“ख्रीष्टमा – हामी परमेश्वरका धार्मिकता”– पाष्टर रोबर्ट कार्थक

October 31, 2014 | Articles  

२ कोरिन्थी ५ः२१मा पावल लेख्तछन्, ‘हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पापै नचिन्नुहुनेलाई परमेश्वरले हाम्रो खातिर पापबनाउनुभयो ।’
ख्रीष्ट येशूलाई आफ्ना व्यक्तिगत प्रभु र मुक्तिदाता गरी ग्रहण नगरेसम्म हामी सबै पापी थियौं । हामी पापी आदमका सन्तानहरू आदम जस्तै पापी थियौं । पहिलो आदमलाई छाडेर पछिल्लो आदम ख्रीष्टमा आएकोले हामी नयाँ सृष्टि भयौं । २ कोरिन्थी ५ः१७ ले भन्दछ, ‘यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो । पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ ।’ हामी जति जनाले ख्रीष्ट येशू प्रभुमा विश्वास गरेका छौं, हामी अब नयाँ भएका छौं । अघि हामी आदममा पापी थियौं, अब हामी ख्रीष्टमा धर्मी भएका छौं । रोमी ५ः१९ मा लेखिएको छ, ‘जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरै जना पापी बनाइए, त्यसैगरी एकै जनाको आज्ञाकारिताद्वारा धेरै जना धार्मिक बनाइने–
छन् ।’ अदनको बगैंचामा पहिलो आदमले शैतानको बहकाउमा परेर परमेश्वरको आज्ञा विरुद्ध भलो र बुरोको रूखको फल खायो । त्यसले परमेश्वरको आज्ञा तोड्यो । त्यसले पाप गर्‍यो र त्यो पापी भयो । त्यसका सबै सन्तानहरू पनि पापी भए किनकि पापीका सन्तानहरू पापी नै हुन्छन् । रोमी ५ः१८ अनुसार, ‘एउटै मानिसको अपराधले सबै मानिसहरू दण्डका भागीदार बने । आदमले पाप गर्‍यो, त्यो पापी भयो । पापी आदमका सन्तानहरू हामी पनि पापी भयौं । हामीले पनि नरककुण्डमा पापको दण्ड भोग्नुपर्ने भयो । हाम्रो सट्टामा कसैले हाम्रो पापको दण्ड नभोगेसम्म परमेश्वरले हामीलाई त्यसै क्षमा गरेर दण्ड–मुक्तगर्न सक्नुभएन । आफ्नै पापको दण्ड भोग्नुपर्ने पापी मानिसले अरूहरूको पापको दण्ड भोगिदिएर तिनीहरूलाई दण्ड–मुक्तगर्न पनि नसकिने भयो । यसैकारण पापै नजान्नुहुने येशू प्रभुलाई परमेश्वरले हाम्रो खातिर पाप बनाएर क्रूसमा हाम्रो पापको दण्ड भोग्न लाउनुभयो । ‘मेरो निम्ति क्रूसमा बलि भएर मैले पाउनुपर्ने दण्ड ख्रीष्टले भोगिसक्नुभएको छ । उहाँ मेरो मुक्तिदाता हुनुहुन्छ’ भनी उहाँमा विश्वास गर्नेले फेरि आफैले आफ्नो पापको दण्ड भोग्ननपर्ने भयो । त्यसले मुक्तिपायो । त्यो अब पापी रहेन, त्यो निष्पाप भयो, धर्मी भयो । रोमी ५ः१९ मा लेखिएको, ‘एकै जनाको आज्ञाकारिताद्वारा धेरैजना धर्मी बनाइनेछन्’ भनेअनुसार ख्रीष्ट येशूमा विश्वास गर्ने हामी सबै विश्वासीहरू धर्मी बनाइएका छौं । हिब्रू ५ः८ ले भन्दछ, ‘उहाँ पुत्रहुनुहुन्थ्यो तापनि आफूले भोग्नुभएको कष्टद्वारा उहाँले आज्ञापालन गर्न सिक्नुभयो ।’
फिलिप्पी २ः८ ले पनि भन्दछ, ‘मृत्युसम्मै अर्थात् क्रूसको मृत्युसम्मै उहाँ आज्ञाकारी रहनुभयो ।’ उहाँको यस्तो आज्ञाकारिताद्वारा हामी पापीहरू पनिउहाँमा विश्वास गरेर धर्मी बन्न सकेका छौं ।
मानिसले पाप गरेको कारण ऊ पापी भएको होइन तर ऊ पापी भएको कारण उसले पाप गर्दछ कारण उसमा पाप गर्ने स्वभाव छ । सुन्तलाको बोटले सुन्तला फलाएकोले त्यो सुन्तलाको बोट भएको होइन । त्यो सुन्तलाको बोट भएकोले नै त्यसले सुन्तला फलाएको हो । सुन्तलाको सट्टामा त्यसले अम्बा, स्याउ, केरा, दाख फलाउन सक्दैन । चाहे त्यसले सुन्तला फलाए पनि वा नफलाए पनि त्यो सुन्तलाको बोट नै हो र सुन्तलाको बोट भएरै रहन्छ । पापी आदमको सन्तान भएकोले मानिस पापी भयो । पाप कर्म गरेर ऊ पापी भएको होइन, पापी भएकोले नै उसले पाप कर्म गरेको हो । अम्बा फलाउनलाई सुन्तलाको बोट बदलेर अम्बाको बोट बन्नुपर्छ । यो बदलाउने काम सृष्टिकर्ता परमेश्वर बाहेक अरू कसैले गर्न सक्तैन । धर्मकर्म गरेर आफ्नो पाप–स्वभाव बद्लन खोज्नुचाहि“ प्लाष्टिक, रबर, काठका नक्कली फलहरू बडा दिनको समयमा क्रिष्टमस ट्रीमा झुण्ड्याएर साना केटाकेटीहरूलाई झुक्काउन खोज्नु जस्तो मात्र हुन्छ । यसैकारण पहिलो आदमको वंशअन्त्यगर्नलाई परमेश्वरले ख्रीष्ट येशू प्रभुलाई पछिल्लो आदमबनाएर क्रूसमा मर्न लाउनुभयो र उहाँको पुनरूत्थानद्वारा एउटा नयाँ मानिसको वंश शुरू गर्नुभयो । यसैले २ कोरिन्थी ५ः१७ ले भन्दछ, ‘यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो । पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ’ । २ कोरिन्थी ५ः२१अनुसार हामीलाई ख्रीष्टमा परमेश्वरको धार्मिकता बनाउनलाई पापै नजान्नुहुने ख्रीष्टलाई परमेश्वरले हाम्रो खातिर पाप बनाउनुभयो । येशू प्रभुले त पाप चिन्नु नै भएको थिएन । उहाँले कहिल्यै पाप गर्नु भएन, पाप सोच्नु भएन, पाप बोल्नु भएन(यूहन्ना ८ः४६)’ । उहाँमा कुनै पाप थिएन (१ यूहन्ना ३ः६) । एउटै पनि पाप नगरी परमेश्वरले आफ्नो निष्पाप, निर्दोष पुत्रलाई हाम्रो खातिर कसरी पाप बनाउनुभयो ? पाप गरेर नै मानिसहरू पापी बन्ने भए त ख्रीष्ट येशूले त एउटै पाप पनि गर्नुभएको थिएन र पनि उहाँ हाम्रो खातिर पाप बन्नुभयो, पापी बन्नुभयो । परमेश्वरले क्रूसमा पापी मानव–जातिको सारा पाप उहाँमाथि राखिदिनुभयो । हाम्रा सारा पापबोकेर हाम्रो निम्ति धर्मी ख्रीष्ट येशू पापी बन्नुभयो (यशैया ५३ः६) । ख्रीष्ट येशूले हाम्रा सबै पाप, अपराधको दण्ड क्रूसमा भोगिदिनुभयो । उहाँ हाम्रो सट्टामा मर्नुभयो, बलिदानहुनुभयो । त्यति बेला परमेश्वरले ख्रीष्ट येशूमा भएको उहाँको धार्मिकता हामीलाई दिनुभयो । येशू प्रभुको क्रूसमा पापी मानव जातिको पाप र पवित्र परमेश्वरको धार्मिकताको साटासाट भयो । पापी मानिसको सारा पापप्रभु येशूलाई दिनुभयो अनिउहाँको धार्मिकता मानिसलाई दिनुभयो । पापै नगरी निष्पाप येशूलाई पाप बनाउनुहुने परमेश्वरले येशू प्रभुमा विश्वास गर्ने पापीलाई त्यसले एउटै धर्मकर्म नगरेरै पनि धर्मी बनाउन सक्नुहुन्छ । त्यसले धर्मकर्म गरेर अबआफैलाई धर्मी बनाउने कोशिश गर्न पर्दैन खाली येशू प्रभुमा विश्वास गरे पुग्छ ।
अब हामी धर्मकर्म गर्छौं धर्मी बन्नलाई होइन तर ख्रीष्टमा विश्वास गरेर धर्मी भएकोले । धर्मकर्म हाम्रो निम्ति मुक्तिको जरा होइन तर मुक्तिको फल हो (एफिसी २ः८–१०) ।
ख्रीष्टमा परमेश्वरको धार्मिकता बनिसके पछि पनि पाप गरेर हामी फेरि पापी त बन्दैनौं ? परमेश्वरले हामीलाई धर्मी ठहराउनुहुँदा उहाँले हाम्रा जन्म देखि मृत्युसम्मका जम्मै पाप–अधर्महरू क्षमा गरिदिनुभयो । त्यति मात्र होइन, उहाँले त ती पाप–अधर्महरू फेरि स्मरणसम्म पनि गर्नु हुन्न(हिब्रू ८ः१२, १०ः१७, रोमी ३ः२५) । २ कोरिन्थी ५ः१९ अनुसार त उहाँले अहिले भइरहेका हाम्रा पाप–अधर्मको पनि लेखालिनु हुन्न, हिसाब राख्नु हुन्न, वास्तागर्नु हुन्न । ख्रीष्टमा नयाँ सृष्टि भएको, परमेश्वरबाट जन्मेको हाम्रो आत्माले त पापगर्न नै सक्दैन (१ यूहन्ना ३ः९) । हाम्रो मन र हाम्रो शरीरले चाहिँ पाप गरिरहन्छ
कारण मन र शरीरले अझसम्म पापबाट पूरा छुट्कारा पाइसकेको छैन । परमेश्वरले नै हामीलाई ख्रीष्टमा धर्मी ठहराइसक्नुभएको हुनाले अब हामीबा टभएका पाप–कर्मले हामीलाई फेरि पापी बनाउन सक्दैन । जसरी पापी मानिसले धर्मकर्म गरेर आफैलाई धर्मी बनाउन सक्दैन, त्यसरी नै परमेश्वरले धर्मी ठहराइसकेको मानिसले पाप–कर्म गरेर आफैलाई पापीबनाउन सक्दैन । त्यसले पाप गरेतापनि अब त्यो पापी बन्न सक्दैन किनकि परमेश्वरले त्यसलाई ख्रीष्टमा धर्मी ठहराइ सक्नुभएको छ ।
त्यसो हो भने ता विश्वासीले अब उसो जस्तै पाप गरे पनि हुन्छ ? के उसलाई पाप गर्नलाई छुट मिलेको छ ? हो, उसलाई पाप गर्नलाई छुट मिलेको छ । बितेका समयका जम्मै पाप–अधर्महरू परमेश्वरले क्षमा गरिदिनुभयो र बिर्सिदिनु पनि भयो, अहिले भइरहेका र पछि हुने पाप–अधर्मको पनि उहाँले लेखालिनु हुन्न, हिसाब राख्नुहुन्न । के यो कुरोले विश्वासीलाई मनपरी पाप गरिहिँड्ने ‘छाडा’ व्यक्ति बनाउँदैन र ? उत्तरको लागिरोमी ६ः१–२, १५–१८ पढ्नुहोस् । हामी विश्वासीहरू पाप गर्न सक्छौं तर हामी पाप गर्दैनौं, नरककुण्डको डरले होइन, दण्ड र श्रापको डरले होइन तर हामी परमेश्वर पितालाई, मुक्तिदाता प्रभु ख्रीष्टलाई, पवित्रआत्मा परमेश्वरलाई प्रेम गर्छौं । हामी उहाँहरू प्रति अत्यन्तै धन्यवादी छौं र उहाँहरूलाई शोकित गराउन चाहँदैनौं । पाप गर्ने छुट त पाएका छौं तर हामी पाप गर्दैनौं, डरको कारणले होइन तर प्रेमको कारणले । कसैले ‘म विश्वासीहुँ’भनेर पनि केही संकोच
नै नमानी स्वेच्छा पूर्वक पाप गरिरहन्छ भने ऊ खास विश्वासी होइन, ऊ नाम मात्रको विश्वासी हो । ऊ परमेश्वरबाट जन्मेको छैन । उसले ख्रीष्टमा नयाँ जन्म पाउन बाँकी नै छ । १ यूहन्ना ३ः९ ले भन्दछ, ‘परमेश्वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन किनकि उहाँको स्वभाव त्यसमा रहन्छ । त्यसले पाप गरिरहन सक्दैन किनभने त्यो परमेश्वरबाट जन्मेको हो ।’
यसैकारण अब हामी विश्वासीहरू ख्रीष्टमा परमेश्वरका धार्मिकता बनेका छौं, अनि सधैँ सम्म परमेश्वरको धार्मिकता बनिरहनेछौं ।

म र मेरो परिवार (“म”भन्नाले परिवारको कुनै पनि सदस्यहुन सक्छ ।) – पाष्टर डा. राजेन्द्र रोंगोंग

October 6, 2014 | Articles  

अघिल्लो सूचना पत्रमा म र मेरो परिवार शीर्षक अन्तर्गत केही चर्चा भएको थियो । त्यहाँ हामीले परिवारका सदस्यहरू श्रीमान्–श्रीमती, छोराछोरी, मालिक–सेवक हुन्छन् भनी हेरेका थियौं । हामीले यो पनि हेर्‍यौं कि परमेश्वरले नै परिवारको सृजना गर्नुभएको हो र परिवारको विशेष उद्देश्य परमेश्वरको महिमा र उहाँको सृष्टिको हेरविचार गर्नु हो ।

उक्त लेखमा परिवारबारे छोटकरी व्याख्या मात्र गर्न सकिएको  थियो । यो विषयअतिगहन छ र यस बारे अनेकौं पुस्तकहरू लेखिएका छन् र लेखिने छन् । परिवारका अनेकौं पक्ष छन् र आजको संसारमा यसलाई हेर्ने, पढ्ने विभिन्न दृष्टिकोण छन् । तर हामी इसाईहरूको निम्ति एउटै दृष्टिकोण वा एउटै आधार छ, त्यो हो बाइबल ।

हामी अन्यजातिहरूका निम्ति परमेश्वरका सेवक पावलले  प्रभु येशु ख्रीष्टलाई आफ्नो मुक्तिदाता र प्रभु भनी विश्वास  गरेर बप्तिस्मा लिएकाहरूलाई हामी परमेश्वरद्वारा नयाँ बनाइएका छौं भनी बारम्बार स्मरण गराइरहन्छन् र त्यसको आचरणमा जिउनलाई उत्साह दिन्छन् र इसाई परिवार सम्बन्धी पनि यसै अनुरूप शिक्षा दिन्छन् । एफिसी ५:२२—२३ उनले स्पष्टरूपमा परिवार सम्बन्धी आचरणको व्याख्या गरेका छन् । पहिले उनी इसाई श्रीमतीहरूलाई भन्छन्ः “पत्नीहो, प्रभुको अधीनमा रहे जस्तै आ—आफ्ना पतिको अधीनमा बस ।” यस अघि  एफिसी ५:२१ मा अधीनताको आधरभूत सिद्धान्त उल्लेख गर्छन् । “ख्रीष्टको श्रद्धामा एक—अर्काको अधीनमा बस ।” त्यस पछि सबै इसाई पत्नी-श्रीमतीहरूलाई “अधीनता सम्बन्धी”अर्ती दिन्छन् । यो अर्ती सबै पत्नीहरूको निम्ति हो । श्रीमतीहरू श्रीमान्भन्दा बढी पढेलेखेका, क्षमतावान, धर्मशास्त्रको ज्ञान भएका र अन्य गुण भएकाहरू भएता पनि उनीहरू श्रीमान्को अधीनमा रहनुपर्छ । यसको अर्थ श्रीमान्ले हुकुमीशासन चलाएर श्रीमतीलाई अधीनमा राख्नु भनेको कदापी होइन । यसको वास्तविक अर्थ श्रीमतीले खुशी साथ स्वेच्छा पूर्वक आफूलाई प्रेममा समर्पण गर्नु हो । “आ—आफ्नो पति”वाक्यांशले यो अधीनता एउटै पुरुषतर्फ हुनुपर्छ जसलाई परमेश्वरले पत्नीको शिर हुनलाई दिनुभएको छ ।

आत्माले भरिएकी श्रीमतीले आफ्नो पतिलाई परिवारको शिर परमेश्वरद्वारा निर्धारण गरिएको हो भनी बुझ्नुका साथै,त्यस भन्दा बढी ख्रीष्ट मण्डली रूपी दुलहीको शिर रहनु भएअनुसार पति शिर हुन् भनी बुझ्छिन् र विश्वास गर्छिन् । पतिहरूको निम्ति अझ अर्ती छन्ः परिवारमा पतिलाई अधिकारको स्थानमा राखिएको छ तर यो अधिकार सँगै आफ्नी श्रीमती प्रति गहन जिम्मेवारी दिइएको छ । पतिहरूले पत्नीहरूलाई ख्रीष्टले  झैँ बलिदानरूपी प्रेम गर्नुपर्छ । ख्रीष्टले मण्डलीको लागि आफूलाई रित्याइकन आफ्नो प्राण दिनुभएको थियो । इसाई पतिले आफ्नी पत्नीलाई दिनुपर्ने मापदण्ड यहीहो ।

परमेश्वरले पति–पत्नी दुवैलाई  स्पष्ट निर्देशन दिनुभएको छ । उनीहरू बीच आइपर्ने बाधा–अड्चन, समस्या समाधानका निमित्त दुवै तर्फबाट परमेश्वरले दिनुभएको मार्ग निर्देशनलाई पछ्याउनुपर्छ ।

यी सबै सम्भव हुन्छन् जब श्रीमान् र श्रीमती दुवै परमेश्वरको नजीक छन् र परिवारमा पारिवारिक वेदी रहेको हुन्छ अर्थात् परिवार सधैँ परमेश्वरका वचन र प्रार्थनाका निमित्त भेट्छन् । खर्चको अभाव, श्रीमान्–श्रीमतीका पुरुषवा महिला साथीहरू, छोराछोरीको अनुशासन सम्बन्धी कुराहरू, श्रीमान् र श्रीमती तर्फका शाखा सन्तानका कुरा, जाँड–रक्सी सेवन आदि आदि कुराहरूले घरमा झैँ झगडा, अशान्ति  ल्याउँछ । यस्तो समयमा कसैले पनि एकलौटी निर्णय लिनुहुन्न साथै म ठीक र “ऊ” बेठीक भनी कहिल्यै निर्णय गर्नुहुन्न । यदि पति वा पत्नी आत्माले भरिएको विश्वासी भनी भन्छन् भने सबैभन्दा पहिले एकछिन चूपचाप रही सहायताको निम्ति परमेश्वरसँग गोप्य–प्रार्थना गर्नु आवश्यक छ । दुईमध्ये एकले मात्र यसो गरेस्थिति सामान्य हुन्छ र केही समाधानका बाटो निस्कन्छ । यदि पति–पत्नी दुवै मिलेर प्रार्थना गरेमा त्यो दूषित स्थिति परिवर्तन भई परमेश्वरले दिनुभए अनुसार आनन्द र शान्तिको वातावरण आउनेछ ।

यसैगरीैबाबु–आमा, छोरा छोरीकोै सम्बन्धै पनिै ठीक रहनु–
पर्छ । यो भन्न सजिलो छ; गर्न गाह्रो तर विश्वासीरूको निमित्त उचित सल्लाह र मार्ग निर्देशन बाइबलमा प्रष्टाइएको छ । छोराछोरीले बाबु–आमाको आज्ञा पालन गर्नु र मान (इज्जत) गर्नुपर्छ (एफिसी ६:१–२) । वर्तमान समयमा छोराछोरीहरू आमा–बाबुभन्दा धेरै पढेका हुन्छन् र धेरै कुरा जान्ने हुन्छन् । यस्तो भएतापनि  छोराछोरीले  आमा–बाबुको आज्ञा–पालन र मान अथवा इज्जत गर्नुपर्छ (हितोपदेश २३:२२–२३) । यसबाट छोरा छोरीहरूलाई भलाईका साथै दीर्घायु (एफिसी ६:३) प्राप्त हुन्छ । यी परमेश्वरका वचन हुन् यो अवश्य पूरा हुने नै छ ।

आमा–बाबुले पनि छोरा छोरीहरूलाई रीस उठाउनु हुन्न । उनीहरूलाई प्रभुको “अनुशासन र शिक्षामा”हुर्काउनुपर्छ । यो सजिलो छैन । नियम पुर्‍याउने हिसाबले मात्र यो गरिनु हुन्न । बाबु–आमाले पहिले आफूलाई परमेश्वरको अनुशासनमा राख्न सक्नुपर्छ । आफूले गरेर, देखाएर भनेको कुरा प्र्र्र्रभावशाली हुन्छ । छोराछोरीलाई हुर्काउने र विशेषतःहुर्कदै गरेका वा हुर्किसकेका छोरा छोरीहरूको व्यवहार चुनौतीपूर्ण छ । हाम्रै
संसारका ज्ञान–बुद्धिले हुन सक्तैन । यसकालागि परमेश्वरको अनुग्रहमा आमा–बाबुले परिवर्तन गरिरहनुपर्छ ।
यी सबै भनाइले छोरा छोरीलाई सधैँ फुर्काउनुपर्छ भन्ने होइन । उनीहरू पनि व्यक्ति हुन्, उनीहरूको पनि आफ्नो विचार हुन्छ, तर्क गर्ने क्षमता हुन्छ, इच्छा हुन्छ । यी सबै बुझेर आमा–बाबुले उनीहरू सित व्यवहार गर्नुपर्छ । हामीहरूको निम्ति प्रभु  येशूले  पवित्र आत्मा पठाइदिनुभएको छ । उहाँ हामीसँग सधैँ बस्नुहुने सल्लाहकार हुनुहुन्छ (यूहन्ना १४:१६) ।

पवित्रआत्मा परमेश्वरले हामीलाई चाहिएको ज्ञान–बुद्धि, सल्लाह, समझ, बाबु–आमा, छोराछोरी सबैलाई निरन्तर झिँझो नमानी दिनुहुन्छ ।

के हामी हाम्रा परिवारबाट परमेश्वरका महिमा भएको चाहन्छौं? निर्णय हाम्रै परिवारको हो । सहायताको निमित्त पवित्र आत्मा हामीसँगै हुनुहुन्छ ।

म र मेरो परिवार – पाष्टर डा राजेन्द्र रोंगोंग

September 10, 2014 | Articles  

म एक स्वतन्त्र व्यक्ति हुँ ता पनि म एउटा परिवारको सदस्य हुँ । एफिसी ५:२२–२९, ६:१–९ अनुसार परिवार एउटै घरमा बस्ने श्रीमान– श्रीमती; छोरा–छोरी, मालिक–सेवकले बनेको हुन्छ ।
बाइबलमा परिवारसम्बन्धी छुट्टै वा विशेष रूपमा व्याख्या नगरिएता पनि, परिवारबारे अनेकौंं संदर्भहरू पाइन्छन् । ती मध्ये केही सम्बन्धित संदर्भको चर्चा गरिएको छः
परिवारबाट परमेश्वर के चाहनुहुन्छ ?
१. पृथ्वीमा पहिलो परिवार परमेश्वरले सृष्टि गर्नुभयो । आदम र हव्वा (श्रीमान र श्रीमती) लाई आफ्नै स्वरूपमा सृष्टि पृथ्वी र त्यसमा भएका सबै कुराहरू उनीहरूको अधिकारमा दिनुभयो
(उत्पत्ति १:२७–३०) ।
परमप्रभु परमेश्वरले परिवारबाट उहाँले सृष्टि गर्नुभएको सबै कुराहरूको सेवा र हेरचाह गर्ने अपेक्षा राख्नुभएको थियो ।
यहोशूले यो तथ्यलाई राम्ररी बुझेका थिए । उनले आफुसँग मिश्रबाट छुट्कारा पाइआएका इस्राएलीहरूलाई चुनौती दिँदै यो भनेका थिए, “…तर म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं” (यहोशू २४:१५) ।
यसैले परमेश्वरमाथि विश्वास गर्ने, उहाँसित व्यक्तिगत सम्बन्ध भएका प्रत्येक परिवारबाट परमेश्वरको महिमा र उहाँले सृष्टि गरी मानिसहरूलाई अधिकार दिनुभएको कुराहरूको ठीक हेरचाह अथवा व्यवस्थापन गरेको चाहनुहुन्छ ।
परिवार बलियो हुनुपर्छ
परमेश्वरको इच्छा पूरा गर्नलाई परिवारलाई बलियो हुनुपर्ने अति आवश्यक छ । परमेश्वरलाई विरोध गर्ने शैतानलाई यो थाहा छ यसैले शुरूदेखि नै त्यसले परिवारलाई कमजोर पार्ने कोशिष गर्दै आएको छ ।
परिवारलाई कमजोर गर्ने वा नाश गर्ने त्यसको सशक्त प्रयास जारी छ । अहिले यो समयमा सायदै यस्ता परिवार होला जहाँ शैतानको आक्रमण भएको छैन । त्यसलाई यो थाहा छ कि परिवारहरूले परमेश्वरको सेवा गरेमा परमेश्वरको राज्यको विस्तार हुन्छ र साथै बलियो पनि ।
यसैले शैतानले परिवारमाथि आक्रमण गरेको छ र परमेश्वरको राज्यको वृद्धिअनुसार त्यसले आफ्नो आक्रमणलाई तीव्र पार्दै लगेको छ । त्यसको आक्रमण देखिने रूपमा वा उग्र रूपमा नआउला तर अत्यन्त चलाखीपूर्ण अर्थात् हामीलाइ थाहै नहुने गरी परिवारमाथि निरन्तर हमला गरिरहेछ ।
परिवार कसरी बलियो हुन्छ ?
परिवारलाई बलियो बनाउने तत्व प्रेम हो । परमेश्वर प्रेम हुनुहुन्छ (१ यूहन्ना ४:८), यसैले उहाँका सबै कामको आधार प्रेम नै हुनुहुन्छ । उहाँले पहिलो परिवार सृष्टि गर्नुभयो, त्यो प्रेममा आधारित थियो । एफिसी ५ अध्यायमा श्रीमान–श्रीमती, बाबु–आमा, छोरा–छोरी, मालिक–सेवक सबैको सम्बन्ध प्रेममा आधारित हुनुपर्ने जोड दिएको छ । परिवारको सम्बन्ध बलियो हुनु र नहुनुमा परिवारलाई बाँध्ने तत्व प्रेममा भर पर्दछ ।
यस्तो प्रेम मानिसको कोशिषबाट हुन सक्दैन । मानिसबाट उपज भएको प्रेम धोकापूर्ण छ । धर्म शास्त्रअनुसार “मानिसको मन (हृदय) सबैभन्दा छली हुन्छ” (यर्मिया १७:९) । हाम्रो परिवारलाई बलियो बनाइराख्न “…पवित्र आत्माद्वारा हाम्रो हृदयमा खन्याइएको प्रेम” (रोमी ५:५) चाहिन्छ । यो प्रेमको वर्णन १ कोरिन्थी १३:४–८ मा प्रष्ट पारिएको छ ।
आपसी प्रेमका साथै परिवारको वेदी पनि बलियो हुनुपर्छ । वेदी भनेको त्यो ठाउँ जहाँ हामी परमेश्वरसित भेट्छौं । यसको लागि कुनै विशेष स्थान चाहिँदैन । सुत्ने कोठा, चूल्हा, बार्दली जहाँ सँगै बसेर परमेश्वरसँग संगति गर्न सक्छौं त्यही नै वेदी बन्दछ । संगतिको अर्थ परमप्रभुसँग समय बिताउनु हो । पहिले स्तुति प्रशंसा, बाइबल पढाइ अनि प्रार्थना अर्थात् शनिबारको दिन मण्डली भवनमा गरिने सबै कुरा जस्तै गर्नुपर्छ भन्ने होइन ।
माथिको भनाइबाट यी सबै कुरा गर्नु हुँदैन भनेको होइन । तर प्रभुको वेदीमा जानुको अर्थ परमेश्वरसँग भेट गर्नु हो, उहाँको स्तुति–प्रशंसा गर्नु हो, उहाँको वचन सुन्नु हो, आफ्ना बिन्तीहरू राख्नु हो । यी सबैले हामीलाई परमेश्वरको नजीक राख्दछ । जब हामी परमेश्वरको नजीक रहन्छौं शैतानले हामीलाई आक्रमण गर्न सत्तैन ।
नहेम्याह र बेबिलोनको कैदबाट फर्केका इस्राएली कैदीहरूले मुक्त भएर यरूशलेममा परमेश्वरको मन्दिर मर्मत गर्न लागेका थिए, शत्रुहरूले उनीहरूको काममा बाधा दिन थाले । नहेम्याह उनीहरूका अगुवा थिए । उनी परमेश्वरका भय मान्ने व्यक्ति थिए । उनीहरू संख्यामा थोरै थिए, शत्रु धेरै र शक्तिशाली तर उनी डराएनन् किनकि उनी परमेश्वरमा विश्वास गर्थे ।
नहेम्याहले के गरे हेरौं
“…तब उठेर मैले ती सबको निरीक्षण गरेँ र भारदारहरू, अधिकृतहरू र सबै मानिसलाई यसो भने, उनीहरूसँग नडराओ महान र भययोग्य परमप्रभुको सम्झना गर, र आफ्ना दाज्यू–भाइ, छोरा–छोरी, पत्नी र घरहरूका निम्ति युद्ध गर” (नहेम्याह ४:१४) ।
यही नै उनीहरूको सफलताको आधार भयो उनीहरूले आफ्नो काम, जो परमेश्वरको इच्छाअनुसार थियो, पूरा गरे ।
हामी पनि लडाईंमा छौं । हाम्रो लडाईं सांसारिक लडाईं होइन “हामीहरूको शरीर र रगतको विरूद्ध होइन, तर प्रधानताहरूका र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याईंका आत्मिक सेनाहरूको विरूद्ध हो” (एफिसी ६:१२) । यही हो शैतानको आक्रमण र हाम्रो लडाईं । यस लडाईंको निमित्त परमेश्वरले सबै कुरा तयार गरिदिनुभएको छ । हामीले ती जानेर आज्ञा पालन गर्नु मात्र आवश्यक छ । अन्य सबै कुरा उहाँले गर्नुहुनेछ ।
यसैले परिवारका एक एक सदस्यले आफ्नो परिवार निर्माण वा सुधारको निमित्त के गर्नुपर्छ विचार गरौं र काम गरौं । यो मेरो विचारले मात्र हुँदैन, पवित्र आत्मा हामीलाइ सहायता गर्न सधैँ तयार हुनुहुन्छ । मागौं उहाँले दिनुहुन्छ ।

म हुँ भन्ने येशूलाई चिन्नु नै जीवन पाउनु – डिकन सिमोन पाठक

August 4, 2014 | Articles  

वचनको सत्यताको ज्ञान नै छैन भने कसरी परिपक्वतातिर बढ्दै जाने ? आत्मिक परिपक्वता वचनको सत्यतामा जिउनुको परिणाम हो । परमेश्वरको वचनको गहिरो अध्ययन र वचनको प्रकाशले आत्मामा बलियो र परिपक्व बन्नलाई मदत मिल्दछ । कुनैपनि मण्डली प्रभावशाली हुनु हो भने हरेक हप्ता पुलपिटबाट प्रचारिने प्रवचनको गुदी ठोस हुनुपर्छ साथै हप्ताको बीचमा हुने संगतिहरूमा वचनको गहिरो अध्ययन हुनुपर्दछ । नेइममा हप्ताको बीचमा हुने घरेलु संगतिहरूमा यूहन्नाको पुस्तकबाट अध्ययन गर्ने निर्णय सँगै पाठबाट हेर्न शुरू भएको छ ।
नेइमले ५७ बसन्त पार गर्न लागेको छ । मण्डली वृद्धिसँगै मण्डलीलाई अगुवाइ गर्ने अगुवाहरूको पनि वृद्धि भएको छ । ५७ वर्षको अन्तरालमा अगुवाहरूको धर्मशास्त्र बुझाई र आत्मिकी तहको अन्तराल पनि ठूलो छ । त्यसकारण सबैलाई चित्त बुझ्ने पाठ तयार गर्नु चुनौतिपूर्ण कार्य हो । सबै तहका अगुवाहरूलाई मध्यनजर गरेर घरेलु संगतिको पाठ तयार गरिएको छ । पाठ तयारीमा परमेश्वरबाटको बुद्धि र वचनको प्रकाशको ज्ञानको निम्ति मण्डली परिवारको प्रार्थना अपरिहार्य छ ।
यूहन्नाको पुस्तकलाई समग्रमा हेर्दाः यूहन्नाको पुस्तकका लेखक येशूले अति नै प्रेम गर्नुहुने चेला यूहन्ना हुन् । उनले यो पत्र इ.सं. ७० देखि ९० को बीचमा एफिससबाट लेखेका थिए । मत्ती, मर्कूस, लूकाको सुसमाचार लेखिएको धेरै समयपछि मानिसहरूमा एउटा प्रश्न उठ्न थाल्यो । के परमेश्वर मानिस बन्न सक्नुहुन्छ ? परमेश्वर असल हुनुहुन्छ तर मानिस खराब छ । तब कसरी असल परमेश्वर खराब मानिस बन्न सक्नुहुन्छ ? यसरी मानिसहरूले येशू परमेश्वर हुनुहुन्छ भन्ने कुरामा नै शंका गर्न थाले । यही शंकालाई हटाउन र येशू परमेश्वर भएर पनि मानिस बन्नुभयो भन्ने सत्यतालाई बुझाउन यूहन्नाले यो सुसमाचारको पुस्तक लेखेका हुन् ।
यूहन्नाको पुस्तकलाई विशेष गरी दुई खण्डमा विभाजित गरेर अध्ययन गर्न सकिन्छ । पहिलो भागमा येशूको सार्वजनिक वा बाहिरी सेवकाइलाई जोड दिएको पाइन्छ (१–१२ अध्यायसम्म) । दोस्रो भागमा येशूको व्यक्तिगत सेवकाइलाई जोड् दिएको पाइन्छ (१३–२१ अध्यायसम्म) । “…तिमीहरुले येशू परमेश्वरका पुत्र, ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर, र विश्वासद्वारा उहाँको नाउँमा तिमीहरुलाई जीवन प्राप्त होस्” भन्ने यो पुस्तकको मुख्य उद्देश्य हो (यूहन्ना २०:३०, ३१) । यूहन्नाले येशूलाई ‘वचन’ शब्दद्वारा वर्णन गरेका छन् (यूहन्ना १:१) । त्यही वचन नै देहधारी हुनुभयो जो येशू ख्रीष्ट हुनुहुन्छ (यूहन्ना १:१४) । उहाँ नै परमेश्वर हुनुहुन्छ । उहाँ बाहेक अरू कुनै परमेश्वर छैन भन्ने कुरालाई बुझाउनु नै उनको मुख्य उद्देश्य हो ।
यूहन्नाको सुसमाचारमा अन्ठानब्बे (९८) पटकभन्दा बढी ‘विश्वास’ शब्द उल्लेख गरेको पाइन्छ । यो पुस्तकको मुख्य शब्द ‘विश्वास’ नै हो । विश्वासको निम्ति प्रयोग गरिएको ग्रीक शब्द ‘पिष्ट्यूओे’ (Pisteuo)हो । यो शब्द प्रायजसो वर्तमान कालमा प्रयोग गरिएको छ । यूहन्नाले येशूमा विश्वास गर्ने र उहाँमा भरोसा गर्ने कुरालाई क्रियाशिल र निरन्तर हुनुपर्छ भन्ने कुरामा जोड् दिएका छन् । उनले यस पुस्तकमा येशूको मृत्यु र पुनरूत्थानलाई सुसमाचारको केन्द्र बनाएका छन् ।
सात आश्चर्यकर्महरूः येशू पृथ्वीमा हुनुहुँदा धेरै संख्यामा चिन्ह र आश्चर्यकर्महरु गर्नुभयो (यूहन्ना २०:३०. २१:२५) । उहाँले प्रत्येक आश्चर्यकर्मको पछाडि केही न केही सन्देश वा उहाँ को हुनुहुन्छ सो प्रकट गर्नुभएको छ । पाँच हजारलाई खुवाउनुभएपछि जीवनको रोटी म नै हुँ भनी बुझाउनुभयो (यूहन्ना ६:११–१३. ३५) । जन्मैदेखिको अन्धोलाई दृष्टि दिनुभएपछि आत्मिक अन्धोपनको विषयमा शिक्षा दिनुभयो (यूहन्ना ९:६–७. ३५–४१) । पुनरुत्थान र जीवन म नै हुँ भन्ने शिक्षा दिनुभएपछि लाजरसलाई मृत्युबाट जीवित पार्नुभयो (यूहन्ना ११:२५–२६. ४३–४४) ।
यूहन्नाले येशूले गर्नुभएका सातवटा आश्चर्यकर्महरु अथवा चिन्हहरू यस पुस्तकमा उल्लेख गरेका छन् (यूहन्ना २:१–१२:५०) । यी सबै चिन्हहरूद्वारा उहाँ मसीह, परमेश्वरको पुत्र ख्रीष्ट हुनुहुन्छ भनी उहाँको ईश्वरत्वलाई बुझाइएको छ । यूहन्नाको पत्रमा उल्लेख भएका सात विशेष आश्चर्यकर्महरूः पानीलाई दाखमद्यमा परिणत गर्नुभएकोे, उच्च अधिकारीको छोरा निको पारिएको, पक्षघाती निको पारिएको, पाँच हजारलाई खुवाउनुभएको, पानीमाथि हिँडनुभएको, जन्मैदेखिको अन्धो मानिस निको पारिएको, लाजरसलाई मृतकबाट बौरी उठाउनुभएको ।
येशूले गर्नुभएका सातवटा आश्चर्यकर्महरूद्वारा पितामा भएको महिमा पुत्रमा प्रकट गरिएको छ । पुत्र ईश्वरत्वको एक व्यक्ति हुनुहुन्छ । उहाँ परमेश्वर नै हुनुहुन्छ । उहाँमा विश्वास गर्नेहरूले धोका खाने छैनन् तर जीवन पाउनेछन् भनी बुझाउनको निम्ति यूहन्नाले येशूले गर्नुभएका अनगन्ती आश्चर्यकर्महरू मध्येबाट सातवटा आश्चर्य कर्महरूलाई आफ्नो लेखमा उल्लेख गरेका छन् ।
सातवटा “म हुँ” वाक्यांशहरूः यूहन्नाको पुस्तकमा सात पटक “म हुँ” भन्ने वाक्यांशहरू उल्लेख गरिएको छ । येशू नै परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई उहाँले बोल्नुभएका “म हुँ” भन्ने वाक्यांशहरूद्वारा प्रष्ट पारिएको छ । यूहन्नाको पुस्तकमा उल्लेख गरिएका सातवटा “म हुँ” भन्ने वाक्यांशहरूः जीवनको रोटी म हुँ (यूहन्ना ६:३५), म संसारको ज्योति हुँ (यूहन्ना ८:१२), ढोका म नै हुँ (यूहन्ना १०:७–९), म असल गोठालो हुँ (यूहन्ना १०:११), पुनरूत्थान र जीवन म नै हुँ (यूहन्ना ११:२५), बाटो, सत्य र जीवन म नै हुँ (यूहन्ना १४:६), साँचो दाखको बोट म हुँ (यूहन्ना १५:१, ५) ।
येशूले भन्नुभएको “म हुँ” वाक्यांशहरू र प्रस्थान ३:१४. प्रकाश १:४, ८ र प्रकाश २२:१३ पदहरूलाई दाँजेर अध्ययन गर्दा मोशालाई “म हुँ” भन्नुहुने यहोवे परमेश्वर र येशू समान हुनुहुन्छ । येशूले भन्नुभयो “पिता र म एक हौं” (यूहन्ना १०:३०) । यदि कसैले येशूलाई पिताभन्दा दोस्रो दर्जामा राखेर शिक्षा दिन्छ र उहाँको आज्ञाहरू तोड्छ भने तिनीहरूले अनन्त जीवनको सट्टा अनन्त दण्ड पाउनेछन् (यूहन्ना ३:३६) । हामीले पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वरलाई ठूलो र सानो गरेर दर्जाको श्रेणीमा राख्न मिल्दैन । हामी सबै यूहन्नाको पुस्तक अध्ययन गरौं र “म हुँ” भन्ने येशूलाई गहिरोसँग चिन्दै र उहाँको महिमा गर्दै ख्रीष्टियन जीवन बिताऔं ।
(सन्दर्भ सामग्रीः यूहन्ना सम्बन्धी लेखिएका विभिन्न पुस्तक–पुस्तिकाहरू)

धापासी कबरस्थान – पाष्टर बिर बहादुर खवास

July 10, 2014 | Articles  

धापासी कबरस्थान
सूचना–पत्र २००३ मेरो पहिलो लेख “धापासी किन प्रिय” का केही सारांसः–
हुनलाई जुन ठाउँलाई हामी धापासी भनिरहेछौं, त्यो ठाउँ वास्तवमा खड्गा भद्रकाली गाउँ विकास हो । धापासी निवासी श्री नर बहादुर दाई जो प्रभुमा सुतिसक्नुभो–उहाँकै प्रयास र पहलमा प्रभुले यो स्थान नेपाली इसाई मण्डलीलाई २०३२ वैशाखमा सिमेट्रीको लागि उपलब्ध गराइदिनुभएको हो । यसरी दाईको गा.वि.स. धापासी भएकोले हामीले सिमेट्रीलाई पनि धापासी भनिरहेछौं । उसो त मालीगाउँ गा.वि.स.मा भएको मण्डली घर जग्गालाई पनि यस्तै इतिहासको कारणले हामी ‘ज्ञानेश्वर’ मण्डली भन्दै आयौं जसरी बाल संगतिलाई ‘सण्डे स्कुल’ भन्दै आएका छौं । यी नाउँहरू यसरी प्रियहरू भएका छन् ।
ठाउँ जस्तै होस् प्रियहरू बसेकोले त्यो प्यारो नै हुन्छ । यसैले होला मन परेको मानिसको सँगै जग्गा किनेर घर बनाउने चलन आएको । धापासी हाम्रो लागि अघिभन्दा झन् प्रिय बन्दै गइरहेछ । हाम्रा गुरुआमा श्रीमती मेरी कार्थकको पार्थिव शरीर त्यहाँ राखिएको समयपछि त हामी धेरैको लागि त्यो ठाउँ मूल्य मात्र नभएर, बहुमूल्य र प्रिय हुन गयो । माया गरेको व्यक्तिलाई मृत्युपछि कति माया गर्ने ? कति सम्झना गर्ने ? सिमा तोक्न र अड्कल काट्न सकिन्न । बादशाह शाहजहाँले भारतको आग्रामा ममताजको स्मरणमा ताजमहल बनाएछन् ।
पहिलो इतिहास १७:१ मा दाऊद राजाले नातान भविष्यवक्तालाई भने “म ता यहाँ देवदारूको घरमा बस्दैछु, तर परमप्रभुका करारको सन्दूकचाहिँ … ।” हामी, डेरा कि साधारण वा राम्रो घर, कि महलमा बस्छौं होला, तर प्रभुमा सुतिगएका प्रियहरूको शवहरू कहाँ र कस्तो ठाउँमा छ त ? के सम्पूर्ण धापासी मनलाई खिच्ने भएको छैन र ? अब सम्पूर्ण धापासीको लागि लागिपर्ने समय र मौका आएको छ ।
उत्पत्ति २३:११ जब सारा मरी, अब्राहामले मक्पेलाको ओढार आफ्नी पत्नीको शव राख्नलाई सित्तैमा पाएका थिए तर अब्राहामले यो बिना मोल लिन चाहेनन् र चार सय शेकेल (करीब रू. ८००÷–) मा किने । घर हुनु नहुनु, रूपैयाँ–पैसा हुनु नहुनु बेग्लै कुरा हुन सक्छ तर त्यस स्थानको निम्ति मेरो ‘मन हुनु’ मुख्य कुरा हो । त्यहाँ जाने बाटो, बनाइएको सेवा–घरको रहल काम पूरा गर्ने, साँध–सिमानामा पर्खाल, पालेघर आदिको निम्ति ठोस रकमको आवश्यकता छ । रूपैयाँ–पैसा नभए समय दिएर सकेको काम गर्न सकिन्छ । आज प्रार्थना मात्र गरेर छोडिन्छ भने परेको दिनमा पनि के प्रार्थना मात्र गरेर छोडिदिन सकिन्छ त ? हक हित जति हुन्छ जिम्मा पनि त्यतिनै हुन्छ ।
मरियमले झैँ बहुमूल्य अत्तर ठीक समयमा ठीक ठाउँमा खन्याउन सकिन्छ । नत्र ढिला भए चिहानमा पुर्‍याइएको तर प्रयोगको आवश्यता नै नभएको अत्तर र मसला हुनेछ । त्यहाँ पुगेका प्रियहरू फर्कि आउन सत्तैनन् तर मलाई एकदिन त्यहाँ पुर्‍याइन्छ नै । के हामी सबै पुर्‍याइने ठाउँको संभार नगरौं ? डेरा, घर, महलबाट लगेर मलाई राख्न अघि त्यो ठाउँलाई अझ स्वच्छ र सुन्दर बनाउन सकौं । कता–कता मेरो धापासी र म धापासीको भन्न अत्युक्ति नहोला झैँ लाग्छ मलाई । २४–८–१९९८ को पुरुष रीट्रिटमा पाष्टर गुरुबाको वचनः “पुरुष र अगुवाहरू होशियार, चेतमा, होशमा आउनुहोस् नमूना बिनाको शिक्षा मण्डलीलाई चाहिँदैन । शिक्षा र उपदेशमा जिउने बेला आएको छ ।”

सूचना–पत्र २०१२ मेरो दोस्रो लेख “धापासी विश्रामस्थल पर्खाल र एबेनएजरको चौतारो”
धापासी समिति र निर्माण विभागको पहिलो संयुक्त बैठक २०६९–१–३ (१५ अप्रिल) ज्ञानेश्वरमा, दोस्रो बैठक २०६९–१–६ (१८ अप्रिल) धापासीमा बस्यो । २०६९–१–१३ (२५ अप्रिल) बाट पर्खालको काम शुरू गरी सूचना–पत्रमा व्यक्त गरिएझैँ १२ जुनमा मण्डलीको पाष्टर रोबर्ट कार्थक गुरुबाले सबै कुराको निम्ति महान् परमेश्वरको महिमा गर्नु हुँदै सबै स्वयं सेवक-सेविकाहरूलाई धन्यवाद दिनुभयो । यो ईश्वरको दानस्वरूप नेइमलाई जुटाइदिनुभएको ठूलो सम्पत्ति हो, यो साझा सम्पत्तिको मर्मत, संभार निरन्तर रूपमा गरिनुपर्छ । यसको निम्ति सम्पूर्ण नेइम मण्डली परिवारले आफ्नो–आफ्नो जिम्मा पूरा गर्नुपर्छ भनी पाष्टर गुरुबाले आह्वान गर्नुहुँदै, प्रशस्त हौसला थपिदिनुभयो । पाष्टर गुरुबा, राजेन्द्र रोंगोंग गुरुबा र पी.बी.राई दाज्यू तीनै जना ८० वर्ष नाघेकाहरूले जोशसँग ६०० फिट लामो अप्ठ्यारो बाटो हिँडी ६० फिट ठाडो भर्‍याङ्ग
(याकुबको सिँडी) उक्लन सफल हुनुभयो । स्वयं सेवक भई सघाउने १०० जनाले उहाँहरूलाई पछ्याए । नेइमका निम्न मण्डलीका स्वयं सेवक–सेविकाहरूलाई गुरुबाले हृदयबाट धन्यवाद दिनुभयो । आफ्ना–आफ्ना स्वयं सेवक–सेविकालाई आफैहरूले खाजा चिया खुवाउनुभयो । स्वयं सेवक–सेविकाबाट बल, जोश, रहर, सीप सबै पायौं । अति रमाइलोका साथ सँगै काम गरियो । परिचय बटुल्ने काम बिर्सन सकिँदैन नै । गुरुबा अतिरिक्त सम्पूर्ण सहयोग जुटाइदिनुहुनेहरूलाई संयोजकको तर्फबाट पनि हामी कृतज्ञताकासाथ धन्यवाद चढाउँदछौं ।
स्वयं सेवकहरूको जन बल यस प्रकार छ :—
८ मे २६ वैशाख जोरपाटी मण्डलीबाट ९+४ जम्मा १३ जना
१४ मे १ जेठ ज्ञानेश्वर मण्डली पूर्वी क्षेत्रबाट १५+२ जम्मा १७ जना
१५ मे २ जेठ ज्ञानेश्वर मण्डली मध्य क्षेत्रबाट १८ जम्मा १८ जना
१६ मे ३ जेठ ज्ञानेश्वर मण्डली पश्चिम क्षेत्रबाट १६+३ जम्मा १९ जना
४ जुन २२ जेठ गोंगबूँ मण्डलीबाट १३+३ जम्मा १६ जना
२५ अप्रिलदेखि ११ जुन, वैशाखदेखि २८ जेठ ललितपुर मण्डलीबाट जम्मा ६ पटक ६२+१२ जम्मा ७४ जना
जम्मा स्वयं सेवक–सेविका १५७ जना
यस बाहेक धेरै–धेरै काम जति हेर्‍यो त्यतिनै देखिन्छ । सल्लाहहरू पनि प्रशस्तै आउँदैछ । यो गर, त्यो गर होइन म, हामी गर्छौं भनौं, अघि सरौं । कामै नगरी हुँदैन भन्ने बानी छोडौं । काम गरौं बरू भएन भने भएन भन्न सिकौं । सबै सल्लाह, दान, पाष्टर एल.पी. न्यौपाने (धापासी समिति उपाध्यक्ष) लाई दिनुहुन अनुरोध गर्दछौं ।
— नयाँ र पुरानो पर्खाल सिध्याइएको ४०१ फिट
— पुरानो पर्खाल गेटदेखि खोल्चाको मुखसम्म २१० फिट
— तारको र हाल बनाइएको बाँसको बार २५६ फिट
— खोल्चा, कुलो, गोरेटो सबै खुल्ला सिमाना ५५८ फिट
— विश्रामस्थलको मोटामोटी परिधीको नाप १४२५ फिट
सूचनापत्र जुलाई ५ तेस्रो “धापासी कबरस्थान”
स्वर्गबास, प्रभुको घर, परलोक नरम शब्द हामीले प्रयोग गरेता पनि आखिरमा यो ‘मृत्यु’ नै हो जो कटु; र कठोर हुन्छ । परमेश्वरले सास फुकिदिनुहुँदा जिउँदो (उत्पत्ति २:७) र फिर्ता लिनुहुँदा मृत्यु (भजनसंग्रह १०४:२९) हामी इसाईहरूले माटा–माटोलाई दिने शिक्षा पाएका छौं । धापासी ‘स्थल–चिहान’ कडा भो नरम नाउँ ‘विश्रामस्थल’ भयो । तर त्यहाँ कसले विश्राम लिन्छ ? मरेको मान्छे न थाक्छ न विश्राम लिन्छ । प्रभुमा विश्वास गरेवैm दिन हामीले विश्राम पाइसक्यौं (मत्ती ११:२८) ।

२०३१ चैत्र २ गते गाउँको तीन भाइ जमीन धनीहरूले ख्रीष्टियान कबरस्थानका लागि नेइमका तीनजना वीर बहादुर खवास, पूर्वमान राई र जनकलाल श्रेष्ठको नाउँमा जमीन बिक्री गरी नाउँसारी गरिदियो । हाम्रो नाउँमा दर्ता भएको जमीन हाम्रो नभई नेइमको हो र कसैले हकदावी गर्ने छैन भनी एक लेखौट मण्डलीमा मजबूत छ । समझदारीमा जस्तो भएता पनि कानूनले लालपूर्जा बाहकलाई नै समात्छ । २०४४ साल असोजमा जमीनबारे हामी विरूद्ध खड्का भद्रकाली गाउँ पञ्चायतमा मुद्दा पर्‍यो । २०४४ मंसिरमा नर बहादुर दाईको मृत्यु भयो ।
त्यसपश्चात् बोलिदिने मानिस नभएर समस्या अझ जटिल भयो । अड्डा, पञ्चायत कार्यालय धेरै पटक धाउनु पर्‍यो । भजनसंग्रह १२७:१ परमप्रभुले रक्षा गरिदिनुभयो । खोस्न पाएन । हालसम्म यसरी सुविधासँग जमीन चलाउन प्रभुले दिनुभइरहेछ । यो देख्दा हामीले जे दुःख, धम्की, आरोप सह्यौं, भोग्यौं ती व्यर्थ भएन । तीन जनाको संयुक्त नाउँको ५ कित्ता जमीन १५–४–३–० हो । १ कोरिन्थी ३:६ पावल रोप्छ, अप्पोलस पानी हाल्छ तर परमेश्वरले चाहिँ बनाउनुहुन्छ । हालसम्म पनि सिमाना विवाद, लाश गाडेको विरोधमा कुरा उठिरहेको छ । अब सुविधा भोग गर्नलाई जिम्मा लिनै पर्छ । तीन पूर्जाधनीको उमेर, पौरख सिधियो । नेइमका पाँच मण्डली–ज्ञानेश्वर, जोरपाटी, गोंगबूँ, ललितपुर, धापासीले जिम्मा लिनु परेको छ । धापासी समिति पाष्टर एल.पी. न्यौपानेको अध्यक्षतामा छ । मण्डलीबाट खटाइएको प्रतिनिधि सक्रिय हुनु परेको छ । धेरै बलजफ्ती र मनपरी भएकोले सबैको चनाखोपनको आवश्यकता छ । धापासी कबरस्थानमा लाश राख्न नेइमका प्रत्येक सदस्यले पाउँछ । त्यसपश्चात् मनपरी गरी संरचना बनाउने छुट कसैलाई दिन मिल्दैन । भोलि ठाउँ अभाव–रीसाइकल गरिन्छ । सबै प्लेक बटुलेर कुनै भित्तामा सजाइन्छ । आफ्ना प्रियको चिहान मात्र प्रिय नभएर सम्पूर्ण धापासी हाम्रो लागि प्रिय हुनै पर्छ । के हाम्रो आशा यही संसारमा मात्र छ ?
१ कोरिन्थी १५:१९ । सबैलाई लाश गाड्न दिइन्छ–ठाउँ ओग्ट्न होइन । सबै मिलेर सम्पूर्ण कबरस्थानको संभार र मर्मत गर्ने चेत लिनु परेको छ ।
माटोले सबैलाई बराबर पार्छ – यसले छुट्टयाउँदै । मण्डलीहरूले गाडेको लाश निकाल्न परेर कष्ट भोग्दैछ, समाजले विरोध गर्न छोडेको छैन । यो सम्झेर बुझेर हामीले पाएको सुविधाको दुरूपयोग नगरौं । सम्मानसाथ लाश गाड्न पाएर सबैले विश्राम पाओस् । सबै लागौं, सबैलाई सुझोस्, सबैलाई पुगोस् । नहेम्याह १:४ हामी पनि रोऔं, सुरिऔं, अघि बढौं । यसैले अरूले अनियमित संरचना भत्काउन, व्यवस्थित गर्न अघि आफ्नाहरूले नै कदम चालोस्, आपैm मिलाउने काम गरोस्, सबैको भलाई होस्, सबैलाई शान्ति होस् । नयाँ पुस्ताका जवानहरू टेक्नुहोस् । धापासी कबरस्थानको प्रिय र बहुमूल्य जमीन ! आशिष्लाई आशिष्मा कायम राखौं । सबैलाई प्रभुको अनुग्रह, प्रेम र शान्ति रहोस् !!

“पवित्र आत्माको बप्तिस्मा र भरिपुरी” – पाष्टर रोबर्ट कार्थक

June 11, 2014 | Articles  

भोलि जेष्ठ २५ गते २०७१ तदनुसार ८ ता. जुन २०१४ सालको दिन सारा विश्वव्यापी मण्डलीमा जहीँ कहीँ ‘पेन्तिकोस आइतबार’ (Pentecost Sunday) मनाइन्छ । त्यस दिन परमेश्वर पिताले पठाउँछु भनी प्रतिज्ञा गर्नुभएको पवित्र आत्मा उहाँका भक्तहरूमाथि उत्रि आउनुभएको थियो र मण्डली स्थापना भएको थियो । त्यो दिन ख्रीष्टिय मण्डलीको जन्मदिन हो । यसैले पवित्र आत्माको बप्तिस्मा र त्यससँग आउने पवित्र आत्माको भरपूरीबारे केही कुरा लेख्न चाहन्छु ।
येशू प्रभुको बौरी उठाइको दिनमा यहूदीहरूको डरको कारण ढोकाहरू बन्द गरेर लुकिरहेका चेलाहरूकहाँ उहाँ देखा पर्नुभयो । किलाले छेडिएका आफ्ना हातहरू साथै भालाले रोपेको आफ्नो कोखाका चोटहरू देखाउँदै क्रुसमा चढाइनुभएको येशू प्रभु उहाँनै हुनुहुन्छ भन्ने कुराको प्रमाण दिएर तिनीहरूको विचलित हृदयलाई उहाले शान्त गराउनुभयो । उहाँलाई देखेर चेलाहरू अति खुशी भए । यूहन्ना २०:२१–२२ मा लेखिएको छ, “तब येशूले फेरि तिनीहरूलाई भन्नुभयो, ‘तिमीहरूलाई शान्ति !’ जसरी पिताले मलाई पठाउनुभयो त्यसरी म पनि तिमीहरूलाई पठाउँछु । अनि यति भनेर उहाँले तिनीहरूमाथि फुकेर भन्नुभयो, “पवित्र आत्मा लेओ ।” परमेश्वरको काम गर्न पठाउनुभन्दा अघि उहाँले तिनीहरूलाई फुकेर पवित्र आत्मा दिनुभयो । उहाँको पुनरुत्थानपछि चालीस दिनसम्म उहाँ आफ्ना चेलाहरूकहाँ बेला–बेला देखा पर्दै रहनुभयो । उहाँको स्वर्गारोहणको अघि उहाँले आफ्ना चेलाहरूलाई सारा जगतमा गएर सारा सृष्टिलाई सुसमाचार सुनाउने, विश्वास गर्नेहरूलाई बप्तिस्मा दिने, सबै आज्ञाहरू पालन गर्नलाई सिकाउँदै तिनीहरूलाई चेला बनाउने आदेश दिनुभयो । यसलाई हामी उहाँको ‘महान आज्ञा’ पनि भन्छौं । उहाँले अह्राउनुभएको यो ठूलो काम पूरा गर्नलाई ती चेलाहरूलाई ईश्वरीय शक्तिको आवश्यकता थियो । न ता बलले, न शक्तिले तर मेरो आत्माद्वारा मात्र परमेश्वरको काम गर्न सकिन्छ भनी परमेश्वरले पहिल्यैबाट जकरिया ४:६ मा भनिसक्नुभएको थियो । मानिसको आफ्नै मानवी बल र शक्तिले परमेश्वरको काम गर्न नसकिने हुनाले तिनीहरूलाई पवित्र आत्माको शक्तिको ठूलो खाँचो थियो । यसैले चेलाहरूलाई ‘महान आज्ञा’ दिइसक्नुभएपछि स्वर्ग जानभन्दा अघि प्रभुले आफ्ना चेलाहरूलाई यरुसलेमबाट कतै नजाने तर पिताको प्रतिज्ञा पर्खिरहने आदेश दिनुभयो । उहाँले तिनीहरूलाई भन्नुभयो, “…यूहन्नाले ता पानीले बप्तिस्मा दिए तर अबको थोरै दिनमा पवित्र आत्मामा तिमीहरूको बप्तिस्मा हुनेछ । (प्रेरित १:४–५)
त्यसपछि उहाँले ८ पदमा भन्नुभयो, “पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ … र तिमीहरू मेरा गवाही हुनेछौ ।” लूका २४:४९ मा पनि प्रभुले उहाँको स्वर्गारोहणको अघि आफ्ना चेलाहरूलाई यसरी भन्नुभयो, “हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूकहाँ पठाउँछु, तर माथिबाट शक्ति नपाउञ्जेल यही शहरमै पर्खिरहो ।”
ती चेलाहरू दश दिनसम्म प्रार्थना गर्दै पर्खिरहे । समय पूरा भएपछि पेन्तिकोसको दिनमा पवित्र आत्मा तिनीहरूमाथि आउनुभयो र तिनीहरू आत्माले भरिए । पवित्र आत्माद्वारा परमेश्वरको ईश्वरीय शक्ति प्राप्त गर्नलाई ती चेलाहरूले पवित्र आत्माको बप्तिस्माको निम्ति पर्खन पर्‍यो । त्यसपछि मात्र परमेश्वरका काम गर्नलाई तिनीहरू सुसज्जित भई बाहिर निक्ले ।
प्रभु येशू आफैले पनि तीस वर्षको उमेरमा यूहन्नाको हातबाट पानीको बप्तिस्मा लिएपछि पवित्र आत्माको अभिषेक लिनुभयो
(लूका ३:२१–२२) । त्यसपछि मात्र उहाँले परमेश्वरको सेवामा हात हाल्नुभयो । प्रेरित १०:३८ अनुसार परमेश्वरबाट पवित्र आत्मा र शक्तिको अभिषेक पाउनुभएपछि मात्र उहाँ मानिसहरूका बीचमा सुकर्म गर्दै र शैतानबाट पेलिएकाहरू सबैलाई निको पार्दै हिँड्नुभयो ।
कन्या मरियमको गर्भबाट पवित्र आत्माद्वारा नै जन्मनुभएको भएता पनि तीस वर्षसम्म उहाँले रोगी–बिरामीहरू निको पार्ने, भूतात्माहरू धपाउने, कुष्ठ रोगीहरूलाई शुद्ध पार्ने, मुर्दाहरूलाई जियाउने जस्ता सुकर्महरू केही गर्न सक्नु भएन । यहाँसम्म कि उहाँले स्वर्गको राज्यको सुसमाचार पनि प्रचार्नु भएन । अरू केही शक्तिका चिन्ह–चमत्कार पनि उहाँबाट हुन सकेन । परमेश्वर पुत्र ख्रीष्ट येशू प्रभुले पनि पवित्र आत्माको अभिषेकविना परमेश्वरको काम गर्न सक्नु भएन भने हामी जस्ता कमजोर पात्रहरूलाई त झन् कति बढ्ता गरी पवित्र आत्माको अभिषेकको खाँचो छ ।
पहिलो पेन्तिकोसको पवित्र आत्माको भरपूरीको त्यस अनुभवको निम्ति चेलाहरूलाई प्रार्थनामा दश दिनसम्म पर्खनु प¥यो । अब हामीलाई त्यसरी पर्खनुपर्ने आवश्यकता छैन कारण प्रेरित २:३३ अनुसार प्रभु येशू ख्रीष्टले पिताको हातबाट यो वरदान लिएर मण्डलीमाथि खन्याइसक्नुभएको छ । अब प्रभु येशूमा विश्वास गर्ने विश्वासीहरूले प्रभुसँग मागेर यो वरदान तुरुन्त प्राप्त गर्न सक्छन् । कतिले सोच्छन्, पवित्र आत्माको भरपूरी पाउनलाई हामीले आफैलाई योग्यको बनाउनुपर्छ, सबै पाप–अधर्महरू त्यागेर आफैलाई अझ पवित्र बनाउनुपर्छ । बाइबल पढ्ने, प्रार्थना गर्ने, उपवास बस्ने जस्ता कुराहरूमा बढी ध्यान दिनुपर्छ, आफ्नो जीवन सुधार्नुपर्छ । यदि यसरी आफ्नै परिश्रममा भर परेर परमेश्वरको आत्माको वरदान प्राप्त गर्न चाहन्छौं भने यो वरदान त सित्तैंमा पाइने वरदान नै भएन ।
कोशिषद्वारा कमाउनुपर्ने इनाम पो भयो ।
प्रेमको उपहार भएन, सफलताको पुरस्कार पो भयो ।
एउटा विश्वासी भएर पनि अझसम्म पवित्र आत्माको बप्तिस्मा पाउनुभएको छैन भने त्यसको एउटै कारण यो हो कि तपाईंले यो वरदान विश्वाससाथ माग्नुभएको छैन । यावूmब ४:२ ले भन्दछ, “तिमीहरूलाई केही मिल्दैन किनकि तिमीहरू माग्दैनौं ।”
“माग त तिमीहरूलाई दिइनेछ, … हरेक जसले माग्छ त्यसलाई दिइनेछ, भन्नुहुने प्रभुले नै यसरी पनि भन्नुभएको छ, “तिमीहरू दुष्ट भएर पनि आफ्ना छोराछारीलाई असल कुरो दिन जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ्ता गरेर पवित्र आत्मा दिनुहुनेछ (लूका ११:९–१०,१३) ।
तपाईंले पनि आफ्नो स्वर्गीय पितासँग विश्वाससाथ माग्नुहोस् । तपाईंले पनि आत्माको वरदान सित्तैंमा पाउनुहुनेछ । जसरी येशू प्रभुलाई विश्वासद्वारा आफ्नो मुक्तिदाता गरी हृदयमा ग्रहण गर्नुभयो त्यसरी नै अब पवित्र आत्मा परमेश्वरलाई पनि विश्वासद्वारा आफ्नो शान्तिदाता, शक्तिदाता, गरी हृदयमा ग्रहण गर्न सक्नुहुन्छ । हुनलाई येशू प्रभुलाई ग्रहण गरेकै दिन पवित्र आत्मा तपाईंको हृदयमा आइसक्नुभएको छ तर पेन्तिकोसको यो अनुभवले तपाईंलाई उहाँको भरपूरीको ज्ञान प्राप्त गराउँछ ।
यो अनुभव सबै विश्वासीहरूको निम्ति हो । त्यस दिन १२० जना येशू प्रभुका विश्वासी चेलाहरूले यो अनुभव प्राप्त गरे । प्रेरित २:४ अनुसार तिनीहरू सबै जना पवित्र आत्माले भरिए ।
योएल अगमवक्ताद्वारा आएको परमेश्वरका वचन प्रेरित २:१७ मा यसरी लेखिएको छ, “म सबै मानिसहरूमाथि मेरा आत्मा खन्याइ दिनेछु ।” प्रेरित २:३९ मा पनि पत्रुस भन्दछन्, “यो प्रतिज्ञा तिमीहरूका निम्ति तिमीहरूका सन्तानको निम्ति र टाढा टाढामा रहेका सबैका निम्ति हो प्रत्येक जसलाई प्रभु हाम्रा परमेश्वरले बोलाउनुहुन्छ ।” यसर्थ पवित्र आत्माको भरपूरीको यो अनुभव हरेक विश्वासीले पाउनै पर्छ । यो भरपूरीविना हामी परमेश्वरको निम्ति काम लाग्दा बलिया,सफल सेवक सेविकाहरू बन्न सक्तैनौं । यो भरपूरीबिना हामी विजयी ख्रीष्टिय जीवन जिउन सक्तैनौं ।
प्रेरित २:४ मा लेखिएको छ, ‘अनि तिनीहरू सबै पवित्र आत्माले भरिए र आत्माले तिनीहरूलाई उच्चारण गर्न दिए बमोजिम तिनीहरू अरू भाषाहरूमा बोल्न लागे’ पवित्र आत्माको भरपूरी पाएपछि तिनीहरू आत्माले भरिएका छन् भन्ने कुराको यो पहिलो देखिने प्रमाण थियो । तिनीहरूले विभिन्न भाषामा बोलिरहेको अरूहरूले पनि सुने र देखे । परमप्रभुको स्तुति प्रशंसा गर्दा गर्दै अचानक तिनीहरूले कहिल्यै नबोलेका, नजानेका, नसिकेका भाषामा बोल्न लाग्दा सबै छक्क परे । पवित्र आत्माले स्वयं तिनीहरूलाई ती शब्दहरू उच्चारण गर्न दिनुभयो, बोल्नेचाहिँ तिनीहरू नै थिए । यो अनौठो अनुभवले तिनीहरूलाई परमप्रभुको प्रशंसा गर्नमा नयाँ जोश, नयाँ उमङ्ग, नयाँ उत्साह, नयाँ प्रेरणा दियो । पवित्र आत्माले दिनुभएको यो वरदान हामीले चलाइरह्यौं भने हामी परमप्रभुको प्रशंसा ठीक ढङ्गले गर्न सक्छौं । त्यति मात्र होइन हाम्रा जीवनका सबै क्षेत्रमा हामी स्वयं उहाँको प्रशंसा बन्नेछौं । पवित्र आत्माको अभिषेक पाएर जिइएको हाम्रो असल जीवन देखेर मानिसहरूले परमप्रभुको प्रशंसा गर्नेछन् ।
मण्डलीले पाएको पवित्र आत्माको पेन्तिकोसको सामूहिक अनुभव हाम्रो व्यक्तिगत अनुभव पनि बन्नुपर्छ । पेन्तिकोसको दिन ती चेलाहरू सबै आत्माले भरिए तर प्रेरित २:३ अनुसार आगोको जस्तो चिरा परेका जिब्राहरू तिनीहरू एक एकमाथि आएर बसे । प्रभु गरून्, पवित्र आत्माको बप्तिस्मा र भरपूरीको यो अनुभव हामी हरेक विश्वासीको व्यक्तिगत अनुभव बनोस् ।

नेइम ललितपुर चर्च बसन्त सम्मेलन २०१४ एक झलक – प्रस्तोता: एल्डर दिल थापा

May 5, 2014 | Articles  

२०१४ सालको मार्च महिनामा यस वर्ष पनि नेइम ललितपुरमा १ दिवसीय बसन्त सम्मेलन आयोजना गरिएको थियो ।
प्रचवनका दुई सेवा राखिएका थिए भने सांस्कृतिक मुठ्ठाहरू पनि उक्त कार्यक्रममा समावेश गरिएका थिए ।
प्रवचनका क्रममा आदरणीय पाष्टर गुरुबा रोबर्ट कार्थकले अब बसाइको अन्त भयो, उठ्ने बेला आएको छ भनी मण्डलीलाई सचेत गराउनुभएको थियो ।
पवित्र आत्माको भरपूरी हामी विश्वासीहरूको लागि अपरिहार्य छ भन्दै येशूले प्रतिज्ञा गर्नुभएको पवित्र आत्मा हामीमा हुनुहुन्छ भन्ने कुरामा जोड पनि गुरुबाले दिनुभयो । उहाँले अगाडि भन्नुभयो, हामीमा जति सास छ त्यति मात्र हल्लेलूयाह भन्न सक्छौं, सास नै प्राण हो सास सिद्धियो भने हामी मर्छौं । जिब्रोमा भएको वचन विचार मात्र हो जब बाहिर निस्कन्छ तब आवाज बन्छ । परमेश्वर बोल्नुभयो र सबैथोक हुन आए । वचनमा शक्ति छ । त्रिएक परमेश्वर सबै समान हुनुहुन्छ । पवित्र आत्माको विरुद्धमा बोलिएको कुरा ईश्वर निन्दा हो र यो पाप क्षमा हुँदैन । येशूले पनि पवित्र आत्माको शक्तिले नै आश्चर्य कर्महरू गर्नुभयो । ३० वर्षको उमेर अघि उहाँले कुनै आश्चर्य कर्म गर्नुभएन तर पवित्र आत्मा उहाँमाथि आउनुभएपछि मात्र । पवित्र आत्माको अभिषेकले शक्ति प्रदान गर्दछ र त्यही शक्तिमा येशूले अन्धाहरूलाई देख्न सक्ने, लङ्गडाहरू हिँड्न सक्ने र मरेकाहरूलाई समेत जीवित तुल्याउनुभयो । पवित्र आत्माको शक्तिबिना येशूले परमेश्वरको राज्यबारे प्रचार पनि गर्नुभएन ।
गुरुबाले भन्नुभयो, येशूले हामीलाई प्रेम गर्नुहुन्छ । हामी जस्तो सुकै भए पनि उहाँले हामीलाई प्रेम गरिरहनुहुन्छ । हामीलाई प्रेम गरेका कारणले नै येशू हाम्रा लागि क्रुससम्मै जानुभयो, अनमोल रगत बगाउनुभयो र हामीलाई श्राप मुक्त पार्नु भएर अब्राहामको आशिषको भागिदार बनाउनुभयो (गलाती ३:१५–१७) । अब हामी श्राप पाएकाहरू होइन तर आशिष पाएकाहरू हौं । हाम्रा लागि येशू श्राप बन्नुभयो ताकि उहाँमा हामीले धार्मिकता प्राप्त गर्न सकौं । गुरुबाले भन्नुभयो, पवित्र आत्माले नै हामीलाई ख्रीष्टका बनाउनुभएको छ । हामीमा पवित्र आत्मा नहुनु हुँदो हो ता, हामी ख्रीष्टका पनि हुनै सक्ने थिएनौं । पवित्र आत्मा हामीमा बास गर्नुहुन्छ, गलाती ४:६ जसरी उहाँ ख्रीष्टमा पनि हुनुहुन्थ्यो (लूका ३:२२; ४:१; १४:१४;४:१७–१९) ।
सेवा गर्नको लागि येशूलाई पनि पवित्र आत्माको दरकार पर्‍यो भने झन् कति बढ्ता गरेर परमेश्वरको सेवा गर्नलाई हामीलाई पवित्र आत्मा चाहिन्छ भन्ने विषयमा गुरुबाले जोड दिनुभएको थियो ।
पवित्र आत्माको बप्तिस्मा हामीलाई चाहिन्छ, हामीले पवित्र आत्माको बप्तिस्मा पाएका छैनौ भने माग्नुपर्छ र पिताले हामीलाई दिनुहुन्छ ।
गुरुबाले एफिसी १ अध्यायबाट पनि भन्दै हुनुहुन्थ्यो कि पहिलेको सृष्टि सजिलै हुन आयो तर नयाँ सृष्टिका लागि येशूले मूल्य चुकाउनुपर्‍यो क्रुसको मृत्युको मूल्य । शैतान चाहँदैनथ्यो कि येशू क्रुसमा मरून् किनकि येशूको मृत्युमा नै मानिसको जीवन थियो । यो नै नयाँ जीवन हो जुन जीवनमा पवित्र आत्माको शक्ति छ र त्यही शक्तिमा सबै कुरा गर्न सकिन्छ ।
अर्को प्रवचनमा गुरुबाले दाखको बोट र हाँगाहरू बीचको सम्बन्धबारे बताउँदै हुनुहुन्थ्यो । हाँगा बोटमा रहेन भने सुकिहाल्छ । फल फलाउनका लागि हाँगा बोटमा नै रहिरहनुपर्छ । अझ बढी फल फलाउनका लागि उहाँले हामीलाई छाँट्नु पनि हुन्छ । यूहन्ना १५:२ हामीलाई बढी फलदायी बनाउनलाई हामीमा भएको सबै फोहोर उहाँले हटाउनुहुन्छ ।
परमेश्वरको चाहना हाम्रो जीवन आषिमय होस् । सलहले खाएका वर्षहरू उहाँले हामीलाई फिर्ता दिनुहुन्छ । अब उहाँले यहूदी र अन्य जातिबीच कुनै भेदभाव राख्नुहुन्न । येशूमा सबै एकै छौं । हाम्रो काम उहाँमा रहिरहनु हो ।
वचनको सेवकाइका लागि हामीले गुरुबालाई धन्यवाद ज्ञापन गर्‍यौं ।
वर्षेनी कमसेकम २ दिन आयोजना गरिने बसन्त सम्मेलन यस वर्षचाहिँ केवल एक दिनका लागि मात्र हुन सक्यो । तर पनि आफ्नो वचन आफ्नो दासद्वारा हामीसँग बोल्नुभयो र हामी सबैले प्रशस्त आशिष पायौं ।
यस वर्षको सम्मेलनमा पहिले कुनै बेला तय गरिएको कार्यशालाको निचोडबारे पनि चर्चा गरिएको थियो । त्यो थियो म नेपाली ख्रीष्टियनले के के नेपाली चलन मान्न सक्छु र के के मान्न सक्दिनँ साथै कुनै पनि अन्ध विश्वासका कुराहरू हामीले मान्नु हुँदैन भन्ने पनि सम्मेलनका सहभागीमाझ चर्चा गरिएको थियो । समग्रमा भन्ने हो भने सम्मेलन अति आशिषमय थियो । प्रभुलाई धन्यवाद होस् ।

२०१४ अशिषको वर्ष – प्रस्तुती: डा राजेन्द्र कुमार रोंगोंग

April 4, 2014 | Articles  

आदरणीय पाष्टर रोबर्ट कार्थक गुरुबाले फागुन ६ गते÷फरवरी १८ ता. मंगलबारको दिन नेइम पूर्णकालिन सेवक सेविकाहरूको प्रार्थना सभामा बाँड्नुभएको वचनको सारसंक्षेपः
हामीले २०१४ अर्थात् नयाँ वर्षमा प्रवेश गरिसकेका छौं । आज हामी अघिल्तिर जानुपर्छ । बितेका दिन सम्झेर त्यसमा बस्नु हुँदैन । यदि हामी नयाँ कुराहरू चाहन्छौं भने हामीलाई नयाँ आशिष्हरूको आवश्यकता पर्छ । हामीले गरिराखेको उही पुरानो तरिकाले हामी नयाँ कुराहरू प्राप्त गर्न सक्तैनौं । हामीले नयाँ कदम चाल्नुपर्नेछ । हामीलाई पवित्र आत्माद्वारा येशूले जीवन दिनुभएको छ । हामी जीवित छौं (रोमी ८:११) । हामीले आशिष् पाइरहेका छौं र यिनै पाइरहेको आशिष्मा मात्र सन्तुष्ट बस्नु हुँदैन । हामी अघि बढ्नुपर्छ ।
यहोशू ५:१०–१२ अनुसार इस्राएलीहरूले यर्दन नदीको पारीपट्टि अर्थात् प्रतिज्ञाको देशमा यरीहोको मैदानमा निस्तार–चाड मनाए र “त्यसको भोलिपल्ट, त्यही दिन तिनीहरूले त्यस देशको उब्जनीबाट अखमिरी रोटी र भुटेको अन्न खाए । तिनीहरूले त्यस देशको उब्जनीको अन्न खाएको भोलिपल्टदेखि नै मन्न थामियो, र त्यसपछि इस्राएलीहरूलाई मन्न कहिल्यै पनि मिलेन । तर त्यस साल तिनीहरूले कनान देशको अन्न खाए ।” मन्नको लागि इस्राएलीहरूले काम गर्नु पर्दैन थियो । यो परमेश्वरले इस्राएलीहरूलाई उजाड–स्थानमा दिनुभएको आशिष थियो तर अन्न प्रतिज्ञाको देशको भोजन थियो र यसको निम्ति इस्राएलीहरूले परिश्रम गर्नु अनिवार्य थियो । मन्नको लागि परमेश्वरलाई “भन्न” पथ्र्यो तर अन्नको लागि जमीन खन्नुपर्ने भयो । हाम्रो अघि यही प्रश्न छ — अन्न कि मन्न ? मन्न उजाड–स्थान वा मरूभूमिको लागि मात्र हो भने अन्न प्रतिज्ञाको देशको लागि हो । हामीले मन्न कि अन्न छान्नुपर्छ । निर्णय हाम्रो हो । उजाड–स्थान अनिश्चित कालको अपरिपक्वताको चित्र हो । यो स्थान वा स्थिति सधैँ माग्ने केटाकेटीहरूको लागि हो । इस्राएलीहरू अपरिपक्व भएसम्म परमेश्वरले उनीहरूलाई मन्न दिनुभयो । परमप्रभुको इच्छा थियो इस्राएलीहरूलाई प्रतिज्ञाको देश दिने । परमेश्वरले यहोशूलाई प्रतिज्ञा गर्नुभएको थियो, “… तेरा पैतालाले कुल्चिने सबै जग्गा तलाई दिनेछु (यहोशू १:३) ।”
प्रतिज्ञाको देश प्रवेश गरेपछि हामीले कोदालो लिई जमीन खन्नुपर्छ र मात्र अन्न पाइन्छ । बाइबल जमीन जसतो हो, हामीले खन्नुपर्छ अर्थात् अध्ययन गर्नुपर्छ । हामीमध्ये कतिलाई बाइबल पढ्न मन पर्दैन हामीसित तिर्खा छैन । हामीलाई त लाल समुद्रको उजाड–स्थानतिरै जान मनपर्छ । हामीहरूका बितेका समयका कुराहरूले हामीलाई अघि बढ्न दिँदैन । शैतानले हाम्रो भूतकालका अनुभव वा घटनाहरूका दोष देखाई हामीलाई निरूत्साहित गर्न खोज्छ । त्यो यस काममा निरन्तर लागेको हुन्छ । अहिले हामी नयाँ करारको समयमा छौं । पुरानो करारमा उल्लेख भएका प्रतिज्ञा अहिले पूरा भएको छ :
“परमप्रभु भन्नुहुन्छ, ती दिन आउनेछन्,
जब इस्राएलको घरानासग
र यहूदाको घरानासग म एउटा नया
करार स्थापना गर्नेछु । …
“… किनकि सानादेखि लिएर ठूलासम्म
तिनीहरू सबैले मलाई चिन्नेछन्,
परमप्रभु भन्नुहुन्छ । किनकि
तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु,
र म तिनीहरूका पाप फेरि कहिल्यै
सम्झने छैन ।” (यर्मिया ३१:३१–३४)
पुरानो करारमा पाप क्षमाको निमित्त पशुबलि पटक पटक चढाइरहनुपथ्र्यो
तर नयाँ करारमा “ख्रीष्टले त पापहरूका निम्ति सदाको लागि एउटै
बलिदान चढाउनुभयो, अनि उहा परमेश्वरको दाहिने बाहुलीतर्फ
विराजमान हुनुभयो” (हिब्रू १०:१२) । अनि प्रभुले यो पनि भन्नुभयो,
“… तिनीहरूका पाप र तिनीहरूका दुष्कर्महरू म फेरि सम्झनेछैन”
(हिब्रू १०:१७) ।
वmे तपाईं आफ्ना पुराना पापहरू सम्झँदै हुनुहुन्छ ? याद गर्नुहोस्
यो शैतानको काम र यसले हाम्रो प्रगतिलाई रोक्दछ । हामीले प्रभु
येशूमा विजय प्राप्त गरेका छौं र हामीले निरूत्साह होइन येशूको
विजयद्वारा आनन्द र उत्साह पाएका छौं ।
पावल लेख्दछः
“मैले यी सबै अघिबाट प्राप्त गरिसकेको छु, अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, तर यी कुराहरूलाई पक्रनको निमित्त म अघि बढिरहेको छु जुन कुराको निम्ति ख्रीष्टले मलाई पक्रनुभयो । भाइ हो, मैले यी सबै पक्रिसकेको छु भनी म ठान्दिन“, तर म एउटा कुरा गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर अगाडिका कुराहरूतिर जोडसग लम्कदै ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोडस“ग अघि बढ्दछु” (फिलिप्पी ३:१२–१४) ।
फेरि पावल यो पनि लेख्दछन् :
“किनकि म पक्का गरी यो जान्दछु कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले
वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले, वा
शक्तिहरूले, उचाइले वा गहिराइले, वा सारा सृष्टिमा भएका कुनै
पनि कुराले, ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्ने छैन (रोमी ८:३८–३९) ।
पावलले आफ्ना यी भनाइहरूमा भूतकाल (वा बितेका समयको कुरा) उल्लेख गर्दैनन् । यति मात्र लेख्छन् ‘वर्तमानका कुराहरूले
वा पछि हुने कुराहरूले परमेश्वरको प्रेमदेखि मलाई अलग गर्न सक्दैन १ कोरिन्थी ३:२२ मा “चाहे पावल, अपोल्लस, केफास, संसार, जीवन, मृत्यु, वर्तमान कि भविष्य सबै तिमीहरू हुन्” भनी लेखेका छन् । भूतकालको त्यहाँ उल्लेख छैन । भूतकाल हाम्रो निम्ति होइन ।

यसर्थ यो नयाँ बर्षको निमित्त हामीलाई परमेश्वोरको वचन यो छ: “बितेका कुराहरुलाई नसम्झ, उहिलेका कुराहरुलाई विचार नगर” (यशैया ४३:१८)। परमेश्वोरले ठुलो नयाँ काम गर्न लाग्नुभएको छ । यसको लागि परमेश्वोरले हामीलाई ख्रीष्टको अभिषेक दिनुभएको छ । पुरानो करारअनुसार ‘असल गरे असल, खराब गरे श्राप’ थियो भने नयाँ करारमा ‘तिमीहरु गर कि नगर, म गरिदिन्छु ।’ हाम्रो काम केवल परमेश्वोरले पठाउनुभएको येशू ख्रीष्टमाथि विस्वास गर्नु हो । (हेर्नुहोस् युहन्ना ६:२८-२९) । परमेश्वोरले हामीद्वारा नयाँ काम गर्न लाग्नुभएको छ र हामीलाई ख्रीष्टले अभिषेक समेत दिनुभएको छ ।

ख्रीष्टियन जीवनको आत्मिक एकता नै आत्मिक बल हो – डिकन घनश्याम दाहाल

March 10, 2014 | Articles  

फिलिप्पीहरूलाई पावलको पत्रः
किताबको परिचयः फिलिप्पीचाहिँ माकेडोनिया (दक्षिण युरोपको ग्रीस भन्ने देशको उत्तर भाग) को एउटा मुख्य सहर थियो । यहाँ धेरै रोमी सिपाहीहरूको बसोबास भएकाले उक्त सहरलाई रोमीहरूको उपनिवेश बनाइएको थियो । फिलिप्पी सहर सुनको सिक्काको निम्ति प्रसिद्ध थियो । यो मण्डलीको स्थापना पावलको सुसमाचारको दोस्रो मिसनरी यात्राको समयमा भएको थियो (प्रेरित १६:१२) । यो पत्र पहिलो शताब्दीको करीब ईस्वी सम्बत ६०–६२ मा जेलभित्रबाट लेखिएको थियो । यो एकदमै व्यक्तिगत पत्र थियो ।
पत्र लेख्नुको उद्देश्यः
पावलले जेलभित्रबाट उहाँका सहकर्मी (इपाफ्रोडिटस) लाई साहस र उत्साह दिन, इसाई एकतामा रहनको लागि लेखेका थिए । यो पत्रले ख्रीष्टको प्रेम–पत्रको विषयमा ख्रीष्ट केन्द्रित विशेष उत्साह, सान्त्वना र ढाडस दिँदछ (फिलिप्पी ३:१) । यो पत्रले दुःख र कष्टको समयमा पनि खुशी र आनन्द रहनको लागि विशेष जोड दिँदछ (फिलिप्पी ४:४) । “आनन्द” भन्ने शब्द यस पत्रमा १६ पटक प्रयोग भएको पाइन्छ । यी बाहेक अन्य कुराहरू उत्साह, अर्ती, आज्ञा, उदाहरण, सान्त्वना, ढाडस आदि पाइन्छ साथै पावललाई फिलिप्पी मण्डलीले पावलको सेवकाइमा पुर्‍याएको सहायताको लागि समेत धन्यवाद दिनका निम्ति पत्र लेखेका थिए । यस पत्रको मुख्य उद्देश्य ख्रीष्टियन जीवनको आत्मिक एकता कायम राख्न र मेल मिलाप सृजना गर्नु हुन आउँछ र ख्रीष्टियान जीवन केवल ख्रीष्टमा मात्र सुरक्षित र आनन्दित हुन्छ भन्ने कुरा यस पत्रमा पाइन्छ ।
१) पहिलो अध्यायमा इसाई जीवन जिउनुमा आनन्दित (Joy in Living)
फिलिप्पी १:३, ५ धन्यवादीे जीवन ।
२) दोस्रो अध्यायमा ख्रीष्टको सेवामा आनन्दित (Joy in Service)
एउटै मन (हृदय) का भएर ख्रीष्टको सेवा गर (फिलिप्पी २:२) ।
३) तेस्रो अध्यायमा संगतिमा आनन्दित (Joy in Fellowship)
ख्रीष्टमा निरन्तर अघि बढ्नु (फिलिप्पी ३:१२–१४)
४) चौथो अध्यायमा परमेश्वरबाट पाउने इनाममा आनन्दित (Joy in Reward)
(फिलिप्पी ४:४–५; हितोपदेश २३:७)
२:१–१८ मा इसाई आत्मिक एकताको बारेमा सिक्न पाइन्छ । विशेष गरी आजको पाठ फिलिप्पी २:१–४ ख्रीष्टियान जीवन चरित्रका आत्मिक लक्षणहरूः
फिलिप्पी २:१–४ यो खण्ड फिलिप्पी १:२७–३० सँग आधारित छ । यस खण्डबाट हामीले ख्रीष्टियन जीवन चरित्रका आत्मिक लक्षणहरूको विषयमा वा येशू ख्रीष्टका चरित्र (स्वभाव) को विषयमा येशू ख्रीष्टको प्रेम हाम्रो जीवनमा कसरी प्रकट (घोषणा) गर्न सकिन्छ भन्ने सम्बन्धमा सिक्न सकिन्छ ।
१) प्रोत्साहनको लक्षण (सहानुभूतिको चिन्ह) फिलिप्पी २:१) ।
२) प्रेमको लक्षण (प्रेमको चिन्ह) (फिलिप्पी २:१) । ३) पवित्र आत्माको संगतिको लक्षण (फिलिप्पी २:१) ।
४) एकअर्काको, आनन्दको फिक्रीको लक्षण (अर्काको आनन्दको लागि
वास्ताको स्वभाव) (फिलिप्पी २:२) ।
५) नम्रता वा दिनताको लक्षण (मन वा हृदयको विनयको स्वभाव)
फिलिप्पी २:३) । स्वार्थलाई नियन्त्रण गर्नु वा आफैमाथि ध्यान नदिनुको लक्षण (आफ्नै मात्र हित, स्वार्थ नखोज्ने स्वाभाव) (फिलिप्पी २:४)
यहाँ ख्रीष्टियन आत्मिक एकता कायम राख्नका निम्ति ख्रीष्टिय जीवनका आत्मिक लक्षण (चिन्हहरू) निम्नअनुसार छन्ः
१) प्रोत्साहनः ग्रीक शब्द “पाराक्लेसिस” को अर्थ धेरै छन् तर यहाँको सन्दर्भमा यसको अर्थ (फिलिप्पी २:१) ः प्रोत्साहन दिनु, ढाडस दिनु, अर्ती दिनु र सशक्तिकरण गर्नु, उसलाई आड भरोसा दिनु, सान्त्वना दिनु, बल दिनु आदि । येशूले तिनीहरूलाई ढाडस दिएर भन्नुभयो, “म तिमीहरूलाई टुहुरा छोड्ने छैन । म तिमीहरूकहाँ आउनेछु” (यूहन्ना १४:१८) । “यसकारण एउटाले अर्कालाई प्रोत्साहन देओ, र एउटाले अर्कालाई दरिलो पार्ने काम गर, जस्तो तिमीहरू गर्दै पनि आएका छौ (१ थेसलोनिकी ५:११) । यस खण्डमा पावलले एकअर्कालाई उत्साह दिन र सान्त्वना दिन पछि नहट भन्ने संदेश दिएका छन् । उदाहरणको लागि ३ वटा लठ्ठी एउटै मुठा बनाएर डोरीले बाँधेको खण्डमा त्यसलाई सजिलै भाँच्न सकिन्न तर एक–एक वटा गरी हातमा दिएको खण्डमा सजिलै भाँच्न सकिन्छ, यस कुरालाई हामीले अभ्यास गरी हेर्न सक्छौं । यसकारण हामी विश्वासीहरू एक भएको खण्डमा, हामीहरूले आत्मिकी बल प्राप्त गर्न सक्छौं र शैतानले हामीलाई लडाउन सक्तैन । यसैले हामी अनुभव गर्न सक्छौं, हाम्रो आत्मिक एकता नै आत्मिक बल हो ।
२) प्रेमः प्रेमको लक्षण (फिलिप्पी २:१) ख्रीष्टमा भएको प्रेमको प्रेरणा “पारामुथोन्” मूल शब्दको अर्थ एकतामा बाँध्नु भन्ने बुझिन्छ । अगापे निःस्वार्थ प्रेमको बलिदान हो । “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्” (यूहन्ना ३:१६) । “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछुः तिमीहरू एकअर्कालाई प्रेम गर । तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि त्यस्तै प्रेम गर” (यूहन्ना १३:३४) । पावलले रोमीको पुस्तक १२:९ मा भनेका छन्ः “प्रेम निस्कपट होस् । जुन कुरा खराब छ, त्यसलाई घृणा गर । जुन कुरा असल छ, त्यसमा लागिरहो” । १ पत्रुस १:२२ अनुसार पनि, “आफ्ना दाजु–भाइलाई निस्कपट प्रेम गर र हृदयबाट नै एउटाले अर्कालाई गहिरो प्रेम गर” । यहाँ गहिरो र हृदयको प्रेम भन्नाले बाहिरी कुरा नभएर भित्रका (अन्तर–आत्माका कुराहरू भन्ने बुझिन्छ) । १ शमुएल १६:७ अनुसार मानिसहरूले बाहिरको रूप हेरी विचार गर्दछन् भने परमेश्वरले चाहिँ हृदय हेर्नुहुन्छ । यसबाट स्पष्ट हुन्छ कि हृदयको प्रेमचाहिँ बोलीमा मात्र सीमित नभएर काममा प्रकट हुन्छ । ३) पवित्र आत्माको संगतिः पवित्र आत्माको संगतिको चारित्रिक विशेषता हो । हामीलाई पवित्र जीवन जिउन आँटिलो र साहसी जीवन जिउनका लागि पवित्र आत्माको आवश्यकता पर्दछ । पवित्र आत्माले विश्वासीलाई सान्त्वना दिन, ख्रीष्टको साक्षी बन्न, गवाही बन्न, सिकाउन, डोर्‍याउन, सच्याउन, सुसज्जित पार्न र आत्मिक एकतामा बाँध्न पवित्र आत्मा विश्वासीको हृदयमा प्रवेश गर्नुहुन्छ । उहाँले हामीहरूलाई एकसाथ जोड्नुहुन्छ । त्यसैले यहाँ विश्वासीहरूलाई एक–आपसमा पवित्र आत्माको संगतिमा रहनको लागि विशेष जोड दिएको छ (फिलिप्पी २:१) ।
४) दयाः दयाको लक्षणः नेपाली वृहत शब्दकोषअनुसार “दया” को परिभाषा यस प्रकार छ, “अर्कामा आइपरेका दुःख, पीडा आदिलाई अनुभव गरेर सम्बेदनशील हुने तथा उसप्रति उद्धार र सहयोग गर्ने मनोभाव वा वृत्ति” । परमेश्वरको वचन (New Revised Standard Version-NRSV) अनुसार दया भन्नाले “हाम्रा निम्ति आफुलाई अर्पण गर्न ख्रीष्टलाई प्रेरित गर्ने चारित्रिक लक्षण दया हो” । यदि हामीले आफुभित्र र आफुद्वारा ख्रीष्टको दयालाई प्रभावित हुन दियौं भने मण्डलीमा कस्तो परिवर्तन आउला ? के हामी कल्पना गर्न सक्छौं ? जो हानी नोक्सानीमा परेका छन्, जो भिन्न मत राख्तछन्, जो पछि हटेका छन्, जो बिथोलिएका छन् ? हामीले दयाको लक्षण देखाएको भए मण्डलीको संगतिमा फर्केर आइसकेका हुन्थे । यसकारण हामीले आफुभित्र र आफुद्वारा ख्रीष्टको सहानुभूतिलाई तत्प्रभावित हुन दिनु पर्दछ । हामी अनुभव गर्छौं कि हामीमा मतभेद हुँदा र बेचैनी भएको समयमा ख्रीष्टको स्नेहले हामीलाई सान्त्वना दिँदछ । अरूहरूमा मत भिन्न हुँदा र अशान्त भएको समयमा यसले हामीलाई ख्रीष्टको दया र स्नेह प्रकट गर्नको लागि प्रेरित गर्दछ । हामीभित्र र हामीद्वारा प्रभावित भैरहेको येशू ख्रीष्टको सहानुभूतिले मण्डलीको एकता कायम राखिरहन्छ । यसले हाम्रो समझलाई एकसूत्रमा बाँधेर राख्दछ । यसले गर्दा हामीहरू हाम्रा दाजुभाइहरू र दिदीबहिनीहरू प्रति उनीहरूको खाँचो र दुःखमा सहभागी हुँदछौं । पावलको भनाईअनुसार “विश्वासमा दरिला हुने हामीले आफैलाई मात्र खुशी पार्ने इच्छा नराखेर दुर्बल मानिसहरूका कमजोरीलाई सहनु पर्दछ” (रोमी १५:१) । “एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर” (गलाती ६:१) । “अन्त्यमा तिमीहरू सबैमा आत्माको एकता राख, एउटाले अर्कोलाई सहानुभूति देखाओ, भातृ प्रेम गर, कोमल हृदयका होओ, र नम्र मनका होओ” (१ पत्रुस ३:८) ।
५) आनन्दः नेपाली वृहत शब्दकोषअनुसार “आनन्द” भन्ने शब्दको परिभाषा यस प्रकार छ, “कुनै अभिष्ट वस्तुको प्राप्ति तथा सुखद स्थितिमा वा कुनै मंगल कार्य सम्पन्न हुँदा मनमा हुने प्रिय सहानुभूति, हर्ष, प्रसन्नता, खुशी आदि । परमेश्वरको वचन (NRSV) अनुसार मण्डलीका विश्वासीहरूले एकअर्काको आनन्दको निम्ति फिक्री गर्नु पर्दछ । ख्रीष्टिय मण्डलीमा आनन्द ल्याउने कुरा एकता हो । एकै मनका हुनु, एउटै प्रेम राख्नु, पूर्ण सम्मति हुनु, एउटै चित्तका हुनु आदि । यहाँ पनि हामी लट्ठीको नमूना लिन सक्छौं, जसरी तीन वा तीनभन्दा बढी लट्ठीहरूलाई डोरीले बाँधेर एकबिटो बनाएको खण्डमा त्यो सजिलै भाँचिदैन, एउटा–एउटा गरी छुट्ट्यायो भने सजिलै भाँच्न सकिन्छ । यसबाट हामी विश्वासी दाजुभाइहरू र दिदीबहिनीहरू मण्डलीमा एउटै मनका भएर ख्रीष्टको आनन्द पूरा गर्नु पर्दछ त्यो नै मण्डलीको लागि बल हुन्छ । “तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर पूर्ण सम्मतिसाथ एउटै चित्तका भएर मेरो आनन्द पूरा गर” (फिलिप्पी २:२) । “मेरो आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द भरिपूर्ण होस्” (यूहन्ना १५:११) । पावलको भनाइअनुसार “शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर” (एफिसी ४:३) ।
६) नम्रताः मनको दिनताः नेपाली वृहत शब्दकोशअनुसार “नम्रता भन्ने शब्दको परिभाषा यस प्रकार छ, निहुरेको, नुहेको, बिनित, नरम स्वभावको, आफ्नो बल, बुद्धि र सम्पत्तिमा घमण्ड नगर्ने । परमेश्वरको वचन (NRSV) अनुसार केही मानिसहरू अरू मानिसहरूसँग झगडा मात्र गरिरहन्छन् । तिनीहरू शरीरमा पाको भएर पनि आत्मामा अपरिपक्व नै हुन्छन् । तिनीहरू निम्न कुराहरू गर्न आत्म–समर्पण गर्दछन् । जस्तै इष्र्या, डाहा, पदको लालसा, प्रतिष्ठाको अभिलाषा, प्रतिरोध, चिप्लो घस्नु, झैँ झगडा र वाद विवाद सृजना गर्नु आदि । यसकारण तिनीहरू आफ्नै इच्छाअनुसार डर लाग्दो अपराध गर्न जान्छन् । यसबाट सुरक्षित रहनको लागि, ख्रीष्टको नम्रता धारण गर्नु, अहंकारलाई त्याग्नु र दिलो ज्यानले अरूको सेवा गर्नु आदि । “स्वार्थ वा अहंकारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफुभन्दा श्रेष्ठ ठान” (फिलिप्पी २:३) । आज मण्डलीमा हामीहरूले स्वार्थलाई नियन्त्रणमा राख्नु पर्दछ र आफ्नै भलाइ नखोजी अरूहरूको हितलाई ध्यान दिनु अति आवश्यक हुन्छ । यसकारण हामी सबैजना ख्रीष्टको स्वभावले अभिप्रेरित भइरहनु नम्रताको लक्षण हो ।
निष्कर्षः
ख्रीष्टियान आत्मिक एकता राख्नका लागि हामीमा एक दोस्रालाई उत्साहित पार्नका लागि, उचित सल्लाह र सुझाव दिनका लागि पवित्र आत्माको अति आवश्यकता छ । आत्मिक एकता कायम राख्नका लागि ख्रीष्टिय प्रेमले प्रेरित हुनुपर्दछ । मण्डलीमा एउटै मन र एउटै चित्त हुनु अति आवश्यक छ । अहंकार र घमण्डमा केही नगरी त्यसको सट्टा ख्रीष्टको प्रेमलाई धारण गरेर एउटाले अर्कालाई प्रोत्साहन, उत्साह दिँदै एकताको सुत्रमा बाँध्नको लागि निस्वार्थ सेवा गर्नु जरूरी देखिन्छ । यसो गर्नाले हामीले आत्मिकी बल पाउँछौं । जुनचाहिँ आत्मिकताबाट मिल्दछ । यसले हाम्रो मण्डलीको सम्पूर्ण क्षेत्रमा परिवर्तन ल्याउँछ ।
के आज हामी आफ्नै मात्र भलाइ नखोजी अरूहरूको भलाइ र उन्नतिप्रति वास्ता गर्न तयार छौं ? यदि तयार छौं भने अठोट र निर्णय गरौं । परमेश्वरले हामी सबैलाई अनुग्रह गरून् !

“खोलीएको ढोका र अग्रसर पाइलाहरु”- श्री लेख नाथ पौडेल

February 10, 2014 | Articles  

पच्पन्नौ“ वर्ष पार गरेको नेपाली इसाई मण्डलीको इतिहास छोटो भएता पनि नेपाल र नेपाली जगतको बीचमा ख्रीष्टको सुसन्देश पुर्‍याउने कार्यमा यसको अग्रणी भूमिका रहेको छ । यो कार्यमा परमेश्वरको भय मान्ने र भक्तिपूर्ण जीवन बिताउन मन पराउने नेतृत्वको कर्म, परिश्रम र योगदान पनि उत्तिकै मननयोग्य छ । “ख्रीष्ट जस्तै बनाउन ख्रीष्ट जस्तै बनौं” भन्ने मूल अभियानका साथ नेपाली इसाई मण्डली परमेश्वरको राज्य विस्तारको काममा अघि बढिरहेको छ । अर्को शब्दमा भन्नुपर्दा यसको आकार तथा विस्तार बढ्दो स्तरमा छ । परमेश्वरले नेपाली जातिलाई औधी प्रेम गर्नुहुन्छ भन्ने कुरा मण्डलीले बुझेको छ । हुन पनि यो समय नेपाल तथा नेपाली जातिको निम्ति परमेश्वरको कृपाको ऋतु (समय) बनेको छ । केही वर्ष तथा दशक अघिसम्म देशको चारकुनाभित्र गरीबी, अभाव, बन्धन, कुरीतिमा जगडिएका नेपालीहरू अहिले विश्वका प्रायः सबै मुलुकहरूमा पुगिसकेका छन् । परमेश्वरले नेपाली र नेपाली जातिलाई इज्जत प्रदान गर्दै हुनुहुन्छ । यो सबै हुनुको पछाडि उहाको मण्डली यो राष्ट्रमा भएकै कारणले हो ।
“धार्मिकताले राष्ट्रलाई उचाल्छ ।” हो, धार्मिकताले राष्ट्रको उन्नति गराउ“छ । यो देशको अझ उन्नति अझ धेरै धार्मिकताले ल्याउ“छ । अनि यो धार्मिकता ख्रीष्ट येशूद्वारा मात्र आउ“छ । तसर्थ मानिसहरूले ख्रीष्टलाई चिन्नु यो राष्ट्र तथा जातिकै निम्ति पनि अपरिहार्य छ । कतिपयले ख्रीष्ट चिनाउने कार्यलाई धर्म प्रचार गरेको भनी आरोप लगाउने गर्छन् । तर ख्रीष्टबिनाको मानिसको अन्तिम अवस्था (यस पृथ्वीको जीवन र मृत्युपछिको जीवन) दयनीय हुन्छ भन्ने हामी मण्डलीलाई थाहा छ । यसैकारण जसले जे भने तापनि वा गरे तापनि मण्डलीले ख्रीष्टको प्रचार गर्न कहिल्यै छोडेन र छोड्दैन पनि †
परमेश्वरले अहिले नेपाल र नेपाली जातिले ख्रीष्टलाई चिनून् भनी विशेष रूपमा ढोका खोलिदिनुभएको छ । अहिले हरेक गाउ–गाउमा सुसमाचार पुगिरहेको छ । शहरहरूमा सुसमाचार गइरहेको छ अनि नेपालभन्दा बाहिर अर्थात् विदेशमा पनि सुसमाचार पुगिरहेको छ । यो परमेश्वरको अनुग्रह हो र उहाले नै नेपाली जातिको निम्ति यो ढोका खोलिदिनुभएको हो ।
परमेश्वरले गर्नुभएको कामको शैली देख्दा हामीलाई उदेक लाग्छ । कटनीको समयमा बाली पाकेर लटरम्म भएजस्तै ख्रीष्टमा आउन मानिसहरू तयार छन् । नेपालका विभिन्न गाउ–गाउमा, शहर–शहरमा र विदेशी शहरहरूमा नेपालीहरूले सुसमाचार सुनिरहेका छन् अनि तीमध्ये धेरैले विश्वास गरी ख्रीष्टलाई ग्रहण गरिरहेका छन् तर पनि अझैँ धेरै त्यस्ता ठाउहरू छन् जहा अहिलेसम्म पनि सुसमाचार पुग्न सकेको छैन । परमेश्वरको अनुग्रहको समयको कारण नेपाल लगायत विश्वभरि छरिएर रहेका नेपालीहरूमा ख्रीष्टको निम्ति तिर्खा छ । यो तिर्खा सुसमाचारद्वारा मात्रै पूरा गर्न सकिन्छ तर मूल कुराचाहिँ सुसमाचार लिएर को जाने ?
“किनकि प्रभुको नाउ“ पुकार्ने हरेकले उद्धार पाउनेछ । तर जसलाई विश्वास गरेकै छैनन् उहाँलाई मानिसहरुले कसरी पुकार्ने ? जसको विषयमा सुनेकै छैनन् उहाँमाथि तिनीहरूले कसरी विश्वास गर्ने ? र प्रचारकविना तिनीहरूले कसरी सुन्ने ?” (रोमी १०:१३–१४) ।
हाल नेपालका ३२ वटा भन्दा बढी जिल्लाहरूमा नेइमका शाखा–आबद्ध मण्डलीहरू तथा संगतिहरू रहेका छन् । अझ धेरै जिल्ला, गाउँ तथा शहरहरूमा नेइम पुग्न बाँकी छ । कतिपय गाउँहरूमा त अझैँसम्म सुसमाचार पुगेकै छैन । सुसमाचार नपुगेका गाउँ–बस्तीहरूमा सुसमाचार
पुर्‍याउने हामी विश्वासीहरूको प्रमुख कर्तव्य र दायित्व हो । जुन दायित्व प्रभुले हामीलाई सुम्पनुभएको छ । उहाँले भन्नुभयो, “सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर । विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दाषी ठहरिनेछ ।” (मकुस १६:१५–१६) ।
तर एउटा मुख्य प्रश्नः कसरी यो दायित्व हामीले पूरा गर्न सक्छौँ ? यसको सरल उत्तरः हामी सबैजना कुनै न कुनै किसिमले परमेश्वरको मिशनको काममा सहभागी भएर प्रभुले हामीलाई सुम्पनुभएको यो जिम्मेवारी बहन गर्न सक्छौं ।
मिशनको काम भन्ने बित्तिकै सबैभन्दा पहिले हाम्रो मनमा कतै पहाड चढ्नुपर्छ वा कतै टाढा जानुपर्छ भन्ने आउँछ तर वास्तवमा त्यसो होइन । प्रभुले आङ्खनो स्वर्गारोहण हुनु अघि चेलाहरूलाई भन्नुभयो, “… र तिमीहरू यरुशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ ।” (प्रेरित १:८) । यहाँ हामीले देख्न सक्छौं कि सुसमाचार भनेको नै ख्रीष्टले आङ्खनो जीवनमा गर्नुभएको कामको सम्बन्धमा साक्षी दिनु हो । यहाँ उल्लेख गरिएको यरुशलेम आङ्खनै घर, नातागोता हो । यहूदिया टोल वरपर अनि शहर वरपर हो । सामरिया अर्को जाति वा सहर हो भने पृथ्वीको पल्लो छेउ भनेको संसारभरि हो । सुसमाचारको निम्ति जाने कुरा पनि महत्वपूर्ण छ । जबसम्म हामी मानिसहरूकहाँ जाँदैनौं तिनीहरूले प्रभुको बारेमा सुन्न सक्दैनन् । मिशनमा ‘जाने कार्य’ एकदमै जरूरी हुन्छ । नगएसम्म हामी मानिसहरूलाई भेट्न सक्दैनौं । त्यसो भए कहाँ जानु त ? हामी टाढा नै जानुपर्छ भन्ने होइन । जाने कुराले दूरीलाई जनाउँदैन तर मानिसहरूसितको सम्पर्कलाई जनाउँछ । यसर्थ प्रभु नपाएका मानिसहरूसित सम्पर्क स्थापित गरी प्रभुको बारेमा बताउनु नै ‘जानु’ हो ।
हाम्रो लागि अवसरको ठूलो ढोका खुल्ला छ । परमेश्वरले हामीलाई मौका दिनुभएको छ । अनुग्रहको यो समयमा सुसमाचारको काम गर्ने वातावरण अत्यन्तै राम्रो छ । तर यसका निम्ति अग्रसर पाइलाहरूको खाँचो छ । सुसमाचारिय दृष्टिकोणले पछाडि परेका मुगु, हुम्ला, बझाङ्ग, दार्चुला, ताप्लेजुङ्ग जस्ता बिकट पहाडी जिल्लाहरूमा आन्तरिक मिशनेरी पठाउनका लागि मण्डलीले प्रार्थना गर्दैछ । तराईका जिल्लाहरूमा पनि मिशनेरीहरू पठाउन प्रार्थना गर्दैछ । देशभित्र मात्र नभएर देश बाहिर भारत, मलेसिया तथा खाडी मुलुकहरूमा पनि अरू थप मिशनेरीहरू पठाउन तयारी गर्दैछ ।
शाखा–आबद्ध मण्डलीहरूलाई आधार क्षेत्र बनाएर त्यस वरपरका भेगहरूमा सुसमाचार बिस्तार र मण्डली स्थापनाको कार्य भइरहेको छ । सुसमाचार पुगेका गाउँहरूको सामाजिक रूपमा मुहार फेर्ने तथा स्थानीय शाखा–आबद्ध मण्डलीहरूलाई एउटा नमूना मण्डली तथा त्यहाँको गाउँबस्तीलाई नमूना गाउँबस्ती बनाउन सामाजिक स्तरमा उठाउने काममा पनि नेपाली इसाई मण्डली सकृय छ । तालिमलाई ध्यान दिएर क्षेत्र वर्गीकरण गरी क्षेत्रीय अगुवा तालिमका कार्यक्रमहरू सम्पन्न भइरहेका छन् । विभिन्न शाखा–आबद्ध मण्डलीहरूमा जाने, तालिम दिने तथा संगति गर्ने थुपै्र तालिमदाता तथा शिक्षकहरूको खाँचो छ । अन्तर जिल्ला मिशनेरीहरू पठाउन मण्डली सकरात्मक भएर अघि बढिरहेकाले त्यस्ता मिशनेरीहरूको पनि खाँचो छ ।
विभिन्न चुनौतिहरूका वावजूद पनि मिशनको काम व्यापक भएर गएको छ र हुनु पनि पर्छ । तर यो काम मण्डलीको मिशन विभाग वा मिशन समितिले मात्र गर्न सक्दैन र गर्दैन पनि तर यो काममा सबै मण्डलीको सहभागिता चाहिन्छ । अग्रसर पाइलाहरू चाहिन्छ । जस्तो लेखिएको छ, “सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्दर” (रोमी १०:१५) । तसर्थ हामी सबै मिलेर यो महान जिम्मेवारी पूरा गरौं ।

« Previous PageNext Page »