नेइम थियोलोजिकल स्टडी सेन्टर (नेइम टिएससी)
June 6, 2019 | Articles
–एल्डर सिमोन पाठक
नेइमका मण्डलीहरूमा अनौपचारिक रूपमा ईश्वरशास्त्रीय ज्ञान हासिल गर्ने तालिम आ–आफ्नै मण्डलीहरूमा फरक–फरक ढंगमा हुँदै आएको भए तापनि औपचारिक रूपमा आधिकारिक प्रमाण पत्र हासिल गर्ने उद्देश्यले कुनै तालिमहरू संचालन भएको थिएन । नेइमका अगुवाहरूलाई परमेश्वरको वचनमा परिपक्व बनाउँदै लान आफ्नै ईश्वरशास्त्रीय स्कूल हुनुपर्छ भन्ने उद्देश्यले लामो समयदेखि प्रार्थना र पहल हुँदै आएको थियो । ईश्वरशास्त्रीय स्कूलको अवधारणालाई अगाडि बढाउनलाई एउटा समिति पनि गठन गरिएको थियो । उक्त समितिले सन् २०१२ देखि यता ईश्वरशास्त्रीय स्कूल सुरु गर्नका लागि धेरै वटा बैठकहरू बस्यो, धेरै छलफल गरियो, उपत्यकामा संचालित ईश्वरशास्त्रीय स्कूल तथा तालिमहरू के कसरी संचालित भइराखेका छन्, सो विषयमा बुझ्ने काम पनि भयो । विभिन्न ईश्वरशास्त्रीय स्कूलका पाठ्यक्रमहरू जम्मा गर्ने कामहरू पनि भयो र सन् २०१६ को अक्टोबर महिनामा बसेको बैठकले सन् २०१७ बाट ईश्वरशास्त्रीय स्कूल सुरु गर्नको लागि नेइमको कार्यकारिणीमा अनुमोदन गराएर स्कूल सुरु गर्ने निर्णय गर्यो । तर विविध कुराहरूले तोकिएको मितिमा ईश्वरशास्त्रीय स्कूल सुरु हुन सकेन । त्यसपछि करीब एक वर्ष जति ईश्वरशास्त्रीय स्कूलको विषयमा कुनै पहल भएन ।
नेइम टिएससीको आवश्यकता महसुस गरी समिति गठन गरियोः
मिति २०७५ कार्तिक १७ गते तदानुसार नोभेम्बर ४, २०१८ आइतबारका दिन नेइम कार्यकारिणीको २९ औं बैठक नेइम ललितपुर चर्चमा बसेको थियो । सो बैठकमा नेइमलाई कसरी बलियो बनाउँदै लाने भन्ने विषयमा छलफल हुँदै गर्दा डीकन लाक्पा लामाले नेइम यति ठूलो भएर गइसक्यो तर हाम्रो आफ्नो ईश्वरशास्त्र सम्बन्धी अध्ययन गर्ने स्कूल छैन भन्ने विषयमा सबैको ध्यान केन्द्रित गराउनुभयो । नेइमको आफ्नै ईश्वरशास्त्रीय स्कूल हुनुपर्छ भन्ने विषयमा कसैको पनि दुईमत थिएन । विगतमा पनि नेइमको आफ्नै ईश्वरशास्त्रीय स्कूल हुनुपर्छ भन्ने सम्बन्धमा कुरा उठिराखेको थियो । तर यसपटककोे बैठकमा नेइमको ईश्वरशास्त्रीय स्कूल सुरु गरिहाल्नुपर्छ भन्ने विषयमा नेइम कार्यकारिणीमा हुनुभएकाहरू सबैजना एकै मनको भएर निर्णय गर्न पुग्यौं । सोही दिन नेइमको ईश्वरशास्त्रीय स्कूल सुरु गरिहाल्नका लागि एउटा कार्य समिति गठन गरियो । उक्त कार्य समितिमा नेइम ज्ञानेश्वरबाट पा. सामुएल कार्थक, ए. शुुइङ्ग कार्थक, ए. सिमोन पाठक र श्री. लेखनाथ पौडेल, नेइम ललिपुरबाट ए. सीता गुरूङ्ग, ए. घनश्याम दाहाल, नेइम जोरपाटीबाट पा. प्रेम श्रेष्ठ, डीकन लाक्पा लामा, नेइम गोंगबूँबाट पा. बर्णबास श्रेष्ठ, ए. पिटर लिम्बू सहितको कार्य समिति गठन गरियो । यो कार्य समितिको संयोजकको जिम्मा डी. लाक्पा लामालाई दिइयो । दश जनाको कार्य समितिका सदस्यहरूबाट पाठ्यक्रम तय गर्नको लागि चार जनाको उप–समिति पनि गठन गरिएको थियो जसमा डी. लाक्पा लामा, श्री लेखनाथ पौडेल, ए. शुइङ्ग कार्थक र ए. सिमोन पाठक हुनुहुन्थ्यो । यो समितिले नेइम टिएससीमा पढाइने विषयहरूको तय गरेको थियो ।
नेइम टिएससीले आफ्नो धार पक्रियोः
नेइम टिएससी कार्य समितिको पहिलो बैठकले नेइममा सुरु हुने ईश्वरशास्त्रीय स्कूलको नाम के राख्ने, तालिमको अवधि, लक्षित समूह, कहाँ गर्ने, लाग्ने खर्च कसरी जुटाउने आदि इत्यादि विषयमा बृहत छलफल गरियो । सोही दिनको बैठकमा नेइममा सुरु हुने ईश्वरशास्त्रीय स्कूलको नाम नेइम थियोलोजिकल स्टडी सेन्टर (नेइम ईश्वरशास्त्रीय अध्ययन केन्द्र) राख्ने निर्णय गरियो । उक्त बैठकपछि धेरैवटा बैठकहरू बस्यो, जसबाट नेइम थियोलोजिकल सेन्टरमा पढाइने विषयहरू एकेडेमिक डिन पढाउने शिक्षकहरू नेइम टिएससी सुरु गर्ने स्थान, लाग्ने खर्च आदिको तय गरिएको थियो । दशजनाको कार्य समितिबाट नेइम टिएससीलाई नेतृत्व दिनको लागि एकेडेमिक डिन नियुक्त गर्ने निर्णय गरियो र यसको कार्यभार ए. पिटर लिम्बूलाई दिइएको छ । नेइम टिएससीमा पढाउने धेरै जसो शिक्षकहरूमा ईश्वरशास्त्रको अध्ययन गरेका नेइमबाट नै हुनेछन् भने केही विषयहरू पढाउनको लागि उपत्यकाका मण्डलीहरूबाट पनि शिक्षकहरूलाई बोलाइनेछ ।
नेइम टिएससीको उद्घाटनः
नेइम टिएससीको उद्घाटन यही मिति २०७६ साल जेठ ३ गते तदानुसार मे १७, २०१९ का दिन नेइम ज्ञानेश्वरमा गरिएको थियो । उद्घाटन कार्यक्रममा नेइमका चारैवटा मण्डलीका पास्टरहरू, एल्डरहरू, प्रशिक्षकहरू र नेइम टिएससीमा अध्ययन गर्न गइराखेका विद्यार्थीहरूको उपस्थिति थियो । उद्घाटन समारोहमा आदरणीय पास्टर रोबर्ट कार्थक गुरूबाले नेइम टिएससीलाई अगाडि बढाएर लानको लागि धर्मशास्त्रका निम्न खण्डहरूबाट चेला बनाउने सम्बन्धमा यसरी मार्गनिर्देशन दिनुभएको थियो (मत्ती २८ः१८–२०, लूका १४ः२६–३३, यूहन्ना ८ः३१–३८)ः चेलाहरूले चेला नै बनाउँछन्, अचेलाहरूले कचेला मात्र बनाउँछन्, आजका मण्डलीहरू महान आज्ञा पूरा गर्ने कुरामा चुकिराखेका छन्, जसको कारण मण्डलीहरू कमजोर भएर गइराखेका छन्, मण्डलीले चेला बनाउन सकेन भने कचेलाहरू मात्र बनाउँछन्, प्रभुले लूका १४ः२६–३३ मा तीन पटकसम्म “त्यो मेरो चेला हुन सक्दैन” भन्नुभयो चेला हुनु भनेको ख्रीष्टलाई पछयाउनु हो । मण्डलीहरू किन चेला बनाउने कुरामा चुकिराखेको छन् ? किनकि चेला बनाउने कुरालाई मण्डलीहरूले एकदमै हल्कारूपमा लियौं । हाम्रो मुख्य काम चेला बनाउनु हो, कचेला बनाउनु होइन भन्ने कुरामा गुरूबाले जोड दिनुभएको थियो । हामीहरूले थाहा नपाएका, नजानेका धेरै कुराहरू छन् भन्ने कुरालाई पनि उहाँले वचनबाट प्रकाश पार्नुभएको थियो (१ कोरिन्थी ५ः६, ६ः९, १५, १९, ९ः१३, २४) । आफूले थाहा नपाएका कुराहरू अरूहरूलाई कसरी सिकाउने भन्ने कुरालाई जोड दिँदै धर्मशास्त्रको ज्ञान हासिल गर्ने स्कूलको खाँचोलाई पनि गुरूबाले प्रकाश पार्नुभएको थियो । गुरूबाकै प्रार्थनाद्वारा नेइम टिएससीलाई प्रभुको हातमा समर्पण गरिएको थियो । परमेश्वरले ठहराउनुभएको समयमा नेइमको नेइम थियोलोजिकल स्टडी सेन्टर (नेइम टिएससी) नेइम ज्ञानेश्वर चर्च भवनको माथिल्लो तल्लामा मिति २०७६ साल जेठ ५ गते तदानुसार मे १९, २०१९ बाट अध्यापन सुरु गरिएको छ । जसमा तीसजना विद्यार्थीहरू अध्ययनरत हुनुहुन्छ ।
नेइम टिएससीमा मोड््युलको आधारमा पढाइ हुनेछः
उपत्यकामा भएका नेइमका चारैवटा मण्डलीहरूबाट कोटा प्रणालीको आधारमा विद्यार्थीहरूको छनोट गरिएको छ । नेइम टिएससीमा मोड्युलरको आधारमा पढाइ हुनेछ । एउटा मोड्युल दुई क्रेडिटको हुनेछ । एक मोड्युलको पढाइ अवधि दुई हप्तासम्म हुनेछ । कक्षा हरेक दिन आइतबारदेखि शुक्रबारसम्म बिहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म हुनेछ । कक्षापछि आ–आफ्नो काममा जान सजिलो होस् भन्ने उद्देश्यले खानाको पनि व्यवस्था गरिएको छ । पढाइ सकेपछि एक हप्ता विश्राम हुनेछ र त्यसपछि अर्काे मोड्युल सुरु हुनेछ । एक वर्षमा फिल्ड मिनिस्ट्री सहित जम्मा १८ मोड्युल अर्थात् १८ वटा विषयहरूमा पढाइ हुनेछ । स्कूलले तोकेको मापदण्ड पूरा गर्ने विद्यार्थीहरूले एक वर्षको अध्यापनपछि सिटिएच तहको प्रमाण पत्र प्राप्त गर्नुहुनेछ ।
नेइम टिएससीको लक्ष्य तथा उद्देश्यः
यो अध्ययन केन्द्रको मुख्य उद्देश्य – एफिसी ४ः१२ – “ख्रीष्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित होउन् ।” मण्डलीमा सही र ठीक किसिमको नेतृत्व दिन सक्ने दक्ष तथा सक्षम, समर्पित अगुवाहरू उत्पादन गर्नु, सेवकको हृदय भएका अगुवाहरू तयार गर्नु, परमेश्वरबाट प्राप्त सेवकाई अथवा जिम्मेवारीलाई सफल र प्रभावकारी ढंगले पूरा गर्न सक्ने दक्ष सुयोग्य जनशक्ति तयार पार्नु, आत्माको शक्तिमा सुुसमाचार प्रचार गर्ने साथै अधिकारसाथ परमेश्वरको वचन सिकाउन सक्ने दक्ष जनशक्ति तयार पार्नु, विद्यार्थीलाई शैद्धान्तिक साथै प्रयोगात्मक दुवै किसिमको विशेष तालिम दिई मण्डली स्थापनाका साथै बृद्धिका काममा उत्साह दिनु । हरेकलाई परमेश्वरले दिनुभएको दान वरदानलाई पहिचान गर्न लगाई तिनीहरूलाई परमेश्वरको महिमाको लागि चलाउन उत्साह प्रदान गर्नु, हरेकलाई आत्मिक साथै बौद्धिक दुवै क्षेत्रमा सन्तुलित शिक्षा प्रदान गरी समानुपातिक उन्नतीतर्फ डोर्याउनु, नेइम टिएससीको लक्ष्य र उद्देश्य उपत्यकामा भएका नेइमका मण्डलीहरू, उपत्यका बाहिर रहने नेइमका शाखा आवद्ध मण्डलीहरू र नेइम भन्दा बाहिरका मण्डलीहरूका अगुवाहरूलाई पनि वचनको ज्ञानमा सक्षम बनाएर ख्रीष्टको मण्डली बलियो बनाउनु भएता पनि यो वर्ष उपत्यकामा भएका नेइमका मण्डलीहरूमा नै केन्द्रित हुनेछ र भविष्यमा अरू मण्डलीहरूको लागि पनि खुल्ला गरिने छ ।
नेइम टिएससीको संचालनः
नेइम टिएससीको कार्य समितिको अन्तिम बैठक मिति २०७६ साल बैशाख २५ गते तदानुसार मे ८, २०१९ मा बस्यो र उक्त बैठकले नेइम टिएससीको संचालन गर्ने जिम्मा एकेडेमिक डिन ए. पिटर लिम्बूलाई दिइयो । नेइम टिएससी संचालन गर्नको लागि उपत्यकामा भएका चार मण्डलीहरूबाट पूर्व कार्य समितिमा रहेका सदस्यहरू नै संचालन समितिमा रहनेछन् र यसको संरक्षक उपत्यकामा भएका चार मण्डलीका पास्टरहरूको पास्टरल झुण्ड रहनेछ । नेइम टिएससीमा पढ्नको लागि आवेदन दिने विद्यार्थीहरू आफू जाने मण्डलीको सक्रिय सदस्य भइ मण्डलीमा भएका विभिन्न सेवाकाईमा सहायता पुर्याइराखेकाहरू हुनु पर्नेछ ।
नेइम टिएससीलाई निरन्तरता दिन सबैको सहभागिता चाहिन्छः
नेइम टिएससीबाट अगाडि बडाएर लान प्रार्थनाका साथै सहयोगी हातहरू पनि चाहिन्छ । नेइम टिएससीलाई सक्षम र सबल हुँदै निरन्तरता दिनको लागि आर्थिक कुराले पनि महत्वपूर्ण भूमिका खेल्दछ । विद्यार्थीहरूबाट उठाएको फीसले नेइम टिएससी संचालन हुन सक्दैन । कति विद्यार्थीहरूको लागि तोकिएको फीस तिर्न गाह्रो हुन्छ । उहाँहरूको लागि छात्रवृत्तिको आवश्यकता पर्दछ । नेइम टिएससी कुनै व्यक्ति विशेष नभएर हाम्रो हो भन्ने भावना नेइमका सदस्यहरूमा हुनु जरूरी छ । मैले पढ्न नपाए तापनि म कुनै व्यक्तिको लागि पढ्नलाई सहयोग गर्छु भन्ने मन नेइमका सदस्यहरूमा भयो भने मात्र नेइम टिएससीले राखेका लक्ष्य पूरा हुन सक्नेछ । अहिले सी.टी.एच. तहको पढाइ भए तापनि निकट भविष्यमा डिप्लोमा तहको पढाइ सुरु गर्ने योजना छ । यो वर्ष मैले पढ्ने अवसर पाइनँ भनेर कसैले सानो मन गर्नु पर्दैन । आउँदो वर्षहरूमा पढ्न इच्छुक सबै अगुवाहरूको निम्ति नेइम टिएससीको ढोका खुल्ला छ र नेइमका मण्डलीहरूमा विभिन्न क्षेत्रहरूमा रहेर मण्डलीलाई परिपक्व बनाउने काममा लागि पर्नुभएका एल्डर, डीकन, डीकनेस्, घरेलु संगतिका अगुवा, सहायक अगुवा, पुरूष, महिला, युवा, बाल संगतिमा सहायता पुर्याइराख्नुभएकाहरू, आराधनामा अगुवाइ गर्नेहरू, क्वायर झुण्डमा संगीतका विभिन्न क्षेत्रमा सहायता पुर्याइराख्नुभएका, आउटरीच संगतिमा सहायता पुर्याइराख्नुभएकाहरू आदि सबै व्यक्तिहरूले नेइम टिएससीको तालिम लिएर आफ्नो मण्डलीलाई बलियो र परिपक्व बनाउने काममा लाग्न सकून् भन्ने नै हो । नेइम टिएससी मण्डलीलाई परिपक्व गराउने काममा निरन्तर अघि बढ्दै जान सकोस् भनी प्रार्थना गरौं, साथै पढ्ने विद्यार्थीहरूलाई पढाएका कुराहरू बुझ्न र पढाउने शिक्षकहरूलाई विद्यार्थीहरूले बुझ्ने तरिकाले पढाउनका लागि प्रभुसँग ज्ञान बुद्धिको लागि निरन्तर प्रार्थना गरौं । नेइम टिएससीद्वारा नेइमको प्रभुलाई नै सधैँ महिमा भएको होस् !
आमेन् ।
कचौरा, इनार, खोलाबाट नदी
May 4, 2019 | Articles
-पाष्टर प्रेम श्रेष्ठ
संसारमा यस्तो कोही मानिस छैन जसले शतप्रतिशत नि–स्वार्थ जीवन बिताएको होस् र जसमा शून्य स्वार्थ होस, कोही रुपैयाँ पैसामा, कोही आफ्नो सन्तानको उज्ज्वल भविष्यको लागि, कोही पुस्तौं पुस्तौंको लागि सम्पत्ति थुपार्न तल्लिन छन् । कसैलाई आफू सानो पदमा परिएला, कसैलाई आफ्नो बिरासत आफ्नो सन्तानको हातबाट फुस्केला भन्ने असुरक्षित भावनामा छन्, तर हामीले पुजेको परमेश्वर पुत्र येशूजसमा कुनै प्रकारको स्वार्थ, शर्त तथा भेद्भाव छैन । John Maxwell भन्दछन्, येशू संसारमा आउनुभएको
१. कुनै कुरा प्रमाणित गर्न होइन
२. उहाँलाई कुनै कुरा लुकाउनु थिएन
३. उहाँलाई कुनै कुरा गुमाउनु पनि थिएन कारण उहाँ त १००% परमेश्वर १००% मानिस हुनुहुन्थ्यो । त्यसकारण आज हामीले जुन कुरा सित्तैमा पाएका छौं, त्यो अरुलाई सित्तैमा दिन सक्नुपर्छ, त्यो नै येशूको सही शिक्षा हाम्रो लागि हो ।
यूहन्ना रचित सुसमाचारमा येशूले पानीलाई विश्वासी जीवनको विकासमा ३ वटा तहहरू वा चरण बिस्तृत रुपले ब्याख्या गरेको पाउँदछौ, जसले प्रत्येक पवित्र जनको उन्नति प्रगति ल्याउँदछ भन्ने मेरो पूर्ण विश्वास छ ।
पहिलो चरणः यूहन्ना ३ः५ मा पानी र आत्माद्वारा जन्मने कुरा व्यक्त गरिएको छ । अब यो पानी र आत्मा भनेको के हो त ? भजन ११६ः१३ मा यो त मुक्तिको कचौरा हो जसले हाम्रो जीवनमा इसाई जीवनको सुरुवात हुन्छ, जुन कचौराको पानी अर्थात पवित्र आत्माले हाम्रा पाप अधर्मलाई पहिचान गरेर परमेश्वरको राज्यमा उहाँका सन्तानको रुपमा स्वीकार गरिन्छ । पवित्र आत्मा एउटा विशेष शक्ति मात्र होइन, तर उहाँ त त्रिएक परमेश्वरको एउटा अंग वा एउटा व्यक्ति जसले हाम्रो जीवन पूर्ण परिवर्तन वा विजय ख्रीष्टिय जीवन दिनुहुन्छ ।
दोस्रो चरणः यूहन्ना ४ः१४ मा येशू अब त्यो कचौरालाई इनारको पानीतिर परिवर्तन गर्दै हुनुहुन्छ । यो एकदमै गहिरो प्रकारको पवित्र आत्माको अनुभव बताउन लाग्नुभएको छ, जहाँ हाम्रा भित्रिय परिवर्तन वा तिर्खासँग भेट गर्ने कुरा सिकाउनुहुन्छ । आज हामी धेरै संख्यामा रहेको सतही ख्रीष्टियन व्यक्तिको कारण मण्डलीले उन्नति गर्न सकेको छैन, जससँग येशू जसरी सामरी स्त्रीसँग बाटोमा भेट्नुभयो र सत्य प्रकट गरिदिनुभयो, त्यसैगरी हामीले पनि हाम्रो भित्रिय वर्तावलाई सदाको लागि बदल्नुछ । त्यसले मात्र हाम्रो पुरानो सांसारिक मनुष्यत्व माथि सदैवको लागि विजय प्राप्त गर्छ । जससँग त्यो पानीको इनार छ, त्यसलाई शहरको पाईपको पानी वा अर्काको भरमा जिउनु पर्दैन, तर त्यसले अरुलाई पनि त्यो पानी बाँड्न सक्छ । येशूले भन्नुभयो, त्यो पानी जो उहाँले हामीलाई दिनुभएको छ, त्यसको मुहान उहाँ आफैं भएकोले त्यो कसैले बन्द गर्न सक्दैन, तर निरन्तर बहिरहन्छ, त्यो पानी जो येशूले हामीलाई दिनुहुन्छ, त्यो कसैले खोसेर लैजान सक्दैन । यूहन्ना १६ः२२ मा येशू भन्नुहुन्छ त्यो खुशी आनन्द कसैले पनि खोस्न सक्दैन र सदा सदाको लागि हामीलाई उहाँले सम्हाल्नुहुन्छ ।
तेस्रो चरणः कचौराको पानी थोरै, सीमित हुन्छ भने इनारको पानी बेस्वादको हुन्छ तसर्थ हामी कचौरा र इनारमा हुने पानीमा सीमित रहनुहुन्न, हामी खोला नदीमा बहने पानी झैं हुनु आवश्यक छ । यूहन्ना ७ः३७–३८ मा येशू भन्नुहुन्छ यदि कोही तिर्खायो भने, (याद गरौं नतिर्खाउनेलाई होइन है) त्यो कचौराबाट इनार भएको पानी अब खोला, नदी, समुद्र बन्न लागेको छ । याद गरौ कचौरामा रमाउनेले अब इनारतिर आफ्नो आँखा उठाउनु पर्यो, इनारमा नै डुबुल्की मारी राख्नेहरूले अब बग्ने त्यो खोला, नदी, समुद्रतिर आफ्नो मन लगाउन जरुरी छ, कारण हाम्रो ख्रीष्टियन जीवन त अघि बढ्ने जीवन हो, छलाङ्ग मार्ने जीवन हो । अब कचौरामा मात्र आफूलाई सीमित नराखौं, इनार मात्र मेरो अन्तिम लक्ष्य हो भनेर नठानौ, त्यसले केही व्यक्तिलाई सन्तुष्टि त देला, तर आज हामीलाई हजारौ लाखौ व्यक्तिलाई सिंचाई गर्नुछ । अब खोलादेखि नदी, नदीदेखि समुद्रतिरको सपना देखौं । प्रेरित १ः८ मा येशू भन्नुहुन्छ “संसारको अन्त्यसम्म मेरा साक्षी हुनेछौ ।” त्यसको निम्ति हामी कचौरा वा इनार भएर पुग्दैन, खोला नदी हुन जरुरी छ । जो व्यक्तिको आफ्नो भित्रिय वर्तावमा तृप्तीभएका हुन्छ, त्यसले मात्र अरुको तिर्खालाई बुझ्न सक्छ । अनि येशू भन्नुहुन्छ, तिमीहरूको अन्तस्करणबाट जिउँदा जलको खोलाहरू फुटेर निस्किन्छन् र त्यस खोलाले धेरैलाई तृप्ती दिन्छ । परमेश्वरले अब्राहमलाई उत्पत्ती १२ः२–३ मा भन्नुभयो, “तँलाई र तेरो परिवारलाई आशिष् दिनेछु, जसले सारा पृथ्वीका परिवारले आशिष् पाउनेछ । अनि त्यो आशिष् पवित्र आत्माको आशिष हो ।” ख्रीष्ट येशूको रगतले हाम्रो पाप धोएर हामी अब अब्राहमको आशिष्को हकदार पारिएका छौं र अब कतै पनि भेदभावको गुन्जायस छैन । त्यो विभाजनको पर्खाल भत्किएको छ र सारा संसार आशिषका हकदार हुन् । अब सुसमाचार चाहिँ यही हो कि परमेश्वरले हामीलाई सित्तैमा दिनुभएको उद्धार, मुक्ति, कृपा अरुहरूकहाँ पुर्याउनु पर्छ । अब हाम्रो हृदयको चौडा फराकिलो हुनुपर्छ, कचौरा होइन, इनार होइन, खोला वा नदी भएर बग्नुपर्छ । महान लेखक A.W. Tozer ले एउटा आफ्नो लेखमा भनेका छन्, यदि तपाई आफ्नो आत्मिकी विकासमा गम्भीर हुनुहुन्छ भने जस्तै नयाँ आनन्दको वृद्धि नयाँ शक्ति वा नयाँ रुपान्तरित जीवन चाहनुहुन्छ भने केही हृदयको विशेष् निर्णयहरू गर्नुपर्दछ र त्यसमा लाग्नुपर्छ र आफैंलाई बनाउँदै लानुपर्दछ । याद गरौं त्यो निर्णयले अरुलाई ठेस पुग्नु हुँदैन । १ पत्रुस ४ः८ मा पत्रुस लेख्छन्, प्रेमले असंख्य पापलाई ढाक्दछ । हाम्रो हृदय प्रेमले भरिएको र अरुलाई दोष नलगाउने, चियो चर्चोलाई आफ्नो पेशा नबनाउने जीवन हुनुपर्दछ । मत्ती ७ः२ अरुको न्याय नगरौं । यदि तपाईं परमेश्वरबाट असल कामको चाहना गर्नुहुन्छ भने अरुप्रति असल व्यवहार गर्नुहोस् । याद गरौं हामी येशूसँग टेबलमा बसेर भोज खाँदैछौ, अब अरुको कुरा काट्ने, अरुको गफ गर्ने काम बन्द गरौं चाहे त्यो जो सुकै होस् ।
अन्तमा त्यो एकदम राम्रो निर्णय हुनेछ जसले अरुको कुभलो चिताउँदैन, अर्काको पारिवारिक, आर्थिक, प्रतिष्ठामा दखल पुर्याउँदैन । यर्मिया १५ः१९ मा भन्दछ चाँहिदो कुरा बोल, व्यर्थमा समय खेर नफाल । पुनश्चः हामी कचौराबाट इनार र इनारबाट खोला, नदी हुँदै धेरैलाई भिजाउनेहरू बन्न उत्साह दिन चाहन्छु । पवित्र आत्माले तपाईंहरूलाई बाटो देखाऊन, सल्लाह देऊन र असल कुरा सिकाऊन ।
आमेन्
सफलता र विश्वासयोग्यतामा के छान्ने ?
March 4, 2019 | Articles
– पाष्टर बर्णबास श्रेष्ठ
सफलता र विश्वासयोग्यतामा के छान्ने ? सबै मानिस सफल बन्न चाहन्छन् । संसार भरिनै सफलताको लागि होडबाजी छ । सफलता प्राप्त गर्नु असल हो तर जसरी पनि सफल हुनुपर्छ भन्ने मानसिकता चाहिँ ठीक होइन । पहिले पहिले एस.एल.सी. पास गर्नु धेरै ठूलो कुरा थियो । चीट चोरेर पास गर्ने एउटा कला जस्तै थियो । कसरी चोर्ने सो एकले अर्कोलाई सिकाइन्थ्यो । आजको दिनहरूमा चीट चोराउन विभिन्न प्रविधिहरूको प्रयोग भएको सुन्न पाइन्छ । जसरी पनि पास हुनुपर्छ, प्रमाण—पत्र पनि चोरेर पास गरेर होस् या किनेर योग्यता देखाउनै पर्ने समयमा हामी जिइराखेका छौं । यो केवल पढाइ वा अध्ययनको क्षेत्रमा मात्र होइन तर व्यापारको क्षेत्रमा, उद्योगको क्षेत्रमा, कृषिको क्षेत्रमा सबै क्षेत्रमा व्यापक छ । परिश्रम बिनाका, कम परिश्रममा, कम लगानीमा धेरै उत्पादनको लागि नक्कली, अस्वस्थ्यकर, हानीकारक, जे जस्तै भए पनि कमाउनको लागि कति पनि नहिचकिचाइ सबै प्रकारको सम्झौता गर्न तयार छन् । आफू सफल हुन अरूलाई होच्याएर, खसालेर, अरूमाथि टेकेर, सबै गर्न तयार हुन्छन् । आफ्नो स्वार्थको लागि परिवार, समाज वा राष्ट्रलाई नै घात गर्न केही जस्तो नमान्ने समयमा हामी जिइराखेका छौं ।
विश्वासयोग्यता वा इमान्दारितालाई कसैले पनि नकार्न सक्दैन । बेठीक छ कसैले पनि भन्दैन । आवश्यक छ, सबैले भन्दछौं तर व्यवहारिकतामा जिउन प्रयत्न गर्नेहरूको संख्या (तुलनात्मक रूपमा) कमै पाइन्छ । जति हामी आवश्यक छ भन्छौं । व्यवहारिकतामा सजिलो पनि छैन । तर हामी इसाईहरूको लागि यो अत्यन्त जरूरी विषय हो ।
हामी नेइमका विश्वासीहरूको लागि विश्वासयोग्यता र इमान्दारिता गर्ने वा नगर्ने भनेर छान्ने विषय नै होइन कारण हाम्रो मण्डलीको नारा नै “ख्रीष्ट जस्तो बनाउन ख्रीष्ट जस्तो बन्ने” भन्ने छ । यो बिषयको सम्बन्धमा ख्रीष्टको उदाहरण हेर्ने हो भने अहिलेको सोचाइअनुसार त ख्रीष्ट एक सफल व्यक्ति हुनुहुन्न । विशेष् गरी उहाँको क्रूसको कष्ट भोगाई र मृत्युको समयको कुरा गर्ने हो भने, संसारको दृष्टिमा उहाँ एक असफल व्यक्ति नै देखिनुहुन्छ ।
जब मृत्युको समय नजीक आइपुगेको थियो उहाँका चेलाहरुले धेरै प्रश्न गर्न थालेका थिए । “तपाईं कहाँ जाँदै हुनुहुन्छ ?”
(युहन्ना १३ः२६) तपाईं मर्ने ? यो हुनै सक्दैन, “परमेश्वरले यस्तो कहिल्यै नगरून्” (मत्ती १६ः२२) । येशू किन आउनुभएको भन्ने कुरामा नै उनीहरू अलमलिएका थिए । एउटा चेलाले धोका दियो (मर्कूस १४ः१० मत्ती २६ः १४ देखि १६) । पत्रुसले इन्कार गरे (मत्ती २७ः७०,७२,७५), सबै चेलाहरू उहाँलाई छोडेर गए (मर्कूस १४ः५०), उहाँलाई अपराधीहरूसँगै क्रूसमा टाँगियो (लूका २३ः४९) मानिसहरूले उहाँको खिस्सी गरे (मत्ती
२७ः४०, भजन १०९ः२५) एक अपराधीले क्रूसमा टाँगिएको समयमा पनि खिस्सी गरेर भन्यो “के तिमी ख्रीष्ट होइनौ, तिमी आफैलाई र हामीलाई पनि बचाऊ” (लूका २३ः३९) । मानिसहरूले येशूमा जुन आशा गरेका थिए त्यो सबै कुरा उहाँ क्रूसमा टाँगिनुभएपछि गुमाएका थिए (लूका २४ः२१) ।
यस प्रकारले हेर्दा त क्रूसमा टाँगिनुभएको समयको दृष्यले उहाँ एक असफल व्यक्ति देखिनुहुन्छ । के उहाँ असफल हुनुभयो ? यो मानिसको विचार मात्र थियो । उहाँ पूर्ण सफल सिद्ध हुनुहुन्छ । हामीहरूको दृष्टिको सफलता र परमेश्वरको दृष्टिको सफलतामा फरक छ । वचनमा यो पनि लेखिएको छ “जस्तो तिमीहरूका स्वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्छ तिमीहरू पनि त्यस्तै सिद्ध हुनुपर्छ” (मत्ती ५ः४८) ।
आज हामीहरूको लागि चुनौतीचाहिँ यही हो, के हामी साँच्चै इमान्दार छौं ? हामीले धेरै पटक उठेर, हात उठाएर परमेश्वरको उपस्थितिमा विभिन्न प्रतिज्ञा गरेका छौं । के हामीले गरेका ती प्रतिज्ञाहरूमा इमान्दार छौं ? मण्डलीको सामु समर्पण गर्दा हामीले गर्दछौं भनेका प्रतिज्ञामा हामी व्यवहारिक रूपमा गरेका छौं ? विवाह गर्दा परमेश्वरको उपस्थितिमा र मण्डलीको सामुन्ने गरेका प्रतिज्ञामा हामीले इमान्दारीताको साथ पालन गरेका छौं ?
हामीले हाम्रो आफ्नो इच्छा र सफलताको लागि मात्र धेरै समय खर्चेका छौं तर उहाँप्रतिको इमान्दारितामा चुकेका छौं भने हामी ख्रीष्ट जस्तै बन्ने विषयबाट टाढा छौं ।
“जो थोरै कुरामा इमान्दार हुन्छ, त्यो धेरैमा पनि इमान्दार हुन्छ, र जो अति सानो कुरामा बेइमान हुन्छ, त्यो धेरैमा पनि बेइमान हुन्छ (लूका १६ः१०) ।
“विश्वासी र बुद्धिमान् नोकर को हो, जसलाई त्यसको मालिकले आफ्ना परिवारका चाकरहरूलाई ठीक–ठीक समयका खान देओस् भनि खटाएको हुन्छ ? त्यो नोकर धन्य हो, जसलाई मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछ (मत्ती २४ः४५–४६) ।
“मालिकले त्यसलाई भने, स्याबास, असल र विश्वासी नोकर ! तँ थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु । तँ आफ्ना मालिकको खुशीमा सहभागी हो” (मत्ती २५ः२१) ।
“मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्ने छैनन् । स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिसले मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ (मत्ती ७ः२१) ।
ख्रीष्टमसलाई सार्थक र उल्लासपूर्ण बनाऔं
December 5, 2018 | Articles
– श्री लेखनाथ पौडेल
ख्रीष्टमस (क्रिसमस) प्रभु येशू ख्रीष्ट यस संसारमा मानिसको उद्धार गर्नको लागि मानिस भएर जन्मनुभएको दिनको सम्झनामा मनाइने उत्सव हो । यो हरेक इसाई विश्वासीहरूको निम्ति एउटा महत्वपूर्ण समय हो । ख्रीष्टमसलाई हामी बडादिन पनि भन्छौं । हरेक वर्ष डिसेम्बर २५ (पौष १०) का हामी नेपालमा ख्रीष्टमसलाई एउटा उत्सव (चाड) को रूपमा मनाउँछौं । अन्य कतिपय मुलुकहरूमा नोभेम्बर महिनादेखि नै यो उत्सव मनाउने गरेको पनि पाइन्छ र कतिपय देश तथा केही सम्प्रदायहरूले जनवरीको पहिलो हप्तामा पनि ख्रीष्टमस मनाउने गर्छन् । नेपालमा भने डिसेम्बर महिना लागेपछि नै ख्रीष्टमसका गीतहरू गाउने, शुभकामना आदानप्रदान गर्ने, ख्रीष्ट जन्मसम्बन्धी सुसन्देश सुनाउने काम गरिन्छ र यो कार्य डिसेम्बरको अन्तिम हप्तासम्मै जारी रहन्छ । वास्तवमा हामी नयाँ जन्म पाएका इसाईहरूको निम्ति मनाउनको लागि भनेर दिइएको कुनै चाड हामी बाइबलमा पाउँदैनौं तथापि ख्रीष्ट येशू प्रभु हाम्रो उद्धार गर्न मानिसको रूपमा जन्मनुभएको दिनको सम्झनास्वरूप डिसेम्बर महिनाभरि र विशेष् रूपमा डिसेम्बर २५ र आसपासका दिनहरूमा हामी ख्रीष्ट जन्मोत्सव अर्थात् ख्रीष्टमस हर्षोल्लासका साथ मनाउँछौं । ख्रीष्टमस मनाउने प्रचलन चौथौं शताब्दिदेखि सुरु भएको मान्यता रहेको छ ।
प्रभु येशू ख्रीष्टको जन्म हुँदा सबभन्दा पहिले स्वर्गदूतहरूले बेथलेहेममा रहेका गोठालाहरूलाई असल खबर दिँदै स्तुति गान गाएका थिए । गोठालाहरूले यो सन्देश पाउने बित्तिकै झट्टै प्रभुलाई हेर्न गएका थिए र उहाँलाई देखी रमाउँदै फर्केका थिए (लूका २ः८–१८) । उहाँको जन्मको उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका पूर्वका ज्ञानी ज्योतिषीहरू समेत उहाँको जन्मका चिन्हहरू पछ्याउँदै उहाँलाई हेर्न बेथलेहेमसम्म आइपुगे र उहाँलाई भेटीहरू चढाए ।
(मत्ती २ः१–११) । उहाँको जन्मको प्रतीक्षा गर्दै मन्दिरमा बसिरहेका शिमियोन र हन्नाले उहाँलाई देख्ने बित्तिकै आफैलाई धन्य सम्झेर उहाँको स्तुतिगान गाए (लूका २ः२५–३८) । वास्तवमा प्रभु येशूको जन्मको बारेमा उहाँ जन्मनुभन्दा सैयौं वर्षअघिदेखि नै अगमवक्ताहरूले भविष्यवाणी गरेका थिए (यशैया ७ः१४; मीका ५ः२) । र स्वयं उहाँकी आमा मरियम र तिनका पति योसेफलाई समेत परमेश्वरद्वारा जानकारी गराइएको थियो (लूका १ः२९–३३, ३५; मत्ती १ः२०–२१) । ख्रीष्ट येशू प्रभु यस संसारमा हामी मानिसलाई परमेश्वरसँग मिलाप गराउने इम्मानुयल भएर जन्मनुभयो (मत्ती १ः२३) । हामीलाई उद्धार गर्न मानिसको रूपमा जन्मनुभयो र हाम्रो उद्धार गर्न बलिदानस्वरूप क्रूसमा मर्नुभयो र मरेको तेस्रो दिनमा जीवित भई उठ्नुभयो र हामीलाई अनन्त जीवन दिनुभयो (रोमी ४ः२५; १ पत्रुस ३ः१८) । जीवित भई उठ्नुभएपछि केही दिन चेलाहरूलाई शिक्षा दिँदै तिनीहरूसँग रहनुभयो र धेरै मानिसहरूले देख्नेगरी उहाँ स्वर्गमा उचालिनुभयो (लूका २४ः१–५१; प्रेरित १ः९) । उहाँ स्वर्गमा उचालिँदै गर्नुहुँदा उहाँ हामीलाई फेरि लिन आउनुहुने घोषणा गरियो (प्रेरित १ः१०–११) । हामी प्रभुमा विश्वास गर्नेहरू उहाँको पुनर्आगमनको प्रतीक्षा गर्दै उहाँ जन्मनुभएको सम्झनामा उत्सव मनाउँछौं । उहाँ मानिस भएर जन्मनुभएको कारण हामी हाम्रा सृष्टिकर्तासँग मिलापमा रहन पाएका छौं । तसर्थ उहाँको जन्म सारा मानव जातिको लागि अत्यन्तै महत्वपूर्ण छ ।
ख्रीष्टमसका बारेमा हाम्रो धारणाः
हामी दिनलाई होइन तर प्रभुको जन्मलाई महत्व दिन्छौं । कतिपयले भन्ने गर्छन्, “२५ डिसेम्बरको दिन ख्रीष्ट जन्मनुभएको होइन, हामीलाई यो मनाउन भनेर बाइबलमा कहीँ लेखिएको छैन, यो बाइबल सम्मत होइन ।” तर हामीहरू दिन होइन तर ख्रीष्टको जन्मलाई मान्यता दिन्छौं । ख्रीष्ट येशूको जन्म भएको दिन कुन हो भनेर हामीलाई ठ्याक्कै थाहा छैन र बाइबलमा पनि उल्लेख गरिएको छैन तर बाइबलीय तथा अन्य ऐतिहासिक तथ्यहरू हेर्दा जाडोको मौसमतिर भएको पाउँछौं । यसर्थ हामी जाडो लागेदेखि नै ख्रीष्ट जन्मसम्बन्धी भजन गाउँछौं अनि विश्वभरमा र नेपालमा पनि हामी २५ डिसेम्बरका दिन प्रभु जन्मको उत्सव मनाउँछौं । प्रभु जन्मको उत्सव हामी हरेक दिन अर्थात् ३६५ दिन नै मनाउन सक्छौं तसर्थ हामी २५ डिसेम्बरमा अझ विशेष् प्रकारले मनाउँछौं । यसैले यो दिनमा ख्रीष्टमस मनाउनु बाइबलसम्मत नै छ । हामी मिथ्या पात्र तथा वस्तुहरू होइन तर प्रभु येशूलाई महत्व दिन्छौं । कतिपयले ख्रीष्टमस आउने बित्तिकै रातो कपडा लगाउने सान्ता क्लाउज (मिथक पात्र) लाई सम्झने गर्छन् र राती आएर उपहार दिने भनी सम्झन्छन् । अनि कतिपयले क्रिसमस ट्रि (सायद सल्लाको एक प्रजातिको रुख) लाई घरमा ल्याएर सजाउने र त्यसको वरपर उपहारहरू राख्ने गर्छन् । हामी नयाँ जन्म पाएका, सुसमाचारमा विश्वास गर्ने (इभान्जेलिकल) इसाईहरूले त्यस्ता काल्पनिक पात्रहरू तथा वस्तुहरूलाई मान्यता दिँदैनौं र त्यसलाई मान्दैनौं । हामी प्रभु येशू ख्रीष्टमा नै हाम्रो सारा विश्वास र भरोसा राख्छौं र सबै कुराको निम्ति उहाँसँग नै प्रार्थना गर्छौं । हामी प्रभु येशू ख्रीष्टको नै आराधना र जयजयकार गर्छौं ।
हामी रमझम र तडकभडक होइन तर भित्री आनन्द तथा उत्सवलाई महत्व दिन्छौं । कतिपय मानिसहरू ख्रीष्टमसलाई पार्टी जाने, पेय पदार्थहरू सेवन गर्ने तथा रमझम गर्ने उत्सवको रूपमा लिने गर्छन् तर हामी इसाई विश्वासीहरू यसलाई प्रभु येशूसँग समय बिताउने, उहाँको आराधना र प्रशंसा गर्ने अनि विश्वासीहरूसँग खुशी साटासाट गर्ने उत्सवको रूपमा लिन्छौं ।यसलाई अझ सार्थक र उल्लासपूर्ण बनाउने केही सुझावहरूः
ख्रीष्टमसलाई अझ सार्थक र उल्लासपूर्ण बनाउने जिम्मेवारी प्रभुलाई पछ्याउने हरेक विश्वासीहरू (मण्डली) को काँधमा हुन्छ । यसलाई एक्लै वा एकल परिवारभित्र रहेर मात्रै पनि मनाउन सकिन्छ साथै यसलाई बृहत परिवार (मण्डली) र समुदाय (छरछिमेकी) लाई पनि समावेश गरेर मनाउन सकिन्छ । हामी एक्लै वा एकल परिवार समूहभित्र मनाएमा यो उत्सव त्यही मात्र सीमित रहन्छ र यसले भर्खर प्रभुलाई चिनेका पहिलो पुस्ता विश्वासीहरू र येशू प्रभुलाई अझसम्म नपछ्याएका छरछिमेकीहरूलाई खासै उल्लासमय बनाउँदैन । यसलाई उल्लासमय मनाउन बृहत परिवार (मण्डली) र समुदाय (छरछिमेकी) लाई पनि यसमा समावेश गर्नुपर्छ । यसका लागि हामीले ख्रीष्टमसको समयमा वा ख्रीष्टमस मनाइने दिनमा चिनेका र नचिनेका गरी कम्तीमा पनि ३ देखि ५ जनासम्मलाई केही उपहार दिन सक्छौं । उपहार ठूलो हुनुपर्दैन तर उपहारले प्रेम गरिएको कुरालाई व्यवहारमा देखाउँछ (याकूब २ः१४–२२) । आफ्नो घरमा छिमेकी, नातेदार वा आफन्तलाई भोजमा निम्ता दिएर उनीहरूलाई पनि आफ्नो खुशीमा समावेश गर्न सक्छौं र केही मात्रामा भए पनि प्रभुको प्रेम बाँड्न सक्छौं । हाम्रा समाजमा वा समुदायमा रहेका अत्यन्तै खाँचोमा परेकाहरूलाई उनीहरूको खाँचोको केही हिस्सा पूरा गरेर पनि हामी उत्सव मनाउन सक्छौं । जस्तै अत्यन्तै खाँचोमा जाडोको लागि न्यानो कपडा बाँडेर, खाद्यान्न वा अन्य खाँचोका कुराहरू किनिदिएर हामी ख्रीष्टमसलाई सार्थक बनाउन सक्छौं । यसो गर्दा अरू मानिसहरूले पनि प्रभुको प्रेमलाई हामीद्वारा महसुस गर्न सक्छन् । हामीले यदि खाँचोमा परेकाहरूलाई दियौं भने वास्तवमा त्यो प्रभुलाई नै दिएको जस्तै हो (हितोपदेश १९ः१७) । किनकि यस्तै प्रेम प्रभुले हामीमा देख्न चाहनुहुन्छ । यो उत्सवलाई सार्थक गर्न कतिपयसँग बिग्रेको सम्बन्ध समेत हामी सुधार गर्ने अवसरको रूपमा यो समयलाई लिन सक्छौं । परमेश्वरसँग बिग्रेको सम्बन्ध सुधार गर्नलाई प्रभु येशू मानिस बनेर यस पृथ्वीमा जन्मनुभयो र एउटा ठूलो उदाहरण प्रस्तुत गर्नुभयो (रोमी ५ः१०–११; २ कोरिन्थी ५ः१९) । हामी प्रभुका चेलाहरूले पनि यो उदाहरणलाई पछ्याएर यो उत्सवलाई अझ सार्थक बनाउन सक्छौं । ख्रीष्टमस हाम्रो लागि एउटा सामान्य उत्सव मात्रै होइन यो हाम्रो लागि बृहत संगतिको एउटा अनुपम समय पनि हो । यसको आत्मिकी, सामाजिक तथा पारिवारिक महत्व छ । यसपालिको ख्रीष्टमस एक्लै वा एकल परिवार समूहमा मात्रै होइन तर बृहत परिवार (मण्डली परिवार र विशेष गरी भर्खर प्रभुलाई चिनेका विश्वासीहरू) र समुदाय (छरछिमेकी, नातागोता, आफन्त, साथीभाइ) समेतलाई समावेश गरी यसलाई सार्थक बनाउन सक्छौं । यो उत्सवलाई सबैलाई समेट्ने महोत्सव बन्न सकोस् । यो वर्षको ख्रीष्टमस सबैलाई प्रेम बाँड्ने, आत्मियता बाँड्ने, वास्ता गर्ने, एकाअर्कासँग सम्बन्ध सुमधुर गर्ने र परमेश्वरको घनिष्टतामा अझैँ एक कदम अगाडि बढ्ने समय हुन सकोस् । सबैलाई ख्रीष्टमस २०१८ तथा प्रभुको वर्ष (नयाँ वर्ष) २०१९ को हार्दिक शुभकामना !
हामीले के गर्ने, के नगर्ने !
November 12, 2018 | Articles
नेपाली मण्डलीहरूको प्रयोजनका लागि इमाडोल क्वाइनोनिया मण्डलीका पाष्टर शेर ए.सी.ज्यूले तयार पार्नुभएको आचार संहितालाई यहाँ साभार गरिएको छ । मण्डलीका सबै विश्वासीहरूले यस आचार संहितामा गर्ने भनिएका कुराहरूलाई गरौं र नगर्ने भनिएका कुराहरूलाई नगरौं ।
के के गर्ने ?
१. बाइबलले सिकाएअनुसार परमेश्वर र सबै मानिसहरूलाई प्रेम गर्ने, आफ्ना छिमेकीहरूलाई असल व्यवहार र भलाइ गर्ने (मत्ती २२ः३७–४०) ।
२. बाइबल–अध्ययन, प्रार्थना र संगतिलाई पहिलो प्राथमिकता दिई आत्मिकी कुराहरूमा सधैँ अग्रसर बन्ने (प्रेरित २ः४२–४७) ।
३. पाप–अधर्म र दुष्टताबाट सधैँ टाढा बस्ने, आत्माको अगुवाइमा आफू हिँड्ने र अरूलाई पनि हिँडाउने (रोमी ६ः१–१४;८ः१–८) ।
४. मण्डलीमा एक–अर्कालाई माया, वास्ता र सहयोग गर्ने वातावरण सिर्जना गर्ने (फिलिप्पी ४ः१–३; कलस्सी १ः३–४) ।
५. कुनै पनि असल कार्य र खाँचो–आवश्यकतामा दिने वा मुठी खोल्ने कुराहरूमा अग्रसर बन्ने/बनाउने (२ कोरिन्थी ८ः१–५) ।
६. स्थानीय मण्डलीका नीति–नियम र बाइबलीय अनुशासनमा बस्ने, मण्डलीप्रतिको आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्ने (कलस्सी १ः२४–२९; १ तिमोथी ५ः१–१६) ।
७. प्रभुको काम तथा सेवा गर्दा सामूहिक हित वा भलाइका कुराहरूमा बढी जोड दिने र समाज रूपान्तरणका लागि अग्रणी भूमिका निर्वाह गर्ने (गलाती ६ः९–१०) ।
८. मण्डली वा अन्य सामूहिक कार्यक्षेत्रका चल–अचल सम्पत्तिलाई सुरक्षित र व्यवस्थित राख्ने (मत्ती २१ः१२–१३; लूका १६ः१०–१२)
९. क्षमादान, मेलमिलाप र एकताका कुराहरूलाई व्यावहारिक रूपमै पालन गर्ने/गराउने (मत्ती ५ः२३–२४; फिलिप्पी २ः२–५; कलस्सी ३ः१३–१४) ।
१०. आफूभन्दा फरक व्यक्ति र उनीहरूका वरदानहरू अनि अरू मण्डलीका शिक्षा सिद्धान्त र अभ्यासहरूलाई आदर गर्ने/गराउने (एफिसी ४ः१–१६; रोमी १२ः३–८) ।
११. सधैँ सकारात्मक सोचका साथ अगाडि बढ्ने र सबैलाई आदरको दृष्टिले हेर्ने (हितोपदेश १७ः२२; मत्ती ७ः१२; फिलिप्पी ४ः८, १३) ।
१२. घर तथा मण्डली परिवारहरूलाई आत्मनिर्भर बन्न र आफ्नै खुट्टामा उभिन सिकाउने (प्रेरित २०ः३४–३५) ।
१३. इच्छुक र चासो दिने व्यक्तिहरूलाई “परमेश्वर को र कस्तो हुनुहुन्छ” भन्ने कुरा बाइबलसम्मत ढङ्गले बताउने (यूहन्ना ३ः१–२१) ।
१४. सबैले सुसमाचारीय जीवनशैली अपनाउने र सुसमाचार कार्यलाई हरपल कायम राख्ने (फिलिप्पी १ः२७) ।
१५. आथिर्क कारोबारलाई पारदर्शी बनाउने, तिर्नुपर्ने कुरा सबैलाई तिर्ने र लेनदेनको क्षेत्रमा इमानदार र स्पष्ट हुने (रोमी १३ः७) ।
१६. हरेकले आफूले पाएको जिम्मेवारी तथा अधिकारबारे थाहा पाउने र आफ्नो कार्यक्षेत्र–अधिकारभित्र रहेर मात्र काम गर्ने/गराउने (प्रेरित ६ः१–७) ।
१७. आफै नैतिकवान बनी असल चरित्र र इमानदारी सधैँ प्रदर्शन गर्ने/गराउने (रोमी ५ः१–४; कलस्सी ३ः१–१०) ।
१८. भूल–गल्ती गर्नेहरूलाई स्थानीय मण्डलीका नीति–नियमअन्तर्गत अनुशासनको दायराभित्र ल्याउने र आवश्यकताअनुसार कारबाहीका प्रक्रीयाहरू अबलम्बन गर्ने (मत्ती १८ः१५–१७; १ तिमोथी ५ः२०) ।
१९. समाजका सबै मानिसहरूसँग मेलमिलापपूर्वक बस्ने र निकटतम सम्बन्ध र भातृप्रेम कायम राख्ने (रोमी १२ः१६–१८) ।
२०. समाज तथा मण्डलीमा भएका गरिब–दुःखी, कमजोर–अशक्त र असहायहरूप्रति दयालु बन्ने र प्रेम तथा सद्भाव व्यावहारिक रूपमै प्रकट गर्ने (हितोपदेश १४ः३१, १९ः१७; याकूब १ः२७) ।
२१. आपत्–विपत्, दुःख–कष्ट र सबै प्रकारका अप्ठ्याराहरूमा उद्धार तथा राहतका लागि आफू सधैँ तयार भई आफूसँग सम्बन्धित मानिसहरूलाई परिचालन गर्ने (मत्ती ८ः२३–२७) ।
२२. देशको विकास तथा समुन्नतिका लागि स्थानीय जनता तथा सरकारलाई सहयोग गर्ने (रामी १३ः१–७) ।
२३. मण्डलीमा आउने सबै जात, वर्ग, वर्ण, लिङ्ग र क्षेत्रका मानिसहरूका बीचमा समान व्यवहार गर्ने/गराउने (रोमी १०ः१२; गलाती ३ः२८) ।
२४. अन्य देशहरूबाट आएका परिचित वा अपरिचित मित्र तथा शुभचिन्तकहरूलाई भित्री तथा बाह्य कुराहरूमा स्थानीय मण्डलीको अगुवाइमा बुद्धिमत्तापूर्ण तरिकाले प्रयोग गर्ने/गराउने (प्रेरित १३ः१–५) ।
२५. सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आपसी मेलमिलाप र राष्ट्रिय एकतामा टेवा पुर्याउने प्रकारले मात्रै सामाजिक सञ्जाल र सञ्चार सामग्रीहरूमा आफ्ना विचार तथा धारणाहरू राख्ने (फिलिप्पी २ः३–४) ।
के के नगर्ने ?
१. अरू जाति, धर्म र समुदायलाई आँच आउने र आपत्ति हुने कुराहरू बोल्दै नबोल्ने (एफिसी ४ः२९) ।
२. प्रभुको काम तथा सेवा गर्दा विद्यमान परिस्थिति र अवस्थाको ख्यालै वा विचारै नगरी सहमतिविना गर्दै नगर्ने (१ कोरिन्थी १६ः१३–१४) ।
३. कसैको इच्छा विपरीत जबरजस्ती वा करकापमा पारेर सुसमाचार सुनाउँदै नसुनाउने (मत्ती १०ः१४) ।
४. व्यक्तिगत रूपमा कुराकानी गर्दा, सुसमाचार तथा वचन प्रचार गर्दा, प्रार्थना गर्दा, गवाही बाँड्दा, बहस तथा छलफल गर्दा, कुनै व्यक्ति वा समूहलाई आपत्ति हुने शब्दहरू जस्तैः शैतान, अन्यजाति, अविश्वासी आदि प्रयोग गर्दै नगर्ने र कसैका आस्था एवम् विश्वासमा ठेस पुर्याउने काम/व्यवहार पनि नदेखाउने (रोमी १४ः१३;
१ कोरिन्थी १०ः३२–३३) ।
५. कुनै नयाँ व्यक्तिहरूसँग भेटघाट तथा सेवा–संगति गर्दा उनीहरूको आस्था र विश्वासप्रति कुनै नकारात्मक प्रतिकृया नजनाउने र उनीहरूका आस्थाका चिन्ह तथा प्रतीकहरूलाई फाल्न वा नष्ट गर्न जबरजस्ती नगर्ने (एफिसी ५ः१५–१६) ।
६. नयाँ हुर्कदै गरेका व्यक्तिहरूलाई मण्डलीका नीति–नियम र अनुशासनका कुराहरू आजै/अहिले नै पालन गर्नुपर्छ भनेर तुरुन्तै बाध्य नगराउने (यूहन्ना ६ः६०–६९) ।
७. कुनै व्यक्ति वा समूहलाई भौतिक तथा आर्थिक सहयोग गरेको आधारमा ख्रीष्टियन बन्न वा मण्डलीमा आउन जबरजस्ती नगर्ने (यहूदा २२–२३) ।
८. बाइबलमा उल्लेख नगरिएका, प्रभुले अनुमति नदिएका र मण्डलीले अभ्यास नगरेका कुराहरू आफ्नै मनोमानी ढङ्गले नसिकाउने र मानिसहरूलाई गर्न बाध्य नपार्ने (गलाती १ः७–९; २ थेसलोनिकी २ः१५; ३ः६; २ तिमोथी ३ः१–५) ।
९. मण्डलीका सेवा–संगति तथा बैठक–छलफलहरूमा राजनीतिक कुराहरू नगर्ने र कसैको पक्ष वा विपक्षमा नबोल्ने (लूका २२ः२४–२६; कलस्सी २ः८) ।
१०. मण्डलीमा जात–धर्म, लिङ्ग–वर्ण, क्षेत्र र अन्य यस्तै विषयहरूमा विरोधाभासी कुराहरू गर्दै नगर्ने (गलाती ३ः२८) ।
११. गरिब–निमुखा, अशक्त, असहाय र कमजोरहरूलाई अपमान हुने शब्दावली प्रयोग नगर्ने र उनीहरूप्रति भेदभावपूर्ण व्यवहार नदेखाउने (१ कोरिन्थी ११ः२२; याकूब २ः१–६) ।
१२. कुनै बिरामीका लागि प्रार्थना गर्दा निजलाई बाइबल छुवाउने वा बाइबलले हिर्काउने, शारीरिक यातना दिने काम गर्दै नगर्ने (१ तिमोथी ५ः२२) ।
१३. कुराकानी वा प्रार्थना गर्दा पुरुषले महिलालाई र महिलाले पुरुषलाई अशोभनीय तरिकाले छुने वा समाउने काम गर्दै नगर्ने (१ कोरिन्थी ७ः१; १०ः८; कलस्सी ३ः५) ।
१४. मण्डलीका सेवक/सेविकाहरू सेवा संगति वा सेवकाइहरूमा संलग्न हुँदा कसैको परिवार वा समाजलाई अपाच्य हुने प्रकारले नगर्ने (१ तिमोथी ३ः५–७) ।
१५. छिमेकी वा वरिपरिका मानिसहरूलाई अप्ठ्यारो वा बाधा हुने गरी ठूलठूलो आवाजमा मानिसहरूलाई कुनै गतिविधिहरू सञ्चालन नगर्ने/नगराउने (मत्ती ५ः४३–४४; ६ः७; एफिसी ४ः२५–३१) ।
१६. भ्रष्टाचार अर्थात् नैतिक पतन हुने कार्यहरूमा संलग्न हुँदै नुहुने (लूका ३ः१४; एफिसी ५ः११) ।
१७. कुनै ठाउँ वा क्षेत्रका भौतिक एवम् आर्थिक कुराहरू हिनामिना तथा दुरुपयोग नगर्ने (प्रस्थान २०ः१५; मत्ती ६ः१९; प्रेरित ५ः१–११) ।
१८. अरूहरूको व्यक्तिगत विरोध तथा चरित्र–हत्या गर्ने कार्य नगर्ने/नगराउने (व्यवस्था १९ः१५–२०; मत्ती ७ः१–५; रोमी २ः१–३) ।
१९. अन्य मुलुकमा आमन्त्रित आगन्तुक पाहुनाहरूलाई सुसमाचारका क्षेत्र र मण्डलीका कामहरूमा एक्लै र सिधै नपठाउने (मत्ती १०ः१६) ।
२०. झूटो शिक्षा भनेर पहिचान गरिएका समूहहरूसँग कुनै प्रकारको सहयात्रा र सहकार्य गर्दै नगर्ने (१ यूहन्ना ४ः१–३; २ यूहन्ना ७ः–११) ।
२१. ख्रीष्टियनहरू र मण्डलीहरूका बीचमा असमझदारी हुने कामहरू गर्दै नगर्ने (१ कोरिन्थी १ः१०; ६ः७–८) ।
२२. बाइबलअनुसार गर्भपतन, लिङ्ग परिवर्तन र समलिङ्गी विवाह नगर्ने/नगराउने (रोमी १ः२५–३२) ।
२३. आफ्नो व्यक्तिगत लाभ तथा फाइदाका लागि सम्पूर्ण ख्रीष्टियन समुदायको बदनाम हुने वा सबैलाई अप्ठ्यारो पार्ने प्रकारका कामहरू नगर्ने/नगराउने (प्रेरित ५ः१–११; २०ः३३–३५)
२४. सामाजिक सञ्जाल तथा सञ्चार–सामग्रीहरूमार्फत् कसैको आस्था, प्रतिष्ठा, चरित्र र भावनामा चोट पुग्ने र धार्मिक सहिष्णुता र शान्ति खलबल्याउने प्रकारले आफ्नो विश्वास तथा आस्थाका पक्षमा प्रतिवाद वा वादविवाद नगर्ने (१ तिमोथी १ः५–७) ।
२५. अरूहरूलाई बाधा पुग्ने गरी आ–आफ्ना काम तथा गतिविधिको अनावश्यक रूपमा प्रचार–प्रसार नगर्ने (फिलिप्पी १ः१५–१७) ।
निष्कर्षः
ख्रीष्टियनहरूको मुख्य आचारसंहिता भनेको पवित्र धर्मशास्त्र बाइबल हो र यसैको आधारमा नै आज संसारभरिका सम्पूर्ण ख्रीष्टियन मण्डलीहरू सञ्चालन भइरहेका छन् । यदि त्यसो हो भने अर्को आचार संहिता किन चाहियो भन्ने विचार पनि आउन सक्छ ।
साँचो–सत्य कुरा यही हो बाइबल नै; मण्डली सञ्चालन र सम्पूर्ण ख्रीष्टियन गतिविधिहरूका लागि मुख्य आचारसंहिता हो । तर पनि केही क्षेत्रहरू बाहेक अन्य कुराहरूमा हाम्रा मानिसहरू स्पष्ट र सचेत हुन नसकेकाले यो आचारसंहिता तयार पारिएको हो । यदि सबैले यो प्रयोग गर्ने र यहाँ बताइएका कुराहरू अँगाल्ने हो भने हामीले अरूहरूलाई ख्रीष्टियनको सही पहिचान दिन सक्नुका साथै ख्रीष्टियनहरूप्रति भएको नकारात्मक धारणा पनि कम हुँदै जानेछ अनि हाम्रा विश्वासीहरू पनि आ–आफ्ना विश्वासमा सुदृढ र बलियो हुँदै जानेछन् । यसका अतिरिक्त यस आचारसंहिताले हरेक मण्डली विश्वासीलाई ख्रीष्टियन परिपक्वतामा बढ्न–हुर्कन पनि सहायता गर्नेछ । हामी जुन समाज र समुदायका बीचमा बस्छौं, उनीहरूसँग मेलमिलाप गर्न, राष्ट्रिय एकता र सद्भाव कायम राख्न पनि यसले धेरै नै सहायता गर्नेछ । आफ्नो काम–कर्तव्य बुझेका ख्रीष्टियन समुदायको नैतिक र व्यावहारिक जीवनबाट देश र समाजलाई पनि फाइदा पुग्नेछ । आ–आफ्ना झुण्ड तथा मण्डलीहरूमा यसको प्रयोग गरी देश तथा समाजमा ख्रीष्टियनहरूको सही पहिचान दिई आफ्नै कारण आउने समस्याहरूबाट बाँचौं र अरूहरूलाई बचाऔं, यही नै यस मण्डली आचारसंहिताको मुख्य उद्देश्य हो । यसकारण सबै मण्डली समुदायका पाष्टर, अगुवाजन र सम्पूर्ण विश्वासीहरूले यसलाई सहर्ष स्वीकार गरी आफ्नै भलाइ र फाइदाका लागि प्रयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं ।
कठिन समय नै चम्कने समय
October 9, 2018 | Articles
– पाष्टर बर्णबास श्रेष्ठ
आज नेपालमा धर्मात्तरण धेरै ठूलो बहसको विषय बनेको छ । यो विषय, नेपालको संविधानमा दण्डित गर्ने गरी पास भएको छ र हालसालैदेखि लागु हुने गरी कानून पनि बनेर आएको छ । धेरै इसाईहरूका्े लागि यो चुनौती बनेको छ भने कतिको लागि अन्यौलको विषय बनेको छ ।
यदि कोही व्यक्तिले लोभको कारणले वा केही आर्थिकी लाभको कारण इसाई धर्म अपनाएका छन् वा त्यतिकैमा, कसैको लहैलहैैमा लागेर अर्को धर्म अपनाएका छन् भने त्यो अवश्य पनि गलत हो । कसैले कसैलाई धर्म परिवर्तन गर्न कर वा जबरजस्ती गर्छ भने त्यो पनि गलत हो र त्यस्ता जबरजस्त गर्नेहरूलाई कार्यवाही पनि हुनुपर्छ । तर कसैले परमेश्वरको वचन सुनेर अर्थात् सुसमाचार सुनेर परमेश्वरलाई विश्वास गर्छन् भने त्यो आस्थाको विषय हो । आस्थाको विषयलाई लिएर व्यक्तिलाई दण्डित गरेर, निषेधित गरेर रोक्न सकिँदैन कारण यो भित्रबाट आउँछ । यदि दण्डित गरेर रोक्न सकिने भए आजका दिनमा येशूमा विश्वास गर्नेहरू एक जना पनि बाँकी रहने थिएनन् कारण इतिहासले बताउँछ विभिन्न कालखण्डमा विश्वको धेरै देशमा धेरै ठूलाठूला सतावटहरू आए, इसाईहरूलाई निमिट्यान्न पार्ने प्रयासहरू भए, तर त्यही ठाउँहरूमा इसाईहरूको संख्या बढेर गयो र विश्वास गर्नेहरूको विश्वास अझ बलियो भएर गयो । इसाईहरूको इतिहास हेर्ने हो भने पनि थाहा हुन्छ । यस्ता प्रयास आहाब राजाको समयमा ईजेबेल रानीले गरेको सतावटको घटनादेखि अहिलेसम्म दिनहुँ कहीँ न कहीँ ठूला साना सतावट त भइरहेकै छ तर पनि ख्रीष्ट येशूलाई विश्वास गर्ने विश्वासीको संख्या घटेर गएको छैन बरू दिनानु दिन बढ्दै गएको छ र ख्रीष्ट विश्वासीहरूलाई झनै बलियो बनाएको छ । तर जुन जुन देशमा धार्मिक स्वतन्त्रता छ त्यही देशहरूमा मानिसहरूले ख्रीष्टसँगको सम्बन्धका कुरालाई धर्मको रूपमा मात्र लिएको कारण ख्रीष्टलाई विश्वास गर्ने कुरालाई हल्का रूपमा लिइन्छ र ख्रीष्ट विश्वासीको संख्या घटेर गइरहेको छ । जसरी सुनलाई निखार्दा सुन आगोबाट भएर जान आवश्यक छ त्यसरी नै असल ख्रीष्ट विश्वासी चिनिनको लागि हामीलाई पनि यस्तै किसिमका समय भएर जानपर्ने हुन्छ । सजिलो समयमा सबैले पछ्याउँछन् तर गार्हो समयमा पनि स्थिर रहनेहरू इनामको भागीदार हुनेछन् । “सबैले तिमीहरूलाई मेरो नाउँको कारण घृणा गर्नेछन् तर अन्तसम्म स्थिर रहनेले उद्धार पाउने छ ।” यसैले ख्रीष्टलाई विश्वास गर्नेहरूको विरोध हुने कुरा नयाँ र अनौठो होइन कारण वचनमा लेखिएकै छ (यूहन्ना १५ः१८, १९) “यदि यस संसारले तिमीहरूलाई हेला गर्दछ भने तिमीहरू यो जान कि तिनीहरूले पहिले मलाई हेला गरेका हुन् । तिमीहरू यस संसारको हुँदा हौ त यस संसारले आफ्नाहरूलाई माया गर्ने थियो तर मैले तिमीहरूलाई यस संसारबाट छानेको छु र यस संसारले तिमीहरूलाई घृणा गर्नेछ ।” यो पनि सत्य हो कि जसले हामीलाई विश्वास गरेकै कारणले मात्र हेला वा निन्दा गर्दछन् भने त्यो हाम्रो वा हामीलाई निन्दा वा हेला गरेको होइन तर हाम्रा प्रभु येशूलाई गरिएको हो । त्यसैले हामी ती मानिसहरू प्रति रिसाउनु वा नकारात्मक प्रतिक्रिया जनाउनु आवश्यक छैन् । येशू प्रभुले उहाँको खेदो गर्नेहरूलाई कहिल्यै सराप्नु भएन । रोमी १२ ः १४ ले भन्दछ “तिमीहरूलाई सताउनेहरूलाई आशिष् देओ नसराप ।”
हो समय र परिस्थिति बदलिँदो छ । असहज परिस्थितिहरू अगाडि छन् । त्यसो भन्दैमा सत्यलाई पछ्याउन नै छोड्न सकिन्छ त ? कदापि त्यसो गर्न सकिँदैन । यस्तो परिस्थितिमा हामीहरूले अझ बढी ख्रीष्टमा भक्तिको जीवन जिउन आवश्यक छ । कष्ट आउँला तर त्यो त बाइबलमा लेखिएको कुरा पूरा हुनको लागि हो । किनकि लेखिएको छ (१ तिमोथी ३ः१२) “ख्रीष्ट येशूमा भक्तिको जीवन जिउन इच्छा गर्नेहरू खेदोमा पर्ने नै छन् ।” यसैले यो नयाँ कुरा होइन । बाइबलमा लेखिएको कुरा हाम्रो जीवनमा पूरा हुँदै छ भनेता यसमा खुशी नै हुनुपर्छ । मत्ती ५ः१० ले भन्दछ, “धन्य धार्मिकताका लागि सताइनेहरू, स्वर्गको राज्य तिनीहरूको नै हो ।” बाइबलमा यो पनि लेखिएको छ, “कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ ? सतावटले, खेदोले, अनिकालले ………..केही कुराले हामीलाई अलग गर्न सक्दैन ।” (रोमी ८ः३५) । सूर्यको प्रकाशलाई हातले छेक्न सकिँदैन ।
अर्को हामी सबैले बुझ्नै पर्ने कुरा धर्मको परिवर्तन गर्ने तर जीवनको परिवर्तन नभएकाहरूसँग हामी मण्डली धेरै सतर्क हुनुपर्छ कारण त्यस्तै व्यक्तिहरूको कारण मण्डलीले धेरैै क्षति बेहोर्नुपर्छ । तर धर्मको परिवर्तन भन्दा पनि जीवनको परिवर्तन
थाहा पाएका वा प्रभुमा मुक्ति, शान्ति, आनन्द, प्रेम अनुभव गरेका, उहाँलाई व्यक्तिगत रूपले चिनेकाहरूलाई कुनै पनि व्यवस्था वा कानून बने पनि केही फरक पर्दैन कारण उनीहरू सबै अवस्थामा परमेश्वरलाई पछ्याउँछन्, अधर्म गरेर, अपराध गरेर जेल पर्नु अवश्य नराम्रो कुरा हो, तर म खराबीको बाटो छोड्छु , झैँ–झगडा गर्दिन, नशालु पदार्थ या जाँड रक्सी पिएर बेइज्जती गर्दै हिँड्दिन, सहयोगी, दयालु र प्रेमिलो व्यक्ति हुन्छु , परिश्रमी भएर कमाउँछु र सहयोगी बन्छु, छिमेकीलाई प्रेम गर्छु, असल पति वा पत्नी, असल छोरा वा छोरी, असल बुवा वा आमा भएर जिउन चाहन्छु, सरकारको लागि प्रार्थना गर्छु, राज्यलाई कर तिर्ने इमान्दार नागरिक बन्छु र अरूलाई पनि त्यही बाटो सिकाउँछु भन्दा अवहेलित हुनुपर्छ या त जेल सजाय भोग्नुपर्छ भने यसमा लाज मान्नु पर्ने या शिर निहुराउन आवश्यक छैन, बरू यसमा गर्व गर्न सकिन्छ कारण हामी पनि ख्रीष्टको कष्टमा सहभागी हुने अवसर उहाँले हामीलाई दिनुभएको छ । यसैले यो कानून् र त्यो कानूनले परमेश्वरको वचनअनुसार जिउने ख्रीष्टियनहरूको लागि केही फरक पार्दैन । अब समय आएको छ, हामी समाजमा सकारात्मक प्रभाव पार्ने असल ख्रीष्टियन भएर जिउने, हाम्रो बोली वचन, व्यवहार, आचरण र व्यक्तित्वमा ख्रीष्टलाई झल्काउने गरी जिउने अब समय आएको छ । कसैले भनेका छन्, “जति अँध्यारो बढ्दै जान्छ , त्यतिनै धेरै बत्तीको आवश्यकता पर्छ र घोर अन्धकारमा सानो भन्दा सानो बत्ती पनि अझ धेरै चहकिलो हुन्छ” यो समयमा हामीबाट ख्रीष्टको ज्योति चम्कियोस् ।
परमेश्वर आफ्ना मानिसहरुप्रति कृपालु हुनुहुन्छ
October 9, 2018 | Articles
– पाष्टर प्रेम श्रेष्ठ
वि.सं. १९१० मा नेपाल राष्ट्रमा मुलुकी ऐनको नाममा विधिवत कानून आयो जसको वि.सं. २०२० मा संशोधन भई यो देशमा विद्यमान कानूनलाई २०७५ भाद्र १ गते देखि (मुलुकी देवानी संहिता ऐन २०७४) को नाममा नयाँ कानून लागू भएको छ । सोही कानूनको विषयलाई लिएर विभिन्न प्रकारका टिकाटिप्पणी, विरोध र समर्थन भइराखेको छ । हामी क्रिश्चियन जगत पनि यदाकदा सोही प्रवृत्तिको काम गर्न पछि परेका छैनौं र प्रभुले हामीलाई अलग गरिएको जाति, उहाँको निज धन सम्पत्ति, मित्रहरू, छोराछोरीहरू अर्थात् उत्तराधिकारीको दर्जा, दिएर हाम्रो इज्जत, सम्मान गर्नुभएको छ र पनि आजसम्म हामीहरूले अख्रीष्टियनले बोल्ने भाषा उनीहरूको जस्तै व्यवहार, धर्ना, जुलुस, हडताल इत्यादि गर्दा हाम्रो प्रभु येशूलाई कस्तो लाग्दो होला ?
रोमी १३ः१–५ सम्मका कुरा म यहाँ सम्झाउन चाहन्छु । एन्टिओखियाको मण्डलीमा अगमवक्ताहरू र शिक्षकहरू, अर्थात् बारनाबास, काला भनिने शिमियोन, कुरेनिका लुकियस, प्रान्तीय शासक हेरोदसँग हुर्केका मनेन र शाऊल थिए । तिनीहरूले प्रभुको आराधना गरिरहेका र उपवास बसिरहेका बेला पवित्र आत्माले भन्नुभयो, “मेरो निम्ति बारनाबास र शाऊललाई त्यस कामको लागि अलग्ग गर, जुन कामको निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।” तब उपवास र प्रार्थना गरेर तिनीहरूले उनीहरूमाथि आफ्ना हात राखेर उनीहरूलाई बिदा दिए । तब पवित्र आत्माद्वारा पठाइएका हुनाले तिनीहरू सिलुकियामा गए र त्यहाँबाट जहाजमा चढ़ी साइप्रसतिर गए । सलामिसमा आइपुगेपछि तिनीहरूले यहूदीहरूका सभाघरहरूमा परमेश्वरको सुसमाचार प्रचार गरे । तिनीहरूलाई सहायता गर्न यूहन्ना तिनीहरूसँग थिए । यस खण्डले सबै अधिकार पहिले परमेश्वरबाट आएको हुन्छ भनी उल्लेख गरेका छन् । त्यो चाहे राजाको, राष्ट्रपतिको, प्रमुख सेवा प्रमुखको होस् चाहे अन्य अधिकारीको होस्, सबभन्दा पहिले त्यो परमेश्वरबाटको हुन्छ । हितोपदेश ८ः १५–१७ “मद्वारा नै राजाहरू राज्य गर्छन् र शासकहरू उचित कानून बनाउँछन्, मद्वारा नै राजकुमारहरू राज्य व्यवस्था चलाउँछन् र सबै उच्च अख्तियारवालहरू पृथ्वीभरि शासन गर्दछन् । मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु, मलाई खोज्नेहरूले मलाई भेट्टाउँछन् ।” यूहन्ना १९ः१०–११ यसकारण पिलातसले उहाँलाई भने, “के तिमी मसँग बोल्दैनौ ? तपाइईंलाई छोडिदिने अधिकार मसँग छ, र तिमीलाई व्रूmसमा टाँग्ने अधिकार पनि मसँग छ भन्ने तिमीलाई थाहा छैन ?” येशूले जवाफ दिनुभयो, “तिमीलाई माथिबाट नदिइएको भए ममाथि तपाईंको केही अधिकार हुनेथिएन । यसकारण मलाई तपाईंका हातमा सुम्पिदिने अझ बढ़ी पापको दोेषी छ ।” यसकारण यदि हामी कुनै अधिकारीप्रति अनाज्ञाकारी हुन्छौं भने परमेश्वरप्रति पनि अनाज्ञाकारी हुन्छौं । धेरै वर्ष मण्डलीले प्रार्थना गरिराखेको थियो यसो भनेर “प्रभु हामीलाई यो देशमा शान्ति दिनुहोस् । असल कानून दिनुहोस्, भ्रष्टाचारको अन्त्य होस्, देश विकाश होस्, देश उन्नति, प्रगतिको बाटोमा जाओस, कु–संस्कार हटेर गएको होस्, गरिबी हटेर जाओस” आदि इत्यादि । मेरो विचारमा हाम्रो अर्थात् मण्डलीको प्रार्थनाको उत्तर स्वरुप देशमा नयाँ कानून आएको छ । परमेश्वरले अधिकारीहरूलाई अधिकार मात्र दिनुभएको होइन तर उनीहरू हरेकलाई खटाउनु भएको पनि हुन्छ, यस हेतुले कि उनीहरूले जनताको भलाई र शान्ति कायम राखून् । १ तिमोथी २ः१–२ “सर्वप्रथम म आग्रह गर्दछु, कि सबै मानिसहरूका निम्ति नम्र–निवेदन, प्रार्थना र मध्यस्थ–बिन्ती र धन्यवाद चढ़ाइऊन्, राजाहरू र सबै उच्च पदमा भएकाहरूका निम्ति पनि, ताकि हामी निर्धक्क र शान्तिपूर्ण भएर हरप्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौं ।” उदाहरणको लागि दारा राजा र दानिएल, फारो राजा र योसेफ, कोरेश राजा र इस्राएली जसले उनीहरूको भलो चिताएर प्रवासबाट आफ्नो भूमिमा फर्कने अनुमति दिए, अहासुरस राजा र अल्पमतमा परेका यहूदी आदि जसको सुरक्षा भयो, राजा अर्तासास्त र नहेम्याह जसलाई भत्केको यरुशलेमको पर्खाल बनाउन अनुमति मात्र होइन तर चाहिने सबै सामान, शक्ति पनि दिएर पठाए । त्यस्तै गरिबी र अभावको पीडामा परेको रुथ र बोअजको इतिहासलाई हेर्न सक्छौं जसबाट दाऊदको वंश अर्थात् येशूका पुर्खाहरू जन्मिए । हामी पहिलो शताब्दिको चेलाहरूको विचार गरौं ती सबै जना प्रभुका भएर पनि प्रायः सबै नै देशको कानून वा प्रचलित नियमको कारण हाँसीहाँसी दुःख भोग्न तयार भए र आज हामीलाई एउटा असल बाटो देखाउन सफल भए र बाइबलले भन्दछ प्रेरित १७ः६ “संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन् ।” संसारलाई उलटपुलट पार्नेहरू भनेर नामाकरण गरियो । जब देशमा केही नयाँ कुरा आउँदछ त्यो निश्चयनै फरक हुन्छ र हाल आएको कानून पनि त्यसको पछिल्लो कडी हो र यसले धेरै कुरा परिवर्तन गर्दछ नयाँ कुरा, नयाँ सोच, नयाँ विधि बोकेर ल्याएको छ । म यहाँ यसको समर्थन वा विरोधको भाषा बोलिराखेको छैन खाली यो भन्न खोजेको हो कि नयाँ कुराले केही सहज, केही असहजपना ल्याउँदछ । यो कानूनले सबै समुदायमा केही न केही असहजता पक्कै ल्याउँदछ र कानून हामीलाई जे–जे ठीक लाग्छ त्यही त्यही आउँदैन तर हाम्रो काम त अब झन् बढी प्रभुको नजीक प्रार्थना, संगति, प्रेम, मेलमिलाप, भाइचारा र प्रभुको वास्ता झल्काउने काममा बढनुपर्दछ । निर्वासनको समयमा परमेश्वरले आफ्ना जातिलाई भन्नुभयो यर्मिया २९ः११ “किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु, परमप्रभु भन्नुहुन्छ । ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई ।” यसले हाम्रो निम्ति एउटा असल भविष्य दिँदछ । वास्तवमा रोमी ८ः३१ मा हामीले यसमा के भन्ने त ? यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुन्छ ? हाम्रो विरोधी त एउटै मात्र छ त्यो हो शैतान र त्यसको सेना एफिसी ६ः१२ किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्ध हो । १ यूहन्ना ४ः४–६ मेरो साना बालकहरू, तिमीहरूचाहिँ परमेश्वरका हौ, र तिनीहरूमाथि विजयी भएका छौ । किनभने जो तिमीहरूमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ । तिनीहरू संसारका हुन्, यसकारण तिनीहरू संसारकै कुरा गर्छन्, र संसारले तिनीहरूका कुरा सुन्छ । हामी त परमेश्वरका हौं । जसले परमेश्वरलाई चिन्छ उसले हाम्रो कुरा सुन्छ, र जो परमेश्वरको होइन, त्यसले हाम्रो कुरा सुन्दैन । यसैबाट हामी सत्यको आत्मा र भ्रमको आत्मालाई चिन्छौं । यूहन्ना १६ः३३ मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्ति होस् । संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु ।” यसकारण आज हाम्रो कर्तव्य के–के हो ? प्रभुलाई परीक्षा गर्नेहरूलाई प्रभुले भन्नुभयो मर्कूस १२ः१७ तब येशूले तिनीहरूलाई भन्नुभयो, “कैसरका चीजहरू कैसरलाई देओ, र परमेश्वरका चीजहरू परमेश्वरलाई ।” कैसरको कैसरलाई र प्रभुको प्रभुलाई । आज हामी देशमा रहेर ठीक काम गरौं, सरकारी कर (राजस्व) तिर्न नहिच्किचाऔं, देशको प्रचलित कानूनको उल्लंघन नगरी पारदर्शिता अपनाऔं र त्यसो गर्दा पनि यदि हामीलाई राज्यले दुःख दिन्छ भने हाँसीहाँसी सजाय भोग्न तयार होऔं र हाम्रो इनाम अत्यन्त ठूलो हुुन्छ । १ पत्रुस २ः१९–२१ परमेश्वरलाई सम्झेर कुनै मानिसले अन्यायपूर्ण कष्ट सहन्छ भने त्यो परमेश्वरमा प्रशंसनीय छ । किनभने तिमीहरूले खराब काम गरेर कुटाइ खाँदा धैर्यसँग सह्यौ भने यसमा ठूलो कुरो के छ र ? तर तिमीहरूले असल गरेर पनि पनि दुःख भोग्नुपर्दा धैर्यसँग सहन्छौ भने यो परमेश्वरमा ग्रहणयोग्य हुन्छ, किनकि यसैको निम्ति तिमीहरू बोलाइएका हौ । ख्रीष्टले पनि तिमीहरूका निम्ति कष्ट भोग्नुभयो, अनि तिमीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो, र तिमीहरू उहाँकै पाइलामा हिँड्नुपर्छ । तर नराम्रोे काम गरेर, कर छलेर, अनैतिक काम गरेर, अनाधिकृत प्रकारले काम गर्यौं भने सरकारको विरोध हुन्छ र बाइबलको विरोध गर्छाैं त्यसकारण हामी कुनै ख्रीष्टियनले सरकारको विरोध गर्छ भने पनि सबै त्यस्ता हुँदैन । हाम्रो काम समर्थन, विरोध होइन देशको कानून पालन गरेर असल साक्षी दिनु हो । जसले अरू व्यक्तिभन्दा हामी ख्रीष्टियन विश्वासीमा के फरक छ भनेर देखाउनु पनि पर्छ र आखिरमा विजय त हाम्रै हो ।
अन्त्यमा अब हामीले सु–समाचारको शैली बदल्नुपर्छ कसैलाई जोर जबरजस्ती नगरौं तर प्रेम देखाऔं जिएर देखाऔं, सहयोग गरेर देखाऔं, जसको कारण प्रभुको काम अझैं वृद्धि हुँदै जान्छ भन्ने विश्वास मेरो छ । समाजमा जबरजस्ती गर्ने, गलत काम गर्ने जो सुकैलाई पनि कानूनी दायरामा ल्याउनुपर्छ र गलत काम गर्ने व्यक्तिलाई मण्डलीले साथ दिनु पनि अपराध नै हो । घरघरमा गएर झूटा शिक्षकहरूले हाम्रा मानिस, समाजलाई भ्रममा पारिराखेका छन् त्यसबाट सत्य कुरा प्रकट गर्न जरुरी छ । अब अझैं सु–समाचारको लागि तयार हुनुपर्दछ । २ थेसलोनिकी ३ः१–४ “यसकारण जब हामीले सहन सकेनौं, तब एथेन्समा एक्लै छोडिन हामी राजी भयौं, र तिमीहरूलाई विश्वासमा स्थिर गराउन र अर्ती–उपदेश दिन, परमेश्वरमा ख्रीष्टका सुसमाचारको सेवक हाम्रा भाइ तिमोथीलाई हामीले पठायौं, ताकि यी कष्टहरूले गर्दा कोही नडग्माओस् । तिमीहरू आफैलाई थाहा छ, कि यसैको निम्ति हामी खटाइएका हौं । किनकि जब हामी तिमीहरूसँग थियौं, तब तिमीहरूले कष्ट भोग्नैपर्छ भनी हामीले अघिबाटै भनेको थियौं । यो साँच्चै हुन पनि आयो, सो तिमीहरूलाई थाहा छ ।” देशको शासक वर्ग जहिले पनि तानाशाही प्रवृत्तिका हुन्छन् जसले आफ्नो मात्र फाइदा, सुविधा र शक्तिको कुरा गर्दछन् । अहिले पनि यस कानूनले हामी क्रिश्चियन विश्वासीहरू, मण्डलीलाई केही असुविधा त पक्कै हुन्छ तर यो अवस्थाबाट पनि प्रभुले आफ्नो महिमा लिनु हुन्छ र हामी पवित्र जनहरूलाई संरक्षण गर्नुहुन्छ । याद गरौं सही काम गर्दै हिँड्ने व्यक्तिलाई परमेश्वरको प्रतिज्ञा व्यवस्था ३१ः६ “बलिया र साहसी होओ ! यिनीहरूसित नडराओ र त्रासित नहोओ ! किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूसँग जानुहुन्छ । उहाँले तिमीहरूलाई कहिल्यै छोड्नु हुनेछैन न त त्याग्नुहुनेछ ।” प्रभुले तपाईं हामी सबैलाई शक्ति देऊन् । आमेन ।
गडवाल, कोटद्वार मण्डली भ्रमण विवरण
August 8, 2018 | Articles
– पाष्टर वीर बहादुर खवास
भजनसंग्रह ३७:४ “तँ आफै परमप्रभुमा मग्न हो; र उहाँले तेरो मनोरथ पूर्ण गर्नुहुनेछ ।”
गडवालमा भएको मिशनेरी भाइ पाष्टर नरेन्द्र, शान्ता बहिनी र सरोवरको लागि शुरूबाट केही वर्षसम्म निरन्तर प्रार्थना गरिरहन्थें । पाष्टर भाइ प्रेम श्रेष्ठले निकै पल्ट दाज्यू हामी गडवाल जाऊँ, म तपाईंलाई लैजान्छु भन्दा–भन्दै झण्डै दश वर्ष बितेछ । वर्षहरू हारे पनि मन हारेको थिएन । ३१ गते जेठ (१४ जुन) मा प्रेम भाइले फेरि भन्नुभो, अर्को हप्ता जाऊँ, म मिलाउँछु । प्रभुकै समय होला, उहाँले आँट दिनुभो, उठेपछि दिनुहुन्छ भनेर ‘हुन्छ’ भनेँ । ७ देखि १३ असार (२१ देखि २७ जुन) यात्रा तय भयो । मेरो, नेपालको बाटो भएर महाकाली नदी पार गरी जाने इच्छा पूरा हुन गाह्रो भो । गरम, लामो बस यात्रा, राती बास बस्ने, फेरि अरू गाडीहरू चढ्न झनै महँगो पर्ने हुनाले प्लेनमा दिल्ली र त्यहाँबाट ट्याक्सीमा जाने योजना मिलाउनु भएछ । राम्रो भो । दिल्लीसम्म प्लेनमा १ घन्टा २० मिनट, त्यहाँबाट ट्याक्सीमा ६ घन्टामा गडवाल पुगियो । पाष्टर नरेन्द्र भाइ दिल्लीमा लिन आउनुभएथ्यो ।
भारतको उत्तराखण्ड, गडवालको, कोटद्वारको रोबर्ट कोलोनीभित्र एक सानो दुई तले घर रहेछ भाइहरूको । भुईं तलामा सेवा घर, किचन, टोइलेट, माथिल्लो तलामा दुई कोठा र एक बाथरूम रहेछ । चुरे भाभरको काखको मैदान, रुखो गरीब बस्ती, सानो गडवाली–बजार, मुसलमान, पश्चिम नेपालबाट ज्यामी काम गर्न गएका नेपालीहरू छासमिस भएर बसेका रहेछन् । पाष्टर नरेन्द्र सिंहलाई सिप्पोरा अधिकारी भान्जीले प्रभुमा ल्याएको रहेछ । हामी कोटद्वार पुगेकै दिन भाइ–बहिनीहरूसँग संगति गर्न प्रायः ६ कि.मी. गिवाइसुद भन्ने गाउँमा पुग्यौं । घर नभनेर कटेरोसम्म भन्न मिल्ने स–साना तर आफ्नै ठाउँमा बासस्थान बनाएर, ज्याला, बुनी, रिक्सा चलाएर बसेका रहेछन् । चार घरमा संगति गर्न पुग्यौं । भित्र ठाउँ नपुग्ने र बाहिरै बस्यौं । बाहिरबाट गरिब देखिए पनि आत्मामा धनी, खुशी र संगतिमा रमाइरहेका, सन्तोकी साक्षीहरूले हाम्रो मन छोयो । साह्रै गरम भएकोले भाइ नरेन्द्रले ६५ कि.मी. टाडाको एउटा ल्यान्सडन डाँडामा शितल ताप्न लानुभयो । त्यहाँबाट शहर, गाउँ, तल–तल देखिन्छ । मलाई कालिम्पोंगको होम्सको डेलो झैँ लाग्यो । रमाइलो बज्रआँठ रुखको जंगलहरू । ठाउँ–ठाउँमा एकदुई रिसोर्ट र अरू धेरै बन्दै रहेछ । दिल्लीबाट कोटद्वार २५० कि.मी. र त्यहाँबाट ६५ कि.मी. यात्रा गरी दिल्लीबाट गाडीका गाडी मानिसहरू सितल खान र रमाइलो गर्न यहाँ आउँदा रहेछन् । गडवाल आर्मी रेजिमेन्ट यहीँ रहेछ । अर्को दिन १७ कि.मी. टाढामा भएका विश्वासीहरूलाई भेट्न दोगड्डा (दोभान) भन्ने ठाउँमा पुग्यौं । अरूको जग्गा कमाउन दिएकोमा ससाना नाली बाली लगाएर ५ फीट जति अल्गो र झिक्राको बार, तिर्पालको छाना गरमले भित्र बस्नै नसकिने, बाहिरै संगति गर्यौं ।
चार झोपडीका विश्वासीहरू सुर्खेत, सल्यानतिरबाट आन्दोलनको समयमा भागेर आएका रहेछन् ।
पाष्टर रोबर्ट गुरूबा र पाष्टर अशोक मुखिया भाइ पनि सायद चार वर्ष अघि त्यहाँ पुग्नुभएको रहेछ । कुन सिजनमा होला ? हामी त भुंग्रोमा पस्ने सिजनमा पुगेछौं । पौडीमा जाने भनी त्यहीँ १७ कि.मी. दोगौंडा पुग्यौं । दुवाली फर्काउने पर्खालले ३० इन्ची जति गहिरो पानी जमाएछ । गाडीबाट निस्कने बित्तिकै प्रेम भाइ, ठूलो ज्यानको बलियो मान्छे, मोटो र बेसरी तातिएको झ्वाम ३० इन्ची दहमा हाम फाल्नुभो । तातो फलाम पानीमा झ्वाइँ गरे झैँ भयो । मलाई पनि पस्नु पस्नु भन्दा रहर लागेर पसें । उतानो पर्दा पानीले ढाक्यो, तर कति गर्दा पनि सुतानो पर्न मुस्किल भो । किचन सिंकमा उतानो परेको साङलो सुतानो हुन नसकी त्यहीँ मर्छ । मेरो साथमा सहयोगी थियो । केही बेर जीउ सेलाएर दोगौंडा संगति घर पुगी केही भाइ, बहिनीहरूलाई भेट्यौं । साह्रै रमाइलो भयो । दोगौंडाको झुपडीमा बस्नुहुने भाइ नर बहादुर र बबित बहिनीले गाई पाल्नुभा रछ । मिठो दुध खुवाउनुभयो । उहाँकै जेठा छोराले गोल्भेंडा खेती गर्नुभा रछ । सबैको भन्दा सप्रेको र टेनीस बल जत्रै ठूलो फलाएछ । हिब्रू ६:६ परमेश्वरले वर्षा, मानिसले खनजोत, परमेश्वरको आशिष् त्यसमा आउँछ । प्रभुमा आनन्दित, हौसला बोकेका, परिश्रमी, आत्मामा धनी बनाइएका भाइ, बहिनीहरूलाई सम्झँदै फर्क्यौ । कोटद्वार विभिन्न स्कूल क्लासमा पढ्ने ४० जना विद्यार्थीहरूको निम्ति मण्डलीले एउटा ट्यूसन सेन्टर चलाएको रहेछ । शिक्षा, पढाइको साथै प्रभुमा नानीहरूलाई हुर्काउने काम भइरहेछ । त्यहाँ नै प्रभुलाई चिनेकी एक जना नानी सायद ११ वर्ष जति होला स्तुति–प्रशंसामा कङ्गो बजाएर पूरा जोश दिँदो रहेछ । त्यसरी नै भाइ बिकीको ढोलकको मधुर घनकाइ, नरेन्द्र भाइको किबोर्डको अगुवाइले ४० मिनेट जतिको स्तुति–प्रशंसा, बिमला बहिनीको विशेष् र निरन्तरको ताली बजाइ पूरै मण्डली भवन गुन्जयमान, प्रभुको स्तुति होस् । भजनसंग्रह १५० को अनुसार खैजडी पनि बज्यो । अझ सितार, वीणा, तार बाजा, बाँसुरी पनि आउने दिनमा थपिऊन् । ठूलाहरू ६० र सानाहरू ४० जति सेवामा उपस्थित थिए । टाढाबाट आउने भएकाले सेवापछि पानी, समोसाहरू खान दिँदो रहेछ । यशैया ३५:७ खरीएको जमिन दह हुन्छ । शान्ता बहिनी बिहानै पिछे ३० वटा रोटी पाहुना, परिवार र दुई प्यारा कुकुर डाइमण्ड क्युट, सरोवरको साथी, क्यासपर पुतली कान भएको (प्रेम भाइलाई होमसिक बनाउने) ब्रेकफास्ट–नित्यकर्म । यो घरानामा परामर्श र अन्य सहयोग लिन भाइ, बहिनीहरू आइरहनेरहेछ । धेरैलाई विभिन्न सेवकाइ गरेकोले नै मण्डलीको बड्ती, रक्षा भइरहेको थाहा पायौं । साग–सब्जी उस्तो नपाइदो रहेछ । शान्ता बहिनीले बारीको लट्टेको साग भने खुवायो । आलो आँपको मिठो अचार आहा !
रिङ्गकू घर संगति पछि म्याकारोनी र भाइको चिकन चिल्ली आमासंग भेट । त्यहाँ आँपको सिजन, दसरी आँपको चाङ बाटाको छेउमा दिल्ली सम्मै देख्यौं । मिठो र सस्तो पनि रहेछ । बलबीर भाइले एक बाकस दिनुभयो । त्यहाँको सेवकाइमा अझ सहयोगीहरूको आवश्यक्ता छ । आफ्ना–आफ्ना जीवन निर्वाहका काम कमाइ गर्दै सेवामा रत्छन् विश्वासीहरू । हामीहरू पनि आर्थिक सहयोग नेइम मिशन विभागद्वारा पठाएर त्यहाँको सेवकाइमा सहभागी बन्न सक्नेछौं । प्रार्थना त सबैले गरिरहनुभएको छ, थाहा छ । मिशन इन्चार्ज भाइ लेखनाथले पनि मलाई कोटद्वार भ्रमणमा पठाउने प्रबल इच्छा गर्नु भाथ्यो । पूरा भयो, धन्यवाद । प्रेम भाइले पूरा यात्रामा मलाई बोकेर हिंडे झैँ लाग्यो । भारी बोक्ने, खुवाउने–शिरदेखि पाउँसम्मै (१ जोड जुत्ता किनेर पनि) सेवा गर्नुभयो–क्वीन्टल–क्वीन्टल धन्यवाद ! प्रेम भाइ उहाँ ५० वर्ष, म ८१ वर्ष –३१ वर्षको फरक तर प्रभुमा जेनेरेशन ग्याप नहुँदो रहेछ ।
प्रार्थना गरिदिनुहुने हरेक प्रियहरूलाई धन्यवाद ।
शालोम
बि. बि. खवास
जिब्रो अनि जीवनद्वारा साक्षी
July 11, 2018 | Articles
– एल्डर सिमोन पाठक
येशूले उहाँमाथि विश्वास गर्नेहरूलाई पृथ्वीमा नून र ज्योति हुनलाई बोलाउनुभएको छ । नून र ज्योतिको जीवन जिउनेहरूले कहिल्यै पनि अरूको धर्मलाई खसाल्दैनन् । अरूले पूजिआएका देवी देवतालाई तथानाम बोल्ने, नराम्रा शब्दहरूद्वारा गाली गर्ने, शैतान भन्ने गर्दैनन् र नेपालको कानुनले पनि यो गर्न दिँदैंन । कुनै पनि धर्म वा आस्थाका मानिसहरूले अर्को धर्म मान्नेहरूलाई खसालेर बोल्ने वा नराम्रो व्यवहार गरेको पाइएमा नेपालको कानूनले त्यस्ताहरूलाई जेल हाल्नेसम्मको सजाय तोकेको छ । यदि तपाईंले सुसमाचार वा साक्षी दिने समयमा अरूको देवी देवताको नाउँ लिएर उसको आस्थालाई खसाल्ने बानी लागेको छ भने त्यो कुरालाई आजैदेखि बन्द गर्नुहोस् । येशूले उहाँका चेलाहरूलाई त्यसरी सुसमाचार सुनाउनलाई सिकाउनुभएको थिएन । येशूले उहाँलाई पछ्याउनेहरूलाई पृथ्वीमा नून जस्तै स्वाद दिन र ज्योति जस्तै उज्यालो बन्नलाई आज्ञा दिनुभएको छ (मत्ती ५ः१३–१६)।
समाज र राष्ट्रमा नून र ज्योति हुनेहरूले के गर्छन् रु धर्मशास्त्रमा भएको सत्यतालाई जीवन र जिब्रोद्वारा प्रकट गर्छन् । बाइबल धर्मशास्त्रमा परमेश्वर, मानिस, पाप, मृत्यु, अनन्त जीवन आदिको विषयमा जे सत्यता प्रकट गरिएको छ ती सत्यताहरूलाई प्रकट गर्नु नै जिब्रोद्वारा दिने साक्षी हो । जिब्रोद्वारा साक्षी दिँदा बताउनु पर्ने महत्वपूर्ण कुराहरू यसप्रकार छन्ः
सृष्टिको सुरुमा परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभएको थियो ९उत्पत्ति १ः२६० । मानिस परमेश्वरको आफ्नै स्वरूपमा बनाइएको कारण सृष्टिको सुरुमा मानिसको परमेश्वरसँग सम्बन्ध थियो । तर सृष्टिको पहिलो मानिस आदम र हव्वाले परमेश्वरले नखानु भन्नुभएको रूखको फल टिपेर खाएको कारण संसारमा पापको प्रवेश भयो (उत्पत्ति ३ः६–८) ।
पापको परिणाम मानिस परमेश्वरबाट अलग भयो (रोमी ३ः२३) मानिस र परमेश्वरको बीचमा पापको खाडल तयार भयो । सबै मानिस पापको कारण परमेश्वरको उपस्थितिबाट बाहिरिनुपर्यो (उत्पत्ति ३ः२३–२४) ।
पाप के हो ? चोर्नु, ढाँट्नु, मानिसको हत्या गर्नु, व्यभिचार गर्नु, अनैतिक कामहरू गर्नु सबै पापको श्रेणीभित्र पर्दछ । तर सृष्टिकर्ता परमेश्वरले राख्नुभएको निशानाबाट चुक्नु नै सबैभन्दा ठूलो पाप हो । परमेश्वर पवित्र हुनुहुन्छ तर सृष्टिको पहलो मानव आदम र हव्वाले परमेश्वरको आज्ञा उलङ्घन गरेपछि मानिसमा पाप आयो । पापले मानिसलाई परमेश्वरबाट टाढा गरायो । परमेश्वरलाई भेट्नको लागि एउटा मापदण्ड तोकिएको छ, त्योचाहिँ हो पवित्रता तर जन्मँदै मानिस पापस्वभावमा जन्मन्छ र पापको ज्याला मृत्यु हो (रोमी ६ः२३)। स्वर्ग जानको लागि पापको ज्याला तिरिनुपर्दछ ।
तर बाइबल धर्मशास्त्रमा लेखिएको छः
· धर्मकर्मद्वारा पापको ज्याला तिरिँदैन (यशैया ६४ः६)
· पापको ज्याला तिर्न रगत चाहिन्छ (हिब्रू ९ः२२)
· पशुपंक्षीको रगतले पापको ज्याला तिर्न असम्भव छ (हिब्रू १०ः४)
· मानिसको पापको ज्याला तिर्न मानिसकै पवित्र रगत चाहिन्छ ।
जसरी एउटा रोगीलाई अर्को निरोगीको रगतले बचाउँछ, त्यसरी नै पापी मानिसलाई पापरहित मानिसको रगतले पापबाट बचाउँछ अनि अनन्त जीवन दिन्छ ।
तर संसारमा पापरहित मानिस कोही पनि छैन (रोमी ३ः२३) । त्यसकारण परमेश्वरले येशू ख्रीष्टलाई मानिस बनाएर पृथ्वीमा पठाउनुभयो ९यूहन्ना ३ः१६० । येशू पवित्र आत्माद्वारा कन्या मरियमको कोखमा गर्भधारण हुनुभयो (लूका १ः३४–३५) । येशू मरियमको कोखबाट जन्मनुभयो । तीस वर्षको उमेरमा उहाँले स्वर्गको राज्यको विषयमा शिक्षा दिन सुरु गर्नुभयो (लूका ४ः१८–१९) । उहाँले दिनुभएको शिक्षा र आश्चर्यकामहरू देखेर धेरै मानिसहरूले उहाँलाई पछ्याउन थाले । यो देखेर यहूदी धर्मगुरुहरू उहाँप्रति क्रोधित भए । उहाँलाई उनीहरूले मार्ने षड्यन्त्र गर्न थाले । साढे तेत्तिस वर्षको उमेरमा उहाँलाई क्रूसमा टाँगे । उहाँको शिरदेखि पाउसम्म रगतका धाराहरू बग्यो जुनचाहिँ पापी मानिसको पाप धुनका लागि बगाइनु नै पर्ने थियो ।
उहाँ क्रूसमा मारिनुभयो । यहूदी चलनअनुसार ढुंगाको ओढारमा खोपेर बनाइएको चिहानमा गाडिनुभयो र तेस्रो दिनमा मृत्युबाट जीवित हुनुभयो । अनि आफ्ना चेलाहरूकहाँ पटक–पटक देखा पर्नुभयो र पछिबाट धेरै मानिसहरूकहाँ देखा पर्नुभयो । मृत्युबाट जीवित हुनुभएको चालीस दिनपछि पाँच सयभन्दा बढी मानिसहरूलाई शिक्षा दिँदा दिँदै फेरि स्वर्गमा नै चढिजानुभयो । अब संसारमा जतिले उहाँमाथि विश्वास गर्छन् तिनीहरू पनि येशूद्वारा स्वर्गमा जान सक्छन् । येशूमाथि विश्वास गर्नु धर्म परिवर्तन गर्नु होइन तर आमाको गर्भमा रच्नुहुने जीवित परमेश्वरको प्रेमलाई चाख्नु हो (यूहन्ना ३ः१६), परमेश्वरको सन्तान हुनु हो (यूहन्ना १ः१२), स्वर्गमा भएको जीवनको पुस्तकमा नाउँ लेखिनु हो (लूका १ः२०), जीवन छँदै स्वर्ग जाने बाटो भेट्टाउनु हो र मृत्युपछि अनन्त जीवन पाउनु हो ९यूहन्ना ३ः१५० ।
यदि कुनै पनि व्यक्तिले माथि बताइएका सत्यतालाई आफ्नो बनाउन चाहन्छ भने उसले आफ्नो मुखका शब्दहरूद्वारा प्रभु येशूलाई स्वीकार गरी हृदयमा विश्वास गर्नुपर्छ, तब मात्र त्यो व्यक्ति परमेश्वरको सन्तान हुन्छ (यूहन्ना १ः१२, रोमी १०ः९, १०) । परमेश्वरको सन्तान भएकाहरू मृत्युपछि परमेश्वरको घर स्वर्गमा अनन्तसम्मको लागि बास गर्छन् । पापबाट बचाइनको लागि मुखका शब्दहरूद्वारा स्वीकार गर्नुपर्ने शब्दहरू यसप्रकार छन्ः
“प्रभु येशू मैले जानी नजानी गरेका सबै पापहरूको म क्षमा माग्छु । मैले गरेका सबै अधर्मको म पश्चात्ताप गर्दछु । तपाईंले क्रूसमा बगाउनुभएको पवित्र रगतले मेरा सबै पाप अधर्महरूलाई धोइ पखाली शुद्ध गरिदिनुहोस् । तपाईं मेरो हृदयमा आउनुहोस् र मेरो जीवनको प्रभु र मालिक भएर सधैँ बास गर्नुहोस् । मलाई तपाईंको इच्छाअनुसार जीवन जिउनलाई सहायता गर्नुहोस् । मेरो बिन्तीलाई सुनिदिनुहोस् । प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन् ।”
यी शब्दहरूलाई आफ्नो मुखले स्वीकार गर्ने व्यक्ति परमेश्वरको सन्तान हुन्छ (यूहन्ना १ः१२) । मानिस परमेश्वरको सन्तान भइसकेपछि समाज र राष्ट्रमा नून र ज्योतिजस्तै बनेर साक्षीको जीवन जिउन थाल्छ ।
सुसमाचार सुनाउने अर्को तरिका हो आफ्नै जीवनको साक्षीद्वाराः पहिलो शताब्दीको मण्डलीले आफ्नो जीवनको साक्षीद्वारा मानिसहरूलाई सुसमाचार दिएका थिए । उनीहरूले साहससँग साक्षी दिएका थिए (प्रेरित ४ः१९, २०) । साक्षी भनेकै देखेको र सुनेको कुरा भन्नु हो । चेलाहरूले येशूको जीवनमा देखेका र उहाँबाट सुनेका कुराहरू मानिसहरूलाई बताएका थिए । उनीहरूले साक्षी दिँदा स्वतः स्फूर्तरूपमा साक्षी दिएका थिए (प्रेरित ११ः१९–२१) । मण्डलीमा सतावट सुरु भयो । सुसमाचारको निम्ति योजना बनाउने, तालिम दिने, बजेट बनाउने, पैसा जम्मा गर्ने समय नै थिएन, सुसमाचारको पर्चा पनि थिएन, बाइबल पनि थिएन । उनीहरूले स्वतः स्फूर्तरूपमा आफ्नो जीवनको साक्षी मानिसहरूलाई दिए । उनीहरूले जहाँ–जहाँ मौका पाए, त्यहाँ–त्यहाँ तिनीहरूले साक्षी दिएका थिए । उनीहरूले शब्दद्वारा दिएको साक्षीलाई प्रभुले चिन्ह र आश्चर्यकर्महरूद्वारा सुदृढ पार्नुभयो (मर्कूस १६ः२०) । प्रभु येशूले नै चेलाहरूलाई भन्नुभएको थियो, “तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ” (प्रेरित १ः८) ।
आफ्नो जीवनद्वारा कसरी साक्षी दिने ?
साक्षीका चार कदमहरू छन्ः
पहिलो कदमः प्रभु येशू ख्रीष्टलाई विश्वास गर्नु अघि तपाईंंको जीवन कस्तो थियो सो बारेमा छोटकरीमा बताउनुहोस्, जस्तैः प्रभुलाई पाउनु अघि तपाईंको जीवनमा भएका हार, निराशा, असफलता, अशान्ति, रोगबिमार, दुःख, कष्ट, समस्या, पीडा, नराम्रा आनीबानी, सोचविचार जे थियो ती कुराहरू छोटकरीमा बताउनु हो । तपाईंहरूमध्ये कतिजना ख्रीष्टियन घरानामा जन्मनुभएको होला । ख्रीष्टियन घरानामा जन्मेको भए तापनि प्रभुलाई राम्रोसँग पछ्याउने निर्णय गर्नु अघि तपाईंको जीवन कस्तो थियो सो बताउनु हो ।
दोस्रो कदमः तपाईंले प्रभु येशू ख्रीष्टको विषयमा कहिले र कसरी सुन्नुभयो सो विषयमा छोटकरीमा बताउनुहोस् जस्तैः तपाईंलाई कुनै मानिसले बतायो, सुसमाचार पर्चा दियो, मण्डलीमा बोलायो, वचनको कुनै खण्डहरूबाट पढेर सुनायो, आफ्नो जीवनको गवाहीद्वारा बतायो, वा कसैको जीवन देखेर प्रभावित हुनुभयो, ती कुराहरू बताउनु हो ।
तेस्रो कदमः तपाईंले प्रभु येशूलाई कसरी ग्रहण गर्नुभयो सो विषयमा छोटकरीमा बताउनुहोस् । प्रभु येशूलाई के भनेर ग्रहण गर्नुभयो ती कुराहरू बताउनु हो र कसरी ग्रहण गर्नुभयो, प्रार्थना गरेर, घुँडा टेकेर, मण्डलीमा गएर, पर्चामा लेखिएका प्रार्थनाका शब्दहरूलाई मुखका शब्दहरूद्वारा स्वीकार गरेर, ती कुराहरू बताउनु हो ।
चौथो कदमः तपाईंले प्रभु येशूलाई प्रभु र मुक्तिदाता भनेर ग्रहण गरिसकेपछि तपाईंको जीवनमा के कस्ता परिवर्तनहरू भए सो विषयमा बताउनुहोस् । प्रभुलाई पाउन अघि तपाईंको जीवनमा भएका निराश, हतास, समस्याहरू, अशान्ति, दुःख, पीडा, रोगबिमार, नराम्रा आनीबानी, नराम्रा सोचविचार, कुलत, दुव्र्यसनी, मुक्तिको खोजी आदिमा के कस्ता परिवर्तनहरू भए सो विषयमा बताउनु हो ।
माथि बताइएका पहिलो, दोस्रो, तेस्रो र चौथो कदमहरूमा के के भन्ने सो विषयमा आफ्नो साक्षी लेखेर राख्नुभयो अनि अरूसँग बाँड्नुअघि घरमै अभ्यास गर्नुभयो भने मौका पाएको समयमा तपाईंलाई साक्षी बाँड्न सजिलो हुनेछ । तपाईंले जसलाई साक्षी बाँड्दै हुनुहुन्छ, उसको समय छ भने आधा घण्टाभन्दा बढी समय लगाएर पनि साक्षी बाँड्न सक्नुहुन्छ तर यदि त्यस व्यक्तिसँग समय छैन भने पाँच मिनेटमा पनि आफ्नो साक्षी बाँड्न सक्नुहुन्छ ।
येशूलाई पछ्याउनेहरू उहाँको साक्षी हुनका लागि बोलाइएकाहरू हुन् । प्रभु येशूको आज्ञा छ “तिमीहरूले सित्तैमा पायौं, सित्तै देओ” (मत्ती १०ः८) । तर साक्षी दिनुपर्छ भन्दैमा जथाभावी साक्षी नबाँडौं । प्रभुसँग प्रार्थना गरौं र पवित्र आत्माले प्रेरणा दिनुभएअनुसार प्रभु येशूको महिमा हुने अवस्थामा मात्र येशूको नाउँमा पाइने मुक्ति र उद्धारको चर्चा गरौं र त्रिएक परमेश्वरलाई महिमा दिने काम जिब्रो र जीवनद्वारा सधैँ गरौं ।
स्व. पाष्टर डा. राजेन्द्र कुमार रोंगोंगको संक्षिप्त परिचय – भुवन देवकोटा
June 4, 2018 | Articles
नेपाली मण्डलीका धरोहर तथा नेपाली शैक्षिक जगतका तारा नेपाली इसाई मण्डलीका पाष्टर डा. राजेन्द्र कुमार रोंगोंग गत मे १८ तारिख प्रभुको घरमा जानुभयो । नेपाली इसाई जगतमा मात्रै होइन, नेपालको सामाजिक र शैक्षिक क्षेत्रमा पनि गुरुबाको योगदान अतुलनीय छ । परमेश्वरले दिनुभएको जिम्मेवारी पूरा गरेर उहाँ जानुभएको छ र बहुमुखी प्रतिभाका धनी, दर्शन देख्ने, कुशलतापूर्वक अगुवाइ गर्ने, सबैलाई वास्ता र प्रेम गर्ने, अरूको कमजोरीभन्दा सबल पक्षलाई बढावा दिएर सामूहिक हित र मण्डलीको भलाईको निम्ति काम गर्ने एउटा कुशल अभिभावकको भूमिका निर्वाह गर्नुभएका उहाँले हामीलाई असल उदाहरण छाडेर जानुभएको छ । उहाँको नेतृत्वमुनि रहने हरेकले असल अभिभावक, प्रशिक्षक, कुशल नेतृत्व र सहयोगी उत्प्रेरकको रूपमा उहाँलाई पाउँथ्यो । उहाँलाई धेरै युवाहरूले बाजे भनेर पुकार्थे तर उहाँसँग अत्यन्तै घुलमिल गर्थे, उहाँ एकदमै मिलनसार, भलाद्मी र सोझो मनको, प्रभु येशूलाई असाध्यै प्रेम गर्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँसँग कुराकानी गर्न, आफ्ना कुरा राख्न सबैले सहज महसुस गर्थे । गुरुबाको जीवनीलाई संक्षेपमा तल प्रस्तुत गरिएको छ ।
जन्म तथा येशूको साथ हिंड्ने तयारी (१ देखि २० वर्षको उमेरसम्म)
- जन्मः २४ अप्रिल १९३०, आमा सूर्यमती रोंगाेंग र बुवा आथिङ जोसेफ रोंगोंगबाट दोस्रो सन्तानको रूपमा
- सानै हुँदा आमा सूर्यमतीले पाष्टर राजेन्द्र रोंगोंगलाई नेपालको लागि अर्पण गर्नुभयो । सानै हुँदा आमाले घरमा संचालन गर्ने बाइबल अध्ययनमा उहाँ सहभागी हुनुभयो । सानैदेखि नेपाल आउने रहर उहाँमा थियो ।
- पाष्टर राजेन्द्र रोंगोंग ९ वर्षको हुँदा दोस्रो विश्वयुद्ध सुरु भयो । बुवाको जागिरको कारणले पाष्टर राजेन्द्र रोंगोंग ७ कक्षासम्म पुग्दा १० वटा जति स्कूल फेर्नुभयो । १९४५ अगस्त ९ मा अमेरिकाले हिरोसिमा र नागासाकीमा बम खसाल्ने समयमा दार्जिलिङबाट कालिङपोङमा उहाँ आफ्नो परिवारसँग हिंडेरै जानुभयो ।
- दार्जिलिङको सरकारी हाइ स्कूलबाट कक्षा ७–१० र म्याट्रिक उत्तीर्ण गर्नुभयो । उहाँ कक्षा ७ मा हुँदा सन् १९४२ मा स्काउट सुरु गर्नुभएको, सानैदेखि मण्डली गइरहने बानी उहाँको थियो
- १९४७ मा राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर जबराले दार्जिलिङमा रू. १००/– बक्सिस दिएका । उहाँले १९४७ मा म्याट्रिक पूरा गर्नुभएको, उहाँको व्याच अंग्रेज शासनको अन्तिम व्याच हो ।
- जोर्डन चन्दन् खाँले नयाँ जीवनका बारेमा बताउनुभएपछि १९४७ नोभेम्बर २५ मा प्रभु येशूलाई ग्रहण गर्नुभयो । सो दिन पाष्टर राजेन्द्रको घरमा पाष्टर रोबर्ट कार्थक, पाष्टर दफ्तन सादा, प्रकाश राई, जरमित कार्थक मिलेर संगति राख्नुभएको थियो ।
- १९४७ मा मिस फ्र्यान्कलिन बिहारबाट मिशनेरीको रूपमा कालिङपोङ आउनुभएको । मिस फ्र्यान्कलिनले कालिङपोङको कन्या मा.वि.मा काम गर्दा पाष्टर राजेन्द्रकी आमासँग नेपाली भाषा सिक्न थाल्नुभयो । मिस फ्र्यान्कलिनले पाष्टर राजेन्द्र, पाष्टर रोबर्ट कार्थक, पा. दफ्तन सादा, प्रकाश राई, जरमित कार्थकको लागि बाइबल अध्ययन सुरु गर्नुभयो । मिस फ्र्यान्कलिनले उहाँहरूलाई सुसमाचार प्रचारको लागि विभिन्न गाउँमा लानुहुन्थ्यो ।
- पाष्टर राजेन्द्र रोंगोंगले १९४९ मा आई.ए. को परीक्षा दिएर द्वितीय श्रेणीमा उत्तीर्ण हुनुभयो ।
सेवकाइको तयारी र प्रभुको सेवामा (२१ देखि ४० वर्षको उमेरसम्म)
- १९५० मा पाष्टर राजेन्द्र रोंगोंग र पा. रोबर्ट कार्थक मिलेर कालिङपोङमा सुसमाचारीय सम्मेलन आयोजना गर्नुभयो । १९५२ मा पा. रोबर्ट कार्थक र पा. राजेन्द्र रोंगोंग रक्सौल हुँदै अमलेखगन्जसम्म आउनुभयो ।
- उहाँको १९५२ सेप्टेम्बर २९ मा जरमित कार्थकसँग पवित्र विवाह भयो ।
- पा. राजेन्द्र रोंगोंगले आई.ए. सकेपछि घरको अघि खरको छाप्रो बनाएर पा. रोबर्ट कार्थक र अरू साथीहरूसँग मिलेर राती प्रार्थनामा समय बिताउनुहुन्थ्यो ।
- उहाँले १९४९–१९५५ सम्म SUMI मा शिक्षकको रूपमा सेवा गर्नुभयो । १९५४ मा USAID (US/OM) बाट त्रैलोक्यनाथ उप्रेति र ह्युबी उड दार्जिलिङ गएर पा. राजेन्द्रलाई नेपाल आउने प्रेरणा दिएका ।
- पा. राजेन्द्र रोंगोंग १९५६ फेब्रुअरी २९ मा हिमालयन प्रेस्बेटेरियन मण्डलीबाट ११ जनाको टोलीमा कालिङपोङबाट नेपाल आउन प्रस्थान गर्नुभयो । सिमराबाट हनुमान भन्ने हवाइजहाजमा रू. १७ भाडा तिरेर ३५ मिनेटको यात्रा गरी १९५६ को मार्च ३ तारिख ११ जनाको टोलीमा नेपाल आइपुग्नुभयो ।
- सोही दिन भक्तपुरको न्यातपोल नजिकै घरमा आएर बास बस्नुभएको । त्यो बेला श्री ५ महेन्द्रको राज्यभिषेक भएको कारण पाष्टर राजेन्द्र रोंगोंग र उहाँको समूहले भक्तपुरमा सिन्दुरे जात्रा देख्ने मौका पाउनुभयो ।
- म इसाई हुँ भन्ने परिचय दिएको कारण पा. राजेन्द्र रोंगोंगलाई काम पाउन गाह्रो भएको ।
- उहाँहरू जुद्ध सडकको संगतिमा १९५६ तिर कहिलेकाहीँ जानुहुन्थ्यो । उहाँहरूले भक्तपुरमा घरको तल्लो तलामा गुन्द्री ओछ्याएर संगति गर्नुहुन्थ्यो । उहाँले सन् १९५६ मा पा. रोबर्ट कार्थक र दानिएल सित्लिङसँग दाप्चामा सुसमाचारीय यात्रा गर्नुभएको । उहाँ १९५६ को डिसेम्बरमा भक्तपुरबाट डिल्लीबजारमा सपरिवार डेरा सर्नुभएको ।
- १९५७ अगस्तको पहिलो आइतबार पाष्टर रोबर्ट कार्थक र पा. राजेन्द्र रोंगोंगको पहलमा हालको नेपाली इसाई मण्डली (ज्ञानेश्वर चर्च) को स्थापना भएको हो ।
- हाल र्याडिसन होटल भएको चेत भवनमा कलेज अफ एजुकेसनको पहिलो व्याचमा १६ जना भर्ना भए पनि उहाँले मात्र १९५८ अप्रिल १४ मा बी.एड. उत्तीर्ण गर्नुभयो, उहाँको ट्रान्स्कृप्टको ट्रान्स्कृप्ट नं. १, सिरियल नं. १, नेपालको पहिलो बी.एड. उहाँ हुनुहुन्छ । उहाँ विद्यार्थी हुँदा पाएको मासिक भत्ता रू. ८० नेपालमा गर्नुभएको पहिलो कमाइ थियो ।
- काम नपाएको कारण नेपालबाट फर्किने विचार गरिरहँदा पा. राजेन्द्रकी छेमा डा. फुलमणि प्रधानले चिठीमा ‘हलोमा हात राखेर पछाडि हेर्ने मान्छे परमेश्वरको कामको लागि योग्य हुँदैन’ भनेर लेखेको पढेपछि नफर्किने निर्णय गर्नुभयो ।
- उहाँलाई वि.सं. २०१६ मा तत्कालीन श्री ५ को सरकारले राजपत्रांकित तृतीय श्रेणीको अधिकृत बनायो ।
- पा. राजेन्द्र रोंगोंग वि.सं. २०१६ भदौ २९ गते महाकवि लक्ष्मीप्रसाद देवकोटालाई तत्कालीन शिक्षामन्त्री परशुनारायण चौधरीसँग एउटै छाता ओढेर आर्यघाटमा भेट्न जानुभएको । वि.सं. २०१७ मा पञ्चायत सुरु हुनुभन्दा एक हप्ता पहिले प्रेम प्रधानको रिहाइको लागि गृहमन्त्रालयमा मण्डलीका अगुवाहरूको टोलीलाई उहाँले लिएर जानुभएको ।
- १९५८ मा नेपाल स्काउटको राष्ट्रिय सहसचिव नियुक्त हुनुभयो । १९५८ सेप्टेम्बरमा श्री ५ को सरकारले उहाँलाई पढ्नका लागि दिल्ली पठाएको । १९५९ मा रजगड विश्वविद्यालय दिल्लीबाट एम.एड. सक्नुभएको र श्री ५ को सरकारले उहाँलाई कलेज अफ एजुकेशनको लेक्चरर बनाएको ।
- उहाँले १९५९ सिद्धार्थ बनस्थलीमा ७ महिना शिक्षकको रूपमा सेवा गर्नुभएको । सन् १९५९ मा ल्याबोरेटरी स्कूलको शिक्षक हुनुभएको । वि.सं. २०२५ देखि ३ वर्ष ल्याबरोटरी स्कूलमा प्रधानाध्यापकको रूपमा सेवा गर्नुभएको ।
- १९५९ मा पाष्टर रोबर्ट कार्थक बाइबल अध्ययनको लागि बेलायत हुनुहुँदा पा. राजेन्द्र रोंगोंगले १ वर्ष मण्डलीको पाष्टरको रूपमा सेवा गर्नुभएको । १९५९ मा शिव कुमार थापाको बप्तिस्मा, जुन नेपाली इसाई मण्डलीमा भएको पहिलो बप्तिस्मा हो, सो बप्तिस्मा पा. राजेन्द्र रोंगोंगले दिनुभएको ।
नेपाल र नेपाली मण्डलीलाई आशिष् पुर्याउने काममा (४१ देखि ६० वर्षको उमेरसम्म)
- उहाँले १९७४ जुन ११ मा अमेरिकाको साउदर्न इलिनोइ युनिभर्सिटीबाट विद्यावारिधि गर्नुभएको हो ।
- उहाँ १९७४ जुन ११ मा त्रिभुवन विश्वविद्यालयको राष्ट्रिय विकास सेवाको पहिलो निर्देशक हुनुभएको । उहाँ १९७६ मा त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रको दोस्रो निर्देशक नियुक्त हुनुभयो ।
- उहाँ वि.सं. २०२८ मा श्री ५ महेन्द्रबाट प्रबल गोरखा दक्षिणबाहुले सम्मानित हुनुभएको । उहाँले श्री ५ वीरेन्द्रबाट वि.सं. २०३१ मा शुभराज्याभिषेक पदक पाउनुभयो ।
- उहाँ १९८० मा त्रिभुवन विश्वविद्यालयको प्राध्यापकमा नियुक्त हुनुभएको । १९८२ मा नेइम ज्ञानेश्वर चर्चको एल्डरको रूपमा नियुक्त हुनुभएको । उहाँले वि.सं. २०४५ मा श्री ५ वीरेन्द्र दैवी प्रकोप पीडितोद्धार पदक प्राप्त गर्नुभयो ।
प्रभुको सेवा र अनन्त घर जाने तयारी (६१ देखि ८८ वर्षको उमेरसम्म)
- उहाँले १९९३ मा त्रिभुवन विश्वविद्यालयबाट उमेर हदका कारण अवकाश पाउनुभयो । उहाँले श्री ५ वीरेन्द्रबाट गद्दी आरोहण रजत महोत्सव पदक–२०५३ प्राप्त गर्नुभयो ।
- सन् १९९७ मार्च २५ मा पाष्टर रोबर्ट कार्थकसँग म्यानमार गएर त्यहाँका नेपाली मण्डलीहरूको भ्रमण गर्नुभयो ।
- सन् २००२ अप्रिलमा वीरेन्द्र–ऐश्वर्य सेवा पदकबाट विभूषित हुनुभयो ।
- २००२ मा नेपाली इसाई मण्डली (ज्ञानेश्वर चर्च) को मिशन विभाग स्थापना भएदेखि उहाँले विभागको अध्यक्षको रूपमा मण्डलीमा सेवा गर्नुभएको थियो । सोही सालदेखि नै उहाँले मण्डलीमा पूरा समय काम गर्ने सेवकहरूलाई नियमित कक्षा सञ्चालन गर्नुभएको थियो । २००२ देखि नै उहाँ मेरी गुरुआमा स्मृति प्रतिष्ठानको अध्यक्षको रूपमा सेवारत हुनुहुन्थ्यो ।
- सन् २००५ अक्टोबर २१ मा उहाँकी धर्मपत्नी जरमित रोंगोंगको स्वर्गारोहण हुनुभयो ।
- वि.सं. २०४८–२०६४ सम्म काठमाडौं शिक्षा क्याम्पसको सञ्चालक समितिको अध्यक्ष भएर सेवा गर्नुभएको र वि.सं. २०५८–२०६१ सम्म काठमाडौं शिक्षा क्याम्पसको प्रमुख भएर सेवा गर्नुभएको ।
- उहाँ ११ अप्रिल २००९ मा नेइम (ललितपुर चर्च) को पाष्टरमा अभिषेक हुनुभएको हो ।
- वि.सं. २०६४ साउन २८ गते प्रहरी प्रधान कार्यालयबाट दीपेन्द्र प्रहरी उ.मा.वि. साँगाको वरिष्ठ सल्लाहकारमा नियुक्त हुनुभयो ।
- उहाँलाई २०७१ पुस २९ गते नेपाल शिक्षाशास्त्री समाजले गुरुहरूका गुरुको रूपमा सम्मान गरेको । वि.सं. २०७३ वैशाख २९ गते सगरमाथा प्रतिष्ठानले ‘नेपाल सम्मान २०७२’ प्रदान गरेको । उहाँले नेपाल स्काउटबाट स्वर्णसेवा सम्मान वि.सं. २०७३ आषाढ ३ गते पाउनुभएको ।
- उहाँको स्वर्गारोहण २०७५ जेष्ठ २ गते/२०१८ मे १६ तारिख बुधबार भयो ।