परमेश्वर आफ्ना मानिसहरुप्रति कृपालु हुनुहुन्छ

October 9, 2018 | Articles  

पाष्टर प्रेम श्रेष्ठ

वि.सं. १९१० मा नेपाल राष्ट्रमा मुलुकी ऐनको नाममा विधिवत कानून आयो जसको वि.सं. २०२० मा संशोधन भई यो देशमा विद्यमान कानूनलाई २०७५ भाद्र १ गते देखि (मुलुकी देवानी संहिता ऐन २०७४) को नाममा नयाँ कानून लागू भएको छ । सोही कानूनको विषयलाई लिएर विभिन्न प्रकारका टिकाटिप्पणी, विरोध र समर्थन भइराखेको छ । हामी क्रिश्चियन जगत पनि यदाकदा सोही प्रवृत्तिको काम गर्न पछि परेका छैनौं र प्रभुले हामीलाई अलग गरिएको जाति, उहाँको निज धन सम्पत्ति, मित्रहरू, छोराछोरीहरू अर्थात् उत्तराधिकारीको दर्जा, दिएर हाम्रो इज्जत, सम्मान गर्नुभएको छ र पनि आजसम्म हामीहरूले अख्रीष्टियनले बोल्ने भाषा उनीहरूको जस्तै व्यवहार, धर्ना, जुलुस, हडताल इत्यादि गर्दा हाम्रो प्रभु येशूलाई कस्तो लाग्दो होला ?

रोमी १३ः१–५ सम्मका कुरा म यहाँ सम्झाउन चाहन्छु । एन्टिओखियाको मण्डलीमा अगमवक्ताहरू र शिक्षकहरू, अर्थात् बारनाबास, काला भनिने शिमियोन, कुरेनिका लुकियस, प्रान्तीय शासक हेरोदसँग हुर्केका मनेन र शाऊल थिए । तिनीहरूले प्रभुको आराधना गरिरहेका र उपवास बसिरहेका बेला पवित्र आत्माले भन्नुभयो, “मेरो निम्ति बारनाबास र शाऊललाई त्यस कामको लागि अलग्ग गर, जुन कामको निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।” तब उपवास र प्रार्थना गरेर तिनीहरूले उनीहरूमाथि आफ्ना हात राखेर उनीहरूलाई बिदा दिए । तब पवित्र आत्माद्वारा पठाइएका हुनाले तिनीहरू सिलुकियामा गए र त्यहाँबाट जहाजमा चढ़ी साइप्रसतिर गए । सलामिसमा आइपुगेपछि तिनीहरूले यहूदीहरूका सभाघरहरूमा परमेश्वरको सुसमाचार प्रचार गरे । तिनीहरूलाई सहायता गर्न यूहन्ना तिनीहरूसँग थिए । यस खण्डले सबै अधिकार पहिले परमेश्वरबाट आएको हुन्छ भनी उल्लेख गरेका छन् । त्यो चाहे राजाको, राष्ट्रपतिको, प्रमुख सेवा प्रमुखको होस् चाहे अन्य अधिकारीको होस्, सबभन्दा पहिले त्यो परमेश्वरबाटको हुन्छ । हितोपदेश ८ः १५–१७ “मद्वारा नै राजाहरू राज्य गर्छन् र शासकहरू उचित कानून बनाउँछन्, मद्वारा नै राजकुमारहरू राज्य व्यवस्था चलाउँछन् र सबै उच्च अख्तियारवालहरू पृथ्वीभरि शासन गर्दछन् । मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु, मलाई खोज्नेहरूले मलाई भेट्टाउँछन् ।” यूहन्ना १९ः१०–११ यसकारण पिलातसले उहाँलाई भने, “के तिमी मसँग बोल्दैनौ ? तपाइईंलाई छोडिदिने अधिकार मसँग छ, र तिमीलाई व्रूmसमा टाँग्ने अधिकार पनि मसँग छ भन्ने तिमीलाई थाहा छैन ?” येशूले जवाफ दिनुभयो, “तिमीलाई माथिबाट नदिइएको भए ममाथि तपाईंको केही अधिकार हुनेथिएन । यसकारण मलाई तपाईंका हातमा सुम्पिदिने अझ बढ़ी पापको दोेषी छ ।” यसकारण यदि हामी कुनै अधिकारीप्रति अनाज्ञाकारी हुन्छौं भने परमेश्वरप्रति पनि अनाज्ञाकारी हुन्छौं । धेरै वर्ष मण्डलीले प्रार्थना गरिराखेको थियो यसो भनेर “प्रभु हामीलाई यो देशमा शान्ति दिनुहोस् । असल कानून दिनुहोस्, भ्रष्टाचारको अन्त्य होस्, देश विकाश होस्, देश उन्नति, प्रगतिको बाटोमा जाओस, कु–संस्कार हटेर गएको होस्, गरिबी हटेर जाओस” आदि इत्यादि । मेरो विचारमा हाम्रो अर्थात् मण्डलीको प्रार्थनाको उत्तर स्वरुप देशमा नयाँ कानून आएको छ । परमेश्वरले अधिकारीहरूलाई अधिकार मात्र दिनुभएको होइन तर उनीहरू हरेकलाई खटाउनु भएको पनि हुन्छ, यस हेतुले कि उनीहरूले जनताको भलाई र शान्ति कायम राखून् । १ तिमोथी २ः१–२ “सर्वप्रथम म आग्रह गर्दछु, कि सबै मानिसहरूका निम्ति नम्र–निवेदन, प्रार्थना र मध्यस्थ–बिन्ती र धन्यवाद चढ़ाइऊन्, राजाहरू र सबै उच्च पदमा भएकाहरूका निम्ति पनि, ताकि हामी निर्धक्क र शान्तिपूर्ण भएर हरप्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौं ।” उदाहरणको लागि दारा राजा र दानिएल, फारो राजा र योसेफ, कोरेश राजा र इस्राएली जसले उनीहरूको भलो चिताएर प्रवासबाट आफ्नो भूमिमा फर्कने अनुमति दिए, अहासुरस राजा र अल्पमतमा परेका यहूदी आदि जसको सुरक्षा भयो, राजा अर्तासास्त र नहेम्याह जसलाई भत्केको यरुशलेमको पर्खाल बनाउन अनुमति मात्र होइन तर चाहिने सबै सामान, शक्ति पनि दिएर पठाए । त्यस्तै गरिबी र अभावको पीडामा परेको रुथ र बोअजको इतिहासलाई हेर्न सक्छौं जसबाट दाऊदको वंश अर्थात् येशूका पुर्खाहरू जन्मिए । हामी पहिलो शताब्दिको चेलाहरूको विचार गरौं ती सबै जना प्रभुका भएर पनि प्रायः सबै नै देशको कानून वा प्रचलित नियमको कारण हाँसीहाँसी दुःख भोग्न तयार भए र आज हामीलाई एउटा असल बाटो देखाउन सफल भए र बाइबलले भन्दछ प्रेरित १७ः६ “संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन् ।” संसारलाई उलटपुलट पार्नेहरू भनेर नामाकरण गरियो । जब देशमा केही नयाँ कुरा आउँदछ त्यो निश्चयनै फरक हुन्छ र हाल आएको कानून पनि त्यसको पछिल्लो कडी हो र यसले धेरै कुरा परिवर्तन गर्दछ नयाँ कुरा, नयाँ सोच, नयाँ विधि बोकेर ल्याएको छ । म यहाँ यसको समर्थन वा विरोधको भाषा बोलिराखेको छैन खाली यो भन्न खोजेको हो कि नयाँ कुराले केही सहज, केही असहजपना ल्याउँदछ । यो कानूनले सबै समुदायमा केही न केही असहजता पक्कै ल्याउँदछ र कानून हामीलाई जे–जे ठीक लाग्छ त्यही त्यही आउँदैन तर हाम्रो काम त अब झन् बढी प्रभुको नजीक प्रार्थना, संगति, प्रेम, मेलमिलाप, भाइचारा र प्रभुको वास्ता झल्काउने काममा बढनुपर्दछ । निर्वासनको समयमा परमेश्वरले आफ्ना जातिलाई भन्नुभयो यर्मिया २९ः११ “किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु, परमप्रभु भन्नुहुन्छ । ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई ।” यसले हाम्रो निम्ति एउटा असल भविष्य दिँदछ । वास्तवमा रोमी ८ः३१ मा हामीले यसमा के भन्ने त ? यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुन्छ ? हाम्रो विरोधी त एउटै मात्र छ त्यो हो शैतान र त्यसको सेना एफिसी ६ः१२ किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्ध हो । १ यूहन्ना ४ः४–६ मेरो साना बालकहरू, तिमीहरूचाहिँ परमेश्वरका हौ, र तिनीहरूमाथि विजयी भएका छौ । किनभने जो तिमीहरूमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ । तिनीहरू संसारका हुन्, यसकारण तिनीहरू संसारकै कुरा गर्छन्, र संसारले तिनीहरूका कुरा सुन्छ । हामी त परमेश्वरका हौं । जसले परमेश्वरलाई चिन्छ उसले हाम्रो कुरा सुन्छ, र जो परमेश्वरको होइन, त्यसले हाम्रो कुरा सुन्दैन । यसैबाट हामी सत्यको आत्मा र भ्रमको आत्मालाई चिन्छौं ।  यूहन्ना १६ः३३  मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्ति होस् । संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु ।” यसकारण आज हाम्रो कर्तव्य के–के हो ? प्रभुलाई परीक्षा गर्नेहरूलाई प्रभुले भन्नुभयो मर्कूस १२ः१७ तब येशूले तिनीहरूलाई भन्नुभयो, “कैसरका चीजहरू कैसरलाई देओ, र परमेश्वरका चीजहरू परमेश्वरलाई ।” कैसरको कैसरलाई र प्रभुको प्रभुलाई । आज हामी देशमा रहेर ठीक काम गरौं, सरकारी कर (राजस्व) तिर्न नहिच्किचाऔं, देशको प्रचलित कानूनको उल्लंघन नगरी पारदर्शिता अपनाऔं र त्यसो गर्दा पनि यदि हामीलाई राज्यले दुःख दिन्छ भने हाँसीहाँसी सजाय भोग्न तयार होऔं र हाम्रो इनाम अत्यन्त ठूलो हुुन्छ । १ पत्रुस २ः१९–२१ परमेश्वरलाई सम्झेर कुनै मानिसले अन्यायपूर्ण कष्ट सहन्छ भने त्यो परमेश्वरमा प्रशंसनीय छ । किनभने तिमीहरूले खराब काम गरेर कुटाइ खाँदा धैर्यसँग सह्यौ भने यसमा ठूलो कुरो के छ र ? तर तिमीहरूले असल गरेर पनि पनि दुःख भोग्नुपर्दा धैर्यसँग सहन्छौ भने यो परमेश्वरमा ग्रहणयोग्य हुन्छ, किनकि यसैको निम्ति तिमीहरू बोलाइएका हौ । ख्रीष्टले पनि तिमीहरूका निम्ति कष्ट भोग्नुभयो, अनि तिमीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो, र तिमीहरू उहाँकै पाइलामा हिँड्नुपर्छ । तर नराम्रोे काम गरेर, कर छलेर, अनैतिक काम गरेर, अनाधिकृत प्रकारले काम गर्‍यौं भने सरकारको विरोध हुन्छ र बाइबलको विरोध गर्छाैं त्यसकारण हामी कुनै ख्रीष्टियनले सरकारको विरोध गर्छ भने पनि सबै त्यस्ता हुँदैन । हाम्रो काम समर्थन, विरोध होइन देशको कानून पालन गरेर असल साक्षी दिनु हो । जसले अरू व्यक्तिभन्दा हामी ख्रीष्टियन विश्वासीमा के फरक छ भनेर देखाउनु पनि पर्छ र आखिरमा विजय त हाम्रै हो ।

 

अन्त्यमा अब हामीले सु–समाचारको शैली बदल्नुपर्छ कसैलाई जोर जबरजस्ती नगरौं तर प्रेम देखाऔं जिएर देखाऔं, सहयोग गरेर देखाऔं, जसको कारण प्रभुको काम अझैं वृद्धि हुँदै जान्छ भन्ने विश्वास मेरो छ । समाजमा जबरजस्ती गर्ने, गलत काम गर्ने जो सुकैलाई पनि कानूनी दायरामा ल्याउनुपर्छ र गलत काम गर्ने व्यक्तिलाई मण्डलीले साथ दिनु पनि अपराध नै हो । घरघरमा गएर झूटा शिक्षकहरूले हाम्रा मानिस, समाजलाई भ्रममा पारिराखेका छन् त्यसबाट सत्य कुरा प्रकट गर्न जरुरी छ । अब अझैं सु–समाचारको लागि तयार हुनुपर्दछ । २ थेसलोनिकी ३ः१–४ “यसकारण जब हामीले सहन सकेनौं, तब एथेन्समा एक्लै छोडिन हामी राजी भयौं, र तिमीहरूलाई विश्वासमा स्थिर गराउन र अर्ती–उपदेश दिन, परमेश्वरमा ख्रीष्टका सुसमाचारको सेवक हाम्रा भाइ तिमोथीलाई हामीले पठायौं, ताकि यी कष्टहरूले गर्दा कोही नडग्माओस् । तिमीहरू आफैलाई थाहा छ, कि यसैको निम्ति हामी खटाइएका हौं । किनकि जब हामी तिमीहरूसँग थियौं, तब तिमीहरूले कष्ट भोग्नैपर्छ भनी हामीले अघिबाटै भनेको थियौं । यो साँच्चै हुन पनि आयो, सो तिमीहरूलाई थाहा छ ।” देशको शासक वर्ग जहिले पनि तानाशाही प्रवृत्तिका हुन्छन् जसले आफ्नो मात्र फाइदा, सुविधा र शक्तिको कुरा गर्दछन् । अहिले पनि यस कानूनले हामी क्रिश्चियन विश्वासीहरू, मण्डलीलाई केही असुविधा त पक्कै हुन्छ तर यो अवस्थाबाट पनि प्रभुले आफ्नो महिमा लिनु हुन्छ र हामी पवित्र जनहरूलाई संरक्षण गर्नुहुन्छ । याद गरौं सही काम गर्दै हिँड्ने व्यक्तिलाई परमेश्वरको प्रतिज्ञा व्यवस्था ३१ः६ “बलिया र साहसी होओ ! यिनीहरूसित नडराओ र त्रासित नहोओ ! किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूसँग जानुहुन्छ । उहाँले तिमीहरूलाई कहिल्यै छोड्नु हुनेछैन न त त्याग्नुहुनेछ ।” प्रभुले तपाईं हामी सबैलाई शक्ति देऊन् । आमेन ।