परमेश्वोरको महिमा र मानिसको नर्यादा (भजनसंग्रह ८) – डा सुएयोसी तोबा
March 4, 2013 | Articles
क) परमेश्वरको महिमाः –हे परमप्रभु, हाम्रा प्रभु, सारा पृथ्वीभरि तपाईंको नाउँ कति महिमित छ ! (८:१)
हाम्रो परमेश्वरचाहिँ परमप्रभु नै हुनुहुन्छ । परमेश्वरको नाउँ अर्थात् परमेश्वरले प्रकट गर्नुभएको स्वभाव सबै सृष्टिभन्दा उच्च छ । “सारा पृथ्वीभरि” भन्ने शब्दले के जनाउँछ ? त्यसले सर्वव्यापी परमेश्वरको उपस्थिति सबै ठाउँमा भएको जनाउँछ । यो धारणाको निम्ति “हे परमप्रभु हाम्रो प्रभु” भन्ने सम्बोधन महत्वपूर्ण छ । ‘परमप्रभु’ भनेको अर्थ व्यक्तिगत परमेश्वर हो ।
ख) परमेश्वरको शक्तिः –शिशुहरू र दूधे–बालकहरूका ओठबाट तपाईंले पूर्ण प्रशंसा निकाल्नुभएको छ, तपाईंका वैरीहरूका कारणले, अनि शत्रु र प्रतिपक्षीलाई चूप गराउनलाई तपाईंले यसो गर्नुभएको छ । (८:२)
प्रभुले “शिशुहरू र दूधे बालकहरू” लाई उहाँको प्रशंसा गर्न शक्ति दिनुभयो । उनीहरू जस्तो दुर्बल व्यक्तिहरूलाई पनि वास्ता गरी आफ्नो महिमा देखाउनुभयो अनि दुर्बलले बलियोलाई शर्ममा पार्नेछ भनी देखाउनुहुन्छ । “वैरीहरू, शत्रु र प्रतिपक्षीलाई चूप गराउन” सक्छ, प्रभुले । कति शक्तिको हाम्रो परमप्रभु हुनुहुन्छ ! उहाँ यहाँ हुनुहुन्छ र हाम्रो बीचमा हुनुहुन्छ भन्ने दावी गरौं । हल्लेलूयाह ।
ग) परमप्रभुको सृष्टिः –जब म तपाईंको हातले बनाएको
आकाशलाई, र तपाईंले स्थापित गर्नुभएका जून र ताराहरूमाथि विचार गर्छु, मानिस के हो, र तपाईं त्यसको वास्ता राख्नुहुन्छ ? मानिसको छोरो के हो, र तपाईं त्यसको फिक्री गर्नुहुन्छ ? तपाईंले त्यसलाई स्वर्गीय प्राणीहरूभन्दा केही मात्र सानो बनाउनुभयो, र त्यसलाई महिमा र आदरको मुकुट पहिराउनु– भएको छ । आफ्नो हातका कामहरूमाथि तपाईंले त्यसलाई शासक बनाउनुभएको छ । सबै थोक तपाईंले त्यसका पैतालामुनि राखिदिनुभएको छ— सबै भेडाबाख्रा र गाई–गोरु र वनका सबै पशुहरू, आकाशका पक्षीहरू र समुद्रका माछाहरू र समुद्रभित्र पौड्ने सबै जन्तुहरू । (८:३–८)
सृष्टिको वर्णन उत्पत्तिको पुस्तकको पहिलो अध्यायमा पाउँछौं । त्यो खण्डले परमेश्वरले कसरी सबै चीज सृष्टि गर्नुभयो भन्ने कुरा हामीलाई देखाउँछ । जस्तैः उज्यालो, पानी, पृथ्वी/भूमि, वनस्पति, ताराहरू, जन्तुहरू/पंक्षीहरू र अन्तमा मानिसजातिलाई परमेश्वरले आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरभन्दा केही मात्र कम स्तरमा मानिस जाति हामी हौं । तरपनि “परमेश्वरले बनाएका सारा कुरा मानिसको अधीनमा दिनुभयो ।” (८:६)
हामीहरू येशू ख्रीष्टमा परमेश्वरका पूर्ण स्वरूप÷प्रतिरूप देख्न सक्छौं । भजनसंग्रह ८:६ पदले येशूको बारेमा बताउँछ ।
(हेर्नुस् १ कोरिन्थी १५:२७) –यो भेटी यिनीहरूले खुशीसाथ जम्मा गरेका थिए, र साँच्चै नै यिनीहरू तिनीहरूका ऋणी पनि छन् । किनकि यदि अन्यजातिहरू तिनीहरूका आत्मिक आशिष्हरूमा सहभागी भएका छन् भने, यिनीहरूले पनि सांसारिक आशिष्हरूद्वारा तिनीहरूको सेवा गर्नुपर्छ ।
(एफिसी १:२२) –अनि पवित्र आत्मामा परमेश्वरको वासस्थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदै जान्छौ । (हिबू्र २:६–८) –धर्मशास्त्रको कुनै एक ठाउँमा यसो भनेर गवाही दिइएको छ, “मानिस के, र तपाईं त्यसको वास्ता राख्नुहुन्छ ? अथवा मानिसको छोरो को हो, र तपाईं त्यसको फिक्री गर्नुहुन्छ ? तपाईंले तिनलाई अलि बेरको निम्ति स्वर्गदूतहरूभन्दा केही तल होच्याउनुभयो । तपाईंले तिनलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ । तपाईंले सब थोक तिनका चरणमुनि राखिदिनुभयो ।
परमप्रभुको प्रशंसाः –हे परमप्रभु, हाम्रा प्रभु, सारा पृथ्वीभरि तपाईंको नाउँ कति गौरवमय छ ! (८:९)
८:१ पदमा “परमप्रभुको नाउँमा प्रशंसा” को अभिव्यक्तिसँग यो भजन शुरू भयो । त्यसरी नै समाप्त पनि हुन्छ । परमप्रभुले समेत मानिसको निम्ति गर्नुभएको वास्ता र योजनामा उहाँको गौरब प्रदर्शित गर्नुभएको छ ।
यी खण्डहरूबाट पाइएको चुनौतिहरूः
१. परमेश्वरको महानतालाई सोचेर प्रशंसा गर्नुपर्ने आवश्यकता देखिन्छ ।
२. परमेश्वरले मानिस जातिको लागि कति ठूलो वास्ता गर्नुहुन्छ ।
३. मण्डलीमा र विश्वासीको बीचमा परमेश्वरको शक्ति प्रकट हुन आवश्यक छ ।
४. परमेश्वरले हामीलाई वास्ता गर्नुभए जस्तै अब इसाईहरूले वातावरणको कुरामा पनि सोच्ने बेला आएको छ ।
आत्मिकी परिपक्वतातिर बढ्दै जानु – पाष्टर प्रेम श्रेष्ठ
February 1, 2013 | Articles
परमेश्वरको वचन कहिल्यै पनि बासी र पुरानो हुदैन किनकि यो जीवित परमेश्वरको मुखबाट निस्कने तथा उहाको आत्माको प्रेरणाबाट निस्कने कुरा हो, “सब संसार टलेर जानेछ तर टल्नेछैन तपाईंको वचन ।” यी दिनहरू हामी प्रभुलाई प्रेम गर्ने ख्रीष्टियान विश्वासीहरूले अझै आपूmलाई ख्रीष्टको स्वभावमा ढाल्दै लैजानुपर्छ । त्यसकारण हामी अब हाम्रा बालक पनलाई त्यागेर परिपक्वता तर्फ बढ्दै जानुपर्छ ।
१. बचपनलाई त्यागेर परिपक्व ख्रीष्टियान बन्दै जानुपर्छः
१ कोरिन्थी १३:११, भजनसंग्रह १३१:२
बचपन भनेको के हो ?
बचपन भनेको मानिसमा भएको बालकपनको स्वभाव वा अपरिपक्व स्वभाव हो । बचपन स्वभाव भएको व्यक्ति तुरुन्तै रिसाउछ, ठीक निर्णय गर्न जान्दैन, स–साना कुरामा ठुस्किन्छ, रिसाउछ, आफुले भनेको बाहेक अरुले केही जान्दैन भनी ठान्छ र एउटै गल्ती घरीघरी दोहोर्याइरहन्छ । उसमा दूर दृष्टि हुदैन अनि झट्टै निर्णय गर्छ । मानिस र पशुमा रहेको भिन्नता यही हो, कि मानिसले गल्ती गर्छ तर फेरि सच्याउछ तर पशुले घरीघरी गल्ती दोहोर्याउछ । जुन मानिस बालक पनमा हुन्छ त्यसले आङ्खनै कुरामा मात्र जिद्दी गर्छ, अरुको सम्मान गर्दैन । ऊ कसैको अधीनतामा बस्दैन, सबैकुरा आफुखुसी गर्छ र आफुलाई नै सबैभन्दा ठूलो सम्झन्छ । त्यस्ता व्यक्तिले मण्डलीमा केही समय राम्रो काम गरे तापनि पछि गएर ऊ एक्लो पर्न सक्छ । यसकारण आज हामीलाई समूहमा बसेर काम गर्ने तथा अरुलाई सम्मान गर्ने परिपक्व विश्वासी तथा अगुवाहरूको नितान्त आवश्यकता छ । यसरी काम गर्न सकेमा गल्तीहरू घटेर जान्छ र मण्डली, परिवार तथा समाजमा आशिष पुर्याउन सकिन्छ अनि मण्डली परिपक्वतातर्फ बढ्दै जान सकिन्छ ।
२. समझदारीमा सुधार ल्याउनुपर्छः १ कोरिन्थी १४:२०
आत्मिकी परिपक्व हुनलाई हामीले हाम्रो समझमा सुधार ल्याउनुपर्छ । किनकि हामी ख्रीष्टमा निर्भर छौं र उहा नै हाम्रो जग हुनुहुन्छ अनि हामीले अर्को जग बसाल्न सक्दैनौं (१ कोरिन्थी ३:११) । स्थिर मन भएकाहरूको शीर ख्रीष्ट हुनुहुन्छ भन्ने समझ हामीमा हुनुपर्छ । हाम्रो काम बतासले हुत्याएको छालजस्तै मन पर्दा काम गर्ने मन नपर्दा नगर्ने किसिमको हुनुहुदैन । बरु प्रेमसित सत्य बोल्दै ख्रीष्टको उचाइसम्म पुग्न सक्ने र ख्रीष्ट झल्किने खालको स्वभाव हामीमा हुनुपर्छ (एफिसी ४:११–१६) । ख्रीष्ट हाम्रो शिक्षक हुनुहुन्छ, उहाले हामीलाई शिक्षा दिनुहुन्छ तर सधैभरि हामी आधारभूत शिक्षा जस्तैः मुक्ति, प्रेम, शान्ति, आनन्द, चंगाइ आदि कुराहरूमा मात्र उहाले शिक्षा दिनुहुन्न । तर प्रभुले हामीलाई अब खदिलो खुराक जस्तैः धार्मिकता, समस्याहरूको सामना गर्ने कुरा र समाजको भलाइ इत्यादि कुराहरूमा पनि शिक्षा दिनुहुन्छ । हाम्रो समझले ख्रीष्ट हामी प्रति कृपालु हुनुहुन्छ भन्ने कुरा पनि जान्नुपर्छ र हामीले पाएको मुक्तिमा बढ्दै जानुपर्छ (१ पत्रुस २:२,३) । हाम्रो समझलाई भलाइतिर लगाउनुपर्छ (यर्मिया ४:२२, मत्ती १०:१६) । खराबी गेर असल र शान्तिपूर्ण बाटो अपनाउनुपर्छ (रोमी १६:१९) ।
३. ख्रीष्टको आदर्शलाई पछ्याउदै जानुपर्छः एफिसी ४:१३,१४
ख्रीष्टले जस्तै त्यागको जीवन जिउने चाहना राख्न अति जरुरी छ (फिलिप्पी ४:३–८) । परमेश्वरबाटको बुद्धिलाई चलाउदै जानुपर्छ, हामी मानवीय बुद्धिमा कहिलेकाही“ ठूला–ठूला भूलहरू हुन्छन् जो बितेर जान्छ तर परमेश्वरबटको लुकेको बुद्धिलाई प्रयोग गरेर उहाको महिमा गर्नु राम्रो हुन्छ । (१ कोरिन्थी २:६–८) । ख्रीष्टलाई घोषणा गर्दै हामी जानेको बुझेको व्यक्तिले उहाको कामलाई सक्दो परिश्रम गरेर प्रचार गर्नु नै एक परिपक्व विश्वासीको चिन्ह हो । (कलस्सी १:२८,२९) । उहाको आदर्शलाई पछ्याउदै ख्रीष्टको पूर्णतातर्फ अघि बढिरहनाले हामीलाई परिपक्व बनाउन सहायता गर्छ । हामी व्यवस्थाको अधीनमा होइन तर अनुग्रहको अधीनमा छौं । (यूहन्ना १:१६–१८) । हाम्रो सेवकाइ, काम उहाको अधीनमा गरिनुपर्छ ।
मण्डलीमा २ प्रकारका विश्वासीहरू हुन्छन्ः
क) प्रेम विनाको सत्यता जुनचाहि“ अति कडा हुन्छ, उसले सत्यता बुझेको हुन्छ तर त्यसमा प्रेम छैन अनि त्यो राम्रो हुदाहुदै पनि कडा हुन्छ ।
ख)सत्यता बिनाको प्रेम जसले कसैलाई दुखाउन चाहदैन र सबैसग मेल–मिलापमा बस्न खोज्छ तर त्यो पनि अति लुलो र कमजोर हुन्छ । यसकारण सत्यतालाई पे्रममा ढालेर सन्तुलन कायम गर्दै ख्रीष्टको आदर्शलाई पछ्याउदै जानु राम्रो हुन्छ । (एफिसी १:२१–२३, एफिसी ३:१९) ।
४. परीक्षालाई जित्दै जानुपर्छः
हिब्रू ५:११–१४, १ यूहन्ना २:१४
खराब र सत्य छुट्याउने एउटै मात्र उपाय परमेश्वरको वचनलाई पढेर, बुझेर र मनन गरेर मात्र हो । जुन कुराले हामीलाई बागी बन्नबाट रोक्छ त्यो चाहि प्रभुको वचन नै हो (२ तिमोथी ३:१०–१३) ।
जसरी प्रभुले शैतानलाई त्यसको परीक्षाबाट त्यसलाई हराउन परमेश्वरको वचन प्रयोग गर्नुभयो । त्यसैगरी हामीलाई उहा“को वचनको ज्ञान हुन अति जरुरी छ । त्यसकारण हामी परिपक्व हुदै जानुको अर्को विकल्प छैन किनकि ख्रीष्टियान जीवन अघि बढ्ने जीवन हो पछि हट्ने जीवन होइन जसरी मानिसले जहिले पनि काचो फलको होइन तर पाकेको फलको आशा गर्छ त्यसैगरी परमेश्वरले पनि उहाको छोरा–छोरीलाई पनि परिपक्व भएको देख्न चाहनुहुन्छ र धेरै फलफलाएको देख्ने इच्छा गर्नुहुन्छ ।
के हामी उहालाई खुसी तुल्याउन चाहन्छौं ? निश्चय नै चाहन्छौं । त्यसकारण हामी सधै ख्रीष्टको स्वरुपमा बनिदै जानलाई यी कुराहरूको हेक्का राख्नुपर्छ (२ कोरिन्थी २:१४–१७) । प्रभुले हामी सबैलाई उहाको स्वरुपमा बनाउदै लैजाऊन्, हामी वरदान चलाउने मात्र होइन तर आत्माका फल फलाउने उहा“का छोराछोरी, चेलाचेली र मित्रहरू बन्न सकौं । आमिन ।
परमेश्वोरको उपस्थितिद्वारा पाइने केही आशिषहरु (प्रस्थान ३३:१-६, १२-२६) – पाष्टर रोबर्ट कार्थक
January 28, 2013 | Articles
व्यवस्थाका पाटीहरू लिनलाई परमेश्वरकहाँ गएको मोशा चालीस दिनसम्म सीनै पर्वतमा उतै अल्मलिए । यसरी लामो समयसम्म पनि तिनी नफर्कदा हतास भएका इस्राएलीहरूले हारूनलाई एउटा सुनको बाछो बनाउन लाएर परमेश्वरको सट्टामा त्यसलाई नै पुज्नथाले । परमेश्वर साह्रै क्रोधित हुनु भयो र तिनीहरू सबैलाई भस्म गर्ने निर्णय गर्नुभयो । मोशाले बडो मुश्किलसित उहाँलाई मनाए । उहाँले मोशालाई भत्रुभयो, ‘‘तिमीहरू हठी मानिस हौ, यसकारण म तिमीहरूको मध्यमा हिँड्ने छैन नत्रता बाटैमा म तिमीहरूलाई नाश पारुँला । …म तिमीहरूका अगि–अगि एउटा दूत पठाउनेछु ।” अब उसो परमेश्वर तिनीहरूसँग नजाने भत्रे कुराले मोशालाई साह्रै विचलित गरायो । परमेश्वरको आदेशअनुसार त्यति ठूलो हठी, बागी, अनाज्ञाकारी भीडलाई प्रतिज्ञाको मुलुकमा पु¥याउने कामको जिम्मेवारी आफैले एक्लै वहन गर्न सक्ने आँट तिनलाई भएन । तिनीहरूका भविष्यको निम्ति परमेश्वरले राख्नुभएका योजनाहरू पनि जात्र तिनले आवश्यक ठाने । तिनले परमेश्वरलाई भने, बिन्ती छ, यदि तपाईंको निगाह ममाथि भएको छ भने अब मलाई तपाईंको मार्ग देखाउनु होस् । परमेश्वरले तिनलाई भत्रुभयो, ‘‘मेरो उपस्थिति नै तँसँग जानेछ र म तँलाई विश्राम दिनेछु ।” यो सुनेर मोशालाई कति खुशी लाग्यो होला ? भजन १०३:७ ले भन्दछ “उहाँले मोशालाई आफ्नो मार्ग…देखाउनु भयो ।”
२०१२ साललाई पछि छाडेर अब हामी २०१३ सालमा प्रवेश गरेका छौं । यो वर्ष हाम्रो लागि कस्तो वर्ष हुन्छ भनी हामी कसैलाई पनि थाहा छैन । बितेको वर्ष हामीले धेरै कुरामा परमेश्वर पितालाई दुखित तुल्यायौं, रीस उठायौं । अब उप्रान्त उहाँ हामीसँग जान सक्नुहुत्र होला जस्तो हामी कतिलाई लागेको पनि होला । तर उहाँ, हामीलाई प्यार गर्नुहुने, माया गर्नुहुने, अति धिरजी र प्रेमी परमेश्वर पिता हामीलाई भत्रुहुन्छ, ‘‘मेरो उपस्थिति नै तिमीहरूसँग जानेछ, र म तिमीहरूलाई विश्राम
दिनेछु ।” उहाँले हामीलाई छाड्नु हुनेछैन, त्याग्नु हुनेछैन । उहाँको आत्मा हाम्रो साथमा मात्र होइन तर हामीभित्र नै बास गर्नुहुन्छ र उहाँ सधैँसम्मको निम्ति हामीसँग हामीमा रहनुहुनेछ (यूहत्रा १४:१३–१७) । पूराना करारका मानिसहरू भन्दा हामी नयाँ करारकाहरू अत्यन्तै भाग्यमानी छौं । ती मानिसहरूमध्ये कति विशेष–विशेष व्यक्तिहरूलाई मात्र विशेष–विशेष कामको निम्ति पवित्र आत्मा दिइनुहुन्थ्यो । हामी विश्वासीहरूसँग चाहिँ उहाँ विशेष–विशेष अवसरमा मात्र होइन तर सबैसँग सधैँ–सधैँ नै
रहनुहुन्छ । उहाँ हाम्रो साथमा मात्र होइन तर हामीभित्र नै बस्नुहुन्छ । यी आशिषहरू पहिलेका भक्तहरूले चाहिँ उपभोग गर्न पाएनन् ।
प्रस्थान ३३:१४–१६ मा हामी परमेश्वरको उपस्थितिद्वारा पाइने कति आशिषहरूका बारेमा पढ्न पाउँछौं । पहिलो मुख्य आशिष त परमेश्वरको यही वचनमा नै भेट्टाउँछौं । उहाँ भत्रुहुन्छ, ‘‘मेरो उपस्थिति नै तँसँग जानेछ र म तँलाई विश्राम दिनेछु ।” परमेश्वर स्वयं साथमा जानुहुने हुनाले अब मोशालाई इस्राएलीहरूको जिम्मा आफैले एक्लै बोक्नु नपर्नेभयो । यस विषयमा तिनी ढुक्क भए, तिनी निश्चिन्त बस्नसके । हृदयबाट एउटा ठूलो भार नै हटेर गयो । भजन १६:११ मा दाऊद भन्छन्, ‘‘तपाईंकै उपस्थितिमा आनन्दको भरपूरी छ । तपाईंको दाहिने बाहुलीमा सदा सर्वदाको निम्ति सुख छ ।”
उहाँको उपस्थितिको विश्रामभित्र नै हाम्रो निम्ति शान्ति, सुरक्षा, सफलता, आनन्द, ढुक्कपना, निश्चिन्ता, सन्तुष्टता, तृप्ति, स्वास्थ्य–तन्दुरुस्ती जस्ता सबै उत्तम कुराहरू राखिएका छन् । उहाँको उपस्थितिमा रहने मानिसको लागि उहाँले नै सबैकुराको प्रवन्ध मिलाइ दिनुहुन्छ । उहाँले त्यसलाई कुनै घटी अभावमा छोडि राख्नुहुन्न । दाऊदले पनि भजन २३:१ मा भन्दछन्, ‘‘परमप्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई केही कुराको खाँचो हुँदैन ।” व्यवस्था २:७ मा लेखिएको छ कसरी परमेश्वरले उजाड स्थानको यात्राभरि ती इस्राएलीहरूको हेर विचार गर्नुभयो । चालीस वर्षभरि उहाँ तिनीहरूसँगै उजाड स्थानमा रहनु भयो अनि तिनीहरूलाई केही कुराको अभाव भएन । तिनीहरू भोकै, नाङ्गै भएनन्, तिनीहरूले स्वर्गदूतहरूको खाना खान पाए, चट्टानको पानी पिउन पाए । रोग बिमारले तिनीहरूलाई सताएनन्, शत्रुहरू तथा अरु जङ्गली जनावरहरूबाट पनि तिनीहरू सुरक्षित रहे । तिनीहरूका लुगाहरू र जुत्ताहरू पनि फाटेनन् । परमेश्वरले नै तिनीहरूको वास्ता गर्नुभयो, तिनीहरूलाई कुनै कुराको अभाव भएन । विश्रामको मुलुकको खास विश्राम वा तिनीहरूका लागि विश्रामको मुलुकमा नै राखिएको थियो तर उजाड स्थानमा पनि परमेश्वरको उपस्थितिमा तिनीहरूलाई विश्राम मिल्यो ।
प्रस्थान ३३:१५ मा मोशा उहाँलाई भन्छन्, “यदि तपाईंको उपस्थिति मसित गएन भने हामीलाई यहाँबाट उता नलानुहोस् ।” परमेश्वर तिनीहरूसँग नजानुहुने र उहाँको सट्टामा कुनै स्वर्गदूतलाई पठाउनुहुने कुरा कतिलाई त एकदमै मनपर्यो होला । भस्म गर्ने आगो जस्तो रापिलो परमेश्वरसँग भन्दा त बरु एउटा स्वर्गदूतसँग यात्रा गर्नु नै अति सजिलो हुन्छ भत्रे धेरैले सोचे होलान् । स्वर्गदूतलाई त जसो तसो मनाउन सकिन्छ भत्रे लाग्यो होला कतिलाई । तर मोशा आफैले चाहिँ परमेश्वरको उपस्थिति नै बढी रूचाएका थिए । परमेश्वर बिनाको दूध र मह बग्ने देशका प्रशस्त आशिषभन्दा त बरु परमेश्वरसँगको उजाड स्थानको थोरै सिमित आशिष नै तिनको निम्ति ज्यादै मनपर्दो थियो । तिनले परमेश्वरलाई भने, “तपाईं हामीसँग नजानुहुने भए हामी पनि प्रतिज्ञाको मुलुकमा जाने छैनौं । हामीलाई तपाईंसँगै यही उजाड स्थानमा बस्ने अनुमति दिनुहोस् । तपाईं बिना दूध र मह बग्ने देशमा बस्नु भन्दा त तपाईंसँग उजाडस्थानमा यहीँ बस्नु हाम्रो निम्ति असल हुनेछ ।” मोशालाई परमेश्वरको आशिषहरूले मात्र नपुग्नेभयो, तिनी परमेश्वरलाई नै चाहन्थे ! हामी नी ? परमेश्वरका आशिषहरूसँग नै सन्तुष्ट छौं कि हामी परमेश्वरको संगतिकै बढी चाहना गर्छौं ? हाम्रो निम्ति कुनचाहिँ ठूलो हो ।
दानहरू कि दाता ? परमेश्वरको आशिष कि आशिषको परमेश्वर ?
उहाको उपहार कि उहाको उपस्थिति ?
प्रस्थान ३३:१६ मा तिनी परमेश्वरलाई सोध्छन् “तपाईं हामीसितै नगएसम्म म र तपाईंका यी मानिसहरूले तपाईंको निगाह पाएका छौं भनेर हामीले कसरी जात्रे ? तपाईं हामीसितै जानुभएमात्र ता जानेछौं ।” परमेश्वर आफ्ना मानिसहरूसित नजानुभएको भए उहाँ तिनीहरूसँग रिसाउनुभएको, रूष्ट हुनुभएको, चित्त दुखाउनुभएको जस्तै देखिने थियो । तर उहाँ साथमा हुनुभएकोले उहाँ तिनीहरूसँग प्रसत्र नै हुनुहुन्छ भत्रे थाहा हुनेभयो । यूहत्रा ८:२९ मा येशू प्रभु भत्रुहुन्छ, “मलाई पठाउनु हुने मसँग हुनुहुन्छ । उहाँले मलाई एकलै छोड्नु भएको छैन, किनभने म सधैं उहाँलाई प्रसत्र तुल्याउने काम गर्दछु ।” हामीले परमेश्वरको संगतिको आशिष सधैं उपयोग गर्नु हो भने उहाँ जस्तो ज्योतिमा हुनुहुन्छ हामी पनि ज्योतिमा हिँड्नुपर्छ (१ यूहत्रा १:७), उहाँसँग हामी सधैं सबै कुरामा सहमत हुनुपर्छ (आमोस ३:३) र मात्र उहाँ हामीसँग हिँड्नुहुनेछ । १६ पदको अन्त्यमा मोशा यो पनि भन्छन्, “यसैले म र तपाईंका मानिसहरू पृथ्वीका सारा मानिसहरू देखि भित्रै हुनेछौं ।” जिउँदो परमेश्रको उपस्थिति हामीसँग रहेको कारणले नै हामी संसारका अरु मानिसहरूभन्दा बेग्लै भएका छौं । उहाँले हामीलाई पवित्र हुनालाई बोलाउनुभएको छ । १ पत्रुस १:१५–१६ मा हामीलाई बोलाउनुहुने परमेश्वर भत्रुहुन्छ, “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु ।”
बाइबलमा पवित्र हुनु भनेकोचाहिँ शुद्ध हुनु वा चोखो हुनु भनेको मात्र होइन तर परमेश्वरको निम्ति अलग गरिनु हो, अरुभन्दा बेग्लै हुनु हो । परमेश्वरको निगाह पाएर उहाँको पवित्र उपस्थितिमा जिउने मानिसहरू उहाँजस्तै संसारका अशुद्धताबाट, अपवित्रताबाट अलग भएर बस्नुपर्छ । हामी संसारमा छौं तर हामी संसारका होइनौं । पवित्रतामा जीवन बिताउने शक्ति दिनलाई नै परमेश्वर पिताले हामीलाई पवित्र आत्मा दिनुभएको छ । उहाँकै नियन्त्रणमा रहेर हामी पवित्र भएर जिउन सक्छौं ।
परमेश्वर भन्दैहुनुहुन्छ, “२०१३ सालमा पनि मेरो उपस्थिति तिमीहरूसग जानेछ र म तिमीहरूलाई विश्राम दिनेछु ।”
ख्रीष्ट बिनाको ख्रीष्टमसको कुनै अर्थ हुँदैन – डि सिमोन पाठक
November 30, 2012 | Articles
विश्वमा डिसेम्बर २५ तारिखका दिन करोडौंको संख्यामा येशू ख्रीष्टमा विश्वास गर्ने इसाईहरूले ख्रीष्टमस मनाउँछन् । नेपालमा पनि हिजो आज ख्रीष्टमस धुमधामसँग मनाउन थालिएको छ । बाइबलमा येशू जन्मनुभएपछि मानिस जातिलाई स्वर्गदूतले दिएको पहिलो सन्देश नै “नडराऊ” भन्ने थियो । तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराऊ, किनभने हेर, म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ ।” किन नडराऊ ? किनकि मुक्तिदाताको जन्म भएको छ । मुक्तिदाताको जन्मसँगै परमेश्वरले शान्ति पनि पठाइदिनुभएको छ (लूका २:१०, १४) । त्यो शान्ति तिनीहरूले मात्र प्राप्त गर्न सक्छन् जसले परमेश्वर पिताले दिनुभएको अवर्णनीय उपहार येशू ख्रीष्टलाई ग्रहण गर्छन् र आफ्नो हृदयमा राज्य गर्न दिन्छन् । तिनीहरूको जीवनमा परमेश्वरले शान्तिको पनि घोषणा गर्नुभएको छ । ख्रीष्टमसको यो वास्तविकता हुँदाहुँदै पनि मैले यस लेखमा ख्रीष्टमसको तीतो सत्यतालाई कोट्याउँदै ख्रीष्टमसको यथार्थलाई प्रस्तुत गर्ने जमर्को गरेको छु ।
ख्रीष्टमस विरोधी तत्वहरू
ख्रीष्टमसको यथार्थ हुँदा हुँदै पनि येशू ख्रीष्टको जन्मदिनको वास्तविकतालाई बङ्ग्याएर आ–आफ्नै दर्शन शास्त्रको विकास गरेर सोझा साझा विश्वासीहरूको विश्वासलाई प्रहार गर्ने झुण्डहरू नेपालमा देखा परेका छन् । तिनीहरू सुट बूट लगाएर, पवित्र शास्त्र बाइबल च्यापेर ख्रीष्टियनहरूको घर दैलोमा गएर येशू ख्रीष्टको जन्मदिनको विरोध गर्छन् । तिनीहरूलाई ख्रीष्ट विरोधी नभनेर अब के भन्ने ?
बाइबल धर्मशास्त्रले सुसमाचार सुनाएर विनासको बाटोमा हिँडेका मानिसहरूलाई स्वर्गको बाटोतर्फ फर्काउन र येशूको चेला बनाउनलाई आज्ञा गरेको छ । तर यी दिनहरूमा सृष्टिकर्ता परमेश्वरसँग मिलाप गराउने उद्देश्यले मानिसहरूको घर–दैलोमा पुग्नुपर्ने ठाउँमा परमेश्वरसँग मिलाप भएकाहरूलाई विछोड गराउने लक्ष्य राखेर ख्रीष्ट जन्मोत्सवको विरोध गर्नेहरू ख्रीष्टियनहरूको घर–दैलो कार्यक्रममा जुटेका छन् त्यस्ता व्यक्तिहरूदेखि होसियार ! बाइबलले त्यस्ता व्यक्तिहरूलाई घरमा स्वागत पनि नगर्नु भन्ने कडा आज्ञा दिएको छ । यसकारण ख्रीष्टमस विरोधी तत्वहरूदेखि होशियार !
ख्रीष्ट बिनाको ख्रीष्टमस
विश्वमा शहर बजारमा बढी झिलिमिली हुने, होटेल, रेष्टुराँहरूमा बढी चहलपहल हुने र सबैभन्दा बढी व्यापार हुने समय पनि ख्रीष्टमस नै हो । नेपालमा पनि केही वर्षदेखि ख्रीष्टमसको समयमा होटेल रेष्टुराहरू सिंगार्ने, ह्याप्पी ख्रीष्टमसका तुलहरू टाँग्ने, शहरका मुख्य भागहरूमा झिलिमिली पार्ने र ख्रीष्टमस पार्टीको नाममा वियर र भोड्काका बोतलहरू हातमा लिएर ख्रीष्टमस मनाउने युवा पुस्ता पनि नेपालमा देखिन थालेका छन् । यसरी ख्रीष्टमस मनाउनेहरूले येशू को हुनुहुन्छ ? किन पृथ्वीमा जन्मनु भयो ? किन क्रूसमा मारिनुभयो ? चर्च भनेको के हो ? मुक्ति कसरी पाइन्छ भन्ने विषयमा उनीहरूले बुझेका पनि हुँदैनन् । तर पनि उनीहरू ख्रीष्टमस मनाइराखेका छन् । यस किसिमले ख्रीष्टमस मनाउनुको कुनै अर्थ छैन ।
ख्रीष्ट बिनाको ख्रीष्टमसले मानिसको जीवनमा कुनै पनि परिवर्तन ल्याउँदैन । ख्रीष्ट बिनाको ख्रीष्टमस मनाउनेहरूको जीवनबाट परमेश्वर खुशी हुन सक्नुहुन्न । यदि कुनै परिवारमा बालकको जन्मदिनको अवसरमा घरमा धुमधामसँग नाचगान र खानपिन भइराखेको छ तर जुन बालकको जन्मदिन मनाइराखेको हो त्यो बालकचाहिँ घरको ढोका बाहिर जाडोमा कठ्याङ्ग्रिदै रोइराखेको छ, ऊ घरभित्र आउन चाहन्छ तर ढोका बन्द गरेर त्यस बालकलाई बेवास्ता गर्दै त्यही बालकको जन्मदिनमा घरभित्र नाचगान गर्दै खानपिन गरेर जन्म दिवस मनाइन्छ भने त्यसको के अर्थ रहन्छ र ? मानिसले ख्रीष्टलाई आफ्नो हृदयको ढोका बन्द गरेर ख्रीष्ट बिनाको ख्रीष्टमस होइन तर येशू प्रभुलाई आफ्नो हृदयमा ग्रहण गरेर मनाएको ख्रीष्टमसको मात्र साँचो अर्थ रहन्छ । हामी ख्रीष्ट बिनाको ख्रीष्टमस मनाउनेहरू नबनौं ।
ख्रीष्टमस मनाउनुको कारण
प्रभु येशू ख्रीष्टको जन्मदिनको उपलक्ष्यमा ख्रीष्टियनहरूले ख्रीष्टमस मनाउँछन् । बाइबलमा ख्रीष्टमस मनाउनु भनेर लेखिएको छैन । येशू ख्रीष्ट डिसेम्बर २५ तारिखमा जन्मनुभएको हो भनेर पनि बाइबलमा उल्लेख गरिएको छैन । त्यसो भए किन हामीले ख्रीष्टमस मनाउने ?
हामीहरू ख्रीष्टमस मनाउँछौं । हो, हामीलाई येशूको जन्मदिनको पक्का मिति थाहा छैन कारण बाइबलमा लेखिएको छैन तर येशूको जन्मदिनको समयमा गोठालाहरू, ज्योतिषीहरू, हेरोद राजा, आदिको पनि बाइबलमा येशूको जन्मसँगै वर्णन गरिएको छ । येशूको जन्म भएको समय निर्धारण गर्नलाई सजिलो माध्यम भनेको सिजर अगष्टस्को उर्दी पनि एक हो । त्यस समयमा सबै मानिसहरू आ–आफ्नो शहरमा नाम दर्ता गराउन गएका थिए । “योसेफ पनि गालिलको नासरतबाट यहूदियाको बेथलेहेम भन्ने दाऊदको शहरमा गए किनभने तिनी दाऊदका कुटुम्ब र वंशका थिए” (लूका २:४) । सिजर अगष्टसको जनगणनाको समयमा येशूको जन्म बेथलेहेममा भएको हुनाले उहाँको जन्मदिनको समय अवधिलाई इतिहासले पनि पुष्टी गरेको छ ।
येशूको जन्मको समय अवधिभन्दा पनि महत्वपूर्ण कुरा उहाँको जन्म हुनु नै हो । एक्काइसौं शताब्दीअघि येशू यहूदियाको बेथलेहेममा जन्मनुभयो । नासरत शहरमा हुर्कनुभयो । तीस वर्षको उमेरमा पानीको बप्तिस्मापछि पवित्र आत्मा उहाँमाथि ढुकुरको रूपमा ओर्लनुभयो । शैतानको परीक्षामाथि विजय भएपछि आत्माको शक्तिमा गालीलमा फर्कनुभयो । उहाँले धेरैलाई आँखा देख्ने, हिँड्न सक्ने, रोगहरूबाट निको हुवाइ र शैतानबाट पेलिएकाहरू स्वतन्त्र पार्ने काम गर्नुभयो । अन्तमा पापी मानिसको उद्धार गर्न क्रूसमा बलि हुनुभयो र मृत्युको तेस्रो दिनमा फेरि जीवित हुनुभयो र चालीस दिनपछि स्वर्ग उचालिनुभयो । एकदिन येशू फेरि यस पृथ्वीमा आउनुहुनेछ तर त्यो दिन पृथ्वीको अन्त्य हुनेछ भन्ने विषयमा बाइबलमा प्रस्टसँग उल्लेख गरिएको छ र हामीलाई यस विषयमा बाइबलले स्पष्टसँग बताएको छ । येशूको जन्मको विषयमा सयौं वर्ष अघिदेखि उहाँको जन्म, मृत्यु र पुनरुत्थानको विषयमा गरिएको भविष्यवाणी सत्प्रतिशत पहिलो शताब्दीमा पूरा भयो । येशूको जन्म नभएको भए क्रूसको मृत्यु पनि हुन सक्ने थिएन र मृत्यु नभएको भए जीवित अर्थात् पुनरूत्थान पनि हुन सक्ने थिएन । यसकारण हामी ख्रीष्टमस मनाउँछौं ।
साँचो खीष्टमस
येशूको जन्मदिनलाई मानिसको जन्मदिन जस्तै खाने, पिउने, नयाँ कपडा लगाउने, रमाइलो गर्नेमा मात्र परिणत गरियो भने साँचो ख्रीष्टमस हुन सक्दैन । यो त एउटा धर्म मानेको जस्तो वा चाडपर्व मानेको जस्तो मात्र हुन जान्छ ।
ख्रीष्टमस एउटा यस्तो अवसर हो अन्धकारमा भएका मानिसलाई उज्यालोमा ल्याउने र नरकको बाटोमा हिँडिराखेका पापी मानिसलाई स्वर्गको बाटोतर्फ डोर्याउने । अशान्तिमा जीवन जिइराखेकाहरूलाई शान्तिको सन्देश छरेर शान्तिदाता येशू ख्रीष्टसँग मिलाप गराउने । यदि नेपालका मण्डलीले यो वास्तविकतालाई बुझेर ख्रीष्टमस मनाउन सके भने त्यो नै साँचो ख्रीष्टमस हुनेछ । प्रभु येशूले प्रत्येक ख्रीष्टियनबाट चाहनुभएको साँचो ख्रीष्टमस उपहार नै पापी मानिसलाई येशू चिनाउनु हो । योभन्दा बहुमूल्य उपहार प्रभु येशूको निम्ति अर्को कुनै उपहार नै छैन । साँचो ख्रीष्टमस हुनका निम्ति प्रत्येक दिन, हप्ता, महिना र वर्षमा जिब्रो र जीवनको साक्षीद्वारा आत्मा बचाइनु पर्दछ र परमेश्वरको महिमाको निम्ति प्रत्येक दिन जीवन जिउनुपर्दछ । यो नै साँचो ख्रीष्टमस हो । तपाईंको निम्ति यो वर्षको ख्रीष्टमस यथार्थ बनोस्, यही नै प्रार्थना तथा शुभकामना छ ।
परमेश्वोरले प्राकृतिक विपत्तिहरु किन आउन दिनुहुन्छ ? – पाष्टर महेश थाँजु
November 2, 2012 | Articles
मैले यो लेखको प्रारम्भ गर्दा आषाढको तेश्रो हप्ता भएको र मनसुन वर्षा शुरू भइसकेको थियो । खबरहरू घरिघरि आउन लागेका थिए कि बाढीका कारण, पहिरोका कारण, कटानका कारण मानिसहरूको मृत्यू हुँदैछ, मानिसहरू र वस्तीहरू जोखिममा परेका छन् आदि ईत्यादि । हामी सबैको एउटा साझा जिज्ञासा यही हो कि परमेश्वरले प्राकृतिक विपत्तिहरू जस्तै बाढी पहिरो, भूकम्प, सुनामी, विनाशकारी आँधी हुरी–बतास किन आउन दिनुहुन्छ ? हालसालैका, यातायात क्षेत्रका दुर्घटनाहरू अत्यन्तै हृदयविदारक र सबैलाई शोकित गराउने खालको थियो । सीता एअरको ड्रोनियर विमान गत महिना दुर्घटनाग्रस्त हुँदा हामी सबैलाई यसले दुखित तुल्याएको थियो । विभिन्न लेखहरू र पुस्तकहरूलाई आधार बनाएर तयार पारिएको यो छोटो लेखद्वारा हामी सबैले चिनेका परमेश्वरको चरित्रको एउटा अर्को पाटो थाहा गर्न हामीलाई मदत मिल्नेछ ।
विगतका अत्यन्तै विनाशकारी विपत्तिहरू सन् २००४ मा भएको सुनामी, सन् २००५ को “कट्रीना” आँधी, सन् २००८ मा बर्मामा आएको विनाशकारी हुरी–बतास, हेइटीमा सन् २०१० मा आएको महाभूकम्प आदिले “परमेश्वर कहाँ हुनुहुन्थ्यो” भनेर सोध्ने अवस्थामा मानिसहरूलाई पुर्याइदियो । के परमेश्वर यति साह्रो निष्ठूर हुनुहुन्छ ? के हामीलाई उहाँले प्रेम गर्न छोड्नुभयो ? नेपालमा मानिसहरू भन्ने गर्छन्, “देउता रिसायो” ।
परमप्रभु परमेश्वर नै सारा जगतका सृष्टिकर्ता हुनुहुन्छ । सम्पूर्ण सृष्टिका थोकहरूमाथि लागु हुने प्राकृतिक नियमहरू उहाँले नै स्थापित गर्नुभएको हो । प्रायजसो प्राकृतिक प्रकोपहरू यी नै नियमहरू कार्यान्वयन हुने क्रममा घट्ने गर्दछन् । आँधी, हुरी–बतासहरू, फिलिपीन्स देशमा आउने “टाइफून्” र सँ.रा.अमेरिकामा आउने भनेर सुनिएको “हरिकेन्” अनि “टोर्नेडोहरू” (विनाशकारी आँधी, तुफान) थरिथरिका प्रतिकूल मौसमहरूबीचको टक्करको परिणाम हो । भुकम्पहरूचाहिँ पृथ्वीको भित्री भागहरूमा भएको भूभागहरू अडिएर बसेको संरचना यताउता सर्कंदा आउने गर्दछन् । समुद्रतलमा आएको भुकम्पका कारण सुनामी हुने गर्दछ ।
(कलस्सी १:१६–१७) सृष्टिका सबै थोकहरू येशू ख्रीष्टमा नै अडिएर (गाँसिएर) रहेका छन् । के परमेश्वरले प्राकृतिक विपत्तिहरू रोक्न सक्नुहुन्छ ? जरुर सक्नुहुन्छ ! के परमेश्वरले कहिलेकाहीँ मौसमहरूमा दखलअन्दाजी गर्नुहुन्छ ? हो, गर्नुहुन्छ, जसरी हामी याकूब ५:१७–१८ र व्यवस्था ११:१६–१७ मा पढ्दछौं ।
यस्तो देखिन्छ कि परमप्रभु परमेश्वरले कहिलेकाहीँ पापको विरुद्धमा इन्साफ गर्नका खातिर प्राकृतिक विपत्तिहरू हुन दिनुहुन्छ (गन्ती १६:३०–३४) । प्रकाशको पुस्तकमा, अध्यायहरू ६, ८, र १६ का घटनाहरू निश्चय नै प्राकृतिक विपत्तिजस्तै देखिन्छन् । के हरेक प्राकृतिक विपत्तिका घटनाहरू परमेश्वरले मानिसहरूलाई दण्ड दिनका लागि पठाउनुभएको हो त ? निश्चय होइन !
दुष्ट मानिसहरूले दुष्ट्याईं गर्दै हिँड्छन् । तितो पानीको मूलबाट मीठो पानी निस्कँदैन । यसैकारण, पापले सृष्टिका थोकहरूलाई पनि भ्रष्ट पारेको हुनाले यही कुरो विभिन्न प्राकृतिक प्रकोपहरूको माध्यमद्वारा यस संसारमा प्रकट हुने गर्दछ । पापको कारण पृथ्वी कुरुप भएको छ, विनाशशील भएको छ । “सृष्टि बडो उत्कण्ठाले परमेश्वरका पुत्रहरू प्रकट हुने कुराको प्रतिक्षा गर्छ । सृष्टि व्यर्थताको वशमा पारियो, त्यसको आफ्नै इच्छाले होइन तर उहाँको इच्छाले, जसले त्यसलाई वशमा पार्नुभयो, यसै आशामा, कि सृष्टि त्यसको आफ्नै विनाशको बन्धनबाट मुक्त गराइनेछ र त्यसले पनि परमेश्वरका सन्तानको महिमित स्वतन्त्रता प्राप्त गर्नेछ ।” (रोमी ८:१९–२१) पापको कारण मानिसको पतनको असर सबथोकमाथि परेको छ – हामी बसोबास गर्ने धरतीमाथि पनि । सब सृष्टि व्यर्थता र अधोगतिको वशमा पारियो । मृत्यु, रोग–बिमार, महामारी, दुःख–सङ्कष्ट आदि प्राकृतिक विपत्तिहरूको प्रमुख कारण पनि पाप नै हो ।
प्राकृतिक विपत्तिका घटनाहरू किन हुन्छन् सो हामी जान्न सक्छौं, तर परमेश्वरले ती किन हुन दिनुहुन्छ, सो हामी जान्दैनौं । के साँच्चिकै, परमेश्वरले नै २,२५,००० ज्यान जानेगरी सुनामी आउन दिनुभएको हो त ? हजारौंको घर बर्बाद हुनेगरी “कट्रीना” आँधी के परमेश्वरले नै आउन दिनुभएको हो ? भयानक प्राकृतिक विपत्तिहरूका परिणामस्वरूप मानिसहरूले यस जीवनको आशा गुमाउने र ईश्वर अनि धार्मिक आस्थाका कुराहरूमा रुची देखाउने गरेका घटनाहरू आ–आफ्ना ठाउँमा छँदैछन् । मानिसहरू धमाधम चर्च जान थालेका र बाइबल किनेर पढ्न थालेका समाचारहरू पनि हामीले त्यतिखेर पढ्यौं । परमेश्वरले निश्चय नै आफ्ना सृष्टिलाई प्रेम गर्न र भलाई गर्न छोड्नुभएको छैन ।
धरानको प्रार्थना सम्मेलनका बखत कतिजनाको ज्यान गयो होइन, कतिजनाको ज्यान जोगियो, त्यतातिर ध्यान दिऔं र इसाईहरूलाई खिसी गर्नेहरूलाई पनि यही जवाफ दिऔं ।
अइसाइहरुसँग मित्रता गर्नु के हामीलाई उचित छ ? पाष्टर महेश थान्जु
October 8, 2012 | Articles
यो चाडपर्वको बेला हो, सबै साथी–संगीहरू जमघट हुने समय । कहिलेकाहीँ हामी इसाईहरूलाई सबै ठाउँमा, सबैसित हेलमेल हुन अप्ठ्यारो हुन्छ । अइसाई मित्रहरूप्रतिको हाम्रो दृष्टिकोण के–कस्तो हुनुपर्छ सो जानिराख्नु राम्रो हुन्छ । यही अभिप्राय राखेर यो लेख तयार गर्ने काम भएको छ । तयारीका क्रममा, विभिन्न पुस्तकहरूबाट सहायता लिने काम भएको छ ।
इसाई भएको कारण हामी सबैले लगातार रूपमा हाम्रा वरिपरिको संसारबाट परीक्षा र आक्रमणहरूको सामना गर्नु पर्दछ । हामीले प्रतिदिन देख्ने, हेर्ने, खाने, पढ्ने, सुन्ने इत्यादि गरेका हरेक थोकको केही न केही प्रभाव हामीमा परेकै हुन्छ । यसकारण, हामीले अहिले विश्वास गरेका हाम्रा परमेश्वरसितको हाम्रो सम्बन्ध घनिष्ठ बनाउन र उहाँको नजीक रहेर जिउनका लागि हाम्रा कतिपय पुराना आदत, स्वभाव, आचरण, शैलीहरूअनुसार गर्दै आइराखेका कुराहरूमा फेरबदल हुनै पर्दछ । यहाँसम्म कि कतिपय अवस्थाहरूमा हामीले जो–जस्ता मानिसहरूसित संगत गर्ने गर्दथ्यौं, समय बिताउने गर्दथ्यौं ती मानिसहरूसित हामीले बिताउने समयमाथि पनि पुनर्विचार आवश्यक छ ।
मत्ती २६:१८ अनुसार यस संसारमा कति थरीका मानिसहरू रहेछन्, कुनै अनुमान ?
हो एक थरीका तिनीहरू जो परमेश्वरका हुन् अर्थात् ज्योतिमा हुनेहरू र अर्काथरीका तिनीहरू जो शैतानका हुन् अर्थात् अन्धकारमा हुनेहरू । बाइबल धर्मशास्त्रमा जताततै यी दुई गुटका मानिसहरूलाई एकअर्काका विरोधी, प्रतिकुलता भएका, जीवन पाएका र नपाएका, आशा भएका र नभएका, साँगुरो र फराकिलो बाटो रोजेका, बचाइएका र नबचाइएका, सत्यलाई चिनेका र नचिनेका आदि भनेर उल्लेख गरिएको पाउँदछौं । अरूभन्दा फरक र बेग्लै भएका जनाउन “सत्य वmे हामीले चाल पायौं, स्वर्ग जाने मूल बाटो भेट्टायौं…” भनेर गाउने गर्दछौं । धर्मशास्त्र बाइबलले तपाईं हामी इसाई विश्वासीहरूलाई हरतवरले अइसाईहरूभन्दा बेग्लै बताएवैm कारण उनीहरूसितको हाम्रो मित्रता कस्तो खालको हुनु पर्दछ भन्नेमा हामी चनाखो हुनै पर्दछ । हितापदेश १२:२६ ले मित्रहरू छान्ने बारेमा के भन्छ ?
हामी इसाईहरू मूर्खको संगतबाट जोगिएर रहनु पर्दछ
(हितोपदेश १३:२०)
मूर्ख मानिसदेखि टाढै बस्नु पर्दछ (हितोपदेश १४:७)
हितोपदेश २२:२४ झडङ्ग रिसाउनेसित संगत गर्नु हुँदैन
(जी. एफ. ए. बाइबल)
झट्टै रिसाउनेहरूसित संगत गर्नु हुँदैन (आइ.बी.एस. बाइबल)
रिसाउने मानिससित सितिमिति संगति गर्नु हुँदैन
–(ने.बा.सो. बाइबल)
“गरम मिजासको मानिसलाई मित्र नबना…”
–हितोपदेश २२:२४
“…विद्रोहीहरूसँग नमिल् (संगति नगर) …”
–हितोपादेश २४:२१
“…खराब संगतले राम्रो चरित्रलाई नष्ट पार्दछ ।”
–१ कोरिन्थी १५:३३
पाप गर्ने प्रत्येक पापको कमारो हो । नबचाइएकाहरूको कमारोपन र बचाइएकाहरूको कमारोपनमा भिन्नता छ भनेर धर्मशास्त्र बाइबलले दर्शाएको छ (हेरौं यूहन्ना ८:३४ र १ कोरिन्थी ७:२२) ।
अइसाईहरूसितको हाम्रो सम्बन्ध अनुचित हिसाबले गहिरिएर जाँदा त्यसले विनाश निम्त्याउँछ । हामी चिप्लन्छौं, लड्छौं, पापमा फस्छौं । अइसाई साथीहरूको चित्त नदुखोस् भनेर बाइबलका सत्यहरूलाई बेवास्ता गर्छौं । अविश्वासी साथीहरूका सामु नम्र भई देखाउन नर्क, न्याय, इन्साफ, दण्ड जस्ता घटनाहरूको अवमूल्यन गरी पठाउँछौं । परमेश्वरलाई केन्द्रमा राखेर पनि अइसाईहरूसित उत्तम मित्रता कायम राख्न सम्भव छ । येशू प्रभुको बलियो साक्षी भएर पनि अविश्वासीहरूसित गुणस्तरीय मित्रता कायम राख्न सकिन्छ तर यी सबैमा परमेश्वरको सुसमाचारको शक्ति हामीबाट प्रदर्शित भएको हुनु पर्दछ ।
२१ औ शताब्दीमा परिवर्तन आउनको लागि पेन्तिकोसको आवश्यकता – डिकन सिमोन पाठक
August 31, 2012 | Articles
नेपालमा आज सबैले परिवर्तन खोजिराखेका छन् । नयाँ बिहानी देख्ने चाहना सबैले गरिराखेका छन् । नेपालको राजनीतिमा कहिले परिवर्तन आउँला भनेर हामी आशा गरिराखेका छौं । हामीमध्ये कतिले आफ्नो परिवारमा भएको समस्याहरूमा परिवर्तन खोजिराखेका छौं होला । कतिले श्रीमानको जीवनमा परिवर्तन देख्नको लागि प्रार्थना गरिराख्नुभएको होला भने अर्को तर्फ श्रीमानले श्रीमतीको जीवनमा परिवर्तन आओस् भनेर प्रार्थना गर्दै हुनुहुन्छ होला । कतिले छोराछोरीको जीवनमा परिवर्तन साथै आफ्नै जीवनमा परिवर्तन खोजिराख्नुभएको होला । हामी परिवर्तन चाहने मानिसहरू हौं तर हामीले चाहेको परिवर्तन देख्न सकिराखेका छैनौं होला । हाम्रो आफ्नै प्रयासद्वारा हामीले परिवर्तन देख्न गाह्रो छ । त्यसैकारण नै हामीलाई पेन्तिकोसको आवश्यक छ ।
यहूदीहरूले तीनवटा चाडहरू भव्यसँग मनाउँथेः भेट हुने पालको चाड (पवित्र वासस्थानको चाड), निस्तार चाड र पेन्तिकोसको चाड । पेन्तिकोसको चाड निस्तार चाड मनाएको पचास दिनपछि मनाइन्थ्यो । यी तीन चाडहरू मनाउने समयमा रोम र पर्सियामा छरिएर रहेका सबै यहूदीहरू यरूशलेममा जम्मा हुने गर्दथिए । पेन्तिकोसलाई बाइबलमा साताहरूको चाड, अन्न भित्र्याउने चाड र अगौटे फलको चाडको नामले पनि चिनिन्थ्यो (प्रस्थान ३४:२२, व्यवस्था १६:१६, २ इतिहास ८:१३, प्रेरित २०:१६, १ कोरिन्थी १६:८, याकूब १:१८) । पेन्तिकोसको समयचाहिँ खुशी हुँदै धन्यवाद दिने र गहुँको कटनी गरेर अगौटे फलको अन्न भेटी चढाउने समय हो ।
येशूका चेलाहरू पेन्तिकोसको चाड मनाउने दिनमा यरूशलेमको एउटा घरको माथिल्लो तलामा प्रार्थना गरिराखेका थिए । येशूले भन्नुभएको थियो, “पवित्र आत्मा नपाएसम्म यरूशलेमबाट कतै नजाओ”
(प्रेरित १:४) । प्रेरित १:१४ अनुसार चेलाहरू एकैमनका भएर निरन्तर प्रार्थना गरिरहन्थे । उनीहरू पवित्र आत्माको पर्खाइमा थिए । नवौं दिनसम्म प्रार्थना गरिरहेका थिए । उत्तर आएको थिएन तर दशौं दिनका दिन अर्थात् पेन्तिकोसको चाड मनाउने दिनमा “स्वर्गबाट अचानक बतास आयो र तिनीहरू बसेको पूरा घरै भरिदियो… अनि तिनीहरू सबैजना पवित्र आत्माले भरिए र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारणबमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे” (प्रेरित २:२ –४) अन्य भाषामा तिनीहरू बोलेर परमेश्वरको प्रशंसा गर्न थाले ।
परिवर्तनको लागि पेन्तिकोसको आवश्यकता किन ? चार प्रमुख कारणहरूः
१. हामी सधै पवित्र आत्माले भरिपूर्ण हुनलाई (प्रेरित २:४) ।
हामी पवित्र आत्माले भरिपूर्ण भएनौं भने हामी संसारिकताले भरिन्छौं । हामी एक तेजबाट अर्को तेजमा बनिँदै जान सक्दैनौं । प्रेरित २:४
अनुसार सबैजना पवित्र आत्माले भरिए । पवित्र आत्माले भरिपूर्ण भएपछि मानिसहरू अन्य भाषाहरूमा बोल्न लागे । यहाँ भाषाहरू भनेर बहुवचनमा लेखिएको छ । यसले यो कुराको पुष्टि हुन्छ कि त्यहाँ एकभन्दा बढी भाषाहरूमा मानिसहरू परमेश्वरको प्रशंसा गरिराखेका थिए । तिनीहरूमध्ये कतिले बोलेको अन्य भाषा बोल्नेहरूको लागि नजानिएको तर संसारको कुनै ठाउँमा बोलिने भाषा थियो भने कतिले बोलेको अन्य भाषा संसारमा कहीँ पनि नबोलिने भाषा थियो जसलाई हामी स्वर्गीय भाषा पनि भन्छौं । हामीले बोलेको अन्य भाषा संसारमा भएका भाषाहरूमध्येको कुनै एक भाषा होस् या त संसारमा हुँदै नभएको स्वर्गीय भाषा होस् त्यो मुख्य होइन । महत्वपूर्ण कुराचाहिँ हामी अन्यभाषामा बोल्नु हो । जब हामी विश्वासद्वारा बोल्न लाग्छौं, त्यहाँ आत्मिक वृद्धि हुँदछ (१ कोरिन्थी १४:२ र ४) । हामीले आफ्नो वृद्धि वा सुधार नगरी मण्डलीको उन्नति गर्न सक्दैनौं । दोस्रो कारणः
२. हामी सधै साहसी बन्नलाई (प्रेरित २:१४–३८) ।
पत्रुस पेन्तिकोसको आशिष् पाउनुअगाडि डरपोक व्यक्ति थियो । डरको कारणले नै ५० दिनअघि येशू क्रुसमा चढाइनुभएको समयमा तीन पटक इन्कार गरेको थियो तर पेन्तिकोसको घट्नाले उसको जीवनमा ठूलो परिवर्तन ल्याइदियो । उसमा भएको लाज, डर सबै हटेर गयो । ऊ साहसी व्यक्ति बन्यो । खुल्लमखुल्ला येशूको नाउँको घोषणा गर्यो । हामीलाई कतिपटक मानिसको अगाडि ख्रीष्टको साक्षी दिन डर लाग्छ तर पेन्तिकोसको आशिष्ले हामीलाई साहसी बनाउँदछ । यदि हामीलाई सुसमाचार सुनाउन लाज लाग्छ, डर लाग्छ भने हाम्रो जीवनमा पेन्तिकोसको खाँचो छ । पहिलो शताब्दीका विश्वासीहरू पवित्र आत्माले भरिएपछि त्यो समयको संसारलाई उलटपुलट पारेका थिए । त्यसकारण नै परिवर्तन आउनको लागि पेन्तिकोसको आवश्यकता छ । तेस्रो कारणः
३. हामी सधै मेलमिलापमा रहनलाई (प्रेरित २:४२) ।
पेन्तिकोसले पहिलो शताब्दीको मण्डलीमा ल्याएको ठूलो परिवर्तनचाहिँ मेलमिलाप पनि हो । पेन्तिकोस अगाडिसम्म १२० जना प्रेरितहरू र तीन हजार मानिसहरूको बीचमा ठूलो खाडल थियो । तीन हजार मानिसहरूले १२० जना विश्वासीहरूलाई खिल्ली उडाइराखेका थिए तर पेन्तिकोसको घट्नाले उनीहरूमा ठूलो परिवर्तन ल्याइदियो । अघिका शत्रुहरू अब मित्रहरू बने । ख्रीष्टमा दाजुभाइ दिदीबहिनीहरू बन्न सके । खुशी र शुद्ध हृदयले मिलीजुली एकै ठाउँमा बसेर खान थाले ।
यस किसिमको परिवर्तन मानिसको प्रयासबाट धेरै नै कठिन छ तर पेन्तिकोसको दिनमा स्वर्गबाट पृथ्वीमा ओर्लनुभएको पवित्र आत्मा जब मण्डलीमा खन्याइनुहुन्छ तब मण्डलीले संसारलाई पविर्तन गर्ने शक्ति प्राप्त गर्नेछ । पेन्तिकोसको आशिषपछि पहिलो शताब्दीका विश्वासीहरू खुशी र शुद्ध हृदयले मिलीजुली खान्थे । के आज हाम्रो समाजलाई चाहिएको कुरा यही होइन र ?
नेपालमा जाति–जातिहरू एकै ठाउँमा बसेर खाने अवस्था छैन । मिलापको सट्टा जाति–जातिहरू लडाईं गर्ने अवस्था भइराखेको छ । मानिसमा साँचो परिवर्तन ल्याउन दर्शन–शास्त्रले सक्दैन, धर्महरूले सक्दैन, कुनै सिद्धान्तले सक्दैन, तरवारहरूले सकिँदैन । परिवर्तन ल्याए पनि त्यो क्षणिक हुन्छ तर पेन्तिकोसले मानिसले चाहेको दीर्घकालीन परिवर्तन ल्याउन सक्छ ।
यी दिनहरूमा मण्डलीहरूमा फुट छ, किन? धेरै कारणहरू मध्ये एउटा प्रमुख कारण मण्डलीहरूले पेन्तिकोसले ल्याउने परिवर्तनलाई बेवास्ता गरेका छन् । नेपालका मण्डलीहरूले पेन्तिकोसको परिवर्तन गर्ने शक्तिलाई आफ्नो जीवनमा काम गर्न दिए भने हामीमा मेलमिलाप सम्भव छ । यदि हाम्रो परिवारमा मेलमिलाप छैन, झगडा छ भने पेन्तिकोसको परिवर्तन गर्ने शक्तिलाई हाम्रो जीवनमा काम गर्न दिऔं । चौथो र अन्तिम कारणः
४. हामी सधै प्रशंसा गर्ने मानिसहरू बन्नलाई (प्रेरित २:११,४७) ।
पेन्तिकोसको घट्नाले पहिलो शताब्दीका विश्वासीहरूलाई परमेश्वरको प्रशंसा गर्ने मानिसहरू बनायो । पद ११ मा भीडले दिएको साक्षी पाउँछौं, “क्रेटका बासिन्दाहरू र अरबीहरू पनि छौं, अनि हामी आ–आफ्ना भाषामा परमेश्वरका महान कार्यको चर्चा तिनीहरूले गरिरहेका सुन्दैछौं ।” परमेश्वरको प्रशंसाले मानिसहरू प्रभुतिर खिचिन्छन् साथै मण्डलीको वृद्धि हुँदछ । पहिलो शताब्दीमा एकैदिनमा तीन हजारले विश्वास गरे । प्रशंसाले भीडमा ठूलो हलचल ल्यायो भने प्रचारले मानिसहरूलाई मुक्तिको बाटोमा डोर्यायो ।
हाम्रा मण्डलीहरूले पहिलो शताब्दीको प्रेरितहरूले गरेको प्रशंसालाई नमूना बनाउनुपर्दछ । स्तुति प्रशंसाको समयमा परमेश्वरले गर्नुभएको महान कार्यहरूको चर्चा गर्नुपर्दछ । परमेश्वरले तपाईंको जीवनमा के गर्नुभयो त्यो कुराको घोषणा गर्नुपर्दछ । यदि हामी छेउको साथी करायो म पनि कराउनुपर्छ भनेर स्तुति प्रशंसाको समयमा कराइराखेका छौं भने त्यसले तपाईं र मेरो जीवनमा कुनै परिवर्तन ल्याउन सक्दैन । मानिसहरू हाम्रो प्रशंसाले प्रभुतिर अकार्षित हुन सक्दैनन् किनकि जहाँ आत्मा र सत्यतामा प्रशंसा हुन्छ, त्यहाँ मात्र नयाँ मानिसहरू मुक्तिमा डो¥याउने काम पनि हुन्छ ।
पेन्तिकोसको दिनमा यरूशलेममा भीड भएका मानिसहरूले परमेश्वरको महान कार्यहरूको चर्चा सुने जस्तै हाम्रो छर–छिमेकहरूले, आफन्तहरूले, समाजले परमेश्वरको महान कार्यको वर्णन हामीबाट सुन्नु परेको छ । हाम्रा मण्डलीहरू हल्ला गर्ने मण्डली भनेर होइन तर परमेश्वरको प्रशंसा गर्ने मण्डली भनेर चिन्नुपर्दछ । प्रशंसा गर्ने मण्डली भनेर चिनिनको लागि मण्डलीले परमेश्वरको महान कार्यको घोषणा गर्नु पर्दछ । प्रशंसा भनेको नै परमेश्वर को हुनुहुन्छ र उहाँले हाम्रो जीवनमा के गर्नुभयो ? त्यसको घोषणा गर्नु हो ।
साँचो प्रशंसाले मण्डलीमा वृद्धि ल्याउँदछ साथै मानिसहरूबाट शुभेच्छा पनि पाउँदछन् (प्रेरित २:४७) । के नेपालका मण्डलीहरूले खोजेका कुरा यही होइन र ? हाम्रा मण्डलीहरूमा साँचो परिवर्तन आउनको लागि पेन्तिकोसको परिवर्तन गर्ने शक्तिलाई स्वागत गरौं र प्रभुको महिमा गर्नेहरू बनौं ।
एक–अर्काप्रतिको प्रेम – पाष्टर रोबर्ट कार्थक
August 9, 2012 | Articles
(यूहन्ना १३:३४–३५÷१ यूहन्ना २:७–११÷१ यूहन्ना ४:१९–५:२)
एकपल्ट पवित्र आत्माको बप्तिस्मा पाएकाहरूले फेरि पवित्र आत्माको बप्तिस्मा लिन पर्दैन तर तिनीहरूले आत्माको ताजा भरपूरी हर समय लिइराख्नुपर्छ । हामी जतिले पवित्र आत्माको बप्तिस्मा पाएका छौं, परमेश्वर पिताले हामीलाई ‘प्रेमको बप्तिस्मा’ पनि दिनुभएको छ । “तपाइंको गम्भीर प्रेमको सागरमा डुबेँ प्रभु म” भनेर हामी भजन गाउँछौं । ख्रीष्टको रगतले चोख्याइएका रित्ता भाँडाहरू परमेश्वरको प्रेमको सागरमा डुबाइएर निकालिएपछि परमेश्वरको प्रेमले भरिएका हुन्छन् । यसरी डुबाइनु नै बप्तिस्मा पाउनु भनेको हो । हामी सधैँ परमेश्वरको प्रेमले भरिएको हुनुपर्छ र मात्र हामीबाट यो प्रेम अरूहरूतर्फ बगेर जान सक्छ । येशू प्रभुले आफ्ना चेलाहरूलाई भन्नुभयो, “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदैछु, तिमीहरू आपसमा प्रेम गर जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरूले पनि आपसमा प्रेम गर । यदि तिमीहरूले आपसमा प्रेम गर्यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्नेछन्” (यूहन्ना १३:३४–३५) । ‘आपसमा प्रेम गर’ भन्ने यो आज्ञा नयाँ आज्ञा होइन, पुरानै हो । “जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु”– यो थपनीले यस पुरानो आज्ञालाई नयाँ रूप दिँदछ । म परमेश्वर पितालाई प्रेम गर्छु भन्नेहरूले परमेश्वर पिताका छोराछोरीहरूलाई पनि प्रेम गर्नुपर्छ । पितालाई मात्र प्रेम गर्ने तर उहाँका छोराछोरीहरूलाई चाहिँ प्रेम नगर्ने यस्तो कुरो हुनै सक्दैन (१ यूहन्ना ४:२१) । परमेश्वरलाई आज दुःख लागेको कुरो यही हो, हामी परमेश्वर पितालाई प्रेम गर्छौं भनी भन्छौं तर उहाँका प्यारा छोराछोरीहरू, हाम्रा आफ्नै दाज्यू–भाइ, दिदी–बहिनीहरूलाई घृणा गर्छौं । कतिचोटि परमेश्वर भन्नुहुन्छ होला, यो धोका मात्र हो कारण जुन मानिसहरूलाई मैले आफ्नो एकमात्र प्यारो पुत्रको बलिदानद्वारा आफ्ना छोराछोरी बनाएको छु, तिनीहरूलाई चाहिँ घृणा गरेर ‘हामी परमेश्वर पितालाई प्रेम गर्छौं’ भनेर धाक पिट्नेहरूको यो कपटीपना हो, बहाना हो, धोखाबाजी हो । मेरा छोराछोरीहरूलाई प्रेम नगर्नेले मलाई पनि साँचो प्रेम गर्न सक्दैन किनकि तिनीहरूले मेरो चित्त दुखाइराखेका हुन्छन् । परमेश्वर पितालाई प्रेम गर्नेले आफ्नै परिवारका दाज्यू–भाइ, दिदी–बहिनीहरूलाई पनि प्रेम गर्नुपर्छ (१ यूहन्ना ४:२०–५:२) ।
मण्डलीलाई चाहिएको प्रेमको बप्तिस्मा यही हो । प्रेमले छिमेकीको खराबी गर्दैन । प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो कारण समस्त व्यवस्था एउटै वाक्यमा पूरा भएको छ, “तैंले आफ्नो छिमेकीलाई आफुलाई झैं प्रेम गर्” (गलाती ५:१४) । हामीले प्रभुमा हाम्रा भाइ–बहिनीहरूलाई चिन्नुपर्छ र तिनीहरूलाई प्रेम गर्नुपर्छ । शुरूको मण्डलीलाई हेरेर मानिसहरूले भन्ने गर्थे, “हेर त, तिनीहरूले एका–अर्कालाई कति धेरै प्रेम गर्छन् ।” आज त्यो प्रेम मण्डलीमा देखिँदैन । विश्वासीहरू मुखले प्रेम बोले तापनि हृदयमा दुश्मनी, बेमेल, इष्र्या, क्रोध राख्छन् । कसैलाई कसैको वास्ता छैन । पवित्र आत्मा पाएका मानिसहरूको जीवनमा प्रेमको फल सधैँ फलिरहनुपर्ने हो कारण पवित्र आत्माको फल नै प्रेम हो (गलाती ५:२२) । परमेश्वरले उहाँको आफ्नै ईश्वरीय अगापे प्रेम पवित्र आत्माद्वारा हाम्रो हृदयमा खन्याउनुभएको छ (रोमी ५:५) ।
परमेश्वरको प्रेम अचम्मको छ । उहाँको प्रेम अटल छ, जो कहिल्यै पनि टल्दैन । त्यो अनन्तको प्रेम हो जसको कहिल्यै अन्त्य हुँदैन । यर्मिया ३१:३ मा उहाँ भन्नुहुन्छ, “अनन्त प्रेमले मैले तँलाई प्रेम गरेको छु । यसैकारण तँप्रति मैले मेरो विश्वासयोग्यता कायम राखेको छु ।” कति अवस्थामा हामी सोच्ने गर्छौं, यदि हामीले पाप गरिहाल्यौं भने परमेश्वर हामीलाई प्रेम गर्नुहुन्न तर परमेश्वरको प्रेम विना शर्तको प्रेम हो । हामीले पाप अपराध गरिहाल्यौं भने पनि उहाँले हामीलाई प्रेम गरिरहनुहुन्छ । हामी असल भएको कारणले नै उहाँले हामीलाई प्रेम गर्नुभएको होइन । रोमी ५:८ ले भन्दछ, “तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो ।” हामी जस्तै खराब अवस्थामा भएपनि हामीलाई उहाँले प्रेम गरिरहनुहुन्छ कारण ख्रीष्ट येशूलाई ग्रहण गरेर हामीलाई उहाँका सन्तान, उहाँका छोराछोरी हुने सौभाग्य मिलेको छ ।
असल काम गर्यौं भने धेरै प्रेम पाउँछौं, खराब काम गर्यौं भने कम्ति प्रेम पाउँछौं भन्ने डर हामीले राख्न पर्दैन कारण उहाँको प्रेम विना शर्तको प्रेम हो, उहाँले सधैँ हामीलाई एकैनासको अनन्तको प्रेमले प्रेम गरिरहनुहुन्छ । हामीले हाम्रा भाइ–बहिनीहरूलाई पनि त्यसरी नै प्रेम गरिरहनुपर्छ । तिनीहरूले हाम्रा विरूद्धमा जानी–जानी वा अजानमा केही खराब गरिहाले तापनि पिताले हामीलाई प्रेम गरिराख्नुभए जस्तै हामीले पनि तिनीहरूलाई प्रेम गरिरहनुपर्छ । यो कुरो हाम्रो मानवी प्रेमद्वारा हुन नसक्ने भएकोले नै परमेश्वरले आफ्नै अनन्तको अटल, विना शर्तको पवित्र ईश्वरीय अगापे प्रेम पवित्र आत्माद्वारा हाम्रो हृदयमा खन्याइदिनुभएको छ (रोमी ५:५) ।
‘आफ्ना शत्रुहरूलाई प्रेम गर’ भन्ने आदेश दिनुहुने प्रभुले धोखाबाजी गरेर उहाँलाई तीस रूपैँयामा बेच्ने यहूदा इस्करयोतीको पनि खुट्टा धुनुभयो । निर्दयतासाथ उहाँलाई क्रूसमा चढाउनेहरूका निम्ति “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्” भनी प्रार्थना गरिदिनुभयो ।
उहाँ आज हामीलाई भन्दैहुनुहुन्छ , “……………….. तिमीहरू आपसमा प्रेम गर जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरूले पनि आपसमा प्रेम गर” (यूहन्ना १३:३४) ।
धापसी विश्रामस्थल पर्खाल र एबेनएजेरको चौतारी
July 6, 2012 | Articles
धापासी समिति र निर्माण विभागको पहिलो संयुक्त बैठक २०६९–१–३ (१५ अप्रिल) ज्ञानेश्वरमा, दोस्रो बैठक २०६९–१–६ (१८ अप्रिल) धापासीमा बस्यो । २०६९–१–१३ (२५ अप्रिल) बाट पर्खालको काम शुरू गरी २०६९–२–२८ (११ जुन) मा पहिलो चरणको काम सिधियो । ५ मे को सूचना पत्रमा व्यक्त गरिएझैँ १२ जुनमा मण्डलीको पाष्टर रोबर्ट कार्थक गुरुबाले सबै कुराको निम्ति महान् परमेश्वरको महिमा गर्नु हुँदै सबै स्वयं सेवक सेविकाहरूलाई धन्यवाद दिनुभयो । यो ईश्वरको दानस्वरूप नेइमलाई जुटाइदिनुभएको ठूलो सम्पत्ति हो, यो साझा सम्पत्तिको मर्मत, संभार निरन्तर रूपमा गरिनुपर्छ । यसको निम्ति सम्पूर्ण नेइम मण्डली परिवारले आफ्नो–आफ्नो जिम्मा पूरा गर्नुपर्छ भनी पाष्टर गुरुबाले आह्वान गर्नुहुँदै, प्रशस्त हौसला थपिदिनुभयो । पाष्टर गुरुबा, पाष्टर डा. राजेन्द्र रोंगोंग गुरुबा र पी.बी. राई दाज्यू तीनै जना ८० वर्ष नाघेकाहरूले जोशसँग ६०० फिट लामो अप्ठ्यारो बाटो हिँडी ६० फिट ठाडो भर्याङ्ग (याकूबको सिँडी) उक्लन सफल हुनुभयो । स्वयं सेवक भई सघाउने १०० जनाले उहाँहरूलाई पछ्याए । नेइमका निम्न मण्डलीका स्वयं सेवक–सेविकाहरूलाई गुरुबाले हृदयबाट धन्यवाद दिनुभयो । आफ्ना–आफ्ना स्वयं सेवक–सेविकालाई आफैहरूले खाजा चिया खुवाउनुभयो । स्वयं सेवक–सेविकाबाट बल, जोश, रहर, सीप सबै पायौं । अति रमाइलोका साथ सँगै काम गरियो । परिचय बटुल्ने काम बिर्सन सकिन्दैन नै । गुरुबा अतिरिक्त सम्पूर्ण सहयोग जुटाइदिनुहुनेहरूलाई संयोजकको तर्फबाट पनि हामी कृतज्ञताकासाथ धन्यवाद चढाउँदछौं ।
स्वयं सेवकहरूको जन बल यस प्रकार छ :—
८ मे २६ वैशाख जोरपाटी मण्डलीबाट ९+४ जम्मा १३ जना
१४ मे १ जेठ ज्ञानेश्वर मण्डली पूर्वी क्षेत्रबाट १५+२ जम्मा १७ जना
१५ मे २ जेठ ज्ञानेश्वर मण्डली मध्य क्षेत्रबाट १८ जम्मा १८ जना
१६ मे ३ जेठ ज्ञानेश्वर मण्डली पश्चिम क्षेत्रबाट १६+३ जम्मा १९ जना
४ जुन २२ जेठ गोंगबूँ मण्डलीबाट १३+३ जम्मा १६ जना
२५ अप्रिल देखि ११ जुन १ वैशाखदेखि २८ जेठ ललितपुर मण्डलीबाट
जम्मा ६ पटक ६२+१२ जम्मा ७४ जना
जम्मा स्वयं सेवक–सेविका १५७ जना
हालसम्म गरिएका कामहरूः
— नौवटा बाँसको झ्याङमध्ये ६ वटा गोडेर सिध्याइयो । ३ वटाको आधा सकियो ।
— १४ वटा साँधमा ढल्किएका रूख काँटी, गिडेर, एक ठाउँमा जम्मा गरियो ।
— ४०१ फिट लामो नयाँ र पुरानो पर्खाल बनाइयो ।
— २५० फिट पर्खालमा पोल राखी जस्ता फिट गरियो, रंग लगाइयो ।
— ६०० फिट साँधमा ३ फिटदेखि ८ फिटसम्मको गोरेटो बाटो बनाइयो ।
— भवनको करेसा सफा गरी पानी–नालीको निकासा खोलेको
— भवन अघि माटोसम्म पारी –चाक्लो पारेको
— एबेनएजेरको बाँसको चौतारी बनाइयो (२५ जुन २०१२ मा) १ शमूएल ७:१२
गरिनुपर्ने कामहरूः
— असार–साउनमा बोट विरूवा रोप्ने । एल्डर दानिएल सापकोटाले जिम्मा लिनुभएको छ । असारे फुल, सिरिसे फुल र अन्य । पाष्टर डा. आर रोंगोंगले JAPANESE CHEERYको विरूवा उपलब्ध गराउनुहुनेछ । यससम्बन्धी इच्छुक व्यक्तिले एल्डर दानिएल सापकोटासँग सम्पर्क गर्नुहोला ।
— निगालोको बोट रोप्ने जिम्मा भाइ भिमसेन दुलालले लिनुभएको छ ।
इच्छुक व्यक्तिहरूले उहाँसँग सम्पर्क राख्नुहोला ।
— तीन बाँसका झ्याङको गोडमेलको जिम्मा पाष्टर रोल्याण्ड रोंगोंगको छ । स्वयं सेवकहरूले उहाँसँग सम्पर्क राख्नुहोला ।
— अहिले नयाँ पर्खालभित्र १०२ वटा लाश राख्न सकिन्छ तर जमीन खनेर मिलाउनुपर्छ । यसको निम्ति डीकन जनकलालसँग सम्पर्क गर्नुहोला ।
— साविक अनियन्त्रित जग्गाहरू व्यवस्थित गर्ने रहर र जिम्मा पाष्टर बर्णबास श्रेष्ठले लिनुभएको छ । उहाँसँग यसबारे सम्पर्क राख्नुहोला ।
यसबाहेक धेरै धेरै काम जति हेर्यो त्यतिनै देखिन्छ । सल्लाहहरू पनि प्रशस्तै आउँदैछ । यो गर, त्यो गर होइन म, हामी गर्छौं भनौं, अघि सरौं । कामै नगरी हुँदैन भन्ने बानी छोडौं –काम गरौं बरू भएन भने भएन भन्न सिकौं । सबै सल्लाह, दान, पाष्टर एल.पी.न्यौपाने (धापासी समिति उपाध्यक्ष) लाई दिनुहुन अनुरोध गर्दछौं ।
— नयाँ र पुरानो पर्खाल सिध्याइएको ४०१ फिट
— पुरानो पर्खाल गेटदेखि खोल्चाको मुखसम्म २१० फिट
— तारको र हाल बनाइएको बाँसको बार २५६ फिट
— खोल्चा, कुलो, गोरेटो सबै खुल्ला सिमाना ५५८ फिट
— विश्रामस्थलको मोटामोटी परिधीको नाप १४२५ फिट
१२ जुन (२८ जेठ) सम्मको
आम्दानी खर्च
१. ज्ञानेश्वर मण्डलीबाट २,००,००० १. ईंटा र ढुङ्गा १,०८,२००
२. ललितपुर मण्डलीबाट १,००,००० २. सिमेन्ट ६३,०४०
३. गोंगबूँ मण्डलीबाट ५०,००० ३. जस्ता, पाइप २४,४४६
४. जोरपाटी मण्डलीबाट ५०,००० ४. सप्लाइज विभिन्न ७,५२५ जम्मा ४,००,००० ५. डकर्मी, ज्यामी ज्याला १,२१,४६५
आउदा कार्यक्रमलाई आयश्रोतः ६. यातायात (टान्सपोर्ट) ५,८८०
१. काटेका रूखका मुडा, बाँस बिक्रीबाट जम्मा खर्च रू. ३,३०,५५६
२. इच्छुक मण्डली सदस्यहरूबाट स्वेच्छा भेटी हातमा रहेको रू. ६९,४४४
३. मण्डलीहरूबाट हाललाई सहयोग नमाग्ने । जम्मा रू. ४,००,०००
सहकर्मी प्रियहरूले गरेका सबै काममा प्रभुले आशिष दिनुभयो । हामी सफल भएर रमायौं — प्रभु भन्नुहुन्छ, सफलताभन्दा बढी हाम्रो नाउँ स्वर्गमा लेखिएको छ भनेर रमाऊ (लूका १०:२०) ।
– पाष्टर वीर बहादुर खवास
ख्रीष्टमा – आशाले भरिएको जीवन ।
June 21, 2012 | Articles
पापको कारणले आत्मामा मरेका मानिसहरूलाई चाहिने अति आवश्यक जीवन दिनलाई नै येशू प्रभु यस संसारमा आउनुभयो । शैतानलाई चोरको नाउँ दिँदै उहाँले भन्नुभयो, “चोर त चोरूँ र मारूँ र नाश पारूँ भनेर मात्र आउँछ ।” यसरी उहाँले शैतानको विनाश गर्ने कामबारे बताउनुभयो । त्यसपछि उहाँले भन्नुभयो, “तर म तिनीहरूले जीवन पाऊन् त्यो जीवन प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ” (यूहन्ना १०:१०) । जीवन दिन आउनुहुने उहाँ स्वयं जीवन हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘बाटो, सत्य र जीवन म नै हुँ’ (यूहन्ना १४:३) । ‘पुनरुत्थान र जीवन म नै हुँ’ (यूहन्ना ११:२५) ।
यसर्थ ख्रीष्ट येशूलाई आफ्ना व्यक्तिगत मुक्तिदाता प्रभु गरी ग्रहण गरेर मात्र हामी पापमा मरेकाहरूले फेरि आत्मिक जीवन पाउन सक्छौं ।
१ यूहन्ना ५:१२ ले भन्दछ, “जससँग पुत्र हुनुहुन्छ त्यससँग जीवन छ, जससँग परमेश्वरका पुत्र हुनुहुन्न त्यससँग जीवन हुँदैन ।” यसैले जीवन पाउनलाई हामी हरेकले ख्रीष्ट येशू प्रभुलाई ग्रहण गर्न अत्यन्तै आवश्यक छ ।
तर ख्रीष्ट येशू मानिसहरूलाई जीवन दिनलाई मात्र आउनुभएको
होइन । उहाँ हामीलाई प्रशस्त जीवन पनि दिनलाई आउनुभएको हो । ख्रीष्ट येशूलाई आफ्ना व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गरेर मानिसहरूले मुक्ति पाउँछन्, पाप–क्षमा पाउँछन्, अनन्त जीवन पाउँछन् । मरेपछि स्वर्ग जाने निश्चयता पनि उनीहरूलाई प्राप्त हुन्छ । ख्रीष्टलाई ग्रहण गरेर उनीहरू परमेश्वरका छोराछोरी पनि बन्दछन् साथै उहाँका उत्तराधिकारी बन्ने सौभाग्य पनि उनीहरूलाई मिल्दछ । मृत्युपछिको जीवनको लागि उनीहरूलाई अब केही फिक्री गर्न पर्दैन । मरेपछि उनीहरू स्वर्गमा आफ्ना स्वर्गीय पिताको घरमा जानेछन् , यो पक्का छ, सुनिश्चित छ । तर उनीहरूलाई यस पापमय दुष्ट संसारमा अझ धेरै दिन बाँच्न बाँकी नै छ । यस संसारमा बिताउनुपर्ने रहल जीवनमा उनीहरूले धेरै पाप–अधर्म दुष्टतासँग संघर्ष गर्नुपर्छ । रोग–बिमार, घटी–अभाव, चिन्ता–फिक्री तथा अन्य समस्याहरूको सामना गर्नुपर्छ । शैतान दुष्टको विरुद्धमा लड्नुपर्छ, दुष्टका डरलाग्दा आक्रमणहरूको विरुद्धमा खडा रहनुपर्छ । यसैले उनीहरूलाई जीवनले मात्र पुग्दैन । उनीहरूलाई प्रशस्त जीवन पनि चाहिन्छ । शत्रुसँग मुकाबला गरेर त्यसमाथि विजयी हुनु हो भने उनीहरूलाई बलियो बन्नलाई प्रशस्त, प्रशस्त जीवन चाहिन्छ । अस्पतालमा सुतिरहेका बिरामीहरूसित पनि जीवन हुन्छ । जीवन नभएको भए उनीहरू मुर्दा बन्नेथे र स्मशान–घाटमा पुर्याइनेथे । अस्पतालमा उनीहरूको निम्ति ठाउँ हुने थिएन । जीवितै भएता पनि उनीहरू केही गर्न सक्तैनन् कारण उनीहरूमा जीवन थोरै मात्रामा मात्र हुन्छ । बाँचेकै भएता पनि उनीहरूले कामलाग्दो, उपयोगी जीवन जिउन सकिराखेका हुँदैनन् । एकमुठी सास थामिराख्ने प्रयासमा उनीहरूको औषधि–उपचार भइराखेको हुन्छ । उनीहरू अशक्त हुन्छन्, केही गर्ने क्षमता उनीहरूमा हुँदैन । जीवन मात्र पाएका तर प्रशस्त जीवन नपाएका ख्रीष्टियानहरू यस्तै हुन्छन् । ख्रीष्ट येशूलाई ग्रहण गरेकाहरूमा पवित्र आत्माले बास गर्नुभएको हुन्छ ।
रोमी ८:९ ले भन्दछ, “कुनै मानिसमा ख्रीष्टको आत्मा हुनुहुन्न भनेता त्यो उहाँको हुँदै होइन ।” ख्रीष्टको आत्मा नै उनीहरूको जीवनको सास हुन्छ ।
ख्रीष्टियानहरू दुई थरिका हुन्छन्, शारीरिक वा आत्मिक, आत्मा पाएका वा आत्माको भरपूरी पाएका, जीवन पाएका वा प्रशस्त जीवन पाएका । शारीरिक ख्रीष्टियानहरू मुक्ति पाएका मानिसहरू भएता पनि शरीरकै कुराहरूमा बढी ध्यान दिनेहरू हुन्छन् । तिनीहरू आत्मासम्बन्धी कुराहरूमा भन्दा बेसी खाने–लाउने, सुख–बिलास, श्रृङ्गार–पटारका कुराहरूमा मन लगाउँदछन् । संसारका, शरीरका अभिलाषाको बन्धनमा जकडिएका यस्ता ख्रीष्टियानहरू आत्मिक कुराहरूमा अत्यन्तै कमजोर, शिथिल हुन्छन् । यिनीहरू रोगी–बिरामीहरू जस्ता हुन्छन् र परमेश्वरको निम्ति कामलाग्दा हुन सक्तैनन् । यिनीहरूले परमेश्वरका काम गर्न सक्तैनन् । यसैले हामीलाई आत्माका बासले मात्र पुग्दैन, हामीलाई आत्माको भरपूरी नै चाहिन्छ । आत्माले भरिएका ख्रीष्टियानहरू मात्र आत्मिकी हिसाबले स्वस्थ्य, तन्दुरूस्त र बलिया हुन्छन् । ख्रीष्टमा प्रशस्त जीवन जिउनु भनेकै यही हो ।
पुनरुत्थानको दिन आफ्ना चेलाहरूसँग माथिल्लो तल्लामा भेट्दा येशू प्रभुले तिनीहरूलाई भन्नुभयो, “जसरी पिताले मलाई पठाउनुभयो, म पनि तिमीहरूलाई पठाउँछु ।” यति भनेर उहाँले तिनीहरूमाथि फुक्नुभयो र भन्नुभयो, “पवित्र आत्मा लेओ ।” प्रभुले फुक्नुभएको सास आफूभित्र लिनासाथ तिनीहरूले उत्तिखेरै पवित्र आत्मा ग्रहण गरेथे । त्यसको चालीस दिनपछि उहाँको स्वर्गारोहणको बेला उहाँले तिनीहरूलाई यरुशलेममै रहेर पवित्र आत्माको बप्तिस्माको लागि पर्खिरहने कडा आज्ञा दिनुभयो (लूका २४:४९, प्रेरित १:४–५) । त्यसपछि उहाँले प्रेरित १:८ मा भन्नुभयो, “तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरुशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ ।” सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार सुनाउने र विश्वास गर्नेहरूलाई चेला बनाउने प्रभुको महान आज्ञा पालन गर्नलाई चेलाहरूलाई पवित्र आत्माको शक्तिको नितान्त आवश्यक्ता थियो । मण्डली निर्माणको काम मानवीय बल र शक्तिले मात्र गर्न नसकिने भएकोले पवित्र आत्माको शक्ति एकदमै चाहिएको थियो । प्रार्थनामा दश दिन पर्खिरहेपछि ती एक सय बीस चेलाहरूमाथि पवित्र आत्मा खन्याइनुभयो र तिनीहरू सबै आत्माले भरिए । त्यही दिन मण्डलीको जन्म भयो ।
हरेक विश्वासीलाई पवित्र आत्माको भरपूरी मिलोस् भन्ने प्रभु चाहनुहुन्छ । उहाँ आफै पनि पवित्र आत्माद्वारा कन्या मरियमको गर्भमा आउनुभएको थियो । आत्माद्वारा जन्मनुभएको भएता पनि परमेश्वरको काम गर्नलाई तीस वर्षको उमेरमा उहाँले पवित्र आत्माको भरपूरी लिनुभएको थियो (लूका ३:२१–२२) । कर्निलियसको घरमा पत्रुस भन्दछन्, “परमेश्वरले नासरतका येशूलाई पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो । उहाँ सुकर्म गर्दै र शैतानबाट पेलिएकाहरूलाई निको पार्दै हिँड्नुभयो, किनकि परमेश्वर उहाँको साथमा हुनुहुन्थ्यो” (प्रेरित १०:३८) । पवित्र आत्माको शक्तिविना परमेश्वर पुत्र ख्रीष्ट येशूले पनि एउटै शक्तिको काम गर्न सक्नुभएन । उहाँले एउटै अन्धालाई दृष्टि दिन सक्नुभएन, एउटै लाटोलाई बोल्न सक्ने बनाउनुभएन, एउटै बहिरोको कान खोल्न सक्नुभएन, एउटै भूतात्मालाई धपाउन सक्नुभएन, एउटै कुष्ठ रोगीलाई निको पार्न सक्नुभएन, मरेकोलाई जीवित गराउन सक्नुभएन, यहाँसम्म कि उहाँले परमेश्वरको राज्यको प्रचार पनि गर्न सक्नुभएन । परमेश्वर पुत्र ख्रीष्ट येशूलाई पनि परमेश्वरका यी सबै काम गर्नलाई पवित्र आत्माको भरपूरी चाहियो । पवित्र आत्माको अभिषेक विनानै परमेश्वरका काम गर्न सकिने भए तीन साँढे तीन वर्षको सेवकाइको निम्ति येशू प्रभुलाई तीस वर्षसम्म पर्खनुपर्ने आवश्यक थिएन । आज धेरै ख्रीष्टियानहरू प्रभुको सेवा गर्ने कोशिष गरिरहेका छन् । ‘आत्माको अभिषेक बिनानै म यी कामहरू गर्न सक्छु’ भन्ने धृष्टता देखाउनुचाहिँ आफैलाई ख्रीष्ट प्रभुभन्दा पनि ठूलो बनाउनु हो । ‘ख्रीष्टलाई चाहियो होला तर मलाई चाहिँदैन । यो भरपूरी नभएपनि म यी कामहरू गर्न सक्षम छु’ भन्नुचाहिँ आफैलाई धोकामा पार्नु मात्र हो । पवित्र आत्माको भरपूरी बिना नै महान आज्ञा पालन गर्न सकिने भए प्रभुले आफ्ना चेलाहरूलाई पवित्र आत्माको बप्तिस्माको निम्ति यरुशलेममा अझ पर्खने कडा आज्ञा दिनुहुने थिएन (लूका २४:४९, प्रेरित १:४–५) ।
प्रभु येशूलाई चाहियो, उहाँका चेलाहरूलाई चाहियो, उहाँका सेवक–सेविकाहरूलाई चाहियो, तपाईंलाई पनि चाहिएको छ ।
प्रभु येशूले लिनुभयो, उहाँका चेलाहरूले लिए, उहाँका सेवक-सेविकाहरूले पनि लिए, लिँदैछन् …तपाईंले नि ?
– पाष्टर रोबर्ट कार्थक