूले पर्खिरहेकै ठाउँमा पवित्र आत्मा शक्तिका साथ आउनुभयो र त्यहाँ भएका १२० जना विश्वासीहरूलाई अभिषेक गर्नुभयो (प्रेरित २ः१–४) । पवित्र आत्मा आउनुभएपछि उनीहरूले शक्ति पाए साथै प्रभु येशूले अघि सिकाउनुभएका कुराहरू बुझ्न थाले । यी नै विश्वासीहरूको जमात पहिलो इसाई मण्डली भयो । प्रभु येशू यसै मण्डलीलाई स्वर्ग राज्य संसारमा ल्याउने जिम्मा दिनुभयो । स्वर्गारोहणको दिनमा स्वर्ग प्रस्थान गर्न अघि उहाँले आफ्नो एघार जना चेला र अन्य विश्वासीहरूलाई आफ्नो महान जिम्मेवारीले (The Greast Commission) दिनुभयो (मत्ती २८ः१६–२०) । यो जिम्मेवारीको उद्देश्य नै “स्वर्ग राज्य यस पृथ्वीमा ल्याउनु” हो । यो सामूहिक जिम्मेवारी हो । व्यक्ति व्यक्ति मिलेर गर्नुपर्ने जिम्मेवारी हो । यो काम गर्न उहाँ वचन, व्यावहारिक जीवन, आश्चर्यको कामहरू नम्रतापूर्वक गर्न मण्डलीका प्रत्येक सदस्यको जिम्मेवारी हो ।
इसाई मण्डली प्रभु येशूले स्थापना गर्नुभयो र यसले उहाँको शारीरिक अनुपस्थितिमा पवित्र आत्माको अगुवाईमा उहाँको प्रतिनिधित्व गर्नु पर्दछ ।
दुई थरीका ख्रीष्टियानहरू – पाष्टर रोबर्ट कार्थक
October 3, 2016 | Articles
दुई थरीका ख्रीष्टियानहरू शारीरिक र आत्मिक । हाम्रा मण्डलीहरूमा पनि यस्ता ख्रीष्टियानहरू छन्, जसलाई छुट्टयाउन पनि गाह्रो पर्छ किनकि सबैजना संगतिमा आउँछन्, प्रार्थना गर्छन्, हात उचालेर प्रशंसामा पनि सहभागी हुन्छन् तर पनि मण्डलीहरूमा दुई थरीका ख्रीष्टियानहरू हुन्छन् । आत्मिक ख्रीष्टियानहरू आत्माको कुरामा बढी ध्यान दिन्छन् । हामी संसारमा छौं, शरीरमा छौं, शरीरका कुरामा पनि ध्यान दिनुपर्छ तर शरीरका कुरामा भन्दा धेरै आत्मिक कुरामा ध्यान दिनेचाहिँ आत्मिक ख्रीष्टियान हुन् । अर्को थरीका ख्रीष्टियानहरू जोहरू नयाँ जीवन पाएका, उद्धार पाएका, येशूको रगतले पाप क्षमा पाएका, परमेश्वरको सन्तान भएका, पानीको बप्तिस्मा लिएका ख्रीष्टियानहरू नै हुन् । मृत्युपछि उनीहरूको आत्मा स्वर्गमा जान्छ, त्यसमा कुनै शंका छैन तर उनीहरू संसारका कुराहरू–धनदौलत, लुगाफाटा, घर, जग्गाजमीन आदिमा बढी ध्यान दिन्छन् । संसारका मानिसहरू संसारका कुराहरूमा अल्मलिएजस्तै संसारमै बढी समय खर्चिने ख्रीष्टियानहरूचाहिँ शारीरिक ख्रीष्टियान हुन् ।
केही दिन अगाडि म एउटा संगतिमा थिएँ । प्रार्थना सभामा आउनका लागि संचालकले अगाडिबाट अनुरोध गर्नुभयो । मलाई त कस्तो कस्तो लाग्यो । ख्रीष्टियानहरूलाई प्रार्थना सभामा आउनलाई अनुरोध गर्नुपर्ने ? कस्तो अनौठो कुरा हो । प्रार्थना सभामा आउन पाउनु त हाम्रो लागि खुशीको कुरा हो । यसको लागि कसैले अनुरोध गर्नु पर्दैन । यो त हाम्रो सौभाग्य हो । एक मात्र सत्य जिउँदो परमेश्वर, स्वर्ग र पृथ्वीका सृजनहार, पालनहार, तारणहार परमेश्वर जसलाई हामीले अब्बा, पिता भनी चिन्न सकेका छौं । परमेश्वरले हे अब्बा र हे पिता भनी पुकार्ने आत्मा तपाईं र मलाई दिनुभएको छ । हामी परमेश्वरका छोराछोरी हौं । हामी परमेश्वरको उपस्थितिमा आउनका लागि दया गरी उपस्थित हुनुहोस्, आइदिनुहोस् भनी निम्तो दिनुपर्ने, अनुरोध गर्नुपर्ने ? मलाई त चित्तै बुझेन । मैले त्यतिखेर नै भने यो त मिल्दै मिल्दैन ।
संसारका मानिसहरूले त परमेश्वरलाई खोजिरहेका छन् । नेपालकै मानिसहरू पनि तीर्थयात्रा, चारधाम गइरहेका छन् । उनीहरू गाह्रो, अप्ठ्यारो ठाउँहरूमा पनि जान्छन्, परमेश्वरलाई खोज्छन् तर अझै पनि तिनीहरूले परमेश्वरलाई भेट्टाएका छैनन् । उनीहरू निरन्तर खोजिरहेका छन् तर हामीले त स्वर्गीय परमेश्वर पितालाई ख्रीष्ट येशू प्रभुमा भेट्टाएका छौं । उहाँ हाम्रो नजीक हुनुहुन्छ । हामीलाई पर्खिराख्नुभएको छ तर उहाँका मानिसहरूलाई फुर्सद छैन । संसारकै कुराहरूमा अल्मलिराखेका छन् ।
परमेश्वरको उपस्थितिमा आनन्दको भरपूरी छ । जो–जो परमेश्वरको गुप्तस्थानमा बास गर्छन् र परमेश्वरको छत्रछायाँमा रहन्छ, त्यहाँसबैलाई सुरक्षा, शान्ति, संवृद्धि र सफलता छ तर हामी परमेश्वरको उपस्थितिमा रहन चाहँदैनौं र बाहिर जान्छौं भने त्यहाँ असुरक्षा र सबै किसिमका समस्याहरू छन् । यो परमेश्वरले पठाउनुभएको होइन तर परमेश्वरको सुरक्षाबाट तपाईं बाहिर जानुभएको कारणले भएको हो । परमेश्वरको छत्रछायाँमा आउन चाहनुभएन र तपाईं बाहिर निस्केर जानुभयो । उडाउ पुत्रलाई उसका बाबुले सुँगुरको खोरमा पठाएको होइन तर आफ्नै नराम्रो कामको कारण सुँगुरको खोरमा पुगेको हो (लूका १५ः११३२) । हामी आफैले सोच्ने र निर्णय गर्नुपर्ने कुरा हो । कहाँ प्रार्थना सभा छ, घरेलु संगति कहाँ हुँदैछ, समय निकालेर जानुपर्छ । संसारको कुराहरू एकापट्टि राखेर प्रभुको उपस्थितिमा जानुपर्छ ।
हामी आत्माको कुराहरूमा ध्यान दिने ख्रीष्टियानहरू हुनुपर्छ । तपाईं र मचाहिँ कस्तो खालको ख्रीष्टियान हौं, आफैले आफैलाई जाँचौं, चिनौं । “यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो कुरा बितिगएको छ, हेर, नयाँ आएको छ” (२ कोरिन्थी ५ः१७)। यो पदअनुसार हामी नयाँ सृष्टि हौं । अब हामी आदमका सन्तानहरू होइनौं । आदमका सन्तानमा पापस्वभाव थियो भने आज हामी ख्रीष्टका सन्तान हौं । त्यसैले हामीमा पापस्वभाव हुनु हुँदैन । परमेश्वरले हामीलाई धर्मी बनाइसक्नुभएको छ । “परमेश्वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन, किनकि उहाँको स्वभाव त्यसमा रहन्छ, र त्यसले पाप गरिरहन सक्दैन, किनभने त्यो परमेश्वरबाट जन्मेको हो (१ यूहन्ना ३ः९) ।” यो वचनअनुसार परमेश्वरको स्वभाव त्यसमा रहन्छ । जुन व्यक्तिमा परमेश्वरको स्वभाव छ त्यसमा पाप स्वभाव रहनु हुँदैन र रहन सक्दैन, किनकि हामी पवित्र र निस्खोट परमेश्वरमा नयाँ गरी जन्मेकाहरू हौं । यो हाम्रो आत्माको बारेमा भनिएको हो । मन र शरीरको बारेमा होइन ।
तपाईंको हातले चोर्छ, मुखले खान नहुने चीज खान्छ, बोल्न नहुने कुरा बोल्छ, नराम्रो दृष्टिले हेर्छ, यी सबै तपाईंको शरीरले गरेको पाप हो । तपाईंको नराम्रो सोच, अशुद्ध, अपवित्र विचार, रीस, दुश्मनी, लोभ तपाईंको मनले गरेको पाप हो । तपाईंको आत्मामा त परमेश्वरको स्वभाव छ । मेरो एउटा मन, म शरीरमा बस्छु तर म भन्नेचाहिँ मेरो आत्मा हो । आत्मिक ख्रीष्टियनाहरूचाहिँ त्यो हो, जो बाइबल पढ्ने, प्रार्थना गर्ने, सेवा संगतिमा जाने, प्रभुको कुरामा ध्यान दिने, मनन गर्ने, प्रभुसँग समय बिताउने, यी कुराहरू गरेर परमेश्वरको नजीकमा बस्छन् । संसारका खाने, लगाउने, रमाइलो गर्ने, मनोरञ्जनमा समय बिताउने, यी सबै शारीरिकताको जीवन हो । पापमय स्वभाव जसले जाँड, रक्सी खान, रीस गर्न, लोभ गर्न, चोर्न, ढाँट्न, अर्कालाई पिट्ने, बदनाम गर्ने गर्छ, यो चाहिँ पापमय स्वभाव हो । अनि शारीरिक स्वभाव भनेको चाहिँ पापमय स्वभाव होइन । शारीरिक कुरामा बढी ध्यान दिने कुरा हो । खानेकुरा त राम्रो कुरा हो, नखाइकन मान्छे कसरी बाँच्न सक्छ ? तर यदि म आत्मिक कुरामा भन्दा बढी खानेकुरामा ध्यान दिन्छु भने त्यो चाहिँ मेरो शारीरिकता हो । पैसा कमाउने कुरा परमेश्वरको श्राप होइन, आशिष् हो । परमेश्वरको आशिष् पाउन हात बाँधेर बसेर त हुँदैन । कोशिश गर्नुपर्छ । यसकारण पैसा कमाउने कुरा नराम्रो होइन, राम्रो कुरा हो किनकि मसँग पैसा छ भने अरूलाई सहायता गर्न सक्छु, आफूसँग छैन भने सहयोग गर्न सकिँदैन । कमाउनु नराम्रो होइन तर म कमाउनतिर मात्र लागेर मण्डलीलाई बिर्सनु, प्रार्थना नगर्नु, बाइबल नपढ्नु, सेवा संगति नजानुचाहिँ शरीरतिर ढल्केको, शारीरिक ख्रीष्टियन हुनु हो, आत्मिक ख्रीष्टियन होइन किनकि मैले शरीरको कुरालाई बढी जोड दिएँ, ध्यान दिएँ, आत्माको कुरालाई मैले एकातिर पन्छाएर राखेँ ।
आत्माका कुरालाई ध्यान नदिने ख्रीष्टियानहरूमा पाप स्वभावका कामहरू व्यभिचार, अपवित्रता, दुष्मनी, झैँझगडा, इष्र्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी, डाह आदि कुराहरूले भरिएका हुन्छन् तर आत्माका कुराहरूमा ध्यान दिने ख्रीष्टियानहरूमा आत्माका फल प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विस्वश्तता, नम्रता संयमका गुणहरूले भरिएका हुन्छन् (गलाती ५ः१९–२३) । हामी कुन कुरालाई बढी खुवाउँछौं ? “किनकि पाप–स्वभावका लालसा पवित्र आत्माको विरुद्ध हुन्छन्, अनि पवित्र आत्माको इच्छा पाप स्वभावको विरुद्ध । तिमी जे गर्न चाहन्छौ त्यसबाट तिमीहरूलाई रोक्नको निम्ति यीचाहिँ एकअर्काको विरुद्धमा हुन्छन् । तर यदि तिमीहरू पवित्र आत्माद्वारा डोर्इएका हौ भनेता तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ” (गलाती ५ः१६–१८) । मानिलिनुहोस्, दुई वटा कुकुरहरू छन्, एउटा कालो र अर्काे सेतो, घीनलाग्दो स्वभावको शरीरचाहिँ कालो कुकुर हो, अर्कोचाहिँ सेतो कुकुर । तपाईंले दुवै कुकुर घरमा पाल्नुभएको छ । तपाईं कुनचाहिँ कुकुरलाई बलियो बनाउन चाहनुहुन्छ । तपाईं आफैमाथि निर्भर गर्छ । यदि तपाईं कालो कुकुर बलियो होस् भन्ने चाहनुहुन्छ भने त्यसलाई तपाईं बढी समय दिनुहुन्छ । मीठो खानेकुरा खुवाउनुहुन्छ, औषधि उपचार पनि त्यसैलाई गर्नुहुन्छ । तपाईंले बढी ध्यान त्यसैलाई दिनुहुन्छ भने सेतो कुकुरको वास्तै गर्नुहुन्न । त्यसले खायो कि खाएन, पियो कि पिएन, त्यो कस्तो अवस्थामा छ, लुतो लागेको छ कि के छ, ध्यान नै दिनुहुन्न । सबै ध्यानचाहिँ कालो कुकुरमा छ । कालो कुकुरचाहिँ मोटाउँदै जान्छ, अनि सेतो कुकुरचाहि दुब्लाउँदै जान्छ ।
कालो कुकुरचाहिँ मोटाएको छ, सेतो कुकुरचाहिँ हाड र छालामात्र बाँकी छ ।
आज कति जना यस्ता ख्रीष्टियानहरू छन्, जसले आफ्ना आत्मिक जीवनलाई बेवास्ता गरिराखेका छन् । मण्डलीभित्रचाहिँ दुई–तीन घण्टा नाटक खेलेर जान्छन् । यदि तपार्ईंले सेतो कुकुर वा आत्मिक जीवन राम्रो होस् भन्ने चाहनुहुन्छ भने अब तपाईंले कालो कुकुरलाई ध्यान दिनुभएन । त्यो समयचाहिँ तपाईंले सेतो कुकुरलाई दिनुपर्यो । बाइबल पढ्ने, प्रार्थना गर्ने, सेवा संगतिमा जाने मण्डलीको कुरामा चासो लिने, मण्डलीलाई ध्यान दिने गर्नु पर्छ । समर्पित ख्रीष्टियान भनेकोचाहिँ यही नै हो । समर्पणको कागजमा हस्ताक्षर गरेर म समर्पित ख्रीष्टियान भएँ भन्ने अनि हप्ताभरिचाहिँ सांसारिक कुरामा मात्रै ध्यान दिने, अनि शनिबार एकदिन संगतिमा आयो, त्यसपछि आइतबारदेखि शुक्रबारसम्म संसारकै कुरामा रमायो । यस्तो मानिस त ख्रीष्टियान पनि हो कि होइन, छुट्टयाउन पनि गाह्रो हुन्छ । किनकि संसारकै मान्छे जस्तो, उनीहरूले जे खान्छन् त्यही खाइरहेको छ, जे बोल्छन् त्यही बोलिरहेको छ, उनीहरूको जस्तो व्यवहार छ, त्यस्तै व्यवहार गरिरहेको छ । उनीहरू गएको ठाउँमा गइरहेको छ, सबै सांसारिक मानिसहरू जस्तै गरिराखेको छ । अनि यस्तो मानिस मण्डलीको समर्पित सदस्य भएर के फाइदा भयो ? समर्पित भनेकोचाहिँ म मेरो जीवन प्रभुलाई दिन्छु प्रभुको कुराहरूमा ध्यान दिन्छु, मण्डलीमा ध्यान दिन्छु, प्रभुको सेवा संगतिका लागि समय निकाल्छु, फुर्सद निकाल्छु, मैले कमाएका धनसम्पत्ति मण्डलीलाई दिन्छु, दशांश मात्र होइन अरू भेटीहरू पनि दिन्छु, समय, शक्ति, सामथ्र्य दिन्छु, ममा भएका कुराहरू प्रभुलाई दिन्छु, आत्मिक कुराहरूमा ध्यान दिन्छु, भन्नुचाहिँ समर्पित ख्रीष्टियान हो, हामीले सधैँ आफ्नो साँचो समर्पणता र आत्मिक जीवनको नमूना प्रस्तुत गर्नुपर्छ ताकि अरूले पनि त्यसबाट धेरै कुरा सिक्न सकून् । “हामी पवित्र आत्माद्वारा जिउँछौं भने आत्माकै अनुसार हिँडौं” (गलाती ५ः२५)।